‘क्लिनिकल ट्रायल’ मा आचारको प्रश्न- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सम्पादकीय

‘क्लिनिकल ट्रायल’ मा आचारको प्रश्न

सम्पादकीय

कुनै नयाँ औषधि वा खोपको प्रभावकारिता तथा त्यसले मानव स्वास्थ्यमा पार्ने असर मूल्यांकन गर्न ‘क्लिनिकल ट्रायल’ गरिन्छ । यस्तो परीक्षण बडो सावधानीपूर्वक यथोचित विधि पुर्‍याएर गर्नुपर्ने हुन्छ ।

परीक्षणअघि सम्बन्धित व्यक्तिहरूलाई पूर्ण जानकारी दिने लगायत सम्पूर्ण आचारसंहिताको पालना गर्नुपर्छ । ‘क्लिनिकल ट्रायल’ बिना औषधि तथा उपचार विज्ञानको विकास असम्भवजस्तै भएकाले यसको निकै महत्त्व छ । तर नेपालमा विपन्नलाई लक्षित गरी जसरी विभिन्न देशका खोपहरू परीक्षण हुने गरेका छन्, त्यो भने चिन्तालाग्दो छ । खास गरी सहभागीलाई जानकारी नै नदिई, डर देखाएर वा प्रलोभन देखाएर यस्तो परीक्षण भैरहनु दुःखद छ । यसबाट सम्बन्धित कम्पनीहरूको आचारमाथि मात्र प्रश्न उठेको छैन, जनमानसमा पनि भय जन्मेको छ ।

अमेरिकी कम्पनी सनोफी पास्चरको कोरोना भाइरसविरुद्धको ‘भ्याट ०८’ खोप ७ सय ५२ जनामा परीक्षण हुँदै छ, जसका सहभागीमध्ये इँटाभट्टामा काम गर्ने मात्रै डेढ सय जना छन्, केही गलैंचा मजदुर र दलित छन् । १६ महिनामा चार पटक खोप लगाइसकेको कामदारलाई पनि यो किन दिइयो र कस्तो हो भन्नेसम्म थाहा नहुनु उदेकलाग्दो छ । ‘साहुले खोप नलगाए हिँडडुल गर्दा र गाडी चढ्दा प्रहरीले समात्छ भनेकाले’ आफू राजी भएको कामदारले बताएबाटै थाहा हुन्छ- यो परीक्षण ठीकठाकसँग भैरहेको छैन, कहीँकतै त्रुटि छ । इँटाभट्टासम्मै गाडी आएर खर्च पनि दिने भनेकाले कामदारहरूले त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालसम्म पुगेर खोप लगाएका छन् ।

विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले जिम्मा पाएको यस परीक्षणका निम्ति सहभागी जुटाउने काम भने दिगो विकासका लागि साझेदारी नेपाल (पीएसडी) गरेको छ । परीक्षणमा सहभागीहरू जुटाउँदा पीएसडीले खोप परीक्षण सम्बन्धी मूल्य–मान्यताको उल्लंघन गर्नु हुँदैन । आर्थिक आफूमाथि भइरहेको परीक्षणबारे सोधखोज गर्न सक्ने व्यक्ति/समुदायलाई, त्यो पनि प्रभावमा नपारीकन सहभागी गराउनुपर्छ । यसको अबगाल खोप कम्पनी र अध्ययन संस्थानलाई पनि पर्ने भएकाले उनीहरूले पनि यसमा सावधानी अपनाउनुपर्छ, र पीएसडीलाई आचारविपरीत सहभागी नजुटाउन निर्देश गर्नुपर्छ ।

सहभागीहरू सिन्धुली, मकवानपुर, काभ्रे, रौतहट, सर्लाही र पर्सा लगायत जिल्लाबाट जुटाइएका छन् । परीक्षण सुरु गर्दा सहरी क्षेत्रमा ८०–८५ प्रतिशतले खोप लगाइसकेकाले अन्य क्षेत्रकालाई सहभागी गराइएको दाबी पीएसडीको छ । सहभागी जहाँका भए पनि, विपन्न र अशिक्षित वर्गका मानिसलाई तत्कालीन तथा दीर्घकालीन प्रभावबारे पूर्ण जानकारी नदिई ज्याला, यातायात, खाजा र खाना खर्चका नाममा रकम दिएर खोप लगाउनु अनैतिक कार्य होÙ यो क्रम रोकिनुपर्छ । चिकित्साशास्त्र अध्ययन संस्थानका अनुसार एक पटकमा एक जना सहभागी जुटाएबापत पीएसडीले ३ हजार रुपैयाँ पाउँछ । पीएसडीले हरेक पटक सहभागीलाई २ हजार २ सय रुपैयाँ दिने गरेको छ । यसरी पैसाको प्रलोभनमा बिनाजानकारी कसैलाई पनि परीक्षणमा सहभागी गराइनु हुन्न । पहिलो त, सहभागीहरूलाई सत्यतथ्य सूचना पहिल्यै दिएर सम्पूर्ण रूपमा सचेत गराउनुपर्छ । र दोस्रो, प्रलोभन र करकापमा नभएर स्वैच्छिक रूपमा मात्र सहभागी जुटाउनुपर्छ ।

