कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

पासपोर्टको मूल्य

हामीले रणनीति बनाएनौं र विश्वमञ्चमा आफ्नो स्थान खोज्न ढिलो गर्‍यौं । अब समय भयो । अन्यथा, हाम्रो युवा पुस्ता मूल्यहीन पासपोर्ट बोकेर विदेश छिर्न बाध्य भइरहनेछ । आफ्ना मान्छेहरू स्वयंले गर्व नगर्ने देशको भविष्य कहिल्यै सुन्दर हुँदैन ।
केशव दाहाल

गणतन्त्र दिवसको दिन थियो । साँझ केही युवाहरूसँग राजनीतिक विमर्श गर्ने अवसर जुर्‍यो । लगभग दुई घण्टा हामीले सरकारको नयाँ बजेट, हाम्रा प्राथमिकता र विश्वराजनीतिमा नेपालको स्थान आदि विषयमा खुलेर कुरा गर्‍यौं ।

पासपोर्टको मूल्य

देश–विदेश घुमिबस्ने ती युवाहरूको दुखेसो थियो, ‘देश निम्छरो भयो । हाम्रो पासपोर्टको मूल्य छैन । हामी यतिसम्म गुमनाम छौं कि सम्भवतः छिमेकी चीनकै कतिपय मान्छेलाई नेपालबारे थाहा छैन ।’ उनीहरूका कुरा सुनिरहँदा मेरो मनमा बारबार एउटा प्रश्न आइरह्यो— के विश्वमञ्चमा आफ्नो अर्थ र औचित्य स्थापित गर्ने हाम्रा लागि कुनै अवसर बाँकी छैन ? अवश्य छ । यो धर्तीमा गुमनाम कोही छैन । हरेक देशसँग आफ्नै मौलिक पहिचान, शक्ति र सामर्थ्य हुन्छ । मात्र त्यसलाई स्थापित गर्ने योजना र जाँगर चाहिन्छ ।

शक्तिको महिमा

यो चराचर जगत्मा सबै शक्तिशाली बन्न चाहन्छन् । चाहेर वा नचाहेर संसारमा सहकार्य, प्रतिस्पर्धा र संघर्षको सिलसिला निरन्तर जारी छ । देश वा व्यक्ति सबैका बीचमा प्रतिस्पर्धा छ । शक्तिको प्रतिस्पर्धा छ । नामको प्रतिस्पर्धा छ । अस्तित्वको प्रतिस्पर्धा छ । अर्कालाई जित्न चाहनु प्रतिस्पर्धाको मुख्य अभीष्ट हो । यसैका लागि इतिहासमा अनेक युद्ध भए, आविष्कार भए, प्रतिस्पर्धा भए र मानव सभ्यता अगाडि बढ्दै गयो । आफ्नो अस्तित्वलाई स्थापित गर्न संघर्ष गर्दै, लड्दै, भिड्दै मान्छे (देश) यो युगसम्म आइपुगेको हो । स्पष्ट छ, आँसु झारेर वा गरिबी बेचेर मात्र कुनै पनि देशले विश्वराजनीतिमा स्थान पाउँदैन ।

प्रश्न आउँछ, शक्ति वा अस्तित्वको स्रोत के हो ? सामाजिक वा राजनीतिक आँखाबाट हेर्दा ‘शक्ति’ भनेको आफू हुनुको अस्तित्वलाई स्थापित गर्ने सामर्थ्य हो । शक्ति स्वयंमा यस्तो तागत हो जसले अरूलाई नियन्त्रण गर्छ, नियमन गर्छ र प्रभावमा राख्छ । विश्वराजनीतिमा मुख्यतः दुई प्रकारका शक्तिहरू प्रभावशाली देखिन्छन् । पहिलो, ‘हार्ड पावर’ अथवा भौतिक शक्ति । दोस्रो, ‘सफ्ट पावर’ अथवा मानवीय शक्ति । म भने यहाँ सफ्ट पावरभित्रै देशको प्राकृतिक स्रोत र सुन्दरतालाई पनि राख्न चाहन्छु ।

