लघुवित्तको ऋण गरिबलाई गलपासो

लघुवित्तहरूले हरेक सदस्यको व्यावसायिक योजना बनाउन सहयोग गरेर ऋण प्रवाह गर्ने, व्यवसाय सञ्चालनका लागि सीप सिकाउने, व्यवसायको निरन्तर अनुगमन गर्ने र उत्पादनलाई बजारसँग जोडिदिने हो भने ऋणीहरू सक्षम हुनेछन् ।
विश्वास नेपाली

पछिल्लो समय लघुवित्तको ऋण र यसले नेपाली समाजमा पारिरहेको असर लगातार चर्चाको विषय बनेको छ । लघुवित्त पीडितको संख्या र समस्या भयावह छ । र, यसविरुद्ध संगठित आन्दोलन अघि बढ्न खोजेको छनक पाइन्छ । देशैभरि पीडितहरू आन्दोलित छन् । ग्रामीणवासीको समृद्धिका लागि सहयोग गर्ने उद्देश्यले उदाएका लघुवित्तहरूले छोटो समयमै मोटो रकम कमाउने बाटो लिएकाले यसको सुधारका लागि पहल गर्नु आवश्यक छ ।

लघुवित्तका सुरुवातकर्ता बंगलादेशका प्रख्यात अर्थशास्त्री मोहम्मद युनुसलाई नोबल शान्ति पुरस्कार दिइएको थियो । बंगलादेशमा सफल भएको लघुवित्त मोडल विश्वभरि नै अभ्यासमा छ । नेपालमा पनि यसको सुरुवात २०४७ सालमा लघुवित्तको प्रवर्द्धक हरिहरदेव पन्तले गरेका थिए । समयक्रमसँगै लघुवित्त देशैभरि फैलिएको छ । तर, बंगलादेशमा जस्तो यहाँ लघुवित्त मोडल भने सफल हुन सकेको छैन । ग्रामीण अर्थतन्त्रमा टेवा दिने उद्देश्यका साथ गाउँगाउँ पुगिरहेका लघुवित्तले स्थानीयको भएजति पैसा कुम्ल्याएर टाप कस्ने प्रवृत्ति मौलाएको छ । लघुवित्तपीडितहरू घरमा ताला लगाएर भाग्नुपर्ने स्थिति सिर्जना भएको छ । कतिपय पीडित आत्महत्यासमेत गर्न बाध्य भएका छन् ।

प्रायः लघुवित्तले महिलालाई सदस्य बनाएर बिनाधितो कर्जा प्रवाह गर्छन् । यस्तो ऋण उत्पादक क्षेत्रमा कमै लगानी भएको छ । त्यसैले पनि ऋण फिर्ता गर्न सक्ने अवस्था धेरैको हुँदैन । भएभरको सम्पत्ति बेचेर पनि ऋण तिर्न सक्ने पैसाको जोह गर्न नसक्नेहरू नै आत्महत्याको निर्णयमा पुग्ने हुन् । धेरै ऋणीले खाडी मुलुकमा पसिना बगाएर पठाएको पैसा लघुवित्तलाई बुझाउँदैमा ठिक्क छ । भारतबाट मजदुरी गरी ल्याएको पैसा पनि लघुवित्तले नै असुल्ने गरेका छन् । लघुवित्तको ऋणकै कारण मानिसहरू झन्–झन् गरिबीतर्फ धकेलिने खतरा छ । तिनका लागि यो गलपासो सावित भइरहेको छ ।

मेरो गाउँ रसुवाको कालिका–३ मा पर्छ । त्यहाँ दलित समुदायको बाहुल्य छ, धेरै भूमिहीन छन् । २०७५ सालमा मैले अध्ययन गर्दा यो गाउँमा ९ लघुवित्तसहित १३ वित्तीय संस्थाबाट १७ जनालाई १ करोड ३७ लाख ४ हजार रुपैयाँ ऋण प्रवाह गरिएको थियो । ऋण उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न नसक्दा, यसलाई फिर्ता गर्ने स्थितिमा ऋणीहरू थिएनन् । कर्मचारी ताकेता गर्न आउँछन् भनेर अधिकांश ऋणी दिउँसो घर बस्दैनथे । ऋण तिर्न नसकेर एक महिलाले आत्महत्या नै गरिन्, दुई जना व्यक्ति गाउँ छाड्न बाध्य भए ।

