१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

'डिपफेक' र सञ्जालको सास्ती 

भ्रामक र मिथ्या सूचनाको बढी जोखिम हुने नै त्यस्तो समाजमा हो, जहाँ राजनीतिक र धार्मिक तथा जातीय आधारमा समाज बढी ध्रुवीकृत भएको हुन्छ । नेपाली समाज त्यही दिशामा दौडिरहेको मात्र छैन कि, पछिल्ला घटनाहरू हेर्दा, चर्को रूपमा ध्रुवीकरण हुँदै छ ।
शुभशंकर कँडेल

काठमाडौँ — ‘राजनीतिक डिपफेक्सले कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सिर्जना गरिएका भिडियोहरूले व्यक्तिलाई तीव्र रूपमा साँचो सामग्रीबाट अलग्याउनै नसकिने अवस्थाबाट नक्कली भिडियोहरूमा पुर्‍याउँछन् । यी भिडियोहरूमा मतदाताको विश्वासलाई कमजोर पार्ने क्षमता हुन्छ र यिनले चुनावी परिणाम परिवर्तन गर्न सक्छन् । विकृत जानकारीलाई नियमन गर्दा महत्त्वपूर्ण के छ भने, स्वतन्त्रता र अभिव्यक्तिको आजादीजस्ता चिन्ताहरूका साथै दायित्वहरू कहाँ रहनुपर्छ भन्ने प्रश्नहरू उठ्छन्’ (एन्ड्र्यु रे, ‘डिसइन्फर्मेसन, डिपफेक एन्ड डिमोक्रेसिज,’ यूएनएसडब्ल्यू ल जर्नल, सन् २०२१) ।’

'डिपफेक' र सञ्जालको सास्ती 

‘डिपफेक’ को सबैभन्दा गतिलो मञ्च टिकटक, फेसबुक–रिल, स्न्यापच्याट र इन्स्टाग्राम बनेका छन् भन्नेमा सायदै दुनियाँमा विमति होला । किनकि यी आधारभूत रूपले सर्टस्पान र्‍यापिड भिडियो एप नै हुन् । ‘बढ्दो रूपमा, अस्ट्रेलियालीहरू समाचार सामग्रीका लागि फेसबुकजस्ता डिजिटल प्लेटफर्महरूतिर फर्किरहेका छन् । यसले पहुँचयोग्य र साझा गर्न मिल्ने सामग्रीका लागि विश्वव्यापी प्रवृत्तिलाई प्रतिविम्बित गर्छ, जसले नक्कली समाचारलाई व्यापक रूपमा वितरण गर्न सजिलो बनाउँदै छ । डिजिटल सामग्रीमा आएको परिवर्तन (डिपफेकको खतरा) ले राजनीतिज्ञहरू र सामान्यतः राजनीतिमाथिको विश्वास घटेको छ’ ( एन्ड्र्यु रे, पूर्ववत्) । उन्नत भनिएको लोकतन्त्रमा त यो हालत छ भने नेपालजस्ता देशमा सञ्जाललाई नै समाचार र सूचना मान्ने प्रवृत्ति बढ्दै गएमा डिपफेकवालाले कति सहजै यहाँको व्यवस्था अपहरण गर्लान्, कल्पना गर्दा पनि कहालीलाग्दो छैन र ?

