००७ सालको जनक्रान्तिमा हिमालयन एभिएसन

हिमालयन एभिएसन कम्पनीको डीसी–३ डकोटा हवाईजहाज १३ नोभेम्बर १९५० (२००७ कात्तिक २८) का दिन ४ः३० बजे पटनाबाट दिल्लीका लागि उड्दै थियो । त्यसभित्र ‘जनक्रान्ति’ को सुप्रिम कमान्ड काउन्सिलका तीन नेताहरू मातृकाप्रसाद कोइराला, बीपी कोइराला र सुवर्णशमशेर बडो गम्भीर मुद्रामा थिए ।

मुक्तिसेनाले ११ नोभेम्बर १९५० (२००७ कात्तिक २६) का दिन वीरगन्ज कब्जा गरेपछि त्यहाँको तहबिलमा रहेको भारु ३५ लाखसमेत त्यसै विमानभित्र थियो । त्यत्रो ठूलो धनराशिलाई सुरक्षित गन्तव्यमा पुर्याउने लक्ष्यसहित उडेको त्यस विमानभित्र सूर्यप्रसाद उपाध्याय, त्यही विमान कम्पनीका प्रमुख महावीरशमशेर र विजया कोइराला (बुनु) समेत थिए । सिटको एकातिर कुनामा अर्को एक जना पनि थियो ।
त्यस उडानको गन्तव्य र लक्ष्य भारतीय दूतावासमा शरण लिएर त्यहाँको वायुसेनाको विमानद्वारा दिल्ली पुगेका राजा त्रिभुवनलाई भेटेर उक्त ३५ लाख रकम हस्तान्तरण गर्नु थियो । राजा सपरिवार दिल्लीतिर उड्दै छन् भन्ने सूचना प्राप्त गरेपछि तीन जना नेता भएको सुप्रिम कमान्ड काउन्सिलको आकस्मिक बैठक बसी ‘राजाले नेपालको भूमि नछोड्दै’ वीरगन्जमा आक्रमण गर्ने निर्णय भएको थियो । त्यसै निर्णय अनुसार नोभेम्बर १०–११ बीचको ‘जिरो आवर’ मा नेपाली कांग्रेसको मुक्ति सेना वीरगन्ज प्रवेश गरेको थियो । त्यसका कमान्डर थिए— थीर बम मल्ल । उनको नेतृत्वमा त्यसै रात बडाहाकिम बंगला कब्जा गरी बडाहाकिमलाई समेत नियन्त्रणमा लिइएको थियो ।
यसरी कात्तिक २६ मा उज्यालो हुँदासम्म वीरगन्जका सबै सरकारी कार्यालय कब्जामा आइसकेका थिए । र, सैनिक ब्यारेकलाई मुक्ति सेनाले घेरामा पारेको थियो । ब्यारेकलाई घेरामा पार्ने कमान्डर थिए— मेजर पूर्ण सिंह खवास । दुःखको कुरा, त्यसै दिन बिहान मुक्ति सेनाको नियन्त्रणमा आएको मुक्त क्षेत्र (लिबरेटेड जोन) को शान्ति–सुव्यवस्था मिलाउन निर्देशन दिँदै गरेको समयमा पछाडिपट्टिबाट राणातर्फको एक सिपाहीले हानेको गोलीबाट थीर बम मल्ल ढले । उनी जनक्रान्तिका प्रथम सहिद भए ।
देशको एक महत्त्वपूर्ण प्रवेशविन्दु एवं रणनीतिक महत्त्वको व्यापारिक केन्द्र एवं राजधानीको प्रवेशद्वार मुक्ति सेनाको कब्जा गर्यो, र त्यहाँको प्रशासन चलाउन ‘जनसरकार’ स्थापना गरेको खबरसहित जनक्रान्तिको सन्देश देशवासीले पाउनुपर्छ भन्ने सुप्रिम कमान्ड काउन्सिलको निर्णय अनुसार देशका महत्त्वपूर्ण क्षेत्रहरूमा हवाई पर्चा छर्ने तयारी भयो । त्यस पर्चामा ‘मुक्ति सेनाका जवानहरू देश, जनता र राजालाई राणाशाहीको चंगुलबाट मुक्त