संस्थानका अनुसार परीक्षणमा सहभागी ११ जना बिरामी परिसकेका छन् । प्रत्येक सहभागीबाट परीक्षणका लागि ८ पटक रगतको नमुना लिइएको छ । तर रगत जाँच लगायत स्वास्थ्य परीक्षणको रिपोर्ट नदिइएको सहभागीको गुनासो छ, जसको सम्बोधन हुनुपर्छ । कतिले माग्दा पनि परीक्षण प्रतिवेदन नपाएको भनेका छन्, जसलाई उचित मान्न मिल्दैन । सहभागीहरूलाई पूर्ण विश्वासमा लिएर अघि बढ्न संस्थान तयार हुनुपर्छ ।

यसअघि मेडिसिन साइन्स एन्ड रिसर्च (एमएसआर) बेइजिङले गरेको कोभिडविरुद्ध बनाइरहेको नयाँ खोपको क्लिनिकल ट्रायलमाथि पनि प्रश्न उठेको थियो । ‘स्थानीय एकीकृत विकास समाज नेपाल’ (सोलिड) ले यो खोप पनि आफूमाथि भइरहेको परीक्षणबारे सोधखोज गर्न नसक्ने समुदायलाई लगाएको थियो । ‘काठमाडौं गएको ज्याला पनि आउँछ भनेर’ छिमेकी जिल्लाबाट राजधानी ल्याएर खोप लगाइएको थियो । मनमोहन मेमोरियल टिचिङ अस्पतालमा चीनको जियान्सु रिबायो टेक्नोलोजी कम्पनीको प्रायोजनमा सञ्चालित ट्रायलमा सहभागी हुने प्रत्येकलाई यातायात र खाजा–खानाको खर्चबाहेक छुट्टै ३ हजार रुपैयाँ दिइएको थियो ।

उल्लिखित दृष्टान्तका आधारमा भन्न सकिन्छ- नेपालमा भैरहेका यस्ता परीक्षणको तौरतरिकाबारे स्वास्थ्य जगत्मा उचित विमर्श आवश्यक छ । निश्चय पनि नेपालमा खोप परीक्षणै गर्न हुँदैन भन्ने होइन, तर यस क्रममा नैतिक पाटाहरूलाई कदापि भुल्नु हुँदैन । नेपाल स्वास्थ्य अनुसन्धान

परिषद्को मापदण्ड अनुसार ट्रायलमा सहभागीलाई खोपबाट हुन सक्ने जोखिम, दुष्प्रभाव तथा बेफाइदाबारे जानकारी गराउनुपर्छ । कसैलाई खोप लगाउनुपरे त्यसबारे सम्पूर्ण जानकारी दिनुपर्ने खोप ऐन–२०७२ मा पनि उल्लेख छ । खोपका कारण कुनै स्वास्थ्य समस्या आइपरे सम्पूर्ण जिम्मा खोप लगाउने संस्थाले लिनुपर्ने र क्षतिपूर्तिसमेत दिनुपर्ने हुन्छ । त्यसैले, खोपको परीक्षणलाई नीतिसम्मत बनाउनु अपरिहार्य छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल–भारत पीईसी बैठक : युनिटको ७.२१ भारुमा बिजुली आयात–निर्यात सहमति

'सन् २०२३ भरि यही मूल्य कायम हुन्छ, नयाँ निर्णयले नेपाललाई ५० करोड फाइदा हुन्छ' – कुलमान घिसिङ कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी– पीईसी) को १४ औं बैठकले आयातनिर्यात हुने बिजुलीको प्रतियुनिट दर ७.२१ भारु (११ रुपैयाँ ५४ पैसा) तय गरेको छ । बैठकले आर्थिक वर्ष सन् २०२२/२३ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको भाउ तोकेको हो ।

बैठकले बिहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्र तय गर्ने निर्णय पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षतामा बैठक बसेको हो ।

विद्युत् आदानप्रदान सम्झौताबमोजिम नेपाल विद्युत् प्राधिकरणले आवश्यक परेका बेला भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट बिजुली आयात गर्दै आएको छ । अन्य दुई राज्यको तुलनामा प्राधिकरणले बिहारबाट बढी बिजुली आयात गर्दै आएको छ । यी राज्यसँग नेपालका १३२ केभी प्रसारण लाइन मात्र जोडिएका छन् ।

‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका बिन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात गर्नेछ । यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुंगो लगाउनेछन्,’ घिसिङले भने, ‘यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको बिजुली बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ ।’

बिहारसँग कटैया (बिहार)–कुशवा (नेपाल) र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । गत फागुन पहिलो साता सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दसौं बैठकले कटैया–कुशवा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३ भित्र र अप्रिल/मे २०२३ मा निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो ।

नेपालले चाहेका बेलामा बिजुली लिने गरी नयाँ दर तोकिएको र यो भारततर्फ निर्यात गर्दा पनि लागू हुने घिसिङले बताए । ‘आर्थिक वर्ष २०१९/२० का लागि तोकिएको दर त्यसपछिका वर्षमा पुनरावलोकन हुन सकेको थिएन । भारतबाट आयात गर्दा वार्षिक साढे पाँच प्रतिशतको मूल्यवृद्धि जोडेर प्राधिकरणले बिजुली आयात गर्ने गरेको थियो, विगतमा गरिएको बिलिङलाई पनि समायोजन गर्दै जाने सहमति भएको छ,’ उनले भने, ‘यसबाट प्राधिकरणलाई करिब ३१ करोड भारु (४९ करोड ६० लाख रुपैयाँ) फाइदा भएको छ ।’

भारतले कोइलाको अन्तर्राष्ट्रिय भाउ बढेको देखाएर चार वर्षदेखि हरेक वर्ष ५.५ प्रतिशतले मूल्यवृद्धि गरेर बिलिङ पठाउने गरेको थियो । नेपालले त्यसलाई मानेको थिएन । मूल्यवृद्धिअनुसार भुक्तानी नगर्ने हो भने भारतले आदानप्रदानअन्तर्गत नेपाललाई बिजुली दिन नसकिने बताउँदै आएको थियो । गत मंसिरदेखि बिहारबाट बिजुली निर्यातसमेत बन्द गरेको थियो ।

नयाँ तोकिएको दर टेक अर पेका आधारमा नभएको र नेपाललाई चाहिएका बेला किन्ने भाउ रहेको घिसिङको भनाइ छ । चाहिएका बेला मात्र बिजुली आयात गरिने भएकाले यो मूल्य अहिलेको भारतीय बजारबाट लिइरहेको भन्दा सस्तो रहेको उनले बताए । यो दर नेपालले बिजुली निर्यात गर्दा पनि पाउने उनले जनाए ।

गत डिसेम्बरमा बिजुली बिक्रीका लागि भारतीय कम्पनीहरूसँग बिडिङमार्फत माग गर्दा फेब्रुअरी, मार्च, अप्रिल तथा मेका लागि प्रतियुनिट क्रमशः ७.५० र ८.७० रुपैयाँ प्रस्ताव पेस गरिएको घिसिङको भनाइ छ । ‘प्रतिस्पर्धामा छानिएका कम्पनीले आयातित कोइलाबाट उत्पादित विद्युत् मात्र नेपाललाई बिक्री गर्न पाउने हुँदा कोइलाको मूल्यमा उतारचढाव आइरहेकाले कम्पनीहरू प्रस्तावित दरमा पनि प्राधिकरणसँग सम्झौता गर्न तयार भएनन्,’ घिसिङले भने, ‘बिहार राज्यलाई आयातित कोइलाको व्यवस्था लागू नहुने भएकाले दर सस्तो भएको हो । प्रतिस्पर्धी बजारमा पनि दैनिक रूपमा प्रतियुनिट विद्युत्को औसत दर १२ भारुसम्म पर्ने गरेको छ, यसमा प्रसारण शुल्कलगायत थप डेढ रुपैयाँ थप हुन्छ । त्यसैले अहिले तय गरिएको दर सस्तो हो ।’

प्राधिकरणले भारतबाट व्यापारिक रूपमा इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् आदानप्रदान सम्झौता (पावर एक्सेन्ज) र महाकाली सन्धिअन्तर्गतको बिजुली आयात गर्छ । व्यापारिक रूपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्जअन्तर्गत भारतबाट बिजुली ल्याइरहेको छ ।यसअघि ११औं पीईसी बैठकले निर्धारण गरेको शुल्कअनुसार बैठकले १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने (प्रसारण लाइनको भाडा) बिजुलीको प्रतियुनिट भारु क्रमशः ५.५५, ६ र ६.४५ तय गरेको थियो । १२ औं र १३ औं बैठकले सोही मूल्यलाई यथावत् राख्ने निर्णय गरेको थियो ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×