उच्च प्रविधि र सीप प्रयोग गरी डिपफेक अर्थात् सहजै आम रूपमा थाहै नपाउने गरी झूटा सामग्री प्रसार गर्न सकिने अवस्था आइसकेको छ । मानिसको बोली र अनुहारलाई कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स— एआई) प्रयोग गरी जस्ताको तस्तै बनाएर प्रसार गर्न सक्ने प्रविधिको विकास खुल्लमखुला छाड्ने कि सचेत हुने ? यस्तो खालका सूचना र सञ्चारलाई आम उपभोक्ताले पहिचान गर्न सक्ने अवस्था हुँदैन । आएका सामग्रीलाई जस्ताको तस्तै विश्वास गर्ने परिस्थिति बन्दै जाने हो भने स्वाभाविक रूपमा ‘चोरलाई चौतारो र साधुलाई शूली’ को अवस्था उत्पन्न हुन्छ । त्यसमा पनि सबैभन्दा बढी स्त्रीद्वेषले प्रमुखता पाउने गरेको छ । यसबाट सबैभन्दा बढी महिला र बालबालिका नै पीडित हुने गरेका छन् । यस्ता सामग्रीमा कसैले पनि वास्तविक के हो र बनाइएको सामग्री कुन हो भनेर छुट्याउन सक्दैनन् । जब डिपफेक प्रविधि प्रयोग गर्दै सेलिब्रेटीहरूका अनुहार अश्लीलजन्य भिडियो सामग्रीमा प्रयोग हुन थाले, तब मात्र यसको सबैभन्दा घातक असरबारे बहस हुन थालेको हो । डिपफेक प्रविधिमा कुनै सार्वजनिक व्यक्तिको आवाजको ‘क्लोनिङ’ तथा कपी पनि गर्न सकिन्छ । आर्टिफिसियल न्युरल नेटवर्क तथा मेसिन लर्निङको प्रयोग गरेर व्यक्तिको आवाजसमेत कपी गरी ठूला बैंकिङ फ्रडका काण्डसम्म भएका घटनाहरूले विकसित भनिने पश्चिमा देशहरूको राष्ट्रिय सुरक्षामा चुनौती खडा गरिदिएकाले गम्भीर साइबर सुरक्षा सावधानीमा ठूलो लगानी गर्न थालिएको छ ।

फेक समाचार तथा साइबर ह्याकिङले ठूलठूला मुलुकहरूको चुनावी अभियानलाई प्रभावित पारिरहेको समयमा डिपफेक प्रविधि दुरुपयोग भए लोकतन्त्रलाई नै खतरामा पुर्‍याउने निष्कर्ष स्टेट युनिभर्सिटी न्युयोर्कले एउटा अध्ययन (सन् २०२१) पछि निकालेको छ ।

मनोरञ्जनको प्रयोजनका लागि बनाइएका यस्ता प्रविधिले कालान्तरमा दुरुपयोग भएर जोखिमपूर्ण स्थिति उत्पन्न गर्ने अवस्था नआउला भन्न सकिँदैन । केही समयअघि मात्र चर्चित युट्युबर मिस्टरबिस्टको भिडियो डिफफेक प्रविधिबाट तयार पारी ठगी भइरहेको घटना सार्वजनिक भएको थियो ।

डिपफेकको प्रयोग

डिपफेकको सुरुआत ‘फोटो म्यानिपुलेसन’ बाट सुरु भएको मानिन्छ । सन् १८६० मा अमेरिकी गृहयुद्ध चलिरहेको समयमा राजनीतिज्ञ जोन कलहवनको शरीरमा अब्राहम लिंकनको टाउको जोडेको तस्बिर बनाइएको थियो । राजनीतिक स्वार्थका लागि बनाइएको यो फोटोलाई नै पहिलो फोटो म्यानिपुलेट मानिन्छ । तत्कालीन सोभियत युनियनका नेता जोसेफ स्टालिनले प्रोपगान्डा फैलाउनका लागि ५ मे १९२० मा आफ्ना पूर्ववर्तीर् लेनिनले सोभियत सेनाका लागि गरिरहेको निर्देशन भाषणको दृश्य सार्वजनिक गरे । त्यस सम्मेलनमा खिचिएको फोटोमा लियोन ट्राटस्की पनि देखिएका थिए । तर स्टालिनले आफूबाहेक लेनिनसँग उभिने अर्को कोही समकालीन नेता नभएको भान पार्न उक्त फोटोबाट ट्राटस्कीलाई हटाउन लगाएका थिए ।

१९४२ मा इटालियन जासुस बेनिटो मुसोलिनीको फोटोबाट घोडा समात्ने व्यक्तिको फोटो मेटाइएको थियो ताकि सर्वसाधारणलाई मुसोलिनी घोडालाई पनि काबुमा राख्न नसक्ने रहेछन् भन्ने नपरोस् । १९८२ मा ‘नेसनल जिओग्राफिक’ म्यागजिनको कभरका लागि दुई पिरामिडलाई धेरै नजिक देखाइएको थियो । त्यसरी फोटो म्यानिपुलेट गर्दा चौतर्फी आलोचना भएपछि म्यागजिनले माफी माग्नुपरेको थियो । उति बेला फोटोलाई तोडमोड गर्न वा एउटाको शरीरको फोटोमा अर्काकै अनुहार जोड्न पनि विज्ञ व्यक्ति चाहिन्थ्यो । यो प्रक्रिया बढी खर्चिलो हुने भएकाले ठूलठूला राजनीतिक स्वार्थका लागि यसको बढी प्रयोग हुन्थ्यो । तर पछिल्लो समय परिवेश र प्रविधिमा चमत्कार देखिएको छ ।