भौतिक शक्ति भनेको देशको धन, सम्पत्ति, अर्थव्यवस्था, सैन्य बल वा सुरक्षा प्रणाली आदिबाट निर्माण भएको तागत हो । भौतिक शक्ति मुख्यतः त्यो देशले आर्जन गरेको शक्ति हो । मानौं ‘जी ८’ देशहरू । उनीहरू यसकारण शक्तिशाली छन् कि उनीहरूसँग यथेष्ट भौतिक शक्ति छ । तर के शक्ति सम्बन्धमा सधैं भौतिक शक्तिको मात्र दबदबा चल्छ ? चल्दैन । मानवीय शक्ति पनि उस्तै प्रभावशाली हुन्छ । व्यक्तिको उदाहरणबाट हेर्दा, कोही व्यक्ति धन वा पद नभए पनि ज्ञान, बुद्धि, विवेक वा सृजनशीलताले शक्तिशाली हुन्छ । जस्तो— दार्शनिकहरू । लेखकहरू । खेलाडीहरू । कलाकार, गायक र संगीतकारहरू । यसैभित्र हामी प्राकृतिक स्रोत र सुन्दरतालाई पनि थपौं, जो आफैंमा महत्त्वपूर्ण सफ्ट पावर हुन् ।

सफ्ट पावरको अवधारणालाई सर्वप्रथम जोसेफ नाईले प्रसिद्ध गराए, जो अमेरिकी राजनीतिज्ञ र विचारक थिए । उनको एउटा चर्चित पुस्तक छ, ‘सफ्ट पावर ः द मिन्स टु सक्सेसेस इन वर्ल्ड पोलिटिक्स’ । नाईका अनुसार, देशको सफ्ट पावर त्यस्तो शक्तिपुञ्ज हो जहाँ देशका सांस्कृतिक विरासत, राजनीतिक मान्यताहरू, विदेशनीतिहरू, कूटनीति, सामाजिक ढाँचा र प्राकृतिक मूल्यले संसारलाई पल्लवित र प्रभावित गर्ने सामर्थ्य राख्छन् । यसैभित्र दार्शनिक खोज, लेखन, चिन्तन र बौद्धिक कर्महरूसमेत पर्छन् । यो यस्तो शक्ति हो जसले मानव सभ्यतालाई अगाडि बढाउन निरन्तर उज्यालो देखाइरहन्छ ।

नेपालको बाटो

प्रत्येक देशको शक्तिको आफ्नै स्रोत हुन्छ । कसैसँग भौतिक शक्ति हुन्छ । कसैसँग मानवीय शक्ति (र, प्राकृतिक शक्ति) हुन्छ । कसैसँग हतियार र पैसा हुन्छ, कसैसँग हुन्छ संस्कृति र सभ्यताको अनमोल खजाना । कसैसँग मानवनिर्मित ठूलठूला पूर्वाधार हुन्छन्, कसैसँग हुन्छ प्रकृतिको अनुपम छटा र सौन्दर्य । कोही अन्तरिक्षको दौडमा हुन्छन्Ù कसैसँग हुन्छ जमिनको साहित्य, कला र संगीत ।

नेपालसँग के छ ? के हामी धनी बनेर शक्तिशाली हुन सक्छौं ? अहिले त्यो सम्भव देखिँदैन । त्यसो भए के हामी युद्ध जितेर शक्तिशाली हुन सक्छौं ? सक्दैनौं । त्यसो भए के होला त हाम्रो शक्तिको स्रोत जसले विश्वमा (कम्तीमा एसियामा) हामीलाई स्थापित गरोस् । अथवा, के होला त्यो सामर्थ्य जसले हामीलाई विश्वमञ्चमा सबैको प्रिय र अनुपम बनाओस् । यद्यपि यो ‘एआई’ लाई सोधेर तत्काल जवाफ निकालेजस्तो सजिलो प्रश्न होइन । तर यो हामीले छलफल गर्नैपर्ने प्रश्न हो । यस्तो प्रश्न, जसले हामीलाई आत्मविश्वाससाथ अगाडि बढ्न बाटो देखाओस् । आफ्नो सामर्थ्यमा जब हामी स्पष्ट हुन्छौं, त्यसपछि मात्र हाम्रो यात्राले लय समाउँछ ।

