२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५
सम्पादकीय

क्रिकेट पूर्वाधारमा पर्याप्त बजेट छुट्ट्याऊ

सम्पादकीय

नेपालमा क्रिकेट अब खालि एउटा खेल होइन, देशकै गौरव भैसक्यो । लक्ष्यहीन राजनीति र लयविहीन अर्थतन्त्रबाट निराश बनेका आम नागरिकलाई पछिल्लो समय सबैभन्दा बढी खुसी केहीले दिएको छ भने, त्यो निःसन्देह क्रिकेट नै हो ।

क्रिकेट पूर्वाधारमा पर्याप्त बजेट छुट्ट्याऊ

हालै मात्र एसीसी प्रिमियर लिग उपाधि जितेर एसिया कप पुग्दा होस्, या त्यसअघि विश्वकप छनोट चरणमा प्रवेश गर्दा, पूरै नेपाल क्रिकेट–सफलतामा प्रफुल्लित बनेको थियो । तर दुर्भाग्यपूर्ण भन्नुपर्छ— यसरी देशलाई नै आनन्दित तुल्याउने क्रिकेटभित्रको अन्तर्कथा भने आफैंमा पीडादायी छ । खेलाडीहरूका लागि नियमित सेवासुविधा त परको कुरा, खेलका लागि भौतिक पूर्वाधारकै स्थिति दयनीय छ ।

नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान विकल्पविहीनजस्तै बनेको छ । र साँच्चै भन्दा, यही मैदान पनि कामचलाउभन्दा गतिलो छैन । धन्न, एकपछि अर्को प्रतियोगिताहरू आयोजना भैरहेका छन् । पछिल्ला तीन महिना त विश्वकप क्रिकेट लिग–२ मा नामिबिया र स्कटल्यान्ड तथा यूएई र पपुवा न्युगिनीसँगको खेलदेखि एसीसी प्रिमियर कपसम्म यहीँ सम्पन्न भए । जहाँ राति खेल सञ्चालन गर्ने सुविधाको त कुरै छाडिदिऔं, दर्शकहरूका निम्ति कुर्सी र ओत पनि छैन । हावाहुरी र वर्षामा दर्शकलाई नियन्त्रण गर्न हम्मे छ । तैपनि नेपाली दर्शकहरूको क्रिकेटप्रेमलाई सलाम भन्नुपर्छÙ झरी परिरहँदा पनि उनीहरू मैदान पुगिरहे ।

बनेको अढाई दशक भैसक्दा पनि यो मैदान लगभग जस्ताको तस्तै छ । पेभेलियन र ‘चेन्जिङ रुम’ मा थोरै परिवर्तन, दर्शकका लागि शौचालयबाहेक अरू उल्लेख्य केही फेरिएको छैन । यही पूर्वाधार अभावकै कारण, नेपालले पर्याप्त अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न पाएको पनि छैन । सन् १९९८ मा एसीसी ट्रफीको आतिथ्य गरेको नेपालले यतिका वर्षपछि मात्रै एसीसीको राष्ट्रिय टोलीको ५० ओभरको प्रतियोगिता गर्न पायो । विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) ले नेपालमा सन् २०१० मा विश्व क्रिकेट लिग डिभिजन–५ आयोजना गर्नुबाहेक, दुई देशबीच वा त्रिकोणात्मक शृंखला मात्र नेपालको आयोजनाको पाटोमा पर्‍यो ।

भनिरहनु परोइन, खेलमा सफलताले जस्तै मुलुकको चिनारी प्रतियोगिता आयोजनाले पनि दिने गर्छ । यस्तो आतिथ्यका बहुआयामिक फाइदा हुन्छन् । यसबाट मुलुकको ‘ब्रान्डिङ’ मात्र हुँदैन, पर्यटनदेखि अर्थतन्त्रसम्म लाभान्वित हुन्छन् । अझ, नेपाल त शान्ति–सुरक्षादेखि हावापानीका दृष्टिकोणबाट समेत अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त छ । कुनै पनि देशसित शत्रुतापूर्ण सम्बन्ध नभएको फाइदा पनि नेपाललाई छ । यस्तो अवस्थामा नेपाललाई हाल बढी गर्मी हुने मुलुकमा भैरहेका प्रतियोगिताहरूको गन्तव्य बनाउन सम्भव छ, त्यसका लागि खालि पूर्वाधार बाधक छ ।