सन् २०१७ मा डिपफेक पोर्न भिडियो रेटिङ नामक सामाजिक सञ्जालमा भाइरल भयो । त्यसलगत्तै सामाजिक सञ्जालमा विभिन्न सेलिब्रेटी तथा चर्चित व्यक्तिहरूका अनुहार पोर्न भिडियोमा जोडेर बद्नाम गर्ने गतिविधि बढ्न थालेको हो । डिपफेक एआईले कुनै दोस्रो व्यक्तिको फोटो, अडियो वा भिडियो बनाउने काम गर्छ । डिपफेकले दुइटा एल्गोरिदमको सहायताले काम गर्छ । पहिलो जेनेरेटर र अर्को हो डिस्क्रिमिनेटर । जेनेरेटरले नक्कली कन्टेन्ट बनाउँछ । डिस्क्रिमिनेटरले उक्त नक्कली कन्टेन्ट कत्तिको सक्कलीजस्तो देखिन्छ भन्ने पहिचान गर्छ । जबसम्म फेक फोटो वा भिडियो सक्कलीजस्तो लाग्दैन तबसम्म डिस्क्रिमिनेटरले त्यसलाई ठीक बनाउँछ । यही जेनेरेटर र डिस्क्रिमिनेटर एल्गोरिदमको संयोजनलाई जेनेरेटिभ एड्भर्सेरियल नेटवर्क (जीएएन) भनिन्छ ।

जीएएनले डिप लर्निङको प्रयोग गरी नक्कली कन्टेन्ट तयार पार्छ । जसको फेक भिडियो बनाउनु छ, उसको सक्कली भिडियो लिएर त्यसको अनुहार र शरीरको हाउभाउ रेकर्ड गरिन्छ । त्यसपछि त्यो व्यक्तिको यस्तो भिडियो बनाइन्छ जहाँ व्यक्तिलाई जे बोल्न लगाउन खोजियो त्यस्तो देखाइन्छ । त्यस्तै अर्को तरिका हो— फेसस्वाइप, जसमा एउटाको भिडियोमा अर्कै व्यक्तिको अनुहार राख्ने गरिन्छ । यस्तो तमासा सबैभन्दा बढी सञ्जाल प्रयोगकर्ताले रातदिन बेहोर्नु परिरहेकै छ ।

भ्वाइस (आवाज) पनि डिपफेक प्रविधिद्वारा तयार पार्न सकिन्छ । पछिल्लो समय टिकटक, रिल र स्न्यापच्याटलगायतमा विभिन्न राजनीतिज्ञ, कलाकार तथा अन्य व्यक्तिका आवाजहरू भाइरल भइरहेका छन् । त्यही आवाजलाई लिप सिङ्क गरेर वास्तविक जस्तै देखाउने होड नै चलेको छ । ह्याकरहरूको समेत डिपफेक प्रविधिप्रति झुकाव बढ्ने क्रम तीव्र भइरहेको हार्वर्ड विश्वविद्यालयको एउटा अध्ययनले देखाएको छ । सो अध्ययन अनुसार, यो रुझान अहिले विश्वव्यापी समस्या बनिरहेको छ । डिपफेकको बाढीले इन्टरनेटमा रहेको के साँचो हो र के झूटो हो भनेर छुट्याउनै समस्या पर्न थालेको छ ।

