२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सचेत अभिभावकत्वको उपादेयता

अभिभावकत्व मानव सभ्यताकै उपज हो भने सचेत अभिभावकत्व ‘इनोभेसन’ हो। सचेत अभिभावकत्व यस्तो सामाजिक मूल्य हो जसले परिवारमा आमा र बाबुको समान योगदानको माग गर्दछ, राज्यले यसलाई सहयोग गर्नुपर्छ । 

सचेत अभिभावकत्व (कन्सस प्यारेन्टिङ) प्रत्येक अभिभावकले मानवमूल्यलाई केन्द्रमा राखी बच्चाको जन्मसिद्ध मौलिक मानव अधिकारको रक्षा गर्दै सचेत, जागरुक, चेतना र ज्ञानयुक्त रोलमोडलका रूपमा असल अभिभावक बन्‍ने प्रक्रिया हो । सत्य, प्रेम, खुसी, करुणा, न्याय, अहोभाव, असल कार्य, सकारात्मक सोच र आदर जस्ता मानवमूल्यको सहयोगले बच्चाले आफ्नो भविष्यको सही मार्ग पहिल्याउन सक्छ । 

सचेत अभिभावकत्वको उपादेयता

सचेत अभिभावकत्व भनेको बच्चालाई दबाब दिएर परिवर्तन गर्न नखोजी अभिभावक नै सचेत भई बच्चाहरूसँग व्यवहार गर्ने अभिभावकत्वको नयाँ शैली हो । सचेत अभिभावकत्व बच्चा जन्मनुअघिदेखि सुरु हुन्छ । जन्मपछि सुरुआती ७ वर्ष आफ्ना बच्चालाई सचेत अभिभावकत्व प्रदान गर्ने उत्तम समय हो ।

यस उमेरपछाडि पनि गर्न नसकिने भन्‍ने त हुँदैन, तर त्यस बेला मस्तिष्कमा एक प्रकारको ढाँचा विकास भैसक्नाले कठिनाइ हुने हुन्छ । त्यस समय उत्सुकता धेरै हुने, साथीसंगातिको ज्यादा विश्‍वास गर्ने, अश्लीलतामा रमाउने हुँदै जाँदा आमाबाबुले दण्ड–सजाय दिएर थप पीडा दिने गरेकाले बच्चा परिवारलाई शत्रु महसुस गर्ने, परिवारमा नभई साथीसंगातीसँग मात्र रमाउने हुँदै जान्छ ।

अनि डिप्रेसनमा जाने, पढाइ छाड्ने, घर छाड्ने, खबर नगर्ने हुँदै गई अन्त्यमा गम्भीर प्रकारको मानसिक रोगसम्म पुग्न सक्छ, जुन खराब अभिभावकत्व (ब्याड प्यारेन्टिङ) हो । अचेल भइरहेका बालबालिकाबाट हुने यौन दुराचारका घटना, स्कुल/होस्टलमा हुने यौन शोषण र हिंसाका घटना ‘ब्याड प्यारेन्टिङ’ कै उपज हुन् ।

असल अभिभावकत्व आमाबाबुले मात्र दिन सक्छन् भन्‍ने होइन । अभिभावकत्वका विविध क्षेत्र छन्; जस्तो— जागिरे बाबुआमा, धाई आमा, स्कुलका शिक्षकशिक्षिकाले दिने माया, ममता र सिकाइ; केयर गिभरले दिने सेवा; असल नागरिक बनाउन परिवार, समुदाय र समाजले गर्ने कोचिङ; अनाथ बच्चाका संरक्षक; सुधारगृहका सञ्चालक; धर्मसन्तान राख्ने स्वदेशी–विदेशीहरूले ग्रहण गर्ने अभिभावकत्व ।

हाम्रो देशका राजनीतिज्ञ र नीतिनिर्माताहरू ‘बालबालिका देशका कर्णधार हुन्’ भनी ठूलठूला भाषण गर्न लाज मान्दैनन्, तर कस्तो अभिभावकत्व दिँदा बालबालिका कर्णधार बन्छन् भन्नेतिर चाहिँ ध्यान दिँदैनन् ।

सचेत अभिभावकत्व आफैंमा असाध्यै चाखलाग्दो विषय हो । यसबारे हामीमा सानो सर्वेक्षण गर्ने उत्सुकता जाग्यो । सिंहदरबारभित्र जागिर खाने महिला र पुरुषका जोडी अर्थात् पति–पत्नी नै सरकारी जागिरमा रहेकालाई अभिभावकत्व र सचेत अभिभावकत्वबारे सोध्ने निर्णयमा पुग्यौं । पाँच दिनको सर्वेक्षणमा पाइएको वास्तविकता यस्तो रह्यो—