गर्न देशका विभिन्न नौ बिन्दु (प्वाइन्ट) बाट प्रवेश गरिसकेका छन्, अब हामी सबै मिलेर राणाशाहीको हुकुमी तन्त्रमाथि कडा प्रहार गर्नुपर्छ’ भनी छापिएको थियो । यो सन्देश पर्चाहरूद्वारा देशका भित्री भागहरूसम्म पुर्याएर जब भीटी–सीओजेड अंकित विमान फर्केर वीरगन्जको आकाश माथि उड्न थाल्यो र उनीहरूले क्रान्तिकारीहरूको झन्डासमेत त्यस विमानमा फहराएको देखे, घर–घरका छतहरूबाट हात हल्लाई उफ्रँदै मानिसहरूले उत्साहसाथ उडानको आगमनमा खुसीयाली प्रदर्शन गरेका थिए ।
वीरगन्ज ब्यारेकनजिक खाली मैदान थियो । जब विमानले त्यही मैदानमा ‘ल्यान्डिङ’ गर्न लागे जस्तो गरी ‘मक ल्यान्डिङ’ का लागि चक्कर लगायो, त्यस उडानले फेरि अर्को सन्देश दिएछ । वीरगन्जका बडाहाकिमले केही क्रान्तिकारीहरूलाई पहिले नै पक्राउ गरेर ब्यारेकमा ल्याई थुनेका रहेछन् । जब त्यो विमान ब्यारेकमाथिबाट होचो गरी उड्न थाल्यो, ब्यारेकभित्र केही आत्तिएको अवस्थाका सिपाही र कमान्डरलाई ती थुनुवाहरूले भनेछन्, ‘अब ब्यारेकमा बम खस्न सक्छ । तिम्रा श्रीमती, केटाकेटीलाई रुवाएर के गर्छौ ?’ त्यतिखेर विमान माथितिर उडिरहेको थियो । वीरगन्ज क्रान्तिकारीहरूको कब्जामा आइसकेको पनि उनीहरूलाई थाहा भैसकेको थियो । ब्यारेकलाई त मुक्ति सेनाले रातिदेखि नै घेरामा पारेको थियो । त्यस स्थितिमा झटपट ब्यारेकले छतबाट सेतो झन्डा हल्लाई आत्मसमर्पण गर्यो । ब्यारेकको आत्मसमर्पण मुक्ति सेनाका लागि महान् विजय भयो । वीरगन्जमा मुक्ति सेनाको पूर्ण नियन्त्रण मात्र भएन, ब्यारेकबाट ठूलो परिमाणमा हातहतियार, गोलीगट्ठासमेत हात परे ।
क्रान्तिकारी मुक्ति सेनाका लागि यो ज्यादै महत्त्वपूर्ण उपलब्धि थियो । कतिपयले पटाका र लाठी अनि कसैले नक्कली हतियारबाट समेत राणाशाही तन्त्रका फौज र कर्मचारीलाई तर्साउने काम गर्नुपरेको बेला यस विजयले उत्साह थप्नु स्वाभाविक थियो । अर्को उपलब्धि, राणाहरूले विदेशी बैंकमा लैजान ठिक्क पारेको वीरगन्ज तहबिलमा रहेको भारु ३५ लाख र चाँदीका सिक्कासहितको ठूलो धनराशि पनि नियन्त्रणमा लिइसकेको थियो ।
जनक्रान्तिप्रति उत्साहको लहर देशव्यापी तुल्याउन र अनुकूल वातावरण बनाउन हिमालयन एभिएसनका विमानहरूको उडानले ठूलो योगदान पुर्याएको थियो । वीरगन्ज आक्रमणपूर्व नै राजा र राजपरिवार दिल्लीतर्फ नउड्दै राजाले दरबार छाडेर भारतीय दूतावासमा शरण लिएको खबर देशभरिका जनतासम्म पुग्नुपर्छ भन्ने निष्कर्षमा क्रान्तिकारीहरूको हाई कमान्ड पुगेको थियो । त्यस घटनासँगै क्रान्तिका पक्षमा विकसित राजनीतिक परिस्थितिमा के गर्ने, कसरी अगाडि बढ्ने भन्ने उत्सुकताबीच हाई कमान्डको बैठकले निष्कर्ष निकाल्यो— तत्काल केही गर्नुपर्छ । बीपी कोइरालाले वक्तव्य प्रकाशित गरी ‘राजाको यो कदमले राणाविरुद्धको जनक्रान्तिलाई बल मिलेको छ’ भन्दै यस कदमको प्रशंसा गरेका थिए ।