फेसबुकले विश्वव्यापी समस्याका रुपमा रहेको डिपफेक पत्ता लगाउने प्रविधि विकास गरेको बताए पनि प्रभावकारी नभएको भन्दै अमेरिकी कंग्रेसले पटकपटक मार्क जुकरबर्गको बयान लिँदै आएको छ । यो नयाँ फर्म्याटमा नेता तथा सेलिब्रेटीका नक्कली अनुहारहरू तयार पारेर गलत तथा झूटा जानकारीहरू फैलाउने काम टिकटकपछि फेसबुकमा बाढीकै रूपमा देखिएको युरोपियन युनियनको डाटा प्रोटेक्सनसम्बन्धी रिपोर्टले औंल्याएको छ । डिपफेकले मान्छेहरूको निजी सुरक्षामा गम्भीर बाधा खडा गरेकै कारण यो एआईलाई कसरी सम्बोधन गर्ने भन्नेमा फेसबुकले मिचिगन विश्वविद्यालयसँग सहकार्य गरिरहेको बताएको छ ।

डिपफेक अर्थात् नारीद्वेष

जीव वैज्ञानिक म्याथ्यु माटिल्डाले गरेको एउटा अध्ययनले स्त्री जातिलाई जहिले पनि तिनको ‘औकात’ भन्दा कम नै आँकिन्छ भन्ने प्रमाणित गरेको थियो, उन्नाइसौं शताब्दीमै । विज्ञानजगत्को लैंगिक विभेदका बारेमा भएको यो अनुसन्धान यति बेला सामाजिक विज्ञानको पनि एउटा सन्दर्भ बनेको छ । कुनै स्त्रीलाई पुरुषले सिफारिस गरेको छ भने हामीलाई त्यो स्त्री कामलाग्दी छैन भन्ने धारणा बन्छ । क्षमता नभएकैले उसले सिफारिस बोकेर आइछ भन्ने सोचिन्छ । यही अवधारणालाई ‘माटिल्डा इफेक्ट’ भनिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये नियोजित रूपमा क्रियाशीलहरूले सबैभन्दा बढी माटिल्डा टुल्स दुरुपयोग गर्ने खतरनाक तरिका अवलम्बन गर्छन् । त्यसको सबैभन्दा भद्दा उदाहरण डोनाल्ड ट्रम्पको चुनावी अभियानका बेला सार्वजनिक भएको स्त्री संसर्गसम्बन्धी अडियोलाई मान्ने गरिन्छ ।

नेपालमा पछिल्लो निर्वाचनमा यससम्बन्धी बहसलाई रवि लामिछाने प्रकरणका रूपमा बुझ्न सकिन्छ । त्यसलाई माथ गर्ने गरी यति बेला यो दुर्गा प्रसाईं–महेश बस्नेत प्रकरणमा उद्घाटित भएको छ । दुर्गा प्रसाईंले एउटा टीभी अन्तर्वार्तामै ओकलेका छन्, ‘ती जम्मै केटी ल्याओस् न, एक–एकवटा घर बनाएर थन्क्याइदिन्छु । मेरा बाउले सातवटी ल्याएको हो । लु आऊन् त ती महिला, ड्यामकी ड्याम घर किनेर राखिदिन्छु । म (महेश बस्नेत) जस्तो पानीमरुवा होइन नि !’

यसरी खुलेआम महिला अस्मितामाथि प्रहार गरेर प्रचलित कानुनविरुद्ध समेत अभिव्यक्ति दिँदै बहुविवाहको खुला दम्भ प्रदर्शन गर्दा पनि हाम्रो समाज, राज्य र नारीवादी संघसंस्थाले समेत मौनता साध्नुले के संकेत गर्छ ? सन् २०१९ मा एआई फर्म डिप ट्रेसले इन्टरनेटमा डिपफेक प्रविधिबाट तयार पारेका १५ हजारभन्दा बढी भिडियो रहेको पत्ता लगाएकामा ९६ प्रतिशत पोर्न भिडियो रहेको पाइएको थियो । त्यसमा पनि ९९ प्रतिशत भिडियोमा महिला सेलेब्रिटीलाई जोडिएको थियो । अर्थात्, यहाँ पनि म्याथ्यु माटिल्डा इफेक्ट देखियो । डिपफेकले महिलाको आत्मसम्मानमा ठूलो क्षति पुर्‍याइरहेको छ । कुनै महिलाको अनुहारलाई अश्लील भिडियोमा जोडेर त्यस्ता भिडियो तयार गरी महिलामाथि प्रताडना तथा हिंसा गर्ने गरिएका घटनाहरू तीव्र रूपमा बढिरहेका छन् ।

