क्रिकेटले देखाएको चाँदीको घेरालाई बादलमा हराउन नदेऊ- विचार - कान्तिपुर समाचार
सम्पादकीय

क्रिकेटले देखाएको चाँदीको घेरालाई बादलमा हराउन नदेऊ

सम्पादकीय

आर्थिक, सामाजिक र राजनीतिक रूपमा सधैं अन्योलमा बस्न बाध्य नेपालीलाई बेलाबेलामा खुसी बनाउने एउटै उपक्रम हो खेलकुद । त्यसमा पनि ‘आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–टु’ मा ऐतिहासिक सफलता प्राप्त गरेको नेपाली टोलीले देशलाई असाधारण खुसी दिलाएको छ ।

कुल सात टिम सम्मिलित प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको नेपाल एकदिवसीय विश्वकपको छनोट चरणमा सिधा प्रवेश गर्न सफल भएको छ । यसका लागि नेपालले पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेको छ, यो उपलब्धि उत्कृष्ट र अद्वितीय हो । प्रतियोगिताकै अन्तिम खेलमा यूएईमाथि ‘डकवर्थ लुइस’ नियमअनुसार ९ रनको जित निकालेर नेपालले असाधारण यात्रा निश्चित गरेको छ ।

नेपालमा क्रिकेट प्रवेश गरेको सय वर्षभन्दा बढी भइसकेको मानिन्छ । क्रिकेट सुरु हुँदा देशमा राणा शासन थियो, राज्यको संस्थागत प्रोत्साहनको अभावमा यो खेल लामो समय घरेलु प्रतिस्पर्धामै सीमित रह्यो । खेलप्रेमीको जागरण बढ्दै जाँदा नेपाली क्रिकेट विस्तारित भयो र स्वदेशी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्न थालेको २५ वर्षभन्दा बढी भइसकेको छ । यसबीचमा नेपालले एसोसिएट देशबीचका केही प्रतियोगिता पनि जितेको छ । तर सर्वाधिक ठूलो उपलब्धि भनेको सन् २०१४ को टी–२० विश्वकपमा छनोट हुनु हो ।

हरेक खेलसँग सीप, लगन र समर्पण जोडिन्छ । नेपाली क्रिकेटको थप विशेषता के हो भने यसले दर्शकको अगाध माया पाएको छ । माथिल्लोस्तरको क्रिकेट हुँदा कहिल्यै पनि दर्शकको कमी हुँदैन र खेलाडीलाई प्रोत्साहित गर्न प्रशंसकले किञ्चित पनि कन्जुस्याइँ गर्दैनन् । यूएईविरुद्धको पछिल्लो खेलमा पनि दर्शकले रंगशाला भरिभराउ पारिदिए । दर्शकको यति उल्लेखनीय उपस्थिति टेस्ट मान्यताप्राप्त धेरै देशमा पाइँदैन । आफ्ना प्रशंसकलाई खेलाडीले पनि निराश बनाएनन्, एक दिनको खेलभित्र उतारचढाव बेहोरेर पनि नेपाली टोलीले आफूलाई छनोट चरणमा पुर्‍याएरै छाडेको छ ।

नेपाली प्रशंसकको स्नेहको भण्डारलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि प्रशंसा गर्दै आएको छ । विडम्बना के छ भने दर्शकको अथाह अभिलासा र खेलाडीको अथक लगनलाई नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) र देशको शासकीय नेतृत्वले सार्थक सम्बोधन गर्न सकेका छैनन् । खासमा, खेलकुदको पेसागत विकास उनीहरूको मूल ध्येय बन्न सकेको छैन । नेपाली क्रिकेटको व्यवस्थापनभित्र सीमाहीन अव्यावसायिक प्रतिस्पर्धा हुने गरेको छ, त्यसमाथि राजनीतिक हस्तक्षेप उस्तै छ । बेथितिकै कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटलाई निलम्बनमा समेत राखेको थियो । व्यवस्थापकहरूको अमर्यादित ‘खेल’ को मूल्य चुकाउँदा पनि नेपाली खेलकुदले प्राप्त गरेको उपलब्धिका लागि खेलाडीहरू सम्मानका हकदार छन् ।

खेलाडीले थोपा थोपा पसिना बगाएर बनाएको प्रतिष्ठा धुलिसात बनाउन क्यानका पदाधिकारी अग्रसर हुन्छन्, दुई महिनाअघि ‘टी–२० लिग’ का नाममा गरिएको तमासा यही शृंखलाको एउटा कडी थियो । सन्दिग्ध कम्पनीलाई रणनीतिक साझेदारका रूपमा भित्र्याइयो, व्यवसायी को हो भन्ने खुलासा नगरी टिम खडा गरियो, खेलाडीलाई पारिश्रमिक नदिई प्रतियोगिता सुरु भयो, मिलेमतो गराइएर नतिजा प्रभावित गरियो । केही पुराना र केही उदीयमान खेलाडीलाई समेत यसको हिस्सेदार बनेको पर्दाफाससमेत भयो । यसरी मैदानमा खेल्न गएका खेलाडी प्रहरी हिरासतसम्म पुगे जसबारे छानबिन चलिरहेको छ । बेथितिको यो शृंखलामा केही ‘योजनाकार’ को अभीष्ट पूरा भयो होला, तर नेपाली खेलकुदलाई एउटा अमीट दाग लागेको छ ।

