सम्पादकीय

लु होस् वा शीतलहर, विपन्नलाई जोगाऊ

सम्पादकीय

गर्मी चढेसँगै मुलुकका विभिन्न स्थानमा तातो हावा बहन थालेको छ । तराईका कति जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस नाघ्दा जनजीवन प्रभावित भएको छ । विद्यालयहरू बन्द गरिएका छन् ।

लु होस् वा शीतलहर, विपन्नलाई जोगाऊ

मनसुनी वर्षाको तत्काल छेकछन्द नदेखिएकाले केही दिन गर्मी अझै बढ्ने आकलन मौसमविज्ञहरूको छ । तसर्थ, चर्को गर्मीबाट बच्न नागरिकहरूले स्वास्थ्य सावधानी अपनाउन जरुरी छ । सरकारले पनि यसबाट प्रभावित नागरिकलाई विशेष ध्यान पुर्‍याउनुपर्छ ।

सामान्य अवस्थामा तीन दिनसम्म कुनै पनि स्थानमा तापक्रमको निश्चित स्तर (थ्रेसहोल्ड) नाघ्दा लुको अवस्था हुन्छ । यो दर स्थानविशेष अनुसार फरक–फरक हुन्छ । जल तथा मौसम विज्ञान विभागले कुनै पनि मापन केन्द्रमा तापक्रम ९० प्रतिशतभन्दा धेरै हुँदा तातो दिन (माइल्ड लु), ९५ प्रतिशत हुँदा धेरै तातो दिन (मोडरेट लु), र ९९ प्रतिशतभन्दा बढी हुँदा अत्यधिक तातो दिन (लु) मान्ने गरेको छ । जस्तो, काठमाडौंमा ३३.५ डिग्री सेल्सियसभन्दा बढी हुँदा अत्यधिक तातो दिन मानिन्छ । यसका लागि विराटनगरमा ३९ डिग्री नाघेको हुनुपर्छ भने जनकपुरमा ४० र वीरगन्जमा ४२ डिग्री सेल्सियस ।

मानिसका लागि २६ डिग्री तापक्रम उपयुक्त मानिन्छ । तर यति बेला मध्यपहाडी भूभागकै पनि तापक्रम योभन्दा बढी छ, तराईमा त त्यसै धेरै हुने भैहाल्यो । तापक्रम र वायुमण्डलमा आर्द्रता (पानीको बाफ) दुवै बढी हुँदा स्वास्थ्यमा धेरै असर पर्न सक्छ । थकाइ लाग्छ । कमजोरी महसुस हुन्छ । टाउको दुख्छ । खुट्टा बाउँडिन्छ । चक्कर र बान्ता आउँछ । श्वासप्रश्वासमा समस्या हुन्छ । रक्तचाप कम हुन सक्छ । शरीरमा पानीको मात्रा कम हुन्छ । बेहोस हुने मात्र होइन, पक्षाघातसम्म हुन सक्छ । अरू रोगव्याधिको संक्रमणको जोखिम बढ्छ । विभिन्न औषधिको प्रभाव पनि घट्छ । खास गरी बिरामी, बालबालिका र दीर्घरोगीमा बढी समस्या देखिन्छ । घाममा काम गर्नुर्पर्नेहरू उत्तिकै प्रताडित हुन सक्छन् ।

गर्मीको अवस्था हेरेर पालिकाहरूले नागरिकलाई सचेत तुल्याउनुपर्छ । चर्को गर्मी होस् वा शीतलहर, दुवै बेला बढी मर्कामा पर्ने भनेका विपन्न साधारणजन हुन् । उनीहरूको गाह्रो–साह्रोप्रति सरकार, खास गरी पालिका–वडाहरूले विशेष दृष्टि दिनुपर्छ । वातानुकूलित घर–कार्यालय त परको कुरा, कति विपन्नजनको विद्युत्मा समेत पहुँच छैन । पालिकाहरूले यस्ता नागरिकका लागि गर्मी नओर्लिउन्जेलसम्म टोल–टोलमा ठूला पंखासहितका आश्रयस्थलहरूको व्यवस्था गर्न सक्छन्, गर्नु पनि पर्छ । यस्तै, पिउने पानीको यथोचित प्रबन्ध मिलाउनुपर्छ । खास गरी यो याममा पानीको माग अधिक हुन्छ । यस्तोमा गुणस्तरहीन पानी खपत हुने सम्भावना हुन्छ । त्यसैले नागरिकले पानीको गुणस्तरमा ध्यान दिनुपर्छ । सरकारले पनि बिक्री–वितरण भएको पानीको गुणस्तरबारे हेक्का राख्नुपर्छ ।

‘माइल्ड लु’ कै अवस्थामा जोकोहीले सावधानी अपनाउन थाल्नुपर्छ । ‘मोडरेट लु’ हुँदा घाममा हिँडडुल गर्नु हुँदैन, पानी धेरै पिउनुपर्छ । लु नै चल्दा चिसो ठाउँ अर्थात् सम्भव भएसम्म घरभित्रै बस्नुपर्छ । वातानुकूलित घरबाट एकैचोटि घाममा निस्कनु हुन्न । बाहिर निस्कँदा हल्का सुतीका कपडा लगाउनुपर्छ । टोपी लगाउने वा टाउको छोप्ने गर्नुपर्छ । शरीरको पूरै कपडा खोल्नु हुन्न । पानी, सर्बत लगायतका झोलिलो पदार्थ प्रशस्त पिउनुपर्छ । पानीको मात्रा बढी भएका फलफूल, सलादहरू खानुपर्छ । जीउमा चिसो पानी छर्कनुपर्छ । र, लुका लक्षण देखिएका जोकोहीलाई अस्पताल पुर्‍याउनुपर्छ । सरकारले अस्पतालहरूलाई पनि तयारी अवस्थामा राख्नुपर्छ ।

लु वर्षैपिच्छेजस्तो दोहोरिने समस्या हो । नेपालमा विभिन्न स्थानका अधिकतम तापक्रमका कीर्तिमान केही दशकअघिकै भएकाले यसको सोझो सम्बन्ध जलवायु परिवर्तनसित मात्रै छ भन्न पक्कै मिल्दैन, तर पछिल्ला वर्षहरूमा तातो हावा बहने अवधि बढेको भने सत्य हो । र, विश्वव्यापी तापक्रम वृद्धिसँगै आगामी वर्षहरूमा यस्तो जोखिम अझ बढ्ने प्रक्षेपण वैज्ञानिकहरूको छ । यसको अर्थ, नागरिकको जीवनस्तर नसुधार्ने हो भने आगामी वर्षहरूमा लुबाट प्रभावित हुनेहरू अझ बढ्नेछन् । कारण, तातो हावाले मात्रै भन्दा पनि यसबाट जोगिने उपाय अभावले नागरिकहरू प्रताडित हुने गर्छन् । त्यसैले, साधारणजनलाई गर्मीबाट कसरी बचाउने भन्नेमा सरकार केन्द्रित हुनुपर्छ । जनचेतना वृद्धि, जीवनस्तर सुधारका पक्षमा ध्यान दिनुपर्छ । साथै, विश्वव्यापी तापक्रम वृद्धिसित जुध्न घरेलु नीति–व्यवहारहरू तदनुरूप बनाउनुपर्छ, र एउटा पीडित राष्ट्रका हैसियतले विश्वमञ्चमा यसबारे आफ्नो आवाज थप बुलन्द बनाउनुपर्छ ।

प्रकाशित : जेष्ठ २३, २०८० ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?