१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सफलताका रंग अनेक

क्रमबद्ध विकासको सिद्धान्तले भन्छ, अब टाइपराइटरले आफ्नो सत्ता कम्प्युटरलाई छोड्नुपर्छ । अन्यथा टाइपराइटरले आफ्नो सफलताको पुरानो कथा मात्र सुनाएर के हुन्छ ? सफलता समयको गीत हो । तपाईं समयको गीत कसरी सुन्नुहुन्छ, सफलता त्यसैमा निहित छ ।
केशव दाहाल

चार सन्दर्भ 
सफलता के हो ? असफलता के हो ? राजनीतिमा सफलता र असफलताको अर्थ र महत्त्व के छ ? के राजनीति फगत सत्ता हो ? कि हो ज्ञान, अनुभव, परिवर्तन र जीवन मूल्यको एउटा उज्यालो, जसले मान्छेलाई भविष्यप्रति विश्वस्त बनाउछ ।

सफलताका रंग अनेक

ज्ञानीहरू भन्छन्, भ्रष्टहरूको समाजमा सफलता स्वयं असफलताभन्दा खतरनाक हुन्छ । अवश्य नै, जस्तो कि यदि भ्रष्ट मन्त्री सफल भयो भने के हुन्छ ? यदि निरंकुश नेता सफल भयो भने के हुन्छ ? यदि दुष्ट नायक सफल भयो भने के हुन्छ ? यी र यस्तै अनेक प्रश्नको सेरोफेरोमा उभिएर आजलाई सफलताको भाष्य र भावभूमिमाथि विमर्श गरौं ।

प्रारम्भमा चारवटा सन्दर्भ सुनाउँछु । पहिलो सन्दर्भ छ, विद्युत् बल्बको आविष्कारबारे । थोमस अल्वा एडिसनले विद्युत् बल्बको आविष्कार (सन् १८७९) गरे । भनिन्छ, त्यसका लागि उनले कम्तीमा एक हजार पटक परीक्षण गरे । तर प्रत्येक पटक उनले चाहेजस्तो परिणाम आएन । जब उनी एक हजार एक पटक परीक्षण गर्दै थिए, अकस्मात् बल्ब चम्कियो र प्रकाशवान् भयो । उनी खुसीले चिच्याए । पछि मान्छेसँग आफ्नो सफलताको कथा सुनाउँदै उनले भने, ‘मैले हजार पटक कोसिस गरें ।’ एक जनाले प्रतिप्रश्न गर्‍यो, ‘मिस्टर एडिसन, के तपाईं हजार पटक असफल हुनुभयो ?’ उनले जवाफ दिए, ‘म कहिल्यै असफल भइनँ । बरु पाइलापाइलामा सफल हुँदै अगाडि बढ्दै गएँ । मेरो प्रत्येक पाइलाले मलाई लक्ष्यमा पुग्न सघाउँदै थियो । अर्थात्, म प्रत्येक पाइलामा सफल हुँदै थिएँ । अन्यथा, हजार पाइला नहिँडेको भए, म एक हजार एक पाइलामा कसरी पुग्थें ?’ म अझै सम्झन्छु, कक्षा १० मा ‘अप्सनल म्याथ’ पढाउने गुरु तुलसी न्यौपानेले पहिलो पटक मलाई यो सन्दर्भ सुनाउँदा मेरो मन गदगद भएको थियो । एडिसनको यो जवाफ मेरा लागि धेरैपछिसम्म पनि सफलताको अद्भुत मन्त्र बन्यो ।

दोस्रो कुरा छ, प्रजा परिषद्को (विक्रम संवत् १९९३) । प्रजा परिषद् नेपाली लोकतान्त्रिक आन्दोलनको एक अजेय सुरुआत थियो, जसले राणा शासनको अन्त्य गर्न सचेत आन्दोलनको थालनी गर्‍यो । प्रजातन्त्रको माग गर्दै काठमाडौंमा पर्चा बाँडियो । युवाहरूले त्रलान्तिको बिगुल फुके । आन्दोलनमा हाम्रा चार सपूतले जीवनको आहुति दिए । तर दुर्भाग्य, प्रजा परिषद्ले न राणा शासनविरोधी निर्णायक आन्दोलनको नेतृत्व गर्‍यो, न त्यो पार्टी बलियो राजनीतिक विकल्पका रूपमा उदायो । कालान्तरमा प्रजा परिषद् प्रतिस्पर्धाबाटै हरायो । प्रश्न आउँछ, के टंकप्रसाद आचार्य र दशरथ चन्दहरू असफल भए ? के प्रजा परिषद् असफल भयो ? चलनचल्तीको राजनीतिक (सामाजिक) स्कुलले भन्छ, अवश्य नै । किनभने उनीहरूले पार्टी बनाउन सकेनन् । तर यदि उनीहरूलाई असफल ठान्ने हो भने, प्रजा परिषद्ले प्रारम्भमा जे गर्‍यो के त्यसको कुनै मूल्य थिएन ? मूल्य थियो । त्यसो भए, त्यति ठूलो मूल्यको राजनीतिक बलिदानलाई कसरी असफल भन्न सकिन्छ ?

