साना दलका सौदाबाजी

जैनेन्द्र जीवन

राष्ट्रपति चुनावमा आफ्ना लागि भोट माग्न गठबन्धनका अरू नेताहरूसहित आएका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष फौजदारी मुद्दामा सजाय पाई थुनामा रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरीले केही सर्त राखे ।

एक, पत्नी रञ्जितालाई सहरी विकास मन्त्रालय हेर्ने गरी उपप्रधानमन्त्री; दुई, संघमा अर्को एउटा राज्यमन्त्री; तीन, प्रदेशहरूमा पनि सत्ता साझेदारी; चार, सुदूरपश्चिम प्रदेशको नाम ‘खप्तड–थरुहट प्रदेश’ मा परिवर्तन; पाँच, सो प्रदेशमा नाउपा नेतृत्वको सरकार; छ, टीकापुर क्षेत्रलाई कैलालीबाट छुट्याई छुट्टै जिल्ला निर्माण ।

सत्तामा भाग पाउने कुरामा साना दलका पनि न्यायोचित आकांक्षा हुन्छन्, जसको सम्बोधन हुनुपर्छ । तर, संसद्का २७५ मध्ये ३ सिट मात्र भएको, प्रतिनिधित्वका हिसाबले एघारौं स्थानमा रहेको र राष्ट्रिय दलको मान्यतासम्म पाउन नसकेको दलका यस्ता माग, एक शब्दमा भन्नुपर्दा, अनुचित हुन् । मौकाको फाइदा उठाउँदै हैसियतभन्दा ठूलो माग राख्ने परिपाटीले राजनीतिलाई अहिलेभन्दा पनि धेरै बिगार्ने निश्चित छ । सदनमा प्रतिनिधित्वका हिसाबले चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि गृहमन्त्री पद आफ्नो दलले फेरि पाउनैपर्ने माग पूरा नभएपछि सरकारबाट बाहिरिएको थियो, केही हप्ताअघि । एक फेर पाइसके पनि सर्वोच्च अदालतको फैसला बमोजिम आफ्ना नेताले सांसद पदबाटै हट्नुपरेको अवस्थामा र गृह मन्त्रालय सो दलले लिँदा स्वार्थको द्वन्द्व हुने भनी सार्वजनिक रूपमै अत्यधिक विवाद हुँदा पनि उसले सौदाबाजी छाडेन । बरु सरकार छाड्यो । संसद्मा तेस्रो ठूलो दलका रूपमा मात्र रहेको माओवादी त सरकारकै नेतृत्व गरेर बसेको छ, लोककथामा वर्णित दुइटा ठूला दलको ‘बिरालो झगडा’ मा बाँदरको भूमिका स्मरण गराउँदै । र, सबभन्दा

ठूलो दल कांग्रेस अनि दोस्रो ठूलो दल एमाले पालैपालो कहिले उसको नेतृत्वमा सरकारमा जुनियर पार्टनरका रूपमा त कहिले विपक्षमा बस्न बाध्य छन् । यद्यपि यो स्थितिका केही मनासीब कारण भने छन्; जस्तो कि, दुइटा सबभन्दा ठूला र प्रतिस्पर्धी दल राष्ट्रिय संक्रमण वा संकटजस्तो अपवादका अवस्थामा बाहेक मिलेर सरकार बनाउन सक्दैनन् ।

आफ्नो दल सानो भए पनि यतिखेर आफूहरूको भोटको महत्त्वपूर्ण भूमिका छ, त्यसैले जे मागे पनि हुन्छ, पाइन्छ भन्दै ‘गन प्वाइन्ट’ मा ठूलो भाग खोज्ने, लिएरै छाड्ने राजनीतिक अपसंस्कृति हाम्रो देशमा बढ्दै नै जाने देखिन्छ । देश र जनताको होइन कि आफू, आफ्नो दल, दलका पंक्ति र दलको निर्वाचन क्षेत्रको स्वार्थ मात्र पोस्ने, देश र जनतालाई चाहिँ सोस्ने यो अपसंस्कृति घट्ने लक्षण देखिँदैन, कम्तीमा निकट भविष्यमा । यसका दुइटा कारण छन् । एक, कुनै पनि दलले पूर्ण बहुमत ल्याउन अत्यन्त कठिन हुने खालको (समानुपातिक प्रतिनिधित्वसहितको) हालको निर्वाचन प्रणाली; र दुई, त्यस्तो पूर्ण बहुमत ल्याउन सक्ने ठूला दलहरूको घट्दो लोकप्रियता । तसर्थ यो निर्वाचन प्रणाली र ठूला दल दुवै समय छंदै सुध्रिएनन् भने यो अपसंस्कृति झन् भयावह हुँदै जाने निश्चित छ ।

