१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

सुपरहिट हिरो कि योग्यतम नेता ?

राजनीतिमा हिरोहरू नभएका कारण देश बिग्रिएको होइन । हाम्रो संकट हो- विचार, निष्ठा र सपनाको स्खलन । हाम्रो संकट हो- व्यक्तिवाद । हाम्रो संकट हो- सामूहिकताको अभाव ।
केशव दाहाल

मलाई आफूले हेरेको पहिलो सिनेमाको याद छैन, तर जब म पहिलो सिनेमाबारे सोच्न थाल्छु, मनमा दुइटा सिनेमा आउँछन् । पहिलो बच्चन साहेबको ‘मर्द,’ दोस्रो सनी पाजीको ‘बेताब’ । केही दिनअघि स्कुलदेखिकै प्रिय मित्र - जोसँग मैले पहिलो सिनेमा हेरेको थिएँ - सँग काठमाडौंमा ‘गदर २’ हेर्ने अवसर मिल्यो । सिनेमा हेरेर निस्कँदै गर्दा साथीले सोध्यो, “अनिल कपुरको ‘नायक’ हेरेका छौ ?”

सुपरहिट हिरो कि योग्यतम नेता ?

जवाफ नपर्खी उसले थप्यो, ‘हामीलाई देश बनाउन त्यस्तै नायकको खाँचो छ ।’ त्यो मेरो मित्रको निष्कपट भावना थियो । र, त्यस्तै निष्कपट भावनामाथि खेलबाड गर्दै आजकल केही महत्त्वाकांक्षी मान्छे चिच्याइरहेका छन्- राजनीतिमा हिरो चाहियो !

साथीको कुरा सुनेपछि मेरो मनमा केही प्रश्न उत्पन्न भए । जस्तो, हामीलाई राजनीतिमा चाहिएको के हो ? सुपरहिट हिरो कि योग्यतम नेता ? पालनहार अवतारी कि नैतिकतावान् अगुवा ? चमत्कारी जादुगर कि ज्ञानवान् राजनीतिज्ञ ? कर्मशील साधक कि आत्ममुग्ध मानव ? गम्भीर नेता कि प्रियतावादी अभिनेता ? नीति बदल्ने द्रष्टा कि व्यक्तिवादको प्रणेता ? आजकल कतिपय मान्छेमा निहित द्विविधा देख्दा लाग्छ, मानौं उनीहरू हिरोको प्रतीक्षामा छन् । यस्तो हिरो, जसले हाम्रा दुःख चुट्की बजाएर समाधान गरिदिनेछ । र, २०८४ पछि हामी अकस्मात् समृद्धिको शिखरमा पुग्नेछौं ।

के हामीले कुनै एक हिरो खोजेका हौं ? के हामी कुनै अलौकिक अस्तित्वलाई पर्खिरहेका छौं, जसले चटक गरोस् ? जब राजनीतिमा लय सकिन्छ, तब आम मान्छेमा खटपटी उत्पन्न हुन्छ । खटपटीमा विचार वा विवेकले भन्दा धेरै भावनाले काम गर्छ । भावनालाई जब विचारले नियन्त्रण गर्ने तागत गुमाउँछ तब मान्छे अलौकिक अपेक्षामा मन्त्रमुग्ध हुन पुग्छ । अहिले केही मान्छेको अवस्था त्यही हो ।अर्थात्, बितेका ७० वर्षदेखि पूरा नभएका सपनाहरूको दबाबमा परेको नेपाली समाज अन्तिम विकल्पका रूपमा अहिले एक जना पालनहार खोजिरहेको छ । बस, एक जादुगर, जो जंगबहादुर भए पनि हुन्छ वा हिन्दी सिनेमाका नायक अनिल कपुर भए पनि हुन्छ । यी नाम मैले विम्बमा लिएको हुँ । यद्यपि, यस्तो नहोस् कि यो विकल्प नै हाम्रा लागि असफलताको अन्तिम विन्दु बनोस् र त्यहाँबाट फर्किन नसकियोस् । आजलाई राजनीतिमा हिरो खोज्ने कि नेता ? यसै प्रश्नमाथि थोरै विमर्श गरौं ।

