शरणार्थी, मानव बेचबिखन र तस्करी

नक्कली शरणार्थी प्रकरण भ्रष्टाचार मात्र हैन, मानव तस्करी, बेचबिखनसँगै राज्यविरुद्धको संगठित अपराध हो । यसमा संलग्न व्यक्तिहरूलाई हदैसम्मको कारबाही हुनुपर्छ ।
नीलम शर्मा

विश्वमा संगठित अपराधको सूचीमा मानव बेचबिखन र तस्करी दोस्रो नाफामूलक आपराधिक व्यापारमा पर्छन् । संयुक्त राष्ट्रसंघका अनुसार, संगठित अपराधबाट विश्वको कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ७ प्रतिशत (१.६ ट्रिलियन डलर) बराबरको रकम कारोबार हुने गर्छ ।

विश्व बैंकका अनुसार, करिब १ ट्रिलियन डलर नियमनकर्ता अधिकारीहरूले घूसबापत पाउने गर्छन् । यद्यपि, विश्वमा सन् २०२० मा विकास सहायतामा छुट्याइएको रकम भने १९४ मिलियन मात्र भएको तथ्यांकले देखाउँछ । यसबाट विकासमा हुने लगानीभन्दा संगठित अपराधको कारोबार कति ठूलो छ भनी अनुमान गर्न सकिन्छ । संगठित अपराधका कारण विश्वभर नै हरेक वर्ष हजारौं मानिसले ज्यान गुमाउँछन्, लागूपदार्थजन्य स्वास्थ्य समस्याबाट प्रभावित हुन्छन्, हतियारजन्य वा अन्य हिंसाबाट प्रभावित छन् र दासतापूर्ण अवस्थामा बाँच्न बाध्य हुन्छन् । अन्तरदेशीय संगठित अपराधभित्र मानव बेचबिखन र तस्करीबाहेक लागूपदार्थको तस्करी, सम्पत्ति शुद्धीकरण, हतियार, जंगली जनावर र सम्पदाको ओसारपसार तथा बेचबिखन र हालैका वर्षहरूमा साइबर अपराध रहँदै आएका छन् । विश्वमा संगठित अपराधका स्वरूपहरू समयसँगै परिवर्तित भइरहेका छन् । विश्वव्यापीकरण, आर्थिक असमानता, विभेद, बेरोजगारी, द्वन्द्व, राज्यविहीनता, जलवायु परिवर्तन, श्रम बजारमा सस्तो श्रमको माग र आपूर्ति, सञ्चारमा आएको परिवर्तनजस्ता कारणहरूले संसारभर नै आन्तरिक र बाह्य आप्रवासनको दर बढ्दो छ । र बढ्दो आप्रवासनकै अनुपातमा मानव बेचबिखन, तस्करी लगायतका अपराधको बजार र नाफा पनि मौलाउँदो छ ।

हाल देशमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर राजनीतिक दलहरू र कर्मचारीतन्त्रका उच्चपदस्थहरूको संलग्नतामाथि छानबिन सुरु भएको छ । प्रमाणित नहुँदासम्म कोही पनि अपराधी करार हुँदैन, गर्न पनि मिल्दैन, तर उच्चस्तरको राजनीतिक र प्रशासनिक संलग्नताबिना यो अपराध असम्भव हुने हुँदा आरोपितहरू कुनै न कुनै रूपमा घटनामा समावेश हुन सक्ने सम्भावना प्रशस्त छ ।

