१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

के विचारको अन्त्य भयो ?

पुराना दलहरू विचार बोकेर बिग्रिएका हैनन्  । विचार छाडे, त्यसैले ती बिग्रिए । तिनीहरूले विचारलाई गतिशील बनाउन सकेनन्, त्यहीँबाट गडबडी भयो । तिनीहरू विचारको निष्ठाबाट च्युत भए, त्यसैले राजनीति फगत दलाली भयो ।
राजनीति सत्ता आरोहणको तुरुपमात्र होइन, जीवनको उन्नयन र सभ्यताको उच्चतम सौन्दर्य चेतना हो । त्यो चेतनालाई दिशानिर्देश गर्छ विचारले । अतः विचारको अन्त्य कहिल्यै हुँदैन ।
केशव दाहाल

के राजनीतिमा विचारको महत्त्व सकियो ? मलाई लाग्छ, यो प्रश्न समकालीन नेपाली राजनीतिले सुन्नैपर्ने खास प्रश्न हो । कुनै समय राजनीतिमा विचारको गरिमा सर्वोच्च थियो । पार्टीहरू विचारका आधारमा चिनिन्थे र आफ्ना विचारलाई स्थापित गर्न नागरिकका बीचमा पुग्थे । बौद्धिक वृत्तमा ज्ञान, विज्ञान, विचार र मुद्दाको चर्चा हुन्थ्यो ।

के विचारको अन्त्य भयो ?

दलहरू आफ्नो राजनीतिक औचित्य पुष्टि गर्न विचारको कसी लगाउँथे । विचारमा प्रतिस्पर्धा गर्थे र विचारको गरिमामा रमाउँथे । तर दुःखद कुरा, पुराना दलहरू बिस्तारै विचारबाट स्खलित हुँदै गए । नयाँमा विचारको ओज र आकर्षण देखिएन । बरु उल्टो भयो, यस्तो कि, पछिल्लो राजनीतिले विचारलाई भन्दा लोकरिझ्याइँलाई प्रोत्साहित गर्न थाल्यो । हेर्दाहेर्दै दुर्भाग्य यस्तो आयो कि आज कहीँकतै कसैले सार्वजनिक बहसमा विचारको प्रश्न सोध्यो भने सामाजिक सञ्जालमा बुर्कुसी मार्दै केही मान्छेहरू कराउँछन्, ‘विचार फजुल कुरा हो ।’ मानौं विचारको कुरा गर्नेहरू पत्रु, परम्परागत र खतम मान्छे हुन् । एक छिनलाई आज म खतम बन्न स्विकार गर्छु र भन्छु, ‘विचारबिनाको राजनीति फगत तमासा हो ।’ यसो भन्नुका खास कारणहरू छन् । ती कारणहरूबारे एकै छिन कुरा गरौं ।

पार्टी राजनीतिमा विचार, मुद्दा र संगठनको त्रिकोणात्मक सम्बन्ध हुन्छ । जस्तो कि, विचार भनेको पार्टीको आँखा हो । चेतना हो । अथवा, अन्तर्निहित उज्यालो हो जसले समाज हेर्न, समस्या केलाउन र समाधानका दृष्टिकोणहरू बनाउन सिकाउँछ । मुद्दाहरू पार्टीले लक्ष्य प्राप्त गर्न चढ्नुपर्ने खुट्किलाहरू हुन् । प्रत्येक मुद्दाहरू समाधान हुँदै जाँदा पार्टी एक कदम अगाडि बढ्दै जान्छ । र, संगठन हो राजनीतिको साधन, जसले राजनीतिक विचार, दृष्टिकोण, मुद्दा, लक्ष्य र सपनाहरूलाई एकीकृत गर्छÙ काँधमा हाल्छ र अगाडि बढ्छ । यो अर्थमा कुनै पनि दल वा राजनीतिमा विचार छैन भने, उसको राजनीतिक चेतना बन्दैन । राजनीतिक चेतना छैन भने मुद्दाहरू प्रस्ट हुँदैनन् । जब बोक्नका लागि संगठनसँग मुद्दाहरू हुँदैनन्, ठीक त्यही विन्दुमा संगठनको प्रयोजन समाप्त हुन्छ । मानौं तपाईंसँग माटो छ, पानी छ । तपाईं कसको वा कस्तो मूर्ति बनाउनुहुन्छ ? वस्तुतः यहाँनेर कसको वा कस्तो मूर्ति बनाउने भन्ने जुन प्रश्न छ, त्यो विचारको प्रश्न हो । अन्यथा मुद्दाहरूको स्थानमा लोकरिझ्याइँ हावी हुन्छ । त्यसले राजनीतिलाई फगत तमासा बनाउँछ । र, नेता बन्छ एक जादुगर । राजनीतिलाई जादु वा तमासाबाट परिवर्तनको सामूहिक प्रक्रियामा रूपान्तरित गर्न विचार चाहिन्छ ।

