भुइँसत्ताका घुनपुत्ला

कोही सीडीओ आफू ठीक हुन्छ तर उसको कार्यालयमा वर्षौंदेखि रजगज गर्दै आएका घुनपुत्ला कर्मचारीहरूले भ्रष्टाचार, अनियमितता, अख्तियार दुरुपयोगका लागि आइडियाहरू उमारिरहेका हुन्छन् ।
चन्द्रकिशोर

सन् १९८० को दशकको कुरा हो । ‘द टाइम्स’ का संवाददाता ट्रेवोर फिसलांकले छिमेकी भारतीय राज्य बिहारको यात्रापछि फर्केर लेखे— ‘बिहार भारतको सिवर हो !’ जब फिसलांक ‘इन्डियन नेसन’ को पटना कार्यालयमा गए, जुन तत्कालीन समयमा त्यहाँको अग्रपंक्तिको पत्रिका थियो, त्यहाँ सम्पादकले जुन शब्दहरूका साथ तिनको अभिवादन गरे, ती थिए— ‘वेलकम टु हेल !’

यसबीच कैयौं दशक बिते । राजनीतिक समीकरण र सत्ता फेरबदल भइरहे । प्रत्येक मुख्यमन्त्रीले आफ्नै तरिकाले कुशासन स्थापित गरिरहे । स्थायी सरकार भनिने प्रशासन तन्त्रले यस्तै आहालमा लडीबुडी गर्दै आयो । भ्रष्टाचार संस्थागत हुँदै आयो र बिहारको परिचय बन्यो । यतिखेर मधेशका कतिपय जिल्लाको अवस्था बिहारको भन्दा पृथक् छैन भन्नेहरू कम छैनन् ।

शक्तिशाली सीडीओ

मधेश दुई थरीको छ । एउटा प्रादेशिक संरचनाको मधेश, अर्को विगतका आन्दोलनहरूबाट स्थापित मधेशको भौगोलिक अस्तित्व । हो, मुलुक संघीय संरचनामा छ । प्रदेशसभाको दुई पटक निर्वाचन भैसकेको छ । तर कैयौं मामिलामा प्रदेश सरकारभन्दा बढी शक्तिशाली सीडीओ (प्रमुख जिल्ला अधिकारी) छ । सरकारले निर्धारण गरेको मर्यादाक्रममा सीडीओ कसको तल छ वा माथि, त्यसको कुनै तुक छैन । सीडीओ आज पनि जिल्लाको राजा (कानुनतः अब देशमा राजा छैनन्) छ र ऊ संघीय सरकारको आँखा, नाक र कान हो ।

सीडीओको हैकम आज पनि कम छैन । बहुतहका सरकारका कामहरू जुन रूपमा थपिए, राज्यको चेहरा लोककल्याणका नाममा जीवनको प्रत्येक क्षेत्रमा हस्तक्षेपकारी बन्यो, त्यही अनुपातमा सीडीओको तागत र अहं बढ्यो । लोकतन्त्र निर्वाचनहरूमार्फत भुइँतहसम्म पुगेको छ, भुइँमान्छेको अधिकारका लागि जागरुकता बाक्लिएको छ तर सीडीओको तागत गजबसँग अपरिमित हुँदै आयो । जनप्रतिनिधिभन्दा सीडीओ शक्तिशाली देखियो ।

भुइँमान्छेको मनमा सीडीओको कस्तो विम्ब छ ? उसले जिल्ला प्रशासन कार्यालयलाई कुन रूपमा लिन्छ ? लोकतान्त्रिक मूल्यको संरक्षण, विधिको शासनको संवर्द्धन तथा मानव अधिकारको प्रत्याभूति सामान्य नागरिकसम्म कुन रूपमा पुगेको छ र राज्यमा भुइँमान्छेको कत्तिको स्वामित्व बढ्दै गएको छ, त्यस आधारमा भुइँसत्ताका चेहरा र चाल ठम्याउन सकिन्छ । भुइँसत्ता सोझो अर्थमा भुइँमान्छेहरूसँगको राज्यको सम्बन्ध र सरोकारको सगोल स्वरूप हो । देहातमा कहावत छ, ‘उपर उपर पी जाते हैं जो पीने वाले हैं’ ।

