कति निष्पक्ष छन् हाम्रा अदालत ?

सरकारमा हुँदा होस् वा नहुँदा, राजनीतिक दलहरू जिल्लादेखि सर्वोच्चसम्मका अदालतलाई आफ्नो प्रभावको पञ्जाभित्र पार्न जति रुचि देखाउँछन्, अदालतको संस्थागत आत्मसम्मान, स्वतन्त्रता र शुद्धीकरणका बारेमा सोच्न उति नै अरुचि देखाउँछन् ।
सरिता तिवारी

लोकतान्त्रिक व्यवस्थामा प्रणालीगत निष्पक्षताको अर्थ मूल रूपमा न्यायालयको निष्पक्षता हो । संसद् र सरकारबाट हुन सक्ने त्रुटिलाई समेत ‘करेक्सन’ गर्ने अंग न्यायालय भएकाले अदालतको निष्पक्षतालाई लोकतन्त्रको सफलता परीक्षण गर्ने आधार मानिन्छ । यस्तो निष्पक्षता न्यायाधीशहरूको उच्च न्यायिक आचरणका साथै गुणात्मक र प्रभावकारी न्यायसम्पादनबाट अभिव्यक्त हुन्छ ।

अर्को शब्दमा भन्दा कुनै पनि अवाञ्छित शक्तिको प्रभावबिना गरिएको गुणात्मक न्यायसम्पादनबाट चलायमान न्यायिक सुशासन नै लोकतन्त्रको सफलता र सबलताको प्रमाण हो । यो जिल्ला र उच्च हुँदै सर्वोच्च अदालतसम्मैका गतिविधि र न्याय निरूपणबाट प्रकट हुने हो तर मातहतका अदालतका त्रुटिलाई पनि ‘चेक’ गर्ने भएकाले न्यायालयको ‘पर्फर्मेन्स’ व्यक्त हुने मुख्य ठाउँ सर्वोच्च अदालत नै हो भन्ने ठानिन्छ । त्यसकारण अदालत कति निष्पक्ष (फेयर) छन् भन्ने कुरा जान्न सर्वोच्च अदालत कस्तो छ भन्ने हेरे मात्रै पनि पर्याप्त हुन्छ ।

केही वर्षयता न्यायालय निष्पक्ष छैनन्, न्यायाधीशहरू कतिपय अवाञ्छित प्रभावबाट प्रेरित छन् भन्ने विषयमा खुलेर छलफल हुन थालेका छन् । स्वयं सर्वोच्च अदालतले तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन गरेको न्यायालय शुद्धीकरणसम्बन्धी सुझाव कार्यान्वयनसहितको कार्यभार प्राप्त समितिले २०७८ साउन १० मा पेस गरेको प्रतिवेदनले न्यायपालिका र नियामक निकायमा यस्ता कैयौं समस्या भएको स्वीकार गरेको मात्रै छैन, समाधानका कानुनी र संरचनागत उपायको सुझाउ पनि दिएको छ । अलि वर्ष अघिसम्म सार्वजनिक स्पेसमा न्यायालयभित्र भ्रष्टाचार छ, न्यायालय शक्तिका स्रोत र प्रभावहरूबाट प्रभावित छन् भन्ने कुरा गर्नै वर्जितजस्तो थियो । न्यायालयभित्र भ्रष्टाचार छ भन्दा मात्रै पनि अदालतको अवहेलना र अपमान गरेको बुझिन्थ्यो । तर, पछिल्ला वर्षहरूमा खुल्दै आएका र सार्वजनिक बहसकै विषय बनेका धेरै तथ्य र प्रकरणले अदालतभित्र नैतिक र आर्थिक दुवैखाले भ्रष्टता छन् भन्ने पुष्टि गरिरहेका छन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बार एसोसिएसनको लामो आन्दोलन र तत्कालीन संसद्को महाभियोग सिफारिस समितिले लगाएका आरोपको फेहरिस्त यसैको एउटा उदाहरण हो । खोज्नै पस्ने हो भने राणाकै जस्ता उदाहरण भेटिने अन्य धेरै प्रकरण छन् । केही महिनाअघि न्यायाधीश–वकिलबीचको घूस–संवाद बाहिरिएको तथ्य तिनैमध्येको चर्चित प्रसंग हो । यसको अर्थ अदालतका हरेक निर्णय निष्पक्षताको कसीमा जाँच्दा गुणहीन र कमजोर छन् भन्ने होइन । तर, पैसावाल, पहुँचवाल, ‘ठूलाबडा’ र प्रभावशाली नाम जोडिएका हरेक मुद्दा शंकाको घेराभित्र राखिनुपर्ने अवस्थामा रहेछन् भन्नेचाहिँ स्पष्टै हो ।

...