यसै पृष्ठभूमिमा उक्त बैठकले निर्णय लियो, ‘राजाले नेपाल भूमि नछोड्दै क्रान्तिको बिगुल देशभित्रैबाट फुक्नुपर्छ र विकसित घटनाक्रमको जानकारी देशवासीलाई दिनुपर्छ ।’ तर सुप्रिम कमान्ड काउन्सिलमा दुई भिन्न विचार आए । क्रान्तिका मुख्य डिक्टेटर मातृकाले भनेछन्, ‘मुक्ति सेनाले आक्रमण गर्न सुरु गरेपछि मात्र विमानद्वारा देशव्यापी पर्चा छर्नु उपयुक्त हुनेछ ।’ जनरल सुवर्णशमशेरको भने भिन्न विचार आयो । क्रान्तिको बिगुल बज्नुपूर्व नै हवाई पर्चाबाजी भएपछि राणाहरूले ‘अब यति नै हो’ भन्ठान्नेछन् । यता आक्रमणको गोप्य तयारी गर्न सजिलो पर्नेछ । यो तर्कमा मातृका र बीपी दुवैले एकसाथ सहमति जनाएपछि काठमाडौंसहित विभिन्न ठाउँमा विमानद्वारा तत्काल पर्चा छर्ने निर्णय भएको थियो ।
ठूलो मात्रामा पर्चाहरू लोड गरेर उडेको त्यस विमानभित्र बटुकप्रसाद भट्टराई (किसुनजीका दाजु), जयवर प्रधान र पुराना सेनानी भीमभक्तमान सिंह थिए । हवाई पर्चाको भारी लोड गरेर उनीहरू उत्तरतर्फ उडे । उड्नुअघि पाइलट क्याप्टेन फेजरले जान्न चाहे, ‘नेपालमा एए गन (एन्टी एयरक्राफ्ट गन) छ कि छैन ?’ त्यस जिज्ञासाको उत्तर दिइयो, ‘दुईवटा छन् भनिन्छ । तर त्यसबाट खतरा मानुपर्दैन ।’ पाइलटले यस भनाइको अर्थ बुझ्न चाहे र फेरि जिज्ञासा राखे । स्पष्ट पार्दै उत्तर दिइयो, ‘त्यस प्रकारका हातहतियार राख्ने दुईवटा ठाउँ हुनुपर्छ । एक प्रधानमन्त्री निवास सिंहदरबारमा र अर्को बबरमहलमा सीएनसीसँग । आकस्मिक रूपमा राजधानीमाथि विमान पुग्दा ती सबै औपचारिकतासहित उताको तयारी हुन पाउँदैन । त्यसैले ढुक्क भएर उडान भर्न सकिन्छ ।’ पाइलटले भने, ‘केही छैन सर ! गन एक्टिभ भैहाल्यो भने पनि हामी त्यसलाई छलेर उड्ने तरिका हेज–हप अपनाउनेछौं ।’ यति भनेर उनले पर्चाका भारी बोकेको त्यो विमान आत्मविश्वासपूर्वक उडाए ।
विमान काठमाडौंतर्फ उड्यो । काठमाडौं उपत्यकाको आकाशमा प्रवेश गर्यो तर एकदम होचो गरी, घरहरूका छाना छुन–छुन खोजे जस्तो गरेर, आकस्मिक रूपमा । तिहारको घमाइलो मौसम, जुवामा मस्त काठमाडौं उपत्यकाको वातावरणमा आकास्मिक परिवर्तन आयो । विमानबाट असंख्य पर्चाहरू व्यापक रूपमा छरिए । मानिसहरू उड्दै गरेका एक–एक पर्चाको पछाडि दौडिन थाले, भुइँमा नखस्दै समात्न । नेपालको आकाशमा तिनताक विमान यदाकदा मात्र देखिन्थे । र, त्यो पनि धेरै माथि । आफ्नो जिम्मेवारी सहजतापूर्वक पूरा गरी व्यापक पर्चा छरेर त्यो विमान राणाहरू र तिनको फौजको मनोबल खलबल्याएर तर जनतामा अपार उत्साह भरेर फर्कियो ।
