नक्कलीलाई सक्कलीको सुझाव

नेपालका नेता हौं भन्नेहरू, तपाईंहरू सक्नुहुन्छ भने भुटानी शरणार्थीहरूको दीर्घकालीन समाधानका खातिर खुलेर डट्नोस्, सक्नुहुन्न भने पनि कम से कम नक्कली शरणार्थी उत्पादन गरेर मानवतस्करीमा संलग्न भई आफ्नै सन्ततिको इज्जत र हाम्रो भावना र प्रतिष्ठामा खेलबाड गर्न त छाडिदिनोस् !
विद्यापति मिश्र

नक्कली भुटानी शरणार्थी प्रकरणले सामाजिक सञ्जाल मात्र नभएर नेपालको राजनीतिलाई नै रनक्क तताएको छ । ठूला दलका प्रभावशाली नेताहरूसमेत भटाभट पक्राउ पर्न थालेपछि गठबन्धन सरकारकै भविष्य जोखिममा पर्नेसम्मको अड्कलबाजी सुरु भएको छ । यो संगठित अपराध–अनुसन्धानको तीर नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्षस्थ नेताहरूतर्फ समेत सोझिन थालेको छ ।

नक्कलीलाई सक्कलीको सुझाव

अनुसन्धानको नतिजा त देखिँदै जाला तर एउटा सार्वभौम देशका नागरिक जानीबुझी नक्कली शरणार्थी बन्न खोज्नु नेपालको राष्ट्रिय लज्जाको विषय भने भइसकेको छ । यसले नेपाल र नेपाली जनताप्रति शुभेच्छा राख्ने हामीजस्ता सच्चा भुटानीहरूलाई नै विस्मित तुल्याइदिएको छ । यस प्रकरणले सम्पूर्ण नेपालीलाई किमार्थ प्रतिनिधित्व गर्दैन तर पनि यस लज्जाको भारी बोक्न सबै नेपाली अभिशप्त छन् ।

शरणार्थीका नाममा अरू घुसपैठ गरेर सच्चा शरणार्थीहरूको जीवनमा प्रत्यक्ष असर पार्ने यस्तो घटना विश्वमै नेपालमा पहिलो पटक देखिएको भने होइन । सन् २००३ मा अमेरिकाले इराकमा हमला गरेपछि लाखौं इराकी शरणार्थी बन्न पुगे । आक्रमणसँगै अमेरिकाले आफूलाई सहयोग पुर्‍याउने इराकीहरूलाई धमाधम शरणार्थीका रूपमा अमेरिकामा पुनर्वास गराउने काम थाल्यो । २०२० को डिसेम्बरसम्म आइपुग्दा ८० हजारभन्दा बढी इराकीलाई शरणार्थीको दर्जामा अमेरिकाले पुनःस्थापना गरायो । भुटानी शरणार्थीपछिको यो दोस्रो ठूलो अमेरिकी शरणार्थी पुनर्वास कार्यक्रम थियो । पछि अमेरिकाले २०२१ को जनवरी २२ देखि लागू हुने गरी इराकी शरणार्थीहरूको पुनर्वास कार्यक्रमलाई केही समयका लागि स्थगन गर्‍यो । त्यसका कारक थिए— २०१६ देखि २०१९ को अन्तरालमा पुनर्वास प्रक्रियासँग लक्षित विभिन्न घुसपैठ, छलकपट तथा भ्रष्टाचार ।