नेपाली क्रिकेटका व्यवस्थापकहरूको अव्यावसायिक प्रवृत्तिका कारण घरेलु क्रिकेट आफैंमा कमजोर छ । अरू साना देशले पनि ठूल्ठूला प्रतियोगिता कसरी आयोजना गर्छन् र त्यसबाट खेल, खेलाडी र समग्र देशको समृद्धिमा कस्तो सहयोग पुगेको छ भन्ने अध्ययन अहिलेसम्म भएको छैन । स्थानीयस्तरमा संस्थागत प्रतियोगिता गराउने र प्रतिभा छनोट गर्ने इच्छाशक्ति नेतृत्वमा देखिएको छैन । जति पनि खेलाडीको पहिचान र विकास भइरहेको छ, त्यो संयोगकै कारणले सम्भव भएको छ । यसरी छानिएका खेलाडीले पनि खेलेर नै सहज रूपमा जिउने स्थिति बनेको छैन । अझै पनि क्रिकेटजस्ता खेलमा सम्पूर्ण भविष्य खोज्नु जोखिमपूर्ण मान्नुपर्ने अवस्था छ ।

प्रतिकूलताका बीच पनि नेपाली क्रिकेटको सम्भावना अथाह छ । त्यसको आधारभूत सर्त हो, राज्यको अभिभावकत्व र लगानी । चरणबद्ध रूपमा प्रतियोगिता गर्न योजना, कार्यक्रम र पूर्वाधार विकास अपरिहार्य छ । क्रिकेट र अन्य खेलका घरेलु प्रतियोगिताको एकीकृत क्यालेन्डर बन्नुपर्छ जसले नयाँ प्रतिभाले पनि आफ्नो पढाइसहितका प्राथमिकतालाई समय निर्धारण गर्न सकुन् । त्यस्तै पेसेवर खेलाडीका लागि आर्थिक सुरक्षा र उच्चस्तरीय ‘कोचिङ’ अर्को अनिवार्य सर्त हो । नेपाली खेलाडी अन्य देशमा जाँदा भव्यतम् पूर्वाधारमा खेल्न पाउने र प्रतिद्वन्द्वीलाई स्वदेशमा स्वागत गर्दा कमजोर पूर्वाधार देखाउनुपर्ने मनोवैज्ञानिक दबाबमा छन् । दुनियाँलाई देखाउन मात्र होइन, खेलको स्तर विकासका लागि पनि प्रविधि र पूर्वाधारको उच्चतम् व्यवस्था गरिनुपर्छ । नेपालजस्तो पर्वतीय देशले मौलिक छविसहितका पूर्वाधार बनाएर पर्यटक आमन्त्रण गर्न सक्छ । खेलमा भएको लगानी प्रतिष्ठा मात्र होइन, देशको विश्वसनीयता र समृद्धिको सूत्रधार पनि हो । यी सबै नीति, योजना र कार्यक्रमका लागि फेरि पनि चाहिने इच्छाशक्ति नै हो । हाम्रो क्रिकेट नेतृत्वले आफ्ना अनेक सीमितताको बोझ बोकेर होइन, खेलाडीले प्रदर्शन गरेको लगनलाई ऊर्जा मानेर अघि बढ्यो भने मात्र यो सम्भव छ । किनकि सारा अन्योलबीच पनि नेपाली क्रिकेटले चाँदीको घेरा देखाएको छ, त्यसलाई बादलमा हराउन नदेऊ ।

प्रकाशित : चैत्र ३, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्

दूधमा किसानको मूल्य ९ रुपैयाँ बढ्दा उपभोक्तालाई १६ रुपैयाँ भार

किसानले पाउने मूल्य तोकेर खुद्रा मूल्य बढाउने अधिकार उद्योगीलाई दिइँदा अचाक्ली मूल्यवृद्धि
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले किसानले पाउने दूधको मूल्यमा प्रतिलिटर ८ रुपैयाँ ८६ पैसा बढाउँदा उपभोक्ता मूल्य प्रतिलिटर १६ रुपैयाँसम्म वृद्धि भएको छ ।फागुन १९ मा बसेको मन्त्रिपरिषद् बैठकले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा मूल्य बढाउने निर्णय गरेपछि डेरीहरूले खुद्रा मूल्य आफूखुसी वृद्धि गरेका हुन् ।

