कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

‘खुला जेल’ मा बमवर्षा र मूकदर्शक ‘लोकतान्त्रिक विश्व’

भूराजनीतिक द्वन्द्व र विस्मयकारी युद्धहरूसमेत स्थानीय समस्याजस्ता बन्नु नेपालजस्ता साना र भूराजनीतिक रूपले संवेदनशील रहेका देशहरूका लागि डरलाग्दो विषय हो ।
शुभशंकर कँडेल

सम्भवतः आधुनिक विश्वको सबैभन्दा लामो युद्ध–विभीषिकाको अनवरत मैदान हो— प्यालेस्टाइन । सन् १९४६ यताको समयलाई मात्र गणना गर्ने हो भने पनि २००७ देखि विश्वमानचित्रमा प्यालेस्टाइन गायब भएको छ ।

‘खुला जेल’ मा बमवर्षा र मूकदर्शक ‘लोकतान्त्रिक विश्व’

त्यो क्षेत्र इजरायल र इजरायल अधीनस्थ गाजापट्टी र वेस्ट ब्यांकका रूपमा छ । पछिल्लो डेढ दशक विश्वभरिका मिडिया र लोकतन्त्रको लोकगीतमा रम्ने समुदायकै शब्दमा, २३ लाखभन्दा बढी जनसंख्या बसोबास गरिरेहको जम्माजम्मी ४५ वर्गकिमि क्षेत्रफलको गाजापट्टी दर्दनाक खुला जेल हो ।

अमेरिकी मानव अधिकारवादी संस्था ह्युमन राइट वाचका अनुसार, सन् २००७ देखि इजरायलले लगाएको नाकाबन्दीका कारण गाजामा हुर्केका अधिकांश प्यालेस्टाइनीले ४५ वर्गकिमिको गाजापट्टी कहिल्यै छोडेका छैनन् । २५ वर्षदेखि इजरायलले गाजाका बासिन्दाहरूको आवतजावतमा प्रतिबन्ध लगाएको छ । २००७ जूनदेखि, जब हमासले फतेहको नेतृत्वमा रहेको प्यालेस्टाइनी प्राधिकरण (पीए) बाट गाजा नियन्त्रण लिएको थियो, त्यसयता गाजा प्रायः बन्द छ । यस्तो अवस्थाको गाजामा हमासलाई आधुनिकतम हातहतियार, रकेटलगायतका विस्फोटक पदार्थको आयात, भण्डारण र आत्मघाती लडाकु बनाउने सुविधा र प्रेरणा कसले उपलब्ध गराइरहेको थियो ? इजरायली सत्ताले नै हमासलाई यी सबै प्रपञ्च गर्न सघाएको तथ्य खोज्न कुनै पुस्तक, खुफिया रिपोर्ट वा मिडियाका पुराना फाइल पल्टाउनु पर्दैन । गाजामा २५ वर्षदेखि इजरायली सत्ता र सेनाको प्रत्यक्ष नियन्त्रणमा (रेखदेख र अनुगमन मात्र भएको) थिएन कि, एउटा कैदी गृहमा पहराजस्तै दिएर मृत्युको मुखमा धकेलिएको थियो । त्यस्तो स्थितिबाट हमासले अक्टोबार ७ मा दुनियाँभरको खुफियातन्त्रले चक्मा खाएको शैलीमा इजरायलको किबुज सहरमा बर्बरतापूर्ण आक्रमण गर्छ अनि इजरायली सत्ताले मृतकका शव उठाउन नपाउँदै गाजापट्टीमा प्यालेस्टाइनीहरूलाई ‘धरतीबाटै नामेट’ पार्ने भन्दै बमबारी सुरु गर्दछ भने यो घटनाको रिहर्सल र अभ्यास इजरायलले नै गरेको थिएन भन्ने अर्थ लाग्छ र ? यस्ता प्रश्नहरू निर्भीकतापूर्वक तेलअभिभका स्थापित मिडियाहरूले नै प्रधानमन्त्री नेतान्याहुलाई गरिरहेका छन् ।

