खस्किएकै हो गगन ‘ब्रान्ड’ ?

के एउटा चुनावी प्रतिस्पर्धामा विजय वा पराजय हुनु कुनै नेताको योग्यताको मापक बन्न सक्छ ? उपचुनावअघिका ‘आत्मविश्वासी’ गगन र उपचुनावपछिका ‘रक्षात्मक’ गगनमध्ये कुनलाई आधार मानेर योग्यता नाप्ने ? 
राजाराम गौतम

राजनीतिको सिँढी उक्लिँदै जाँदा एउटा नेताले प्रश्न गर्ने अनुकूलता मात्रै गुमाउँदैन, उल्टै उसलाई प्रश्नहरूले घेर्दै पनि जान्छन् । जस्तो कि, यति बेला नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा घेरिएका छन् । प्रश्न गर्ने अनुकूलता हुँदा ‘भोकल’ देखिने नेताले जवाफ दिने तहमा पुग्दा सायद त्यो लाभ पनि नपाउँदा रहेछन् । 

खस्किएकै हो गगन ‘ब्रान्ड’ ?

गगन–विश्वलाई सभापति शेरबहादुर देउवासँग आक्रोश पोख्ने सुविधा त छ तर त्योभन्दा बढी असन्तुष्टि तिनले पार्टीवृत्त र बाहिरबाट आफैं खेप्दै छन् । निकटका नेता–कार्यकर्ताले नै आक्रोश पोख्न थालेका छन्, ‘महामन्त्रीद्वयले ट्वीट गर्दैमा अब कांग्रेस सुध्रिँदैन । सभापतिको घर घेर्न जाऔं ।’

उपनिर्वाचन–२०८० को पराजयपछि कांग्रेसमा फेरि सुधार्ने/सुध्रिने विमर्श सुरु भएको छ । कांग्रेसको जीवनमा यो बहस कैयौं पटक भइसकेको छ । सबैभन्दा पछिल्लो चोटि चौधौं महाधिवेशनको मुखमा भएको थियो । त्यो बेला देउवाले भनेका थिए, ‘कांग्रेस सुधार्न एक पटक फेरि सभापतिमा दोहोरिन चाहन्छु ।’ महामन्त्रीका प्रत्याशी गगनको दाबी थियो, ‘अब पनि कांग्रेस सुध्रेन भने समाप्त हुन्छ ।’

चौधौं महाधिवेशनले देउवा र गगन दुवैलाई नेतृत्वमा पुर्‍यायो । देउवा दोहोरिएर कांग्रेसको मूल कमान्डमा रहे । गगन सर्वाधिक लोकप्रिय मतसहित महामन्त्रीमा चुनिए । विश्वप्रकाश पनि महामन्त्रीमै चुनिएपछि कांग्रेसीजन ‘सुध्रिने भइयो’ भनेर उत्साहित भए । तर, डेढ वर्षपछि फेरि कांग्रेस ‘सच्चिने कि सक्किने’ भन्ने प्रश्नमै रुमलिइरहेको छ । फरक के मात्रै छ भने, प्रश्न त्यसबखत देउवामाथि हुन्थ्यो, अब गगन–विश्वतिर लक्षित हुन थालेको छ ।

के गगन–विश्व उपचुनावको परीक्षणमा असफल भएका हुन् ? के अब ‘गगन ब्रान्ड’ खस्किँदै गएको हो ? तनहुँ र चितवन दुवै ठाउँबाट कांग्रेसले लज्जास्पद हार बेहोर्नुपरेपछि कांग्रेस वृत्तभित्रै यस्तो प्रश्न उठ्यो । त्यो किन उठ्यो भने, महामन्त्रीद्वय चुनावी अग्रमोर्चामा थिए । चुनावी प्रतिस्पर्धामा चितवनमा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र तनहुँमा गोविन्द भट्टराई थिए । तर लाग्थ्यो, चुनावी भिडन्त विश्वप्रकाश भर्सेस रवि लामिछाने र गगन भर्सेस स्वर्णिम वाग्ले भइरहेको छ । यी दुवै चुनावी प्रतिस्पर्धा प्रतिष्ठाको लडाइँ बनेका थिए । त्यो लडाइँमा रास्वपाले बाजी मारेपछि गगन–विश्व ‘रक्षात्मक’ बन्न पुगे । तर, के एउटा चुनावी प्रतिस्पर्धामा विजय वा पराजय हुनु कुनै नेताको योग्यताको मापक बन्न सक्छ ? उपचुनावअघिका ‘आत्मविश्वासी’ गगन र उपचुनावपछिका ‘रक्षात्मक’ गगनमध्ये कुनलाई आधार मानेर योग्यता नाप्ने ?