यहाँ, आम सञ्चारमाध्यमले धेरै स्थान दिएका पछिल्ला दुइटा मुद्दाको मात्रै कुरा गरौं ।

यही फागुन अन्तिम साता रामेछाप जिल्ला अदालतमा न्यायाधीश इन्दिरा शर्माको इजलासले जबर्जस्ती करणी उद्योग गरेको आरोपमा पवन कठायतविरुद्ध परेको उजुरीको फैसला गर्दा पीडितले दिएको उजुरीको ‘ग्राउन्ड’ र पीडक परिवारबाट ‘पहुँच र शक्ति’ का आडमा पटक–पटक पीडितले भोगी आएका हिंसाको वस्तुगत तथ्य बेवास्ता गर्‍यो । फैसलाले बलात्कार उद्योगकी पीडितलाई आधारभूत तथ्यका मापदण्डमा ‘न्यायिक मन’ र विवेकले हेरिदिएन । जिल्लाको फैसलाले हतास र आक्रोशित पीडितलगायतले त्यही साँझ रामेछाप अदालत परिसरमै नाराबाजीसमेत गरे । यस मुद्दालाई माथिल्ला अदालतमा कसरी जाँचिन्छ, जिल्लामा भएका कमजोरीको ‘करेक्सन’ हुन्छ कि हुँदैन, त्यो हेर्नै बाँकी छ ।

यी पीडित तिनै युवती हुन् जसले आफू बलात्कृत भएकै पुरुषसँग बिहे गर्नुपर्ने स्थिति आइलागेर बिहे गरेपछि पनि लोग्ने र परिवारका अन्य सदस्यको चरम यातनाविरुद्ध अनेकौं प्रयत्नले लडिन् । बलात्कारको मुद्दा लाग्ने हदम्याद सकिएपछि लोग्नेको परिवार उनीमाथि झन् आक्रामक बन्यो । यसको प्रतिकार गर्दा रामेछापस्थित प्रहरी, अस्पतालका डाक्टरलगायत सबैबाट असहयोग मात्रै पाइनन्, शरण पर्दा मरण गराउने स्थितिसमेत झेलिन् । सहयोगको गुहार माग्दा उल्टै पीडक परिवारलाई साथ दिने र उनलाई बलात्कार उद्योगसम्मको परिस्थितिमा धकेल्ने सरकारी पदधारीहरू नै थिए । आफूलाई बलात्कार गरेकै व्यक्तिसँग लोग्नेस्वास्नीको सम्बन्धमा बस्न बाध्य हुनु, अनेकौं शारीरिक र मानसिक प्रताडना खप्नु र अन्ततः सम्बन्धविच्छेदको मुद्दाबाट परित्यक्त हुने स्थिति आइलाग्नु जस्ता सबै अवसाद थिलथिलिएपछि इजलासकै क्रममा विष पिएकी उनी पहिले रामेछाप र पछि काठमाडौंमा उपचार भएर संयोगले बाँचिन् ।