नेपालमा मानव बेचबिखन र तस्करीको जालो

नेपालमा मानव बेचबिखनको इतिहास नयाँ होइन । राणाकालदेखि नै मानिसहरूलाई दास बनाउने, दरबारभित्र वा भारतमा ओसारपसार र बेचबिखन गरिएका प्रमाणहरू पाइन्छन् । यसका प्रभावितहरूमा प्राय: बहिष्करणमा परेका समुदाय, महिला, बालिकाहरू हुने गरेको तथ्य पनि जगजाहेरै छ । केही दशक अगाडिसम्म बेचबिखन भन्नासाथ भारतका कोठीहरूमा नेपालका गाउँका युवतीहरूलाई पुर्‍याइने काम भन्ने आम बुझाइ थियो । यस्ता युवतीहरू गरिब, अशिक्षित, सूचनाबाट वञ्चित र दलालको फन्दामा छिट्टै पर्न सक्ने सम्भावना रहेका भन्ने धारणा पनि थियो । देशमा भएका राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनहरू र अस्थिरतासँगै आप्रवासनको दर बढ्दै गयो । बेचबिखन र आप्रवासनको अन्तरसम्बन्ध छुट्याउन गाह्रो र पेचिलो बन्दै गयो । अवसरको खोजीमा होस् वा बाध्यात्मक परिस्थितिमा परेर, हरेक वर्ग र लिंगका मानिसहरू देशभित्रै वा बाहिर बसाइँसराइ हुने दर बढ्यो । आप्रवासन जीविकोपार्जन र परिवर्तनको साधन मात्र बनेन, आधारभूत मानव अधिकारको सूचक पनि बन्दै गयो । मूलत: आप्रवासन व्यक्तिको स्वैच्छिक रोजाइ हुनुपर्नेमा विभिन्न कारणले गर्दा बाध्यात्मक बन्न पुग्यो र मानिसहरू यसका निम्ति जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्न थाले । बेचबिखनका परिवर्तित आयामहरूसँगै युवती र महिलाका साथै ठूलो संख्यामा बालबालिका र पुरुषहरू पनि यसको फन्दामा पर्न थाले । समाजमा व्याप्त अभावसृजित आवश्यकता र बाध्यताको मनोभावबाट ठूलो र सजिलै नाफा कमाउन सक्ने अवसर देखेका दलाल र तस्करहरूले परिस्थितिको उच्चतम फाइदा उठाउन थाले । असुरक्षित आप्रवासन, सरकारको कमजोर नीति र अनुगमनका कारण जोखिम अझै बढ्दै गयो । यस्तो आपराधिक व्यापार मौलाउनुका पछाडि यो संस्थागत, नीतिगत र संगठित बन्दै जानु थियो । सस्तो श्रमको सजिलै आपूर्ति हुने देखेपछि छिमेकी भारतदेखि खाडी राष्ट्रहरू, चीन हुँदै अन्तर्राष्ट्रिय तह र बहुराष्ट्रिय कम्पनीसम्म दलाल र तस्करहरूको जालो फैलिँदै गयो । परिणामस्वरूप, यस अपराधमा पेसागत अपराधीहरू त छँदै थिए, राजनीतिक दलहरू र कर्मचारीतन्त्रका उच्चपदस्थहरू समेत भागीदार रहेको वास्तविकता बिस्तारै बाहिरिँदै छ । नक्कली भुटानी शरणार्थी प्रकरणले समेत यसको पुष्टि गर्दै छ । तर अपराधको जालो यस घटनामा मात्र सीमित छैन ।