निजामती सेवामा रहेका १ लाख १८ हजार दरबन्दीमध्ये हाल ८२ हजार ४ सय १६ मा पदपूर्ति छ । तिनमा करिब १७ हजार महिला छन् । ३६ हजार कर्मचारी उपत्यकामा छन् । नीतिनिर्माणको उपल्लो तह सचिव, सहसचिव र उपसचिवमा भने महिलाको उपस्थिति न्यून छ ।

एक महिला कर्मचारी भन्दै थिइन्, ‘छोरा र छोरी सानै छन् । जब स्कुल बन्द हुन्छ, मलाई त माइग्रेन हुन थाल्छ । केटाकेटी थाम्नै सक्दिनँ ।’ यति भन्दै गर्दा उनको मोबाइल फोन बज्यो । फोनतिर हेर्दै उनले हतारिएर भनिन्, ‘आज छोरी लिन मैले दुई बजे नै स्कुल पुग्नुपर्ने भयो, सरले नभ्याउने रे !’ अनि दौडिहालिन् । अघिल्लो सप्‍ताहान्‍तभरि सिंहदरबार गेटमा ठूलै संख्यामा महिला कर्मचारी बेबी क्यारियर्समा बच्चा बोकेर हतास मानसिकतमा शिशु स्याहार केन्द्रतर्फ लम्किँदै थिए । हाम्रो प्रश्नमा एक महिला कर्मचारीले भनिन्, ‘बच्चा छोडेर हाजिर हान्दा जहिल्यै लेट भन्छ मेसिनले ।’

‘तपाईंका सर नि ?’

उनले जवाफ दिइन्, ‘उहाँ त बिहान उपसचिवको क्लास लिनुहुन्छ । बेलुका ग्रुप डिस्कसन छ रे !’

अर्की कर्मचारीले महिला कर्मचारीका दुःख देखाइन्, ‘बच्चा त हाम्रो जिम्मा पो हो ! अधिकृतको जाँच दिउँला भनेकी थिएँ, उहाँलाई कर्णालीको गाउँपालिकामा सरुवा गरे । मेरो सपना पनि सपनामै सीमित हुने भयो !’

एक पुरुष कर्मचारीले भने व्यंग्यभावमा कुरा गरे । ‘यो जागिरले खान पुग्दैन, विवाह र सन्तान त परको कुरा ! सबै ठीकठाक भए त जानिएको थियो नि कन्सस प्यारेन्टिङ !’

चार दिनमा भेटिएका महिला र पुरुष गरी २५ कर्मचारीमध्ये ४ पुरुष कर्मचारी मात्र हाम्रा कुरा सुन्न तयार भए भने ३ जनाले बेवास्ता गरी बाइक नरोकी अगाडि बढेका थिए । २ जना भने बाइकपछाडि बच्चा र श्रीमती लिएर आउँदै थिए । तीमध्ये एक जनाले हाम्रो प्रश्न पूरा नहुँदै भने, ‘हामी दुई जनाले त घरमा रुटिन बनाएका छौं, प्रत्येक काम बाँडेर गर्छौं । बच्चालाई असल अभिभावकत्व दिन अधिकतम प्रयास गरेका छौं । यी छोरी हाम्रो मुटुको टुक्रा हुन्, यिनलाई असल अभिभावकत्व दिनु हाम्रो परम कर्तव्य हो ।’ अनौठो के थियो भने हामीले भेटेका कुनै पनि पुरुष कर्मचारीले बच्चा बोकेका थिएनन् । ती २५ मध्ये १२ जनाले अभिभावकत्वको परम्परागत मोडल र बालबालिकाको अधिकारबारे

आफू जानकार रहेको बताएका थिए । पाँच जना चाहिँ ‘यो बेकार कुरा हो, आफ्नो बच्चालाई के बनाउने र के गर्ने भन्‍ने पनि अरूले सिकाउनुपर्छ र’ भन्दै तर्किएका थिए । बाँकी ८ जनाले ‘छोरा र छोरीमा भेदभाव नगरेको र असल अभिभावकत्वका बारेमा जानकार रहेको’ बताएका थिए ।

अबको समय बच्चा जन्माउन नै मुस्किल छ । जन्माइहाले पनि उसलाई समय दिएर हुर्काउने कसले ? आमाबाबु दुवै पढेलेखेका छन्, आर्थिक रूपमा सम्पन्‍न छन्, बच्चालाई जे सुविधा दिन पनि तयार छन् तर बच्चालाई सुनै खान दिए पनि त्यसको अर्थ छैन । अभिभावकत्वको मात्र पनि अर्थ छैन । सचेत अभिभावकत्व नै निर्वाह गर्नुपर्छ ।

आम अभिभावकले सचेत अभिभावकत्व दिन्छन् भन्‍ने कुरालाई बच्चा हुर्किरहेको परिवार र समाज, स्थानीय बासिन्दाहरूको जीवनस्तर, रोजगारी र महिलालाई दिइने प्राथमिकता, विकासको अवस्था, धर्म–संस्कृति जस्ता विषयले निर्णायक भूमिका खेलेका हुन्छन् ।