‘गाजामा व्यापक प्रतिबन्धले २० लाखभन्दा बढी बासिन्दाहरूलाई जीवन राम्रो बनाउने अवसरबाट वञ्चित गरेको छ । इजरायली प्रतिबन्धले गाजाको अर्थतन्त्रलाई ध्वस्त पारेको छ, प्यालेस्टाइनी जनताको मुटुमा प्रहार गरेको छ । इजरायली अधिकारीहरूको रंगभेद र लाखौं प्यालेस्टाइनीविरुद्धको यातना मानवताविरुद्धको अपराधको एक अंश हो ।’ ह्युमन राइट्स वाचका इजरायल–प्यालेस्टाइन निर्देशक ओमार शाकिरले भनेका छन्, ‘इजिप्टको सहयोगमा इजरायलले गाजालाई खुला जेलमा परिणत गरेको छ ।’ कोभिड महामारी सुरु भएको दुई वर्षपछि विश्वभरका धेरै मानिस फेरि यात्रा गरिरहेका छन्, तर गाजाका २० लाखभन्दा बढी प्यालेस्टाइनीहरू १५ वर्ष पुरानो नाकाबन्दीमा रहन विवश छन् । ‘इजरायली सैनिकले प्यालेस्टाइनी (अरबीहरू) लाई गोली हानिरहेका छन्, मानिसहरूलाई पिटिरहेका छन्, लात हानेका छन् । कसैको घरमा बुलडोजर चलाइएको छ । एनजीआको कार्यालयमा छापा मारिएको छ । केही इजरायली सैनिकहरूले केही प्यालेस्टाइनी बच्चाहरूलाई मध्यरातमा उनीहरूको फोटो खिच्दा चिज भन्न आदेश दिइरहेका छन् ।’ यो एक वर्ष पहिले अमेरिकी मानव अधिकारवादी संस्थाले नै जारी गरेको वक्तव्यको एक अंश हो ।

इजरायलले सन् १९६७ को छदिने युद्धबाट गाजालाई इजिप्टबाट हत्याउँदै बन्दीगृह बनाएको हो । इजरायलले गाजामा १९६७ देखि २००५ बीच जबर्जस्ती २१ वटा इजरायली बस्ती बसालेर प्यालेस्टाइनीहरूको भूमि कब्जा गरेको हो । प्यालेस्टाइनी बासिन्दाहरूलाई जबर्जस्ती त्यहाँबाट धपाइएको थियो । त्यो समय पनि इजरायली अतिक्रमण र विस्थापनविरुद्ध हिंसात्मक र अहिंसात्मक प्यालेस्टाइनी प्रतिरोध जारी नै थियो । २००५ मा इजरायल गाजापट्टीबाट आफ्नो सेना फिर्ता गर्न बाध्य भयो । त्यसको बदलामा दुई वर्षसम्म इजरायलले विभिन्न बहानामा गाजामाथि मानिस र सामानको आवतजावतमा अस्थायी नाकाबन्दी लगाएको थियो ।

सन् २००७ मा गाजामा हमास सत्तामा आएपछि इजरायलले उक्त क्षेत्रमा स्थायी नाकाबन्दी लगाएको हो । गाजासँग सीमा जोडिएको इजिप्ट पनि नाकाबन्दीको भागीदार बन्यो । इजरायली सेनाको अनुमतिबिना नागरिकहरू गाजाभित्र वा बाहिर जान नपाउने भए । न्यूनतम जीवनयापनका सामान र सहायताको आवागमनमा समेत अत्यधिक प्रतिबन्ध लगाइयो ।