तेस्रो कुरा छ, मानव सभ्यताबारे । इतिहास र समाजको अध्यायन गर्दा मानव सभ्यताका अनमोल खोज र आविष्कारका अनेक प्रसंग भेटिन्छन् । यस्तो लाग्छ, अहिले हामी जहाँ उभिएका छौं, यहाँ आइपुग्न हाम्रा पुर्खाहरूले सहस्र त्याग र बलिदान गरेका छन् । जस्तो, के खान हुन्छ, के हुँदैन ? कुन विष हो, कुन अमृत ? कताबाट हिँडे कता पुगिन्छ ? विशाल समुद्रमा हेलिँदै कताबाट कता जाँदा अमेरिका आउँछ ? कता जाँदा युरोप आउँछ ? कुन फलमा जीवन छ, कुन फलमा मृत्यु ? चकित पार्ने प्रश्न के भने, सभ्यताको यो उचाइमा आइपुग्न हाम्रा पुर्खाहरूले दुःखका कति पहाड उक्लिए होलान् ? खोज, आविष्कार, अनुभव र सिकाइका पहाड । हाम्रो कुन खानामा अमृत र कुनमा विष छ भन्ने थाहा पाउन हाम्रा पुर्खाहरूले कति विष खाए होलान् ? कति मरे होलान् ? सभ्यताको यो महायात्रामा अकालमै मृत्युवरण गर्ने हाम्रा पुर्खाहरू सफल थिए कि असफल ? उनीहरू असफल थिएनन् । मलाई लाग्छ, त्यसैले ज्ञान र अनुभवको आकाशमा उनीहरू ताराझैं अमर छन् ।

चौथो, नीति सन्दर्भ छ । मानौं, एउटा नगरमा चार जना आत्मीय मित्र थिए । एक संन्यासी । एक गृहस्थ । एक व्यापारी । एक राजा । संन्यासीसँग वैराग्य र ज्ञान थियो, तर धन थिएन । गृहस्थसँग परिवार थियो, तर वैराग्य थिएन । व्यापारीसँग धन थियो, तर संन्यास थिएन । राजासँग सत्ता थियो, तर गृहस्थ थिएन । विचार गरौं, यी चार जनामा सबैभन्दा सफल को हो ?

यी प्रसंगहरूले भन्छन्, सफलता र असफलता सपाट सीमारेखामा विभाजित हुँदैनन् । सफलता न सधैं सेतो र स्फटिक मात्र हुन्छ, न त असफलता सधैं धमिलो र कालो । सफलता र असफलताको मापदण्ड व्यक्ति स्वयंले रोजेको भूमिकाले निर्धारण गर्छ । जस्तो कि, संन्यासीका लागि धन वैराग्यको तगारो हो, तर व्यापारीका लागि सफलताको साधन । सन्तानप्रतिको अति मोह राजाका लागि अन्यथा होला, तर गृहस्थलाई त्यही नै आनन्द हो । जब मान्छेको काम, भूमिका र सपना फरक हुन्छ, सफलताको रंग, रूप र सुगन्ध स्वभावतः फरक हुन्छ । कसैले मात्र एउटा सूत्र र सन्दर्भबाट सफलताको जाँच गर्छ भने ऊ अज्ञानी हो ।