सबैलाई थाहा छ, हाम्रो संविधान लेखनका समयमा केही विवाद थिए, जो अझै छन् । अझै पनि केही मान्छे वा समुदायका मनभित्र उकुसमुकुस छन् । मान्छेका द्विविधा र कचिंगलहरू अझै शान्त भइसकेका छैनन् । उदाहरणका लागि, कसैलाई अहिले पनि राजा चाहिएको छ, कसैलाई जनगणतन्त्र । कसैलाई हिन्दु राज्य चाहिएको छ, कसैलाई जनमतसंग्रह । कतै संघीयताको विवाद छ, कतै प्रदेशको । हाम्रोमा अझै वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक हेलाहोचो छ । अहिले पनि भूमिसुधारको विषय थाती छ । गुठीको विषय थाती छ । समावेशीकरणको मुद्दामा प्रश्नहरू छन् । हामीले गणतन्त्र ल्यायौं । राज्यको शासकीय संरचनामा परिवर्तन भयो । तर, राज्यको चरित्र परम्परागत नै छ । अझै शासकीय प्रबन्धनमा केही प्रश्न थाती छन् । जस्तो, कस्तो संसद् ? कस्तो सरकार ? कस्तो न्यायालय ? मानौं, शिक्षा र स्वास्थ्यमा भइरहेको माफियाकरणको अन्त्य गर्नुपर्ला । नागरिकताको प्रश्न टुंग्याउनुपर्ला । त्यो कसरी सम्भव हुन्छ ? निश्चय नै, कतिपय विषय संसदीय प्रक्रियाबाट टुंगिएलान् । कतिपय बहुमत र अल्पमतबाट । तर यावत् निर्णयमा भाग लिइरहँदा, दल स्वयं कहाँ उभिन्छ ? दायाँ, बायाँ, अगाडि । अथवा, अल्पमत र बहुमतका बीचमा सामाजिक न्यायको प्रश्न आयो भने दलको अडान कहाँ हुन्छ ? बहुमतको पक्षमा कि न्यायको पक्षमा ? यस्ता अनेकौं मुद्दामा आफ्नो अडान स्पष्ट गर्न दलहरूलाई विचार चाहिन्छ ।

थप सन्दर्भबाट विषयलाई हेरौं । मानौं हामीसँग देश छ, यसको सिमाना छ, जनता छन्, प्राकृतिक स्रोत छ । प्रश्न गरौं, हाम्रो देश अबको सय वर्षपछि कस्तो होला ? कसैका लागि राजनीति चुनावदेखि चुनावसम्मको खेल हो भने यो प्रश्नमाथि ऊ निरपेक्ष बस्दा हुन्छ । अथवा, जेजे अगाडि आइपर्छ, त्यही गर्दा हुन्छ । तर राजनीति चुनावदेखि चुनावसम्मको खेल होइन । यो स्वयंमा लामो र निरन्तरको ‘स्टेट क्राफ्टिङ’ हो । अतः जब सय वर्षपछि देश कस्तो होला भन्ने प्रश्न आउँछ, देशको त्यो सुदूर चित्र बनाउन कुनै पनि दललाई विचार चाहिन्छ । किनभने पाँच महिना वा पाँच वर्षको तमासाबाट भविष्यको आकलन हुँदैन । भविष्यको आकलन गर्न सिलसिलाबद्ध दूरदृष्टि चाहिन्छ । यो अर्थमा, समस्याहरू देख्ने, समाधानको चित्र कोर्ने र परिवर्तनको सपना सजाउने एउटा गम्भीर चेतनापुञ्ज हो विचार ।