यहीबीचमा उनले केही महिनाअघि सर्वोच्च अदालत अगाडि सेतो लुगा लगाएर त्यसमा रातो रङ छ्याप्दै न्यायिक सुनुवाइका लागि गुहार मागेर रचनात्मक प्रतिरोधसमेत गरिन् । तर, देशका सर्वोच्च न्यायाधिकारीले पहुँच र शक्तिविहीन एउटी छोरीको वर्षौं लामो एक्लो अठोट र संघर्षको भाषा बुझेनन् । यिनै पीडितले काका ससुरा पवन कठायतबाट अनेकौं पटक यौन दुर्व्यवहार र करणी उद्योगसमेत झेल्नु परेर दिएको करणी उद्योगको उजुरीमा रामेछाप जिल्ला अदालतको फैसलाले ‘आरोप प्रमाणित नभएको’ भनेको छ । घटनासँग सम्बद्ध अन्य तथ्यहरूको सिलसिला र पीडितलाई भय, त्रासमा पारेर अपराध लुकाउने प्रपञ्चका त्यति धेरै प्रकरण न्यायाधिकारीका नजरमा नपर्नुले के देखाउँछ ? यो मुद्दाबारे त सञ्चारमाध्यमबाट बाहिरिएका केही तथ्यका कारण धेरैको ध्यान तानिएको भएर यति कुरा थाहा भएको हो । ‘विचाराधीन’ भन्दै अदालतको जस्केलाबाटै चुप पारिएका र उजुरीकर्ताले सार्वजनिक प्रतिकार गर्न नसकेका यस्ता असंख्य मुद्दा छन् जहाँ अदालत शक्ति/पहुँच/प्रभावको छायामुनि थिचिन्छ । निश्चित हो, यस्ता अनेकौं मुद्दामा हाम्रा अदालत ‘फेयर’ छैनन् ।

अर्को चर्चित प्रसंग । भर्खरै मात्र सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको नाबालकमाथि जबर्जस्ती करणी मुद्दामा प्रतिवादी लामिछाने देशको प्रतिनिधित्व गर्दै खेल्नका लागि विदेश जान पाउने आदेश मात्रै गरेन, माग गरेभन्दा पनि बढी पोल्टामा राखिदिएर उनको ‘सेलेब्रिटी’ शक्तिको प्रभाव कतिसम्म परेको रहेछ भन्ने छर्लङ्ग देखाएको छ । जिल्ला अदालत काठमाडौंमा विचाराधीन यो मुद्दामा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिने उच्च अदालत र सो आदेशलाई सदर गर्दै विदेशमा खेल्न जान अनुमति दिने सर्वोच्च अदालत दुवैको निष्पक्षतामाथि प्रश्न गर्ने यति धेरै छिद्र छन्, त्यसलाई चौतर्फी सवाल बनाइएको जगजाहेरै छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ ले निर्देशित गरेअनुसार दस वर्षभन्दा बढी सजाय हुने गम्भीर कसुर गरेको अभियुक्तलाई थुनामुक्त गर्न सोही दफाको उपदफा ३ अनुसारको अवस्था भए मात्रै सम्भव छ । यस्तो अवस्था सन्दीप लामिछाने प्रतिवादी रहेको मुद्दामा आकर्षित हुँदैन, यो प्रस्टै छ ।

यति मात्रै होइन, मुद्दाको सुनुवाइलगत्तै आदेश सार्वजनिक गर्दा सर्वोच्च अदालतका प्रवक्ताले पढेर सुनाएको विवरण र सोही अदालतले तीन दिनपछि मुद्दाका वादी–प्रतिवादीलाई उपलब्ध गराएको आदेशमा उक्त आदेशका आधारहरूमा धेरै नै हेरफेर गरिएकाले सर्वोच्च अदालतले गरेको न्यायसम्पादन फितलो भएको भन्दै सार्वजनिक आलोचना चुलिएको छ । विवादित भनिएको ‘पीडितको उमेर’ सम्बन्धका नयाँ तथ्य प्रतिवादीले कुन स्रोतबाट कसरी जुटाएको हो भन्ने विषयमा सुरु अदालतले नै मसिनो जाँच गर्छ भन्ने स्वतः ज्ञात हुने विषय हो ।

