दूधको उपभोक्ता मूल्यको मनपरी रोक

सम्पादकीय

सरकारले किसानले पाउने दूधको मूल्य लिटरको ८ रुपैयाँ ६६ पैसा बढाए पनि माथिल्लो मूल्य नतोक्दा उपभोक्ताहरू मारमा परेका छन् । दुग्ध विकास संस्थान (डीडीसी) लगायतका डेरी उद्योगहरूले उपभोक्ताका निम्ति लिटरमै १६ रुपैयाँसम्म बढाएका छन् । त्यसमाथि खुद्रा बिक्रेताहरूले दूधका प्याकेटमा उल्लिखित अधिकतम खुद्रा मूल्यभन्दा पनि आधा लिटरमै पाँच रुपैयाँसम्म बढी असुल्ने गरेका छन् ।

यसरी उपभोक्तामाथि दोहोरो ठगी भैरहेको छ । तापनि सरकारी नियामक निकायहरू मौन रहँदा उनीहरूलाई यस लुटका निम्ति छुट मिलिरहेको प्रतीत हुन्छ ।

किसानले पाउने दूधको मूल्य बढाउनु निःसन्देह जायज छ । आफ्नो उत्पादनको उचित मूल्य पाउने हक उनीहरूले राख्छन् । उचित मूल्य नपाउँदा र लामो समयसम्म उधारो नउठ्दा प्रताडित भएका किसानहरूलाई यसबाट थोरै भए पनि न्याय मिलेको छ । यसको एउटै सर्त, उनीहरूलाई यसरी बढेको रकम बाँकी नराखियोस् भन्ने हो । तर, किसानहरूलाई रकम बढाइएका नाममा जुन मात्रामा उपभोक्ताका निम्ति पनि भाउ बढाइएको छ, त्यो भने सरासर नाजायज एवं अन्यायपूर्ण छ ।

बढ्दो चौतर्फी महँगीका कारण डेरी उद्योगहरूको सञ्चालन खर्च पनि पक्कै वृद्धि भैरहेको छ; तर यसको अर्थ, किसानका निम्ति थप भएको रकम बराबरै सञ्चालन खर्च पनि बढ्छ अर्थात् बढाउन पाउनुपर्छ भन्ने होइन । किसानलाई ८ रुपैयाँ बढाउँदा उपभोक्ताको थाप्लोमा प्रत्यक्ष १६ र अप्रत्यक्ष रूपमा २०–२१ रुपैयाँसम्म थपिदिनु कुनै पनि दृष्टिमा जायज होइन । दूध प्रशोधनका क्रममा घिउ–मखनसमेत चोखै सुरक्षित गर्न पाउने उद्योगहरूले उपभोक्ता मूल्य यति धेरै बढाउनुको औचित्य कुनै पनि तर्कले पुष्टि गर्न सक्दैन । अतः, अहिले भैरहेको मनपरी रोकिनु अपरिहार्य छ ।

पहिलो त, दूधको उपभोक्ता मूल्य नै न्यायोचित ढंगले निर्धारण गर्नुपर्छ । र दोस्रो, दूध बिक्री गरेबापत बुथम्यानमार्फत कमिसन पाउँदै आएका खुद्रा पसलले अधिकतम खुद्रा मूल्यभन्दा बढी रकम असुलेर उपभोक्तामाथि जुन ठगी गरिरहेका छन्, त्यो पूर्ण रूपमा रोकिनुपर्छ । डीडीसीले बुथम्यानलाई प्रतिलिटर ५ रुपैयाँ ५० पैसा कमिसन दिने गरेको छ भने आधा लिटरमा २ रुपैयाँ ७५ पैसा । निजी डेरीहरूले पनि प्रतिलिटर ६ देखि ९ रुपैयाँसम्म कमिसन दिने गरेका छन् । यो मूल्य खुद्रा पसलले बिक्री गरेको दूधको कमिसनसहित हो । त्यसैले थप शुल्क लिने अधिकार बिक्रेताहरूलाई छैन ।

बिक्रेताहरूले आफ्नो कमिसन कम गरी बरु उपभोक्तालाई सहुलियत दिन सक्छन्, तर निर्धारित रकमभन्दा बढी असुल्न कदापि पाउँदैनन् । अधिकतम मूल्य भनेकै ग्राहकले तिर्नुपर्ने हुन सक्ने सबैभन्दा बढी रकम हो, जसमा ढुवानी भाडादेखि बिक्रेताको कमिसनसम्म पहिल्यै जोडिएको हुन्छ । त्यसझन्दा बढी रकम असुल्नु बित्रेताको हक होइन, सरासर ठगी हो । त्यसैले ग्राहकमाथि भैरहेको यो अन्याय बन्द हुनुपर्छ । यसका निम्ति नियामक निकायहरूले आफ्नो उपस्थिति देखाउनुपर्छ ।

