११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लैंगिक हिंसाको विरोध दिनहुँ

महिला र किशोरीहरूको सशक्तीकरण तथा पीडितकेन्द्रित आवश्यक सेवासुविधा, प्रहरी, स्वास्थ्य सेवा, न्याय तथा सामाजिक क्षेत्रमा समन्वय र सहकार्य पनि महिला तथा किशोरी हिंसा रोक्ने प्रमुख उपाय हुन सक्छन् ।
सुशीला शर्मा

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मका १६ दिनलाई प्रत्येक वर्ष लैंगिक हिंसाविरुद्ध अभियानका रूपमा नेपालसहित विश्वभरि नै मनाइँदै आएको छ । विश्वभरि नै करिब तीन महिलामा एक जना आफ्नो जीवनकालमा हिंसामा परेका हुन्छन् । प्राकृतिक विपत्ति लगायतमा पनि महिलाहरू नै बढी जोखिममा पर्ने गरेका छन् । 

लैंगिक हिंसाको विरोध दिनहुँ

यूएन विमेनले १३ देशमा गरेको अध्ययन अनुसार, कोभिड महामारीदेखि प्रत्येक तीन महिलामा दुई जना कुनै न कुनै हिंसाबाट पीडित हुने गरेका छन् । विशेषतः खानाको अनिश्चितता छ तिनलाई । त्यस्तै, १० महिलामा एक जनाले मात्र हिंसापछि प्रहरीकामा जाने गरेको बताएका छन् । हिंसा न्यूनीकरणका लागि सर्वप्रथम त यसको जरो पत्ता लगाउनुपर्छ ।

हिंसाबाट बाँचेकाहरूप्रति विश्वासका साथै समावेशी र एकीकृत विधिहरूको प्रयोगले हिंसाको जरो थाहा पाउन मद्दत पुग्छ । हानिकारक सामाजिक मूल्यमान्यताको रूपान्तरण एकदमै जरुरी छ । महिला र किशोरीहरूको सशक्तीकरण तथा पीडितकेन्द्रित आवश्यक सेवासुविधा, प्रहरी, स्वास्थ्य सेवा, न्याय तथा सामाजिक क्षेत्रमा समन्वय र सहकार्य पनि महिला तथा किशोरी हिंसा रोक्ने प्रमुख उपाय हुन सक्छन् । अर्को मुख्य कुरो, महिलाकेन्द्रित योजनाका लागि सम्बन्धित निकायले पर्याप्त बजेट दिनुपर्छ ।

१६ दिने अभियानमा प्रत्येक वर्ष थिम बदलेर या पहिलो वर्षकै थिमलाई लिएर लैंगिक हिंसाविरुद्धको अभियान मनाइरहँदा प्रमुख विषयवस्तुहरू पनि महिला हिंसासँग सम्बन्धित नै हुने गर्छन् र सो हिंसा न्यूनीकरणका लक्ष्यसहित यस्ता नाराहरू अघि सारिएका हुन्छन् । यस अभियानको पहिलो वर्षको थिम ‘महिलाविरुद्ध हिंसाले मानव अधिकारको उल्लंघन गर्छ’ भन्ने थियो । ‘परिवारमा प्रजातन्त्र, परिवारको प्रजातन्त्र, प्रजातन्त्र सबैका लागि’ जस्ता नाराहरू हुँदै यो वर्ष ‘महिला हिंसा अहिल्यै अन्त्य गरौं’ भन्ने नाराहरूले महिलाका वास्तविक समस्याहरूलाई उजागर गर्दै आइरहेका छन् । यसबारे आवाज उठाउनु, समाज र राज्यलाई जिम्मेवार बनाउनु नै १६ दिने अभियानको लक्ष्य हो ।

नेपालमा महिला हिंसाका स्वरूपहरू आम तथा भिन्न रूपका छन् । सामाजिक–सांस्कृतिक रूपले महिलाले अपनाउनुपर्ने मान्यता लगायतका विभेदहरू महिला हिंसाका वाहक हुन् । घरेलु हिंसा, दाइजोका नाममा महिलामाथि गरिने हिंसा, बोक्सी प्रथा, छाउपडी प्रथा अझै पनि हाम्रो समाजमा रहेकै छन् । छोरा र छोरीकै बीचमा गरिने विभेद कम भए पनि हटिसकेको छैन । आर्थिक, सामाजिक, राजनीतिक अधिकारहरू अझै महिलाको पहुँचमा छैनन् ।