इजरायलले लगाएको जमिन, हवाई र समुद्री नाकाबन्दीले अरबीहरूको मातृभूमि रहेको गाजाको जीवनलाई नरकतुल्य बनाएको थियो । प्यालेस्टाइनीहरू विनाशकारी दमन, भोकमरी र अभावले तड्पेको घटनालाई अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूहहरू र संयुक्त राष्ट्रसंघले जतिसुकै निन्दा गरे पनि इजरायलले सुरक्षाका लागि भन्दै लगाएको नाकाबन्दीलाई अमेरिकी सत्ताको सहयोगमा जारी राख्दै आएको सर्वविदितै छ ।

इजरायलले गाजाका नामी भूमिगत सुरुङहरूबाट हुन सक्ने आन्दोलनलाई रोक्न भूमिगत पर्खालहरू बनाएको छ । गाजाको उत्तरी र पूर्वी भागमा इजरायलले पर्खाल लगाएपछि इजिप्टले अमेरिकी सहयोगमा १४ किलोमिटर लामो क्षेत्रमा स्टिलको पर्खाल लगाएर गाजालाई खुला आकाशमुनिको जेलमा परिणत गरेका कुरा दर्जनौं पश्चिमा राजनीतिक तथा रणनीतिकारहरूले कैयौं पुस्तकमा दर्दनाक रूपले चर्चा गरेका छन् ।

पश्चिमी गाजामा जाने समुद्री मार्गसमेत इजरायलले नियन्त्रण गरेर सामान वा मानिसहरूको आवागमन रोकेको थियो । सन् २००७ देखि गाजामा केवल तीनवटा सीमानाकाहरूबाट मात्र प्रवेश अनुमति थियो । करेम अबुसलेम र इरेज नाका इजरायलले नियन्त्रण गरेको थियो भने रफाहा नाका इजिप्टले । इजरायल–हमास युद्ध सुरु भएपछि सबै नाका बन्द गरिएका छन् । पर्खाल र बारले घेरिएको यस ‘खुला आकाशमुनिको कारागार’ मा बस्ने मानिसहरूको अवस्था लामो समयदेखि नारकीय त छँदै थियो, अहिले ९५ प्रतिशत गाजावासीहरू सफा पानीको पहुँचबाट समेत टाढा रहेको १४ अक्टोबरको एएफपीको रिपोर्टमा उल्लेख छ । ‘इजरायलले कंक्रिट र स्टिलले बनाएको अँध्यारो मध्यपूर्वी जंगलविरुद्धको डरले संरक्षित ‘यहुदी–जियोनिस्ट भिल्ला’ का रूपमा ‘सामान्य’ जीवन बिताउने सम्पूर्ण विचारलाई चुनौती दिन्छ (फरेन पोलिसी, २०२३) ।

इअन एस लुस्तिकले यतिसम्म लेखेका छन्, ‘इतिहासको लामो शृंखलामा हेर्दा, हमास र इस्लामिक जिहादीले युद्ध सुरु गरेका होइनन् कि जेलविद्रोह सुरु गरेका हुन् । त्यो फ्रेमिङको वास्तविकतालाई बुझ्न अलिकति ऐतिहासिक पृष्ठभूमि चाहिन्छ ।’ मे १९४८ मा इजरायललाई एक राज्यका रूपमा घोषणा गर्नुअघि, गाजा वरपरको भूमिको एप्रोनमा दर्जनौं प्यालेस्टाइनी अरब सहरहरू र गाउँहरू थिए । तीमध्ये सबैभन्दा ठूलो अल–मजदल थियो, जुन अहिले पूर्ण रूपमा यहुदीहरूको एस्केलोन सहर बनेको छ । लुस्तिक भन्छन्, ‘गाजा स्रोतविहीन, भोकमरी र ओपन–एयर जेल बन्यो । खाना, पानी, बिजुली, व्यापार, मेल डेलिभरी, माछा मार्ने पहुँच, चिकित्सा हेरचाह वा बाहिरी संसारसँग सम्पर्कका लागि इजरायलमा भर पर्न बाध्य भयो । त्यस बेलादेखि इजरायलले प्रभावकारी रूपमा हमासलाई रोक्न जिम्मेवार बन्दी संगठनका रूपमा व्यवहार गरेको छ । इजरायल वा इजरायलीहरूलाई हानि गर्नबाट रोक्ने नाममा सबै प्यालेस्टाइनीलाई आजीवन काराबासको सजाय दिइएको छ ।’ यो अवस्था बुझ्नेबित्तिकै वर्तमान मध्यपूर्व युद्ध वा संकट बुझ्न सघाउ पुग्नेछ । यति भन्दाभन्दै हमासले गरेको बर्बरतापूर्ण आक्रमण र निःशस्त्र नागरिकमाथिको अक्टोबर ७ को हत्याकाण्डलाई जायज मान्न भने कुनै पनि हिसाबले मिल्दैन । वास्तविक प्यालेस्टाइनीहरूको प्रतिनिधित्व हमासले नगर्ने मात्र होइन, प्यालेस्टाइनी अवधारण नै समाप्त गर्ने उद्योगको एउटा विषाक्त मोहरा बनेको छ हमास ।

