११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्राणभन्दा प्यारो गणतन्त्र !

प्राणभन्दा प्यारो गणतन्त्र रोगी भएको हो भने यसका लागि हामी नागरिक पनि कम दोषी छैनौं । केवल नेता र दलहरूमा समस्या देख्ने तर आफू स्वयं गैरलोकतान्त्रिक काममा लिप्त रहने गर्दा गणतन्त्र हृष्टपुष्ट हुन पाउँदैन ।
चन्द्रकिशोर

शीतलनिवास अर्थात् राष्ट्रपति भवनमा जनताका सन्तति पुगेका छन् । यो सानो दुःखले आर्जिएको गणतन्त्र होइन । दुर्गानन्द झा र रामराजाप्रसाद सिंह जस्ताहरूको स्वप्न, समर्पण र संघर्षको परिणति हो । ज्यान र जग्गा सर्वस्वहरण हुँदासमेत अविचल अडानको भाग्यफल हो । गणतन्त्र कसैले चाँदीको थालीमा पस्किएर दिएको होइन । कोही एक्लोको आर्जन पनि होइन । कैयौं पुस्ताको बलिदानले गणतन्त्र सम्भव भएको हो । यो नेपाली जनताको स्वनिर्णयको उच्चतम अभिव्यक्ति थियो ।

प्राणभन्दा प्यारो गणतन्त्र !

साधारण नागरिकले राष्ट्रपति बन्न पाउनुले नेपाली जनचाहनाको सर्वोत्तम अभिव्यक्ति आफ्नो सम्पूर्णतामा प्रकट भएको थियो । हामीले रोजेको र खोजेको व्यवस्थाले धूलिकणलाई शिखरको फूल बनाउने अद्भुत क्षमता मुखरित गर्‍यो ।

उर्दूको एउटा शेरले भन्छ :

‘हमनशीं जाएँ कहाँ,

कोई ठिकाना न रहा

या तो वह हम न रहे

या वह जमाना न रहा ।’

एउटा आम धारणा छ, गहिरो मनोकांक्षा पूर्ति भइसकेपछि मान्छेहरूमा असीम आनन्द र सन्तुष्टि भेटिन्छ । एउटा सीमासम्म त यो ठीक हो, तर फेरि पनि प्रश्न उठ्छ— लक्ष्यप्राप्तिपछि के हुन्छ ? ‘नेपालको गणतन्त्र बिकाउ छ ?’ हो, साँच्चिकै केही वर्चस्वशालीहरू मिलेर गणतन्त्रलाई अपहरण गरी बन्धकी बनाएका छन् । यो लुटतन्त्र र दमनतन्त्रमा फेरिएको छ । यसको केवल बाह्य रूप लोकतन्त्रको छ । निर्धारित समयमा चुनाव हुन्छ, शान्तिपूर्ण सत्ता हस्तान्तरण हुन्छ, सदनको अंकगणितमा सदन चल्छ । तर लक्ष्य यति मात्र होइन । अनेकौं सानाठूला जनसंघर्षहरूको परकम्पबाट गणतन्त्र आर्जिइएको हो । राज्यको शिखरमा जनता पुग्नु मात्र यस आरोहणयात्राको पूर्णता होइन ।

आन्दोलनले सफलताको एक चरण उक्लिएपछि समाजमा जुन वैचारिक संघर्ष उठान हुन्छ, त्यो एउटा मतभेदसँग जोडिएको हुन्छ । अनि आर्थिक समृद्धिको दिशा र गति कस्तो होस् त ? दुर्भाग्य के छ भने, ‘पुँजीवादी पथका पथिक’ हरूले आर्थिक समृद्धिलाई नै प्राथमिक ठान्छन् । जबकि मुख्य प्रश्न हो— आर्थिक समृद्धि कस्तो हुनुपर्छ ? के आर्थिक समृद्धि केही बुद्धिजीवी, प्रबन्धक, व्यवसायी गण, उच्च कर्मचारी वर्ग र राजनीतिक खेलाडीहरूको सपना र स्वार्थ पूरा गर्नका लागि हुने हो ? वा, भुइँमान्छेको रहनसहन र जीवनमा गुणवत्ता बनाउन ? जवाफ आफैं प्राप्त हुन आउँछ— कसरी उदारीकरण, निजीकरण र वैश्वीकरणको चमकले बहुसंख्यक भुइँमान्छेलाई बाटो पार गर्ने ठाउँ दिनुको साटो फुटपाथबाट समेत तल झारिदिएको छ । विषमता बढाउने राजनीतिक अभ्यासका रिक्तताहरूबारे विमर्श त बल्ल सुरु भएको छ ।