यसबारे उच्च र सर्वोच्च दुवै अदालतबाट आफ्ना आदेशमा बारम्बार अनावश्यक रूपमा ‘मेन्सन’ हुनुले न्यायसम्पादनको विश्वसनीयता र निष्पक्षतामा सन्देह गर्ने ठाउँ दिएको छ । यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने पीडितको उमेर सम्बन्धमा विवाद भएको भनी प्रतिवादीतर्फका कानुन व्यवसायीले पेस गरेकै कागज खासमा विवादित प्रतीत हुन्छन् । विपक्षीतर्फबाट पेस भएका पीडित जन्मँदाको अस्पतालको कागज, सम्बन्धित वडा कार्यालयबाट पठाइएको भनिएको जन्मदर्ता कागज र कक्षा ८ को भर्ना विवरणलगायतका सबै कागजको सत्यापन नहुन्जेल पीडितको नागरिकता प्रमाणपत्रअनुसारको उमेरलाई नै आधिकारिक मानेर आदेश मागिएको विषयमा मात्रै केन्द्रित हुनुपर्ने हो । यसरी उपल्ला अदालतले यसबारे ‘संज्ञान’ लिएको जताउनुको निहितार्थ सार्वजनिक संज्ञानबाहिर हुने कुरा भएन । यसमाथि कसैले पनि प्रश्न गर्ने अधिकार राख्छ ।

यी दुई प्रकरण उल्लेख गर्नुको तात्पर्य यत्ति हो कि ‘पब्लिक डिस्कोर्स’ मा आइरहेकै मुद्दाहरूमा त अदालत ‘फेयर’ नभएको हो कि भन्ने आशंका जन्मने स्थिति छ भने सार्वजनिक जानकारीमा नहुने (सामान्यतया हुँदैनन् नै) अन्य मुद्दा छिन्ने क्रममा अदालतको निष्पक्षता कस्तो होला ? ठगी तथा संगठित अपराधका आरोपित इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार कोइराला र कानुन व्यवसायी रुद्रप्रसाद पोखरेलबीच भएको दुई करोडको ‘घूस’ को प्रकरण भुसभित्र फैलिरहेको आगोको संकेत पनि हो भनेर स्वीकार नगर्ने हो भने यो ‘अदालत शुद्धीकरण’ भन्ने विषय विचार–विलासको एउटा कथा मात्रै हुनेछ । यसको सबभन्दा ठूलो मार असल नियतले काम गर्ने, शुद्ध तलब र सेवा शुल्कले जीविका चलाउने इमानदार मानिसमाथि पर्नेछ ।

...

देशको न्यायपालिका यतिका महिनादेखि कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको छ । न्यायालयलाई नेतृत्व दिलाउन अवरुद्ध गर्ने तत्त्व राजनीतिक स्वार्थ–बझानभन्दा अरू केही होइन भन्ने दुनियाँलाई थाहा छ । यसरी न्यायालयमा कामु भन्दै प्रधानन्यायाधीशको प्रतिष्ठाको तेजोवध भइरहँदा

आफ्ना नाम जोडिएका मुद्दामा भने प्रतिक्रियात्मक भइहाल्ने, युद्धकालीन साथी गुहार्ने हतारो देखाइन्छ । वर्तमान गठबन्धन सरकारका कार्यकारी र सम्बद्ध दलहरू कसैका लागि पनि न्यायालयको ‘आत्मसम्मान’ सरोकारको विषय भएको देखिन्न । सरकारमा हुँदा होस् वा नहुँदा, राजनीतिक दलहरू जिल्लादेखि सर्वोच्चसम्मका अदालतलाई आफ्नो प्रभावको पञ्जाभित्र पार्न जति रुचि देखाउँछन्, अदालतको संस्थागत आत्मसम्मान, स्वतन्त्रता र शुद्धीकरणका बारेमा सोच्न उति नै अरुचि देखाउँछन् । यसै कारण पनि अदालतहरू ‘फेयर’ होऊन् या नहोऊन्, यसमा सार्वजनिक चिन्ता रत्तिभर देखिँदैन । जसलाई पर्‍यो पर्‍यो । नपर्नेले बेहोरेपछि थाहा पाउँछ । सक्ने ‘पावर–गेम’ को रिङभित्र छिर्छ र न्यायलाई आफ्नो अनुकूल गराउँछ, नसक्ने प्रक्रियाको चक्रभित्र पसेर घुमिरहन्छ र आफ्नो भागको भुक्तान बेहोर्छ । यसबाट अरूलाई के फरक पर्छ ?

