कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सभामुखको पनि सभामुखजस्तै नेम्वाङ

सुवासजीले असल सांसद कस्तो हुनुपर्छ भन्ने मानक स्थापित गर्नुभएको छ । नयाँनयाँ माननीयका लागि उहाँ शिक्षकजस्तो हुनुहुन्थ्यो ।
देवराज घिमिरे

सुवासचन्द्र नेम्वाङजीसँग ठ्याक्कै यही मितिमा भेट भएको भनेर सम्झना छैन । प्रत्यक्ष भेट नहुँदै हामी परिचित थियौं । भूमिगतकालमा इलामको सुन्तलाबारी (नेम्वाङको जन्मघर) मा हाम्रा बैठक हुने गर्थे । सुवासजीको घरमा प्रदीप नेपालको सेल्टर थियो । उहाँको घरमा आमा र बहिनी शशि बस्नुहुन्थ्यो । सुवासजीका बुवा रामबहादुर नाम चलेको न्यायाधीश हुनुहुन्थ्यो । बहिनी शशि एनजीओ/आईएनजीओतिर काम गर्नुहुन्थ्यो ।

सभामुखको पनि सभामुखजस्तै नेम्वाङ

२०४६ सालको जनआन्दोलनपछि अन्तरिम मन्त्रिपरिषद्मा तत्कालीन नेकपा (माले) का तर्फबाट मन्त्री हुनुभएका झलनाथ खनालजीसँग सुवासजी पनि इलाम आएका बेला मेरो सम्भवतः पहिलो भेट भएको थियो । मलाई लाग्छ, २०४७ सालमा वैशाखतिर हो । त्यतिबेला म पार्टीको इलाम जिल्ला प्रमुख (सचिव) थिएँ । जनआन्दोलनमा कांग्रेससँगै आन्दोलनका कार्यक्रम हुन्थे । पार्टीका कतिपय नेता परिचित थिएनन् । हामीले झलनाथजी गृहजिल्ला आएको मौकामा पार्टी परिचयात्मक कार्यक्रम गरेका थियौं । इलामका प्रायः सबै ठाउँमा भएका आम सभा तथा परिचयात्मक कार्यक्रममा सुवासजी हिँड्नुभयो ।

आमसभामा सुवासजीले असाध्यै मीठो र राम्रो भाषण गर्नुहुन्थ्यो । तर्कपूर्ण भाषण गर्ने, कम्युनिस्टका इतिहासदेखि कम्युनिस्ट कसरी तल्लो वर्गको पार्टी हो भन्नेजस्ता कुरा जनताले बुझ्ने भाषामा राख्नुहुन्थ्यो । इलाम बजार, फिक्कल लगायत जिल्लाका धेरै घनत्व भएका ठाउँमा तत्कालीन मालेको प्रभाव राम्रो थियो । उहाँले प्रत्येक ठाउँमा करिब एक घण्टा भाषण गर्नुहुन्थ्यो । कोही पनि चुइँक्क नबोलीकन सुन्थे । सुवासजीको वाक्–कला वास्तवमै अद्भुत थियो । इलाममा लालसलाम गर्दा एउटा हात उठाएर मात्रै गरिँदैनथ्यो । एक हात उठाउँदा अपमान हुन्छ भनेर बायाँ हातले दायाँ हातको कुइनोमा छोएर लालसलाम गर्ने चलन थियो । सुवासजी भन्नुहुन्थ्यो, ‘इलामे कमरेडहरू कति अनुशासित छन् भन्ने थाहा पाउनुभयो नि !’