सरकार र संविधानका अँध्यारा पक्षहरूलाई उजागर गर्नु कुनै पनि नागरिकको हक मात्र होइन कि दायित्व पनि हो । नागरिक कसैको हरूवाचरुवा होइन । आलोचनाबाट कोही पनि मुक्त छैन । सरकारले आम नागरिकलाई फरक ढंगले सोच्ने र बोल्ने छुट दिन कन्जुस्याइँ दिनु हुन्न । दलहरूको आलोचना गरिन्छ । सरकारहरूको आलोचना गरिन्छ । छरछिमेकमा हेर्ने हो भने अन्यत्रभन्दा हामीकहाँ प्रश्न गर्ने, आलोचना गर्ने सामर्थ्य र सतह बढी छ । तर पनि जोडले भन्नैपर्छ, ‘गणतन्त्र अपहरणमा परेकै हो ।’

अहिले अँध्यारो कुनाबाट जेजस्ता प्रयत्नहरू भइरहेका छन्, तीे अपहरणमा परेको गणतन्त्रलाई स्वाभाविक गति दिनका निम्ति हुँदै होइनन् । उनीहरू नागरिकलाई दासत्वको अँध्यारो युगमा फेरि फर्काउन चेष्टारत छन् । फेरि पनि भन्नैपर्छ— जुन सानो जमातले गणतन्त्रलाई कब्जामा लिएको छ र हामीमाथि शासन गरिरहेको छ, त्यसले बाह्रबुँदे सम्झौताले कोरिदिएको मार्गचित्रको अवमूल्यन तथा अतिक्रमण गरिरहेको छ । उनीहरूले यस्तो बाटो समाएका छन्, जुन गणतन्त्रको लक्ष्यप्रति विनाशकारी छ । निर्वाचन किन गराइन्छ ? आम नागरिकलाई सरकार छनोट गर्ने मौका मिलोस् भनेर, जुन जनताको होस् र जनताद्वारा चलाइएको होस् । तर कुनै पनि सरकार जनताको र जनताद्वारा चलाइएको तथा लोकतान्त्रिक तब मात्र बन्न सक्छ जब उसले जनताको हितमा काम गर्छ ।

विश्वइतिहास साक्षी छ, स्वतन्त्रता र लोकतन्त्रका लागि लडेकाहरू नै पतित भएका छन् । तिनीहरूले नै लोकतान्त्रिक मूल्यहरूमाथि विध्वंस मच्चाएका छन् । आर्थिक गैरबराबरी र हैसियतको गैरबराबरीले कानुनका सम्मुख सबै बराबरको आधारभूत हकलाई निरर्थक बनाइदिएको छ । विकास एउटा माध्यम हो, एउटा प्रक्रिया हो— भुइँमान्छेको रहनसहनमाथि उठाउने र तिनीहरूको जीवनलाई उत्तम बनाउने । त्यसैले विकास मानव अधिकार पनि हो । तर विकासनीति यस्तो हुनुपर्छ जसले त्यो प्रक्रियामा भुइँमान्छेको सहभागिता र प्राप्तिमा सहभागिता सुनिश्चित गर्नुपर्छ । गणतन्त्रकै अपहरण भएका बेला यस्ता कुराहरू दिवास्वप्न लाग्न सक्छन् ।

यतिखेर आम नागरिकमा असन्तोष छ । छटपटी छ । यो असन्तोष राजसत्ताका नीतिहरूको खिलाफमा छ जसको उद्देश्य शेष नागरिकको मूल्यमा सीमित मान्छेहरूको स्वार्थको साधना गर्नु हो । राजसत्ता केही परिधिभित्रका मान्छेहरूका हातमा छ । पक्ष र विपक्ष दुवैतिरका अनुहार छन् त्यसमा । यो तप्काले आफ्नो स्वार्थ र शक्तिको यथास्थितिका लागि जे पनि गर्न सक्छ । आम मान्छेको जीवन, व्यक्तिगत स्वतन्त्रता र अन्य गणतान्त्रिक हकमाथि हमलाको क्रम निरन्तर चलिरहेको छ । तर गणतन्त्रलाई अभिजनहरूको करपासबाट मुक्त गराउन जरुरी छ । दलपतिहरूको गलत मनसायसामु आत्मसमर्पण नगरीकन लोकतान्त्रिक गणतन्त्रको सुरक्षा र संवर्द्धनका लागि शान्तिपूर्ण सामूहिक प्रयत्न अनिवार्य रूपमा गरिनुपर्छ ।