अहिलेसम्म भोगिएको यथार्थ हो— लोकतन्त्रको लाभांश माथिमाथि नै फालाफाल छ, पीँधका मान्छेसम्म पुग्न सकेकै छैन । जिल्ला तहको कुनै सरकारी अड्डामा सामान्यजनले बेहोर्ने हैरानी, जालझेल, ठगी, समयको अपव्यय र अपमानको मात्रामा खासै सुधार छैन । पालिका तहकै संरचनामा सेवा र सुविधा लिन पनि कम्ती चक्रव्यूहबाट गुज्रिनुपर्दैन ! यो राज्यको अनुहार हेर्नुपरे कुनै सरकारी अड्डामा लाम लागेका सामान्य मान्छेहरूको उकुसमुकुस हेर्दा हुन्छ ।

‘पञ्चायत ढले, सीडीओ पले’

हालको अवस्थामा सीडीओको चुरीफुरी पञ्चायती अवशेष हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेकाले सीडीओलाई पनि नयाँ परिवेश अनुरूप रूपान्तरण गर्नुपर्थ्यो, त्यो भएन । सीडीओको संस्थाकरण एवं प्रभावकारिता वृद्धिका उपायहरूबारे पर्याप्त अध्ययन भएको छैन । सीडीओको हातमा निकै शक्ति थुपार्नु पञ्चायतकालीन प्रशासनको एउटा महत्त्वपूर्ण ‘इनोभेसन’ थियो । यस संरचनामाथि निरन्तर निर्भरता त्यसकै छाया हो । रोचक तथ्य के छ भने, यो संस्थाले जनमानसमा गहिरो छाप छोडेको छ; यसको त्रास र आस छ । त्यसैले होला, जुन स्थानीय नेताको सीडीओसँग बढी हिमचिम छ, उसका पछाडि भनसुन गराउनेहरूको ताँती हुन्छ ।

अचेल तराईका जिल्लाहरूमा हुने सरकारी वा गैरसरकारी कार्यक्रमहरूमा जब सीडीओ आफूसँगै सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला तहका प्रमुख लिएर पुग्छ तब थाहा हुन्छ शक्ति अभ्यासको नाभि कहाँनिर छ । जिल्लामा सीडीओको शासन चल्छ । ‘रुल अफ सीडीओ ।’

संविधान कार्यान्वयनको संक्रमणकालमा कतिपय अस्पष्ट नीति–निर्देशनका छिद्रहरूबाट सीडीओहरूले खेल्न पाएका छन् । कतिपय सीडीओको व्यवहार आफू कार्यरत जिल्लालाई मौजा ठान्ने खालको हुन्छ । त्यहाँ ‘रेट फिक्स’ गर्ने बिचौलियाहरू खुलेआम घुम्छन् । कसैको ‘सिक्रेट रेट’ त कसैको ‘डाइरेक्ट रेट’ हुन्छ । जुन जिल्लामा सीडीओ, सशस्त्र प्रहरी र जनपद प्रहरीबीच कमाउने र कज्याउने स्वार्थमा मिलीभगत छ, त्यहाँ ‘क्याप’ (सीएपी) आतंक छ ।

अर्थात्, सीडीओ, आर्म्ड पुलिस र पुलिसको आतंक । आम मान्छेलाई बोर्डर वारपार गर्दा अनेकौं खोजबिन गरिन्छ तर तस्करहरूको रजगज चलिरहेको हुन्छ । पछिल्ला दशकमा जेलमा थुनिएका कैदीलाई आम माफी सूचीमा पार्न असल चरित्रको प्रमाणपत्र दिन हुने चलखेल होस् वा सार्वजनिक जग्गाहरूको खरिदबिक्रीमा, सीडीओतन्त्रको सहमति हुन्छ नै । जिल्लामा जहाँ सीडीओको स्वार्थ बाझिन्छ, केवल त्यहीँ हेराफेरीको सूचना बाहिरिन्छ वा कारबाहीको खेल सुरु हुन्छ । सीडीओलाई नमिलाई–नरिझाई जिल्लामा सुखै छैन । तराईमा रणनीतिक स्वार्थ राख्ने शक्तिराष्ट्रहरूका कूटनीतिज्ञहरूले पनि सीडीओलाई रिझाउन अनेकौं कसरत गरिरहेका हुन्छन् ।

