कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२
सम्पादकीय

संविधानसभा अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली

सम्पादकीय

संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभाका बहालवाला सदस्य सुवासचन्द्र नेम्वाङको निधनले देश स्तब्ध भएको छ । संविधानसभाबाट संविधान निर्माण कार्यलाई सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका उनको निधनसँगै मुलुकले संविधान र कानुनका ज्ञाता, संसदीय राजनीतिका अनुभवी र शालीन राजनीतिज्ञ गुमाएको छ ।

संविधानसभा अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली

सभामुख भन्नासाथ धेरैले सम्झने नाम हो– सुवासचन्द्र नेम्वाङ । २०६२/६३ सालको जनआन्दोलनको सफलतापछि पुनःस्थापित प्रतिनिधिसभामा पहिलो पटक सभामुख बनेका उनी त्यही भूमिकामा करिब ९ वर्ष रहे । मुलुकमा राजनीतिक संक्रमणकालीन समय गुज्रिरहेका बेला नेम्वाङले संसद् सञ्चालनमा देखाएको कौशलको सबैले सराहना गर्दै आएका छन् । मुलुकका लागि उनले दिएको महत्त्वपूर्ण देन भने संविधानसभा अध्यक्षकै रूपमा हो । संविधान निर्माणका लागि दुई पटक संविधानसभा गठन हुँदा उनी दुवै पटक संविधानसभा अध्यक्ष चुनिए । भर्खर सशस्त्र द्वन्द्व त्यागेर आएको माओवादीको आवेग र परम्परागत संसदीय दलको रुढिबीच समन्वय गरेर संविधान निर्माण प्रक्रियालाई गतिशील बनाउनु र संविधानका अन्तर्वस्तुमा सहमति जुटाउनु चुनौतीपूर्ण थियो । तर उनले ‘सहमति र सहकार्य’ लाई मूल मन्त्रजस्तै बनाएर प्रायः सबै दलको विश्वासमा संविधान निर्माणलाई निष्कर्षमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्माण गरे । उनको संयम र परिपक्वताले संघीयता र धर्मनिरपेक्षताजस्ता पेचिला विषयलाई पनि संविधानसभाले टुंगोमा पुर्‍याउन सकेको हो । सबै ठूला दल र संविधानसभाका ९० प्रतिशत सदस्यको समर्थनमा २०७२ असोज ३ मा संविधान जारी भयो । जनताले चुनेका प्रतिनिधिले लेखेको त्यही संविधानअनुसार अहिले मुलुक सञ्चालन भइरहेको छ, जसका धारा धारा पारित भएको घोषणा गर्ने सभाध्यक्ष उनै नेम्वाङ थिए ।

नेम्वाङ दलीय रूपमा एमालेका नेता थिए तर उनको सबै दलसँग सुमधुर सम्बन्ध देखिन्थ्यो । संविधानसभा अध्यक्ष र सभामुखमा दुई–दुई चोटि सर्वसम्मत निर्वाचित हुनुले पनि उनको सर्वमान्य छविलाई प्रस्ट्याउँछ । संविधानसभा अध्यक्ष र सभामुखको भूमिका निर्विवाद र प्रभावकारी रूपमा निर्वाह गर्न सक्नुमा उनको व्यक्तिगत कौशल त छँदै थियो, उनी कानुनका ज्ञाता र संसदीय राजनीतिका अनुभवी भएकाले पनि यो सब सहज भएको थियो । कुनै समयका कानुन व्यवसायी नेम्वाङले नेपाल ल क्याम्पसमा केही समय अध्यापन पनि गरेका थिए । नेपाल बार एसोसिएसनका पूर्वमहासचिवसमेत रहेका उनी २०४८ सालमा राष्ट्रिय सभा सदस्य हुँदै संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । २०५१ मा कानुनमन्त्री बनेका उनी दुई पटक राष्ट्रिय सभा सदस्य बनेका थिए । २०५६ सालमा इलाम–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यति बेला नेम्वाङ नेतृत्वको सार्वजनिक लेखा समितिले छानबिन गरेको ‘लाउडा विमान भाडा प्रकरण’ चर्चित छ । २०५६ यताका सबै आम निर्वाचनमा इलाम–२ बाट चुनिँदै आएका उनी अहिलेको प्रतिनिधिसभामा पनि सदस्य थिए । नेम्वाङको निधनले प्रतिनिधिसभाले पनि अभिभावकीय भूमिकामा रहेका सदस्य गुमाएको छ ।

नेम्वाङ इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका पहिलो निर्वाचित स्ववियु सभापति हुन् । त्यति बेलैदेखि कम्युनिस्ट राजनीतिमा होमिएका उनी पछिल्लो समय एमालेका उपाध्यक्ष थिए । उनी २०७४ यता प्रतिनिधिसभामा एमालेको संसदीय दल उपनेता थिए । नेम्वाङ संविधानको रक्षामा सधैं दृढ देखिन्थे र संविधान संरक्षणको वकालत पनि गरिरहन्थे तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्दा बचाउ गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । यद्यपि उनले प्रतिनिधिसभा विघटन नगर्न ओलीलाई पटकपटक सुझाव दिएको खबर पनि प्रकाशित भएका हुन् । तर, उक्त गैरसंवैधानिक कदमप्रति सार्वजनिक असहमति राख्न नसकेको भनेर आलोचना पनि भएको हो । हाम्रो राजनीतिमा यस्ता अवस्थालाई पार्टी अनुशासनका रूपमा व्याख्या गर्ने अभ्यास पनि छ । तर, राजनीतिक दलका शीर्ष नेताहरू एकपछि अर्को आर्थिक अनियमिततामा जोडिएको बेला नेम्वाङ भने त्यस्ता प्रकरणबाट अलग्गै देखिए ।

देशको राष्ट्रपति हुने सक्ने उनको क्षमता भए पनि त्यो सन्दर्भ भने जुर्न सकेन । पछिल्लो पटक राष्ट्रपतिका लागि समीकरण आफू अनुकूल हुँदासम्म एमाले नेतृत्वले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको थिएन, जब नेम्वाङलाई अघि सार्‍यो, त्यति बेला समीकरण प्रतिकूल भइसकेको थियो । अंकगणित आफ्नो विपक्षमा गइसकेको स्पष्ट हुँदाहुँदै पनि राष्ट्रपतिको निर्वाचनमा भाग लिएर नेम्वाङले लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाइराखे । उक्त निर्वाचनपछि पनि उनी आफ्नो भूमिकामा सक्रिय थिए । पछिल्लो समय उनले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगो लगाउन अग्रसरता लिइरहेको देखिन्थ्यो । त्यसलाई निष्कर्षमा नपुर्‍याउँदै नेम्वाङको महाप्रस्थान भयो । सांसद, मन्त्री, संसदीय समिति सभापति, सभामुख, संविधानसभा अध्यक्षजस्ता महत्त्वपूर्ण भूमिकामा रहेर उनले गरेको योगदानलाई मुलुकले सम्झिरहनेछ । शालीन नेता नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली !

प्रकाशित : भाद्र २७, २०८० ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?