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरिदिएबापत राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने भनियो । त्यसैअनुसार दाहालले सो दलबाट विश्वासको मत पनि लिएका छन् । यस विषयमा महान्यायाधिवक्ता कार्यालयले नै लामिछानेलाई ढुक्क बनाइदिएको छ । मतलब, सत्ताको बार्गेनिङमा प्रहरी र अदालतका नियमित प्रक्रियामा लिन सकिने उजुरी र सुनुवाइ प्रभावित गर्ने काम हातहातै गरियो । यस्ता दृष्टान्त त कति छन् कति । सत्ता राजनीतिका साध्य फत्ते गर्न अनुसन्धान प्रक्रिया नै उलटपुलट बनाइदिने कुरा पनि सामान्य नै भइसकेका छन् । यो अत्यन्तै डरलाग्दो गरी स्थापित भएको प्रवृत्ति हो, जसको प्रामाणिक दृष्टान्त बाँकेकी निर्मला कुर्मीको अपहरण, सम्पत्ति हिनामिना तथा हत्याका आरोपित बादशाह कुर्मीको मुद्दामा स्पष्ट देखिन्छ । राजनीतिक शक्ति–खेलको आडमा न्यायको गला कसरी रेटिन्छ भन्ने सबभन्दा प्रस्ट देखिने उदाहरण हो यो । सरकारी वकिलका कार्यालयदेखि अदालतसम्मको नजर किन ‘फेयर’ हुन सक्दैन भन्ने प्रमाण यस्ता अनेकौं प्रकरणबाट बुझिन्छ ।

अब त न्यायाधीश नियुक्तिका क्रममा ‘दलका मानिस’ हरू खाँद्ने र पछि तिनै मानिसलाई दलीय वा अन्य स्वार्थका लागि ‘ब्याक अप’ का रूपमा प्रयोग गर्ने प्रचलन मानौं ‘कानुनसम्मत र वाञ्छनीय’ जस्तै बनाइसकिएको छ । समाज पूरै यो वा त्यो दलको प्रभावले चलायमान हुने मेसिन बनाइएको छ । जो पैसा वा पहुँचका शक्तिले उक्त मेसिनमा ‘फिट’ हुन सक्दैन, त्यसका लागि न्याय दुर्गम टापुको यात्रासरह कष्टकर भइरहेको छ । हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीले संयोजन गर्नुभएको उक्त समितिले दिएको प्रतिवेदनले संकेत गरेभन्दा पनि भयावह रूपमा न्यायालयभित्र बिचौलिया नै बिचौलियाको घेरो बाँधिएको छ । न्यायाधीश–वकिल घूस संवादले उजागर गरेजस्तै को कानुनकर्मी, को बिचौलिया, छुट्याउनै मुस्किल हुने गरी अदालतभित्रै न्यायिक सदाचार (जुडिसियल इन्टिग्रिटी) को धज्जी उडेको छ । मुद्दाका पीडितहरू रुँदै, आक्रोशित हुँदै निस्कँदा जघन्य अपराधका प्रतिवादीहरू मुद्दा विचाराधीन रहँदै फूलमाला लगाएर हात हल्लाउँदै निस्कने आजको दिन यसै आएको होइन ।

अब पनि अदालतको निष्पक्षता कहाँ–कहाँ अपहरित भएको छ भन्ने विषयमा निर्मम भएर नसोच्ने हो भने न्यायिक सुशासन स्थापित हुने सबै कल्पना बेकार हुनेछन् । यसको कारण ‘राजनीतिक मिलिभगत’ को कुसंस्कृति हो या प्रशासनिक सुव्यवस्थाको अभाव ? या संरचनात्मक र कानुनी पक्षबाटै हस्तक्षेप चाहिएको हो, सम्बन्धित पक्षहरूले कठोरतासाथ समीक्षा गरी पाइला चाल्नुपर्ने देखिन्छ ।

प्रकाशित : चैत्र १४, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

सामुदायिक विद्यालयका सवाल

रमेशप्रसाद गौतम

विद्यालय राम्रो हुन शिक्षक, अभिभावक र सरकारी संयन्त्रबीच उचित समन्वय चाहिन्छ । खासगरी अभिभावकको संलग्नताबिना विद्यालय अघि बढ्न सक्दैन । अहिले पनि विद्यालय व्यवस्थापनका सवालमा अभिभावकको भूमिकालाई न्यून आँकिएको पाइन्छ । शिक्षक–कर्मचारीका भरमा मात्र सामुदायिक विद्यालयलाई छाडिएको पाइन्छ ।