सोही अध्ययनमा देखिएको अर्को कुरा थियो— पुरुषहरूलाई सम्बोधन गर्दा थरले बोलाइन्छ भने महिलालाई उसको नामले । जबकि पश्चिमा समाजमा सम्मानका साथ बोलाउन थरले सम्बोधन गरिनुपर्छ । जसको जति बढी सम्मान छ, उसको थर उति सम्मानका साथ लिइन्छ । यो पश्चिमाको संस्कृति हो तर महिलाको हकमा यो लागू हुँदैन । यस्तो प्रवृत्ति विश्वव्यापी कसरी भइरहेको छ भन्ने मर्मस्पर्शी कथाका लागि डिज्नीकी स्टार बेला थर्नको सन् २०१९ को एउटा प्रकरण स्मरण गर्नु उपयुक्त हुनेछ । पहिलेकी चर्चित फिल्मी स्टार बेलाले सञ्जालको बाध्यताले पोर्नस्टारमा पुगेपछि भनिन्, ‘जब युवा आफूलाई अपमानित र असुरक्षित महसुस गरिरहेका हुन्छन् तब सार्वजनिक आलोचनाले उनीहरूको दिमागको स्थिति थप बिग्रन्छ । कुनै युवकयुवतीका यस्ता फोटा स्कुल–कलेजमा फैलिए भने उनीहरू आत्महत्या गर्नेबारे सोच्न थाल्नेछन् ।’ (एपी, १४ अगस्ट २०१९)

अभिव्यक्तिको आजादी

अभिव्यक्ति स्वतन्त्रता र भ्रमपूर्ण सूचना सामग्रीबीचको अन्तर छुट्याउनु नै अहिलेका निम्ति चुनौतीपूर्ण छ । भ्रमपूर्ण सामग्री हिजो पत्रपत्रिकाबाट सार्वजनिक हुँदा त्यसले जति व्यक्तिलाई प्रभाव पार्न सक्थ्यो, आज सामाजिक सञ्जालको संक्रमणले त्योभन्दा कैयौं गुणा छिटो र बढी मानिसलाई आघात पार्ने स्वतः स्पष्ट छ । आज सबैजसो पठित भनिएका वा साक्षर व्यक्तिका हातमा रहेका मोबाइल यन्त्रकै माध्यमबाट यो सहजै घरघरमा पुग्न सक्छ । मानिसका हातमा सही सामग्री पुगेका छन् कि गलत भन्ने कुनै फिल्टर छैन ।

अहिले फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकसँग सहकार्य गरेर कपिय सरकार र सरकारी एजेन्सीले खासखास बेलामा सूचना प्रसारको काम गर्ने परम्पराले त्यस्ता सञ्जालबाट आउने कुरा सही नै हुन्छन् भन्ने नागरिकलाई पर्न जान्छ । ‘धेरै वर्षपहिले, यस्तो परिदृश्य विज्ञान कथाको दुनियाँका लागि सीमित भएको हुन सक्छ, तर आज धम्की र राष्ट्रिय सुरक्षा खतराको गम्भीर वास्तविकता बनेको छ ।’ (बीबीसी, २०२२)

इन्टरनेटको पहुँच र सञ्जालको उपलब्धताले सूचना मात्र दिएको छैन, अफवाह, झूट तथा भ्रामक सूचना र व्यक्तिगत गोपनीयतालाई उदांगो पार्दै लगेको जोखिमबाट जोगिनुपर्ने गम्भीर चुनौतीसमेत खडा भएको छ । भ्रामक र मिथ्या सूचनाको बढी जोखिम हुने नै त्यस्तो समाजमा हो, जहाँ राजनीतिक र धार्मिक तथा जातीय आधारमा समाज बढी ध्रुवीकृत भएको हुन्छ । नेपाली समाज त्यही दिशामा दौडिरहेको मात्र छैन कि, पछिल्ला घटनाहरू हेर्दा, चर्को रूपमा ध्रुवीकरण हुँदै छ । अनि नेपालमा सञ्जालले सूचनामार्फत सघाउने मात्रा बढी होला कि कोरोना जस्तै संक्रमण भएर सामाजिक विघटन र राजनीतिक द्वेष बढाउने भन्ने स्वतः बुझ्न सकिन्छ । तसर्थ नेपालले आफ्नै मूल्य, मान्यता र सामाजिक तथा राजनीतिक आवश्यकताअनुसार सञ्जालको बाढीलाई रोक्नु र नियमन गर्नुको विकल्प छैन ।

