विमोक्ष : एक बहस

केशव दाहाल

काठमाडौंमा भख्खरै शिल्पी थिएटरले ‘विमोक्ष : द साल्भेसन’ नामको नाटक मञ्चन गर्‍यो । नाटकका लेखक घिमिरे युवराज थिए भने निर्देशक प्रवीण खतिवडा । विमोक्षले प्रेम र जातमा उपस्थित हुन आउने प्रश्न, द्विविधा र संकटमाथि बडो सुन्दर बहसको उद्घाटन गर्‍यो ।

विमोक्ष : एक बहस

यस्तो भयो कि, सहरमा नाटक हुनु र नाटक उम्दा हुनु एक अद्भुत मनोरञ्जन मात्र हैन, बहस पनि हो । नाटकमा सशरीर देखा पर्ने चार जना मुख्य पात्र मुमा हजुर (सगुना शाह), रश्मिदेवी (पवित्रा खड्का), दीप दर्नाल (घिमिरे युवराज) र कमल घिमिरे (सागर खाती) थिए । तर लाग्थ्यो दर्शकहरू स्वयं अनेक पात्रहरूका साथमै बसेर विमोक्षको कथा सुनिरहेका छन् । तीन वटा कारणले नाटक भव्य थियो । पहिलो, नाटकमा निहित विमोक्षको खटपटी । दोस्रो, जीवन्त अभिनय । तेस्रो प्रस्तुति । आजलाई नाटकमा निहित विभेद र विमोक्षको कुरा गरौं ।

नाटकमा के छ ? नाटकमा कर्णेल श्यामकुमार बस्नेतकी अधबैंसे श्रीमती रश्मिदेवी छे । उसका दुई छोरी छन् शीतल र शीला । साथमा छ, त्यही घरमा डेरा बस्ने युवा, कमल घिमिरे । कर्णेल श्यामकुमार रवाफिलो सैनिक र भव्य पुरुष हो । सिकार खेल्छ । पाहुनाहरू ल्याउँछ । पार्टी गर्छ । कामको सिलसिलामा प्रायः ऊ घरबाहिरै हुन्छ । तर घर आउँदा ऊसँगै आउँछन् लोभलाग्दा चहलपहलहरू । त्यसपछि घर आउँछन् नेता, हाकिम र सैनिकहरू । जो सुन्दर र भरिपूर्ण रश्मिदेवीलाई छुन सधैं लालायित हुन्छन् । तर रश्मिदेवी कहिलेकाहीँ प्राप्त हुने आफ्नै पतिको सान्निध्यमा रमाउँछे र मख्ख हुन्छे ।

एक दिन यस्तो हुन्छ कि कर्णेल श्यामकुमारको मृत्युको खबर आउँछ । त्यसको १३ दिनपछि अर्को फोन आउँछ । क्याप्टेन विश्वजँगको फोन । सैनिक क्याम्पबाट आएको त्यो फोनसँगै उसको श्रीमान् श्यामकुमारको एउटा रहस्य खुल्छ । अर्थात् कर्णेल श्यामकुमारको अर्कै एक महिलासँग प्रेम सम्बन्ध हुन्छ र उनीहरूको एक बच्चा पनि हुन्छ । यो खबरले रश्मिदेवीको जीवनमा उलटफेर ल्याइदिन्छ । त्यसपछि रश्मिदेवी पतिप्रेमको भ्रमबाट निस्कन्छे र अर्को प्रेममा प्रवेश गर्छे । उन्मुक्त प्रेममा । उसको जीवनमा नयाँ प्रेमी बनेर आउँछ, भाडामा बस्ने युवक कमल घिमिरे । जो ऊभन्दा उमेरले २५ वर्ष कान्छो हुन्छ ।