सीडीओशाही भर्सेज लोकशाही

आम मान्छेमा सहने अदम्य शक्ति हुन्छ । ऊ प्रायः भनसुन गराएर वा लेनदेन गरेर भए पनि आफ्नो काम कानुनसम्मत रूपमा गराउन खोज्छ । यता जनतामा प्रभाव कायम राख्ने वा जसरी पनि आफ्ना मान्छेको काम फत्ते गराउने जोगाडमा रहेका राजनीतिजीवीहरूले सीडीओको गलत अभ्यास वा हैकमलाई ‘न्यु नर्मल’ का रूपमा स्वीकार गरेका हुन्छन् । सर्वदलीय बैठक पनि हुन्छ तर त्यहाँ जिल्लाका वास्तविक समस्याहरूबारे विरलै छलफल हुन्छ । जिल्लामा पारदर्शी र जवाफदेह लोकप्रशासन छैन ।

सीडीओको चिनारी कुनै दल वा नेताको मान्छेका रूपमा स्थापित भएको हुन्छ । सीडीओहरू पनि कमालका छन् । एउटा जिल्लामा अमुक दल वा केन्द्रमा प्रभाव बनाएका नेतासँग नजिकको सम्बन्ध बनाएका हुन्छन्, तर संघीय सरकारमा समीकरण फेरबदल हुनेबित्तिकै तिनीहरूको चालढाल बदलिन्छ । प्रहरी–प्रशासनसँग सामीप्य बनाएका बिचौलियाहरू अचेल सीमान्तीकृत समुदायबाट खोज्न थालिएको छ । सीडीओ–सत्ताको समाजशास्त्र बदलिएको छ ।

मूल्यान्तरको सीमावारिपारि कारोबार वा अवैध सामग्रीको ओसारपसार केही दशकअघिसम्म प्रायः नाका सहरहरूमा केन्द्रित थियो । जिल्लास्तरीय सञ्चारमाध्यमहरूमा तिनै तस्करहरूका नाम आउँथे । सीडीओ–सत्ताको अर्थ–राजनीति बदलियो । बेलाबेला हुने आन्दोलनको परकम्पमाझ सामञ्जस्य बनाउने र मौजा कायम राख्ने तौर–तरिकामा सामान्य संशोधन हुँदै गयो । तराईका जिल्लाहरूमा सडक कनेक्टिभिटी बाक्लो भएसँगै भारतीय सीमा क्षेत्रतिरको आउजाउका लागि अनेकौं बाटाहरू जोडिए । यस्तोमा देहातका सामान्य कारोबारीलाई प्रोत्साहित गरियो र उनीहरू छोटो अवधिमै ठूला तस्कर भए । यो परिदृश्य जिल्ला सदरमुकाममा तुलनात्मक रूपमा बढी ‘भिजिवल’ हुने गर्छ । सीडीओ–सत्तालाई बढी दण्डवत् गर्नेहरूमा संरक्षण पाएका नयाँ तस्करहरू नै हुन्छन् ।

