वामपन्थ निख्रिएका कम्युनिस्टहरू !

वैचारिक, कार्यक्रमिक र सांगठनिक विमर्श कहिल्यै नगर्ने नेता र कार्यकर्ताको पंक्तिले के गर्छ ? यथास्थिति कायम राख्न दलाली र दोहनमा सहभागी हुन्छ, आफ्ना नेताको चाकडीमा लिप्त रहन्छ ।
उज्ज्वल प्रसाई

नेपालका कम्युनिस्ट पार्टी के हुन् ? उत्तर सरल छ र त्यो सतहमा छर्लंग देखिन्छ । आजका कम्युनिस्ट पार्टीहरू हिजोका आन्दोलनका पातला स्मृति हुन् र पुरानो वामपन्थको ब्याज उठाइरहेका कम्पनी हुन् ।

वामपन्थ निख्रिएका कम्युनिस्टहरू !

ती नयाँ दलतन्त्रका ठूला रक्षक हुन्, दोहनचक्रका अभिन्न दाँती हुन् र हुन् आवश्यक नयाँ आन्दोलनका सबैभन्दा बलिया बाधक पनि ।

मानवीय दुनियाँले बेहोरिरहेका दुरूह जटिलता बुझ्नु, गहिरो सुझबुझका आधारमा बाँच्नलायक समाज निर्माणको अभियानमा समाहित हुनु र आम मान्छेलाई इज्जतिलो एवं न्यायपूर्ण जीवनको सम्भावना खोज्न सघाउनु वामपन्थ हो भने, नेपालका स्थापित कम्युनिस्ट पार्टी यी सबै अपेक्षाका विपर्यास उभिएका समूह हुन् । नाममा कम्युनिस्ट हुनु यी पार्टीका कतिपय नेताका लागि सकसपूर्ण छ, अरू कतिपयका लागि सन्दर्भ हेरीकन क्रान्तिकारी भएको स्वाङ रच्ने आधार त्यही नामले दिएको छ । चुनावमा बिक्री भइरहेको ब्रान्डका रूपमा कम्युनिस्ट नाम स्विकार्नेको संख्या पनि उल्लेख्य छ । नाममा कम्युनिस्ट कायमै राखेर, समाजमा विद्यमान वामपन्थका मसिना प्रभाव र प्रयत्न सिद्ध्याउनु कम्युनिस्ट पार्टीहरूको मुख्य उद्यम भएको छ ।

यसो भन्दा, कसैका मनमा प्रश्न उब्जिन सक्छ— के यी पार्टीमा वामपन्थीहरू निमिट्यान्न भएका हुन् ? नेता र कार्यकर्ताको सानोतिनो पंक्ति अझै होला यी पार्टीभित्र जसले आफू वापमन्थी भएको दाबी गर्छ र सोही अनुसार केही न केही गतिविधि गर्ने कोसिस गरिरहन्छ । तर, ती सबै निस्प्रभावी छन् र साथै तिनले केही काम गरिरहेका भए, ती गतिविधिले न पार्टीभित्र, न पार्टीबाहिरको व्यापक समाजमा कुनै वैधता स्थापित गर्न सकेका छन् । किनाराका धिपधिपे बनेर ती कतै बलिरहेका छन् भने, खिइँदै र सकिँदै गएको वामपन्थको दसीका रूपमा मात्र ती उपस्थित होलान् । यहाँनेर अर्को प्रश्न उठाउन सकिन्छ— त्यसो भए नेपालका ठूला कम्युनिस्ट पार्टीहरूको वामपन्थीकरण कति सम्भव छ ?

दुई ठूला कम्युनिस्ट नामधारी पार्टी नेकपा एमाले र माओवादी केन्द्रको उदाहरणबाट यो प्रश्नको जवाफ खोज्ने प्रयत्न गरौं । एमालेका सर्वेसर्वा केपी ओली हुन्, उसै गरी माओवादीका मालिक पुष्पकमल दाहाल हुन् । ‘सर्वेसर्वा’ र ‘मालिक’ जस्ता शब्द कुनै भाषिक अभिव्यञ्जना खातिर प्रयुक्त छैनन्, यी ‘हाइपर बोली’ पनि पटक्कै होइनन् । यी दुई शब्द जब्बर यथार्थका जबर्जस्त द्योतक हुन् । विद्यमान व्यवस्थामा पार्टी सञ्चालनका निम्ति आवश्यक लोकतान्त्रिक पद्धतिलाई पूर्णतया बेवास्ता गरेका यी दुवै समूह दुई नेताका निजी अखडा (फिफडोम) हुन् । पार्टीभित्र बौद्धिक चुनौती पेस गर्न सक्नेजति सबैलाई पाखा लगाउन सफल यी दुई नेता गैरवामपन्थी कम्युनिस्ट ब्रान्डबाट सबैभन्दा बढी ब्याज असुल गरिरहेका रवाफी साहु हुन् । यद्यपि, यी दुई नेता र दुई पार्टीमा केही भिन्नता भने छन् ।