कथाको एउटा पक्ष यही हो, जसले पुरुषको यौनिक निष्ठामाथि प्रश्न उठाउँछ । आफूलाई उच्च र सभ्य ठान्ने पुरुष र महिलाहरूको सम्बन्धको भ्रमलाई धूलोमा मिलाइदिन्छ । हाम्रो समाजमा श्यामकुमारहरू कति होलान्, जो आफ्नी पत्नीलाई भ्रममा राखेर अन्यत्र घरजम गरिरहेका छन् । अथवा कति होलान् रश्मिदेवीहरू, जो उन्मुक्त प्रेमको खोजीमा भौतारिंदै होलान् । अथवा, पतिको प्रतिष्ठामा गौरव गरेर आफ्ना रहरलाई भ्रमको पर्दाले छोपिरहने महिलाहरू कति होलान् ? प्रश्न सरल छन् । तर प्रश्नसँगै छन् अनगिन्ती दुविधा, भ्रम र उल्झनहरू । जसबाट ‘विमोक्ष’ नभई लैंगिक तथा यौनिक समानताको साँचो अर्थ प्राप्त हुँदैन ।

रश्मिदेवीलाई जब आफ्नै पतिले घात गरेको अनुभव हुन्छ, ऊ प्रेम र यौनको नयाँ संसारमा प्रवेश गर्छे । ऊ र कमल घिमिरे उन्मुक्त प्रेमको रंगीविरंगी संसारमा पुग्छन् । कुनै गुनासो हुँदैन । तर त्यो संसारमा त्यतिखेर पैरो जान्छ, जब कमल घिमिरेकी बैनी सहर आउँछे र उसको जात खुल्छ । कमल घिमिरे बाहुन हुँदैन, ऊ हुन्छ दीप दर्नाल । अर्थात् एक गरिब र दलित युवक । सहरमा दलित भएको कारण घरभाडा नपाएकाले उसले जात परिवर्तन गरेको हुन्छ । त्यति नै बेला रश्मिदेवीका सासूससुरा पनि सहर आउँछन् । उनीहरूका लागि घरमा कोठा आवश्यक पर्ने हुँदा दीप दर्नालहरू भाडाबाट निकालिन्छन् । घरलाई पुराण लगाई शुद्ध बनाइन्छ । र, एउटा सुमधुर प्रेमको अन्त्य हुन्छ ।

त्यसपछि वर्षौंवर्ष उनीहरूबीचमा भेटघाट हुँदैन । झन्डै २५ वर्ष उनीहरू टाढा हुन्छन् । रश्मिदेवीले बीचमा भेट्न त खोज्छे तर दीप दर्नाल आफैं द्विविधामा हुन्छ । भेट्दैन । समय बित्दै जान्छ । जीवनमा अनेक उथलपुथल आउँछन् । र जब, रश्मिदेवी बूढी, अशक्त र लाचार हुन्छे उसले कमल घिमिरेलाई भेट्न बोलाउँछे । एक अद्भुत क्षण ।

खासमा नाटक पछिल्लो भेटबाट सुरु हुन्छ र विगतका सम्झनाहरू बयान गर्दै अगाडि बढ्छ । रश्मिदेवीको प्रेमी को हो ? दीप दर्नाल हो कि कमल घिमिरे ? के जात थाहा पाएकी भए रश्मिदेवीले दीप दर्नाललाई प्रेम गर्थी ? प्रश्नहरू उठ्छन् । जात ढाँटेर भाडा खोज्नुपर्ने सहरमा के स्वाभाविक प्रेम सम्भव थियो ? उनीहरू कहिले स्मृतिमा जान्छन्, कहिले आफ्नो सम्बन्धको अर्थ खोज्न थाल्छन् । कहिले एकअर्काप्रति गुनासो गर्दछन्, कहिले प्रश्न । बितेका २५ वर्षदेखि दीप दर्नाल आफू कमल घिमिरे बन्न बाध्य भएको कुरामा जलिरहेको हुन्छ । ऊ आफ्नो प्रेमलाई स्वाभाविक र स्वच्छ मान्दैन । त्यसैले ऊ सधैं मनोवैज्ञानिक दबाबमा बाँच्छ । आफ्ना पुर्खाहरूमाथिको अन्यायलाई उसले बोध गर्छ । प्रेममा जातको उल्झन देखेर ऊ जल्छ । यसरी उनीहरू जात, उमेर, प्रेम र सम्बन्धका अनेक प्रश्न, द्विविधा र संकटभित्र पस्छन् र विमोक्ष हुने चाहना बोकेर समयको हिसाबकिताब गरिरहन्छन् । यही नै विमोक्षको कथा हो । भव्य मञ्च, विशिष्ट प्रकाश, उम्दा अभिनय र कथाभित्र जेलिएका प्रश्नहरूले नाटक सानदार छ ।