हिरो बन्ने रहर

आजकल राजनीतिमा ‘हिरो’ बन्ने रहर मौलाएको छ । चिटिक्क केस, मिलेका लुगा । ‘एंग्री यङम्यान’ को लुक्स । केही स्टारडम । यहाँनेर देखाउन खोजिएको हिरोको मानक छ, हिन्दी चलचित्र । यस्तो हिरो, जो खलनायकसँग एक्लै भिड्छ । अप्ठ्यारोमा परेकी नायिकालाई बचाउन अवतार बनेर आउँछ । या त गरिबको बस्तीमा मसिहा बनेर देखा पर्छ । अथवा, राज्यसँग एक्लै बगावत गर्छ । यस्तो हिरो, जो आवश्यक पर्दा हतियार उठाउँछ । कहिले भ्रष्ट प्रहरीलाई बीच सडकमा नाकको डाँडी भाँचिने गरी हान्छ । कहिले लम्फु नेतालाई नांगेझार पार्छ र सडकमा घुमाउँछ । आवश्यक पर्दा नियम तोड्छ र आफ्नै नियम बनाउँछ । यस्तो हिरो, जो पर्दामा जस्तै विशेष गतिका साथ हिँड्छ । ‘डाइलग’ बोल्छ । आत्ममुग्ध हुँदै भन्छ, ‘म जहाँ उभिन्छु, लाइन त्यहीँबाट सुरु हुन्छ ।’ पार्टी कार्यालयमा उसकै फोटो । ब्यानर र पर्चामा उसकै मुहार । यत्रतत्र उसकै फ्यान । दुःखीजनलाई लाग्छ- क्या गज्जब ! उनीहरू ठान्छन्- राजनीतिमा यस्तै हिरो चाहिएको हो, जसले सबै कुरा एक चुट्कीमा ठीक गरिदिनेछ !

के हामीलाई सिनेमामा देखिने हिरोजस्तो नेता चाहिएको हो ? यो प्रश्नको जवाफ खोज्न कथा र समाजको भिन्नता बुझ्नुपर्ने हुन्छ । किनभने राजनीति र राजकाज न सिनेमा हो न त कथा । हिरो र नेतामा त्यति नै फरक छ, जति कल्पना र यथार्थमा । हिरो र नेतामा त्यति नै फरक छ, जति कथा र जीवनमा । कथा एउटा लयमा कसैले कल्पना गरेको संसार हो । जहाँ सबै कुरा लेखिएका छन् । तर समाज लिखित कथा होइन । यो अलिखित यस्तो संसार हो, जहाँ हजारौं वर्षको संघर्षको इतिहास, लाखौं मान्छेका आकांक्षाको वर्तमान र त्यति नै सपनाको भविष्य संगृहीत छ । अतः समाज विशाल कुरा हो । यो एउटा कथामा अटाउँदैन । यहाँभित्र अनेक मान्छेका एकता, संघर्ष र सपनाका लाखौं अन्तर्कथा छन् । जो दुःख र सुखका अनेक समुद्र बनेर यत्रतत्र बहन्छन् । यो अर्थमा, समाज अनेक द्वन्द्व र अन्तरविरोधको शृंखला हो । राजनीतिले समाजमा काम गर्नुपर्छ । सत्यसँग साक्षात्कार गर्नुपर्छ । र, मान्छेलाई एकताबद्ध गरेर सुदूर भविष्यको यात्रा गर्नुपर्छ । यो अर्थमा, हिरो र नेतामा त्यति नै फरक छ, जति सिनेमा र जीवनमा ।

हिरो कथाले निर्माण गर्छ । तर नेता कथा (आख्यान) ले निर्माण गर्दैन । नेता मुख्यतः सामाजिक तथा राजनीतिक प्रक्रियाबाट निर्माण हुन्छ । नेताले चमत्कार गर्दैन, न त जादु गर्छ । नेतालाई सत्य थाहा हुन्छ । त्यसैले उसले सत्यलाई स्थापित गर्ने सामूहिक प्रयत्नको अगुवाइ गर्छ । नेताले इतिहास, सभ्यता र समाजका अनेक अन्तरविरोधसँग लड्न संगठन बनाउँछ । नेताले सामूहिक ज्ञान र चेतनाको प्रवर्द्धन गर्दै राज्यलाई आकार दिन्छ । इतिहासचेतना र भविष्यदृष्टि नेताको सर्वाधिक मुख्य गुण हो, जसले गर्दा नेताले समाजलाई आफ्नो विचार, निष्ठा र सपनाले उत्प्रेरित गर्छ । नेता समाजलाई बुझ्ने र बदल्ने एक अगुवा हो । नेता यस्तो खास मान्छे हो, जसले सत्यका लागि आफूलाई समर्पित गर्छ । अन्यथा राजनीतिले सत्यलाई स्थापित गर्ने तागत गुमाउँछ । संसारकै प्रसिद्ध राजनीतिज्ञहरू हिरो थिएनन्, नेता थिए ।

