समाज सुन्दर अरूलाई सुन्दा हुन्छ

दीपावली शर्मा

अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताबारे कमै बहस हुने गर्छ । समावेशी क्रियाकलाप तथा समाहित कार्यक्रमको बढिरहे पनि समावेशीको नाममा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको अनुहार मात्र देखाए पुग्छ भन्ने जुन मानसिकता देखिन थालेको छ, त्यसले उनीहरूलाई झन्झन् सकसमा पारेको छ । 

भौतिक संरचनाहरू अपांगतामैत्री नहुँदाको पीडा त प्रत्येक पाइलामा झेल्ने गरिएको छ, तर सञ्चारका लागि दोभासेको आवश्यकता पर्छ भनेर बहिराहरू मात्र कराउनुपर्ने अवस्था किन छ ? के तपाईं सुन्ने–बोल्नेहरूलाई आफूले भाषा नबुझ्ने ठाउँका मान्छेसँग गफ गर्न दोभासे चाहिँदैन ? बहिराहरूसँग नबोली उनीहरूका लागि अनुकूल काम गर्ने सोचिएको हो ?

अपवादबाहेक संघसंस्थाहरूले दोभासेको कामको सम्मान गरेर उचित पारिश्रमिक दिनै चाहँदैनन् । सांकेतिक भाषाको सञ्चार उनीहरूको पेसा हो र दोभासेबिना बहिराहरूको सहभागिता शून्य हुन्छ भनेर कसैले मनन गर्दैनन् । कार्यक्रमको बजेट बनाउने बेला यातायात, खाजा, खाना आदिलाई महत्त्वपूर्ण ठानिन्छ, तर दोभासेका लागि भनेर रकम राखिन्न । निकै परिश्रम, लगन र भावनात्मक लगानीबाट मात्र बहिराहरूको दोभासे बन्न सकिन्छ । यो सीप कसैका लागि संसारसँग अन्तरक्रिया गर्ने माध्यम बनिरहेको हुन्छ । त्यसको सम्मान खोइ ?

हालै एक स्थानीय सरकारले आफ्नो बृहत् कार्यक्रममा नवलपरासी बहिरा संघलाई ‘दोभासे लिएर आउनू’ भनेर निमन्त्रणा गर्‍यो । सगर्व निमन्त्रणा स्विकारेर सहभागिता पनि जनाइयो तर दोभासेको पारिश्रमिक दिइएन । त्यसै गरी अर्को एक अपांगता भएका व्यक्तिहरूकै संस्थाले अपांगता भएका व्यक्तिहरूका लागि रोजगार विषयमा अन्तरक्रिया गर्‍यो । ‘दोभासेको सुविधा छ, लिएर आउनू’ भनेर बहिराहरूलाई निमन्त्रणा गर्‍यो । त्यसमा पनि अर्थपूर्ण सहभागिता जनाइयो तर सो संस्थाले दोभासेको सुविधा दिन कन्जुस्याइँ गर्‍यो, पारिश्रमिक लिन किचकिच गर्नुपर्‍यो । यस्ता घटनाले प्राविधिक व्यवस्थापनको कमजोरी त देखाउँछ नै, त्योभन्दा ठूलो कुरा जिम्मेवार निकायको असली नियतमाथि प्रश्न उठाएको छ ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालतले पनि पटक–पटक दोभासे बोलाएका छन् । हामी मानवताका नाताले, लिखित वा मौखिक दोभासे बन्न पुगेका छौं । त्यसबापत दोभासेको पारिश्रमिकको त के कुरा, एक कप चिया अनि यातायात खर्च पनि दिइँदैन । अपांगतामैत्री भनिने राज्यको व्यवहार कतिपय सरकारी निकाय र अधिकारीका गतिविधिमा प्रस्ट देखिन्छन् ।