नियामक निकायहरूले यो विषयलाई किन गम्भीरतापूर्वक लिनुपर्छ भने, यो एक–दुई उपभोक्ता, एक–दुई पटक, दुई–चार रुपैयाँ ठगिने विषय होइन । यो लाखौं भान्सा एवं उपभोक्ताको सवाल हो । बेथिति कायमै रहने हो भने दिनमै ७ लाख लिटर दूध बिक्री हुने काठमाडौं उपत्यकामै मात्रै यही कारण वर्षमा आम उपभोक्ताबाट १ अर्ब रुपैयाँभन्दा बढी ठगी हुन्छ ।

यसै पनि दूधको मूल्य निरन्तर बढ्दो छ । यसअघि गत वर्ष माघमा मात्रै फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म भाउ बढाइएको थियो । जबकि, राष्ट्रिय दुग्ध विकास नीति–२०७८ अनुसार वार्षिक मूल्यवृद्धि एवं उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक दुई वर्षमा पुनरवलोकन गर्न सकिन्छ । तर किसानले मूल्य बढाइएको बहानामा छोटो अवधिमै डेरी उद्योगहरूले खुद्रा मूल्य अचाक्ली बढाएका छन् । तसर्थ, एकातिर दूधको खुद्रा मूल्यमै पुनरवलोकन गर्नुपर्छ भने बिक्रेताबाट भैरहेको अतिरिक्त ठगी रोक्न पनि यथोचित अनुगमन हुनुपर्छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मात्र नभएर यसका निम्ति डीडीसी लगायतका दुग्ध उद्योगहरूले नै पनि पहल गर्नुपर्छ । जसरी हुन्छ, उपभोक्ताहरू ठगिन बन्द हुनुपर्छ ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

आजकै दिन : टाइटानिकको ओस्कर रेकर्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९८ मा आजकै दिन (मार्च २३) मा आजकै दिन ‘टाइटानिक (१९९७)’ फिल्मले विभिन्न ११ विधामा ओस्कर अवार्ड जितेको थियो । ७० औं एकेडेमी अवार्डअन्तर्गत फिल्मले उत्कृष्ट फिल्म, निर्देशक, आर्ट डाइरेक्सन, सिनेमाटोग्राफी, कस्ट्युम डिजाइन, फिल्म एडिटिङ, ओरिजिनल ड्रामाटिक स्कोर, ओरिजिनल सङ, साउन्ड मिक्सिङ, साउन्ड इफेक्ट्स एडिटिङ, भिजुअल इफेक्ट्स गरी ११ विधामा अवार्ड जितेको थियो । 

११९२ को अप्रिल १५ मा ‘आरएमएस टाइटानिक’ पानीजहाज डुबेको घटनामा आधारित फिल्म जेम्स क्यामेरुनले निर्देशन गरेका हुन् । घटनामा एक हजार पाँच सय जनाभन्दा बढीको ज्यान गएको थियो ।

उक्त सफलतासँगै ‘टाइटानिक’ ले ओस्कर अवार्डमा सबैभन्दा बढी विधामा अवार्ड जित्ने कीर्तिमान बराबरी गरेको थियो । त्यसअघि ‘बेन–हर (१९५९)’ ले ११ विधामा ओस्कार अवार्ड जितेको थियो ।

‘टाइटानिक’ भन्दा पछि भने ‘द लर्ड अफ द रिङ्स : द रिटर्न अफ द किङ (२००३)’ ले ओस्करमा ११ विधामा अवार्ड जितिसकेको छ । अंग्रेजी लेखक जेआरआरको ‘द रिटर्न अफ द किङ’ उपन्यासमा आधारित फिल्म पिटर ज्याक्सनले निर्देशन गरेका हुन् ।

‘वेस्ट साइड स्टोरी (१९६१)’ ले १० विधामा तथा ‘जिगी (१९५८)’, ‘द इंगलिस प्यासेन्ट (१९६६)’ र ‘द लास्ट एम्पेरर (१९८७)’ ले समान ९ विधामा ओस्कार अवार्ड जितका थिए । अन्य आठ फिल्मले विभिन्न आठ विधामा अवार्ड हात पारिसकेका छन् ।

यस वर्ष गत मार्च १३ मा सम्पन्न ९५ औं ओस्कर अवार्डमा भने ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषित भएको थियो । फिल्मबाट डेनिएल क्वान र डेनिएल साइनर्टले उत्कृष्ट निर्देशकको अवार्ड जिते । त्यस्तै, ब्रेन्डन फ्रेसर उत्कृष्ट अभिनेता र मिसेल योह उत्कृष्ट अभिनेत्री बनिन् ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×