ओली पार्टीभित्र चुनाव जितेर बलिया बनेका हुन् । चुनावमा विजयी हुन र भइरहन केके गर्नुपर्छ भन्ने बुझेका अनुभवी खेलाडी भएकाले उनी एमालेका सर्वशक्तिमान् नेता भएका हुन् । त्यसो त नेपाली इतिहासको खास मोडमा एमालेभित्र रहेको संघीयता र समावेशीताविरोधी, पञ्चायतप्रेमी, दलाली र दोहनमा लैस ठूलो समूहको प्रवक्ता बन्न पुगेकाले पनि ओली एमालेको स्वाभाविक प्रमुख बने । नेपाली समाजको रूपान्तरण एवं राज्य पुनःसंरचनाका महत्त्वपूर्ण एजेन्डा सतहमा देखा परेपछि वामपन्थी पार्टीका रूपमा एमालेले गर्न सक्ने दुई काम थिए । एक, यीभन्दा अझ परिष्कृत र अग्रगामी मुद्दामा समाजको ध्यानाकर्षण गराउनु, वा यिनै एजेन्डा संस्थागत गर्न अरूभन्दा सक्रिय भएर अघि लाग्नु । एमालेले यी दुवै काम गरेन, बरु राप्रपासँग स्वर मिलाउन सक्ने ‘कन्जर्भेटिभ’ पार्टी बन्यो ।

एमालेको उल्लेख्य पंक्ति माओवादी विरोधका नाममा दुई चेपुवामा फस्यो । एक थरीले सन् १९९० को परिवर्तन नै काफी थियो र त्यसभन्दा अघि बढ्न खोज्नु हतारो हो भनिरहे । अर्का थरीले जनजाति, मधेशी, महिला, अल्पसंख्यक र दलितले उठाएका मुद्दा पचाउन सकेनन्Ù तिनले पञ्चायती राष्ट्रवादलाई आफ्नो मुख्य वैचारिकी बनाए । यी दुवै विचारलाई एकैसाथ प्रतिनिधित्व गर्न सक्ने नेता ठहरिए ओली । माओवादीका अनेक कमजोरीमाथि प्रहार गर्न उनले यी दुई विचारलाई एकै ठाउँ गालेर आफ्नो बलियो हतियार बनाए । माधवकुमार नेपाल र झलनाथ खनालजस्ता ओलीका प्रतिस्पर्धी ठूलो वैचारिक अलमलका सिकार भए, न ओलीझैं मुखर बनेर सबै नयाँ एजेन्डाको खिल्ली उडाउन सके, न यी मुद्दालाई संस्थागत गराउने इमानदार प्रयत्नमा सहभागी भए । कतै पनि दह्रो उभिन नसकेर, यी असान्दर्भिक भए । परिणामतः एमाले ओलीको एकलौटी अखडा बन्यो । अनि वामपन्थ कसरी बचोस् ?

पुष्पकमल दाहाल पार्टीभित्र चुनाव गराउँदैनन् । माओवादी केन्द्रको महाधिवेशन भन्नु अर्थहीन र स्पन्दनहीन कर्मकाण्ड मात्र हुन्छ । योभन्दा विद्रूप सत्य अर्को छ, पार्टी नेतृत्वका सारा असफलता र वैचारिक निम्छरोपनलाई हाँकका साथ चुनौती दिने कोही पनि छैन त्यस पार्टीमा । दाहालको मालिक्याइँको विकल्प सोच्ने काम नगर्नु नै माओवादी बनिरहनु हो भन्ने ‘सत्य’ त्यस पार्टीमा सर्वस्वीकार्य छ । माओवादी केन्द्रका नेता–कार्यकर्ताको सबैभन्दा ठूलो सफलता नै दाहाल निवासमा सहज पहुँच पाउनु, उनलाई भनसुन गरेर आफू र आफ्ना वरपरका मान्छेका काम सुल्झाउनु हो । वैचारिकता, मुद्दा र कार्यक्रमका आडमा संगठन परिचालित गर्नु र बलियो बनाउनु पार्टीको मुख्य काम हुन छोडेको वर्षौं भइसक्यो । विगतमा आफैंले उठाएका एजेन्डाका मर्म निमोठ्नु अहिलेका माओवादीलाई सबैभन्दा ज्यादा स्वाद लाग्ने अर्को उपक्रम हो ।

