२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

खाग तस्कर सलबलाएपछि गैंडा सुरक्षामा प्रश्न

सम्पादकीय

चितवन राष्ट्रिय निकुञ्जमा एकपछि अर्को गैंडा मारिएको अवस्थामा फेला पर्नुले दुर्लभ वन्यजन्तुको सुरक्षा प्रबन्धमा प्रश्न उठेको छ । निकुञ्जमा भदौयता मात्र खाग निकालिएको अवस्थामा मारिएका तीन गैंडा फेला परे । ती गैंडा सिकार गरिँदा निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षाकर्मीले सुइँको समेत पाउन सकेनन् न गैंडा मारिएको नै तत्काल थाहा पाउन सके । निकुञ्जमा आहार र विचरणस्थल घट्दै जाँदा गैंडालाई प्राकृतिक रूपमै जोगिन मुस्किल परिरहेका बेला चोरीसिकारी नियन्त्रित हुन नसक्नु चिन्ताको विषय हो । 

खाग तस्कर सलबलाएपछि गैंडा सुरक्षामा प्रश्न

गैंडाको खागको व्यापारमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ । परम्परागत औषधि र सामाजिक प्रतिष्ठाको प्रतीकका लागि मुख्य रूपमा चीन र भियतनाममा माग हुने गरेका कारण खाग तस्करी हुने गरेको छ । दुर्लभ भएका कारण गैंडालाई नेपालको कानुनले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

गैंडा मारे वा यसको अंगको किनबेच, ओसारपसार गरे १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । तर अवैध व्यापारबाट हुने आर्जनको लोभमा तस्करहरूले सिकार गर्ने गरेका छन् । सिकार र तस्करीमा संगठित संयन्त्र नै परिचालन हुन्छ । वन्यजन्तु विज्ञहरूका अनुसार गैंडा मार्नेले खाग निकालेर स्थानीय व्यापारीलाई दिन्छन् । तिनले ठूला व्यापारीलाई सुम्पेपछि विदेश तस्करी गर्ने व्यक्तिकहाँ खाग पुग्छ । खाग किनबेच र गैंडा मार्नेहरूको ‘संरक्षण गर्न’ अर्को गिरोह पनि खटिरहेको हुन्छ । यो सञ्जाल तोड्न नसक्दा गैंडाको चोरीसिकारीले निरन्तरता पाइरहेको छ ।

निकुञ्जको सुरक्षा व्यवस्थापनमा सानो कमजोरी थाहा पाउनासाथ तस्करले गैंडालाई निसाना लगाइहाल्ने प्रवृत्ति देखिन्छ । यस क्रममा उनीहरूले फरक–फरक उपाय अपनाउने गरेका छन् । पछिल्लो समय तस्करले खाल्डो खनेर गैंडा मार्ने पुरानो विधि प्रयोग गरेको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा पोस्टबाट साढे तीन किलोमिटर दक्षिणपूर्वमा कात्तिक मसान्तमा फरक–फरक खाल्डामा दुई वटा गैंडा मारिएको अवस्थामा भेटिएका थिए । दुवैको खाग निकालिएका कारण तस्करले नै तिनलाई मारेकामा शंका छैन । निकुञ्जको त्यही क्षेत्रमा गत भदौ १४ मा पनि गैंडाको अस्थिपञ्जर फेला परेको थियो । अरू हाडखोर भेटिए पनि खाग फेला नपरेकाले त्यसलाई पनि तस्करले नै निसाना लगाएको सहजै अनुमान गर्न सकिन्छ ।

एकसिंगे गैंडा संरक्षणकै मुख्य ध्येयका साथ पाँच दशकअघि चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । निकुञ्ज सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । पछिल्लो समय सेनाको खड्ग दल गण र सबुज दल गणको गुल्मलाई तैनाथ गरिएको छ । तैपनि गैंडाको चोरीसिकार पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन । आर्थिक वर्ष २०७२/७३ र २०७४/७५ देखि २०७६/७७ सम्म शून्य चोरीसिकार वर्ष बनेको सरकारको दाबी छ । तस्करविरुद्ध अदालतमा चलाइएका मुद्दाका विवरणले भने ती वर्षमा पनि गैंडा मारिएको देखिन्छ । आर्थिक वर्ष ०७७/७८ यता भने गैंडा मारिएका घटना निरन्तर सार्वजनिक भइरहेका छन् । यसले गैंडा संरक्षणमा अहिलेसम्म भइरहेका प्रयत्न अपर्याप्त रहेको छर्लंग हुन्छ ।

यसै पनि गैंडाको सन्तान उत्पादन दर कम छ । त्यसमाथि गैंडाको बच्चालाई बाघले खाइदिन सक्छ । विचरणका क्रममा पानीको घोल, दलदल र विद्युतीय तारबारमा परेर पनि गैंडा मरिरहेका हुन्छन् । आपसमा जुधेर पनि कतिपय गैंडा मर्छन् । प्राकृतिक कारणले एकै वर्षमा ४३ वटासम्म गैंडा मरेको पाँच वर्षअघिको उदाहरण छ । ती समस्याका बाबजुद पनि जोगिएका गैंडा तस्करको निसानामा पर्छन् ।

संरक्षणका केही प्रयासस्वरूप गैंडाको संख्या केही वर्षयता बढिरहेको देखिन्छ । पछिल्लो गणनाअनुसार देशभर ७ सय ५२ गैंडा रहेकामा चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा मात्रै ६ सय ९४ गैंडा छन् । तर चोरीसिकार शून्य नबनाए र आहार एवं विचरण संरक्षणमा पर्याप्त ध्यान नदिए यो महत्त्वपूर्ण वन्यजन्तुको संख्या अझै ओरालो लाग्न सक्छ ।

एकसिंगे गैंडा मुलुककै लागि अमूल्य प्रतीक हो । गैंडाकै कारण चितवन राष्ट्रिय निकुञ्जमा देश–विदेशबाट पर्यटक आउँछन् । यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको छ । यति महत्त्वपूर्ण वन्यजन्तुको संरक्षणमा सामान्य हेलचेक्र्याइँसमेत गर्नु हुँदैन । तस्करले जुनसुकै बेला मौकाको फाइदा उठाउने भएकाले सुरक्षा गस्ती अझ बढाउनुपर्ने खाँचो छ ।

गैंडा संरक्षणमा मध्यवर्ती क्षेत्रका बासिन्दासँग निकुञ्ज प्रशासनले प्रभावकारी समन्वय गर्नुपर्छ । सुराकी संयन्त्रलाई थप बलियो पार्नुपर्छ । तस्करीमा सप्रमाण पक्राउ परेका कसैलाई पनि कानुनी कारबाहीबाट उन्मुक्ति दिनु हुँदैन । सजाय पूरा गरेर छुटेकाहरू पुनः गिरोहको सम्पर्कमा पुग्न सक्ने भएकाले उनीहरूलाई निगरानी गरिरहनुपर्छ । सँगै, गैंडाको बासस्थान, आहार र विचरणस्थललाई पनि संरक्षण गर्नुपर्छ ।

प्रकाशित : मंसिर ५, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहेका जसपा नेपालका उपेन्द्र यादव महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आएका छन् । पटक-पटक एउटै व्यक्ति नेतृत्वमा रहिरहनुलाई के भन्नुहुन्छ ?