मानव बेचबिखन र तस्करी एवं भ्रष्ट राज्य प्रणाली

विश्व बैंकले भ्रष्टाचारलाई व्यक्तिगत फाइदाका निम्ति सार्वजनिक शक्तिको दुरुपयोग भनेर परिभाषित गरेको छ । संयुक्त राष्ट्रसंघको भ्रष्टाचारविरुद्धको महासभाले भ्रष्ट व्यवहारहरूभित्र जिम्मेवारीको उल्लंघन, घूस लिनु वा दिनु, कारोबारको सहजीकरण गर्नुदेखि कुनै घटनामा निष्क्रिय सहभागिता राख्नु, बेवास्ता गर्नु र भ्रष्टाचारका सूचकहरू रहेको थाहा पाउँदापाउँदै पनि तिनको बेवास्ता गर्नु र निगरानी नराख्नु हो भनेको छ । माथिका परिभाषाहरूलाई हेर्ने हो भने नेपाल लगायत दक्षिण एसियाका मुलुकहरूमा मानव बेचबिखन, तस्करी र भ्रष्टाचारको नङ र मासुको सम्बन्ध छ । बेचबिखन र तस्करीजस्ता अपराध सहजीकरण गर्नमा भ्रष्ट प्रशासनिक र राजनीतिक प्रणालीले ठूलो टेवा दिएको छ । यद्यपि, यस्ता घटनाहरू बारम्बार बाहिर आए तापनि यस क्षेत्रमा यी दुई बीचको अन्तरसम्बन्ध केलाउने गरी अनुसन्धान, तथ्यसंकलन, विश्लेषण र अभिलेखीकरण प्राथमिक विषय बनेको पाइँदैन । मानव बेचबिखन र दासत्वविरुद्धको क्षेत्रमा लामो समय काम गरेको अनुभवका आधारमा म आफैंसँग बेचबिखन, तस्करी र भ्रष्ट राज्यप्रणालीसँग सम्बन्धित घटनाहरूसँग जानकार रहेकी छु । बहुसंख्यक अपराधिहरू शक्ति, पद, पैसा र पहुँचको संरक्षणमा हुने कारण प्रभावितहरूको न्यायमा पहुँच अत्यन्त कमजोर रहँदै आएको छ । नेपालमा मानव बेचबिखन फौजदारी मुद्दा हो, यसमा २० वर्षसम्मको कैद सजाय हुन्छ र यो कार्य सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको भएमा अतिरिक्त २५ प्रतिशत सजाय हुन्छ । बेचबिखनको कानुनी प्रक्रिया जटिल र बलियो भएका कारण पनि मुद्दाको प्राय: विषयान्तर हुने गरेको छ । बेचबिखनमा परेका व्यक्तिहरूका मुद्दालाई ठगीको वा वैदेशिक रोजगारी अन्तर्गतको मुद्दामा परिणत गर्ने गरिएको छ । जस्तै— वैदेशिक रोजगारीका क्रममा भएका मानव तस्करी र बेचबिखनका मुद्दाहरूको विषयान्तरलाई लिन सकिन्छ । थोरै व्यक्ति कारबाहीमा परिहाले पनि तिनिहरू सबैभन्दा तल्लो तहका दलाल हुने गर्छन् र मूल योजनाकार वा गिरोह अनुसन्धानभित्रै पर्दैनन्, जसका कारण अपराधको जालो घट्नुको सट्टा बढिरहेको छ ।

मानव बेचबिखन र तस्करीलाई भ्रष्टाचार वा राजनीतिक वा अन्तरदेशीय नभएर केवल सामाजिक मुद्दाका रूपमा हेरिएको छ, जसका कारण यसका असर, अन्तरसम्बन्ध र अपराधहरू सधैं ओझेलमा पर्ने र अपराधीहरू अदृश्य रहने गरेका छन् । अपराधीहरू अनुसन्धानको दायरामै नआउने वा सजिलै उम्किने गरेका छन् । बेचबिखनका प्रभावितहरू प्राय: सीमान्तीकृत वर्गका महिला र बालालिका हुन्छन् । तस्करीमा पर्नेहरू चाहिँ तुलनात्मक रूपमा पैसा तिर्न सक्ने क्षमता भएका व्यक्ति र समुदायबाट हुन्छन्, बहुसंख्यक पुरुष हुन्छन् । तस्करीमा दुवै पक्षको सहमति हुने र ठूलो मात्रामा पैसाको चलखेल हुने हुनाले अपराध ढाकछोप गर्न, प्रणालीगत र नीतिगत भ्रष्टाचार गर्न सजिलो हुन्छ । बेचबिखनका प्रभावितहरू शक्ति, पद र पैसाको पहुँचभन्दा टाढा हुने हुनाले मुद्दामा सधैं कमजोर हुन्छन्, न्यायप्राप्तिको बाटामा मुद्दा दर्ता गर्ने अवस्थासम्मै पुग्न सक्दैनन् । यी दुइटै अवस्थाको पृष्ठभूमिमा भ्रष्टाचार जोडिएको हुन्छ । राजनीतिक र प्रशासनिक मिलेमतोबिना दुइटै अपराध सम्भव हुँदैन ।

शरणार्थी प्रकरण : भ्रष्टाचारको मुद्दा कि संगठित अपराध ?