तीन दृष्टिकोण

राजनीतिमा सफलता र असफलतालाई हेर्ने मोटामोटी तीन दृष्टिकोण छन् । पहिलो, सत्तामुखी दृष्टिकोण । दोस्रो, परिवर्तनमुखी दृष्टिकोण । तेस्रो, क्रमबद्ध विकासको दृष्टिकोण । पहिलो दृष्टिकोणले सत्ता, शक्ति र सम्पत्तिलाई राजनीतिको मुख्य सफलता मान्छ । दोस्रो दृष्टिकोणले राजनीतिलाई परिवर्तनको साधन ठान्छ । यो दृष्टिकोणका लागि राजनीति जीवन र जगत् बुझ्ने र बदल्ने अभियान हो, जसले भन्छ— ‘राजकीय सत्ताभन्दा ज्ञान, दर्शन, विचार, साधना, उत्प्रेरणा र आविष्कार ठूला हुन् ।’ यो दृष्टिकोणले अगाडि भन्छ— ‘राजनीतिको मुख्य काम हो समाजलाई ज्ञान, दर्शन, विवेक र मूल्यमान्यताले आलोकित गर्नु । थिति बसाउनु । न्याय स्थापित गर्नु । र, सभ्यतालाई उज्यालो देखाउनु ।’ तेस्रो दृष्टिकोणले भन्छ— ‘राजनीतिमा प्राप्त हुने सफलता आफैंमा समयसापेक्ष हुन्छ । आज देखिने सफलता मात्र आजका कारण सृजना भएको होइन । त्यो पछिल्ला अनेक प्रयत्नले आर्जन गरेको पछिल्लो परिणाम हो । अर्थात्, कुनै पनी सफलतासँग उसको विगत र वर्तमान अविभाज्य हुन्छ । समय र यसको क्रमबद्ध चालभन्दा पृथक् रहेर सफलता एक्लै बाँच्दैन ।’

पहिलो दृष्टिकोण हाम्रो समाजको आम दृष्टिकोण हो, जसले भन्छ— ‘राजनीति सत्ताको खेल हो । जो दौडेर सिंहासनमा पहिले पुग्यो, उही सफल । जसरी भए पनी सत्ता र सम्पत्तिको मालिक बन ।’ यो यस्तो धारणा हो, जसले राजनीतिमा निहित विचार, मुद्दा र परिवर्तनको लक्ष्यलाई अस्वीकार गर्छ, जसले यति मात्र भन्छ— ‘राजनीति गर । अर्थात्, चुनावमा उठ, जसरी हुन्छ चुनाव जित र सरकारमा पुग । अन्यथा जीवन बरबाद छ । अन्यथा तिमी असफल ठहरिनेछौ ।’ यसको विपरीत, परिवर्तनमुखी सोचले राजनीतिलाई सत्ता मात्र ठान्दैन । किनभने राजनीतिको मुख्य काम हो— परिवर्तन, अग्रगमन । ज्ञान, विचार, दर्शन, मूल्य, मान्यताको आविष्कार र प्रतिस्थापन । निष्ठा, नैतिकता र आत्मगौरवको निर्माण । सामाजिक न्याय र जगत्को कल्याण । राजनीतिको विशाल संसारमा शासनसत्ता त फगत सानो अंश मात्र हो । अतः अंशलाई नै सम्पूर्ण ठान्नु आफैंमा विरोधाभास हो ।

तेस्रो दृष्टिकोणले गतिशीलतामा विश्वास गर्छ । यसले भन्छ— ‘प्रत्येक सफलताले विगतसँग क्रमबद्ध रूपमा जोडिएर वर्तमानको यात्रा गर्छ । र, त्यसरी नै वर्तमानसँग मिलेर भविष्यको यात्रामा निस्कन्छ ।’ यसले भन्छ— ‘सफलता युगसापेक्ष हुन्छ ।’ यो दृष्टिकोणलाई बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एउटा उदाहरण हुन सक्छ । जस्तो, कतिपय मान्छे भन्छन्— ‘वैकल्पिक राजनीतिको एक दशक लामो प्रयत्नमा नयाँ शक्ति र विवेकशील साझा असफल भए । तर रास्वपा सफल भयो ।’ विचार गरौं, के रास्वपाको सफलता अकस्मात ्प्राप्त भएको निरपेक्ष चमत्कार हो ? के नयाँ शक्ति र विवेकशील साझा पूर्णतः असफल भए ? यो दृष्टिकोणले भन्छ— ‘रास्वपाको सफलता नयाँ शक्ति र विवेकशील साझाको जगमा आर्जन भएको सफलता हो । वस्तुतः नयाँ शक्ति र विवेकशिल साझा असफल भएनन्, बरु तिनले अर्को नयाँ बन्ने आधार खडा गरिदिए ।’ स्पष्ट छ, पछिल्लो समय परम्परागत राजनीतिमाथि भएका आलोचना र नयाँ सम्भावनाहरूको पक्षमा गरिएका विमर्शहरू सबैले रास्वपाको सफलतामा योगदान गरेका छन् । यो अर्थमा सफलता यस्तो चीज हो, जो अकस्मात् हुँदैन । अर्थात्, हजार माइलको यात्रा सुरु हुन्छ पहिलो पाइलाबाट । यस्तो यात्रा, जहाँ प्रत्येक पाइलाको आफ्नै महत्त्व हुन्छ । यो सिद्धान्तले भन्छ— ‘अन्तिम पाइला हेरेर पहिलो पाइलालाई असफल भन्नु मूर्खता हो ।’

को सफल, को असफल ?

