कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायको अनवरत पर्खाइ

प्रियजनहरू, विश्वविद्यालयभित्रै दिनदहाडै म मारिनुपर्ने अवस्थामा पुगें । हेर्नुस् त नयाँ पिँढीलाई ‘ग्रुम’ गर्ने ठाउँको सुरक्षा ? देशका शक्तिशाली व्यक्ति सुरक्षाको चौघेरामा बस्छन्, विश्वविद्यालयमा गुण्डा पठाउँछन् ।
प्रेम चलाउने

गणतान्त्रिक नेपालको न्याय प्रणालीसँगको मेरो अनुभव दुःखद र विरोधाभासपूर्ण रहिआएको छ । म पहिले र अहिले पनि प्रत्येक क्षण भय र त्रासमा बिताइरहेको छु । तैपनि केही झीनो आशाका साथ न्यायका निम्ति म लागिरहेकै छु । देशको न्यायालयप्रतिको भरोसा टुटाइहाल्न पनि त सक्दिनँ !

न्यायको अनवरत पर्खाइ

मैले अदालतको चक्कर काट्न थालेको तीन वर्ष हुन लाग्यो । तर अहिलेसम्म न्याय पाएको छैन । मेरो शारीरिक–मानसिक स्थिति ठीक छैन । अदालतबाट न्याय पाइन्छ भनेर त्यसैको पछि लागें । जिल्ला अदालत, पाटन उच्च अदालत, सर्वोच्च अदालत, मानव अधिकार आयोग र न्याय परिषद् — म कहाँ मात्रै भौंतारिइनँ ? मेरो धेरै ऊर्जाशील समय काठमाडौं जिल्ला अदालतमा नष्ट भयो । अपराधीलाई सर्वप्रथम जिल्लाको थुनछेक आदेशबाट सजिलै धरौटीमा छुटाइयो । जिल्ला अदालतले अहिलेसम्म पैंतीसभन्दा बढी पटक पेसी तोक्यो, तर सबै स्थगित भए । मेरो पेसी कि विद्यामा बसेका कि त सरुवा भएका न्यायाधीशकोमा पर्‍यो, केही गरी सुनुवाइ हुने भइहाल्यो भने पालो आएन । मेरोभन्दा तीन वर्ष कान्छो मुद्दाको पालो आउँदा पनि मेरोचाहिँ आएन । यस्तो किन भनी सोध्दा सिस्टमतिर औंल्याइयो । अदालतको काम त पीडितलाई गलाउने र हैरान पार्ने मात्रै रहेछ । म बैसाखीमा लडखडाएर हिँडेको न्यायालयले देखेन । मेरो चीत्कार कसैले सुनेन । मेरो घाउ कसैलाई दुखेन ।

मैले पढाउने विभागमा लगाइएको ताला खुल्नुपर्छ भन्नु नै मेरो गल्ती थियो ! ताला लगाइएको दुई महिना भइसकेको थियो । संसारको कुनचाहिँ विद्यार्थीले आफू पढ्ने विश्वविद्यालयमा यसरी महिनौं, वर्षौं ताला लगाउन सक्छ ? ताला लगाउनेहरू विद्यार्थी थिएनन् । आपराधिक गिरोहको त्यो खेती थियो । उनीहरूको मक्सद विश्वविद्यालयको दोहन थियो । ताला भय र आतंकको औजार थियो । सम्बन्धन, नियुक्ति, सरुवा, बढुवा र भागबन्डा लागू गर्ने औजार । त्यहाँ मेरिट, वरिष्ठता कतै पर्थेन । कुनै घटनाका माध्यमले उनीहरू तालाबन्दीको विरोधमा मुखर हुनेहरूका मुख थुन्न चाहन्थे ताकि धन्दा सजिलै चलिरहोस् । हुन पनि धरौटीमा छुटेपछि उनीहरूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) ३४२ दिनसम्म बन्द गरिरहे । तर यहाँ कोही बोलेन । त्रिविमा एक किसिमको ‘ओमेर्टा साइलेन्स’ व्याप्त भयो । त्यस गिरोहले त्रिविलाई बन्धक बनायो ।