अभिभावकको संलग्नताले शिक्षकको स्वायत्तता गुम्छ कि भन्ने धारणा छ, जुन ठीक होइन । शिक्षकको स्वायत्तताको मर्यादा गर्दै अभिभावकको भूमिका मजबुत बनाउनु जरुरी छ । एक पक्षको स्वायत्तताका नाममा अर्को पक्षलाई निष्क्रिय तुल्याउनु हुँदैन । सबै सरोकारवालाको सहभागिता र सहयोगबाट मात्रै सामुदायिक विद्यालयको उन्नति सम्भव छ । अभिभावकले शिक्षकको व्यावसायिकतामा दुःख दिन्छन् भन्ने धारणा पनि गलत हो । यस्तो परिपाटीले अभिभावकलाई विद्यालय व्यवस्थापनमा हौसाउँदैन । अभिभावकहरू कमजोर छन् भनेर विद्यालयमा उनीहरूको संलग्नतालाई अस्वीकार गर्नु हुँदैन ।

अभिभावकसहितको संलग्नतामा विद्यालयमा गुणस्तरीय शिक्षा सम्भव छ । नेपालको संविधानले सबै नागरिकको आधारभूत शिक्षामा पहुँचको अधिकारको व्यवस्था गरेको छ । आधारभूत तह अनिवार्य र निःशुल्क तथा माध्यमिक तह निःशुल्क हुने भनेको छ तथापि गुणस्तरबारे केही स्पष्ट व्यवस्था छैन । खासमा निःशुल्क र अनिवार्य मात्र भनेर पुग्दैन । गुणस्तरीय शिक्षामै प्रत्येक नागरिकको पहुँच अनिवार्य हुनुपर्नेमा जोड दिनुपर्छ ।

संयुक्त राष्ट्रसंघले गुणस्तरीय शिक्षालाई समावेशी र दिगो विकासको बृहत् राष्ट्रिय लक्ष्यसँग जोडेको छ । गरिबी र असमानता अन्त्य गर्न चाहिने ज्ञान, सीप तथा मनोवृृत्ति विकास गर्ने शिक्षा नै स्तरीय शिक्षा हो । हाम्रो सन्दर्भमा गुणस्तरीय शिक्षाका फरक–फरक दृष्टिकोण पाइन्छन् । विद्यार्थीले परीक्षामा बढी अंक ल्याउनुलाई, विद्यालयले विद्यार्थी संख्या बढ्नुलाई गुणस्तर ठान्छन् । कतिपय अभिभावकले आफ्ना सन्तानले सरकारी सेवा प्रवेश गर्न मद्दत गर्ने शिक्षालाई गुणस्तरीय मान्छन् । कतिले अंग्रजी भाषामा लेख्न र बोल्न सक्नुलाई नै गुणस्तरीय शिक्षा मान्न थालेका छन् । यही कारण कतिपय सामुदायिक विद्यालयले अंग्रेजी भाषालाई सिकाइको माध्यम बनाउँदै छन् । तर, अंग्रेजी भाषाले कसरी सिकाइको स्तर सुध्रन्छ भन्ने प्रश्नतर्फ कसैले ध्यान दिएको पाइँदैन । खालि स्थानीय निजी विद्यालयसँगको प्रतिस्पर्धाका लागि मात्र अंग्रेजीलाई माध्यम भाषाका रूपमा अपनाइएको देखिन्छ ।

हाम्रोजस्तो परीक्षामुखी शिक्षा प्रणालीले आजको स्थानीय आवश्यकता र विश्व परिवेशसँग जोड्ने योजना र रणनीतिअनुरूपका जनशक्ति उत्पादनबारे चासो राखेको छैन । तदनुरूप दक्ष र योग्य शिक्षक तथा आवश्यक पूर्वाधार निर्माणबारे पनि सोच पुगेको देखिँदैन । जबकि, शिक्षकहरूमा राम्रो तालिम, उचित पारिश्रमिक, नयाँ प्रविधिसम्बन्धी सिकाइ र शिक्षण सीप विकास गर्नतर्फ ध्यान पुर्‍याउन अपरिहार्य छ ।