सुवासजी काठमाडौंकेन्द्रित भएरै पार्टी काममा लाग्नुभएको थियो । काठमाडौंमा ल फर्म चलाउनुहुन्थ्यो । पार्टी महासचिव मदन भण्डारी लगायत केन्द्रीय नेताहरूसँग राम्रो सम्पर्क र सम्बन्ध बनाउनुभएको थियो । २०४७ सालमा भएका जिल्लाव्यापी आमसभाका कार्यक्रम सकेर उहाँ काठमाडौं फर्कनुभयो ।

पञ्चायतकालमा पार्टीका नेता रत्नकुमार बान्तवाको गोली हानी हत्या गरिएको थियो । इलामको चित्रे लगायतका क्षेत्रमा गरिब, किसान र पार्टीका नेता कार्यकर्तामाथि पञ्चायतले दमन गरेको थियो । बहुदल आएपछि फेरि किसानहरू पञ्चविरुद्ध उत्रिए । मोसो दल्ने, कुटपिट गर्नेजस्ता घटना भए । पार्टीका नेताहरूविरुद्ध मुद्दा लाग्न थाल्यो । दुईपक्षीय द्वन्द्व बढिरहँदा पञ्चहरूका स्थानीय रूपमा प्रभावशाली व्यक्ति पञ्चबहादुर देवानको हत्या भयो । धेरै कार्यकर्ताविरुद्ध मुद्दा पनि लाग्यो । मुद्दा टुंगो लगाउने विषयमा छलफल गर्न म काठमाडौंमा रहेको उहाँको ल फर्ममा पुगेको थिएँ । टेलिफोनको सहजता अहिलेजस्तो थिएन । त्यस अवस्थामा पनि हाम्रो सम्पर्क र कुराकानी भइरहन्थ्यो ।

२०४८ मा मदनको सिफारिस

२०४८ सालको पहिलो आम निर्वाचनमा सुवासजीलाई इलाम क्षेत्र नं २ बाट उम्मेदवार बनाउन मदन भण्डारीको सुझाव थियो । उम्मेदवारीका सन्दर्भमा मैले उहाँसँग कुरा पनि गरेको थिएँ । सुवासजी काठमाडौंकेन्द्रित भएर कानुन व्यवसाय, प्राध्यापन र राजनीतिमा हुनुहुन्थ्यो । उहाँलाई उम्मेदवार बनाउन कुनै समस्या थिएन । सुवासजीले ‘मलाई चुनावमा उठ्ने इच्छा छैन, परिवेश पनि छैन, त्यहीँ काम गरिरहेका साथीहरूलाई उम्मेदवार बनाउँदा राम्रो हुन्छ’ भन्ने सल्लाह दिनुभएको थियो ।

हामीले चुनाव जित्ने उम्मेदवारलाई नै अगाडि सार्ने रणनीति बनाएका थियौं । जिल्ला पार्टी कमिटीमा छलफल हुन्थे । स्थानीयस्तरमा काम गरिरहेको र परिचित व्यक्तिलाई उम्मेदवार बनाउँदा चुनाव जित्न सजिलो हुने आकलन गर्दै हामीले मणि सुब्बालाई उम्मेदवार बनायौं । उहाँ २०४३ सालमा नै जनपक्षीय जिल्ला सभापतिको उम्मेदवार भएर थोरै मतले हार्नुभएको थियो । एक हिसाबले उहाँ परिचित हुनुहुन्थ्यो । क्षेत्र नं १ बाट झलनाथ खनाल र २ मा मणि सुब्बालाई उम्मेदवार बनाइयो । हामीले एउटा क्षेत्रबाट ब्राह्मण/क्षत्री र अर्को क्षेत्रबाट आदिवासी जनजातिलाई उम्मेदवार बनाउन उपर्युक्त हुन्छ भनेर त्यो निर्णय गरेका थियौं । मलाई सम्झना छ, झलनाथजीले पनि ‘सुवास र मेरो जोडी मिल्छ’ भन्नुभएको थियो । मैले ठट्टामा पनि भनेको थिएँ, ‘श्रीमान्–श्रीमतीको पो जोडी हुन्छ । नेताहरूको पनि त्यस्तो हुन्छ र ?’ हामीले २०४८ सालमा दुवै क्षेत्र जित्यौं ।

