२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

साहित्यिक चेत भएका लोकतन्त्रका अथक योद्धा

राजनीतिक संलग्नताका कारण तत्काल परिणाम र लाभ खोजिहाल्ने अहिलेको पुस्ताले पुरुषोत्तम बस्नेतको त्याग, निष्ठा, समर्पण, योगदान र विरासतबाट धेरै प्रेरणा लिन सक्छ ।
शंकर तिवारी

सोलुखुम्बुको लिखुखोलाको अभिजात परिवारमा २००२ सालमा जन्मेका राजनीतिक व्यक्तित्व पुरुषोत्तम बस्नेतको वैशाख २९ गते शुक्रबारका दिन निधन भयो । सक्रिय राजनीतिसँगै विचार निर्माण कार्यमा संलग्न रहने राजनीतिज्ञहरूको अभाव महसुस भैरहेको बेला पुरुषोत्तम बस्नेतको प्रस्थान गम्भीर चिन्ताको विषय हो । पछिल्लो समयमा सार्वजनिक सभा–समारोहमा त्यति धेरै उपस्थित नहुने र काठमाडौंको सिफलमा रहेको निजी निवासमा चिन्तन–मनन र लेखनमा अभ्यस्त रहने उनको दिनचर्या थियो । बीपी कोइराला र कांग्रेस पार्टीका अनेकन् अप्रकाशित सामग्री र इतिहासउपर घोत्लिनमा उनलाई अपार आनन्द लाग्थ्यो ।

साहित्यिक चेत भएका लोकतन्त्रका अथक योद्धा

पुरुषोत्तम बस्नेतका पिताजी मकरध्वज बस्नेत २००७ सालको मुक्ति आन्दोलनको उत्तर क्षेत्रका कमान्डर थिए । उनका तीन दाजुभाइ शिवध्वज, देवीध्वज, प्रेमध्वज सबै नै कांग्रेस राजनीतिमा चुर्लुम्म डुबेका थिए । नेपाली कांग्रेसको समृद्ध जग बस्नेत परिवारको अग्रणी आर्थिक–राजनीतिक योगदानले सिञ्चित छ । सिंगो परिवार नै यसरी राजनीतिमा संलग्न भएकाले पुरुषोत्तमको जीवन पनि राजनीति वरिपरि नै घुम्यो । सोही क्रममा उनले आफूलाई समाजसँग जोडिनका लागि सार्वजनिक जीवनको सुरुआती समयमा साहित्यतर्फ प्रवृत्त गराए । साहित्यिक चेतना त थियो नै, साहित्यिक लेखकका रूपमा कथा, कविता, निबन्धमा उनको कलम चले पनि उनको ख्याति ज्यादा सम्पादकका रूपमा प्रतिष्ठित बन्न पुग्यो । दमननाथ ढुंगानाका शब्दमा, प्रतिबन्धित नेपाली कांग्रेस पार्टीलाई साहित्य, कला र संस्कृतिसँग जोड्ने उनी एक प्रमुख कडी थिए ।

भर्खरभर्खर दल प्रतिबन्ध हुँदा उनी एसएलसी सकेर पब्लिक साइन्स क्याम्पसको विद्यार्थीका रूपमा तत्कालीन लाल दरबारको छात्रावास बासी बन्न पुगेका थिए । छात्रावासकै दिनहरूबाट उनले ‘मुकुट’ साहित्यिक पत्रिकाको प्रकाशन थाले । ‘मुकुट’ लाई नेपाली साहित्यको एउटा मानक पत्रिकाका रूपमा स्वीकार गरिन्छ । नाम ‘मुकुट’ भए पनि पञ्चायतको राप र ताप सुरु भएका बेला स्वच्छन्द साहित्यिक गतिविधि तत्कालीन सत्तालाई पाच्य हुने कुरा थिएन । पुरुषोत्तम पछि २०२६ सालतिर अमलेख संस्थाका तर्फबाट ‘सिउँडी’ पत्रिकाका सम्पादक बने, साथमा अर्का सम्पादक भुवन कोइराला (ढुंगाना) थिइन् । जम्माजम्मी पाँच अंक निस्केको ‘सिउँडी’ संस्थापनको प्रतिरोधी धारको पत्रिका थियो । बीपी निर्वासनमा रहेका बेला ‘तरुण’ लगायतका अनेक प्रकाशनमा समेत पुरुषोत्तम संलग्न थिए ।