अमेरिकी प्रणालीलाई नै फितलो साबित तुल्याउने त्यस्ता गतिविधिको अनुसन्धान तथा निरूपण गर्न लगभग एक वर्ष लाग्यो । २०२२ को मार्चदेखि यो कार्यक्रम पुनःसञ्चालन गरे पनि अमेरिकाले आवेदकमध्ये करिब ४० हजार इराकी शरणार्थीको सम्पूर्ण प्रक्रिया रोकेर पुनर्विचार गर्नुपर्ने आवश्यकता प्रकट गर्‍यो । अमेरिकी सरकारी निकायले खुलस्त नभने पनि पुनर्वास कार्यक्रममा सोधिने प्रश्न तथा व्यक्तिगत सुरक्षाजाँचका नतिजाजस्ता संवेदनशील सामग्रीहरू विभिन्न गिरोहले हात पारेर गैरशरणार्थीलाई दर्ता गराइएकाले छानबिन गर्नुपरेको कुरा अमेरिकी सञ्चारमाध्यमहरूले सम्प्रेषण गरे । पुनर्वासमा गइसकेका केही इराकी पनि उक्त अनुसन्धानको दायरामा तानिए । छलकपट गरेर आएका नक्कली शरणार्थीहरू अमेरिकी नागरिक बनेर यहाँ रमाइराखेका हुन सक्छन् । यहाँ त आफ्नो नाम मात्र हैन, थरसम्म परिवर्तन गर्न सकिन्छ । तर, दैव लागेको दिन त्यस्ता व्यक्तिका नागरिकता र पासपोर्ट खोसिनेछन् । त्यसपछि निन्याउरो अनुहार लगाएर आफ्नै देशमा सुपुर्दगी भइने कुराको हेक्का राख्न जरुरी छ ।

पुनर्वासको हूलमूलमा नक्कली शरणार्थी बनेर सम्पन्न मुलुकमा जान खोज्नेहरूको लहर पाइन्छ । अफ्रिकी मुलुक केन्याबाट नक्कली सोमाली शरणार्थी बनेर अमेरिका र युरोपेली मुलुकहरूमा पुनर्वासमा गएका उदाहरण धेरै पाइन्छन् । सीएनएनले सन् २०१९ मा गरेको एउटा खोजी पत्रकारिताको रिपोर्ट अनुसार, १९९० को दशकदेखि २०१६ सम्ममा धेरै केन्यालीले नक्कली सोमाली शरणार्थी बनेर यो सुविधा लिए । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) ले पनि केन्याका सोमाली शरणार्थी शिविरहरूमा ४० हजारभन्दा बढी केन्याली नक्कली शरणार्थी बनेर सरकारी डेटाबेसमा समावेश भएको पुष्टि गरेको छ ।

शरणार्थी समस्याबाट दिक्क भएको केन्याले सन् २०१३ देखि सोमाली शरणार्थीहरूलाई उत्तरपूर्वी छिमेकी सोमालिया नै फर्काउने अभियान थालेपछि नक्कली शरणार्थी बनेका केन्यालीहरूमा भुइँचालो गयो । कारण थियो— शरणार्थीमा दर्ता भइसकेकाले उनीहरूको केन्यामा बस्ने आधार बाँकी थिएन भने सोमालियाको पहिचान थिएन । फलतः केन्याबाट जबरजस्ती सोमालिया फर्काइएका सयौं नक्कली शरणार्थीहरू सोमालिया पुगेपछि वास्तवमै शरणार्थी बने ।

यो सन्दर्भ अहिले सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि आकर्षित हुन्छ । तीन दशकअघि मातृभूमि भुटानबाट सर्वस्व लुटिएर लखेटिएका हामी नेपालीभाषी भुटानीलाई झापा र मोरङमा बास दिएर नेपाल र नेपाली जनताले लगाएको गुनको ऋण हामी कहिल्यै तिर्न सक्दैनौं । हाम्रो आगमनसँगै भुटानी शरणार्थी समस्या आइलागेपछि नेपालले भुटानसँग विभिन्न चरणमा वार्ता पनि नगरेको होइन, तर ती परिणामविहीन भए । अन्ततः तेस्रो मुलुक पुनर्वास प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायसँग सहमति जनाउनु र सहजीकरण गर्नुशिवाय नेपालले केही गर्न सकेन । एमालेका वर्तमान अध्यक्ष खड्गप्रसाद शर्मा ओलीदेखि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासम्म कसैले पनि भुटानी शरणार्थी मामिलामा माखो मारेनन् ।