सीडीओशाहीले लोकशाहीका मूल्य, मान्यता र मानकहरूलाई खण्डित गरिदिएको छ । एउटा जिल्लामा विवादमा मुछिएको सीडीओको सरूवा भएर अन्यत्र जाँदा निर्मलीकरण भैसकेको हुन्छ । सीडीओहरू नयाँ जिल्लामा पुग्दा आफ्नो अनुकूलको नागरिक समाज, मीडियाकर्मी र राजनीतिजीवीहरूको घेरा बनाउँछन् । स्वागत र बिदाइका प्रायोजित कार्यक्रमहरू गराउँछन् । जिल्लाको शक्तिकेन्द्र मानिएको सीडीओको सान्निध्यप्राप्तिका लागि आन्तरिक प्रतिस्पर्धीहरू कम हुँदैनन् । कोही सीडीओ आफू ठीक हुन्छ तर उसको कार्यालयमा वर्षौंदेखि रजगज गर्दै आएका घुनपुत्ला कर्मचारीहरूले भ्रष्टाचार, अनियमितता, अख्तियार दुरुपयोगका लागि आइडियाहरू उमारिरहेका हुन्छन् । जिल्लाको सुरक्षा–तन्त्रसँग ‘मौजा’ कायम राख्नमा विज्ञ नै हुन्छन् यस्ताहरू ।

सीडीओ भुइँ प्रशासनका लागि महत्त्वपूर्ण, दूरगामी, संवेदनशील तथा सर्वोपरि विषय हो । प्रादेशिक अभ्यासको प्रादुर्भावसँगै सीडीओ पद र संस्थाको अवधारणामा व्यापक परिवर्तन देखा परेको छ । यसको व्याख्या हालसम्म आआफ्नै प्रकारले हुँदै आएको छ । प्रदेशका सन्दर्भमा कस्तो समन्वयात्मक प्रशासन हुने ? सीडीओ पदको नाम फेर्ने कि ? व्यक्ति, क्षेत्र तथा अवधारणा अनुरूप यस सम्बन्धी मत पनि फरक छ र भुइँमान्छेमाझ सीडीओतन्त्रको त्रास मेटाउनु छ; जिल्लाको ‘सुपर बोस’ को नयाँ अवतारका रूपमा सीडीओले निर्माण गरेको सामाजिक अर्थतन्त्रमाथि नागरिक निगरानी बढाउनु छ ।

प्रकाशित : जेष्ठ ११, २०८० ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

शरणार्थी प्रकरणले प्रहरी ‘गुटबन्दी’ छताछुल्ल

शरणार्थी प्रकरणमा प्रहरीको प्रशंसा भइरहेका बेला जस लिन प्रहरीका दुई कित्ता सक्रिय,  यसको पृष्ठभूमि आईजीपीमा बढुवाका लागि यसअघि चर्किएको खेलकुदसँग पनि जोडिन्छ
कान्तिपुर संवाददाता

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँगै नेपाल प्रहरीभित्रको गुटबन्दी पनि छताछुल्ल भएको छ । यो प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर नै मुछिने सूचना सार्वजनिक भएका छन् । अर्कातिर हिरासतमा रहेका आरोपितलाई बयान फेर्न प्रभावित गर्ने गरी सन्देश र पत्र आदनप्रदान गर्न दिएको खुलेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमाथि प्रश्न उठेको छ ।

अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार भएदेखि नै उनलाई उम्काएको आरोप आईजीपी कुँवरमाथि लागेको थियो । एमाले सांसद रायमाझी पक्राउ पुर्जी जारी भएको दिन गत वैशाख २० मा अर्घाखाँचीको कार्यक्रममा सहभागी थिए । प्रहरी सुरक्षा घेरामा भएको कार्यक्रममा सभामुख देवराज घिमिरेसमेत उपस्थित थिए । त्यही बेला आईजीपी कुँवर र रायमाझीबीच संवाद भएको थियो । रायमाझीले आफैं आउँछु भनेकै भरमा उदार बनेको प्रहरीले उनीमाथि निगरानीसमेत गरेको थिएन । लगत्तै उनी सम्पर्कविहीन भएका थिए ।