हो, ठूला दलको आपसी प्रतिस्पर्धामा साना दलले सत्ताको बाजी मार्ने घटना अन्यत्र पनि हुन्छन् । ती नौला होइनन् । भारतको हाम्रो सीमा जोडिएको बिहारमा नीतीश कुमारको जनता दल - जसको कि विधानसभामा भाजपाभन्दा कम शक्ति छ - ले कहिले भाजपासँग मिलेर त कहिले उसका प्रतिस्पर्धी दलहरूसँग मिलेर सरकारको नेतृत्व गरेको गर्‍यै छ, वर्षौंदेखि । तर हाम्रोसँगको तुलना गर्दा यसमा दुइटा कुरा फरक छन् । एक, हामीकहाँ यो अब अपवाद रहनेवाला छैन, यो ‘नर्म’ हुनेवाला छ, र धेरै हदसम्म भई पनि सक्यो । डर त्यसको हो । अर्को, सत्ताका भागबन्डाको मात्र कुरामा भोटको सौदाबाजी गरिएको छैन हामीकहाँ । जानेर वा नजानेर, सेलाइसकेको पहिचान राजनीतिको खतरनाक आगोमा राष्ट्र, जनता र समुदायलाई झोस्ने काम गर्न खोजिएको छ । आफ्नो सत्तास्वार्थका लागि यदि ठूला दलहरूले यो र यस्ता सर्त मान्दै जाने हो भने त्यो आगो

फेरि दन्कन सक्नेछ । माथि उल्लिखित सर्तका विषयमा सत्ता गठबन्धन र नाउपाबीच केकस्ता सहमति भएर अन्ततः सो दलले वर्तमान राष्ट्रपतिको पक्षमा मत हाल्यो, त्यो कुरा अहिलेसम्म सार्वजनिक गरिएको छैन । गरियोस्, किनकि जनतालाई यो थाहा पाउने, र यो विषयमा खबरदारी गर्ने पूरापूर अधिकार छ ।

वास्तवमा रास्वपा, नाउपा र जनमतजस्ता साना र अहिलेसम्म सत्तामा नगएका दलहरूले त जनतालाई डेलिभर गर्ने, भ्रष्टाचाररहित सुशासन दिने, आर्थिक विकासमा प्रत्यक्ष योगदान दिने, विकासे मन्त्रालय लिएर उदाहरणीय काम गरेर देखाउनुपर्थ्यो । त्यसो गर्दा देशभरिका जनताको मन जितेर अर्को चुनावमा ठूलो दल बनेर आफ्नै बहुमतको सरकार बनाउने सम्भावना हुन्थ्यो । तर यहाँ त एउटाले माग्ने के रे भन्दा प्रहरी फोर्स लगायतका राज्यशक्ति सबभन्दा केन्द्रित मन्त्रालय । अर्को त्योभन्दा सानो दलले माग्ने त झन् सबभन्दा मालदार भनेर चिनिएको सहरी विकास मन्त्रालय । अनि त्यसका साथमा केन्द्र र प्रदेशहरूमा मुख्यमन्त्रीसहितको पावर सेयरिङ । त्यतिले नपुगेर प्रदेशको नाउँको मोलमोलाइ π त्यो पनि कति बेला भने राष्ट्रपतिको भोट माग्न आएका उम्मेदवारसँग सौदाबाजीका रूपमा ।