म छोरीको विद्यालयमा हुने अभिभावक छलफल, भेला तथा कार्यक्रमहरूमा प्रायः उपस्थिति जनाउँदिनँ । मलाई सधैं दोभासेकै अभाव खड्किन्छ । यो पीडा मजस्तै बहिरा अभिभावकलाई मात्र थाहा छ । तपाईंहरूले समाजका अनेकन् सक्रिय समिति, समूहदेखि सरकारी/गैरसरकारी संस्था, उद्योगलगायतमा वा उनीहरूले सञ्चालन गर्ने गरेका कार्यक्रमहरूमा बहिराहरूको उपस्थिति देख्नुभएको छ ? बहिराहरू नसकेर, नसुन्ने भएर, नबोल्ने भएर उपस्थिति शून्य भएको हो ? होइन । त्यो तपाईंहरूले नै बहिराहरूलाई उपस्थित हुन नसक्ने बनाएर हो ।

आफूलाई शिक्षित, समाजसेवी, अपांगता/मानव अधिकारकर्मी भन्न रुचाउनुहुन्छ भने पहिले तपाईंहरूले संयुक्त राष्ट्र संघको अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि एवं स्वैच्छिक प्रोटोकल–२००६ को हरेक धारा पढ्नुपर्छ । हरेक नागरिक समान हुन् तथा राज्य र मानव अधिकारको विश्वव्यापी मान्यता मान्छु भन्ने सबैका लागि आधारभूत एवं अनिवार्य सर्त हो- दोभासे । तर अझै सांकेतिक भाषा ‘भाषा’ हुन सकिरहेको छैन ।

अन्य देशका, अंग्रेजी वा फ्रान्सेली भाषा सिक्नका लागि तपाईंहरू जति पनि खर्च गर्न तयार हुनुहुन्छ, तर यद्यपि निःशुल्क सञ्चालन गरिएको सांकेतिक भाषा सिक्न तपाईंको मनले मान्दै मान्दैन । आफ्नै घरमा बहिरोपन भएका सदस्य हुँदाहुँदै यस्तो भावना नआएका कैयौंलाई देखेकी छु मैले । फलस्वरूप बहिराहरू आफ्नो परिवारका सदस्यहरूसँग सञ्चारको न्यानो वातावरण नपाएपछि परिवारबाट अलग हुन रुचाउँछन् । कतिपय बहिरा कतै जान नसकेर मानसिक समस्याको जालोमा जकडिएर हुन्छन् । कतिपयले भने जीवन नै अकालमा सिध्याइरहेका छन् । मनोवैज्ञानिक रूपमा यो उनीहरूलाई बाह्य संसारले दिएको सजाय हो, जुन विवशताका रूपमा बुझिरहेका हुन्छन् ।

हामीसँग सुन्न सक्ने एउटा इन्द्रिय छैन तर दिमाग र ऊर्जा त गुमेको होइन । सांकेतिक भाषा दृश्य भाषा पनि हो । सुनेको भन्दा देखेको बढी विश्वासिलो र चाँडै बुझिने हुन्छ भन्ने सबैलाई थाहै छ । बहिराहरूका सुन्ने छोराछोरी अरूका भन्दा बढी तेजिलो हुनुको कारण पनि यही हो ।

कुनै सार्वजनिक स्थान (जस्तै: यातायात, बजार तथा पसल) मा सुन्ने व्यक्तिहरूसँग लेखेर सञ्चार गर्न खोज्दा सुन्नेहरूले ‘यो त बोल्दैन/बोल्दिन रैछ, कसरी बुझाउने खै’ भनेर रिसाउने, दिक्क मान्ने, हाँसोमा उडाउने, झर्किने गरेको थुप्रै पटक देखेभोगेका छौं हामीले । ‘सांकेतिक भाषा मलाई पनि सिक्न मन लाग्यो, कहाँ, कसरी सिक्न सकिन्छ ?’ भनेर प्रश्न गर्नेहरू नगण्य मात्रामा छन् । बहिराहरूका लागि सांकेतिक भाषा श्वासप्रश्वासजत्तिकै महत्त्वपूर्ण छ । समाज सुन्दर अरूका बारे सोच्दा हुन्छ, अरूलाई सुन्दा हुन्छ ।