भुटानसँग शरणार्थी मामिलामा नेपाल निकै कमजोर रूपमा पेश भयो । आफ्ना लागि चुनावी खर्चसमेत भुटानी तानाशाहबाट लिएर कोइरालाको पार्टी कांग्रेस भुटानी सत्ताको ऋणी नै बनिसकेको थियो । भुटानी प्रजातान्त्रिक नेता टेकनाथ रिजाललाई उनका सहकर्मीहरू जोगेन गजमेर र सुशील पोखरेलसहित सन् १९८९ मा नेपालबाट पाता कसेर भुटानको जिम्मा लगाउने पञ्चायती मरीचमान सिंह र प्रजातान्त्रिक भनाउँदा कोइरालाबीचको अन्तर समाप्त भएको थियो ।

अरूका तुलनामा एमाले अध्यक्ष ओली भुटानी शरणार्थी समस्यालाई निकै नजिकबाट चिनेका नेता मानिन्छन् । उनले पनि केही लछारपाटो लगाएनन् । बरु अहिले उनको ध्यान नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्नै पार्टीका नव–शीर्षस्थका साथै स्वयंको प्रतिरक्षामा केन्द्रित भएको देखिन्छ । उनै ओली अहिले ४०० नेपालीहरू नक्कली भुटानी बनेर अमेरिका छिरेको सूचना निर्लज्जतापूर्वक ओकल्दै सक्कली भुटानीहरूमाथि समेत आशंका खडा गर्दै छन् ।

वास्तवमा तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्राष्ट्रिय रूपमा प्रयोग गरिएको शरणार्थी समस्या समाधानको अस्थायी विकल्प मात्र हो । दीर्घकालीन समाधान त ससम्मान स्वदेशफिर्ती नै हो । अहिले पनि हजारौं भुटानी शरणार्थी पूर्वी नेपालका शिविरमा त्यस्तै दीर्घकालीन समाधानको आशामा बसेका छन् । तेस्रो देश पुनर्वास अन्तर्गत पश्चिमा मुलुकमा पुगेका १ लाख १३ हजारभन्दा बढी भुटानीहरूमध्ये अधिकांशले ती देशको नागरिकता लिइसकेका छन् । उनीहरू नेपालमा रहँदाको तुलनामा धेरै सुखी छन् । तर, भौतिक सुखले आफ्नो माटोप्रतिको मायालाई विस्थापित गर्न सक्दो रहेनछ ।

नेपालका शिविर वा तेस्रो मुलुकमा जन्मिएका र भुटानबाट निस्कँदाका कलिला मस्तिष्कहरूको सवाल फरक–फरक होला तर भुटानकै माटोमा हुर्केका मजस्ता हजारौं भुटानीको मन अर्कै छ । कुनै दिन भुटानमा परिवर्तन आयो र अन्तर्राष्ट्रले निर्वासित भुटानीहरू पनि भुटान फर्कंदा कुनै खतरा नरहेको घोषणा गर्‍यो भने आफ्नो देशप्रतिको माया कस्तो हुन्छ भन्ने हामीले साबित गर्नेछौ । के त्यतिखेर नक्कली भुटानी बनेका नेपाली साथीहरू पनि हामीसँगै भुटान जान तयार हुनुहुन्छ ?

शरणार्थी बनेर बाँच्नुको कहर कहिनसक्नुको छ । यो बुझ्न सक्कली शरणार्थी नै बन्नुपर्छ । शिविरमा रहँदा हामीले भुटानका ‘भगौटे’ र ‘मगन्ते भोटाङे’ को पहिचान भोग्यौं । नजिकैका बस्तीमा एउटा गाई बाँध्न बनाएको गोठभन्दा सानो बाँसको छाप्रोमा वर्षौं बितायौं । एकै छिन आँखा चिम्म गरेर कल्पना गर्नोस् त— तपाईं एउटा गाईको गोठजत्रो छाप्रोमा सपरिवार कति दिन बस्न सक्नुहुन्छ ? बस्दै जाँदा चार जनाको परिवार आठ जनाको भयो । तर, नेपाल सरकारले सुरुमा दिएको छाप्रोको क्षेत्रफलमा कहिल्यै पुनर्विचार गरेन । हामी भाग्यलाई दोषी मान्दै खुम्चिइरह्यौं । गृह मन्त्रालयको मातहत शिविरमा कार्यरत शरणार्थी समन्वय एकाइका हाकिमले शरणार्थीलाई ‘तपाईं’ भनेको विरलै सुनियो । हाम्रा लागि ‘तँ’ नै पेवा भएको थियो ।