विमानबाट भएको पर्चाबाजीले विकसित घटनाक्रमको प्रत्यक्ष प्रभाव नेपाल–भारत सीमानजिकै अवस्थित वीरगन्जसहित धेरै नगर एवं प्रवेशविन्दुहरूमा व्यापक तरंग ल्याएको थियो । वीरगन्ज ब्यारेकको ‘आत्मसमर्पण’ ले जनतामा र खास गरी मुक्ति सेनामा ठूलो ऊर्जा थपेको थियो । यस अतिरिक्त जनताले वीरगन्जलाई राणा शासनबाट मुक्त गरेपछि देशव्यापी जनक्रान्तिका लागि हातहतियार र खरखजानाको उल्लेख्य परिमाण कब्जामा आएको थियो । विशेष गरी मुक्ति सेनाका लागि महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको थप सूचना स्वदेश र विदेशका समाचार माध्यमहरू व्यापक रूपमा पुग्न थालेको थियो । रक्सौलमा डेरा जमाएर बसेका पश्चिमा पत्रकारहरूले नेपालमा प्रजातन्त्रका लागि लडिएको जनक्रान्तिको मनोबल झनै बढाएका थिए ।
ब्यारेकले आत्मसमर्पण गरेको दोस्रो दिन मातृका, बीपी र सुवर्णबाट ब्यारेकको समेत निरीक्षण भएको थियो । ब्यारेकको अत्यन्त सुरक्षित ट्रेन्च (खाडलहरू) ले घेरिएको घेराभित्र पानीको ट्युबवेल र ५० हजार गोलीको ठूलो परिमाणसमेत कब्जामा आएको थियो । त्यहाँ करिब तीन महिनाका लागि आवश्यक खाद्यान्नको भण्डारसमेत देखेर तीनै जना चकित बनेका थिए । अझ भन्नुपर्दा, वीरगन्ज तहबिलबाट कब्जा गरेको लाखौं भारुले क्रान्तिकारीहरूलाई संघर्षका लागि अपेक्षाभन्दा बढी शक्ति प्राप्त भएको अनुभव गराएको थियो । कब्जामा त्यो ३५ लाख भारुका सम्बन्धमा केही मतान्तर भयो । त्यत्रो रकम राजा त्रिभुवनकै जिम्मामा राख्दा क्रान्तिकारीहरूको इमानदारी देखिन्थ्यो ।
वीरगन्जमा ‘जनसरकार’ (प्रोभिजनल गभर्नमेन्ट) को स्थापना, सैनिक ब्यारेक कब्जापश्चात् मुक्ति सेनाका लागि आवश्यक हातहतियार, गोलीगट्ठाको व्यवस्थापन र ठूलो धनराशि नियन्त्रणमा आउनासाथ भएको निर्णयले अपूर्व उत्साह ल्याएको थियो । जनक्रान्तिको तयारी भैरहेको तर मुक्ति सेनासँग सशस्त्र संघर्षका लागि आवश्यक हातहतियारको कमी, व्यवस्थापनमा रहेका कमीकमजोरी र अगाडिका दिनहरूमा संघर्षका रूपरेखा आदिबारे क्रान्तिको हाई कमान्डमा गम्भीर छलफल भयो । यसरी वीरगन्जको सफल आक्रमणमा हिमालयन एभिएसनको महत्त्वपूर्ण भूमिका थियो ।