यस्तो अवस्थाको गाजाले कसरी इजरायलमाथि त्यति घातक आक्रमण गर्न सक्यो त ? यो नै सबैभन्दा प्रमुख प्रश्न हो । हमासले यसरी आक्रमण गर्‍यो कि बाँकी विश्वमा इजरायलको युद्ध–उन्मादी घोषणाका पक्षमा उभिन तँछाड–मछाड चल्यो । यतिसम्म कि, छिमेकी देश भारत, जो सुरुदेखि प्यालेस्टाइनको पक्षमा थियो, त्यसका प्रधानमन्त्री ट्वीटमा पोखिइहाले, आफूलाई नेतान्याहुको पक्षमा उभ्याए । त्यसको छ दिनपछि विदेश मन्त्रालय प्रधानमन्त्री मोदीको उत्तेजनालाई ‘करेक्सन×’ गर्न बाध्य भयो । इतिहासलाई गहिरिएर हेर्ने हो भने यति बेला प्यालेस्टाइन भन्ने कुनै पनि भूमि विश्वमानचित्रबाट गायब पार्ने अन्तिम लडाइँ चलिरहेको छ । त्यसकै अनुमोदनका लागि अमेरिकी राष्ट्रपति बाइडेन तेलअभिभ ओर्लेका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केन अक्टोबर ८ देखि मध्यपूर्वमै डेरा जमाएर अरब विश्वको ट्रेकिङ गरिरहेका छन् । सन् १९४८ पछि विश्वमा भएका अथवा अमेरिकाले थोपरेका युद्धक्षेत्रहरूमा यति छिटो, ११ औं दिनमा, कुनै अमेरिकी राष्ट्रपति ओर्लेको यो नै पहिलो घटना हो । १९५०–५३ को कोरियाली युद्धमा अमेरिकाले दक्षिणका तर्फबाट प्रत्यक्ष भाग लिएको थियो । तर कुनै पनि राष्ट्रपति कोरिया ओर्लेका थिएनन् । १९५५ देखि १९७५ सम्म अमेरिकाले भियतनाम युद्ध थोपर्‍यो, त्यहाँ युद्धको १४ वर्षपछि १९६९ मा मात्र पहिलोपटक राष्ट्रपति निक्सन पुगेका थिए । त्यसअघि तीन जना राष्ट्रपति ह्वाइट हाउसमा विराजमान थिए । अमेरिकाले नै थोपरेको सोभियत संघविरोधी अफगान युद्ध (१९८९) मा पनि कुनै राष्ट्रपति गएनन् । पछिल्लो अफगान युद्धको चार वर्षपछि २००५ मा बल्ल बुश काबुल उत्रेका थिए । त्यसअघिको इराक युद्धका बेला पनि, युद्ध समाप्तिपछि २००६ मा मात्र बग्दाद उत्रिँदा बुसले जुत्ता खाएका थिए । हमास–इजरायल युद्धअघिको ताजा घटना रुस–युक्रेन युद्ध हो, जहाँ २४ फेब्रुअरी २०२२ देखि लडाइँ सुरु भएको थियो भने वाइडेन एक वर्ष पुग्नै लाग्दा २० फेब्रुअरी २०२३ मा मात्र किएभ पुगेका थिए । तर यसपटक विदेशमन्त्री र रक्षामन्त्रीको तेलअभिभ भ्रमणले नपुगेर युद्ध भड्केको ११ औं दिनमै राष्ट्रपति स्वयं उत्रेर दुनियाँलाई चकित मात्र पारेका छैनन् कि, विश्वलाई नै सशंकित बनाइदिएका छन् । बाइडेन तेलअभिभमा झर्न नपाउँदै जोर्डनलगायतका मध्यपूर्वका राष्ट्रप्रमुखहरूले उनीसँगको भेट भने रद्द गरिदिएका छन् । त्यसको मध्यपूर्वले कुन मूल्य चुकाउनुपर्ने हो, अहिल्यै अनुमान गर्नु हतारो हुनेछ ।