राजनीतिका केही थप रोचक सन्दर्भहरू हेरौं । जस्तो, महात्मा गान्धी र कार्ल मार्क्स । गान्धी जो कहिल्यै प्रधानमन्त्री भएनन्, तर विश्वराजनीतिमा अमर भए । मार्क्सले जीवनमा न एउटा गतिलो पार्टी बनाउन सके न त शासनसत्तामै पुगे । मार्क्सका सन्दर्भमा भनिन्छ, उनको मृत्युमा मात्र एक दर्जन मान्छे मलामी थिए । विचार गरौं त, के गान्धी र मार्क्स असफल थिए ? थिएनन् । बरु उनीहरू शताब्दीकै सबैभन्दा सफल नायक थिए । नेपालमै पुष्पलालको कुरा गरौं । उनी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव थिए, तर उनले न कम्युनिस्ट पार्टीलाई एकीकृत राख्न सके, न त कहिल्यै मन्त्री भए । के उनी क्षमताविहीन र असफल थिए ? थिएनन् । क्रांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई के भन्ने, जसले मर्ने बेलामा स्वयं आफैंले बनाएको पार्टी परित्याग गरे ? उनको घर थिएन । उनको निजी परिवार थिएन । उनी आश्रममा बस्थे । त्यसै गरी अर्को नाम छ, गणेशमान सिंहको । उनलाई के भन्ने, जो न त प्रधानमन्त्री भए, न त पार्टी प्रमुख ? तर, उनिहरू सबैले समाज र सभ्यतालाई जसरी आलोकित गरे, त्यो अद्भुत थियो, त्यो पूर्णतः सफल थियो ।

के धेरै पटक मन्त्री वा प्रधानमन्त्री हुनु राजनीतिक सफलता हो ? हो भने, बीपी कोइराला सफल कि शेरबहादुर देउवा ? बीपी एक कार्यकाल पनि प्रधानमन्त्री भएनन् । जनमतसंग्रहमा (विक्रम संवत् २०३७) उनको नेतृत्वले पराजय भोग्नुपर्‍यो । तर शेरबहादुर पटकपटक प्रधानमन्त्री भए । अगणित सत्ता, शक्ति र सम्पत्ति कमाए । अथवा, पूर्व एमाले अध्यक्ष मनमोहन अधिकारी सफल कि वर्तमान अध्यक्ष केपी ओली ? मनमोहनले फगत नौ महिना अल्पमत सरकारको नेतृत्व गरे । तर, ओलीले पटकपटक शक्तिशाली सरकारको नेतृत्व गरे र अझै एकछत्र अध्यक्ष चलाइरहेका छन् ।

अन्त्यमा दुइटा प्रश्न छन्, के हाम्रा परम्परागत दलहरू कहिल्यै सफल थिएनन् ? अथवा, आज तिनीहरू असफल छन् भनेर पुष्टि गर्ने आधार के हो ? यो प्रश्नको उत्तर समयको गतिशीलता र परिवर्तनको सपनासँग जोडेर खोज्नुपर्छ । त्यसका लागि गतिलो उदाहरण हुन सक्छ— टाइपराइटर । जस्तो, कुनै जमानामा टाइपराइटर आफैंमा भव्य र सफल मेसिन थियो, जसले लेखनमा आमूल परिवर्तन ल्यायो । कलम र मसी थन्किए । कार्यालयमा टाइपराइटर संगीतझैं खटखट गुन्जन थाल्यो । तर आज के टाइपराइटरले काम चल्छ ? क्रमबद्ध विकासको सिद्धान्तले भन्छ, अब टाइपराइटरले आफ्नो सत्ता (स्थान) कम्प्युटरलाई छोड्नुपर्छ । अन्यथा टाइपराइटरले आफ्नो सफलताको पुरानो कथा मात्र सुनाएर के हुन्छ ? सफलता स्वयं समयको गित हो । तपाईं समयको गीत कसरी सुन्नुहुन्छ, सफलता त्यसैमा निहित छ ।

प्रकाशित : श्रावण २१, २०८० ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?