***
शान्तिपूर्ण आन्दोलनले एक शताब्दीसम्म जरो गाडेको राणाशाहीलाई नछोएको महसुस जब भयो, सशस्त्र संघर्ष गर्नुपर्ने पक्षमा विचारहरू आउन थाले । नेपाल–भारत सिमानानजिकको बैरगनियामा ठूलो सम्मेलन बोलाइयो । र, त्यही सम्मेलनले धेरै छलफल नगरीकनै सशस्त्र संघर्षको निर्णय गर्यो । बैरगनिया सम्मेलनले दिएको म्यान्डेटकै आधारमा ‘सशस्त्र क्रान्ति’ छेडियो । यसै सम्मेलनले जनक्रान्तिका लागि सजिलो बाटो हुने गरी नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालालाई नै जनक्रान्तिको ‘डिक्टेटर’ घोषित गरेको थियो । सभापतिलाई अत्यावश्यक सरसल्लाह र परामर्श दिन माथि उल्लेख भए बमोजिम तीन जना मात्र रहेको सुप्रिम कमान्ड काउन्सिल गठन गरिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसलाई एउटै चारतारे झन्डामुनि ल्याउने घोषणा गरियो । यो एकता ९ अप्रिल १९५० (२००६ चैत २७) का दिन संयुक्त अधिवेशनबाट पारित गराएपछि एउटै पार्टी ‘नेपाली कांग्रेस’ बन्यो । यो एकता अधिवेशन कलकत्तास्थित टाइगर सिनेमा हलमा भएको थियो । टाइगर सिनेमा पनि महावीरशमशेरकै स्वामित्वमा थियो । यी दुई पार्टीको एकीकरणमा राष्ट्रिय कांग्रेसका तर्फबाट मातृका, बीपी र गणेशमान सिंह एवं प्रजातन्त्र कांग्रेसका तर्फबाट महेन्द्रविक्रम शाह, सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायसमेत छ जनाको कार्यदल बनेको थियो ।
नेपाली कांग्रेसको भित्री तयारी सशस्त्र क्रान्ति गर्ने नै थियो । बैरगनिया सम्मेलनले नीतिगत रूपमै सशस्त्र क्रान्तिका पक्षमा निर्णय गरे पनि त्यतिखेर हातहतियारको व्यवस्था भइसकेको थिएन । र, भारत भूमिमा रहेर सशस्त्र क्रान्ति गर्न अन्तर्राष्ट्रिय कानुनले मिल्दैनथ्यो । त्यस अवस्थामा पनि पार्टीले सशस्त्र संघर्षको बाटो तय गरिसकेको थियो । तर भारत सरकार सशस्त्र क्रान्तिका पक्षमा नभएकाले हतियारका लागि अन्य उपाय खोज्नुपर्ने बाध्यता थियो ।
बीपी कोइरालाको बर्माका समाजवादीहरूसँग राम्रो सम्बन्ध थियो । उनीहरूसँगको सम्बन्धका सूत्रधार भारतका समाजवादी नेताहरू खास गरी राममनोहर लोहिया, जयप्रकाश नारायण आदि थिए । बर्मा सन् १९४८ मा ब्रिटिस उपनिवेशबाट मुक्त भएको थियो । र, त्यहाँको सरकारका प्रभावशाली मन्त्रीहरू समाजवादी थिए । एसियाका समाजवादी नेताहरू मिलेर एसियाली समाजवादी सम्मेलनको आयोजनाको तयारीमा बीपीले बर्मा पुगी त्यहाँका नेताहरूसँग राम्रो सम्बन्ध बनाएका थिए ।
उनीहरू पनि बीपीको समाजवादी विचारसँग पूर्ण सहमत मात्र थिएनन्, अपितु परेका खण्डमा हातहतियारसमेत दिएर सहयोग गर्न तयार थिए । यसको केन्द्रमा बर्माका रक्षामन्त्री उ बास्वे थिए । बैरगनिया सम्मेलनपश्चात् यसै विषयलाई लिएर बीपी पुनः बर्मा पुगे । कुरा गरेर फर्केपछि तुरुन्तै भोला चटर्जी र थीरबम मल्ललाई बीपीले बर्मा पठाएपछि यस सम्बन्धले गति लियो ।