शर्मा राष्ट्रिय अपांग महासंघ नेपालकी पूर्वउपाध्यक्ष र नवलपरासी बहिरा संघकी संस्थापक हुन् ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

विभेदविरुद्धको दिवस नै विभेदमा

आफ्ना पुर्खाहरूले गरेको गल्ती स्विकार्दै क्षतिपूर्तिस्वरूप गैरदलित समुदायहरू दलित समुदायको मुक्ति र अधिकारका खातिर आन्दोलित हुनुपर्छ ।
राजेश विद्रोही

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव, पर्व तथा दिवसहरूले समाज परिवर्तनमा ठूलो अर्थ राख्छन् । तर नेपालजस्तो अल्पविकसित र विभेदव्याप्त मुलुकमा राष्ट्रिय–अन्तर्राष्ट्रिय उत्सव, पर्व तथा दिवसहरू सत्तासीनहरूको चाहना अनुसार मनाउने चलन छ । आफ्नो मनाउने, अरूमा निधार खुम्च्याउने प्रवृत्ति छ ।

सबैले सबैका उत्सव, पर्व र दिवसहरू साझा रूपमा मनाउनुपर्छ भन्ने मानक स्थापित हुन सकेको छैन । मानिसको मनोविज्ञानलाई परम्पराले यतिसम्म संकुचित पारिदिएको छ कि आफूभन्दा कमजोर, सीमान्तीकृत र पददलित समुदायका पर्व, समारोह र दिवसहरू मनाए आफू सानो होइन्छ, आफ्नो वर्चस्व गुम्छ भन्ने सोचाइ छ । शिक्षित र सचेत मानिसमा समेत यसखाले मनोविज्ञान देखिन्छ ।

हरेक वर्ष २१ मार्चमा अन्तर्राष्ट्रिय विभेद तथा छुवाछुत उन्मूलन दिवस मनाउने गरिए पनि कैयौं समुदाय र मानिसको ठूलो तप्काले अझै समाजका अन्य मानिससरहको जीवन बाँच्न पाएका छैनन् । जातीय विभेद र छुवाछुतका कारण समाजमा अझै पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा चरम अमानवीय घटनाहरू भैरहेकै छन् । पुरुषले महिलामाथि, गोराले कालामाथि, गैरदलितले दलितमाथि, एउटा धर्मले अर्को धर्ममाथि गरिने तमाम विभेद संसारका साझा समस्या हुन् । विभिन्न कालखण्डमा भएका आन्दोलन, संघर्षका कारण मात्रात्मक परिवर्तनहरू भएका भए पनि गुणात्मक परिवर्तन हुन बाँकी नै छ । संसार जुन गतिमा बदलिँदो छ, नेपाली समाज पनि सोही गतिमा रूपान्तरित हुनुपर्ने हो, तर समयको चाल पक्रिन सकेको छैन ।

दक्षिण एसियामा भारत र नेपालमा सबैभन्दा बढी जातीय विभेद र छुवाछुत छ । केही विभेद मानव समाजको परिवर्तनसँगै कम हुँदै गएका छन्, केही अन्त्य हुने क्रममा छन् । सँगसगै विभेदका नयाँ स्वरूपहरू पनि अभ्यासमा आइरहेका छन् । जातीय विभेदकै कारण दलितहरूमाथि ठूलठूला अपराध भइरहेका छन् । दैनिकजसो भैरहने यस्ता घटनाहरूको यकिन तथ्यांक राज्यका निकायहरूसँग समेत छैन । केही घटना मात्र प्रहरीको उजुरीमा पुग्ने गरेका छन् । २०७० सालदेखि अहिलेसम्मको तथ्यांक हेर्दा, प्रहरीमा जातीय विभेद र छुवाछुतका २ सय ११ उजुरी परेका छन् । २०७७ का ८ महिनामा मधेश प्रदेशमा मात्र जातीय विभेदकै कारण ६२ जनाको हत्या भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । न्याय भने कसैले पनि पाउन सकेको छैन ।

