कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
सम्पादकीय

निराशाबीच आएको उल्लासको पर्व

सम्पादकीय

बडादसैं घरआँगनमा आइपुगेको छ । रोजगारी, व्यवसाय र अध्ययनलगायतका लागि टाढा पुगेकाहरू दसैं मनाउन थातथलो फर्किएका छन्, फर्किंदै छन् । उनीहरूको आगमनले परिवारभित्र मात्र नभएर गाउँटोलमा उल्लास छाउँदै छ । घरहरू सिँगारिएका छन्, सफासुग्घर बनाइएका छन् । शुभकामना आदानप्रदान चलिरहेको छ ।

निराशाबीच आएको उल्लासको पर्व

दसैंको धार्मिक र ऐतिहासिक पक्ष आफ्नो ठाउँमा छ, त्यसबाहेक पनि यसको बहुआयामिक महत्त्व छ । दसैं पारिवारिक जमघट, आफन्तसित भेटघाट र मान्यजनबाट टीका–जमरासहित आशीर्वाद ग्रहण गर्ने पर्व हो । कुनै सिलसिलामा टाढा–टाढा पुगेको भए पनि दसैंमा घर फर्कने नेपालीको प्रचलन छ । यही बेला हुने मान्यजनसँग भेटघाट र आशीर्वाद ग्रहणले आपसी सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गरिरहेको छ । यस पर्वमा राम्रो लगाउने र मिठो खाने प्रचलन छ । दसैंमा नयाँ लुगा पाएर फुरुङ्ग बनेका बालबालिकाले घर–गाउँलाई उज्यालो बनाइरहेका हुन्छन् । दसैंकै बेला लिङ्गेपिङ, रोटेपिङ बनाइन्छ, ती भेटघाट र आत्मीयता साटासाटको मौका जुराइदिने माध्यम हुन् । अधिक किनबेच हुने भएकाले दसैंले बजारलाई समेत चलायमान बनाउँछ । दसैंमा घुमफिर गर्ने संस्कार पनि स्थापित हुँदै गएको छ । खास गरी दसैं नमनाउने र मनाउन नमिल्ने अवस्थाका परिवार दसैं बिदामा घुम्न टाढासम्मै निस्कने गरेको देखिन्छ । अर्थात् यो पर्व आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम पनि बनिरहेको छ ।

घटस्थापनाको दिन घरघरमा जमरा राखेर सुरु हुने दसैं १५ दिनसम्म चल्छ । नवरात्रिभर शक्तिपीठमा पूजा–आराधना हुन्छ । दसैंको खास उमङ्ग भने फूलपातीबाट देखिन्छ । मान्यजनबाट टीका–जमरा र आशीर्वाद ग्रहण गर्ने गरिने हुनाले विजयादशमी अरू दिनभन्दा विशेष छ । कुनै क्षेत्र/समुदायमा त्यही दिनमा टीका लगाउने चलन छ भने कतिपय क्षेत्र र समुदायमा यो क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म चल्छ । नेपालमा लामो पर्व बिदा हुने यही बेला हो । किसान पनि खेतीपातीबाट फुर्सदिलो हुने समय हो यो । मनसुन पनि बाहिरिसकेको हुन्छ । धेरै दृष्टिकोणले अनुकूल याममा रहेका कारण दसैं बहुसंख्यक नेपालीले उल्लासपूर्वक मनाउने गर्छन् ।

सकेसम्म राम्रो लगाएर, मिठोमसिनो खाएर आफ्ना दुःख–पीडा भुल्दै रमाइलोसँग दसैं मनाउने सबैको चाहना हुन्छ । तर आर्थिक अवस्था कमजोर भएका मानिसका लागि दसैंले तनाव पनि दिइरहेको हुन सक्छ । बढ्दो महँगीको चिन्ता छ । त्यसैले देखासिकी खर्चिलो हुनेभन्दा पनि गच्छेअनुसार मितव्ययी ढंगले मनाउने गरे दसैं रमाइलो हुन्छ । कतिपय व्यापारी–व्यवसायीले बढी किनमेल हुने चाडको मौका पारेर मूल्य, गुणस्तर र तौलमा ठग्ने प्रवृत्ति पनि छ । आउजाउ चाप बढी हुने यही बेला यातायात व्यवसायीले चर्को भाडा असुलिरहेका हुन्छन् । सरकारले प्रभावकारी रूपमा अनुगमन–नियमन गरेर उपभोक्तालाई हरसम्भव राहत दिने प्रयास गर्नुपर्छ । दसैंका बेला यात्रुको सुरक्षालाई पनि विशेष ध्यान दिन जरुरी छ । दसैं मनाउन घर जान र फर्कन सधैं सास्ती हुने गरेको छ । यात्रुको चाप बढी हुने भएकाले व्यवसायीले यात्रु कोचेर थोत्रो गाडीसमेत चलाइरहेका हुन सक्छन् । जतिसक्दो बढी खेप लगाउने ध्याउन्नमा चालकले राम्ररी आरामसमेत नगरी गाडी कुदाइरहेका हुन्छन् । सवारीसाधन सञ्चालनमा कसैले पनि हेलचेक्रयाइँ गर्नु हुँदैन, गर्न दिनु हुँदैन ।

दसैं मनाउन मानिस घर फर्कने हुनाले ठूला सहर प्रायः सुनसान हुन्छन् । काठमाडौं उपत्यकाबाट मात्र २० लाख हाराहारी मानिस बाहिरिन्छन् । घर–पसलमा ताल्चा लगाएर मानिस हिँडेका बेला चोरीको जोखिम बढी हुन्छ । यस्तो बेला खास गरी सहरी क्षेत्रमा सुरक्षा निगरानीमा प्रहरी सक्रिय हुन जरुरी छ । दसैंका बेला लाग्ने मेला वा कुनै जमघटमा अधिक मादक पदार्थ सेवन गर्ने, झगडामा उत्रिनेजस्ता गतिविधि पनि हुन सक्छन् । त्यस्ता घटना हुन नदिन सुरक्षा निकाय चनाखो भइरहनुपर्छ । दसैं कसैका लागि दसा बन्ने अवस्था आउन दिनु हुन्न ।

थातथलोमा परिवारसँगै जमघट गर्न नपाएका नेपालीले जहाँ छन्, त्यहीँ दसैं मनाउने गर्छन् । त्यही कारण नेपाली रोजगारी र अध्ययनका सिलसिलामा जहाँ–जहाँ पुगेका छन्, त्यहीँ दसैं पुगेको छ । पर्वको यो व्यापकता गौरवको विषय हो । यसपालिको दसैं अरू बेलाजस्तै सबैका लागि सम्बन्ध नवीकरण एवं सुदृढीकरण, आत्मीयता साटासाट र खुसियालीको पर्व बन्न सकोस्, सबैमा उत्साह र उमङ्ग छाओस् । शुभकामना !

प्रकाशित : कार्तिक ३, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?