जगजाहेर छ, आज पनि दलितका लागि स्वतः र प्राकृतिक प्रेम वर्जित छ । आज पनि समाजले दलितलाई पूर्ण मान्छेको रूपमा स्विकार्दैन । न त प्रेममा स्वीकार गर्छ, न त कोठा भाडामा । आज पनि प्रेम, कोठा र सामाजिक हैसियत पाउन दलितहरूले जात ढाँट्नुपर्छ । र, आफूमाथि भएका अपमानहरू बिर्सन दलितले वर्षौंवर्ष आफैंभित्र जल्नुपर्छ । खासमा विमोक्षले खिचेको हाम्रो समाजको चित्र यही हो ।

विमोक्षको अर्थ के हो ? लेखको केन्द्रीय प्रश्न हो यो । विमोक्षको साधारण अर्थ हो सांसारिक माया, मोह र बन्धनबाट मुक्त हुनु । तर यति भनेर मात्र पुग्दैन । यसको अर्थ हो, उल्झनहरूबाट, भ्रमहरूबाट, बन्धनहरूबाट र पापहरूबाट मुक्त हुनु । सामाजिक सन्दर्भबाट हेर्दा, विमोक्षको अर्थ हुन्छ— समाजले बनाएका संकीर्णता, बन्धन र उचनीचको जालोबाट मुक्ति । राजनीतिमा विमोक्षको अर्थ हुन्छ— व्यक्ति, समाज, राज्य र सभ्यतालाई निर्मल गर्नु र मानवीय सौन्दर्यलाई भव्यतम बनाउनु । सामाजिक कलंक र पापलाई अस्वीकार गर्नु र सभ्यतालाई सजाउनु । विमोक्षको अर्थ— सम्पूर्ण मुक्ति र सम्पूर्ण मोक्ष हो । अर्थात्, जात, लिंग र धर्मका सीमाहरू भत्काउनु र त्यसले बनाएका अँध्याराहरूलाई अस्वीकार गर्दै उज्यालो खोज्नु । अथवा, जीवनलाई स्निग्ध, भव्य र शान्त बनाउनु ।

भनिन्छ, नेपालमा लगभग १३ प्रतिशत दलित छन् । दुर्भाग्य के भने बितेको झन्डै एक शताब्दीदेखि दलितहरू मुक्ति खोजिरहेका छन् । अर्थात् विमोक्ष । जातको दलनबाट मुक्ति । आर्थिक दलनबाट मुक्ति । सामाजिक दलनबाट मुक्ति । उनीहरूभित्र निर्माण गरिएको हीनताबोधबाट मुक्ति । समाजले उपहारमा दिएका संशय, द्विविधा र विकारबाट मुक्ति । मुक्तिका लागि पटकपटक आन्दोलन भएका छन् । प्रत्येक राजनीतिक दलले मुक्ति मोर्चा बनाएका छन् । गैसस र अन्तर्राष्ट्रिय संस्थाहरूले अनेक परियोजना ल्याएका छन् । संविधानमा मुक्तिको संकल्प छ । कानुनमा मुक्तिको प्रतिबद्धता छ । नेताहरू भाषण गर्दछन् । तर मुक्ति छैन किन ? जस्तो नाटकले गरेकै प्रश्न गरौं, एउटा युवा जात ढाँटेर डेरा खोज्न बाध्य छ किन ? एउटी अधबैंसे जिन्दगीभर प्रेमको दिग्भ्रममा अल्झन बाध्य छे किन ? यो समाजले एउटा मान्छेलाई लगातार २५ वर्ष आफ्नै प्रेमको पश्चात्तापमा जल्ने बनाउँछ कसरी ? र, प्रेमीहरू आफ्नो प्रेमलाई सगर्व वैध घोषणा गर्न सक्दैनन् किन ? केले हाम्रो सामाजिक मान्यतालाई यति धेरै संकीर्ण, विभेदकारी र अँध्यारो बनाएको छ ?