पुनर्वास प्रक्रिया सुरु भएलगत्तै सरकारी हाकिमहरूको रवैया फेरियो । निःशुल्क कामका लागि पनि खुलेआम पैसा माग्न थाले । एकाइका हाकिमको व्यवहार त्यहाँ खटिएका यूएनएचसीआरका नेपाली कर्मचारीलाई पनि थाहा हुन्थ्यो । तर, तिनले न कुनै निगरानी बढाए, न त घूस लिने प्रवृत्तिलाई नै निरुत्साहित गरेÙ फगत मूकदर्शक भए । शरणार्थीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका सदस्यहरूबाटै कतिपय भुटानी नारीहरू बलात्कारको सिकार भए, संरक्षक नै भक्षक हुँदा पनि कसैको केही जोर चलेन ।

नेपाल सरकार र यूएनएचसीआरले शरणार्थीको पुनः दर्ता गरेपछि अधिकांश शरणार्थीले परिचयपत्र पायौं । त्यति बेलाको रमाइलो कुरा, भुटानबारे अत्तोपत्तो नै नभएका तर शरणार्थी शिविरका छाप्रा नम्बरचाहिँ कण्ठ गरेका ‘म पनि भुटानको हुँ’ भन्नेहरू पनि बेलाबखत टुप्लुक्किन थाले । कति भुटानीले त झ्यालखानामा बसेका वा शिविरभित्रै झुन्डिएर मरेका भुटानीहरू पनि नयाँ चेहरामा देखेको बताउँथे । तर, हामी किंकर्तव्यविमूढ थियौं । उजुर गर्ने ठाउँ थिएन, कसैले बोकेको आधिकारिक शरणार्थी परिचयपत्रप्रति प्रश्न उठाउने आधार पनि भएन । छिमेकीको छोरो हराएको वर्षौं भएको जानकारी शिविरमा धेरैलाई हुन्थ्यो । त्यस्तो युवाको नाम, थर राखेर शरणार्थी परिचयपत्रमा अर्काकै फोटो टाँसिइसकेको हुन्थ्यो । त्यो कसरी सम्भव भयो ?

कति त झापाको दमकस्थित यूएनएचसीआरको शाखा कार्यालयमा हुने पटक–पटकका अन्तर्वार्तामा पनि भेटिन्थे । कसैले झोस–पोल गरिदेलान् कि भनेर उनीहरू चनाखा देखिन्थे । सक्कली शरणार्थीको अनुहारमा फेरि पराईको माटोमा धकेलिनुपर्दाको विषाद झल्किन्थ्यो तर ती नक्कलीहरूमा उत्साह देखिन्थ्यो । सक्कली र नक्कली भुटानी शरणार्थीहरू एउटै जहाज चढेर पश्चिम दिशामा उडे । परिवारको सम्पर्कबाट बाहिर रहेका कतिपय युवाले शिविरमा फर्केपछि चाल पाए— उनीहरूका नाममा त अरू नै पुनर्वासमा गइसकेछन् । अहिले पनि त्यस्ता सक्कली शरणार्थीहरू परिचयका लागि शिविरमा लडिरहेका छन् । कुनै दिन भुटान फर्किने अवसर आयो भने ती परिचयविहीन भुटानी शरणार्थीको हालत के होला ?

वास्तवमा शरणार्थी सम्बन्धी कानुनको अभावमा नेपालले भुटानी शरणार्थीलाई नचाहेर पनि धेरै भेदभाव गर्‍यो । शिविरभित्र जंगली हात्तीको आक्रमणबाट केही शरणार्थीले ज्यान गुमाए । सुक्खायाममा भीषण आगलागीमा परेर तथा वर्षामा भाँचिएको रूखले किचेर पनि शरणार्थीहरूको मृत्यु भयो । विपत्मा परेका परिवारले सरकारी राहत पाएनन् । शरणार्थी परिचयपत्र लिनुअघि त मोबाइलको सिमकार्ड लिन पनि कोही स्थानीय नेपालीको सहयोग लिनुपर्थ्यो । बैंक खाता, सवारीचालक अनुमतिपत्र लगायतका अति आवश्यक कागजातबाट पनि शरणार्थी वञ्चित थिए । प्रतिस्पर्धामा नामै निकाले पनि भुटानी शरणार्थी भएकै कारण शान्तिराम पौड्यालले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्न पाएनन् । स्थानीय मजदुरसरह काम गर्ने शरणार्थी मजदुर आधा ज्यालामा चित्त बुझाउन बाध्य भए । हामीजस्ता शरणार्थी पत्रकारलाई नेपालको सूचना विभागले पत्रकारको मान्यता नै दिएन ।