त्यस गिरोहले गरेको आक्रमणकै कारण मैले दुईदुई पटक सर्जरीबाट गुज्रिनुपर्‍यो । खरानीबाट उठेर म अहिले मुस्किलले हिँड्न सक्ने भएको छु । डाक्टरले तेस्रो सर्जरी पनि गर्नुपर्ने र त्यो जटिल हुने बताएका छन् । सर्जरी गरेको ठाउँमा बाहेक अन्य चोटका कारणसमेत मलाई जति बेला जे पनि हुन सक्ने परिस्थिति छ । अब यस्तोमा मैले कसरी पढाइरहेको हुँला ? तपाईंहरू अनुमान मात्र गर्न सक्नुहुन्छ । मनमा इगो, घमन्ड, रिसइबी पालेरÙ संगठनको आडमा जे गरे पनि हामीलाई कसैले केही गर्न सक्दैन भन्ने सोचले तपाईंलाई मार्न आउनेलाई केही कारबाही हुँदैन र उल्टै तपाईंलाई उनीहरूले बाँच्न मुस्किल बनाउँछन् भने तपाईं सामान्य जीवनमा कसरी फर्कन सक्नुहुन्छ ? अपराधीहरू छाती फुलाएर हिँडिरहेका छन् । अदालत गएका बेला एउटाले त मलाई सधैं आमा चकारी गाली गर्थ्यो, मेरो मजाक उडाउँथ्यो, कानुन हातमा लिँदा पनि आफूलाई कसैले केही गर्न नसकेकामा ऊ गौरव गर्थ्यो ।

तर तीन वर्षसम्म पनि बन्द इजलासले मलाई न्याय दिएन । त्यसैले अब म गुहार माग्न सडकमा आउँदै छु ।

आक्रमणकारी पेसेवर र गैरविद्यार्थी

ममाथि आक्रमण संगठनको आडमा गरिएको थियो । घटनादेखि अदालतसम्म कांग्रेस पार्टी र नेविसंघ राम्रैसँग प्रयोग भए । योजनाकार हरि आचार्य र योगेन्द्र रावलले घटनाका लागि बाहिरबाट पेसेवर अपराधी ल्याएका थिए, जो त्रिविका विद्यार्थी थिएनन् । काठमाडौंको रातोपुलस्थित टेक्सास कलेज पढ्ने रूपेश शाह बीस हजार ‘सुपारी’ लिएर रविन लामा, षयुज श्रेष्ठ र नीरज रानामगरसहित मलाई आक्रमण गर्न कीर्तिपुर आएको थियो । घटना अघिपछि उनीहरूबीच १९७ पटक टेलिफोन संवाद भएको रेकर्ड छ । पेसेवरहरूले आचार्य र रावलको योजना, निर्देशन र खटनपटनमा आफूले अपराध गरेको कुरा स्वीकार गरिसकेका छन् । उनीहरू पटके अपराधी हुन् । यस्तो घामजत्तिकै छर्लंग घटनामा पनि राजनीतीकरण गरियो ।

अदालतमा कांग्रेस पार्टी, डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र अदालत प्रशासनको नेक्सस परिचालित भयो । तथ्य–प्रमाण केही नहेरी थुनछेक बहसमार्फत अभियुक्तहरूलाई एकपछि अर्को गरी सजिलै धरौटीमा छुटाइयो । धरौटीमा छाड्ने न्यायाधीश अम्बिका निरौला निलम्बनमा परिसकेपछि पनि मलाई अन्यायमा पार्ने षड्यन्त्र बन्द भएको अनुभूति भएन ।

अदालतमा हुर्किरहेको सिन्डिकेट अनि म

कांग्रेस पार्टी र त्यो निकट डीएलए, बार र अदालत प्रशासनको नेक्ससले मेरो मुद्दाको सुनुवाइ हुन दिइरहेको छैन । सुनुवाइ भयो भने अपराधीहरू खोरभित्र जान्छन् भन्ने चिन्ता त्यो नेक्ससलाई छ । मुद्दा लम्ब्याउने, अपराधी भगाउने, सके मुद्दा डिसमिस पार्ने, नसके कागजमा मात्रै अपराधी बनाउने खेल चलिरहेको छ । घटनाका मुख्य योजनाकार हरि आचार्य हालै अमेरिका भागे । दुई जना पहिल्यै भागिसकेका छन् र प्रहरीले उनीहरूबाट उच्च अदालतले तोकेको धरौटी र अन्तरिम क्षतिपूर्ति पनि भराउन सकेको छैन । बाँकी अरू बालकृष्ण खाण गृहमन्त्री भएका बेला प्रहरी रिपोर्ट बनाई ठिक्क परेर बसेका छन् । अदालतबाट सजाय भयो भने उनीहरू फेरि भाग्छन् । उनीहरू पहिले पनि पटकपटक कहिले पाटन उच्च अदालतको आदेश त कहिले प्रहरी कस्टडी छल्न भागिहिँडेका व्यक्ति हुन् । हाल यी सबै अभियुक्त तारेख गुजारेर बसेका छन् ।

