मुसहर बस्तीकेन्द्रित परियोजनालाई परिणाममूलक बनाऊ

सम्पादकीय

काठमाडौँ — मानव विकास सूचकांकको पुछारमा रहेका मधेशका मुसहर, चमार र डोम समुदाय बाहुल्य क्षेत्रकेन्द्रित सरकारी तथा गैरसरकारी संस्थाका परियोजनाहरू उपलब्धिमूलक बन्न सकेका छैनन् । दशकौंदेखि तिनको कमजोर आर्थिक–सामाजिक अवस्थितिलाई देखाएर विभेदबाट मुक्ति दिलाउन, विपद्बाट बचाउन तथा जीविकोपार्जन, आवास, शिक्षा लगायतको सुनिश्चितताका लागि ठूलो लगानी हुँदै आएको छ । यद्यपि लक्षित समुदायसम्म यसको लाभ पुगेको देखिन्न ।

लगानी भइरहने तर दलित बस्तीहरूको वास्तविकता नबदलिने अहिलेको वास्तविकतालाई बदल्न पहिले त, परियोजनाहरूलाई नै सुधार्नु आवश्यक छ । त्यसका लागि परियोजनाको पारदर्शिता र दिगोपनका लागि सम्बद्ध सरकारी तथा गैरसरकारी संस्थाहरू गम्भीर हुनुपर्छ ।

राष्ट्रिय जनगणना–२०६८ अनुसार मुसहरको जनसंख्या २ लाख ३४ हजार छ, जसमध्ये ७० प्रतिशत (१ लाख ६५ हजार) मधेश प्रदेशमा बस्छन् । जातीय भेदभावका कारण सामाजिक संरचनाको सबैभन्दा पीँधमा रहेको यो समुदायको जमिन र रोजगारीमा पहुँच छैन । शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि यिनीहरू निकै पछाडि छन् । यिनीहरूको आधारभूत आवश्यकता पूर्तिका खातिर सरकार तथा गैरसरकारी संस्थाहरूले विभिन्न परियोजना सञ्चालनमा ल्याएका पनि छन् । मुसहरको समावेशीकरण मधेशको एउटा मुख्य राजनीतिक मुद्दा बनेको पनि छ । तर पनि उनीहरूलाई अरू समुदायसरह ल्याउने उद्देश्यका साथ सञ्चालित परियोजनाहरू परिणाममूलक बन्न सकेका छैनन्, जसको परिणतिस्वरूप यो समुदाय अद्यापि पीँधमै छ ।

गैरसरकारी संस्थासँगै मधेश सरकारले ठूलो बजेट छुट्याए पनि प्रतिफल नगन्य हुनु दुर्भाग्यपूर्ण छ । अर्थ मन्त्रालयको वैदशिक सहायता व्यवस्थापन सूचना प्रणालीमा पछिल्ला १५ वर्षमा सञ्चालनमा आएका २१४ वटा परियोजनाका उपलब्ध विवरण अनुसार मुसहर लगायत दलित समुदाय लक्षित कार्यक्षेत्रमा कम्तीमा २१ दातृ निकायका २६ वटा परियोजनाले झन्डै १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । यी परियोजनाबाहेक पनि समाज कल्याण परिषद्ले चालु आर्थिक वर्षसहित गत चार वर्षमा मुसहरकै लागि ९ करोड ३ लाख रुपैयाँ बजेट स्वीकृत गरेको तथ्यांक छ । शताब्दिऔंदेखि विभेदले थिचिएकाले पनि मानव विकास सूचकांकमा निकै कमजोर रहेका मुसहरहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्राथमिकतामा परेका हुन् । तिनको उपस्थितिले यो समुदायका परिवारलाई केही भरथेग भने पक्कै पुर्‍याएको छ । तर, समग्रमा सम्पूर्ण बस्तीहरू लाभान्वित छैनन्; तिनको कामकारबाही चित्तबुझ्दो छैन । वर्षौंदेखि लगानी गरिरहने तर प्रतिफल कति पनि नहुने, र फेरि त्यसैका लागि परियोजना बनाउनुपर्ने विद्यमान स्थिति दुःखद छ ।

