कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरेको चिन्ता

कुमार थापा

जलको भण्डार चुरे हो भने अन्नको भकारी मधेश । चुरे दोहनले जल भण्डार नष्ट हुँदै छ । अन्न भण्डार पनि खस्कँदो छ । धान झुल्ने फाँटहरू बालुवा गिट्टीले पुरिँदै छन् । एकतिहाइभन्दा बढी जनसङ्ख्या चुरे आसपास बसोबास गर्छन् । उनीहरू दाना, पानी, वायु, जडीबुटी, फलफूल, कन्दमूल लगायत खाद्यवस्तु चुरेबाटै उपभोग गर्छन् । अर्थात् चुरेबाट उपलब्ध प्राकृतिक स्रोतले नै तराईलाई थेग्छ ।

चुरेको चिन्ता

चुरे र भावर क्षेत्रले मधेशका निम्ति भूमिगत जल भण्डारको काम गरेका छन् । कतिपय खोलानाला मौसमी प्रकारका छन् । वर्षात्मा मात्रै पानी देखिन्छ, हिउँदमा सुक्खा । सुक्खा भए पनि जमिनमुनि पानी हुन्छ । उक्त पानीलाई सिपेज वाटर रेजिङ टेक्नोलोजी प्रयोग गरेर उपयोगमा ल्याउन उकिन्छ । तराईमा पानीको मुख्य स्रोत भूमिगत जलस्रोत नै हो र यो चुरेकै कारण सम्भव भएको हो ।

चुरेको पहाड सकिनेबित्तिकैको क्षेत्रलाई हामी भावर भन्छौं । त्यसले पानी सोस्छ र तल भण्डारण गर्छ । त्यही पानी अलि तल मधेशमा पुग्दा प्रयोग गरिन्छ । जैविक विविधताको दृष्टिकोणबाट पनि चुरे संरक्षण उत्तिकै महत्त्वपूर्ण छ । तर चुरे क्षेत्रले आफ्नो भौगोलिक आकार र विशेषता अनुसार संरक्षण पाउन सकेन ।

चुरे दोहन : दुई दशकदेखि तराई–मधेशमा पिउने पानीको समस्या चुलिँदो छ । बाढी र डुबानको समस्या खपिनसक्नु छ । कुनै बेला वरदान भएको चुरे अहिले किन अभिशाप बन्यो ? यसको दोषी को ? अनगिन्ती प्रश्न अनुत्तरित छन् । बाहिरबाट चुरे पढ्नेले ‘चुरेको उत्पादन बालुवा, गिट्टी, ढुंगा, काठ हो भनेर बुझे अनि चुरेको दोहनले तीव्र रूप लियो । वन फँडानी बढ्यो, खोला खोल्सीमा डोजर र ट्र्याक्टर चले ।

सरकारसमेत भारतलाई चुरेको गिट्टी, ढुंगा र बालुवा बेच्न तत्पर देखियो । ढुंगा, बालुवा र गिट्टीको निकासीका लागि चुरे क्षेत्र उत्खनन गर्न दिने घोषणा नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने, बाढी, डुबान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने प्रपञ्च हो । चुरेको स्रोतलाई दोहन गर्न पल्केकाहरूले झन् सीमित स्वार्थका लागि चुरे सिध्याउने नै भए ।

स्थानीय सरकार आएसँगै चुरे क्षेत्रमा बुल्डोजरको जगजगी बढेको छ । गाईगोरुको यात्राले समेत छियाछिया हुने कमसल जमिन बुल्डोजरले खलबलिएको छ । पूर्वाधार विकास तथा विस्तारका नाममा अत्यधिक दोहन भइरहेको छ । चुरे संवेदनशील क्षेत्र हो, विकासको काम गर्दा यसको मर्मलाई बुझ्नुपर्छ । चुरेमा छरिएको बस्ती छ, घरघरमा बाटो पुर्‍याउन सम्भव छैन । राज्य र नागरिक दुवै पक्षको विकासे योजना अनुसार बाटो, पार्क, पिकनिक स्पट लगायतका संरचना बनाउनाले चुरेको मौलिकता मात्र हैन, पानीको मुहान पनि मासिँदै गएका छन् ।

