कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शेखरको मिसन ‘८२’

शेखरको उद्देश्य अब ४० प्रतिशत भागबन्डाको माग सारेर दबाब दिने होइन, बरु सिंगो पार्टी पंक्तिलाई आफूतिर आकर्षित गर्ने र आफूलाई केन्द्रमा राख्ने लक्ष्यबाट प्रेरित देखिन्छ ।
राजाराम गौतम

नेपाली कांग्रेसका नेता शेखर कोइराला अचेल सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ताहरूमा ‘२०८२ मंसिरभित्र पन्ध्रौं महाधिवेशन हुनुपर्छ’ भन्न हम्मेसी छुटाउँदैनन् । चौधौं महाधिवेशन पटक–पटक सरेपछि मात्रै भएको नजिरबाट सायद झस्केर होला, उनी भन्ने गर्छन्, ‘मैले त पन्ध्रौं महाधिवेशन समयमै हुनुपर्छ भनिरहेको छु । पदाधिकारी लगायतका साथीहरूले पनि दबाब बढाउनुपर्छ ।’ 

शेखरको मिसन ‘८२’

यही कुरा उनले गत शनिबार लुम्बिनी प्रदेश अधिवेशन उद्घाटनका क्रममा पनि भने, ‘२०८२ मंसिरमा महाधिवेशन हुन सके मात्रै २०८४ मा कांग्रेसले चुनाव जित्छ ।’

शेखरले जस्तो अरू पदाधिकारी नेताहरूले पन्ध्रौं महाधिवेशनको औपचारिक चर्चा गरेका छैनन् । यद्यपि कांग्रेसभित्र यसको ‘रिहर्सल’ सुरु भइसकेको छ । पदीय आकांक्षा राख्ने विभिन्न नेताले भित्री तयारी थालिसकेका छन् । केही महिनायता शेखरको ह्वात्तै बढेको सक्रियता राजनीतिक परिदृश्यमा आफूलाई जीवन्त राख्नबाट मात्रै प्रेरित छैन, यो उनको पन्ध्रौं महाधिवेशनलक्षित अभ्यास पनि हो । सम्भवतः उनी नेतृत्वमा पुग्ने अपुरो आकांक्षा पूर्ति गर्न जग हाल्दै छन् ।

दुई वर्षअघि चौधौं महाधिवेशनमा पराजित भएलगत्तै समूहको बैठक डाकेर उनले आफूलाई सक्रिय देखाउन थालिसकेका थिए । पार्टीभित्र समानान्तर सक्रियता देखाउन खोज्नुको तात्पर्य थियो— निर्णय प्रक्रियामा ४० प्रतिशत भागबन्डाका लागि देउवालाई दबाबमा राख्नु । तर, कांग्रेसको आन्तरिक शक्ति समीकरणमा बलियो वर्चस्व भएका देउवालाई त्यो दबाबले छोएन । बरु, उनले शेखरलाई कतिपय अनौपचारिक तर महत्त्वपूर्ण बैठकहरूमा सरिक नगराएर किनारामा राख्ने रणनीति लिए । गत साउनमा भएको चर्चित केन्द्रीय समितिको बैठकमा त शेखर छायामै परे । बैठक सभापति देउवा भर्सेस महामन्त्री गगन थापा हुँदा शेखरको उपस्थिति खोजीको विषय बन्यो ।