कोइराला परिवारसँग पुरुषोत्तमको निकटता दाजु शिवध्वज बस्नेतकी छोरी इन्दिराको विवाह बीपीका भाइ तारिणीका छोरा ज्योतिसँग भएपछि अझ सुमधुर बन्यो । बीपी कोइराला प्रवासबाट फर्केपछि पुरुषोत्तम ‘राजधानी’ साप्ताहिकमा आबद्ध भए । प्रतिबन्धका वर्षहरूमा उनी सोलुखम्बु कांग्रेसको पार्टी सभापति पनि थिए, पार्टी प्रचारप्रसार विभागमा पनि निरन्तर संलग्न रहे । बहुदल स्थापनापश्चात् पार्टी मुखपत्र ‘नेपाल पुकार’ को सम्पादक बने, २०४८ पछि गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त भए । पहिलो संविधानसभामा सदस्य बन्ने अवसरसमेत पाए । केही समय नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य पनि बने । उनले आफूलाई बीपी कोइराला स्मृति ट्रस्टको संस्थापक सदस्य हुँदै कोषाध्यक्षका रूपमा सक्रिय राखिरहेका थिए । निष्क्रिय जीवन उनलाई स्वीकार्य थिएन, रचनात्मक कार्यहरूले उनलाई सदैव आकर्षित गरिरहे । उनको सान्निध्यमा तीन दशकभन्दा बेसी समय बिताएका राजेन्द्र पराजुलीका अनुसार उनलाई तात्कालिक लाभभन्दा पनि कर्मसँग सरोकार थियोÙ कारण, उनी कर्मयोगका लती थिए ।

पुरुषोत्तम बस्नेतले आफूलाई कांग्रेस इतिहासकारका रूपमा ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप,’ भाग १ र २ पुस्तकमार्फत प्रतिष्ठापित गरे । बीपीले कांग्रेसको इतिहास लेख्न सके शैलजा आचार्यले सक्छिन् भनेको कुरा गणेशराज शर्माले उल्लेख गर्नुभएको छ । शैलजा त्यो काम नगरीकन गएको अवस्थामा पुरुषोत्तमले ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ प्रकाशन गर्नु आधिकारिक इतिहास खोजेका कांग्रेसजनका लागि सौभाग्य नै थियो । उनको इतिहासकर्मप्रति मत विभाजित नरहेको भने होइन ।

प्राज्ञिक कर्ममा संलग्न इतिहासकारहरूले पुरुषोत्तमको पुस्तकलाई मूलतः दस्तावेज संकलन मात्र मानेर इतिहासको श्रेय दिन आनाकानी गरे पनि कांग्रेसका राजनीतिकहरूले उनको पुस्तकलाई आधिकारिक इतिहासका रूपमा स्वीकार गर्छन् । आजीवन कोइराला परिवारको भित्रिया/विश्वासपात्र भएकाले होला, उनको लिखत आधिकारिक मानिनु स्वाभाविक पनि हो । वृत्ति विकासभन्दा पनि स्वान्तःसुखाय जीवनको उत्तरार्द्धमा उनले इतिहासको मूल स्रोतमा पुगेर जुन योगदान गरे, त्यसको मुक्तकण्ठले प्रसंशा गर्नैपर्छ । उनको निजी संकलनमा रहेका असंख्य सामग्री बीपी कोइराला स्मृति ट्रस्टलाई हस्तान्तरण गरेर तिनको सुरक्षित संग्रहण र प्रकाशनको चाँजोपाँजो मिलाउन सके धेरै विलुप्त सामग्री सार्वजनिक मात्र हुने थिएनन्, इतिहासका चर्चा गर्न छुटेका दुर्लभ तथ्य र सत्यहरूमाथि न्यायसमेत हुने थियो ।

रोचक कुरा, प्रदीप गिरिको नेतृत्वमा पदमबहादुर थापाले नेहरू मेमोरियल म्युजियम लाइब्रेरीबाट प्राप्त गरेका डायरीहरूको पहिलो भाग शिखा बुक्सले ‘बीपी कोइरालाको डायरी (२००८–२०१४)’ शीर्षकमा प्रकशित गर्‍यो । त्यो डायरी पुरुषोत्तम बस्नेतको संकलनमा समेत रहेको भेटिएपछि त्यसको अंग्रेजी संस्करण प्रध्यापक अभी सुवेदीको सम्पादनमा बीपी कोइराला ट्रस्टले प्रकाशित गरेको थियो । गणेशराज शर्माले ‘जेल जर्नल’ (जगदम्बा प्रकाशन) को भूमिकामा खुलासा गरेको कोइराला परिवारले जोगाएर राख्न नसकेका सम्पदाहरू पुरुषोत्तम बस्नेतको संकलनमा भेटिनु सुखद संयोग नै मान्नुपर्छ । त्यस्ता अनेक खजाना उनको संकलनमा रहेको अनुमान गर्न सकिन्छ ।