रायमाझी फरार भएको विषयमा कुँवरको भूमिका रहेको आशंका गरिएको थियो । तर उनी निकट एक अधिकारीले भने ‘सांसदसमेत रहेका व्यक्तिले म आउँछु, भाग्दिनँ भनेर आश्वस्त पारेपछि भाग्ने कल्पना गरिएन, यही कमजोरी भयो ।’ प्रहरी प्रधान कार्यालयको टोलीले रायमाझीलाई ११ दिनपछि काठमाडौंको बूढानीलकण्ठबाट नियन्त्रणमा लियो । तर, कुँवरमाथिको प्रश्न यथावत् छ ।

कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला शरणार्थी मुद्दाको अनुसन्धान नगरेको आरोप पनि छ । उनी कार्यालय प्रमुख रहेका बेला गत वर्ष शरणार्थी प्रकरणका २ आरोपित पक्राउ परेका थिए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेको दबाबमा उनीहरूलाई छाडेको आरोप कुँवरमाथि छ ।

आरोपित जोगाउन तत्कालीन गृह सचिव पाण्डे र गिरोहका नाइकेबीच गत वर्ष भएको संवादको विवरण पनि बाहिरिएको छ । संवादमा पाण्डेले कुँवरसँग कुरा गरेर मिलाउने उल्लेख गरेका छन् । यद्यपि सार्वजनिक संवादमा कुँवर आफैं सहभागी देखिएका छैनन् । यसबारे आफूलाई कुनै जानकारी नभएको उनको दाबी छ ।

शरणार्थी प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसक्दा पनि संगठन र नेतृत्वप्रति लाञ्छना लगाउन संगठनकै एउटा समूह लागेको आईजीपी कुँवरको भनाइ छ । ‘समग्र संगठनको छवि र चेन अफ कमान्डमा असर पुर्‍याउने गरी प्रायोजित दुष्प्रचार भएका छन् । यसप्रति प्रहरी संगठन र मेरोतर्फबाट गम्भीर आपत्ति छ,’ उनले भने, ‘यो भित्रभित्रै गुटबन्दी गरेर व्यक्तिगत स्वार्थ सिद्ध गर्न नेतृत्वमा लाञ्छना लगाउने प्रयास हो । यस्ता कुरामा कुनै सत्यता छैन ।’

अर्कोतर्फ काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखमा एआईजी श्याम ज्ञवालीमाथि पनि संगठनको अर्को पक्षले प्रश्न उठाएको छ । अदालतबाट म्याद थपेर सिंहदरबार हिरासतमा राखिएका सचिव पाण्डेलाई सोधपुछका लागि भन्दै पटक–पटक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगिएको थियो ।

प्रहरी परिसरले अनुसन्धान अधिकृतसमेत तोकेर बयान लिइरहेकोमा माथिल्लो कार्यालयमा लगेर भेटघाट गराउनु नियमविपरीत भएको प्रहरी अधिकारीको भनाइ छ । यद्यपि ज्ञवालीनिकट अधिकारीहरूले केरकारका लागि बोलाइएको दाबी गरेका छन् । तर, यो बीचमा हिरासतमा रहेका पाण्डे र बाहिरको शक्तिबीच सन्देश आदानप्रदान गर्न प्रहरीले सघाएको आरोप भित्रैबाट लागेको छ ।

अदालतमा बुधबार दायर अभियोगपत्रमा भनिएको छ, ‘हिरासतमा रहेका सचिव पाण्डेले अनुसन्धानलाई कमजोर बनाउन र पूर्वगृहमन्त्री खाणको संलग्नता लुकाउन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीमार्फत काम गराउनका लागि खाणका पूर्वस्वकीय सचिव नरेन्द्र केसीलाई पत्र पठाएको खुलेको छ ।’ उपत्यका प्रहरी प्रमुख ज्ञवाली भने पछिल्ला विवाद गुटबन्दीसँग सम्बन्धित नरहेको दाबी गर्छन् । ‘यो गुटबन्दी होइन, सोच्ने क्षमतामा भर पर्ने कुरा हो,’ उनले भने ।