यसरी पछि पर्दै गएका शेखरले ‘कोशी विद्रोह’ गराएर पार्टीवृत्तमा मात्रै होइन, गठबन्धनभित्रै पनि आफ्नो उपस्थिति बोध गराए । शेखर समूहका नेता केदार कार्की एमालेको समर्थनमा कोशी प्रदेशका मुख्यमन्त्री बन्नुलाई कांग्रेसमा ‘कोशी विद्रोह’ को संज्ञा दिइन्छ । हुन त यो विद्रोहपछि पार्टी अनुशासनको घेरा तोडेको भनेर कांग्रेसवृत्तमा शेखरको आलोचना पनि भयो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत शेखरको आलोचना गरे । तर, यो अनुशासन उल्लंघन र कारबाहीको मुद्दा बनेन । बरु हतार–हतार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवाको रोहबरमा शेखरलाई ‘गठबन्धनप्रति प्रतिबद्ध’ रहेको लिखित वाचा गराए । यो घटनाले कांग्रेसमा ‘शेखरले देउवालाई चुनौती दिन सक्ने हैसियत गुमाएका छैनन्’ भन्ने जबर्जस्त सन्देश दियो । त्यसउप्रान्त शेखरको सक्रियता अरू बढेको छ । र, सक्रियताको अन्तर्यमा छ— ‘मिसन २०८२’ ।

यस पटकको यो स्तम्भमा शेखरलाई केन्द्रमा राखेर कांग्रेसमा अहिले हुर्किरहेको राजनीतिलाई पर्गेल्ने प्रयत्न गरिएको छ । २०८२ मा हुने कांग्रेसको पन्ध्रौं महाधिवेशन शेखरका लागि कस्तो होला ? चौधौंमा कमाएको सम्मानजनक हैसियत कायम राख्दै उनी पन्ध्रौंमा मूल नेतृत्वमा पुग्लान् ? वा, उनीसामु अब नयाँ चुनौतीहरू थपिनेछन् ?

शेखरको राजनीतिक भविष्यसँग सन्दर्भित यी प्रश्नअघि एकैछिन उनको बढ्दो सक्रियताको कारण खोतलौं ।

दुई कारण

महाधिवेशनकेन्द्रित झैं देखिने शेखरको सक्रियताका मुख्यतः दुई कारण छन् ।

पहिलो, सभापति प्रत्याशीको जमिन जोगाउन : ज्ञात भएकै कुरा हो, चौधौं महाधिवेशनमा शेखरले देउवालाई सम्मानजनक प्रतिस्पर्धाको चुनौती दिए । राजनीतिक रूपमा आफूभन्दा ‘सिनियर’ प्रकाशमान सिंह, विमलेन्द्र निधि आदि कमजोर प्रतिस्पर्धी सावित हुँदै गर्दा शेखरले रामचन्द्र पौडेलको असहयोगका बाबजुद आफूलाई देउवाको बलियो प्रतिस्पर्धीका रूपमा उभ्याउन सके । तर, महाधिवेशनपछि संसदीय दलको चुनावमा महामन्त्री गगन थापाले देउवालाई चुनौती दिएपछि कांग्रेसको मूल नेतृत्व दाबी गर्न सक्ने अर्का पात्र थपिए । गगनले देउवासँग पराजित हुनुपरे पनि प्रतिस्पर्धाको जोखिम उठाएर ‘राजनीतिक हैसियत’ बढाए ।

झन् गत साउनमा भएको केन्द्रीय समिति बैठक आइपुग्दा त पार्टीभित्र देउवा र गगनबीच ध्रुवीकरण भइरहेको प्रस्टै देखियो । त्यो बैठकमा सात मिनेट बोल्ने समय पाएका शेखरको उपस्थिति कांग्रेसजनले अनुभूति गरेनन् । अरू धेरै केन्द्रीय सदस्यले बोलेजस्तै त्यो नितान्त औपचारिक मात्रै दरियो । महामन्त्री भएपछि गगनले अनेक आलोचना खेपेका छन्, प्रश्नहरूले उनलाई घेर्दै लगेका छन्, सँगै नेताका रूपमा स्थापित हुँदै पनि गएका छन् । देउवाइतर पक्षबाट पन्ध्रौं महाधिवेशनमा को भन्ने प्रश्न उठ्दा अब शेखरसँगै गगनको नाम पनि आउने पक्का छ ।