अनि सुदूरपश्चिम प्रदेश नामले कुनचाहिँ जातिलाई बाहेक गरेको छ, नराम्रो गरेको छ ? त्यो नाउँ प्रदेशसभाले दुईतिहाइ बहुमतले पारित गरेपछि लागू गरिएको होइन ? एउटा सानो क्षेत्रको सानो दलको एजेन्डा त्यस प्रदेशको नाम आफ्नो जातिको नामबाट राख्ने भयो भन्दैमा अत्यधिक बहुमतबाट कानुन बमोजिम सम्पन्न पहिले नै अस्वीकृत सो नाम परिवर्तन हुन सक्छ ? हुनु उचित हुन्छ ? जनमत, आन्दोलन र राजनीतिक एजेन्डाकै कुरा गर्ने भए पनि, हजारौं–लाखौं जनताले झन्डै महिनादिन आन्दोलन गरेपछि अन्त्यमा सुदूरपश्चिम नाममा बहुमत जुटेको केही वर्षअगाडिको मात्र कुरा हो । यहां त जातीय नाम राख्न कराए भने जति मान्छेले कराए पनि त्यो ठूलो आन्दोलन हुने, तर जातीय नामको विरोधमा त्योभन्दा धेरै गुणा बढी मान्छेले महिनौं लामो आन्दोलन गरे पनि त्यो आन्दोलन नहुने, उनीहरूको बहुमत बहुमतै नहुने विकृत भाष्य स्थापित गराइएको छ । पहिचान राजनीति पक्षधर लबी राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै शक्तिशाली जो छ ।

अझ अनि, थारू रैथाने भएको सिंगो कैलाली जिल्लाबाट टीकापुरलाई टुक्र्याई छुट्टै जिल्ला बनाउनुपर्ने रे ! किन त भने नाउपाले त्यस ठाउँबाट चुनाव जितेको भएर रे ! यसरी एउटा जिल्लाभरिको पनि निर्वाचन क्षेत्र बनाउन नसक्ने सानो दलको अनुकूलता र माग बमोजिम बल्लबल्ल सुल्झिएको प्रदेशको नामकरण बदलेर जातीय द्वन्द्वको जोखिम लिन देशले सक्छ ? उसका माग बमोजिम जातीय क्लस्टर मिलाउनकै लागि प्रदेशको पुनर्गठन र पुनःसीमांकन गरिरहन, त्यसका लागि ‘जेरिम्यान्डरिङ’ गर्न मनासीब र सम्भव हुन्छ ? यो कुरा माग राख्नेले पनि सोच्नुपर्‍यो, र माग सुन्नेले पनि सोच्नु र गम्नुपर्‍यो; तिनीहरूले चुनावमा थोरै भोट पाउनका लागि हो–हो भन्नुभएन ।

प्रकाशित : चैत्र ८, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंको घरबेटी नियमले संशयमा दलित

नयाँ घरबेटी निर्देशिकामा कामनपाले दलित डेरावालका व्यक्त–अव्यक्त पीडाबारे चासो राखेको देखिएन । दलितलाई डेरा नदिइएका वा दलित भन्ने थाहा पाएर डेराबाट निकालिएका केसहरू बेलाबेला मिडियामा आएकै छन् । तैपनि कामनपाले बुझ पचाएको देखियो ।
मित्र परियार

राष्ट्रप्रति माया र श्रद्दा हुँदाहुँदै पनि म गर्व गर्न सक्दिनँ । हामीलाई राष्ट्रले नागरिकताको खोस्टो त दियो, तर नागरिक अधिकार दिएन ! स्वतन्त्रता, सुरक्षा र आत्मसम्मान दिएन !

यो तर्क नपत्याउनेहरूले मेरो थर राखेर कुनै ग्रामीण इलाकामा गई दुई–चार दिन बसेर हेरून् या काठमाडौं, बुटवल, महेन्द्रनगर जस्ता सहरबजारमा डेरा खोजून् !