सरकारले चलाएका परियोजनाहरूमा पनि केही भिन्नता छैन । पछिल्ला ६ वर्षमा मधेश सरकारले नदीहरूको नियन्त्रण गरेर बाढी तथा डुबानबाट प्रभावित मुसहर लगायत दलित, अति गरिब, विपन्न परिवारलाई घर निर्माण गर्ने जनता आवास कार्यक्रम सञ्चालन गर्न ३ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, मुख्यमन्त्री राहत तथा विपद् पुनःस्थापना कोषका नाममा पनि बर्सेनि कुल बजेटको औसत २.६३ प्रतिशत रकम राखिएको छ । यसरी मुसहरको आवश्यकता पहिचान भए पनि उनीहरूका निम्ति छुट्याइएको बजेटको सदुपयोगमा भने ठूलो प्रश्न छ ।

सरकारी ढुकुटीको हिसाबकिताब महालेखा परीक्षक कार्यालयले राख्ने भएकाले यसमा भएका अनियमितता सार्वजनिक जानकारीमा आउने गर्छन् । अनियमितता भएमा कम्तीमा त्यसलाई बाहिर ल्याउने र कारबाहीको दायरामा लैजानेजस्ता संरचनासम्म भए पनि छन् । कामकारबाहीलाई लिएर प्रश्न उठ्ने गरे पनि नियमसंगत र कार्यविधि अनुरूप नरहेका खर्च छुट्याउन सक्ने आधार छन् । ‘विशेष परिस्थिति’ भन्दै मधेश प्रदेशका ८ वटै जिल्लामा बाढी प्रभावित विशेष गरी मुसहर बस्तीका लागि २०७६ को आर्थिक वर्ष सकिनु अघिल्लो दिन मन्त्रीस्तरीय निर्णय गरी सामग्री खरिद गरिएको थियो । पछि महालेखाले सामग्रीको विवरण नभएको र खरिदको पुष्टि गर्न नसकेको प्रतिवदेन दिएको थियो ।

अन्तर्राष्ट्रिय दातृ निकायका परियोजनाको बजेटमा भने हिसाबकिताब खोज्नै मुस्किल पर्छ । तिनका कामकारबाहीलाई पारदर्शी बनाउन अनुगमन गर्न सकिएको छैन । अपवादबाहेक तिनका हिसाबकिताब सार्वजनिक जानकारीमा पनि त्यति आउँदैनन् । खुला आँखाले देख्ने गरी बदमासी गरेको भेटिए पनि त्यसमा संलग्नहरूले उन्मुक्ति पाउने गरेका छन् । आफ्नो छमहिने वा केही वर्षको निश्चित कार्यक्रम सकिएपछि स्वामित्व हस्तान्तरण एवं परियोजनाको दिगोपनतिर पनि तिनले उचित ध्यान दिएको देखिँदैन । यही कारण, सञ्चालकहरूका लागि परियोजना बढी ‘फाइदाजनक’ हुने तर समुदायलाई भने तात्त्विक फरक नपर्ने भएको हो ।

प्रायः गैरसरकारी संस्थाहरूको ध्याउन्न परियोजना बनाउने, निश्चित अवधि चलाउने र समुदायले भनेजस्तो फाइदा पाए भनेर ‘रिपोर्ट’ तयार पार्नमै सीमित देखिन्छ । धैरै बजेट अमिल्दो गरी मुख्य कामभन्दा पनि सञ्चालन खर्चमा छुट्याइने गरिन्छ । जति नै यस्ता कार्यक्रम सञ्चालनमा आए पनि त्यसले समग्र सीमान्तीकृत समुदायको हितमा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसक्नुका पछाडि यस्तो प्रवृति जिम्मेवार छ । मुसहर बस्तीको मुहार बदल्न यस्तो परिपाटी रोकिन आवश्यक छ । परियोजना–लगानीलाई पारदर्शी र प्रतिफललाई दिगो बनाउन सम्बद्ध पक्षले उचित ध्यान दिनुपर्छ । मुसहर लगायतका बस्तीहरूमा परियोजनाको चाङ मात्रै थुपार्ने तर उपलब्धि हासिल नहुने दुरवस्थाको अन्त्य हुनुपर्छ ।