त्यसकारण पनि चौधौं महाधिवेशनमा सभापतिका बलिया प्रत्याशी शेखरले आफ्नो त्यो जमिन कायमै राख्न पछिल्लो सक्रियता बढाएका हुन् । उनले अब गगनलाई प्रतिस्पर्धीका रूपमा देख्न थालिसकेका छन् । सायद गगन पनि त्यस्तै सोच्दा हुन् । पार्टी र सरकार दुवैको नेतृत्वमा पुग्ने आकांक्षा पालेका र ५५ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा हुने सार्वजनिक घोषणा गरेका गगनसँग सक्रिय राजनीतिको समयसीमा कम छ । संसदीय दलको चुनावयता शेखर–गगनबीच संवादहीनता बढ्दै जानु, ‘कोशी विद्रोह’ मा गगनलाई ‘कन्फिडेन्स’ मा नलिनु, उक्त कदमको गगनले आलोचना गर्नु आदि केही घटनाक्रम हुन्, जसले यी दुई नेताबीच सहकार्यको सम्भावना घटाएर प्रतिस्पर्धा बढाउँदै लगेको छ ।

दोस्रो, देउवा गुटमा सरेको भन्ने भाष्य चिर्न : शेखरको सक्रियताको पछाडिको दोस्रो कारण हो— देउवा गुटतिर लागेको आरोपको खण्डन । गत जेठ–असारतिर कांग्रेस वृत्तमा शेखर देउवा क्याम्पमा जाने भए भनेर व्यापक चर्चा चल्यो । त्यसका पछाडि कुनै ठोस आधार थिएन । यद्यपि केही घटनाक्रम यस्ता थिए, जसले चर्चा गर्ने आधार दिए ।

पहिलो, जेठ अन्तिम साता भक्तपुर र चितवनमा भएका कार्यक्रममा देउवा र शेखर एकै मञ्चमा देखिनुलाई धेरैले यी दुई नेताबीच निकटता बढेको भनेर अर्थ्याए । पार्टीका दुई नेता एउटै मञ्चमा सरिक हुनु अस्वाभाविक होइन, यद्यपि कांग्रेसको भक्तपुर जिल्ला सम्मेलनमा दुवै नेताका फोटासहित ब्यानर/फ्लेक्स राख्दा बनेको माहोललाई अर्थपूर्ण हिसाबले हेरियो र दुई नेताबीच सहकार्य हुन सक्ने लख काटियो ।

दोस्रो, त्यसैताका देउवाको निर्देशनमा पार्टी कार्यालय सानेपामा शेखरका लागि बेग्लै कार्यकक्ष बन्दै गरेको सूचना पनि बाहिरियो । तेस्रो, संस्थापन र सभापति देउवाको कार्यशैलीप्रति आलोचनात्मक रहँदै आएका पार्टीभित्रका प्रतिपक्षी नेताको ‘टोन’ केही नरम भएको अनुभूति धेरैले गर्दै थिए । ‘गुट–उपगुट बनाएर हिँडे समाप्त हुन्छौं’, ‘हामी सबै एकै डुंगामा छौं, डुबे सबै डुब्छौं’ भन्नेजस्ता उनका अभिव्यक्ति त्यसै बखतका हुन् ।

दुई आकांक्षा

शेखरको यस्तो नरम अभिव्यक्तिपछाडि उनका दुई मनोकांक्षा पनि थिए, जो उनी भित्रियाहरूसँग प्रकट गर्थे । एक, उनी शासकीय अनुभव बटुल्न सरकारमा सहभागी हुन चाहन्थे । पन्ध्रौं महाधिवेशनबाट सभापति हुने मुख्य उद्देश्य राखेका उनी यसबीच अवसर मिल्दा शासकीय अनुभवका लागि सरकारमा जाने सोचमा पनि थिए/छन् । शेखरनजिकका एक जानकार भन्छन्, उनी उपप्रधान तथा परराष्ट्रमन्त्रीको ‘पोर्टफोलियो’ पाउँदा सरकारमा जाने मनस्थितिमा थिए । तर, देउवाले परराष्ट्रमन्त्रीमा आफ्नो समूहका एनपी साउदलाई पठाए ।