उपचुनावको पराजयलाई आधार बनाएर गगन–विश्व असफलताको भाष्य निर्माण गर्न खोज्नु आग्रही सोच हो । बरु, डेढ वर्षयता महामन्त्रीद्वयले नेतृत्वदायी भूमिकामा केकति गर्न सके, के गर्न सकेनन् भन्ने चाहिँ समीक्षाको विषय बन्न सक्छ । यो लेख यही समीक्षामा केन्द्रित रहनेछ ।

महामन्त्रीमा निर्वाचित भइसकेपछि आशालाग्दो ‘ओपनिङ’ गरेका गगन–विश्व पछिल्लो समय मूल नेतृत्वमाथि दबाब सृजना गर्न चुक्दै गएका छन् ।

केही आशालाग्दा ‘ओपनिङ’ यस्ता थिए ।

पहिलो, २०७८ पुस ३० मा महामन्त्रीद्वयले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबारे जारी गरेको विज्ञप्ति स्मरणयोग्य छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको भनेर भाषण गरेपछि नेपालमा त्यसको विरोध भएको थियो । सुरुमा कांग्रेसले त्यसमा प्रतिक्रिया जनाउन आनाकानी गर्‍यो । देउवा नेतृत्वको गठबन्धन सरकार मौन बस्यो । तर, गगन–विश्वले मुख खोले । दुवैले संयुक्त विज्ञप्ति जारी गरेरै भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भूभाग हो । यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ । यो भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्छ ।’ महामन्त्रीद्वयले ‘पोजिसन’ लिएपछि मात्रै गठबन्धन सरकार बोल्न बाध्य भएको थियो ।

दोस्रो, स्थानीय तह निर्वाचनको मिति धकेल्न खोज्दा गगन–विश्वले आवधिक निर्वाचनका पक्षमा उभिएर वैशाखमै मिति तोक्न दबाब सृजना गरे । कांग्रेस नेतृत्वको गठबन्धनमा स्थानीय तह निर्वाचन धकेल्ने अनेक प्रयास भएका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी मात्रै होइन, कांग्रेसभित्रै समेत कानुन संशोधन गरेर भए पनि चुनाव सार्नुपर्ने एक थरीको मत थियो, जसले गर्दा देउवा अन्योल र अनिर्णयको अवस्थामा थिए । त्यस बेला आवधिक निर्वाचनका पक्षमा उभिएर वैशाखमै स्थानीय तह निर्वाचनको तिथि तोक्न देउवालाई महामन्त्रीद्वयले ‘कन्भिन्स’ गरे ।

तेस्रो, अमेरिकी विकास परियोजना (एमसीसी) को संसदीय अनुमोदनमा गगनले निर्वाह गरेको भूमिका सतहमै सबैले महसुस गर्ने स्तरको थियो । एमसीसी अनुमोदनको मुद्दाले कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनलाई धरापमा पारेको थियो । देउवाका लागि एमसीसी प्रतिष्ठाको विषय बनेको थियो । उनले एमसीसीलाई उच्च प्राथमिकतामा राखेका थिए, तर संसद्बाट अनुमोदनको उपाय निस्किरहेको थिएन । पछि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको सूत्रले सत्तारूढ गठबन्धनभित्र सहमति बन्यो र एमसीसी विवादको अवतरण भयो । एमसीसी अनुमोदनमा अरू धेरै नेताको प्रत्यक्ष–अप्रत्यक्ष भूमिका थियो, तर गगन त्यसमा ‘गेमचेन्जर’ देखिए । एउटा तप्काबाट आलोचना भए पनि एमसीसीले उनको राजनीतिक कद अझ बढायो ।

चौथो, जसरी एमसीसी अनुमोदनमा गगनको भूमिका देखियो, अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रोक्न पनि उनी नै अग्रसर बने । संसद्मा बोल्दै उनले एसपीपीबारे प्रधानमन्त्रीसँग जवाफ मागे र नेपाल सहभागी हुन नहुने अडान राखे । जबकि प्रधानमन्त्री देउवा नेपाललाई एसपीपीमा सहभागी गराउन चाहन्थे । एसपीपीका विपक्षमा गगनसँगै विश्वप्रकाश पनि उभिएका थिए । दुवै महामन्त्री देउवालाई सम्झाउन लागिपरे र सरकारले अमेरिकी सरकारलाई एसपीपी अस्वीकार गरेको पत्र लेख्यो ।