पछि गाउँका अगुवाहरूसँगको छलफलपछि लघुवित्तका कर्मचारीले त्रास देखाउन कम गरे । तर, ऋणीलाई सहुलियत वा ब्याज मिनाहा भने भएन । त्यसबेला गाउँमा लघुवित्तले पुर्‍याएको असर न्यूनीकरणका लागि अभियान चलाइएको थियो । कमजोर ऋणीहरूको सहयोग गरिदिन स्थानीय सरकारदेखि राष्ट्र बैंकसम्म गुहार्दा पनि तिनलाई राहत दिलाउन सकिएन । मानवअधिकार आयोगको टोली गाउँमै पुगेको थियो, यसले प्रतिवेदन तयार पारेर सरकारलाई बुझायो तर ऋणीले कतैबाट सहायता पाएनन् ।

लघुवित्तको ऋण उद्देश्यमूलक हुनुपर्छ । एउटा उद्देश्यले लिएर अर्को ठाउँमा खर्च गर्दा समस्या आउने नै भयो । देखासिखी गर्ने प्रवृत्ति, त्यसलाई पूर्ति गर्ने आधुनिक उपभोक्तावादी मानसिकताले गर्दा मानिसहरू ऋणको दुष्चक्रमा फस्न पुग्छन् । महँगो मोबाइल बोक्ने, छोराछोरीलाई ठूला निजी विद्यालयमा पढाउने, चाडपर्व

भड्किलो गरी मनाउनेजस्ता आनीबानी गाउँ–गाउँ पुगेको छ । अर्कातिर लघुवित्तले सदस्यहरूलाई उत्पादन गर्न सिकाएन । ऋणमा भने कुस्त ब्याज लिइन्छ । आम्दानीको आधार केही नभएपछि एउटाबाट लिएर फेरि अर्कोलाई तिर्ने गरिन्छ । ऋण लिने ठाउँ नसकिएसम्म यो क्रम चली नै रहन्छ । प्रायः सदस्यले आफू कसरी लघुवित्तको ऋणमा फसिरहेको छु भन्ने भेउ नै पाउँदैनन् । ऋणलाई पनि अनुदानजस्तै गरेर जति पाए पनि लिने र मनलाग्दी खर्च गर्ने डरलाग्दो मनविज्ञान विद्यमान छ ।

लघुवित्तले भूमिहीन समुदाय खासगरी दलित बस्तीहरूमा सहजै प्रभाव पारेका हुन्छन् । उनीहरूलाई वित्तीय साक्षरताबिनै लापरवाह तरिकाले ऋण प्रवाह गरिदिन्छन् । व्यावसायिक योजना नहुनेहरूलाई ऋण प्रवाह गर्नु लघुवित्तको मुख्य कमजोरी भइरहेको छ । लघुवित्तले सदस्य संख्या बढाउने, बचत असुल्ने, ऋण लगानी गर्ने र रकम असुल्ने कार्यका लागि निश्चित समयावधि दिएर कर्मचारीहरूलाई गाउँ पठाउनु ठीक होइन ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०७९ असोजसम्म ७७ वटै जिल्लामा ५ हजार ६८ वटा शाखामार्फत लघुवित्तहरू फैलिएका छन् । लघुवित्तमा २३ हजार ३ सय ७४ कर्मचारी छन् भने यसले ४ लाख ३५ हजार ७ सय ७० केन्द्र बनाएका छन् । लघुवित्तको १३ लाख ७० हजार ७ सय ४८ समूह छन् । यसको कुल ५९ लाख ३६ हजार ९५ सदस्यहरूमध्ये ९७.०१ प्रतिशत महिला छन् । यो तथ्यले भन्छ, महिलालाई लघुवित्तले सदस्य बनाउन जोड दिइरहेका छन् । त्यस्तै प्रतिवेदनअनुसार ३३ लाख १० हजार ९ सय ५८ जना ऋणी छन् र २०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजी २१ अर्ब ६८ करोड रहेकामा २०७८ असार मसान्तमा १४.८५ प्रतिशतले वृद्धि भई २४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कुल पुँजी कोष २०७७ असार मसान्तमा ३७ अर्ब ३५ करोड रुपैयाँ रहेकामा २०७८ असार मसान्तमा २८.२७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४६.७१ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड रुपैयाँ रहेको देखिन्छ । २०७८ असार मसान्तमा ब्याज आम्दानी ४५ अर्ब २४ करोड र सञ्चालन आम्दानी ४१ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यसरी हेर्दा लघुवित्तले गाउँघरमा प्रशस्तै पैसा असुलिरहेका छन् र आफ्नो नाफा बढाइरहेका छन् ।

