पहिचान आन्दोलनको विस्तार

राष्ट्रिय/पहिचानको आन्दोलनमा समुदायको मिथक तथा इतिहास, रीतिरिवाजबारे चेतना तथा ज्ञान एवं हामी को हौं र अरूसँग कसरी फरक छौं भन्ने भाष्य निर्माण अति महत्त्वपूर्ण हुन्छ ।
प्रा. महेन्द्र लावती

‘कोशी’ नामकरणविरुद्ध उदाएको आन्दोलनले धेरैलाई चकित पारेको छ । किनभने मूलधारे मिडिया र प्राज्ञिक क्षेत्रले नेपालमा आदिवासी जनजातिको आन्दोलन सुस्तायो भनेर भाष्य निर्माण गरेका थिए ।

पहिचान आन्दोलनको विस्तार

सडक आन्दोलनलाई मात्र आधार मानेर निर्माण गरिएको यस भाष्यमा दम थिएन किनकि कुनै पनि आन्दोलन सधैंभरि सडकमा मात्र चर्किरहँदैन चाहे त्यो सत्ता परिवर्तनको आन्दोलन होस् या राष्ट्रिय/पहिचान या सामाजिक आन्दोलन ।

आदिवासी आन्दोलन सेलायो भन्ने एकोहोरो प्रचारले धेरैलाई भ्रममा पारेको थियो । हिक्मत कार्की र उनका सहयोगीहरूले उक्त भाष्यमा विश्वास गरेरै होला, लोकतान्त्रिक सहभागिता, छलफल र विमर्शको प्रक्रियालाई लत्याउँदै, केही सीमित नेताहरूको छलफल र निर्णयका आधारमा षड्यन्त्रपूर्वक हतारहतार प्रदेश १ को ‘कोशी’ नामकरण गरिएको घोषणा गरे । पहिचान (सत्तासीन जातिको पनि पहिचान हुन्छ तर यस लेखमा नेपालमा चलेको प्रचलन अनुसार पहिचान भन्नाले सीमान्तकृत समुदायको सवाल भनेर चर्चा गरिनेछ) को मुद्दा सशक्त रूपमा उचालेर विस्तार भएको माओवादी पनि नराम्रोसँग झुक्कियो र नेतृत्व सत्ता सौदाबाजीमा पहिचानविरोधी नामकरण कार्यमा संलग्न भयो । कोशी नामकरणका नायकहरूले स्याबासीको आकांक्षा राखेका थिए होलान् तर यत्र तत्र सर्वत्रबाट विरोध झेलिरहेका छन् ।

विस्तारित पहिचान आन्दोलनको छनक

कोशी नामकरणविरुद्धको आन्दोलनका गतिविधिहरू सरसर्ती हेर्दा पहिलाको दाँजोमा पहिचानको आन्दोलन धेरै विस्तार भएको प्रस्ट हुन्छ । एक, यो स्वतःस्फूर्त आन्दोलन हो । अगाडिका आन्दोलनहरूमा भन्दा धेरै व्यक्ति आफ से आफ सरिक भएका छन् । आन्दोलनको नेतृत्व र परिचालनमा राष्ट्रिय मान्यता पाएका दलहरूको भूमिका छैन वा न्यून नै देखिन्छ तर विभिन्न दलमा आबद्ध व्यक्तिहरू गाउँसहरमा सक्रियताका साथ सहभागी भएका छन् ।

दुई, अगाडिका पहिचान आन्दोलनहरूमा विरोध प्रदर्शनजस्ता गतिविधिहरू प्रायः तराईका सहरबजारमा देखिन्थे तर यसपालि पहाडका गाउँबजारमा पनि सशक्त रूपमा देखिएका छन्, चाहे ती हिक्मत कार्की, केपी ओली या इन्द्र आङ्बोका भ्रमणविरुद्ध होऊन् या अन्य गतिविधि ।

तीन, गतिविधिहरू पहिलेभन्दा चरम खालका छन् । यसपालि प्रदेश सांसदहरूलाई जातीय संगठन र अन्यले खुलेरै ‘वंश गद्दार’ घोषणा गरे ।

कसरी विस्तारित भयो ?