पाँचौं, गगन–विश्वबीच जमेको साझेदारी पनि ‘नोट’ गर्न मिल्ने सन्दर्भ हो । त्यो किनभने, नेपाली राजनीतिमा समकक्षी नेताहरूबीच यो स्तरको कसिलो साझेदारी विरलै भेटिन्छ । नेपाली राजनीतिमा समकक्षी नेताहरूबीच को माथि जाने भन्ने अस्वस्थ प्रतिस्पर्धा र इगोको लडाइँ चल्ने गर्छ । आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने प्रवृत्ति जहीँतहीँ देखिन्छ । कांग्रेसकै विगत र वर्तमान, पुरानो पुस्ताको नजिर हेर्दा पनि गुटबन्दी, अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका अनेक दृष्टान्त भेटिन्छन् । तर विश्वप्रकाशले गगनलाई संसदीय दलको नेताको चुनावमा जसरी खुलेर सघाए, त्यसले यी दुई महामन्त्रीबीचको कसिलो साझेदारी उजागर गर्‍यो । अरू थुप्रै मुद्दामा पनि यी दुई नेताले एकै ठाउँ उभिएर प्रशंसालायक काम गरेका छन् ।

छैटौं, गगनले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेर कांग्रेसको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाउन भूमिका खेले । कांग्रेसमा उनीभन्दा धेरै भोटा फटाएका र देउवाका समकालीनहरूले पद र सत्ताको लेनदेनको सौदाबाजी गरिरहँदा गगनले पराजित हुन्छु भन्ने जान्दाजान्दै आफूभन्दा ३२ वर्ष जेठा नेतालाई हाँक दिएर आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने वातावरण बनाए, जुन स्मरणीय सन्दर्भ रहिरहनेछ ।

यी केही उदारण हुन्, जसले गगन–विश्वको नेतृत्वप्रति कांग्रेस वृत्तमा मात्रै होइन, आम रूपमै आशा जगाएका थिए । तर, दिन बित्दै जाँदा आशा र भरोसा कमजोर प्रतीत हुँदै छन् । कारण, तिनले मूल नेतृत्वमाथि अपेक्षित दबाब सृजना गर्न सकिरहेका छैनन् ।

महामन्त्री निर्वाचित भएपछिका सुरुआती केही महिना नेताद्वयको उत्साह नै बेग्लै थियो । विधानलाई नजरअन्दाज गर्ने देउवालाई विधिमा चल्न प्रेरित गर्थे उनीहरू । पार्टी कार्यालयमै बैठक बस्ने परम्परा सुरु हुँदै थियो । तर, अहिले यिनै नेता निरीह शैलीमा भन्दै छन्— देउवाले पार्टी पद्धति मिचेर एकलौटी निर्णय गरे । पछिल्लो पदाधिकारी बैठकमा महामन्त्रीद्वयले असन्तुष्टि पोखे, ‘सांख्यिक बलमा एकलौटी ढंगले पार्टी सञ्चालन गर्ने; छलफल र पार्टी पद्धति अनुरूप गर्नुपर्ने निर्णयहरू आफूखुसी गर्ने; केन्द्रीय सदस्य मनोनयन, राष्ट्रिय सभामा सांसद सिफारिस, भ्रातृ संघ–संस्थाको पुनर्गठन लगायतका निर्णयमा सहभागी नगराउने अनि कांग्रेसको साख गिरेको दायित्व हामीले बोकिदिनुपर्ने ?’

देउवाको गुट–गणितको चपेटामा परेका गगन–विश्वको असन्तुष्टि जायजै होला । यद्यपि यी दुई नेता पनि प्रश्नबाट मुक्त छैनन् । कार्यकर्ता पंक्तिको प्रश्न छ- बैठकमा असन्तुष्टि प्रकट गरेर, फरक मत राखेर दायित्व पूरा हुन्छ ? फरक मतको औपचारिकता र मिडियाबाजीका कारण नेतृत्वले दबाब महसुस गर्छ ? सामाजिक सञ्जालमा टिप्पणी गर्नमै सीमित भएर नेतृत्वदायी भूमिका पूरा हुन्छ ? देउवाको अंकगणितको बललाई राजनीतिक विचार र मुद्दाले परास्त गर्न सकिँदैन ? त्यसका लागि कांग्रेसमा जागरण ल्याउने आफ्नो दायित्व के महामन्त्रीद्वयले पूरा गरे ?

