बुंग द्यःको भोटो हेरेपछि

नेपाली जनताले डेढ दशकभन्दा पहिले कोरेको राजनीतिक नक्सामा डरलाग्दो लोभ र कलंकको सामना गर्न र जुध्न सक्ने एउटै मानिस अहिलेसम्म कुनै पनि पार्टीको नेतृत्वमा देखिएको छैन ।
किशोर नेपाल

साबिक चलन अनुसार, गएको बिहीबार अपराह्न पुजारीहरूले अनादि कालदेखि उपत्यकाका किसानहरूले अत्यन्त भक्तिभावसहित पूजा–अर्चना गर्दै आएका ‘बुंग द्यः’ अर्थात् ‘सहकालका देवता’ मच्छेन्द्रनाथको भोटो राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘नजर’ मा चढाएर, सर्वसाधारणलाई देखाए ।

बुंग द्यःको भोटो हेरेपछि

भावनात्मक हिसाबले सहकालका देवताको यो भोटोको सार्वजनिक प्रदर्शनको प्रतीकात्मक अर्थ हो— सहकालका देवताको भोटो उपत्यकामै छ । किंवदन्ती अनुसार, उपत्यकामा बुंग द्यःको उपस्थिति रहेसम्म अनिकाल लाग्ला भनेर डराउनुपर्दैन । प्रत्येक वर्ष देखाइने गरेको मच्छेन्द्रनाथको भोटोको ‘दैविक’ मौलिकता संकटमा परिसकेको छ । समाचारहरू सहरमा सनसनीखेज हुने, तर अहिलेको जस्तो सबैतिर नपुग्ने जमानामा एक पटक यो भोटो हराएको समाचार ‘भाइरल’ भएको थियो । त्यसपछि के भयो ? समाचारको फलोअप भयो कि भएन ? सम्झना रहेन ।

उच्चतम पदमा आसीन देशका नेताहरूले सहकालका देवताको भोटो दर्शन गरेको भोलिपल्टै ‘सार्वभौम’ नेपाली जनताले चुनेको ‘सार्वभौम’ संसद् अचाक्ली तात्यो । ‘अघिल्लो पटक एमालेका अध्यक्ष (हाल प्रमुख प्रतिपक्षी दलका नेता) को नेतृत्वमा बनेको सरकारका पालामा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाउनुपर्नेमा पित्तलको जलहरी चढाइएको विषय माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाए । यस विषयलाई प्रमुख प्रतिपक्षले निकै आक्रामक हिसाबले प्रतिनिधिसभाको बैठकमा प्रवेश गरायो । विषयको छिनोफानो नभएसम्म बैठक अवरुद्ध गर्ने अडान राखे प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले । सम्भवतः तत्कालीन सरकारको प्रमुखमा ‘अध्यक्ष कामरेड ओली’ नरहेका भए कुरा यति चर्किने थिएन होला । चोरी–चकारी र भ्रष्टाचार नियति नै भैसकेको देशमा यो आरोप सामान्य थियो ।

सयौंको संख्यामा देशका मूल नागरिकलाई शरणार्थीका रूपमा प्रस्तुत गरेर, रातारात उनीहरूको देश र नागरिकता नै बदलेर, विदेश पुर्‍याउने बिचौलियाहरू राजनीतिक नेतृत्वमा रहेको यो देशमा को नक्कली हो र को सक्कली हो ?

छुट्याउन सकिने अवस्था छैन । संसद्को बैठकमा लगाइएको आरोपका विरुद्ध प्रतिपक्षी सांसदहरू निकै चर्को स्वरमा गर्जिए पनि त्यसमा कुनै राप थिएन । प्रतिपक्षी दलका मुख्य नेता स्वयं पनि पन्छिन खोज्दै थिए, ‘मैले त पशुपतिनाथको मन्दिरको जलहरी चढाउन नगद पो निकासा गरेको थिएँ । त्यो पैसा खर्च गर्ने त अरू नै थिए ।’

आफूलाई ‘राजनेता’ भनाउन चाहने एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको प्रधानमन्त्रीय कार्यकाल सधैं घटनापूर्ण रहेको हो । सुन पशुपतिनाथको होस् वा तस्करको, नेताविशेषलाई त्यसको चमक मन पर्छ । विगत समयमा पनि, समाचारपत्रका पानाहरू र सामाजिक सञ्जालमा त्रिभुवन विमानस्थलमा ‘बेवारिस अवस्थामा फेला परेको’ बहुचर्चित तेत्तीस किलो सुनसँग नेताहरूको गर्दन जोडिएको खुला चर्चा भएको थियो । त्यसैले होला, संसद्मा भएको त्यस्तो चर्चामा राप–ताप थिएन । भुटानी शरणार्थीका ठाउँमा नेपाली नागरिक निर्यात गरिएको अहिलेको प्रसंगले भ्रष्टाचारसँग सम्बन्धित हरेक प्रसंगलाई तातो बनाएको छ । शक्ति र सत्ताको मोहमा च्यापिएर माओवादीबाट एमालेमा पुगेका नेताहरू रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीको पतन यसरी होला भन्ने कसले सोचेको थियो ? तर, आज उनीहरूका नामै अभिशप्त बनेका छन् ।

बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल अक्सर भन्ने गर्थे, ‘संकटकालीन समयमा साँचो कुराको प्रतिरक्षाका लागि पनि झूटको सहारा लिनुपर्छ ।’ बेलायती राजनीतिको तत्कालीन अवस्थामा उनको यो भनाइ असत्य थिएन होला । तर, कसैले वर्तमान नेपालको समय र सन्दर्भमा यो कुरा जोडेर विश्लेषण गर्न चाहन्छ भने ऊ गलत साबित हुनेछ । किनभने हामी नेपाली अचानक यस्ता समस्याहरूको सामना गरिरहेका छौं जुन अहिलेसम्म हाम्रा लागि अपरिचित थिए । २०४८ सालमा सुरु भएको हाम्रो संसदीय अभ्यासमा कुनै एक सांसदले पनि संसद्मा कुनै एउटा ठूलो पार्टीको प्रभावशाली नेतालाई ‘ठाडो’ आरोप लगाएर खरो भाषामा बोलेको थिएन । अहिले लेखनाथजीले एक नेतालाई होइन, सबै पार्टीका शीर्षस्थ भनिने सबै नेतालाई नैतिक चुनौती दिएका छन् । यो प्रसंगमा बुझ्नुपर्ने मुख्य कुरा पशुपतिनाथको जलहरी होइन । पित्तलमा जतिसुकै बाक्लो बनाएर सुनको मोलम्बा लगाए पनि त्यो पित्तल नै ठहरिन्छ । माओवादी केन्द्रका सांसद दाहालले जुन प्रश्न उठाएका छन्, त्यसको तहमा लुकेको छ राजनीति र सरकारी सेवामा लागेका मानिसहरूको असीमित लोभ र त्यसलाई पूरा गर्ने अनियन्त्रित वृत्ति । नेपालीको नागरिकता परिवर्तन गरेर उनीहरूलाई रातारात सात समुद्रपारि पठाउनु चानचुने अपराध होइन ।

तस्करीको विधि अपनाएर मानिस निर्यात गरिने यो काममा ‘सन्देहको दायरामा परेको’ भनेर प्रहरी फोर्सका बहालवाला प्रमुखको नाम चर्चामा आउनु उत्तिकै दुर्भाग्यको कुरा हो । धनको लोभले जान्नेसुन्नेहरूको हाम्रो समाजलाई नराम्रोसँग गाँजेको छ । पछिल्लो चुनावमा ठूलो राजनीतिक दलका रूपमा आफ्नो हैसियत राख्न सफल भएको पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यति बेला मानिस निर्यातमा डामिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणको प्रतिरक्षामा बोलिरहेका छन् । देउवाको यो प्रतिरक्षात्मक बोलीको नेपाली कांग्रेसको समाजवादी नीतिसँग कुनै साइनो छैन । दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीका भाषणहरू उनको अत्यासको डरलाग्दो अभिव्यक्ति बनिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचार निर्मूल गर्ने जतिसुकै ठूलो संकल्प गरे पनि सरकार प्रमुखका रूपमा उनको दृढता पनि कताकता अलमलिन लागेको त होइन भन्ने कम्पन आएको छ । अरू दलका नेताहरूमध्ये कसैको पनि अनुहारमा स्वाभाविक हाँसो देखिएको छैन ।

लोकतन्त्रमा राज्यसत्ता र राजनीतिक व्यवस्थामाथि जनताको पूर्ण नियन्त्रण हुन्छ । लोकतन्त्रमा जनतामाथि कुनै पनि व्यक्ति, परिवार, जाति र वर्गको आधिपत्य रहन सक्दैन । जनताको सरकार जनताले नै चलाउँछ र जनताकै अस्तित्वका लागि हुन्छ । लोकतन्त्रमा कुनै व्यक्ति, परिवार, जाति, वर्ण र वर्गलाई त्यो हदसम्म मात्र छुट हुन्छ जबसम्म उसले समाजको हितविरुद्ध कुनै काम गर्दैन । लोकतन्त्रमा मानिसको व्यक्तित्व विकासको विरोधी कोही छैन । लोकतन्त्रको ध्येय सबैका लागि कल्याण र विकासको बाटो पहिल्याउने स्वतन्त्रता नै हो । कसैको स्वेच्छाचारिता, उद्दण्डता र उच्छृङ्खलतालाई लोकतन्त्रले सहन सक्दैन । लोकतान्त्रिक प्रणालीले सबैसँग आत्मनियन्त्रणको अपेक्षा गर्छ ।