गएको साउन दोस्रो साता २०४८ सालको चुनावका सन्दर्भमा एउटा अनलाइनमा समाचार आएपछि हामीले विगतको समीक्षा गरेका थियौं । त्यसमा पनि उहाँले ‘मलाई मदन भण्डारीले तल चुनाव उठ्न जानुस् भन्नुभएको थियो, मैले नमानेको हो’ भन्नुभएको थियो । चुनावमा सुवासजी उम्मेदवार नभए पनि प्रचारमा पूरै समय हिँड्नुभयो । झलनाथजी आफ्ना सबै आमसभामा उहाँलाई लिएर हिँड्नुभएको थियो । सुवासजीले भाषणका क्रममा कांग्रेसका चार ताराका सन्दर्भमा राखेको भनाइ अहिले पनि मेरो सम्झनामा छ । कांग्रेसका चार तारा राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका सूचक हुन नसकेको व्याख्या गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘मैले कांग्रेसका चारवटै तारा निकालेर डन्डा मात्रै बाँकी राखेँ ।’

पहिलो पटक मन्त्री बनाउँदा

प्रतिनिधिसभा निर्वाचनपछि भएको राष्ट्रिय सभाको निर्वाचनमा सुवासजी निर्वाचित हुनुभयो । उहाँको संसदीय जीवनको आरम्भ २०४८ सालमा राष्ट्रिय सभाबाट सुरु भयो । म २०४९ सालमा एमालेको केन्द्रीय कमिटी सदस्य भइसकेको थिएँ । २०५१ सालमा एमालेले अल्पमतको सरकार बनाउँदा मन्त्री कस–कसलाई बनाउने भन्ने विषयमा छलफल भयो । कानुनमा राम्रो दख्खल भएकाले सुवासजीलाई कानुनमन्त्री बनाउने निर्णय भएको थियो । केन्द्रीय कमिटी सदस्य नभएकाले उहाँलाई राज्यमन्त्री बनाइयो । तर, न्याय परिषद्मा मन्त्री सदस्य हुने व्यवस्था भएकाले लगत्तै उहाँलाई राज्यमन्त्रीबाट बढुवा गरेर मन्त्री बनाइएको थियो । उहाँ मन्त्री भएका बेला कार्यकर्तामाथिका मुद्दा मामिला लगायतका विषयमा छलफल गर्न म मन्त्रालय जान्थें । उहाँ पछि मात्रै केन्द्रीय कमिटी सदस्य हुनुभएकाले कमिटीगत सहकार्य हुन सकेन । महाकाली सन्धिका बेला उहाँ र म दुवै जना पक्षमा थियौं । त्यतिबेला हाम्रो नजिकबाट छलफल र बहस हुने गरेको थियो । त्यसपछि वैचारिक छलफलहरू हुन थाल्यो ।

२०५४ सालमा वामदेव गौतम, सीपी मैनाली लगायतका साथीहरूले पार्टी विभाजन गरेर नेकपा (माले) बनाउनुभयो । म पार्टीको मेची अञ्चल इन्चार्ज थिएँ । पार्टी फुटबाट जोगाउन हामी झापाका धेरै ठाउँ र इलामका खास–खास ठाउँमा जान्थ्यौं । उहाँले कार्यकर्तालाई राम्रो कन्भिन्स गर्नुहुन्थ्यो । हामी पाँचथर र ताप्लेजुङमा पनि पुगेका थियौं । कतिपय कार्यकर्ता ‘सुवास पनि एमालेमै रहेछ, यही पार्टी ठीक रहेछ’ भनेर एमालेमा सक्रिय हुनुभएको थियो । कार्यकर्तामा उहाँको एक प्रकारको राम्रो छाप थियो । पार्टी फुटका बीचमा २०५६ सालमा सुवासजी प्रत्यक्ष निर्वाचनमा होमिनुभयो । उहाँ आफू निर्वाचनमा उम्मेदवार भए पनि पाँचथर र ताप्लेजुङमा पनि चुनाव प्रचारका लागि सहयोग गर्न जानुहुन्थ्यो । ताप्लेजुङमा तिलकुमार मेन्याङ्बो उम्मेदवार भएका बेला उहाँ हिँडेरै चुनाव प्रचारका लागि जानुभएको थियो ।