तोकिएको मापदण्ड पूरा नभएकै कारण सन् २०१५ मा नेपालले आयोजना गर्नुपर्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपको पपुवा न्युगिनीविरुद्धका दुई खेल यूएईमा गएर खेल्नुपरेको थियो । कीर्तिपुरबाहेकका अन्य मैदानको टुंगो नलाग्दा नेपाल समावेश एसीसी र आईसीसीका प्रतियोगिता काठमाडौंबाट बाहिरिएका अरू दृष्टान्त पनि छन् । खेल खर्च आफूले बेहोर्नु नपर्ने, पूर्वाधार मात्र भए पुग्ने अवस्थामा हामीसित मैदान पनि नहुनु उदेकलाग्दो छ । जबकि अन्तर्राष्ट्रिय मात्र होइन, स्वदेशकै खेल विकासमा पनि पूर्वाधारको महत्त्व अहम् छ । तसर्थ, यसको विकासमा सरकार गम्भीर हुन जरुरी छ ।

मूलपानीमा निर्माणाधीन खेल मैदानको ८० प्रतिशत मात्र काम सम्पन्न भएको छ । मूलपानी क्रिकेट रंगशाला, पोखरा क्रिकेट मैदान, भैरहवाको सिद्धार्थ रंगशाला, दाङको घोराही क्रिकेट रंगशाला, कोहलपुर क्रिकेट मैदान, धनगढीको फाप्ला मैदान बर्सेनि सरकारको बजेट भाषणमा पर्दै आएका छन् । तर खेल मैदान बनाउनभन्दा सार्वजनिक खपतका लागि मात्र यी संरचनालाई बजेट मन्तव्यमा पारिएको भान हुन्छ । नत्र बजेट रकम कनिका छरेजति मात्र हुन नपर्ने हो । वर्षमा १ करोड हाराहारी बजेट छुट्ट्याएर कुनै पनि मैदान पूरा हुन सक्दैन । उता, बजेट अभावमै धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाउँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बेवारिसेजस्तै छ । सरकारले कीर्तिपुर रंगशालामा फ्लडलाइट लगाउनुका साथै मैदानको स्तरोन्नति गर्ने घोषणा पनि त्यसै अलपत्र छ ।

फड्को मारिरहेको नेपाली क्रिकेटलाई अझ शिखरमा पुर्‍याउन पनि सरकारले खेल पूर्वाधारमा लगानी थप्नैपर्छ । छ महिनाअघि आईसीसीले नेपाललाई बंगलादेशसँग मिलेर सन् २०२७ मा आईसीसी यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मा दिएको छ । आईसीसीले नेपालमा गर्ने यो पहिलो प्रमुख प्रतियोगिताका लागि दुई मैदान चाहिने भनिएको छ । क्यानले कीर्तिपुरबाहेक चितवन, पोखरा र भैरहवालाई विकल्पमा अगाडि सारेको छ । समयमै पूर्वाधार निर्माण सम्पन्न नभएमा नेपालले एउटा गतिलो मौका गुमाउने मात्र छैन, अन्तर्राष्ट्रिय जगत्सामु रातो मुख पार्नुपर्ने हुन सक्छ । तसर्थ, छानिएका रंगशाला निर्माणमा पर्याप्त बजेट छुट्ट्याएर समयमै निर्माण सम्पन्न गर्न सरकार गम्भीर हुनैपर्छ । ताकि, पूर्वाधार अभावमा नेपाली क्रिकेट फेरि कहिल्यै तड्पिनु नपरोस्, र सफलताको रफ्तार अझ बढोस् ।

प्रकाशित : वैशाख २७, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?