छद्म रूपमा गरिने सूचना प्रहारले कुनै पनि अर्थमा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास हुन सक्दैन । आफूले दिएका सूचना र जानकारीको जिम्मेवारी लिन सम्बन्धित व्यक्ति र समूह तत्पर हुनुपर्छ । तर यतिविघ्न सञ्जालको बाढीमा प्रकट हुने तिलश्मी आकर्षणकर्ताहरूलाई पहिचान गर्न हाम्रोजस्तो देशको सरकारको कुनै संयन्त्रले सामान्य ल्याकत पनि राख्न सक्दैन ।

‘चिपफेक’ भनेर चिनिने डिपफेकका तहगत भिन्नताहरू पनि छन् । सस्तो सफ्टवेयरमा गरिएको हेराफेरी अर्थात् सामाजिक सञ्जालमा सजिलै पहुँचयोग्य सफ्टवेयर र प्रविधिहरू प्रयोग गरेर डिपफेक फैलाउन खोज्ने जोकोहीलाई विकल्पहरूको व्यापक दायरा यिनै सञ्जालले उपलब्ध गराएका छन् । यस्तो वास्तविकतालाई नजरअन्दाज गरेर सरकारले टिकटक बन्द गर्ने निर्णय गरेलगत्तै डेढ महिनादेखि मध्यपूर्वमा महिला, नाबालक र निरपराध मानिसको चिहान बनेको गाजामा हनन नभएको मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रता नेपालमा अवरुद्ध भएको भन्नु हाम्रो सामाजिक विडम्बना हो कि अधिकारवादीहरूको बौद्धिक दुर्भाग्य ? प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका नाममा जोकसैले बनाएका कुडाकर्कट थुपार्न मिल्ने डम्पिङसाइटहरूको निर्बाध सञ्चालन हो ?

यहीबीच एक विद्वान् — जो एउटा अंग्रेजी पत्रिका र अनलाइनका प्रकाशकसमेत हुन् — ले भारतले आयोजना गरेको ‘भ्वाइस अफ ग्लोबल साउथ’ मा नेपाललाई ननिम्त्याइएको भन्दै उनले चाहेअनुसारको स्क्रिनसटसहित एक्समा पोस्ट गरे । जबकि त्यो भर्चुअल वेबिनारमा नेपालका प्रधानमन्त्रीले गरेको सम्बोधनसम्बन्धी जानकारी प्रधानमन्त्री कार्यालय र आयोजक देशले केही समयपछि अरू पोस्टमा गरेका थिए । सञ्जालमा जे आयो त्यसलाई पत्याउने प्रवृत्ति र कोहीलक्षित भ्रम फैलाउनेहरूको नियतले नेपाली सचेत समुदायलाई समेत गलत दिशामा मोड्दै लगेको यो पछिल्लो उदाहरण हो ।

अफवाह परम्परागत आम सञ्चारका माध्यममार्फत पनि नफैलिने होइन, तर डिजिटल माध्यमको प्रयोगले मिथ्या सूचनाको दुष्प्रचार गर्न अत्यन्तै सहज बनाएको छ । परम्परागत आम सञ्चारमाध्यममा निश्चित तहको परीक्षण र सम्पादकीय चरणपछि मात्रै सूचना प्रवाह हुन्छ, जबकि सामाजिक सञ्जालमा त्यस्तो प्रक्रिया पूरा गर्नु नपर्ने भएकाले भ्रामक सूचना र अप्रमाणित तथ्य फैलिने जोखिम हुने नै भयो । हुन त अहिले हामीकहाँका परम्परागत भनिएका मिडिया र कतिपय गम्भीर मानिएका मिडियाकर्मी नै सञ्जालको संक्रमणले पूरै थला परेर सञ्जालवालाहरूलाई नै उछिन्ने हुन् कि भन्नेसमेत देखिन थालेको छ । त्यसमाथि नियोजित डिपफेकको धन्दासमेत सुरु हुन थालेपछि समाज र व्यवस्था आरोलो लाग्नु त स्वाभाविक छ ।

ट्वीटर : @sskandel

प्रकाशित : मंसिर १०, २०८० ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?