कुनै पनि आन्दोलन सफल हुन समुदाय र विभेदबारे जनचेतना, संरचना/संगठन निर्माण, राजनीतिक अवसर आदि चाहिन्छ भनिन्छ । पहिचान आन्दोलनका सन्दर्भमा पनि राजधानी र बाहिरसमेत यस्ता पक्षको निर्माण व्यापक रूपले भइरहेको थियो तर काठमाडौंकेन्द्रित एकलजातीय धारणा निर्माताहरूले देखेनन्, देख्न चाहेनन् वा हेर्ने सामर्थ्य राखेनन् ।

सबै जातिका पहिचान आन्दोलनको पूर्वाधार विस्तारबारे यहाँ चर्चा गर्न सम्भव छैन । मलाई लिम्बूहरूबारे केही जानकारी भएकाले यस लेखमा उनीहरूमा फैलिँदै गएको जनचेतना तथा संरचना निर्माण र विस्तारका विषयमा चर्चा गर्नेछु, जसले अहिले कोशी नामकरणविरुद्धको आन्दोलन उठाउनमा उल्लेखनीय भूमिका खेले ।

एक, करिब चार–पाँच वर्ष अगाडिदेखि किरात याक्थुङ चुम्लुङ (कियाचु) र अन्य अभियन्ताको सक्रियतामा लिम्बूहरूका थरगत संगठनहरू भटाभट निर्माण हुन थाले । त्यस्ता ११५ वटा थरगत संगठनको भेला २०७८ सालमा तेह्रथुमको छकलिटारमा भएको थियो । थरगत संगठनहरूका सहजकर्ता राम मादेनका अनुसार, करिब अढाई सय थरगत संगठनहरू सदस्यहरूलाई मर्दापर्दा सहयोग गर्न र वंशावली लेख्नमा सक्रिय छन् ।

सामाजिक आन्दोलन अध्ययनकर्ताहरू संरचना निर्माणलाई आन्दोलनको महत्त्वपूर्ण पूर्वाधार सम्झिन्छन् किनकि यसमै टेकेर पछि आन्दोलन सफल हुने गर्छ । अमेरिकामा अश्वेतहरूको नागरिक आन्दोलनले चर्चलाई सदस्यहरूमाझ चेतना फैलाउन र परिचालन गर्न राम्रोसँग प्रयोग गरेको थियो किनकि ठूलो अश्वेत जनसंख्या चर्च जान्छ ।

जनतासँग नजिक रहेका र प्रत्यक्ष सरोकार राख्ने संगठनहरूले बढी जनचेतना फैलाउन र जनता परिचालित गर्न सक्छन् । कियाचुजस्ता आम जातीय सामुदायिक संगठनभन्दा थरगत संगठन सदस्यहरूसँग नजिक हुन्छन् र समग्रमा तिनमा बढी सदस्यहरू सक्रिय हुन्छन् किनकि ती ससाना उपसमुदायबीच सदस्यहरूलाई प्रत्यक्ष सरोकार हुने सवालमा सक्रिय रहन्छन् । थरगत संगठनहरूले प्रतीकात्मक महत्त्व राख्छन्, यी मर्दापर्दा सदस्यहरूलाइ चाहिने संगठन हुन् । जनसेवा कम गर्ने कमजोर राज्य भएको देशमा यस्ता संगठनहरूले आम सदस्यको जिन्दगीमा आवश्यक सेवा पुर्‍ाएर महत्त्वपूर्ण भूमिका खेल्ने गरेका छन् ।

पहिचानजन्य समुदायको हकहितमा लागेको संगठनमा सक्रिय व्यक्तिहरूबीच आफ्नो समुदायको पहिचानका सवालहरू चर्चामा आउने नै भए । त्यसैले थरगत संगठनहरूले जनचेतना तल्लो स्तरसम्म विस्तार गर्ने नै भए । कियाचु एक्लैले भन्दा यस्ता संगठनहरूले संयुक्त रूपमा आह्वान गरेका खण्डमा धेरै लिम्बू सडकमा निस्किन सक्छन् किनकि आफन्तहरूको आह्वान नकार्न असहज हुन्छ र पर्दावर्दा सहयोग नपाइएला कि भन्ने डर पनि हुन्छ । वर्तमान आन्दोलनको समर्थनमा दर्जनौं थरगत संगठनले वक्तव्य निकालिसकेका छन् ।