राष्ट्र बैंक भन्छ, लघुवित्त संस्थाहरूले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत निर्धारण गर्नुपर्छ । तर, आफैंले गरेको अनुगमनमा १० लघुवित्तले अनेक शीर्षक राखेर सोभन्दा बढी ब्याज असुली गरिरहेको भेटेको छ । अर्को कुरा, सहकारीहरूले जसरी लघुवित्तले आफ्नो सदस्यहरूलाई सेयर र जलविद्युत् कम्पनीले जसरी स्थानीयलाई सेयर दिँदैन । उसले ऋणी र सदस्यहरूबाट पैसा असुल्छ र आफ्नो सीईओलाई लाखौं तलब भत्ता खुवाउँछ । कर्मचारीहरू पनि यही रकमबाट चल्छन् । सञ्चालक र सेयरधनीलाई आकर्षक मुनाफा सुनिश्चित गरिन्छ । विडम्बना, जसको पैसाले लघुवित्त चलेको छ, उसले पाउने भनेको ऋण हो र सोबापत चर्को ब्याज चुक्ता गर्नुपर्छ ।

लघुवित्तले आफ्नै कार्यनीति सुधार गरेर अघि बढ्ने प्रशस्त ठाउँ छन् । लघुवित्तहरूले हरेक सदस्यको व्यावसायिक योजना बनाउन सहयोग गरेर ऋण प्रवाह गर्ने, व्यवसाय सञ्चालनका लागि सीप सिकाउने, किस्ताबन्दीमा ऋण दिने, व्यवसायको निरन्तर अनुगमन गर्ने र उत्पादनलाई बजारसँग जोडिदिने हो भने ऋणीहरू सक्षम हुनेछन् । सदस्यहरूलाई वित्तीय साक्षरता र त्यसको परिचालनका लागि नियमित कक्षाहरू चलाउन सकिन्छ । कुनै ऋणीले एक लाख रुपैयाँ ऋण लिएको छ भने उसको आम्दानी बढ्यो कि बढेन भनेर हेर्न कर्मचारी खटाउँदा राम्रो हुन्छ । कसरी हुन्छ, सदस्यको आर्थिक समृद्धिमा लघुवित्तको ध्यान जानुपर्छ । सदस्यहरूको फाइदा गराइदिँदै तोकिएको नियमअनुसारको ब्याज र शुल्कहरू लिँदा लघुवित्तले पनि मुनाफा आर्जन गर्न सक्छन् ।

यस्तो जित–जितको रणनीतिमा लघुवित्तले काम गर्नुपर्छ । सदस्यलाई उत्पादनमा नजोडी जुकाले जसरी रगत चुसेर जनतालाई निमिट्यान्न पार्नु कदापि राम्रो होइन । लघुवित्तहरूले सदस्यहरूको उत्पादन वृद्धिलाई पनि आफ्नो उद्देश्य बनाउनुपर्छ । लघुवित्तको कामकारबाहीको सुधारका लागि सरकारले पनि चासो दिनुपर्छ । तत्कालका लागि सरकारले कतै केही नभएका, गरिब ऋणीहरूका लागि राहत प्याकेजकै घोषणा गर्न सक्छ । ऋणको गलपासोले गरिब जनतालाई मृत्यु शय्यामा पुर्‍याउँदासमेत मुलुकमा सरकार भएको आभास नहुनु दुःखदायी छ ।