पार्टी काममा हिँड्दा खानपान र बसाइमा सुवासजीको साह्रै सहजता थियो । जहाँ जस्तो खानेकुरा पाकेको छ खानुहुन्थ्यो । तोङ्बा मन पराउनुहुन्थ्यो । पहाडको तीते माछाको उहाँको रुचिमा थियो । पाँचथरमा वसन्तजी (सांसद वसन्तकुमार नेम्वाङ) की आमा (सुवासकी काकी) ले सुवासजी आउने थाहा पाउनुभयो भने तीते माछा, माछाको सुकुटी तयार गरेर राख्नुहुन्थ्यो ।

अप्ठ्यारोमा पार्टीको रक्षाकवच

सुवासजीले पार्टीभित्र बहस, छलफल र अन्तर्क्रिया गर्नुहुन्थ्यो । तर, पार्टीले गरेको निर्णय र निर्देशनविरुद्ध उभिनुभएन । पार्टीलाई अप्ठ्यारो परेका बेला उहाँ सार्वजनिक रूपमा नै संस्थापनका पक्षमा उभिनुहुन्थ्यो । पार्टी काम र कार्यक्षेत्र सँगै रहेन । तर, इस्युमा चर्काचर्की परिरहँदा संयोगवश हामी एकै ठाउँ उभिएका थियौं ।

हामी महाधिवेशनको नीति र नेतृत्व चयनमा पनि सगै रह्यौं । सातौं महाधिवेशनमा पार्टीमा अध्यक्षात्मक प्रणालीबारे छलफल व्यापक रूपमा भयो । सुवासजी अध्यक्षात्मक प्रणालीको पक्षमा उभिनुभयो । त्यसलाई सैद्धान्तिकीकरण गर्ने काममा लाग्नुभयो । महासचिव प्रणाली लेनिनवादी र वामपन्थी तथा अध्यक्षात्मक प्रणाली पुँजीवादी भन्नेविरुद्ध उहाँ उभिनुभयो । अन्ततः पार्टी अध्यक्षात्मक प्रणालीमै प्रवेश गर्‍यो ।

जातीय भड्काव पार्टीभित्र आउँदा पनि उहाँले नेपाली समाजको चित्रण गर्दै पार्टीका पक्षमा माहोल बनाउने काम गर्नुभयो । जीवनको अन्तिम कालमा धरानमा उहाँले गरेको भाषणमा पनि नेपाली समाज र हाम्रा आन्दोलनले दिलाएको समावेशी चरित्रको राम्रो व्याख्या गर्नुभएको छ । उहाँ मुलुकका लागि दल, जाति, धर्म, लिंग र क्षेत्रभन्दा माथि उठेर विचार प्रस्तुत गर्नुहुन्थ्यो ।

सभामुख र संविधानसभा अध्यक्षमा सुवास

सभामुख वा सभाध्यक्षलाई निष्पक्ष र तटस्थ राख्ने अभिप्रायले नै अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नेपालको संविधानमा राखिएको छैन । मत बराबर भए मात्रै अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन पाउँछ । सबै दललाई समान व्यवहार गर्न दलीय आबद्धता त्याग्ने अभ्यास छ । एकाधबाहेकका सभामुखले निर्वाचित भएपछि दल त्यागेका छन् । सभाका सबै राजनीतिक दल र सदस्यहरूप्रति सभामुखले समदुरी र समान व्यवहार देखाउनुपर्छ । मैले बेलाबेला भन्ने गरेको छु– सभामुख आफैंले गोल हान्दैन, किनभने सभामुख रेफ्री वा अम्पायर हो ।

सुवासजीबाट सभामुखबाट निष्पक्ष र तटस्थ रहनुपर्ने संसदीय अभ्यासको मर्म, मूल्य, मान्यता प्रतिकूलका काम वा व्यवहार भएको मलाई थाहा छैन । आफैं कानुनको ज्ञाता भएकाले उहाँले संवैधानिक विधिशास्त्र, संवैधानिक नैतिकता, संसदीय अभ्यास, संविधान र नियमावलीको पालना राम्ररी गर्नुभएको बुझ्छु ।