म सानो छँदा हजुरआमाले एउटा कथा प्रायः सुनाउने गर्नुहुन्थ्यो । यतिखेर म आफ्ना बाल्यकालका कुराहरू सम्झिँदा अत्यन्त भावुक महसुस गर्दै छु । उहाँको कथा अनुसार, एक पटक एउटा रंगिएको स्याल जंगल पुग्यो । त्यो स्याल रंगीन हुनुको आफ्नै संयोग थियो । जब त्यो रंगिएको स्याल जंगल पुग्यो, उसले आफू नै सिंह भएको दाबी गर्‍यो । त्यो कुरा जंगलका सबैले पत्याइदिए । केही दिन यस्तै रजगज चल्यो । केही स्वार्थीले उसको जय–जयकार गर्थे । बेला–कुबेला जंगल भ्रमणको खेल चल्थ्यो । त्यो रंगिएको स्यालले ‘बुझें–बुझें’ भनेर नाटक गर्थ्यो तर वास्तवमा उसले जंगल र त्यहाँको समस्या कहिल्यै बुझेको थिएन । जब जंगलवासीले ऊ नक्कली राजा भएको भेउ पाउँदै गए, सबै मिलेर उसलाई लखेटे । चाहना त जंगलबाटै निकाला गर्नु थियो तर त्यो स्यालले याचना गर्‍यो, ‘मलाई यहीँ बस्न देओ । म यहाँको नियमकानुन मान्छु ।’ सबैले सोचे— यो बूढो स्यालले अब आफ्नो घरपरिवारमा रमाइलो गरेर जीवन बिताउँछ । अनि बस्न दिए । तर नियतिको खेल अर्कै थियो । केही दिन त्यो बूढो स्याल चुप लागेर बस्यो । पछि त फेरि जंगलमा शान्ति खलबल्याउन थालिहाल्यो । हार खाएर जंगलवासीले त्यो स्यालको पुच्छरमा आगो लगाइदिएर जंगलबाट लखेट्छन् ।

भोजपुरीमा एउटा कहावत छ, ‘ज्ञान घटे नर मूढ की संगत ।’ अर्थात्, कुनै व्यक्तिले कस्तो संगत गर्छ, त्यसमा पनि धेरै कुरा निर्भर गर्छ । ज्ञानेन्द्र शाहले दुई पटक राजा बन्ने मौका पाए तर उनी आफ्ना पिता जस्तै ‘लोकतन्त्रमारा’ बन्न अभिशप्त भए । अहिले बुढेसकालमा उनलाई नेपाली जनताले असल नागरिक बन्ने मौका दिएका छन् तर यसमा पनि उनको नियति अनुत्तीर्ण हुनु नै देखिँदै छ । निर्मल निवास व्यक्तिगत रूपमा क–कसको परमधाम हो, त्यो ती व्यक्तिहरूको छनोट हो, तर निर्मल निवास जब लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधि उक्साउने थलो बन्न थाल्छ, सरकार मौन बसिरहन मिल्दैन । निर्मल निवासवासीको सुरक्षामा नेपाली जनताको श्रम र पसिनाले आर्जिएको रकम खर्चिइएको छ । त्यसैले आम नागरिकले सरकारबाट उनको उठबस र कुराकानी के–कस्तासँग हुन्छ, उनी मुलुकबाहिर जाँदा को–कसलाई के गुहार्छन् भनी जानकारी पाउने हक राख्छन् ।

मुलुक यथास्थितिमा लामो समय रहन सक्दैन । खिलराज रेग्मीको अभ्युदय संयोग थिएन । उनी लामो गृहकार्यको परिणति थिए । लोकतान्त्रिक भनिएका दलहरूकै मानस गैरलोकतान्त्रिक र संघीयताविरोधी एवं केन्द्रीकृत छ भने अहिलेको जन–असन्तुष्टिलाई पुँजीकृत गर्न फेरि कुनै गेमप्लान छैन होला भनेर इन्कार गर्न सकिँदैन । दुर्गा प्रसाईंको जुलुसमा सहभागिता जनाउने र अराजकता उत्पन्न गर्न प्रेरणा दिनेहरूमा केही पूर्वसुरक्षा पदाधिकारीहरू संलिप्त रहेको खबर बाहिरिनुले केही अनिष्टकारी संकेत गरिरहेको छ । कैयौं मुलुकमा दलहरूको कमजोरीको लाभ उठाउँदै अदालत र आर्मीको गठजोडले शक्ति अभ्यास गरिएको देखिन्छ । समस्या दुर्गा प्रसाईं होइनन्, बरु उनीमार्फत भावी षड्यन्त्रहरूको पदचाप सुनिनु हो । तसर्थ प्राणभन्दा प्यारो गणतन्त्र रोगी भएको हो भने यसका लागि हामी नागरिक पनि कम दोषी छैनौं । केवल नेता र दलहरूमा समस्या देख्ने तर आफू स्वयं गैरलोकतान्त्रिक काममा लिप्त रहने गर्दा गणतन्त्र हृष्टपुष्ट हुन पाउँदैन ।

एउटा कथामा दुई पात्र डुंगामा सवार थिए । एकले आफ्नो हिस्सातिर प्वाल पार्न थाल्यो । अर्को करायो, ‘के गरेको ?’ जवाफ आयो, ‘जे गर्दै छु, आफ्नो हिस्सातिर गर्दै छु ।’ ज्ञानेन्द्र शाहमा देखिने कुटिल मुस्कान हामी स्वयंको हिस्साको गणतन्त्रमा प्वाल पार्ने प्रवृत्तिले दिएको ऊर्जा हो ।

प्रकाशित : मंसिर १४, २०८० ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?