अर्कातिर, वैकल्पिक विश्व भनिएका चीन–रुस त्यसै बिलखबन्दमा परेर आफ्नै व्यापारिक स्वार्थको जम्बोरी बेइजिङमा चलाइरहेका छन् । अरब विश्वले सम्भवतः ऐतिहासिक प्रताडनाबाट आजित भएर हुनुपर्दछ, प्यालेस्टाइनीको जीवनरक्षाका लागि समेत कुनै ठोस कदम चाल्न सकेको छैन । चीन–अरबबीचको बढ्दो हिमचिमलाई समेत यो युद्धको एउटा कारक मान्ने गरिन्छ । चीनकै मध्यस्थतामा इजरायल–साउदी अरब संवाद, इरान–साउदी अबर सम्झौता र पछिल्लो समय बेइजिङ–रियाद रणनीतिक साझेदारीजस्ता क्रियाकलापसमेत हमास–इजरायल युद्धका कारक होइनन् भनेर अस्वीकार गर्न अप्ठेरो छ । तर बेइजिङ प्यालेस्टाइनीहरूको कत्लेआम हुँदा विश्वभरि सुनिने आवाजसमेत दिन असफल देखिएको छ । रुसलाई त युक्रेनको संकटबाट मुिक्त खोज्ने उपायका रूपमा कसरी मध्यपूर्व युद्धलाई सदुपयोग गर्ने भन्ने ध्याउन्नभन्दा बढी हुने कुरै भएन ।

विश्व कति धेरै निर्दयी र क्रूर छ भन्ने बुझ्न यसपटकको हमास–इजरायल युद्ध राम्रो उदाहरण बनेको छ । गाजापट्टीका अस्पताल, विश्वविद्यालय, स्कुल र आवासीय भवनहरूमाथि बम बर्सिइरहेका छन् । एक्काइसौं शताब्दीमा मानिसहरूलाई आफ्नो सम्पूर्ण थातथलो छाडेर भाग्न इजरायलले उर्दी जारी गरेको छÙ प्यालेस्टाइनीहरूको रगत र क्रन्दन बाँकी दुनियाँका लागि मानौं मनोरञ्जन भएको छ । गाजामाथिको इजरायली उर्दी रोक्नुको सट्टा संयुक्त राष्ट्रसंघ र अमेरिकालगायत शाक्तिशाली लोकतान्त्रिक देशहरू गोहीको आँसु चुहाएर दुनियाँलाई मूर्ख बनाउन इजरायल–गाजा नाकामा राहत सामग्रीका केही वाहन टीभी स्क्रिनमा देखाइरहेका छन् । योभन्दा क्रूर दृश्य पछिल्लो एक शताब्दीमा कतै देखिएको थियो र ? हाम्रै देशका ‘वेत्ता र विज्ञ’ हरू यति बेला भूमिगत भएका छन् !