जब छुवाछुत वा विभेदको कुरा आउँछ, स्वघोषित ज्ञानी मान्छेहरू भन्छन्, ‘समाजको आफ्नै लय हुन्छ । यसलाई बलपूर्वक भत्काउन हुँदैन ।’ परिवर्तनको कुरा गर्नेलाई उनीहरू या त अज्ञानी ठान्छन् या त प्रायोजित । कतिपय स्वनामधन्य बौद्धिक, राजनीतिज्ञ र उच्च ओहोदाधारीहरू ठान्दछन्, समाजको लय बिथोल्न खोज्दा भाँडभैलो हुन्छ । के अन्यायपूर्ण समाजलाई नभत्काई न्याय स्थापना सम्भव छ ? यस्तो ढोंगी समाज रहनै किन पर्‍यो, जसले मान्छेलाई दलित बनाउँछ । अथवा, जसले जातको आधारमा प्रेमका रेखाहरू बंग्याउँछ र मान्छे मान्छेका बीचमा सीमारेखा कोरिदिन्छ । स्पष्ट छ, जात प्रथा समस्त मानव सभ्यताको चहर्‍याउने घाउ हो । यसले मान्छेको मनलाई, मनको समान अस्तित्वलाई र यसको विशालतम सौन्दर्यलाई कलंकित गरेको छ । शरीर, मन, बुद्धि र विवेकलाई जात, ओहोदा, रङ, भाषा र तुच्छ वा विशिष्टको संकीर्णताभित्र विभाजित गर्ने हाम्रो सामाजिक चरित्र आफैंमा सभ्यताको दुर्भाग्य हो । त्यसबाट विमोक्ष आवश्यक छ ।

तर हाम्रो राजनीतिक, सामाजिक र बौद्धिक समाज ढोंगी छ । भन्छ एकथोक, गर्छ अर्कै । जस्तो कि हाम्रो समाजले मुखले जात मान्दिन भन्छ तर आत्मा जातले भरिएको छ । स्वयं नेताहरू भाषण एकथोक गर्छन्, व्यवहार अर्कै । कस्तो विरोधाभास ? अर्थात्, अनुहार र मनको विरोधाभास । यस्ता मान्छेहरूको आत्मा, बुद्धि र विवेकलाई केले सञ्चालन गर्छ होला ? स्वार्थले कि उन्नत मानवीय चेतनाले ? स्वार्थले । अहंकारले । स्वगौरवले । परिणाम, उनीहरू मानव गरिमालाई निहित स्वगौरवको पर्दाले छोप्छन् । त्यसैले देखिन्छन् एकथोक, गर्दछन् अर्कै थोक । भनिन्छ, अनुहार र मनमा विरोधाभास भएको समाज खतरनाक हुन्छ । जतिबेलासम्म हाम्रो समाज स्थापित खराब स्वार्थहरूको नियन्त्रण र निर्देशनभित्र रहन्छ, तबसम्म त्यो उदार र सभ्य किमार्थ बन्दैन । जबसम्म हाम्रो बौद्धिक दृष्टि, सामाजिक भाष्य, राजनीतिक नाराहरू विरोधाभासभित्र रहन्छन्, तबसम्म विमोक्ष एक मृगतृष्णा बन्छ । र, जबसम्म समाजको एक हिस्सालाई आफ्नै अस्तित्व, आफू बाँचेको समाज र समयमाथि ग्लानि हुन्छ, तबसम्म समाज सभ्य, शान्त र मुक्त हुन सक्दैन । यसर्थ विमोक्ष हाम्रो आवश्यकता हो । तर कस्तो विमोक्ष ? कसरी सम्पूर्ण मुक्ति सुनिश्चित होला ? अथवा कसरी हाम्रो समयले मानव गरिमाको नयाँ सौन्दर्य स्थापित गर्ला ? प्रश्नहरू अनेक छन्, जसका लागि निरन्तर बहस गरौं ।

[email protected]

प्रकाशित : चैत्र १९, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?