राजधानीमा मेरा धेरै आफन्ती र चिनजानकाहरू जात ढाँटेर डेरा बसिरहेका छन् । कोही सिंहदरबार गेटनजिकैका सिंह बनेका छन् त कोही नारायणहिटीपछाडि नक्सालका अधिकारी, खत्री, कार्की कहलिएका छन् । सानदार महल होस् कि सिलिङबाट धूलो झर्ने झुप्रो, तल्लो भनिएका जातका डेरावालहरूले जताततै दलित पहिचान लुकाउनुपर्ने बाध्यता यथावतै छ । आजको जमानामा पनि जन्मकै आधारमा यो कस्तो खालको सजाय हो ? यति धेरै सामाजिक तिरस्कार र बहिस्कार आधुनिक सहरमा कसरी सर्वस्वीकृत भयो ? कहिलेसम्म यसरी दलितले आफ्नै परिचय लुकाउँदै, आफ्नै पहिचानबाट त्रस्त बन्दै जिउनुपर्ने हो ? दलित डेरावालको यस्तो मानसिक पीडा, यतिसम्मको सकस र त्रासबारे किन कोही बोल्दैन ? किन राज्यले खासै वास्ता गरिरहेको छैन ?

म २०५५ सालमा कलेज डिग्रीको खोजीमा पहिलो पटक यो राजधानी उपत्यका छिर्दाछिर्दै घरबेटीको आतंकमा परें । ललितपुरको कुसुन्तीमा एक बिहान डेरा खोजेर ठिक्क पारेको थिएँ, तर घरबेटीले मेरो थर थाहा पाएपछि त्यही बेलुकी कुम्लोकाम्लो कसेर निस्किनुपर्‍यो । त्यसबाट युवा मस्तिष्कमा कति ठूलो घाउ लाग्यो ! आत्मसम्मानमा कति गहिरो चोट लाग्यो !

मेरो जीवनमा त्यो अपमानजनक घटना भएको साढे दुई दशक हुन लागिसक्यो । यस कालखण्डमा देशमा ठूलठूला क्रान्तिहरू, आन्दोलनहरू भए । मुक्तिको सपना देखेका हजारौं युवाले रगत बगाए । अन्ततः मुलुकले अभूतपूर्व काँचुली फेर्‍यो, साशनसत्ता बदलियो । २५० वर्षे शाही राजतन्त्र अन्त्य भयो । सत्ता गुमेपछि पूर्वराजपरिवार घर सरे । देशमा धेरै चीज बदलिए, तर दलितप्रतिको दृष्टिकोण बदलिन सकेन । सामाजिक मनोविज्ञान ब्राह्मणवादी नै रह्यो ।

लोकतन्त्रको पारिलो घाम दलितको जीवनमा लाग्नै सकेन, धार्मिक–सांस्कृतिक बादलले त्यसलाई छोपिराख्यो । भरखर गाउँबाट झरेका दलित मात्रै नभएर सांसद, नेता, अभियन्ताहरूसमेत जात ढाँटेर डेरा बस्न बाध्य छन् ।

जातिवादी घरबेटीबाट त हामी त्रस्त थियौं–थियौं, काठमाडौं महानगरपालिका (कामनपा) को पछिल्लो कदमले थप आतंकित बनाएको छ । कामनपाले गत माघ महिनामा घरबेटी सम्बन्धी नयाँ र निकै कडा नियम वा निर्देशिका लागू गर्‍यो । उक्त नियमको घोषित उद्देश्य राम्रो देखिन्छ । तर त्यसले डेरावाल दलितको समस्या कम गर्नुको सट्टा अरू जटिल बनाइदिएको छ ।