संरक्षण प्रयास : सरकारले २०६६ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गर्‍यो, २०७१ असारमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गरेर संरक्षित क्षेत्रका रूपमा घोषणा पनि गरेको थियो । २०६२ मा सामुदायिक आत्मनिर्भर सेवाकेन्द्रले चुरेको वास्तविकता, संरक्षण र जनजीविकाका विषयमा गरेको अध्ययन प्रतिवेदन अनुसार चुरेका नागरिकको अधिकार, स्थानीय ज्ञान, सीप क्षमताको उपयोगसहित चुरेको संरक्षण गर्नुपर्ने अध्ययनको निष्कर्ष थियो ।

सरकारले चुरे संरक्षणका लागि ठूलो धनराशि खर्चेर अभियान चलाएको १५ वर्ष पुग्नै लाग्यो । चुरे संरक्षणको अभियानले केही उपलब्धि भएको छैन भन्न मिल्दैन । तर जति हुनुपर्ने हो, त्यति भएन । पुस्तौंदेखि चुरेमा बसोबास गर्ने चुरेवासीको रैथाने ज्ञान, सीप र क्षमतालाई समावेश गरी चुरे संरक्षण गर्दा बढी प्रभावकारी हुन सक्छ ।

सुरु गरौं जनअभियान : धेरै देशले मरुभूमिलाई हरियालीमा परिणत गरेका छन् । कति देशमा नेपालबाट मजरा (कृषि फार्म) मा नेपाली युवाले काम गरिरहेका छन् । हामी भने भएको हरियालीलाई समेत संरक्षण गर्न नसकेर मरुभूमीकरणतर्फ उन्मुख गराइरहेका छौं । अब चुप लागेर हुँदैन, चुरे दोहन रोक्नैपर्छ । नाङ्गा पाखामा वृक्षरोपण गर्ने र भएका वृक्ष जोगाँउदा पनि चुरेको घाउमा ५० प्रतिशत मलहमपट्टी लाग्छ । तर त्यतिले मात्र चुरेले गुमाएको ताकत फर्कंदैन ।

चुरे जोगाउने मानवले नै हो । त्यसैले मानवसहितको चुरे संरक्षण गर्न जरुरी छ । चुरे संरक्षण स्थानीय जनजीविकासँग जोडिएको विषय हो । खेतीयोग्य र बस्नयोग्य भूमि पहिचान गर्नुपर्छ । र, कुन जग्गामा कस्तो खेती गर्ने, कस्तो बाली बिरुवा लगाउनेजस्ता विषयमा माटोको जाँचसहित भूगर्भ अध्ययन गर्नुपर्छ । यसका लागि सबै स्थानीय सरकारले पहिलो चरणमा भूमिको वर्गीकरणसहित भूउपयोग योजना बनाउन जरुरी छ । यसले खेती र बस्तीलाई व्यवस्थापन गर्न सकिन्छ । बाँकी जमिनमा भूगर्भ अध्ययनका आधारमा विज्ञ र स्थानीय समुदायको सुझाव अनुसार स्थानीय तहले संरक्षणको काम थाल्नुपर्छ ।

हामीले गिट्टी र बालुवा होइन, फलफूल बिक्री गर्ने नीति लिने हो । नदी उकास जग्गामा फलफूल लगाउन सकिन्छ । चुरेको माथिल्लो भागमा वृक्षरोपण गर्दा पनि वन तथा कृषि बालीको वर्गीकरण गर्नुपर्छ । यसले जीविका र संरक्षण दुवैमा सहयोग पुग्छ । खाद्यान्न आयात पनि घट्छ । यसका लागि तराई–चुरे हरित जन–अभियान सञ्चालन गर्नुपर्छ । यसले खल्बलिएको चुरेलाई सन्तुलित बनाउन मद्दत पुग्छ ।

चुरे, भावर र तराई क्षेत्रका भूभागमा रहेको खडेरीको समस्यालाई दीर्घकालीन रूपमा न्यूनीकरण र निवारण गर्न स्थानीय जनतासँगको सहकार्यमा वर्षात्को पानी संकलन, जल तथा जलाधार व्यवस्थापनका कार्यक्रम कार्यान्वयन गर्न अत्यावश्यक देखिन्छ । चुरे तथा चुरेको आसपास क्षेत्रमा क्षतिग्रस्त भूमि पुनरुत्थान, पुनर्भरण पोखरी, खहरेखोल्सीमा चेक ड्याम बनाई पानी संकलन लगायतका कार्य गर्न सकिन्छ ।

प्रकाशित : आश्विन २, २०८० ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्