२०३७ सालमा बीपी कोइराला चढेको जहाजलाई विराटनगर अवतरण गर्न रोकिँदा भएको प्रदर्शनका क्रममा विराटनगर जेल चलान गरिएका जयप्रकाश गुप्ता आफूहरूभन्दा पहिले नै पुरुषोत्तम बस्नेतको गिरफ्तारी भएको देखेर आश्चर्यमा परेको स्मरण गर्छन् । यो घटनाले के देखिन्छ भने, सृजनात्मक कार्यदेखि आन्दोलनमा सहभागिता जनाएर जेल जाने कार्यमा समेत पुरुषोत्तम हमेशा अग्रणी भूमिकामा रहन्थे । उनले ३० वर्षे पञ्चायतकालमा नौ वर्ष जेल जीवन व्यतीत गर्नुपरेको थियो । जनमतसंग्रहपछि पञ्चायतका आखिरी वर्षहरूबीच कांग्रेस कार्यकर्ताहरू पञ्चायत प्रवेश गरे । पुरुषोत्तमलाई नजिकबाट जान्नेहरूले पञ्चायत प्रवेश गर्न रोकिएका अहिलेका असंख्य स्वनामधन्य नेताहरूलाई पञ्चायत प्रवेश गर्नबाट जोगाउनमा पुरुषोत्तमको अहम् भूमिका रहेको र त्यति बेलाको पत्राचारसमेत सुरक्षित रहेको बताउँछन् ।

पारिवारिक जीवनको कुरा गर्दा, उनको विवाह पहिलो दिनको औपचारिकताभन्दा अगाडि बढेन । ‘मुकुट’ प्रकाशनताका एक साहित्यकारसँगको प्रेम राम्रै अंकुरित भए पनि त्यो विवाहमा परिणत भने भएन । तर त्यसबाट उनको राजनीतिप्रतिको लगाव झन् तीव्रतर र घनीभूत हुँदै गयो । त्योबाहेक उनको जीवनमा बिहे र प्रेम प्रसंगले कहिल्यै स्थान पाएनन् ।

अनुशासित र मर्यादित जीवनशैली र पुर्ख्यौली सम्पत्तिका कारण उनलाई जीवनमा स्रोत र साधनको कमी कहिल्यै भएन । तर त्यो कुराले कहिल्यै उनमा दम्भ र अहंकार भाव विकसित भने गराएन । उनी हमेशा धीर, गम्भीर र दयालु, अर्काको दुःखमा सहयोग गरिहाल्ने प्रकृतिका थिए । युवावयका रुमानी दिनमा त्यति बेलाको महँगो होन्डा बाइक चढेर सहर विचरण गर्नु उनको विचित्रको सोख थियो । साथीभाइहरूसँग उनको व्यवहार सत्ताको लाभांश प्राप्त गर्दा र नगर्दा पनि एकनासको रहिरह्यो । सधैं शान्त र सौम्य, अरूलाई धैर्यपूर्वक सुन्न सक्ने, कुनै ठूलो महत्त्वाकांक्षा र सत्ताको आसक्ति भाव नभएका, सधैं औपचारिक पोसाकमा मात्र देखा पर्ने अन्तर्मुखी स्वभावका उनी सामान्य र सहज थिए एवं देशभरका कार्यकर्ताका लागि हमेशा उपलब्ध पनि ।

उनी साहित्यसाधक र समर्पित लोकतन्त्रवादी थिए । जुनसुकै विषम परिस्थितिमा पनि उनले कांग्रेससँगको संलग्नता, लगाव र झुकावको निरन्तरतामा कमी आउन दिएनन् । झन्डै आठ दशक लामो जीवनकाल उनले सच्चा लोकतन्त्रवादीका रूपमा व्यतीत गरे । कोइराला परिवारनिकट भएर पनि उनीप्रति पार्टीभित्रका अरू साथीको आदरभावमा कहिल्यै कमी वा आँच भने आएन । शारीरिक रूपमा अग्लो कदका उनी योगदानका हिसाबले पनि अग्लो, निर्भीक र विवादरहित बनेर बिदा भए । उनको व्यक्तित्वमा कुण्ठा वा क्लेशको गुन्जाइस थिएन । उनी नामजस्तै उत्तम पुरुष थिए र थिए, भला मानिस पनि । सन्त शैलीको जीवनयापन गरेका अत्यन्त अल्प एवं मृदुभाषी पुरुषोत्तम बस्नेतको निधनसँगै सिंगो देशले एउटा साहित्यिक चेत भएका लोकतन्त्रका अथक योद्धा गुमाउन पुगेको छ । राजनीतिक संलग्नताका कारण तत्काल परिणाम र लाभ खोजिहाल्ने अहिलेको पुस्ताले उनको त्याग, निष्ठा, समर्पण, योगदान र विरासतबाट धेरै प्रेरणा लिन सक्छ ।

प्रकाशित : जेष्ठ ४, २०८० ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?