हामीसँग आफ्नो अस्तित्वलाई स्थापित गर्ने अवश्य नै केही चीज छन्, जसको खोजी आवश्यक छ । यहाँ सन्दर्भ सामग्रीका रूपमा थोरै उदाहरण हेरौं । जस्तो- सबैले भन्ने गरेकै कुरा हो, हामीसँग सगरमाथा छ । साथमा छन् अनेकौं सुन्दर हिमशृंखला । तर दुभागर््य, हामीले हिमाललाई मात्र आरोहणमा संकुचन गर्‍यौं । तर हिमाल हाम्रो सभ्यता हो र हो पृथ्वीको जीवनस्रोत । योसँगै छन् वेह्युलझैं लुकेर बसेका हिमाली जीवनका अनगिन्ती पुराना कथाहरू । ध्यानस्थ ऋषिजस्ता पहाड, घाटी, ताल, अनवरत बग्ने झरना, नदी र वन्यजीवनको जीवित संग्रहालय हो नेपाल । हाम्रो चुरे जसले यो क्षेत्रकै समस्त जलचक्र र गंगा घाँटीलाई जीवित राखेको छ । हाम्रो प्रकृति आफैंमा यस्तो शक्ति हो, जसले पृथ्वीको पर्यावरणलाई सन्तुलित गर्न योगदान गर्छ । पर्यावरण विश्वव्यापी मुद्दा बनेका बेला हिमाल, पहाड र नदीको शक्ति वास्तवमै निकै ठूलो शक्ति हो ।

सबैले भन्ने गरेझैं, हाम्रो अर्को शक्ति हो बुद्धको जन्मस्थल लुम्बिनी । तर यसलाई हामीले ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर नारा लगाउनबाहेक केही गरेनौं । अवश्य नै, गौतम बुद्ध धार्मिक आस्थाका देवता हुन् । साथसाथै उनी हुन् विश्वशान्ति र मानवताका लागि संसारकै सबैभन्दा पूजनीय व्यक्तित्व । उनको जन्मस्थलसँग संसारका करोडौं मान्छेको आस्था छ । र, त्यो जन्मभूमि छ हामीसँग । योभन्दा ठूलो शक्ति के हुन्छ ? त्यसो त हामीसँग तीन अनमोल सभ्यता छन् । सनातन वैदिक सभ्यता, बौद्ध सभ्यता र किरात सभ्यता । यी सभ्यताहरूसँग आफ्नै ज्ञान, दर्शन, कथा र किंवदन्तीहरू छन् । हजारौंहजार वर्षदेखि यिनै तीन वटा भावधाराबाट हाम्रो जीवन पल्लवित छ । यी सभ्यताका तीन वटा भँगाला बग्दैबग्दै जब हाम्रो सामाजिक जीवनमा जोडिन आइपुग्छन्, यिनीहरू अविभाज्य र एकीकृत बन्छन् । त्यसैले त नेपालका सनातन बौद्धिकहरू उँधौली र उँभौलीमा रमाउँछन् । किरातहरू दसैं मनाउँछन् । हामी रोजामा मुस्लिम दाजुभाइलाई शुभकामना दिन्छौं । र, इसाईहरूसँग क्रिसमसमा रमाउँछौं । यो अर्थमा हाम्रो सामाजिक जीवन उदार बन्दै छ । उदारता नै हाम्रो भविष्य हो । त्यसैले त हाम्रो विविधता समस्या हैन, शक्ति हो । यद्यपि यसलाई अझ समयानुकूल, न्यायपूर्ण, मानवीय र सद्भावपूर्ण बनाउन बाँकी छ ।

हिजो एक भाषा, एक धर्म, एक जाति, एक राजाको गौरवगाथा गाएर हामीले ठूलो अवसर गुमायौं । अब हामीले हाम्रो जातीय, भाषिक र सांस्कृतिक विविधताभित्र गौरवगाथा खोज्नुपर्छ । त्यसपछि हाम्रा वैदिक सभ्यता, बौद्ध सभ्यता र किरात सभ्यताका कथाहरू साझा बन्छन् । जब हामी सबैका कथाहरू खोजेर दुनियाँलाई सुनाउन थाल्छौं, तब हाम्रो जीवन सौन्दर्य विश्वभर विस्तार हुनेछ । त्यसपछि नेपाल पुरानो मानव सभ्यता चियाउने जीवित संग्रहालय बन्छ, जुन आफैंमा महत्त्वपूर्ण अवस्था हो ।