प्रकाशित : चैत्र १४, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

कालीमाटीमा किसानलाई छुट्याइएका स्टल व्यापारीको कब्जामा

किसानका लागि खोलिएका होल्डिङ यार्ड दुई वर्ष नबित्दै बन्द
समिति भन्छ, ‘जीर्ण स्टल मर्मतसम्भार गर्नुपरेकाले किसानका होल्डिङ यार्ड केही समयका लागि स्थगन गरेर व्यापारीलाई दिएका हौं’
राजु चौधरी

काठमाडौँ — बिचौलियालाई निरुत्साहित गर्न कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा सञ्चालनमा ल्याइएका होल्डिङ यार्ड (छुटै स्टल) व्यापारीलाई दिइएको छ । किसान र उपभोक्ताबीचको तह घटाउन ०७७ चैत १८ मा सञ्चालन सुरु गरिएको होल्डिङ यार्ड ०७९ मंसिरमा पुनः व्यापारीलाई दिइएको हो । जीर्ण स्टल मर्मतका नाममा समितिले किसानका यार्ड व्यापारीलाई दिएको हो ।

‘व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेलमा बिक्री गर्न सकून् भन्ने अक्सन/होल्डिङ यार्डको उद्देश्य थियो । उत्पादन सिधै बजारमा आउँदा किसानले मूल्य पाउँछन्, उपभोक्ता मूल्य पनि केही हदसम्म सस्तो हुन्छ,’ समितिका एक व्यापारीले भने, ‘समितिले सुरुमा प्रचारप्रसार नै गरेन । धेरै किसानलाई थाहा नहुँदा उत्साहजनक भएन । त्यसपछि भारतबाट तरकारी ल्याउने व्यापारी र कालीमाटीकै व्यवसायीले स्टल मागेका थिए । स्वार्थ मिलेपछि होल्डिङ यार्ड स्थगनका नाममा व्यापारीलाई ती यार्ड सुम्पियो ।’

किसानको उत्पादन बजारसम्म पुर्‍याउन समितिका तत्कालीन कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले यार्डको व्यवस्था गरेका थिए । समितिभित्र रहेका करिब ६ सय स्टलमध्ये किसानलाई १४ वटा छुट्याइएको थियो । ती यार्डबाट किसानले सिधै होलसेलमा बेच्न पाउने सुविधा थियो, जसले गर्दा किसानले मूल्य पाउने र उपभोक्तालाई पनि केही राहत हुने अनुमान थियो । तर, होल्डिङ यार्डलाई प्रभावकारी बनाउनुको साटो व्यापारीलाई दिइयो ।

‘किसानले गाडी–गाडीमा ल्याएर बिक्री गर्न पाउने सुविधा थियो । होल्डिङ यार्डमा पटके अनुमति अर्थात् २ सय टनसम्म तरकारी ल्याउँदा ४ सय रुपैयाँ शुल्क लाग्थ्यो । त्योभन्दा माथि हुँदा प्रतिकिलो २० पैसाका दरले शुल्क तोकिएको थियो,’ समितिका एक अधिकारीले भने, ‘बेलुकाको ७ देखि भोलिपल्ट दिउँसोको ४ बजेसम्म बिक्री गर्न पाउने अनुमति थियो । तर मंसिरयता स्थगन गरियो ।’


किसानको यार्ड खोसेर व्यापारीलाई दिने निर्णयले व्यावसायिक किसान निरुत्साहित भएका छन् । समिति किसानभन्दा व्यापारीको हकहितमा लाग्दा किसान र उपभोक्ताले समस्या बेहोरिरहेको जानकारहरू बताउँछन् । ‘समितिमा बिचौलिया नै हाबी छन् । सूचना निकाल्ने/ननिकाल्ने भन्नेमा व्यवसायी नै हाबी हुन्छन्,’ समितिका ती अधिकारीले भने, ‘पछिल्लो समय समिति नाम मात्रैको भएको छ ।’