वास्तविक लोकतन्त्र व्यावहारिक हिसाबले त्यति बेला सम्भव हुन्छ जब देशका सम्पूर्ण नागरिक उत्पादन र शासनमा सँगसँगै क्रियाशील हुन्छन् । प्रतिनिधिमूलक प्रणालीको अवलम्बन र शासनशक्तिमा व्यापक विकेन्द्रीकरण लोकतान्त्रिक गणतन्त्रका मुख्य आयाम हुन् । यसका मूल स्तम्भहरू संविधान, संसद्, राष्ट्रपति, मन्त्रिमण्डल, न्यायपालिका र प्रादेशिक तथा स्थानीय निकाय हुन् । बढीभन्दा बढी लोकतान्त्रिक संस्थाको निर्माण र विकास नै लोकतन्त्रको कसी मानिन्छ ।

अहिले देश र सरकार दुवै संकटमा छन् । राजनीतिक दलका नेताहरूले आ–आफ्नो राजनीतिक स्वार्थको किल्ला त खडा गरेका छन्, तर लोकतान्त्रिक संस्थाहरूको निर्माण गरेका छैनन् । नेपाल संघीय संरचनाको विपरीत जान सक्दैन भन्ने प्रमाणित भैसकेको छ । ससाना सांस्कृतिक समाजको अस्तित्व रक्षा गर्न नेपालका लागि संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल व्यवस्था हो । यसविपरीत देशमा सांस्कृतिक समाज र समान नागरिक अभ्यासका विरुद्ध प्रतिकूल परिस्थितिको निर्माण, दिन–प्रतिदिन, बडो तीव्रताका साथ भैरहेको छ । प्रशासन, प्रहरी र न्यायपालिका घूसखोरी, भ्रष्टाचार र पक्षपातमा लिप्त छन् । सामाजिक विकृति बढेको छ । देशको आर्थिक अवस्था अतिशय चिन्ताजनक छ । एकातिर बर्सेनि मल र बीउको अभाव, बाढी र सुक्खाको प्रकोपले कृषि क्षेत्र साँघुरिँदै गएको छ भने, अर्कातिर उद्योग–व्यवसायको अवस्था शिथिल छ । देशमा अन्न र अर्थको व्यापक अभाव छ । रोगव्याधिको जगजगी छ । चिकित्सा प्रणाली महँगो छ । औषधि सुलभ छैन । आजको बिग्रिँदो परिस्थितिको अन्त छिटो नभएको खण्डमा देशमा शासन र व्यवस्था अहिलेको भन्दा धेरै फितलो हुने मात्र होइन, खण्डित हुँदै जाने भय पनि बढ्दै गएको छ । यो कुरा निःसंकोच भन्न सकिन्छ ।

नेपाली जनताले डेढ दशकभन्दा पहिले कोरेको राजनीतिक नक्सामा यो डरलाग्दो लोभ र कलंकको सामना गर्न र जुध्न सक्ने एउटै मानिस अहिलेसम्म कुनै पनि पार्टीको नेतृत्वमा देखिएको छैन । कांग्रेस, एमाले, माओवादी र पछिल्लो झमटमा आएका राजनीतिक दलहरूका नेताहरूमा सत्य बोल्ने साहस र सामर्थ्य राख्ने व्यक्तित्वको सर्वथा अभाव छ । सत्तावृत्तमा चियाउने हो भने त्यसवरिपरि उभिएका सबैलाई आफ्नो र आफ्नै सन्तानको पीर छ । देशभक्तिको भाव कसैमा किञ्चित् देखिँदैन । यसै पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेको देश । त्यसमाथि युरोप–अमेरिका जाने र पैसा कमाउने लोभमा परेका सामान्य मानिसले घरखेत बेचेर र ऋणपान गरेर लगाएको पैसाको बिस्कुन । सत्तामा बस्नेहरूको कुकर्मका कारण अधोगतितिर लागेको समाज ।

देशमा एउटा निर्वाचित संसद् छ जुन राष्ट्रिय हास्य क्लबजस्तो छ । सांसदहरूलाई देश निरन्तर अधोगतितिर बढिरहेको पत्तो छैन । मूल्य पद्धतिमा ह्रास आएको छ । विश्वासको संकट बढ्दो छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्नेजस्ता हाम्रा आधारभूत मान्यताहरू खलबलिएका छन् । राजा–महाराजाहरू भूतकालमा घीउ–भात खाएको हात जनतालाई सुँघाएर आकर्षित गर्न खोज्दै छन् । गुरु गोरखनाथको कृपाले नेपाल राष्ट्रको भाग्यविधाता बनेर देशको शासनमा फर्किने मृगतृष्णामा बाँचेका शासकका अगाडि आफ्नै खराब आचरणका कारण नेताहरू खुम्चिएका छन् । यसमा कुनै शंका छैन, नेपाली समाज यो स्थितिबाट पार त हुने नै छ । यसमा कुनै शंका छैन ।

तर, कहिलेसम्म हामी यो स्पन्दनहीन अवस्थामा बस्नुपर्ने हो ? अहिलेसम्म यो प्रश्नको जवाफ दिन सक्ने सपूत देखिएको छैन । समाज भ्रमित छ । यसलाई भ्रममुक्त तुल्याउन जनता नै अघि सर्नुपर्छ । त्यसको अर्को विकल्प छैन ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?