कहिलेकाहीँ अनेकौं रमाइला प्रश्न सार्वजनिक बहसमा ठोक्किन आइपुग्छन् । जस्तो, यो देश कसको हो ? देश भनेको माटो हो कि जनता हो ? देश राजाले बनाए कि नागरिकले ? कसैले भन्ला, देश राजाले बनाएको हो । कसैले भन्ला, देश नागरिकले बनाएको हो । एउटै प्रश्नमा उत्तरहरू किन फरक आउँछन् ? किनभने यहाँनेर विचारको फरक छ, त्यसैले उत्तरहरू फरक छन् । कुरा अरू पनि छन्Ù जस्तो कि, राज्यको चरित्र कस्तो हुन्छ ? एउटा पार्टीले भन्ला, राज्य उदार पुँजीवादी हुनेछ । अर्कोले भन्ला, राज्य समाजवादी हुनेछ । अर्को पार्टीले भन्ला, राज्य कल्याणकारी हुनेछ । अर्को पार्टीले भन्ला, हामी नेपाली मौलिकतासहितको धार्मिक राज्य बनाउनेछौं । अर्कोले भन्दा, प्रगतिशील र लोकतान्त्रिक राज्य हाम्रो प्रस्ताव हो । पार्टीले दिने उत्तरहरू किन फरक छन् ? किनभने पार्टीका विचारहरू फरक छन् । त्यसैले पार्टीले बनाउने राज्यको चरित्र फरक छ । यो अर्थमा, विचार भनेको समाजलाई हेर्ने, बुझ्ने र बदल्ने दीर्घकालीन गम्भीरता र सचेत दृष्टि हो । विचार भनेको आफ्नो राजनीतिको औचित्य स्थापित गर्ने बृहत्तर प्रस्ताव हो, जसका आधारमा नागरिकले पार्टीहरूको भीडबाट आफ्नो पार्टी छनोट गर्न सकून् ।

एक समय थियो, लोकतान्त्रिक गणतन्त्र यो मुलुकको मुख्य राजनीतिक लक्ष्य थियो । पछिल्लो जनआन्दोलनबाट त्यो लक्ष्य प्राप्त भयो । अबको लक्ष्य निश्चय नै समृद्धि हो । तर कस्तो समृद्धि ? कसको समृद्धि ? चीनको जस्तो ? अरबको जस्तो ? अमेरिकाको जस्तो ? स्क्यान्डिनेभियनको जस्तो ? अथवा, हाम्रो आफ्नै मौलिकतासहितको ? कि हामीलाई जस्तोसुकै भए पनि समृद्धि भए पुग्छ ? कि भनौं— राजा भए पनि हुन्छ, गणतन्त्र भए पनि हुन्छ । समाजवाद भए पनि हुन्छ, पुँजीवाद भए पनि हुन्छ । लोकतन्त्र भए पनि हुन्छ, तानाशाही भए पनि हुन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी भए पनि हुन्छ, परम्परागत संसदीय पद्धति भए पनि हुन्छ । नेता भए पनि हुन्छ, ईश्वर भए पनि हुन्छ । राजनीति भए पनि हुन्छ, चटक भए पनि हुन्छ । प्रदेश भए पनि हुन्छ, नभए पनि हुन्छ । धर्मनिरपेक्ष भए पनि हुन्छ, नभए पनि हुन्छ । के यसरी देश बन्छ ? के यसरी हामी नागरिक हुन्छौं ? के यसरी हाम्रो राज्य समुन्नत र सभ्य हुन्छ ? यो त मान्छेले जेजे भन्छन्, त्यसैमा रमाउने कुरा भयो । राजनीतिमा दृष्टिकोण चाहिन्छ । दृष्टिकोणबिनाको राजनीति केवल लोकरिझ्याइँ हुन्छ । लोकरिझ्याइँ गरेर समृद्धि र सामाजिक न्यायको दीर्घकालीन लक्ष्य प्राप्त हुँदैन ।