उदाहरणहरू अरू पनि छन् । जस्तो— मान्छेहरू भन्छन्, काठमाडौं उपत्यका आफैंमा विशेष छ । यहाँका गल्ली, चोक, मन्दिर र घरहरू आफैंमा भव्यतम छन्, जहाँ छन् सयौं वर्षका इतिहास, कथा र किंवदन्ती । त्यसो त, जान्ने हो भने चीन र भारतका बीचमा हुनु हाम्रा लागि अर्को अवसर वा शक्ति हो । यसै गरी, राजनीतिक रूपमा पनि हामीसँग केही महत्त्वपूर्ण र ताजा अनुभव छन् । इतिहासको यस्तो क्षणमा हामीले शान्ति निर्माणको प्रयत्न गर्‍यौं, जुन आफैंमा एउटा विशिष्ट राजनीतिक अनुभव हो । साथसाथै, नेपालमा गणतन्त्र प्राप्तिको संघर्ष विश्वराजनीतिकै एउटा उल्लेख्य घटना थियो । यसको अर्थ के भने, विश्वका अनेक विश्वविद्यालयमा पढाउनुपर्ने अनुभव र इतिहास हामीसँग छन् । अलिक आदर्शजस्तो लाग्ला, तर सत्य यो हो कि, अनेक विश्वचर्चित पुस्तक लेखिनुपर्ने कथा छन् हामीसँग । अनेक उम्दा गीत, संगीत, सिनेमा र नाटक बन्ने सुख, दुःख, भोगाइ र उथलपुथलहरू छन् हामीसँग, जसलाई संसारले पढून्, सुनून्, हेरून् । त्यसपछि हामी विश्व साहित्य, सिनेमा र संगीतमा आउनेछौं । जब यो सबै हुन्छ, त्यसपछि हाम्रा मान्छेले पनि नोबेल पुरस्कार वा ओस्कर पाउलान् । आजको युगमा एक पूर्ण र अस्तित्वशाली देश बन्न यति त हुनैपर्छ ।

तर हाम्रो राजनीति तीन वटा गल्ती गरेर ढुक्कले बसेको छ । पहिलो गल्ती आत्मरति हो । उदाहरणका लागि, मसँग सगरमाथा छ भनेर ढुक्कले निदाएको आत्मरति । बुद्ध नेपालमा जन्मिएका हुन् भनेर मक्ख परेको आत्मरति । दोस्रो, नीतिनिर्माण तहमा देखिन्छ हाम्रो विविधताभित्र एकता नखोज्ने जातिवादी वा धर्मवादी उग्रवाद । कट्टर धर्मभीरु हुनु र सभ्यतालाई माया गर्नु अलग कुरा हो । धर्मको राजनीति गर्नु र मौलिक सम्पदालाई माया गर्नु अलग कुरा हो । तेस्रो, अन्धराष्ट्रवाद । हाम्रो राजनीतिले देशभक्तिका लामालामा कविताहरू लेख्न सिकाउँछ । राष्ट्रवादको चर्को नारा लगाउँछ । सबैलाई शत्रु देख्ने साम्राज्यवादको कथा हाल्छ र मित्रहरूप्रति आशंका गर्छ । यो हाम्रो मनोरोग भयो ।

परिणाम, इतिहासमा बनाइएका दुई ढुंगाबीचको तरुल, भूपरिवेष्टित दुर्भाग्य र गरिबीको भाष्यले स्वयं हाम्रो चिन्तन, ज्ञान र सपना जिम्लिँदै गयो । हामी हीनताबोधमा फस्दै गयौं । हामी निराश र प्रतिक्रियात्मक भयौं । हामीले आफ्नो शक्तिको योजनाबद्ध विवेचना गरेनौं । हामीले रणनीति बनाएनौं र विश्वमञ्चमा आफ्नो स्थान खोज्न ढिलो गर्‍यौं । यो दुश्चक्रबाट कहिले निस्किने ? अब समय भयो । अन्यथा, हाम्रो युवा पुस्ता मूल्यहीन पासपोर्ट बोकेर विदेश छिर्न बाध्य भइरहनेछ । आफ्ना मान्छेहरू स्वयंले गर्व नगर्ने देशको भविष्य कहिल्यै सुन्दर हुँदैन । थप विमर्श गरौं ।

प्रकाशित : जेष्ठ १९, २०८० ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?