महानगरको निर्देशिकाले घरबेटीलाई जिम्मेवार बनाउन खोजेको छ । कोठा वा सटर भाडामा लगाउँदा लिखित सम्झौता अनिवार्य गरिएको छ । भाडामा लगाउने सम्पत्तिको कित्ता, डेरा लगाउने र दिनेको परिचय, भाडादर र सर्तहरू सबै सम्झौतामा उल्लेख गरिएको हुनुपर्छ । सम्पूर्ण कागजातको एक प्रति डेरावाललाई दिनुपर्ने र अर्को वडा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । कोठा वा सटर भाडामा लगाएर जीविका चलाउने, धन कमाउने धेरै घरबेटीले डेरावालमाथि ज्यादती गरेका, अनेक दुःख दिएका गुनासाहरू प्रशस्तै सुनिन्छन् । दलित मात्रै होइन, धेरै गैरदलित डेरावालहरू पनि कुनै न कुनै रूपमा सताइएकै हुन्छन् । घरबेटीको निरन्तर कचकचले मानसिक रोगी बनेका पनि छन् । यस्ता समस्याको प्रभावकारी समाधान हेतु कामनपाले नयाँ निर्देशिका ल्याएको हो भने त्यो एकदमै स्वागतयोग्य र अनुकरणीय काम हो ।

त्यस्तै, नयाँ घरबेटी नियमले करछली नियन्त्रण गर्न खोजेको छ । घरजग्गा व्यावसायिक प्रयोजनमा लगाउँदा १० प्रतिशत कर स्थानीय सरकारलाई बुझाउनुपर्ने नियम छ, तर धेरैले पालना गरेका छैनन् । धेरै घरबेटीले भाडाकर नै तिर्दैनन् । राजस्व तिरिहाले पनि अति थोरै भाडादर देखाएर ठगी गर्छन् भन्ने कामनपाको निष्कर्ष छ । डेरावालको हकहित सुरक्षित गर्ने र कर चुहावट नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको नयाँ घरबेटी निर्देशिकाबारे त कुनै विवाद हुन सक्दैन ।

तर दुःखको कुरो, कामनपाले दलित डेरावालका व्यक्त–अव्यक्त पीडाबारे चासो राखेको देखिएन । दलितको पीडाबारे कामनपा पक्कै बेखबर छैन । दलितलाई डेरा नदिइएका वा दलित भन्ने थाहा पाएर डेराबाट निकालिएका केसहरू बेलाबेला मिडियामा आएकै छन् । रूपा सुनारको घटना त निकै चर्चित बन्यो । तैपनि कामनपाले बुझ पचाएको देखियो । धेरैको आशाको केन्द्र बनेका युवा मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोलले पनि नबुझे कसले बुझ्छ दलित डेरावालहरूको पीडा ? उच्च भनिएका र अवसरप्राप्त जाति–वर्गको मात्रै प्रतिनिधि त होइनन् नि उनीहरू ? सबै तह र तप्काका नगरवासीको अधिकतम हितमा केन्द्रित भएर काम गर्नुपर्दैन जिम्मेवार मेयरले ?

कामनपाको नयाँ घरबेटी नियमका कारण दलितहरूलाई ठूलो सकस पर्नेवाला छ । नागरिकता देखाएपछि जातको पहिचान खुल्छ । दलित जातको भन्ने थाहा भएपछि घरबेटीले सितिमिति कोठा वा सटर नै दिँदैनन् । बरु बसिरहेको कोठाबाट तुरुन्तै निकालिदिने खतरा हुन्छ । घरबाट ननिकाले पनि लुगा सुकाउन छतमा जान नपाउने, पानीको स्रोत छुन नहुनेजस्ता जातीय नियममा बाँध्न सक्छन्, जसले गर्दा दलितको डेराबसाइ अत्यन्तै असहज र अप्ठेरो बन्न सक्छ ।

त्यसरी जातका आधारमा घरबेटीबाट विभेद सहनुपरेको खण्डमा कानुनी उपचार खोज्न सकिन्छ । केही दलितले साहस गरेर त्यस्ता घरबेटीलाई हिरासत पुर्‍याएका, जरिवाना गराएका उदाहरण पनि छन् तर अधिकांश केस न मिडियामा आउँछन्, न त प्रहरी चौकी वा अदालत नै पुग्छन् । विविध कारणले कानुनी उपाय धेरै पीडितका लागि सम्भव वा सहज हुँदैन ।

पहिलो त, धेरै पीडित दलितको आर्थिक स्थिति कमजोर हुन्छ । तिनले वकिलको चर्को शुल्क तिरेर कानुनी लडाइँ लड्न सक्दैनन् । दैनिक ज्याला–मजदुरी गरिखाने वा थोरै तलबले मुस्किलले परिवार पाल्ने दलितहरू कसरी अदालतमा घरबेटीसँग भिड्न सक्छन् ?