निर्णायक तहमा महिलाका विचारलाई स्वीकार्ने माहोल बनिसकेको छैन । महिला तथा किशोरीको बलात्कार अनि हत्या जस्ता जघन्य अपराध पनि दिनदिनै हुने घटनाभित्रै पर्ने गर्छन् । गरिबी, जातीय छुवाछूतले महिला तथा किशोरीलाई झनै पीडित बनाएको छ । यी विभिन्न कारणले लैंगिक हिंसाविरुद्धका कार्यक्रम १६ दिने अभियानका रूपमा मात्र होइन कि, प्रत्येक दिन चलाउनुपर्छ । हिंसाविरुद्धको अभियान घरैबाट सुरु गर्नुपर्छ । महिला सशक्त हुनु भनेको एउटा परिवार नै सशक्त हुनु हो । महिला अधिकार केवल महिलालाई उपलब्ध गराइने अधिकार मात्र होइन, यो मानव अधिकार पनि हो ।

हाम्रो समाजमा बलात्कारजन्य हिंसा तथा श्रीमान्–श्रीमतीबीच हुने हिंसा खुलेर बाहिर आउँदैनन्, समस्याले जटिल रूप लिएपछि मात्र यदाकदा समाचार बन्ने गर्छन् । परिवारमै भएका हिंसालाई ‘घरभित्रको समस्याबाहिर लैजानु हुन्न’ भन्ने मान्यताले थिचिएर संस्थागत गर्न सघाउ पुगिरहेको छ । ‘लोग्नेले श्रीमतीलाई दुईचार थप्पड लगाउनु सामान्य हो र यो सहनुपर्छ’ भन्ने मान्यताले जरो गाडेको छ । सांस्कृतिक रूपमा लादिएका छाउपडी र महिनावारी बार्नु, एक्ली र गरिब–सीमान्त महिलालाई बोक्सीको आरोप लगाई यातना दिनु जस्ता अन्य हिंसा समाजमा ज्युँदै छन् । महिला तथा किशोरी बेचबिखन अर्को प्रमुख हिंसाका रूपमा व्याप्त छ ।

मानव बेचबिखनका यस्ता गिरोह त झन् विश्वव्यापी रूपमै संगठित छन् । हिंसालाई हिंसा हो भनेर प्रतिकार गर्ने, हिंस्रकलाई सजायको कठघरामा ल्याउने दायित्व हाम्रै समाज र राज्यको हो । १६ दिने अभियानले पनि महिलाप्रति हुने यस्तै हिंसाविरुद्ध राज्यलाई झकझक्याउने काम गर्दछ । किशोरी शिक्षा र सचेतनालाई सशक्त रूपमा सञ्चालन गरेमा मात्र महिलाहरूले आफूप्रति भएको अन्याय, विभेद र हिंसाको प्रतिकार गर्न सक्नेछन् । यस्ता पक्षहरूलाई पनि राज्यका निकायहरूले मनन गर्न जरुरी छ ।

लैंगिक हिंसाभित्र पनि नदेखिने चाहिँ यौनकर्मी महिलामाथिको हिंसा पनि एउटा हो । यौनकर्मी महिलाहरूको समूह एउटा कार्यक्रममा भन्दै थियो, ‘हामी पनि महिला हौं । हामी कसैकी आमा, कसैकी छोरी र दिदीबहिनी सबै नाताभित्रका हौं । हामी गृहिणी, सानोतिनो व्यापारी, होटल मजदुरका रूपमा काम गर्छौं । हामी चौबीसै घण्टा यौनकर्मी महिला होइनौं । जान्नेसुन्नेहरूले नै हामीलाई पेसेवर भनेर विभेदको भाषा बोलिरहेका हुन्छन् । हामीमाथि त झनै अन्याय र हिंसा हुने गर्छ । स्वेच्छाले यौन पेसा अँगाले पनि ग्राहकले गर्ने हिंसा अनि प्रहरीको लखेटाइले हामी आजित छौं । कि यौन पेसा बिलकुलै नभएको समाज हुनुपर्‍यो कि हाम्रो पेसालाई निरपराधीकरण गरिनुपर्‍यो ।’