गगनले हालै कान्तिपुर टेलिभिजनको टक शो ‘फायरसाइड’ मा आफू आत्मनिरीक्षणमा रहेको बताएका छन् । भनेका छन्, ‘अहिले ममाथि जेजस्ता आलोचना र असन्तुष्टि आएका छन्, म तिनलाई ग्रहण गर्दै आफ्नो कार्यशैलीमा कहाँ चुकें, त्यो हेर्दै छु । सायद अब काम गर्ने शैली बदल्नु जरुरी छ ।’

गगनले कार्यकर्ता पंक्तिबाट उठेका उपर्युक्त प्रश्नमा पनि घोत्लिनु जरुरी छ । यति बेला नेपाली समाज एकातिर आर्थिक दुश्चक्रमा फस्दै गएको छ, अर्कातर्फ राजनीति थप अस्थिरतातर्फ उन्मुख छ । भ्रष्टाचार र अनियमितताका कारण राजनीतिक नेतृत्व कुन हदमा गाँजिएको छ भन्ने ताजा प्रमाण हो- नक्कली भुटानी शरणार्थी प्रकरण । शीर्ष राजनीतिक तहको दौडधुप र छटपटी हेर्दा, कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा भएको यो भ्रष्टाचारको जरो माथिसम्म रहेको अनुमान गर्न कठिन छैन । राजनीतिक नेतृत्वप्रति अविश्वास बढेको मौका पारेर यही बेला पूर्वराजा ज्ञानेन्द्रले गद्दीमा फर्कने प्रपञ्चलाई तेज बनाएका छन् । समाज दिग्भ्रमित छ । जसले चिल्ला कुरा गर्‍यो, चमकधमक गर्‍यो, कतिलाई उही ‘मसिहा’ लाग्छ । यो अवस्थामा लोकतान्त्रिक आन्दोलनबाट जन्मेहुर्केको गगनको पुस्ता पनि ‘रक्षात्मक’ बन्दै जानु गम्भीर चिन्ताको विषय हो ।

२०४६ सालपछि राजनीतिमा हुर्किएको पुस्ताबाट उपल्लो नेतृत्वमा पुगेका गगन आंशिक परीक्षण भएका नेता हुन् । उनको पूर्ण परीक्षण हुनै बाँकी छ । निश्चय पनि पटक–पटक निर्वाचन जितेका गगनसँग अब धेरै शंकाको सुविधा छैन । उनका सार्वजनिक अभिव्यक्तिहरू परिपक्व हुनु आवश्यक छ । उनले ‘मास’ लाई खपत हुने भाषणशैलीमा मात्रै केन्द्रित नभई एउटा ‘भिजनरी’ नेताको परिचय दिन सक्नुपर्छ । सामाजिक सञ्जालमा खपतका लागि बधाई, शुभकामना र उठेका मुद्दामा औपचारिक धारणा राखेर अब पुग्दैन । कांग्रेसभित्रको राजनीतिक–वैचारिक ‘आर्किटेक्ट’ बन्न सक्नुपर्छ उनी ।

उसै पनि कांग्रेस वृत्तमा राजनीतिक–वैचारिक विमर्श गर्ने प्रवृत्तिको कमी छ । महामन्त्रीका प्रत्याशी बन्दै गर्दा गगनले दस्तावेजसहित उम्मेदवारी घोषणा गरेपछि धेरैले कांग्रेसमा अब नीतिगत पुनर्जागरण हुने अपेक्षा गरेका थिए । महाधिवशेनका तीन महिनामै नीति अधिवेशन गर्ने भनियो पनि । तर, न नीति अधिवेशन भयो न त गगनको दस्तावेजमै कुनै विमर्श । त्यो बेवारिसे बन्यो । कांग्रेसमा राजनीतिक पुनर्जागरणको आवश्यकता बोध गर्दै त्यसलाई बढाउन दबाब सृजना गर्न महामन्त्रीद्वय चुके ।

अब हुने केन्द्रीय समिति बैठकले नीति अधिवेशन घोषणा गर्ने भनिएको छ । अब चाहिँ यसलाई कुनै बहानाबाजीले टार्नु हुन्न । त्यो किनभने, अस्पष्ट र दिशाहीन कांग्रेसको सुदृढीकरणको मार्गचित्र यसले कसरी निर्माण गर्छ, त्यही मञ्च गगन–विश्वका लागि परीक्षण हुने अवसर बन्नेछ । उपनिर्वाचन–२०८० को नतिजाले आम निर्वाचनमा हठात् उदाएको रास्वपालाई अझ बलियो गरी स्थापित गरेको छ । केही टक्करका पात्रहरू उदाएका छन्, जो गगन–विश्व पुस्ताका लागि चुनौतीका रूपमा देखिएका छन् । यो पृष्ठभूमिमा गगन–विश्वको नेतृत्वले पार्टी पंक्तिलाई कसरी संगठित गर्छ, कसरी गतिशील बनाउँछ, यहीँनेर महामन्त्रीद्वयको थप परीक्षा हुनेछ । यो परीक्षामा खरो उत्रन नसक्दा गगन–विश्वमाथि प्रश्नहरूको घेरा अझ फराकिलो हुँदै जानेछ । तसर्थ गगनले मात्रै होइन, सम्फूर्ण कांग्रेस नेतृत्वले आत्मसंवाद गर्नु आवश्यक छ ।

प्रकाशित : वैशाख २५, २०८० ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?