हिजो वैकल्पिक राजनीतिको कुरा गर्दा अनेकौं कोणबाट मार्क्सवादको आलोचना भयो । यसको अर्थ विचार चाहिँदैन भनेको होइन, बरु मार्क्सवादलाई अब कुन विचारले विस्थापित गर्छ, बहस गरौं भनिएको हो । कुनै बेला संसदीय लोकतन्त्र पुरानो भयो भनेकै हौं । यसको अर्थ लोकतन्त्रलाई अस्वीकार गरिएको होइन । बरु उन्नत लोकतन्त्रको माग गरिएको हो । ख्याल गरौं, पुराना दलहरूलाई आलोचना गर्दा उठाइएका वैचारिक प्रश्नहरूको अर्थ विचारको अन्त्य भयो भन्ने होइन । त्यसको अर्थ विचारको नवीकरण, पुनर्गठन वा रचना गर्न आवश्यक भयो भनिएको हो । यहीँनेर एउटा प्रश्न स्वाभाविक हुन्छ, त्यसो भए विचारको राजनीति गर्ने पुराना दलहरू किन असफल भए ? स्पष्ट गरौं, पुराना दलहरू विचार बोकेर बिग्रिएका हैनन् । विचार छाडे, त्यसैले ती बिग्रिए । तिनीहरूले विचारलाई गतिशील बनाउन सकेनन्, त्यहीँबाट गडबडी भयो । तिनीहरू विचारको निष्ठाबाट च्युत भए, त्यसैले राजनीति फगत दलाली भयो । यो अर्थमा, परम्परागत दलहरूलाई आलोचना गरिरहँदा विचार चाहिँदैन भनिएको होइन, बरु आजको राजनीतिलाई आजकै विचारले सुसज्जित गरौं भनिएको हो ।

हाम्रो देश अहिले भयंकर ठूलो राजनीतिक संक्रमणमा छ । पुराना दलहरू भत्किँदै छन् । तर नयाँ दलले आकार लिएको छैन । मान्छेहरू रिसाएका छन् र उनीहरूलाई उन्नत भविष्यतिर आकर्षित गर्ने उज्यालो कतै देखिँदैन । यसको अर्थ राजनीतिक संक्रमणले वैचारिक संक्रमण सृजना गरिरहेको छ । अतः यो वैचारिक बहस गर्ने, वैचारिक मन्थन गर्ने, अझ धेरै अध्यायन–अनुसन्धान गर्ने र ज्ञानको संश्लेषण गर्ने समय हो, ताकि नयाँ धारणा, नयाँ दृष्टिकोण र नयाँ विचारहरू जन्मने वातावरण बनोस् । निश्चय नै, यो सत्य हो कि अब मार्क्सवाद वा पुँजीवाद भनेर पुग्दैन । हामीलाई ताजा र युगसापेक्ष ज्ञान र अनुभवहरू चाहिन्छन् । तर त्यो ज्ञानलाई कसरी उत्पादन गर्ने ? त्यसलाई कसरी प्रवर्द्धन गर्ने ? र, त्यसलाई राजनीतिक रूपान्तरणको मौलिक अभ्यासको आधार कसरी बनाउने ? विचारलाई इन्कार गरेर हैन, विचारलाई स्वीकार गरेर मात्र हामी राजनीतिको गम्भीर मार्गमा अगाडि बढ्न सक्छौं । अन्यथा हाम्रो राजनीतिले उज्यालो दिँदैन । अन्यथा, यो निरन्तर असफलताको चक्रव्यूहमा फस्छ । फेरि पनि फगत अँध्यारो नै बाँड्ने हो भने नयाँ राजनीतिको के अर्थ ?

ख्याल गरौं, जबसम्म हाम्रो समाजको गन्तव्य कता हो भन्ने निर्दिष्ट हुँदैन, विचारको अन्त्य हुँदैन । जबसम्म समाजमा मुद्दाहरू बाँकी रहन्छन्, विचारको महत्त्व सकिँदैन । बहुलवादी समाजमा मान्छेका सपना, कामना, महत्त्वाकांक्षाहरू अनेक हुन्छन् । तिनको व्यवस्थापन गर्न जति बेलासम्म सम्यक् राजनीति आवश्यक पर्छ, विचारको अन्त्य हुँदैन । निश्चय नै, विचारका नाममा सिद्धान्तका जटिल तर्कहरू समाउन र विषयलाई बोझिलो बनाउन आवश्यक नहोला । तर राजनीति सत्ता आरोहणको तुरुप मात्र होइन, जीवनको उन्नयन र सभ्यताको उच्चतम सौन्दर्य चेतना हो । त्यो चेतनालाई दिशानिर्देश गर्छ विचारले । अतः विचारको अन्त्य कहिल्यै हुँदैन ।

प्रकाशित : वैशाख २७, २०८० ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?