एकल परिवारको बढोत्तरीले विगतको हाम्रो संयुक्त परिवार तथा सहिष्णु समाजलाई चुनौती दिइरहेको छ । विज्ञान र सूचना प्रविधिले सबै क्षेत्रमा गरेको चमत्कारले विश्‍व नै एउटा गाउँ हुन पुगेको छ र जनसंख्याको ‘मोबिलिटी’ ले धार्मिक–सांस्कृतिक अन्तरघुलन बढाएको छ । यसले गर्दा पनि बच्चा हुर्काउने काममा चुनौती थपिएको छ । अर्कोतर्फ, परिवारमा कसले बच्चाको अभिभावकत्व ग्रहण गर्ने भन्‍ने विषयलाई बेवास्ता गर्न मिल्दैन । बालबच्चा हेर्ने हजुरआमा–हजुरबा हुँदा, समस्त बाबुहरू जागिर खाने र घरको खर्च पर्च धान्‍ने हुँदा घरमा बस्नेले अर्थात् महिलाले मात्र परिवारका सम्पूर्ण सदस्यको हेरचाह गर्नुपर्ने हुनाले बच्चालाई विशेष ध्यान दिन नसक्दा संयुक्त परिवारमा पनि सचेत अभिभावकत्व छायामा पर्ने गरेको थियो ।

कम विकसित समाजहरूमा बच्चाहरू दिनहुँ कुपोषणले मृत्युवरण गर्न बाध्य भइरहेका छन्, जहाँ कसैले खाना मात्र दिनु नै बच्चाहरूका लागि असल अभिभावकत्व हुन जान्छ । त्यसैले सचेत अभिभावकत्व देश, समय, शासन व्यवस्था र विकासको अवस्थामा भर पर्दछ । यो निरपेक्ष विषय होइन । राज्यले अभिभावकत्व गुमाएका अफगानिस्तान, प्यालेस्टाइनमा बालबालिका दिनहुँ मारिइरहेका छन् । यसमा कसले चासो दिने ?

प्रत्येक बच्चाले सचेत अभिभावकत्व पाउनुपर्ने विषयलाई मानव अधिकारको विश्‍वव्यापी घोषणापत्र–१९४८ तथा बाल अधिकारसम्बन्धी महासन्धि–१९८९ ले निर्देश गरेका छन् । प्रत्येक आमा र शिशुलाई विशेष स्याहार र सहायता पाउने अधिकार छ । बालबालिकालाई आफ्नो पूर्ण तथा सामञ्जस्यपूर्ण विकासका लागि असल पारिवारिक वातावरण, प्रसन्नता, माया र साझेदारीको परिवेशमा हुर्कन पाउनुपर्ने हक छ । बच्चाको पालनपोषण बाबुआमा दुवैको साझा उत्तरदायित्व हो । बच्चाको सर्वोपरि हित नै अभिभावकको आधारभूत चासो हुनुपर्छ ।

हाम्रोमा बालबालिकाको सर्वोत्तम हित कायम गर्न बालबालिकासम्बन्धी ऐन–२०७५ कार्यान्वयनमा रहेको छ । हाम्रा कानुनहरू बाल न्यायप्रति बढी केन्द्रित देखिन्छन् । बालबालिकालाई आफूलाई असर पर्ने विषयको निर्णय प्रक्रियमा सहभागी हुन पाउने अधिकार छ । हेरचाह, पालनपोषण र वृत्ति विकासमा बाबुआमाको समान दायित्व हुने व्यवस्था छ ।

अन्त्यमा, अभिभावकत्व मानव सभ्यताकै उपज हो भने सचेत अभिभावकत्व ‘इनोभेसन’ हो । आजको प्रतिस्पर्धी विश्‍वले माग गरे बमोजिमको मानवशक्ति तयार हुने गरी बच्चालाई सचेत अभिभावकत्व प्रदान गर्नमा सबै सचेत हुनुपर्छ । यसमा सबैभन्दा पहिला बाबुआमा सचेत हुनुपर्छ, असल र खराब काम र यसका दुष्परिणामबारे छोराछोरी दुवैलाई जानकारी दिनुपर्छ । सचेत अभिभावकत्व यस्तो सामाजिक मूल्य हो जसले परिवारमा आमा र बाबुको समान योगदानको माग गर्दछ, राज्यले यसलाई सहयोग गर्नुपर्छ । यसरी तयार हुने मानवशक्ति मात्र देशको कर्णधार बन्‍न सक्छ । बालबालिकाको सचेत अभिभावकत्व राज्यले लिनुपर्छ ।

प्रकाशित : मंसिर ४, २०८० ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x