हरेक दिन पशुभन्दा पनि तल्लो स्तरको व्यवहार भोग्न अभिशप्त छन् दलितहरू । यतिसम्म कि, हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराधमा पनि न्याय पाउँदैन यो समुदायले । राज्यनिकायहरू मूकदर्शक भएर बस्छन्, कतिपय अवस्थामा अपराधीको संरक्षणमै उत्रने गर्छन् । राज्यकै संरक्षणमा कतिपय अपराधीले उन्मुक्ति पाएका घटना ताजै छन् । दलितहरू यस्तो मध्ययुगीन दुर्दशाबाट गुज्रिरहेका छन्, तर तीनै तहका सरकारदेखि राजनीतिक दलहरूसम्मले दलितहरूलाई सत्ता–अभीष्ट पूरा गर्ने साधनका रूपमा मात्रै लिइरहेका छन् । राज्य र राजनीतिक दलहरूमा दलितहरूको प्रतिनिधित्व बढ्नुको साटो घट्दै जानुले यही पुष्टि हुन्छ ।

मानवविरुद्धका यसखाले विभेदहरूलाई अन्त्य गर्न संयुक्त राष्ट्रसंघले सन् १९६५ मा विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गर्‍यो, जसलाई नेपालले सन् १९७१ मा अनुमोदन गर्‍यो । एकात्मक राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयपछि २०६३ सालमा संसद्ले नेपाललाई जातीय विभेद तथा छुवाछुत उन्मूलन भएको राष्ट्र घोषणा गर्‍यो । जातीय विभेद तथा छुवाछुत गर्नेमाथि संविधानतः कारबाहीको व्यवस्था छ । नेपाल सरकारले हरेक वर्ष जेठ २१ गते जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आएको छ । तर यो राष्ट्रिय दिवस अन्य सार्वजनिक दिवसजस्तो प्रभावकारी हुन सकेको छैन । यो दिवस आफैंमा विभेदमा परेको छ ।

नेपालले जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालेको १६ वर्ष एवं संविधानले जातीय विभेद तथा छुवाछुत गर्नेमाथि अधिकतम तीन महिनादेखि तीन वर्षसम्म वा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको ७ वर्ष भइसक्दा पनि सम्बद्ध दोषीहरूलाई प्रभावकारी कारबाही हुन सकेको छैन । सयौंमा एकलाई कारबाही गरेर तर्साउने गरिएको छ । कानुन कार्यान्वयनमा राज्य इमानदार नहुँदा र न्याय तथा कानुन व्यवस्था सञ्चालन गर्ने निकाय अनुदार हुँदा विभेदहरू कायमै छन् । जातीय विभेद न्यूनीकरण गर्न ६ सय ८० वटा प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम गरिसकेको, दलित हकहितमा काम गर्न ६८ वटा छुट्टै दलित सेलको गठन गरिएको प्रहरीको दाबी छ । तर सत्ता सञ्चालक वर्ग बेइमान हुँदा यस्ता पहलहरू केवल देखावटी साबित भइरहेका छन् ।

दलित समुदायमाथि गैरदलित समुदाय (वर्ण व्यवस्था/उच्च ब्राह्मणवाद) बाट जसरी इतिहासदेखि विभेदको दुश्चक्र चलाइँदै आएको छ, त्यो मानव सभ्यताकै लागि कलंक हो । जातीय विभेद तथा छुवाछुत दलित समुदायको मात्र नभएर राज्यकै साझा समस्या भइसकेको छ । यो यथार्थलाई गैरदलित समुदायले स्वीकार गरी जतिसक्दो चाँडो कलंकको टीका मेट्न जरुरी छ । समुदायविशेषलाई हेपेर, दलनमा राखेर, विभेदमा पारेर कसैको पनि गौरव बढ्न सक्दैन । छुवाछुत र विभेदलाई ऐतिहासिक लज्जाका रूपमा लिँदै, आफ्ना पुर्खाहरूले गरेको गल्ती स्विकार्दै क्षतिपूर्तिस्वरूप गैरदलित समुदायहरू दलित समुदायको मुक्ति र अधिकारका खातिर आन्दोलित हुनुपर्छ । अनि मात्र गैरदलित समुदायले आत्मगौरव प्राप्त गर्न सक्छ । अमानवीयताले तोडिएको समाजलाई यस्तै पहलले मात्र मानवीय रूपमा जोड्न सक्छ ।