जीवनका अनेक उतारचढाव पार गर्दै आएका केही यौनकर्मी महिलाहरू अहिले यतिको बोल्न सक्ने भएका छन् । एक महिलाको भनाइ थियो, ‘ड्युटीमै मादक पदार्थ खाएका प्रहरीले पनि यातना दिने गरेका छन् ।’ यौनकर्मी महिलाहरूसँग कार्यरत संस्थाकी एक प्रतिनिधि भन्दै थिइन्, ‘करिब बीस–बाइस वर्ष अगाडिदेखि नै यौनकर्मी महिलाहरूको हिंसारहित जीवनबारे सम्बन्धित निकायमा बहस–पैरवी हुँदै आएका हुन् । राज्य संयन्त्रलाई यो कुरा थाहा नभएको पनि होइन । एकदुई ठाउँमा यो मुद्दालाई गम्भीर रूपमा लिइएको जस्तो पनि देखिन्छ । तर यौनकर्मी महिलाहरूको उमेर बढ्यो र ती प्रौढ अवस्थातिर ढल्के, समस्या भने उस्तै छ ।’

कतिपय यौनकर्मी महिला ग्राहकसँगै बसेर मदिरा लगायतका लट्ठयाउने पदार्थहरू खान थालेर त्यसकै अम्मली बन्न पुगेका छन् । कतिपयको हिंसात्मक गतिविधिमा मृत्यु पनि हुने गरेका घटनाहरू बाहिर आउँछन् । तर उनीहरूको मृत्युलाई त्यति गम्भीर घटनाका रूपमा लिइँदैन । केही सचेत यौनकर्मी महिलाले भने ग्राहकसँग मदिरा लगायतका चिज खानुपर्दा होस पुर्‍याउने, खाएजस्तो मात्रै गर्ने गरेका रहेछन् । एक महिला प्रहरीको लखेटाइमा परेर नीलडाम भएको बताउँदै थिइन् । उनीहरू एकस्वरमा भन्दै थिए, ‘हामीले यौन आवश्यकता भएका ग्राहकलाई सहमतिमा यौन सेवा दिएका हौं । यो हाम्रो आम्दानीको स्रोत हो तर समाजले हामीलाई मात्र किन अपराधीको नजरले हेर्छ ?’ एक जना आक्रोश पोख्दै थिइन्, ‘कि हामीलाई रेडहेन समाओस्, हैन भने बाटोघाटो कुटपिट र लछारपछार नगरोस् ।’

सेवाप्रदायक, प्रहरी प्रशासन र सरोकारवालाहरूबीचको अन्तर्क्रिया नै यौनकर्मीहरूले पनि अन्य आम मानिससरह जीवन बिताउन पाउने अधिकार पाउने एउटा कडी हो । अर्को कुरा, यौनकर्ममा जोखिम धेरै छ, महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्छ भन्ने मान्यता हो भने चाँहि यौनकर्मी महिलाहरूलाई नै यस्तो महसुस गराउने खालका चेतनामूलक शिक्षा र वैकल्पिक जीविकोपार्जनको व्यवस्था राज्यले गरिदिनुपर्ने हुन्छ । स्वविवेक र चेतनाले आफ्नो जीवन धान्ने रोजगारी रोज्न पाउनु पनि महिला अधिकारभित्रै पर्छ ।

महिला हिंसाका अनेक स्वरूप नेपाली समाजमा छन् । सामाजिक–सांस्कृतिक अनेक व्यवधानबारे महिलाहरूले नै आवाज उठाइरहनुपर्छ । अनि मात्र हिंसा न्यूनीकरण हुँदै जान्छ ।

प्रकाशित : मंसिर १३, २०८० ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?