दोस्रो, प्रहरी र न्याय प्रशासन स्वयं जातिवादी छन् । प्रहरीले दलितको समस्यालाई समस्या नै सम्झिँदैन । डेराको समस्या त परै जावोस्, दलित कुटिँदा, मारिँदासमेत प्रहरीले ध्यान दिएर अनुसन्धान गर्दैन । सकेसम्म त मुद्दा नै लिँदैन । मुद्दा अगाडि बढे पनि भ्रष्ट प्रहरी र कथित उपल्ला जातको घरबेटीबीच सेटिङ हुने सम्भावना रहन्छ ।

कतिपय केसमा दलका नेताहरूले नै घरबेटीलाई बचाउँछन् । रूपा सुनारको घरबेटी केसमा बहालवाला मन्त्रीले नै जातीय दम्भ देखाउँदै कानुनको धज्जी उडाए । कानुनी प्रक्रिया अवरुद्ध गरी आफ्नो जातको घरबेटीलाई हिरासतबाट निकालेर सरकारी गाडीमा घर पुर्‍याए । दलितविरुद्ध मन्त्रीले यसरी नांगो नाच देखाउँदा पनि कसैले आक्रोश पोखेन ।

छुवाछुत धर्मसंस्कारसँग नाभि जोडिएको समस्या हो । तसर्थ दलितको मुद्दालाई फगत कानुनी विषय मात्रै ठान्नु गलत हुन्छ । कानुनी प्रावधान देखाएर कामनपा वा अन्य कुनै अधिकारवाला निकायले दलितको मार्काप्रति आँखा चिम्लनु ठूलो बैमानी हो । संस्कारगत र सांस्कृतिक मान्यताका आधारमा समाजका धेरैले दलितलाई डेरा नदिने समस्या एक–दुई घरबेटीलाई जेल हालेर वा जरिवाना गराएर मात्रै निर्मूल पार्न सकिन्छ भन्ठान्नु मूर्खता हो ।

छुवाछुत र जातीय विभेद अन्त्य गर्ने प्रमुख दायित्व संघीय सरकारको हो । कुनै एक पालिकाले सामाजिक रूपान्तरणजस्तो ठूलो काम पक्कै गर्न सक्दैन । तर नयाँ संविधान र कानुन बमोजिम आफ्नो क्षेत्रमा जातीय विभेद नियन्त्रण गर्दै लाने हेतु काठमाडौं र अन्य नगरपालिका, गाउँपालिकाले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । खेल्नु पनि पर्छ ।

दलितको मार्काप्रति थोरै मात्रै सचेत भएका भए मेयर बालेन शाहले नयाँ घरबेटी निर्देशिकामा ‘जातकै आधारमा डेरा दिने वा नदिने गर्न पाइँदैन’ भनी एउटा बलियो प्रावधान राख्न सक्थे । जातीय विभेद गर्ने घरबेटीमाथि महानगर आफैंले कारबाही गर्ने चेतावनी पनि दिन सक्थे । दलित डेरावालको उठीबास नहोस् भन्न मेयरले, कामनपाले घरबेटी निर्देशिकालाई परिमार्जन र परिस्कार गरून् भन्ने मेरो आग्रह छ ।

आजको स्थानीय सत्ता हिजोको जस्तो होइन । आजका पालिकाहरू स्वायत्त छन्, अधिकारसम्पन्न छन् । र तिनीहरूसँग स्रोतसाधनको कमी पनि छैन । काठमाडौंसहित सबै पालिकाले आफ्नो अधिकारका साथै जिम्मेवारी पनि ख्याल गर्नुपर्छ । तिनले समाजबाट छुवाछुतजस्तो कुरीति हटाउने दिशामा पनि सक्रियता देखाउनुपर्छ ताकि सबै जात, क्षेत्र र वर्गका नगरवासी शान्तिपूर्वक बस्न पाऊन् ।

प्रकाशित : चैत्र ८, २०७९ ०६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×