पुनर्वास प्रक्रिया सुरु भएपछि भने शरणार्थीप्रतिको नेपालको व्यवहारमा एक्कासि परिवर्तन देखिन थाल्यो । शरणार्थीलक्षित कुनै नयाँ कानुन बनेको त थिएन, तैपनि शरणार्थीलाई सिमकार्ड, सवारीचालक अनुमतिपत्र र बैंक खाता खोल्न दिन थालियो । ‘भगौटे’ तथा ‘मगन्ते भोटाङे’ को आक्षेपमा एक्कासि कमी आयो । नेपालीहरूबाटै वैवाहिक प्रस्ताव आउन थाले । सक्कली शरणार्थीले मात्र यस्ता भेदभावलाई आत्मसात् गर्न सक्छ ।

जुनसुकै बाध्यताले भए पनि आफूखुसी शरणार्थी बन्ने कथित नक्कली भुटानीहरू र जानीबुझी आफ्नै देशका ती नागरिकलाई शरणार्थी बनाउने शक्तिशाली नेपालीहरूको दुस्साहस हेर्नलायक छ । नक्कली शरणार्थी बन्ने वा बनाउनेहरूले सक्कली शरणार्थी बन्नुपर्दाको पीडा थाम्न दुरूह छ । टन्टलापुर घाम र कठ्याङ्ग्रिने जाडोमा कुनै दिन शरणार्थीको छाप्रोमा तीन दशक हैन, तीन रात मात्र बिताएर हेर्नोस्, अनि तपाईंलाई नक्कली र सक्कली शरणार्थीको अन्तरबोध हुन्छ । राष्ट्रसंघले अनुदान दिएको एक हप्ता पनि नपुग्ने खाद्यान्न जोगाउँदै एक महिना पुर्‍याउनोस्, घण्टौं लगाएर पत्थर कोइला सल्काएर चुलो बाल्नोस् र बिजुली बत्तीको अभावमा साँझ पर्नेबित्तिकै जता फर्के पनि बिझाउने बाँसको टाँडमा करङ घोट्दै ओसल्टाउन थाल्नोस्, अनि तपाईंले चाल पाउनुहुन्छ, शरणार्थीको सही पीडा !

अन्त्यमा, अमेरिकामा जुनसुकै देशको नागरिक जसरी आए पनि न हाम्रो भाग खोसिन्छ, न त हामीलाई चासो नै हुन्छ । तर, संवेदनशील अवस्थामा पनि सुन्दर भविष्यको सपना साँचेर सहयोगको अपेक्षासहित बाँचेका नेपालको जनसंख्याभन्दा ठूलो संख्यामा रहेका विश्वभरिका शरणार्थीको भावनामा कसैले पनि खेलबाड गर्न पाइँदैन । नेपालका नेता हौं भन्नेहरू, तपाईंहरू पनि सक्नुहुन्छ भने भुटानी शरणार्थीहरूको दीर्घकालीन समाधानका खातिर खुलेर डट्नोस्, सक्नुहुन्न भने पनि कम से कम नक्कली शरणार्थी उत्पादन गरेर मानवतस्करीमा संलग्न भई आफ्नै सन्ततिको इज्जत र हाम्रो भावना र प्रतिष्ठामा खेलबाड गर्न त छाडिदिनोस् !

[email protected]

भुटान मिडिया सोसाइटी तथा भुटान न्युज सर्भिसमा आबद्ध मिश्र तेस्रो देश पुनर्वास अन्तर्गत सन् २०१३ देखि अमेरिकामा बसोबास गर्छन् ।

प्रकाशित : जेष्ठ २५, २०८० ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्