नेपालमै पनि यदि हामी बीपी, पुष्पलाल, मनमोहन र कृष्णप्रसादहरूका नाम गर्वसाथ लिन्छौं भने उनीहरू कथाले निर्माण गरेका हिरोहरू थिएनन् । बरु सामाजिक यथार्थको ढुंगेबाटो हिँडेका अविश्रान्त पथिकहरू थिए ।

अतः नेता विचार, ज्ञान, निष्ठा र आदर्शको अभिव्यक्ति हो । नेतासँग फ्यान हुँदैनन्; सचेत कार्यकर्ता हुन्छन्, जो आलोचनात्मक हुन्छन् र त्यही आलोचनाको कसीमा नेताले प्रत्येक क्षण आफ्नो परीक्षा दिइरहनुपर्छ । यो आफैंमा नेतालाई ‘सेल्फ करेक्ट’ गर्ने प्रक्रिया हो । अतः राजनीति कथा होइन र सिनेमा कथा हो । यो यस्तो फरक हो, जसले धेरै कुरा फरक पार्छ ।

अवतारको परिदृश्य

के त्यसो भए हामीलाई ईश्वर वा पालनहार चाहिएको हो ? अथवा, के नेता ईश्वरजस्तै अवतारी र अलौकिक हुन्छ ? ईश्वर र नेतामा दुइटा स्पष्ट फरक छन् । दार्शनिक हिसाबले हेर्दा ईश्वर र नेताको निर्माण नै फरक प्रयोजनका लागि भएको छ । पहिलो, ईश्वर विश्वासको सत्ता हो । यो आत्माको सत्ता हो । ईश्वर प्रश्नहरूभन्दा पर छन् । त्यसैले भौतिकवादीहरू ईश्वरलाई भ्रमको सत्ता ठान्छन् । साधुहरू भन्छन्- आत्मचिन्तन र त्यागबाट ईश्वर मिल्छन् । ईश्वर अलौकिक, अपरम्पार हुन्छन् । ईश्वरले आशीर्वाद दिन्छन् । ईश्वर अवतारी हुन्छन् । ईश्वर मठ वा मन्दिरमा बस्छन् । ईश्वरले जे गर्छन्, मृत्युपछि गर्छन् । दोस्रो, ईश्वरले स्वयं पढ्नु, लेख्नु एवं साधना र तपस्या गर्नुपर्दैन । ईश्वरलाई खुसी पार्न मान्छेले पूजा, आराधना, तपस्या, साधना, भजनकीर्तन गर्नुपर्छ । ईश्वर अनन्त, अन्तर्ध्यानी, निराकार र निरञ्जन हुन्छन् । ईश्वर वस्तुतः आत्मिक अवधारणा हो । तर राजनीति लौकिक कुरा हो । राजनीति प्रश्नहरूभन्दा माथि हुँदैन । यसले जवाफ दिनुपर्छ र जवाफदेही नै यसको मुख्य चरित्र हो ।

यहीँनेर एउटा रमाइलो विम्बको कल्पना गरौं । विचार गरौं, एउटा भव्य पार्टी कार्यालय छ । त्यहाँ पार्टी अध्यक्ष छन्- देवाधिदेव भोलेनाथ । अर्थात्, जटाजुट, विगुत, शिरमा गंगा, गलामा सर्पको माला, कटिमा बाघको छाला । मानौं, पार्टीको केन्द्रीय समितिको बैठकमा स्वयं भगवान् शिवशंकर सभापतिको आसनमा गजधम्म बसे भने के होला ? अथवा, कृष्ण भगवान् बाँसुरी बजाउँदै पार्टी कार्यालयमा आए कस्तो देखिएला ? श्यामवर्ण, हातमा बाँसुरी, साथमा गोपिनीहरू ।