डीएलए र बारका जिम्मेवार व्यक्तिहरूले अहिले जसरी बालकृष्ण खाणको बचाउ गरिरहेका छन्, ठीक त्यसै गरी ममाथि आक्रमण गर्नेहरूको बचाउ गरे । मेरो मुद्दा नेक्ससमा थुनछेकको बहसबाटै बिगारियो र अपराधीलाई सजिलै धरौटीमा छुटाइयो । म त्यति बेला अस्पतालको बेडमा थिएँ । वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे, सुनील पोखरेलको जम्बो टोली उनीहरूको बचाउमा गयो । ‘संविधानले हामीलाई जसको पनि वकिल बन्ने हक दिएको छ, कति बेला कसको वकिल बन्यौं भनेर हामीलाई थाहै हुँदैन’ भन्न सक्छन् उनीहरू ।

तर दुइटै मुद्दामा विद्वान् वकिलहरू ‘डिफेन्स लयर्स’ का रूपमा नभई ‘अभियुक्त हाम्रो पार्टीका मान्छे हुन्’ भनेर प्रतिरक्षा गर्न गएको प्रस्टै छ । अझ शेरबहादुर केसी त त्रिविका प्राध्यापक पनि हुन् । एउटा त्रिविको प्राध्यापक आफूजस्तै अर्को कुनै प्राध्यापक मारिँदा ‘अपराधी मेरो पार्टीका कार्यकर्ता हुन्’ भनेर उनीहरूको बचाउमा जानुलाई कसरी बुझ्ने ? अभियुक्तहरूका वकिलहरूको एउटै तर्क छ— तिनीहरू विद्यार्थी हुन्, त्यसैले तिनले कानुन हातमा लिन पाउनुपर्छÙ छुटकारा पाउनुपर्छ । त्यसो हो भने रूपेश शाह, रविन लामा, षयुज श्रेष्ठ र नीरज रानामगर त्रिविको कुन संकायमा पढ्छन्, कहाँ केका नेता रहेछन्, देखाइदिनुस् त । के कोही नेता वा विद्यार्थीलाई कानुन हातमा लिने छुट हुन्छ ?

ममाथिको आक्रमण दिउँसोमास नै गरिएको थियो । यो त ‘ओपन–सर्ट केस’ थियो । तथ्य–प्रमाणको कमी थिएन । सीसीटीभी फुटेज, अभियुक्तहरूको साबिती बयान, फोन ट्र्याकिङ चार्ट, स्कुटर, बुलेट बाइक, बाँसका चिर्पट, मेरा मेडिकल रिपोर्ट आदि सबै छन् । यो त एक–दुई महिनामा सल्टिने मुद्दा थियो । तर, तीनतीन वर्ष बित्न लाग्दासमेत पार लाग्न सकेको छैन ।

मेरो मद्दाको सुनुवाइ हुन नदिन अनेक जालझेल गर्नेहरू सरासर असत्य र अन्यायका पक्षमा हुन् । यसै गरी हरेक पार्टी र सम्बद्ध भ्रातृ संगठनले अदालत प्रशासनसँग सेटिङ गरी अदालतलाई प्रभावित गरिरहने हो भने न्यायालय चाहियो किन ? यसलाई म अदालतभित्रको ‘ग्याङिजम’ भन्छु । सबै आफ्ना गुण्डा, अपराधीलाई यसै गरी बचाउन र संरक्षण गर्न लाग्ने हो भने यो देशको दूरदराजमा बस्ने सर्वसाधारण नागरिकले न्याय कसरी पाउँछन् ? यो त सरासर न्यायालयलाई सिन्डिकेट, टेन्डर र बोल–कबोलमा चलाउने काम भयो । यस्तो प्रवृत्तिले न्यायको हत्या गर्छ र गुण्डाराजलाई प्रश्रय दिन्छ ।