प्रकाशित : चैत्र १९, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

नेपालका दुई खेलाडीलाई पदक

कान्तिपुर संवाददाता

पोखरा — एसिया कप ट्रायथलन २०२३ अन्तर्गत दक्षिण एसियाली च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले पदक जितेका छन् । नेपालका श्रेवी महर्जनले रजत र कांस्य तथा वसन्त थारुले कांस्य जितेका छन् । दक्षिण एसियाली ट्रायथलनमा श्रेवीले सिनियरमा कांस्य जित्दा जुनियरमा रजत जितिन् । वसन्तले सिनियरमा कांस्य जिते ।

७५० मिटर पौडी, २० किमि साइक्लिङ र ५ किमि दौड पूरा गर्दा भारतका आदर्श मुरलिधरण नायर सिनिमोलले स्वर्ण जिते । उनले निर्धारित दुरी १ घन्टा ४ मिनेट १६ सेकेन्डमा पूरा गरे । भारतकै विश्वनाथ यादव १ घन्टा ६ मिनेट २५ सेकेन्डबाट दोस्रो र नेपालका वसन्त १ घन्टा ६ मिनेट ५२ सेकेन्ड लगाएर तेस्रो भए ।

महिलातर्फ तेस्रो भएकी श्रेवीले १ घन्टा १८ मिनेट लगाइन् । १ घन्टा १२ मिनेटबाट पूर्वविजेता भारतकी प्रज्ञा मोहनले पहिलो स्थान हात पारिन् । भारतकै मान्सी मोहित १ घन्टा १३ मिनेट ४६ सेकेन्डबाट दोस्रो भइन् । जुनियर ट्रायथलनमा पुरुषतर्फ भारतले शीर्ष तीनस्थानमै कब्जा जमायो । महिलातर्फ भारतकी सन्जना सुनिल १ घन्टा १२ मिनेट २१ सेकेन्डबाट विजेता भइन् । नेपालकी श्रेवी १ घन्टा १८ मिनेटबाट दोस्रो र भारतकी देवकी शर्मा १ घन्टा २७ मिनेट ८ सेकेन्डबाट तेस्रो भएका थिए ।

फेवातालमा भएको एसिया ट्रायथलन कपको उपाधि लक्जेम्बर्गका बब हेलर र स्लोभाकियाकी मारगेटा बिकानोभाले जितेका छन् । पुरुषतर्फ बबले ७५० मिटर पौडी, २० किमि साइक्लिङ र ५ किमि दौड दुरी ५५ मिनेट ५५ सेकेन्ड र महिलातर्फ सोही दुरी मारगेटाले १ घन्टा ४ मिनेट ५१ सेकेन्डका साथ उपाधि जितेका हुन् । उज्वेकिस्तानका एलेक्जान्डर कुरिसोभले ५५ मिनेट ५७ सेकेन्डबाट दोस्रो र लक्जेम्बर्गका स्टेफन जाकोसले ५६ मिनेट ०१ सेकेन्डबाट तेस्रो भए । महिलातर्फ जापानका मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोस्रो र तेस्रो स्थान प्राप्त गरे । मिनोरीले १ घन्टा ५ मिनेट १८ सेकेन्डमा र चिसातोले १ घन्टा ५ मिनेट ३० सेकेन्डमा दुरी पूरा गरे ।

राष्ट्रिय ट्रायथलनतर्फ पुरुषमा वसन्त थारु, दीपेश चौधरी र मुकेश चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । वसन्तले १ घन्टा ६ मिनेट ५२ सेकेन्ड, दीपेशले १ घन्टा ९ मिनेट १७ सेकेन्ड र मुकेशले १ घन्टा १० मिनेट ४४ सेकेन्ड लगाए । महिलातर्फ श्रेवी महर्जन विजेता र केशरी थापामगर दोस्रो भए । प्रतियोगिताअन्तर्गत दुवाथलन विधाको प्रतिस्पर्धा आइतबार हुने आयोजक नेपाल ट्रायथलन संघले जनाएको छ ।

प्रकाशित : चैत्र १९, २०७९ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×