हाल सडक र सदनमा नक्कली भुटानी शरणार्थीको विषयले सबैको ध्यान केन्द्रित गरेको छ । यो विषयमा राजनीतिक दलहरूको अडान के हुने हो, प्रहरीले कसरी अनुसन्धान बढाउने हो, प्रमाणहरू कुन रूपमा प्रस्तुत हुने हुन् र मुद्दा केकति आधारमा र कुन शीर्षक अन्तर्गत चल्ने हुन्, कस्तो सजाय हुने हो — आम नागरिकमा सानो चासो छैन । यो घटना विगतमा जस्तै केही दिनमा सेलाएर जाने वा अपराधीहरूलाई सहायक मुद्दाहरू चलाएर उन्मुक्ति दिइने त होइन भन्ने आशंकाहरू प्रशस्त छन् । यसलाई सामसुम हुन नदिन नागरिकको तहबाट निरन्तर खबरदारी र निगरानीलाई जारी राख्न आवश्यक छ । नक्कली शरणार्थी प्रकरण भ्रष्टाचार मात्र हैन, मानव तस्करी, बेचबिखनसँगै राज्यविरुद्धको संगठित अपराध हो । यसमा संलग्न व्यक्तिहरूलाई त्यही अनुरूप हदैसम्मको कारबाही हुनुपर्छ । सुरक्षा निकाय र सरकारको हालको प्रयासले विधिको शाासनप्रति केही आशा जगाएको छ । सरकारको कामप्रति आम नागरिक आशावादी बन्दै गरेको यो समयमा उनीहरूको साथ–सहयोग लिएर संगठित अपराधको जालो भत्काउनैपर्छ ।

प्रकाशित : जेष्ठ १०, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

बजेट रोक्काविरुद्ध खेलाडी–प्रशिक्षक

कान्तिपुर संवाददाता

विराटनगर — पूर्वनिर्धारित विभिन्न खेलका नाममा विनियोजित रकम सामाजिक विकास मन्त्रालयले रोक्का गर्दा प्रतियोगिता प्रभावित भएको भन्दै सम्बन्धित खेलका खेलाडी, प्रशिक्षक र पदाधिकारीले मंगलबार कोशी प्रदेश खेलकुद विकास बोर्ड तथा सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन् ।

उनीहरूले मन्त्रालयले निर्धारित बजेट निकासा गरेर तोकिएको समयमा खलकुद प्रतियोगिता सञ्चालन हुने वातावण २४ घण्टामा तयार नगरे खेलाडी मैदानमा उफ्रिन छाडेर सडकमा उत्रने चेतावनी दिएका छन् ।

घेराउमा नवौं राष्ट्रिय खेलकुदमा शारीरिक सुगठनका स्वर्ण विजता अवतार श्रेष्ठ, सफ्ट टेनिसका स्वर्ण विजेता युकेश योन्जन र आशिष बोहोरा सहभागी थिए । वैशाख १४ देखि १६ सम्म झापामा सम्पन्न प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा आयोजकमा कोशी प्रदेश सरकारको नाम उल्लेख नगरेको भन्दै प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्देलाई बर्खास्त गर्दै बोर्डको बैंक खाता रोक्का गर्दा पूर्वनिर्धारित विभिन्न खेलका नाममा राखिएको बजेट पनि रोक्का भएको थियो ।

उक्त निर्णयविरुद्ध वाग्लेले रिट दायर गरेपछि उच्च अदालत विराटनगरले उनको बर्खास्तगी कार्यान्वयन नगर्न प्रदेश सरकारका नाममा आदेश दिएको थियो । अदालतको आदेशपछि पनि प्रदेश सरकारले बोर्डको बैंक खाता खुला नगर्दा पूर्वनिर्धारित खेलकुद प्रतियोगिता प्रभावित भएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०८० ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×