स्तरीय विद्यालयका लागि दक्ष शिक्षक, कुशल शैक्षिक व्यवस्थापनका साथै अडिटोरियम हल, संगीत कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, चमेना गृह, प्राथमिक उपचार कक्ष र छात्रछात्राका लागि अलग उपयुक्त शौचालयको व्यवस्था हुनु पनि त्यत्तिकै जरुरी छ । अतिरिक्त क्रियाकलापका लागि खेल मैदानलगायतका संरचनाहरू पनि निर्माण गरिनुपर्दछ । विद्यार्थीका लागि पाठ्यपुस्तकबाहिरका विभिन्न सान्दर्भिक पुस्तक र पत्रपत्रिका पनि उपलब्ध हुनुपर्छ । इन्टरनेट पहुँचको प्रबन्ध मिलाउन सकेमा विद्यार्थीले सहजै नयाँ–नयाँ सूचना संकलन गर्न सक्छन् ।

अर्को, शिक्षक छनोटको पाटो पनि शिक्षा सुधारका लागि अति महत्त्वपूर्ण छ । शिक्षक सेवा आयोगका अतिरिक्त स्थानीय एवं विद्यालयस्तरमै पनि विभिन्न स्रोतबाट तलब खुवाउने गरी शिक्षकहरू भर्ना गरिएका हुन्छन्, यस्तो छनोट निष्पक्ष प्रतिस्पर्धाका माध्यमबाट हुनुपर्छ । हाम्रा विश्वविद्यालयदेखि विद्यालयसम्मै भनसुन वा सत्ताधारीसँगको पहुँचमार्फत कुनै न कुनै तवरबाट नियुक्ति लिई पछि स्वतः स्थायी हुन पाऊँ भनी माग राख्दै आएका घटना थुप्रै छन् । स्थायी हुन पाउने अधिकार अस्थायी शिक्षकको पनि हुन्छ तर प्रतिस्पर्धा छलेर होइन । यस्ता शिक्षकले मेरो पुरानो अनुभव पनि गणना होस् भनेर माग गर्नुसम्म मुनासिब हो तर अस्थायी कार्यरत भएकैले स्वतः स्थायी हुनुपर्छ भन्न पाइँदैन । तबसम्म शिक्षामा गुणस्तर भएन भनेर जति फलाके पनि कुनै अर्थ रहँदैन जबसम्म दक्ष शिक्षक छनोट प्रक्रियालाई पारदर्शी ढंगले अगाडि बढाइँदैन । पहिले स्वतः स्थायी एक अम्मलजस्तो थियो । शिक्षक संघ संगठन पनि पेसागत हकहितका नाममा आन्दोलन गरी क्षणिक स्वार्थ पूरा गराउनमा तल्लीन थिए । आज शिक्षाको स्तर खस्कनुको एउटा कारण यो पनि हो ।

राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्रमा गुणस्तरीय शिक्षाको मुद्दा उठाउन छाडेका छैनन् । सबै सरोकारवालाले शिक्षाको गुणस्तर खस्केको छ भन्न छाडेका छैनन् । तर, शिक्षा सुधारमा कसैको पनि गम्भीरतापूर्वक चासो नदेखिनु, राजनीतिक दलहरूले यो विषयलाई केवल चुनावी नारामा मात्र सीमित राख्नु एवं राज्य स्वयंले शिक्षालाई प्राथमिकतामा नराख्नु विडम्बनापूर्ण छ । हाम्रा देशका हुने खाने वर्गको ध्यान सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धितर्फ छैन । उनीहरूका केटाकेटी महँगा निजी स्रोतका विद्यालयमा पढ्छन् । उच्च शिक्षाका लागि विकसित देश अमेरिका, बेलायत, अस्ट्रेलिया आदि मुलुकमा प्रवेश पाउनका लागि आधार बनेका छन् निजी विद्यालयहरू । यही कारण मध्य र निम्नमध्यम वर्गले समेत खाई नखाई दुःखजिलो गरेर भए पनि निजी विद्यालयमा नै आफ्ना सन्तान पढाउन रुचाउँछन् । यसरी हाम्रा सामुदायिक विद्यालयहरू उपेक्षित छन् ।

प्रकाशित : चैत्र १४, २०७९ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×