अक्टोबर १९५० को कुरा हो, एक दिन महावीरशमशेरको हिमालयन एभियसनको जहाज दिल्लीको उडानमा जान ठिक्क परेको थियो, बाटो बिराइयो भनेर मेसेज आयो । सो विमान बर्माको राजधानी रंगुन (याङ्गुन) मा ल्यान्ड भयो, आधुनिक हातहतियार र गोलीगट्टाको भारी लिएर त्यहाँबाट उड्यो । यसका पाइलट थिए— ब्रजेन्स्की ।
चेकोस्लाभियाका उनी दोस्रो विश्वयुद्धमा काम गरेका अनुभवी पाइलट थिए । उनले हातहतियारको भारीसहित उडेको विमानलाई पटनानजिक बेहतामा रहेको पुरानो हवाई अड्डामा उतारे । सो हवाई अड्डा महायुद्धपछि सञ्चालनमा थिएन । निर्जन गाउँ इलाका भएकाले सबै हातहतियार झटपट अनलोड गरीवरी त्यहाँ तैनाथ दुइटा ट्रकमा लोड गरेर केही क्षणमै त्यहाँबाट सबै लाखापाखा भए । जनक्रान्तिका लागि समर्पित ती हातहतियारको पहिलो खेपलाई अत्यन्त कुशलतापूर्वक पूर्वनिर्धारित सुरक्षित स्थानतर्फ लगियो । महावीरशमशेर स्वयं क्रान्तिका पक्षमा समर्पित भएर लागेका थिए र जनक्रान्तिका अत्यन्त असजिला मार्गहरूलाई उनको हिमालयन एभिएसनले सहज बनाइदिएको थियो ।
हिमालयन एभिएसनको एउटा जहाज क्रान्तिका लागि आवश्यक पर्नासाथ चलाउने गरी मातृकाप्रसादको मातहतमा दिइएको थियो । यसले शीर्ष नेताहरूलाई चाहेका बेला कुनै जरुरी काम नरोकिने गरी चलाउन दिएकाले यातायातका दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण हवाई उडानबाट ठूलो सहयोग भइरहेको थियो ।
माथि उल्लेख भएझैं, क्रान्ति चलिरहेकै समयमा भारु ३५ लाख लिएर राजा त्रिभुवनलाई जिम्मा दिने लक्ष्यका साथ पटनाबाट दिल्लीतर्फ उडेको विमान गन्तव्यमा पुग्दा राति भैसकेको थियो । दिल्लीमा अवतरण गर्दा विमानस्थलमा सैनिकहरूको गतिविधि देख्दा विमानमा भएकाहरूलाई आफूहरू जनक्रान्तिका शीर्ष नेता भएकाले सम्मान सलामी दिन पो यो व्यवस्था भएको हो कि भन्ने लागेछ । तर कुरा अर्कै थियो । विमान ल्यान्ड गरेपछि कुनै अपराधी जस्तो गरी खानतलासीपश्चात् सबैलाई एक–एक गरेर ओरालियो र कस्टम काउन्टरमा म्याजिस्ट्रेटको इजलासमा लगेर उभ्याइयो । राति अबेरसम्म भारुको गन्तीका लागि बैंकबाट आएका कर्मचारीसहित त्यो चिसोमा बयान लिन थाले । अन्त्यमा बीपी मात्र त्यहाँ रहनुपर्ने भयो । बीपीलाई पनि भोलिपल्ट बिहानको तीन बजे मात्र मुक्त गरियो ।
हाई कमान्ड बसेको होटलमा बिहानको झुल्के घाममै पत्रकारहरूको घुइँचो लाग्यो । यसलाई तीनै जना नेताले जनक्रान्तिमा भइरहेको प्रगति देश–विदेशसम्म पुर्याउने अवसरका रूपमा उपयोग गर्ने संयोग मिल्यो । तर त्यो ३५ लाख भारु भने जनक्रान्तिपछि मात्र भारत सरकारले नेपाललाई फिर्ता गर्यो ।