दलीय समन्वय र समझदारीमा संयम र सन्तुलित भएर सभा सञ्चालन गर्नुभएको रहेछ भन्ने महसुस भएको छ । संविधानसभामा दलहरू धेरै थिए । सभासद नै ६०१ जना थिए । अनेक पृष्ठभूमिका दलहरूबीच मतैक्यता हुन सक्ने कुरै भएन । असहजताबीच संविधान निर्माणमा जसरी योगदान गर्नुभयो, त्यसले उहाँप्रति श्रद्धा र सम्मान बढाएको छ ।

अभिभावक गुमाउँदाको पीडा

राष्ट्रिय सभा सदस्यको अनुभव भए पनि प्रतिनिधिसभामा म पहिलो पटक निर्वाचित भएको थिएँ । परिस्थितिवश म आफू निर्वाचित भएको दल एमालेले २०७९ माघ ४ मा मलाई सभामुख पदको उम्मेदवार बनायो । मेरो उम्मेदवारीमा सुवासजी नै प्रस्तावक हुनुहुन्थ्यो । हितराज पाण्डेजी समर्थक । माघ ५ मा निर्वाचित भएँ ।

सभामुखको जिम्मेवारी लिएपछि मैले सुवासजीबाट धेरै सरसल्लाह र सुझाव लिने गरेको थिएँ । कतिपय कार्यसूची निर्धारणमा हुने द्विविधादेखि संसद् अवरोध हुँदासम्ममा म सुवासजीलाई सम्झन्थें । केही असहज अवस्था आए ‘सुवासजीलाई सोधौं न’ भन्ने अचेतन मनले भनिहाल्थ्यो । उहाँ संसदीय दलको उपनेता पनि हुनुहुन्थ्यो । तर, मैले उहाँसँग दलका तर्फबाट होइन, सभामुखले लिने निर्णयमा सुझाव लिन्थें । उहाँ मात्र होइन, मैले समय–समयमा सबै पूर्वसभामुखबाट सुझाव लिएको छु । सुवासपछिका सबै सभामुखले उहाँसँग सोध्ने, छलफल गर्नुहुने रहेछ । एक हिसाबले उहाँ सभामुखका पनि सभामुखजस्तो हुनुभयो ।

प्रतिनिधिसभा नियमावली बनाउने सन्दर्भमा होस् या पशुपतिको सुनको जलहरी, प्रधानमन्त्रीको भारत भ्रमण, सुनकाण्ड लगायतका विषयमा सुवासजीले दिने सल्लाह–सुझाव संसद् खुलाउन सहयोगी थिए । सर्वस्वीकार्य राजनीतिज्ञ भएका कारण पनि उहाँले दिने धारणालाई सबै दलले स्वीकार गर्थे । द्विविधा आउँदा उहाँबाट राय–परामर्श लिने गरेकाले उहाँ मेरो अभिभावकजस्तै हुनुहुन्थ्यो । उहाँको निधनपछि एक जना अभिभावक गुमाउँदाको पीडाजस्तो महसुस भएको छ । तर, बेहोर्नु र सामना गर्नुबाहेक छैन ।

सुवासजीले असल सांसद कस्तो हुनुपर्छ भन्ने मानक स्थापित गर्नुभएको छ । नयाँनयाँ माननीयका लागि उहाँ शिक्षकजस्तो हुनुहुन्थ्यो । आफ्नो पार्टी मात्र होइन, सबै दलका जिज्ञासु माननीयका लागि उहाँले समय दिएर सिकाउनुहुन्थ्यो । सांसदको आचरण, भूमिका, प्रस्तुति, अध्ययनशीलता लगायतका विषयमा झर्को नमानीकन प्रशिक्षण दिनुहुन्थ्यो । उहाँले कानुन निर्माता कस्तो हुन्छ भनी उदाहरण प्रस्तुत गर्नुभएको छ । सभामुख कस्तो हुनुपर्छ भन्ने छाप छाड्नुभएको छ । संसद्, सांसद र सभामुखको पर्यायवादी भएर अस्ताउनुभएको छ ।

घिमिरे प्रतिनिधिसभाका सभामुख हुन् ।

प्रकाशित : आश्विन ४, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?