माओवादी केन्द्रमा कहिलेकाहीँ गुटहरू देखा नपर्ने होइनन् । जस्तो— जनार्दन गुट र वर्षमान गुटको घर्षण बेलाबेला सतहमा छाउँछ । यी दुई समूह वैचारिक समूह भने होइनन् । दुई गुट संगठन सञ्चालनका ढाँचा र वैचारिकता अद्यावधिक गराउने उपक्रममा कहिल्यै लाग्दैनन् । आफ्ना समर्थकलाई नयाँ समयका नयाँ चुनौतीबारे अध्ययन गर्न, सुझबुझ बलियो बनाउन र सोही अनुसार परिचालित तुल्याउन पनि यिनले कुनै ठोस कदम चाल्दैनन् । बरु, दाहालसँगको पहुँच र उनलाई आफूअनुकूल निर्णय गराउन सक्ने ल्याकतका आधारमा कुन गुट बलियो भन्ने निर्क्योल हुने गर्छ । कहिले एउटा गुट दाहालनिकट मानिन्छ, कहिले अर्को । तर, यी गुटमा जेजस्ता परिवर्तन आए पनि, दाहाल भने सधैं पार्टीका निर्णायक रहिरहन्छन् । गुटहरू भए पनि पार्टीका सबैजसो कमिटी दाहालका सजिला हन्बेर्ना हुन्, चाहेका बेला प्रयोग हुने नत्र निष्क्रिय रहने । भ्रातृ संगठनको हालत पनि करिब उस्तै हो ।

वैचारिक, कार्यक्रमिक र सांगठनिक विमर्श कहिल्यै नगर्ने नेता र कार्यकर्ताको पंक्तिले के गर्छ ? यथास्थिति कायम राख्न दलाली र दोहनमा सहभागी हुन्छ, आफ्ना नेताको चाकडीमा लिप्त रहन्छ । माओवादी केन्द्रमा बाँकी रहेका करिब सबै नेता–कार्यकर्ताको मुख्य उद्यम यति नै हो । यसभन्दा फरक काम गर्न र सोच्न खोजिरहेका कोही भए, तिनले आफ्नो मतलाई प्रभावकारी बनाउन केही गरेका छैनन् । कहिलेकाहीँ अखबारका अन्तर्वार्ता र युट्युबका नीरस पर्दामा ती उत्रिन्छन् र यसै बिलाउँछन् । सम्भवतः हिजो पार्टी बदल्न कोसिस गर्नेहरू असान्दर्भिक भएको र पार्टी त्यागेर नयाँ संगठन निर्माण गर्न खोज्दा असफल भएको देखेका कारण ती सबै मौन बसेका होलान् । त्यसैले, माओवादी केन्द्र हिजो गरिएको सशस्त्र विद्रोहको ब्याज उठाइरहेको पुष्पकमल दाहालको निजी कम्पनी बन्यो भन्नुमा कुनै अत्युक्ति हुँदैन । तब वामपन्थको गुन्जाइस कहाँ ?