दुई, राष्ट्र निर्माण वा दर्बिलो पहिचान निर्माणका लागि आवश्यक पर्ने सन्दर्भ सामग्रीहरू तयार पार्ने संगठनहरू पनि लिम्बू समुदायमा भटाभट अस्तित्वमा आइरहेका छन् । पान्थर जिल्लाको उदाहरण लिऔं । डिसेम्बर २०२१ मा सदरमुकाम फेदेन पुगेका बेला लिम्बू तथा अन्य जातिका भाषा, इतिहास आदिबारे ८–१० वटा किताब उपहार पाउँदा म छक्क परेको थिएँ । लिम्बू भाषा विकास संस्था, याकथुङ प्रज्ञा प्रतिष्ठान, लिम्बुवान अध्ययन केन्द्र, सांस्कृतिक पुनर्जागरण अभियान आदि फेदेनमा गठन भएका छन् । सदरमुकाममा मात्र होइन, मोफसलमा पनि युक्ना साहित्य (फाल्गुनन्द–२, इम्बुङ) लगायत गठन भएका छन् । यस्ता संगठन पान्थरमा मात्रै छैनन्, अन्य जिल्लामा पनि निर्माण भएका छन् ।

राष्ट्रिय/पहिचानको आन्दोलनमा समुदायको मिथक तथा इतिहास (वस्तुगत हुन जरुरत छैन), रीतिरिवाजबारे चेतना तथा ज्ञान एवं हामी को हौं र अरूसँग कसरी फरक छौं भन्ने भाष्य निर्माण अति महत्त्वपूर्ण हुन्छ । साथै समुदायहरूमा आफू विभेदमा परेको वा आफ्नो समुदाय पाउनुपर्ने अधिकार, सुविधा वा विशेषाधिकार आदिबाट वञ्चित रहेको भावनाको व्यापकताले पनि पहिचानलाई दर्बिलो बनाउँछ ।

दर्बिलो पहिचान बनाउन चाहिने सन्दर्भ सामग्री निर्माणका लागि लेखपढ, अनुसन्धान तथा विचार आदि प्रस्तुत र प्रचार गर्ने शिक्षित समूह चाहिन्छ र आफूलाई सहज हुने संरचना भए उनीहरू बढी प्रभावकारी बन्न सक्छन् । माथिका संगठनहरूले छलफल, विचार विकास, अनुसन्धान, लेखरचना प्रकाशन तथा प्रचारप्रसारमा उल्लेखनीय सहयोग पुर्‍याएका छन् । व्यक्तिगत तहमा पनि अन्य अध्येताबाट भाषा, लिपि, संस्कृति आदिमा अध्ययन–अनुसन्धान भइरहेका छन् ।

मानिसले उस्तै धारणा बोकेका लेखरचना पढेमा ती धारणासँग सहानुभूति राख्नेहरू आपसमा नजिकिँदै जान्छन् । समुदायबारे लेखरचना पढेपछि हामी को हौं भन्ने जनचेतना फैलिन्छ । आफ्नो समुदायका समस्या र आकांक्षाबारे बोध हुन्छ । त्यसले समुदायलाई कसिलो गरी बाँध्छ र दर्बिलो पहिचान/राष्ट्र (स्वयं परिभाषित सामाजिक–राजनीतिक समुदाय) निर्माण हुन्छ ।

तीन, पेसागत तथा लैंगिक तथा उमेर समूहका नयाँ संगठनहरू निर्माण भएका छन् । किरात याक्थुङ चुम्लुङ, याक्थुङ मुन्चइत चोक सयङ, लिम्बू विद्यार्थी मञ्च, लिम्बू पत्रकार संघ आदि केही दशकअगाडि गठन भएका थिए भने गत दशकमा फक्तालुङ सयङ (कलाकार), याक्थुङ युवा मञ्च, याक्थुङ लयर्स एसोसिएसन आदि अस्तित्वमा आएका छन् । यी संगठनहरूले विभिन्न पेसाका, लिंग र उमेरका लिम्बूहरूको सहभागिता मात्र बढाएका छैनन्, अन्य सहकर्मीलाइ आफ्नो जातिको हित र उत्थानका लागि परिचालित गर्न सहयोग पुर्‍याएका छन् । आन्दोलन आदिमा आफ्नो विज्ञताबाट महत्त्वपूर्ण र विशेष भूमिका निभाएका छन् ।