अथवा, एउटा सर्वदलीय बैठकमा साक्षात् भोलेनाथ हातमा त्रिशूल धारण गरेर बसाहामा सवार भई बालुवाटार पुगे भने कस्तो होला ? अवश्य नै त्यो अस्वाभाविक हुन्छ । किनभने ईश्वरको स्थान मन्दिर हो; भक्तको मन हो; पुराण, कथा हो । तर नेताको स्थान हो- समाज । नेता अलौकिक, अपरम्पार र अवतारी हुँदैन । ऊ लौकिक हुन्छ । सर्वज्ञाता हुँदैन । बरु ज्ञानको भोको हुन्छ । ऊ पालनहार होइन, बरु मान्छे स्वयंलाई लड्न र आफ्नो अस्तित्वबोध गर्न सिकाउने गुरु हो । नेताले दुःखबाट मुक्त हुने संघर्षको नेतृत्व गर्छ । तर लड्नुपर्छ स्वयं जनता । नेताले मान्छेलाई ईश्वरले झैं वरदान दिँदैन । नेता सामाजिक प्रक्रियाबाट भिन्न हुँदैन । बरु त्यसैभित्रबाट आफूलाई सबल, सक्षम र गतिशील बनाउँदै नेतृत्वमा उदाउँछ र इतिहासलाई बदल्छ ।

नेतालाई ईश्वर ठान्नु र ईश्वरले सबै कुरा चुट्कीमा मिलाउँछन् भन्नु राजनीतिको सबैभन्दा ठूलो भ्रम हो । यसले आम मान्छेलाई आफ्नो भाग्य र भविष्य आफैंले निर्माण गर्नुपर्छ भन्ने महान् तत्त्वज्ञानबाट विमुख बनाउँछ । यसले मान्छेलाई परनिर्भर बनाउँछ । मान्छे स्वयंले गर्नुपर्ने संघर्षबाट उसलाई विमुख गराउँछ । त्यसैले नेतालाई ईश्वर बनाउने हैन, बरु नेतालाई एक असल मान्छे बन्न प्रेरित गर्ने हो । दुःखसुख देखेभोगेको मान्छे । गल्ती गर्दा क्षमा माग्ने र सच्चिने मान्छे । यो अर्थमा नेता बन्ने प्रारम्भिक सर्त हो- मान्छे बन्नु । तर ईश्वर बन्न मान्छे बनिरहनुपर्दैन । ईश्वर बन्न ढुंगा बने पनि हुन्छ । तर पत्थरजस्तो मान्छेको राजनीतिमा कुनै काम छैन ।

राजनीतिमा हिरोहरू नभएका कारण देश बिग्रिएको होइन । हाम्रो संकट हो- विचार, निष्ठा र सपनाको स्खलन । हाम्रो संकट हो- व्यक्तिवाद । हाम्रो संकट हो- सामूहिकताको अभाव । जब अध्ययन, अनुसन्धान, चिन्तन र ज्ञानको हुर्मत लिएर सिनेमामा देखिने अद्भुत पात्रझैं राजनीतिमा नयाँनयाँ हिरोहरू उदाउँछन्, स्पष्ट छ, राजनीति जमिनको गम्भीरताबाट पर्दाको कथामा फेरिन्छ । त्यस्तो कथा दुःखी मान्छेलाई हेर्नका लागि त रोमाञ्चक होला, तर त्यसले स्वयं उसको जीवनलाई बदल्दैन ।

अन्तिम कुरा के भने, देशमा अहिले केही मान्छे निकै दुःखी छन् । उनीहरू भड्किएका छन् । भड्किएको मनले कहिले वृन्दावनको कृष्ण खोज्छ, कहिले अयोध्याको राम । कहिले राणा जंगबहादुर खोज्छ, कहिले राजा महेन्द्र । मान्छेका मनमा निहित यो कमजोरी थाहा पाएका कतिपय मान्छे अहिले अनेक थरी चटक गरेर आफ्नो ईश्वरीय अवतार पुष्टि गर्न खोजिरहेका छन् । तर वास्तवमा हामीलाई चाहिएका न जंगबहादुर हुन्, न त महेन्द्र । न त कृष्ण, न त राम ।

हामीलाई चाहिएको हो- क्षमता, निष्ठा र दूरदृष्टि भएको नेतृत्व । जसले सामूहिकता, लोकतन्त्र र यसको शाश्वत प्रक्रियामा विश्वास गरोस् । जसले आजका सानातिना लाभहानिबाट आफूलाई निवृत्त गरेर कम्तीमा सय वा दुई सय वर्षको सपना देखोस् । यस्तो सपना जहाँ होस् उन्नत लोकतन्त्र, न्याय, समृद्धि र स्वाभिमान । यसका लागि ईश्वर वा हिरोको कल्पना गरेर आत्ममुग्ध नबनौं, सामाजिक तथा राजनीतिक हलचलको प्रक्रियाबाट नयाँ नेतृत्व निर्माण गरौं ।

प्रकाशित : भाद्र २०, २०८० ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?