तरकारी बजारमा बिचौलियासँगै राजनीतिक हस्तक्षेप त्यत्तिकै हुन्छ । उनीहरू उत्पादनदेखि उपभोक्तासम्म हुने तह तोड्न चाहँदैनन् । राजनीतिक दबाबकै कारण पनि किसान र उपभोक्ता मारमा परेको कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले जनाए । ‘किसानका छाता संगठनले किसानका लागि छुट्टै स्टल चाहिन्छ भनेर जोडदार माग गरेका थिए । पटकपटकको दबाबका कारण २ वर्षअघि किसानका लागि यार्ड सञ्चालनमा आए । तर दुई वर्ष नपुग्दै फेरि व्यापारीले कब्जा गरे,’ महासंघका अध्यक्ष बस्नेतले भने, ‘मर्मतका नाममा किसानलाई हटाएर व्यापारीलाई दिनु भनेको सिन्डिकोटराज हो । व्यापारीको सिन्डिकेट र राजनीतिक संरक्षणका कारण किसान मरे ।’

समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले पनि किसानका नाममा छुट्याइएको अक्सन/होल्डिङ यार्ड केही समयका लागि स्थगन गरिएको पुष्टि गरे । पूर्वाधार बनाउनुपर्ने भएकाले केही समयका लागि व्यवसायीलाई त्यहाँ राखिएको उनको भनाइ छ । एक्सन/होल्डिङ यार्डको उद्देश्यअनुसार काम नभएकाले व्यापारीलाई राखिएको उनको दाबी छ । ‘कालीमाटीभित्र निर्माणको काम भइरहेको छ । अन्य व्यवसायीलाई राख्ने ठाउँ नभएकाले मंसिरदेखि अक्सन सेन्टर बन्द गरेर व्यवसायीलाई राखेका छौं,’ पुडासैनीले भने, ‘निर्माण सकिएपछि किसानका होल्डिङ यार्ड पुनः सञ्चालनमा आउँछन् ।’

किसानले फेरि होल्डिङ यार्ड कहिले पाउलान्, यस विषयमा भने अन्योल देखिएको छ । निर्माण तीन तहमा भइरहेको छ । पहिलो तहको काम सकेर दोस्रो सुरु भए पनि तेस्रोको प्रक्रिया अझै सुरु भएको छैन । ‘चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने लक्ष्य भए पनि एउटा प्याकेज मात्रै सकिएको छ । दोस्रो प्याकेजको काम हुँदै छ,’ उनले भने, ‘त्यसपछि तेस्रो प्याकेज सुरु हुन्छ । तर खरिद प्रक्रिया नै सुरु हुन सकेको छैन ।’ यसले पनि किसानले पाउने सम्भावना कम भएको पुष्टि हुन्छ ।

‘समितिभित्र रहेका व्यापारीसँग लडेर किसानका लागि होल्डिङ यार्ड छुट्याइएको थियो । संख्या बढाउँदै लैजानुपर्नेमा बन्द गर्नु भनेको राम्रो होइन,’ कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘कुन उद्देश्यले बन्द गरेको हो, थप बुझ्नुपर्छ ।’ तरकारी फलफूल थोक बजार व्यावसायिक संस्था, कालीमाटीका अध्यक्ष गीताप्रसाद आचार्यले पनि अन्य स्टलमा निर्माण सुरु भएकाले किसानका यार्ड व्यवसायीलाई दिइएको बताए । स्टल पूर्ण रूपमा निर्माण भएपछि किसानले ती यार्ड पुनः पाउने उनको भनाइ छ ।

उपत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लासँगै भारतबाट तरकारी भित्रिन्छ । यी क्षेत्रबाट आयातित तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वरलगायत तरकारी बजारमा बिक्री हुन्छ । कालीमाटी तरकारी बजारमा प्रतिदिन ८ सयदेखि साढे ८ सय टन तरकारी भित्रिन्छ । यसमा भारतको हिस्सा ३५ देखि ४० प्रतिशत हो । कालीमाटी तरकारी बजारले उपत्यकाको करिब ७० प्रतिशत माग धान्छ ।

प्रकाशित : चैत्र १४, २०७९ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×