नेपालमा यी दुई स्थापत्यभन्दा अलग पनि कम्युनिस्टहरू छन् । ससाना झुन्ड, समूह र पार्टीजस्ता संरचनामा ती विभक्त छन् । यी साना समूहको सबैभन्दा धेरै समय एकअर्कालाई असान्दर्भिक र असफल सिद्ध गर्नमा व्यतीत हुन्छ । कुनै अवसर आइलाग्दा फेसबुकमा विज्ञप्ति जारी गर्छन्, कहिलेकाहीँ अनलाइन पोर्टलमा लेख प्रकाशन गर्छन्, र काठमाडौंकेन्द्रित वैचारिक छलफल आयोजना गर्छन् । यी सबै उपक्रममा पनि आफूजस्तै अर्को समूहको, वा ती समूहसम्बद्ध व्यक्तिको सेखी झार्ने उद्देश्य धेरै मुखरित भएको पाइन्छ । अर्को उस्तै समूह रहे, आफ्नो अस्तित्व अर्थहीन हुन्छ भन्ने भयले गाँज्ने यी साना कम्युनिस्ट समूहमा आबद्ध धेरैले ठूला पार्टीभन्दा आफू बढी शुद्ध र असल कम्युनिस्ट भएको ठान्छन् । यीमध्ये धेरैको बुझाइमा वामपन्थ भनेको कम्युनिस्ट बन्न चढ्ने पहिलो खुड्किलो मात्रै हो । आफूले त्यस्ता धेरै खुड्किला उहिल्यै पार गरेकाले वामपन्थीकरणको सवाल नै असान्दर्भिक भएको यी ठान्छन् ।

यी साना समूहलाई मसिना विषयमा खासै रुचि छैन । शिक्षा र स्वास्थ्यका उठाउन सकिने मसिना तर महत्त्वपूर्ण सवालमा बोलिरहने जाँगर पनि उति छैन । पर्यावरणका पेचिला तर महत्त्वपूर्ण प्रश्नमा गतिविधि गर्न र त्यसैका आधारमा आम मान्छे संगठित तुल्याउन पनि खासै उत्साह देख्दैनन् । ज्ञान उत्पादनमा लागेका ससाना संस्था सबल बनाए बिस्तारै दिगो परिवर्तनमा मद्दत पुग्छ भन्नेमा उत्रो विश्वास पनि छैन । ‘सबैभन्दा महत्त्वपूर्ण र अन्तिम सत्य भनेको सत्ता हो र त्यही हत्याउन सबै ऊर्जा र समय खर्च गर्नु उपयुक्त हुन्छ,’ यिनले दोहोर्‍याइरहने मन्त्र यही हो । हिजै मात्र हिँडेर आएको बाटो किन र कसरी असफल भयो भनेर गहिराइमा बुझ्ने काम पनि यी समूहका लागि खासै महत्त्वको होइन । यी सबै समस्या बुझेका तर यिनै समूहका किनारातिर अलमलिएर हिँडिरहेका केही वामपन्थी युवा भने आशाका फिलिंगा हुन सक्छन् ।

ठूला–साना कम्युनिस्ट पार्टीका किनारामा आजको वामपन्थ ब्युँताउने उत्साह बाँकी भएका मान्छे भए, तिनले अहिले चढ्न सकिने मसिना खुड्किला पहिचान गर्नु उपयुक्त हुन्थ्यो । विभाजनका संकीर्ण र कमजोर पर्खालहरू भत्काएर संवादको अलि ठूलो ढोका खोल्दा यी समूहभन्दा बाहिर बसेर अनेक पेचिला सवालमा सोचिरहेका थुप्रै युवा सहभागी हुन सक्थे । यस्तो प्रयत्नका लागि शिक्षा, स्वास्थ्य वा पर्यावरणकै विषय गतिलो ढोका बन्न सक्थ्यो । अन्यत्र अहिल्यै सम्भव नभए, कम्तीमा काठमाडौं नै कसरी जिउनलायक सहर बन्छ भन्ने सवालमा ‘वामपन्थी’ पाइला अघि सार्न सकिन्थ्यो । सास फेर्ने स्वस्थ हावा, पिउने स्वस्थ पानी सबैको पहुँचमा भएको सहर बनाउने सवालमा बृहत् वामपन्थी डबली खुल्न सक्थ्यो ।

यस्ता ससाना प्रयत्न नभए त्यही हुन्छ, जे भइरहेको छ । आन्दोलन र विद्रोहको जगमा उदाएका व्यक्ति, समूह, पार्टी र प्रयत्न सबै बेकार हुन् भन्ने भ्र्रम अझै द्रुतगतिमा प्रचारित हुन्छ । सामाजिक र राजनीतिक आन्दोलनले गुमाउन थालेको आम वैधतामा गति थपिन्छ । अत्यन्त गतिशीलतापूर्वक बदलिइरहेको प्रविधिले नेपालजस्तो मुलुकका स्रोत र पहुँचविहीन आम मान्छेलाई सोचेभन्दा छिटै अत्याधुनिक दासमा रूपान्तरण गर्नेछ ।

प्रकाशित : जेष्ठ २६, २०८० ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?