दुई, उनलाई देउवाले पार्टीको ‘वरिष्ठ नेता’ नियुक्त गर्लान् भन्ने पनि अपेक्षा थियो । खासमा देउवाले कांग्रेस परम्परालाई पछ्याएका भए यो पदको अपेक्षा शेखरले गर्नै पर्दैनथ्यो । त्यो किनभने, कांग्रेसमा सभापतिका निकटतम प्रतिद्वन्द्वीलाई वरिष्ठ नेता दिने चलन नै छ । कुनै बेला पराजित भएका देउवालाई गिरिजाप्रसाद कोइरालाले वरिष्ठ नेता बनाएका थिए । त्यसपछि पनि सुशील कोइरालाले देउवालाई र देउवाले रामचन्द्र पौडेललाई वरिष्ठ नेता नियुक्त गरेका नजिर छन् । त्यस हिसाबले अहिले देउवाले शेखरलाई वरिष्ठ नेता तोक्न यत्रो आनाकानी गर्नु जरुरी थिएन । तर, देउवा आफूलाई परम्पराको त्यो पगरी दिन तयार नभएपछि उनको ‘देउवामोह’ भंग भएको छ ।

यो पृष्ठभूमिमा देउवासँगको सम्भावित रणनीतिक सहकार्यलाई तत्कालका लागि थाती राख्दै शेखरले उनलाई चुनौती दिने बाटो रोजेका छन् । शेखरको उद्देश्य अब ४० प्रतिशत भागबन्डाको माग सारेर दबाब दिने होइन, बरु सिंगो पार्टी पंक्तिलाई आफूतिर आकर्षित गर्ने र आफूलाई केन्द्रमा राख्ने लक्ष्यबाट प्रेरित देखिन्छ । शान्त र शालीन स्वभावका शेखरको ‘कोशी विद्रोह’ का क्रममा देखिएको ‘एसर्टिभ’ चरित्र त्यसको उदाहरण हो ।

दुई विकल्प

अब लागौं मुख्य प्रश्नतिर ।

जसरी कोशी प्रकरणमा शेखरले देउवालाई ‘च्यालेन्ज’ गरे, नेतृत्व परिवर्तनमा पनि त्यस्तै गर्न सक्लान् ? उनको ‘मिसन ८२’ कति चुनौतीपूर्ण होला ?

खासमा शेखरसँग चुनौती र अवसर दुवै छन् । उनका मुख्य दुई अनुकूलता छन् । पहिलो, उनी चौधौं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका बलिया प्रतिस्पर्धी हुन् । त्यसमाथि समूहका नेताहरूले सार्वजनिक रूपमै उनको नेतृत्वको माग गर्न थालिसके । जस्तो, चन्द्र भण्डारीले ‘कांग्रेसले अब डाक्टरको नेतृत्व खोजेको’ बताए ।

दोस्रो, उनी बीपी कोइरालाका उत्तराधिकारी नभए पनि कोइराला परिवारका सदस्य हुन् । हुन त उनले ‘म बीपीको छोरा वा गिरिजाप्रसादकी छोरी होइन, म केशव/नोनाको छोरा हुँ, ममा कोइरालाको लिगेसी छ, बीपी वा गिरिजाप्रसादको छैन, त्यसैले मैले बढी मिहिनेत गर्नुपर्छ’ भनेर पटक–पटक निराशा व्यक्त गर्ने गरेका छन् । यद्यपि, बीपी र गिरिजाप्रसादका उत्तराधिकारीहरू कमजोर र प्रभावहीन हुँदै जाँदा उनी कोइरालाहरूका सर्वसम्मत उम्मेदवार हुने सम्भावना पन्ध्रौं महाधिवेशनमा अधिक छ । र, कांग्रेसमा एउटा तप्का यस्तो छ, जो नेतृत्व कोइराला परिवारमा फर्केको हेर्न चाहन्छ पनि ।