आफूलाई लोकतन्त्रको मसिहा ठान्ने पार्टी गुण्डा बचाउन त्यसै गरी लाग्यो । कांग्रेस नेता कृष्ण सिटौला, बलदेव तिमिल्सेना, प्रदीप पौडेल, कुन्दन काफ्ले, बद्री पाण्डे प्रहरीको अनुसन्धानदेखि मुद्दा फिर्ताको प्रक्रियासम्म लागिरहे । अदालतमा विचाराधीन मुद्दालाई बालकृष्ण खाण गृहमन्त्री र खम्म खाती महान्यायाधिवक्ता भएका बेला जिल्ला प्रशासनको बाटोबाट फिर्ता लिने प्रयत्न भयो । दुवैले सम्पूर्ण प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पेस गर्न त्यो फाइल त्यति बेलै कानुन मन्त्रालयमा पठाइसकेका थिए ।

पटक–पटक मरिरहेको म

प्रियजनहरू, विश्वविद्यालयभित्रै दिनदहाडै यसरी म मारिनुपर्ने अवस्थामा पुगें । हेर्नुस् त नयाँ पिँढीलाई ‘ग्रुम’ गर्ने ठाउँको सुरक्षा ? देशका शक्तिशाली व्यक्ति सुरक्षाको चौघेरामा बस्छन्, विश्वविद्यालयमा गुण्डा पठाउँछन् । जो क्याम्पस पढ्दैन, टीके प्रथाबाट त्यो विद्यार्थीको नेता हुन्छÙ कुनै लोकतान्त्रिक विधिबाट होइन ।

रूपेश शाह आफ्नो पेसा नै त्यही होझैं गरी चिन्दै नचिनेको मान्छेलाई आक्रमण गर्न कीर्तिपुर आउँछ । अर्को चाहिँ प्रहरी आउँछ कि भनेर स्कुटीमा बसेर निगरानी गर्छ । तीन जना पालैपालो आक्रमण गर्छन्, त्यो पनि आत्मसमर्पण गरिसकेको निहत्थामाथि । हप्तौंको रेकी र योजनापछि वारदात हुन्छ । मेरो फोटो देखाइन्छ, ‘हान्नुपर्ने यसैलाई हो, मर्‍यो भने हामी जिम्मा लिन्छौं’ भनिन्छ ।

अपराधीलाई प्रहरीले मुस्किलले समात्छ र अदालतमा पेस गर्छ । योजनाकारहरू फरार हुन्छन् । नेविसंघले अपराधी बचाउन आन्दोलन गर्छ । नेक्ससले पेसेवरलाई एकपछि अर्को गरी थुनछेक आदेशबाट छुटाउँदै जान्छ । संगठनले उनीहरूलाई फूलमाला लगाउँछ । उनीहरू हिरोको ठाँटबाटमा अदालतबाट बाहिरिन्छन् । चरणचरणको थुनछेक बहसपछि उनीहरूलाई अदालतले यसरी नै छाड्छ ।

छुट्ने निश्चित भइसकेपछि योजनाकारहरू दुई महिनापछि अदालतमा देखा पर्छन् । अनि त्यहाँ श्राद्घमा बिरालो बाँध्नेजस्तै एउटा संस्कार हुन्छ र उनीहरू पनि छुट्छन् । त्यो तहको अपराध गर्नेहरू यसरी छुटे । यसरी म जिउँदै मरिरहें । त्यही हर्कत मैले गरेको भए आज म जेलमा हुन्थें । उनीहरूले त ज्वाइँ–सुविधा पाए । पहिला धरौटीमा सजिलै छुटे, अहिले एकपछि अर्को गरी भाग्दै छन् । उनीहरूको नेक्ससले यता सुनुवाइ छेकिरहेको छ । तैपनि म न्यायकै पर्खाइमा छु । उनीहरूले झैं म कानुन हातमा पनि त लिन सक्दिनँ । यदि यो देशमा सत्य र न्याय ज्युँदै छ भने कुनै पनि शक्तिले उनीहरूलाई जोगाउन सक्नेछैन । सत्य डग्नेछैन, झुटो टिक्नेछैन र मैले न्याय पाउनेछु ।

चलाउने त्रिवि समाजशास्त्र विभागमा उपप्राध्यापक छन् ।

प्रकाशित : जेष्ठ २३, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?