दलितहरू पुस्तौंदेखि आफ्नै देशमा शरणार्थीको जीवन बाँच्न विवश छन् । जसले र जसका पुर्खाले यो तमाम विभेदका समस्याको बीजारोपण गरे, गर्दै आएका छन्, उनीहरू अझै पनि यसलाई निरन्तरता दिन कटिबद्ध देखिन्छन् । जबसम्म दलित समुदायले आफ्नै समुदायको नेतृत्वमा राजनीतिक पहल लिँदैन, विभेदलाई जायज ठान्ने समुदाय र व्यक्तिलाई नै

आफ्ना हक–अधिकार प्राप्तिको माध्यम ठानिरहन्छ, तबसम्म विभेद र छुवाछुतको समस्या रहिरहनेछ । यो कसैको राजनीतिक अभीष्ट पूरा गर्ने मुद्दा त बनिरहनेछ तर दलितहरूले विभेदबाट मुक्ति पाउनेछैनन् । दलितहरूले भोगिरहेका अमानवीय व्यवहारहरू राज्यसत्ताको आडमा खडा भएका विभेद हुन्, त्यसैले यसको खारेजी पनि दलितहरू राज्यसत्तामा पुगेरै गर्नुपर्नेछ । दलित अगुवाहरू अधिकार माग्न हात फैलाउने रोगले ग्रस्त छन् । दलित अगुवामा व्याप्त यस्तो मानसिकताले परिवर्तनको गतिलाई अवरुद्ध पारेको छ । आफ्नो अधिकार प्राप्तिका लागि आफैं, आफ्नै नेतृत्वमा लड्नुपर्छ । आफ्नो राजनीतिक अधिकार किस्तीमा राखेर अरूलाई टक्र्याउने अभिशापबाट हामी जति छिटो मुक्त हुन्छौं, मुक्तिको मार्ग पनि उति नै छोटो हुनेछ ।

दलितको कुनै देश छैन । दलितको कुनै कानुन छैन । दलितको कुनै संविधान छैन । दलितको कुनै संघीयता छैन । दलितको कुनै चिहान छैन । दलितको कुनै सरकार छैन । दलितको कुनै मानव अधिकार छैन । किनकि दलितको आफ्नो पार्टी छैन, आफ्ना नेताहरू छैनन्; दलितको कुनै शक्तिकेन्द्र छैन । त्यसैले दलितसँग आफ्नो भन्नु केही छैन । कुनै समय दलितसँग आफ्नो राज्य थियो, राजनीति थियो । त्यसैले दलितसँग सब थोक थियो । अहिले दलितसँग केही छैन । आफूसँग भएको थोरै राजनीति पनि कसैलाई सत्तामा पुर्‍याउन मात्र काम लागिरहेको छ ।

जबसम्म राष्ट्रपतिदेखि पशुपतिसम्म र प्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्म दलितहरूको अधिकार सुनिश्चित हुँदैन तबसम्म दलितले देश खोजिरहनुपर्नेछ । जब देश मिल्नेछ, अनि मात्र यस्ता राष्ट्रिय वा अन्तर्राष्ट्रिय दिवसहरू सार्थक हुनेछन्; वैकल्पिक राजनीति र समाजवादी लोकतन्त्रको बाटो स्थापित हुनेछ; दासता र विवशताका सारा बन्धन तोडिनेछन् । त्यसैले आम दलित अगाडि बढ्न ढिलो नगरौं ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×