चार, विभिन्न धार निर्माण । राष्ट्रियताका प्रखर प्राज्ञ एन्थोनी स्मिथले राष्ट्रिय/पहिचानको आन्दोलनमा समुदायलाइ कसरी परिभाषा गर्ने, कसरी अगाडि बढाउने आदि सवालमा विभिन्न धारबीच प्रतिस्पर्धा हुन्छ भनेका छन् । लिम्बूहरूमा पनि यो देखिन्छ । सांगठनिक धर्म चाहिनेहरूका लागि किरात धर्म छ । यसको संगठन निर्माण भएको केही दशक भइसक्यो । किरात धर्मावलम्बीहरूले विभिन्न भ्रातृ संगठन निर्माण गरेका छन् । कोशी नामकरणविरुद्ध किरात धर्मावलम्बीहरू धेरै सक्रिय छन् ।

किरात धर्मले रीतितिथिको सवालमा हिन्दुकरण गर्‍यो भन्दै पछिल्लो समय मौलिक संस्कृति प्रवर्द्धन गर्नुपर्छ भनी युमा साम्यो महासभा नामको संगठन निर्माण गरेर सक्रिय हुन थालेका छन्, अर्का थरी लिम्बूहरू । यसले मौलिक रीतिथितिलाई बढी महत्त्व दिने लिम्बूहरूलाई एकजुट बनाउन सुरु गरेको छ । नयाँ संगठन भएको र अन्य विभिन्न कारणले यो संगठन अझै औपचारिक रूपले कोशी नामकरणविरुद्धको आन्दोलनमा सक्रिय नभएको भए पनि सदस्यहरू भने विभिन्न तरिकाले सक्रिय छन् । युमा साम्योको गतिविधिले जनचेतना फैलाएको छ, नयाँ संरचना निर्माण भएको छ र आउने आन्दोलनमा औपचारिक रूपमा सहभागी भए झन् ऊर्जा दिने सम्भावना छ ।

पछिल्लो समयका संगठन र संरचनाहरूबारे माथि चर्चा गरियो, जसबाट प्रस्ट रूपमा पहिचान आन्दोलनका थप पूर्वाधार निर्माण भइरहेको देखिन्छ । तिनले पहिचान आन्दोलनलाई थप विस्तार गर्नमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । धेरैले कोशी नामकरणविरुद्धको आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुराएका छन् ।

आन्दोलनको लहर ?

अन्य जाति/राष्ट्रमा पनि नयाँ संगठन तथा संरचना निर्माण र विस्तार भएको छ । तिनले जनचेतना फैलाउने, आन्दोलनमा सहयोग पुर्‍याउने या आन्दोलनका लागि पूर्वाधारहरू भटाभट निर्माण गर्ने गरिरहेका छन् । तर मिडिया, प्राज्ञिक क्षेत्र र तिनका सहयोगीहरू आन्दोलनका विभिन्न पक्षलाई नहेरी अर्धतथ्यका आधारमा पहिचानको आन्दोलन सेलायो भन्ने एकलजातीय भाष्य निर्माण गर्न सफल भए । उक्त भाष्यले केहीलाई झुक्यायो तर पहिचानवादीहरू न्याय र समानताका लागि कटिबद्ध भएर लागिरहे । त्यसको प्रतिफल विभिन्न समयकालमा देखियो— हिजो मधेशी आन्दोलनका रूपमा विस्फोट भयो, पश्चिमका थारूहरूको चुनावी विजयका रूपमा देखियो र अहिले प्रदेश १ मा आन्दोलन भइरहेको छ ।

शासकको गलत भाष्यले न्याय र समानताको लडाइँलाई कहिल्यै लामो समय रोक्न सकेको छैन । न्याय र समानता नपाएमा अन्य क्षेत्रका जाति र समुदायहरू, जो आवश्यक संरचनाको निर्माण र जनचेतनाको विस्तारमा लागेका छन्, उचित मौकामा आन्दोलित हुने सम्भावना धेरै छ ।

प्रकाशित : जेष्ठ २६, २०८० ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?