अनुसन्धान प्रभावित गरेको विषय किर्तेमा मुद्दा चल्ने/नचल्ने सन्दर्भमा पनि जोडिन्छ । सरकारी वकिलको कार्यालयमा बुझाइएको रायसहितको प्रतिवेदनमा आरोपित कसैलाई पनि किर्तेमा मुद्दा चलाउन सिफारिस गरिएको थिएन । तर सरकारी वकिल कार्यालयले बुधबार सबै आरोपितविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधसहित किर्तेमा पनि मुद्दा चलाएको छ । पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा अनुसूची हेरफेर गरी किर्ते गरेको अभियोगमा कसुर थपिएको हो । प्रहरीको रायमा पनि किर्ते कसुर समेट्ने योजना थियो । चलखेल र हस्तक्षेपका कारण त्यो छुटाइएको एक प्रहरी अधिकारीले बताए ।

शरणार्थी प्रकरणको अनुसन्धानमा जनस्तरबाटै प्रशंसा भइरहेका बेला जस लिन प्रहरीका दुई कित्ता सक्रिय देखिन्छन् । प्रहरीभित्र देखापरेको गुटको अर्को कारण एक वर्षयताको बढुवालाई पनि लिइन्छ । उमेर बढाएर प्रहरी सेवामा प्रवेश गरेको विवादमा प्रहरी प्रधान कार्यालयले छानबिन थालेपछि डीआईजी अशोक सिंहले गत फागुन १० मा पदबाट राजीनामा दिएका थिए, ज्ञवाली भने चुपचाप बसे । उमेर गुज्रिएपछि प्रहरी सेवा प्रवेश गरेको आरोप अर्का प्रहरी अधिकारी ज्ञवालीमाथि पनि लागेको छ ।

२०५१ चैत ५ मा सेवा प्रवेश गरेका सिंह र ज्ञवालीको उमेरसम्बन्धी विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगिसकेको थियो । अख्तियारबाट अनुसन्धान नसकिँदै सिंह बाहिरिएका थिए । अख्तियारले उमेरसम्बन्धी छानबिनका क्रममा जवाफ पठाउन गृह मन्त्रालयलाई निर्देशन दियो । गृहले यसमा कुनै विवाद नभएको जवाफ अख्तियारलाई पठाएको थियो ।

गत फागुन २६ मा पाँच डीआईजीहरू एआईजीमा बढुवा हुँदा वसन्त कुँवर पहिलो र ज्ञवाली पाँचौं नम्बरमा सिफारिसमा परे । ज्ञवाली पनि नेतृत्वका लागि प्रतिस्पर्धामा थिए । अख्तियारले आफूलाई बढुवा हुन नदिन नागरिकता प्रमाणपत्र छानबिनको विषय अघि सारेको भन्दै उनी रिसाए । अख्तियारबाट विवाद किनारा नलाग्दै कुँवर आईजीपीमा बढुवा भए ।

कुँवर आईजीपी भएको अर्को महिना वैशाख १४ मा अख्तियारले ज्ञवालीको उमेरसम्बन्धी अनुसन्धान तामेलीमा राखेर भोलिपल्ट प्रहरी प्रधान कार्यालयलाई पत्र पठायो । अनुसन्धानका नाममा आफूलाई बढुवा रोक्नकै लागि ‘योजनाबद्ध’ रूपमा अख्तियारमा उजुरी हालेको र बढुवा भइसकेपछि त्यसलाई तामेलीमा राखेको भन्दै ज्ञवालीले असन्तुष्टि जनाएका थिए ।

‘व्यक्तिकेन्द्रित पक्ष र विपक्ष अनि गुटबन्दीको असर सिंगो संगठनलाई पर्छ । तर व्यक्तिकेन्द्रित लाभकै लागि संगठनलाई ध्रुवीकरण गर्न खोजियो । यो दुर्भाग्यपूर्ण छ,’ प्रहरीका एक डीआईजीले कान्तिपुरसँग भने, ‘नागरिकको विश्वास गुम्ने गरी हुने गतिविधि संगठन र मुलुककै लागि पनि हानिकारक छ ।’

प्रकाशित : जेष्ठ ११, २०८० ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×