कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मस्तिष्क र स्वस्थ भोजन

हामीलाई लगातार तनाव भइरह्यो भने पेट खराब हुन्छ । तारन्तार पेट खराब भइरहनेहरूलाई फेरि मानसिक तनाव हुन्छ ।
अरुणा उप्रेती

भोजन र स्वास्थ्यको सम्बन्धबारे विश्वभरि धेरै अध्ययन भएका छन्, हुँदै छन् । मानसिक स्वास्थ्य र भोजनको सम्बन्धबारे भने विस्तारै अध्ययन हुँदै छ । हाम्रो समुदायमा कति जनाले ‘खानाले पनि मस्तिष्कलाई स्वस्थ राख्छ र ?’ भनेर प्रश्न पनि गर्छन् । ‘मानसिक स्वास्थ्य र भोजनको सम्बन्ध हुन्छ र ? यो होइन होला’ भन्नेहरू पनि छन् ।

मस्तिष्क र स्वस्थ भोजन

पेटमा परेको भोजनले मस्तिष्कको क्रियाकलापलाई प्रभाव पार्छ भनेको सुन्दा कति उदेक नै मान्छन् । तर पेटले मस्तिष्कमा प्रभाव पार्छ भनेर वैज्ञानिकहरूले विभिन्न अध्ययन–अनुसन्धानबाट सिद्ध गरिसकेका छन् ।

हाम्रो पेटमा विभिन्न थरीका झन्डै १० नील अर्थात् १०० ट्रिलियन माइक्रोबायम (सूक्ष्म कीटाणु, जीवाणु, ढुसी आदि) हुन्छन् । यी कीटाणु–जीवाणुको उपस्थितिले पेट र मस्तिष्कको संरचना र स्वास्थ्यमा पनि प्रभाव पार्छ । हामीलाई लगातार तनाव भइरह्यो भने पेट खराब हुन्छ । तारन्तार पेट खराब भइरहनेहरूलाई फेरि मानसिक तनाव हुन्छ ।

बीबीसी (२१ फेब्रुअरी २०१९) मा छापिएको एउटा लेखअनुसार, डाक्टर जर्ज पोस्टर फिलिपनले झन्डै १०० वर्षअघि नै भोजन र मानसिक स्वास्थ्यबारे ‘सानो’ भए पनि अनुसन्धान गरेका थिए । उनले लन्डनको बथलेन शाही अस्पतालमा मानसिक रोगीहरूलाई उपचार गर्ने क्रममा चाल पाए— मानसिक अवसाद भएका केही बिरामीलाई धेरै कब्जियत हुने, छाला फुस्रो हुने र अल्छी लाग्ने भएको छ । मानसिक रोगीलाई कुपोषण पनि थियो । जर्जले सोही अस्पतालका मानसिक बिरामीलाई अन्य उपचार गर्नुका साथै पेट ठीक पार्न स्वास्थ्यकर खाना पनि दिए । उनले भोजनका साथै केफिर (युरोपमा पाइने विशेष प्रकारको बाक्लो दही जसले कब्जियत हटाउन र खाना पचाउन मद्दत गर्छ) पनि दिए ।

डा. जर्जले यसरी ‘उदासीको समस्या’ भएका बिरामीलाई उपचार गर्दा तीमध्ये ११ जना पूर्णरूपमा निको भए, १२ जनालाई धेरै राम्रो भयो । यो सानो अध्ययनले हाम्रो मानसिक स्वास्थ्य राम्रो हुनुमा हाम्रो पेटमा रहेका स्वास्थ्यकर कीटाणुहरूको ठूलो भूमिका हुने देखायो । हुन त यतिकै भरमा मानसिक तनाव वा अन्य मानसिक रोगको उपचार गर्न त सकिन्न, तर जर्जको अध्ययनपछि चिकित्सकहरू पेटका कीटाणु र मानसिक स्वास्थ्यबीच सम्बन्ध छ भन्नेमा गम्भीर हुन थाले । यद्यपि यो विचारलाई व्यवहारमै परिवर्तन गर्न पूर्णरूपमा अझै पनि सकिएको छैन ।

दैनिक जीवनमा हामीलाई तनाव भयो, मानसिक पीडा भयो भने पेट गडबड हुन्छ, पेट दुखेदुखेजस्तो हुन्छ । जस्तो— अति नजिकको मान्छेको मृत्यु भएको वा निकै बिरामी भएको खबर सुन्दा भोक–प्यास हराउँछ । विद्यार्थीहरूलाई जाँचको बेला तनाव भएर वाक्वाक् लाग्ने, भोक नलाग्ने, घरीघरी शौच जान मन लाग्ने, पेट दुख्ने हुन्छ । अर्थात्, हाम्रो मनले पेटमा प्रभाव पार्छ । आधुनिक चिकित्सा विज्ञानका जनक हिपोक्र्याट्सले भनेका थिए ‘धेरैजसो रोगको जरो पेटमै हुन्छ ।’