तर नेतृत्वमा पुग्ने चुनौती के छ भने, चौधौं महाधिवेशनमा पाएको ४० प्रतिशत मत जोगाएर मात्रै पुग्दैन, बढाउनुपर्नेछ । आफ्नो समूहलाई एकढिक्का राख्दै, समूहका प्रभावशाली आकांक्षीहरूको व्यवस्थापन गर्न सक्नुपर्छ । तर, महामन्त्री गगनसँगको बढ्दो दूरी देख्दा, यो समूह यही रूपमा रहने निश्चितता छैन । गगन आफैं अर्का महामन्त्री विश्वप्रकाश र प्रदीप पौडेल आदिको साथ लिएर समूह बनाउन लागिपरेको समाचार आएको छ । त्यसो त, नक्कली भुटानी शरणार्थी प्रकरणको अभियोगमा जेल सजाय भोगिरहेका देउवाका निकटस्थ मानिने बालकृष्ण खाणसँग शेखरको ‘गुफ्तगु’ अर्थपूर्ण मानिएको छ । तर, त्यो उनको ‘मिसन ८२’ को आधार बन्ला–नबन्ला, निष्कर्ष निकाल्न हतार हुनेछ ।

यति बेला कांग्रेसको शक्ति सन्तुलनको अवस्था हेर्दा यति मात्रै भन्न सकिन्छ— यो पार्टीमा देउवा समूहको पल्ला भारी छ । केन्द्रदेखि वडासम्मै ‘गुटको साम्राज्य’ भएको कांग्रेसमा जुन विधि र शैलीबाट महाधिवेशन नेतृत्व चुनिन्छ, पन्ध्रौंमा पनि देउवापक्षीय नेताहरूकै बोलवाला भयो भने आश्चर्य नमान्दा हुन्छ ।

सभापतिका रूपमा देउवाको यो अन्तिम कार्यकाल हो । तर, उनी अहिलेको गठबन्धनमा भएको सहमति कायमै रहँदा एक वर्षपछि छैटौं पटक प्रधानमन्त्री हुने सम्भावना पनि छ । त्यसो भयो भने, उनी प्रधानमन्त्री भएकै अवस्थामा महाधिवशेन हुनेछ । जहाँ फेरि उनी नै प्रभावी हुने हुन् । पन्ध्रौं महाधिवेशनमा देउवाको मुख्य रुचि आरजु देउवालाई नेतृत्वमा स्थापित गर्नु हुनेछ । त्यो बखत पन्ध्रौं महाधिवेशनका सभापतिका दाबेदारहरूमध्ये जसले देउवाको ‘आरजु’ पूरा गर्ला, सायद उही नै उनको उत्तराधिकारी बन्ला ।

यसरी हेर्दा शेखरसँग दुई विकल्प बाँकी हुन्छन् । एक, देउवासँगै रणनीतिक सहकार्य गर्ने र उनका स्वार्थहरू पूरा गर्दै नेतृत्वमा पुग्ने । दुई, अहिलेकै समूहलाई एकढिक्का बनाउने, महामन्त्री विश्वप्रकाश र अर्का नेता प्रदीप लगायत देउवा समूहका असन्तुष्टहरूलाई समेट्ने, संसदीय दलको नेता फेर्ने प्रयत्न गर्ने, महामन्त्रीहरू लगायत समूहका प्रभावशाली नेताहरूको व्यवस्थापन गर्ने, पार्टी र सरकारको नेतृत्वका विषयमा आपसी सहमति बनाएर अघि बढ्ने बाटो पनि उनीसित सुरक्षित छ ।

यी विकल्पमध्ये शेखरले कुन बाटो रोज्लान् ? त्यो भोलिका दिनमा थाहा होला तर महासमिति बैठक नजिकिँदै गर्दा समग्र राजनीति सर्कसमा परिणत हुँदै गरेको अहिलेको अवस्थामा राजनीतिक–वैचारिक हस्तक्षेप गर्न नसकेको कांग्रेसमा भित्रभित्रै चलेको ‘मिसन ८२’ कति सार्थक होला ? यो प्रश्न चाहिँ मननीय छ ।

प्रकाशित : मंसिर १८, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?