१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११३

बीपी राजमार्गको घट्दो आयु

सादेशमणि पोखरेल

बीपी राजमार्ग नेपालकै सम्भवतः पहिलो पर्यटकीय महत्त्व बोकेको राजमार्ग हो । यसको अधिकांश भाग सिन्धुली जिल्लामा पर्छ । यस राजमार्गले महोत्तरी, धनुषा तथा काभ्रेपलाञ्चोक जिल्लालाई पनि समेट्छ । २०७२ असारदेखि सञ्चालनमा आएको १५८ किमि लामो यस राजमार्गको पहिचानार्थ सरकारले यसको राष्ट्रिय राजमार्ग संकेत ‘एच ००६’ तय गरेको छ ।

बीपी राजमार्गको घट्दो आयु

राष्ट्रिय महत्त्व बोकेको यस राजमार्गको निर्माण सन् १९९६ मा सुरु भएको थियो । मानवस्रोत, बजेट, कच्चा पदार्थ लगायतका संकट झेल्दै १९ वर्ष लाग्यो, यसको निर्माण सकिनलाई ।

काठमाडौं र पूर्वी तराईलाई ‘लिंक’ गर्ने हिसाबले बीपी कोइरालाले २०१६ साल (सन् १९५९) मै यसको अवधारणा अघि सारेको पाइन्छ । यस राजमार्गको विकासअघि पनि सिन्धुली तथा तराईका मानिसहरू सिन्धुलीगढीको बाटो हुँदै महाभारत खण्ड पार गर्दै काठमाडौं उपत्यका छिर्ने गर्थे । सागरकुमार ढकालको कृति ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ मा उल्लेख भए अनुसार, सिन्धुलीबाट हिँडेर ३–४ दिनमा काठमाडौं उपत्यका पुग्न सकिन्थ्यो । बीपीको पुर्ख्यौली थलो दुम्जाबाट त झन् १–२ दिनमै पुगिन्थ्यो, काठमाडौं उपत्यका ।

वातावरणीय र पर्यटकीय हिसाबले बीपी राजमार्गलाई नेपालकै उत्कृष्ट राजमार्ग भन्न सकिन्छ । नागबेली सडकले सबैजसोलाई लोभ्याउने गरेको छ । र, यही मनोरम दृश्यावलोकन यदाकदा दुर्घटनाको कारकसमेत बन्ने गरेको छ ।

चुनौतीहरू : ज्यादै न्यून जोखिम भएका राजमार्गहरू नेदरल्यान्ड्समा छन् । तिनमा जोखिमको मात्रा १० मा ७ दशमलव ८६ रहेको कुरा फिन डटकमको पछिल्लो सर्वेक्षणमा उल्लेख छ । यही तथ्यांक अनुसार नेपालका राजमार्गहरू १० मा केवल २ दशमलव ९ ले मात्र सुरक्षित छन् । नेपालका हिमाली दुर्गम भेगका राजमार्ग तथा सडकहरू त अझ बढी जोखिमपूर्ण छन् । बीपी राजमार्ग पनि अपवादमा पर्दैन । सडकको नागबेलीपन, ओरालोपन, उकालोपन तथा कम चौडाइका कारण त्यस्तो खतरा निम्तिने गरेको हो । यसैले यस राजमार्गमा सवारीचालकहरू अझ बढी चनाखो हुनु अपेक्षित मानिन्छ ।

यस राजमार्गमा उच्च गतिमा कुदे सवारीको ब्रेक ठीक स्थानमा लाग्न नसक्नु, पिकअपमा समस्या हुनु, ओरालोमा गति नियन्त्रणमा कठिनाइ हुनु, घुम्तीहरूमा मोड लिँदा ट्र्याक परिवर्तन हुनु जस्ता जोखिम छन् । त्यस्तो खतरा कम गर्न ठाउँठाउँमा सडक रेलिङ, डिभाइडर, नियमित ट्राफिक जाँच, राजमार्ग सुरक्षा गस्ती तथा नियमित यात्रु सवारीका लागि टाइम कार्डको व्यवस्था गरिएको छ ।

कठिन भौगोलिक अवस्थितिका कारण व्यवस्थापनमा असहजता, बढ्दो सवारी चाप, यातायातका साधनमा प्राथमिकीकरणको अभाव, अत्यधिक भारवाहन सवारीसाधनको चाप, प्राकृतिक प्रकोपबाट निम्तिने क्षति र दुर्घटनाबाट हुने मानवीय क्षति, आन्तरिक र बाह्य पर्यटकका निम्ति उपयुक्त बासस्थान अभाव, राजमार्ग आसपासका वनस्पति र वन्यजन्तु संरक्षणको सवाल लगायत यहाँका चुनौती हुन् । चौडाइ हेर्दा यो राजमार्गको गुरुयोजना कृषि सडकका रूपमा अघि सारिएको अनुमान गर्न सकिन्छ । तर, अहिले जस्तासुकै यातायात साधन चल्नाले यो निकै जोखिमपूर्ण बनेको छ ।

पछिल्लो समय बीपी राजमार्गमा व्यावसायिक रूपमै लामा बस तथा उच्च भारयुक्त ठूला टिपरहरू सञ्चालन हुनु दुर्भाग्यपूर्ण हो । उसै त राजमार्गको मोड क्षमता कम छ, त्यसमाथि सडकको फराकिलोपन पनि कम छ । नीतिगत रूपमा साना तथा चारपांग्रे सवारी मात्र गुडाउने प्रावधान रहेकामा सत्ता र शक्तिको आडमा लामा बस तथा उच्च भारवाला टिपरहरू चल्न दिन नियम लादियो, जुन राजनीतिक फाइदाकै लागि ‘सेटिङ’ मा गरिएको ठम्याउन गाह्रो छैन । त्यसमाथि राति चल्ने टिपरहरू बिग्रेर आधाजसो सडक छेकिँदा सवारी जाम सामान्य हुँदै गएको छ ।

ठूला सवारीसाधन उकालोमा चल्दा राजमार्ग नै थर्कने समस्यासमेत छ । भूकम्प तथा सोही भारयुक्त सवारीसाधन चल्नाका कारण केही केही भूभागमा सडक रेट्रोफिटिङ गर्नुपरेको छ । कतिपय स्थानमा सडक चर्किने तथा भासिने समस्याहरू देखिन थालेका छन् । तैपनि सरकारका नियामक निकायहरू तथा सम्बन्धित स्थानीय तहहरू कानमा तेल हालेरै बसिरहेका छन् ।

राजमार्गमा यात्रुले फालेका फोहोर व्यवस्थापन गर्न नसक्नु अर्को समस्या हो, जुन कालान्तरमा ठूलै टाउकोदुखाइ बन्ने निश्चित छ । हुन त फोहोर व्यवस्थापनमा स्थानीय सरकार, गैसस, क्लब, स्कुल–कलेजले केही काम गर्दै आएका छन् ।

समाधानका उपाय : कम चौडा र कठिन भूगोलमा निर्माण भएका कारण यो राजमार्ग जोगाउन पहिलो त सम्बन्धित स्थानीय तहहरूले द्रुत प्रतिकार्य समिति गठन गर्नुपर्छ । मूलतः चारपांग्रे र हलुका सवारीसाधन मात्र चल्न दिँदा राजमार्गको आयु बढ्ने निश्चित छ । सवारीसाधनलाई अनुशासित तुल्याउन धेरै ठाउँमा सीसीटीभी तथा अन्य डिजिटल प्रविधिको प्रयोग गर्न सकिन्छ ।

प्रकाशित : मंसिर १३, २०८० ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?