इजरायली सेनाले पछिल्लो भयावह अपराधका रूपमा अल अह्ली अरब अस्पतालमा बमवर्षा गरेर बच्चा, वृद्ध, बिरामी, विकलाङ्ग, चिकित्सक र नर्सहरूसहित ५ सय जनाभन्दा बढीको एउटै चिहान बनाइएको छ । युद्ध घोषणाको चौथो दिनदेखि इजरायलले गाजामा पानी, औषधि, दूधलगायतका सबै खाद्यान्नमाथि प्रतिबन्ध लगाएको छ । कल्पनाभन्दा बाहिरको त्रासदीका रूपमा गाजामाथि अन्धाधुन्ध बमबारी गरिरहेको छ । गाजा सहरमा जाने पानीको पाइपको टुटी बन्द गरेर, बम र बारुदबाट प्राण नगएकाहरूको प्राण, छटपटाएर लिइरहेको छ । यसो गरिरहँदा अमेरिकी विदेश र रक्षामन्त्रीको इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको ढाप कमी भएको महसुस गरेर राष्ट्रपति बाइडेन आफैं तेलअभिभ उत्रेर गाजामाथिको मानव कत्लेआमप्रति के सन्देश दिन खोजेका हुन्, गम्भीर प्रश्न उठेको छ ।

भूराजनीतिक द्वन्द्व र विस्मयकारी युद्धहरूसमेत स्थानीय समस्याजस्ता बन्नु नेपालजस्ता साना र भूराजनीतिक रूपले संवेदनशील रहेका देशहरूका लागि डरलाग्दो विषय हो । जसरी युक्रेनको बहुलट्ठीपूर्ण आलापलाई जोगाउन कोही आएन, केवल मानव विनाश गर्ने पश्चिमा हातहतियार र गोलाबारुद्ध पठाएर युक्रेनीलाई कत्लेआम गर्न मात्र प्रेरित गरियो, त्यसरी नै हमास–इजरायल विस्फोटमा अमेरिकी तोप, पनडुब्बी तथा बेलायती जहाज र हतियारहरू खस्दै छन् । तर त्यहाँ न नेटोका सैनिक उत्रनेवाला छन्, न त पीडित भनिएका राष्ट्रहरूलाई प्रतिरोध गर्न अनुमति नै दिइनेछ । इराक, अफगानिस्तान, सिरिया र युक्रेनपछि मध्यपूर्व विस्फोट भएको छ । अब यस्ता विस्मयकारी परिघटनाले गर्दा विश्वको भूगोल नै बदलिन थालेको छ । यस्तो खतरा नेपालको नजिकतिर सर्दै आउनु त्यसै पनि कहालीलाग्दो त छ नै, त्यसमाथि अब प्रत्यक्ष रूपले नै वासिङ्टन र बेइजिङ आमने–सामने हुने कुनै विस्फोट उद्घाटित नभएसम्म यो युद्धको लहर रोकिने सम्भावना कम छ । किनकि अझैसम्म यी दुई शक्ति आमने–सामने भएका छैनन् । बेइजिङले वासिङ्टनसँगको प्रत्यक्ष भिडन्तलाई जतिसुकै पन्छाउन खोजे पनि सधैंभरका लागि टार्न असम्भवजस्तै छ । यस्तो हुनु भनेको नेपालको दैलोमा युद्धको विभीषिका रचिनु हो भन्ने कुरालाई नेपाली शासकहरूले गम्भीरतापूर्व लिनुपर्दछ । विश्वव्यापी द्वन्द्वको चंगुलका रूपमा उद्घाटित हुने युद्धलाई स्थानीय घेराभित्र कैद गरेर मानव जातिलाई नै पशुवत् व्यवहार गर्नु डरलाग्दो नियति बन्न पुगेको छ ।

प्रकाशित : कार्तिक २, २०८० ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?