मानसिक रोग र पेटको स्वास्थ्यबारे बिस्तारै वैज्ञानिकहरूबीच छलफल हुन थालेको छ, हार्वर्ड मेडिकल कलेजमा त ‘मानसिक रोगमा पोषण विज्ञान’ भनेर एक विचार नै स्थापित भएको छ । यस विषयमा धेरै किताब लेखिएका छन् । प्रयोगशालामा मुसाहरूमाथि पनि अनेक अनुसन्धान भइरहेका छन् ।

पृथ्वीको वातावरणमा खराबी भए विभिन्न देशको मौसम र हावापानी बिग्रिने भएजस्तै हाम्रो पेटको वातावरणमा खराबी आए सम्पूर्ण शरीरमै खराबी आउँछ, मस्तिष्कमा पनि समस्या पर्छ । यसको अर्थ मानसिक रोग केवल पेटको स्वास्थ्य राम्रो पारे ठीक भइहाल्छ भन्नेचाहिँ होइन । तर भोजनले मानसिक स्वास्थ्यको उपचार गर्न औषधिसँगै महत्त्वपूर्ण भूमिका भने खेल्न सक्छ । यसैलाई ध्यानमा राखेर गरिएका अनुसन्धानहरूले शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि भोजनहरूको ठूलो भूमिका रहेको देखाएका छन् । पेट र मस्तिष्कबीच ठूलो सम्बन्ध छ भनी वैज्ञानिक हिसाबमा सिद्ध भएरै पेटलाई ‘दोस्रो मस्तिष्क’ मानिएको हो ।

हाम्रो पेटका अर्बौं कीटाणु–जीवाणु भोजनले नै स्वस्थ वा अस्वस्थ हुने गर्छन् । अनि तिनै कीटाणु–जीवाणुले हाम्रो भावनाको उतार–चढावमा भूमिका खेल्छन् । आयुर्वेदमा भनिएको छ, ‘खानाले मान्छेको मन र व्यवहारमा पनि फरक पार्छ ।’ अर्को भनाइ छ, ‘शरीर स्वस्थ भयो भने मन पनि स्वस्थ रहन्छ, पेट स्वस्थ भए मन र शरीर दुवै स्वस्थ हुन्छन् ।’ मस्तिष्कबाटै हाम्रो भावना, दुःख, सुख, क्रोधलगायतका क्रिया परिचालित हुन्छन् भनेर सबैजसोलाई थाहा छ । तर हामीमध्ये कमैलाई थाहा होला, हाम्रो पेटमा पनि मनलाई प्रभाव पर्ने तन्तु हुन्छन् । पेटको स्वास्थ्यसम्बन्धी विभिन्न वैज्ञानिक अध्ययनमा अल्जाइमर, पार्किन्सन, चिन्ता, अवसादलगायतमा पनि पेटमा भएका कीटाणु–जीवाणुले भूमिका खेल्छन् भन्ने सिद्ध भएको छ ।

आन्तरिक रस (हर्मोन) हरूमध्ये सेराटोनिन यस्तो तत्त्व हो जसले हाम्रो मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति गराउँछ । सेराटोनिनको कमी भए मन उदास हुन्छ । सेराटोनिन मस्तिष्कमा पनि उत्पन्न हुन्छ तर ७० प्रतिशतचाहिँ पेटमै निस्किन्छ । जुन तत्त्वले पेटमा उत्पन्न भएपछि मस्तिष्कको कामलाई नियन्त्रण गर्छ, त्यो पेट पनि त स्वस्थ हुनुपर्‍यो नि !

पेटको स्वास्थ्य राम्रो राखिराख्न क्याल्सियम, फोलिक एसिड, भिटामिन बी–१२ लगायतका सूक्ष्म पोषण तत्त्वले सघाउँछन् । यी सबै तत्त्व हाम्रो भोजनमै पाइन्छन्, खालि खाना स्वास्थ्यकर चाहिँ खानुपर्‍यो । पत्रु खाना, नुन–चिनी बढी भएका खाना खाँदा मधुमेह, उच्च रक्तचाप हुन सक्छ । स्वास्थ्यकर खाना र व्यायाम, असल जीवनशैलीबाट यस्ता समस्या कम हुन्छन् । मधुमेह भएका मानिसलाई मानसिक अवसादको सम्भावना बढी हुन्छ । तनाव धेरै हुने मानिसलाई मधुमेहको सम्भावना पनि उत्ति नै हुन्छ ।

हामीले मस्तिष्क राम्रो पार्न एक प्रकारको भोजन, पेट र मुटु स्वस्थ राख्न अर्को प्रकारको भोजन गर्नै पर्दैन । जुनसुकै स्वस्थ खानाले मुटु, मिर्गौला, पेट स्वस्थ राख्न मद्दत गर्छ । स्वास्थ्यकर भोजन गरिए मुटु, मिर्गौला, मन र मस्तिष्क स्वस्थ हुन्छन् ।

प्रकाशित : मंसिर २०, २०८० १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×