किसानले पाउने मूल्य तोकेर खुद्रा मूल्य बढाउन उद्योगीलाई नै अधिकार दिँदा उनीहरूले अचाक्ली मूल्यवृद्धि गरेका हुन् । निजी डेरीहरूले फागुन २६ देखि नै स्ट्यान्डर्ड दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाएका छन् ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ । डीडीसीले चैत १ देखि किसानको मूल्य लागू गरेको जनाउँदै उपभोक्ता मूल्य चैत २ देखि बढाउने निर्णय गरेको हो । दूधको प्याकेटअनुसार प्रतिलिटर ११ देखि १६ रुपैयाँसम्म बढाउने निर्णय भएको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले जनाए । ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लिखित रूपमा दिएको निर्णयका आधारमा बिहीबारदेखि मूल्य बढाउने निर्णय गरेका हौं,’ झाले भने । स्ट्यान्डर्ड दूध (नीलो प्याकेट) को मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ । हाल प्रतिलिटर ८६ रुपैयाँ रहेको मूल्य ९७ रुपैयाँ पुगेको डीडीसीको भनाइ छ ।

‘४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा उपभोक्ता मूल्य प्रतिलिटर ९७ रुपैयाँ पर्छ,’ झाले भने । डीडीसीले सबैभन्दा बढी स्ट्यान्डर्ड दूध बिक्री गर्दै आएको छ । उपत्यकामा मात्रै प्रतिदिन ५० हजारदेखि ५५ हजार लिटर बिक्री हुने गरेको उनले बताए । मुलुकभर भने दिनको ७० हजार लिटरभन्दा बढी बिक्री हुने झाले जनाए । टी मिल्कको मूल्य भने प्रतिलिटर १० रुपैयाँ बढाएर ९० रुपैयाँ निर्धारण गरिएको छ । यो १.५ प्रतिशत फ्याट र ९.५ प्रतिशत एसएनएफ गुणस्तरको दूध हो ।

डीडीसीले काउ मिल्कको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर १ सय १६ रुपैयाँ निर्धारण गरेको छ । काउ मिल्कमा ३.५ प्रतिशत फ्याट र ७.८ प्रतिशत एसएनएफ हुन्छ । फुलक्रिम मिल्कको मूल्य भने प्रतिलिटर १६ रुपैयाँसम्म बढेको छ । यो प्रतिलिटर १ सय ३० रुपैयाँ पर्ने झाले बताए । फुलक्रिम मिल्कमा ५ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ हुन्छ । ‘सबैभन्दा बढी बिक्री हुने स्ट्यान्डर्ड दूध हो, यसको मूल्य प्रतिलिटर ११ रुपैयाँ मात्रै बढेको छ । अन्य दूधको खपत भने त्यति हुँदैन,’ झाले भने ।

०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढेपछि डीडीसीले फ्याटका आधारमा स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, टी–मिल्कमा १० रुपैयाँ, काउ–मिल्कमा १२ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म बढाएको थियो । निजी डेरीले पनि सोहीअनुसार मूल्यवृद्धि गरेका थिए । एक वर्षपछि फेरि मूल्यवृद्धि गरिएको हो । राष्ट्रिय दुग्ध विकास नीति ०७८ अनुसार वार्षिक मूल्यवृद्धि एवं उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक दुई वर्षमा पुनरावलोकन गर्न सकिन्छ । त्यसका लागि दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकलन गर्ने व्यवस्था छ । तर बोर्डले आफ्नै नीतिविपरीत एकै वर्षमा मूल्यवृद्धिको प्रस्ताव गरेको थियो । सोही आधारमा कृषि मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेर मूल्यवृद्धि गरिएको हो ।

दूधको मूल्यसँगै यसबाट उत्पादन हुने दही, पनिर, आइसक्रिमलगायतको भाउ पनि बढेको छ । त्यसको प्रत्यक्ष भार उपभोक्तालाई नै परेको छ । ‘दूधको मूल्य बढ्दा अन्यको पनि बढ्नु स्वाभाविकै हो । तर कति बढ्ने भन्ने विषयमा विश्लेषण भइरहेको छ,’ झाले भने ।

निजी डेरीहरूले भने दूधबाट उत्पादन हुने अन्य पदार्थको मूल्य बढाइसकेका छन् । सादा दही प्रतिलिटर २५, बट्टा दही प्रतिलिटर ३० र गुलियो दही खुलामा ३० रुपैयाँ बढेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जनाए । एक किलो पनिरमा २ सय रुपैयाँसम्म मूल्यवृद्धि भएको उनको भनाइ छ । ‘दूधको मूल्य बढ्दा यसबाट बन्ने परिकारको भाउ बढिहाल्छ, प्रतिलिटर १ सय २५ रुपैयाँ पर्ने सादा दहीको मूल्य १ सय ५०, १ सय ७० रुपैयाँ पर्ने बट्टा दही २ सय रुपैयाँ र किलोको ७ सय ५० रुपैयाँ पर्ने पनिरको मूल्य ९ सय ५० रुपैयाँ पुगेको छ,’ उनले भने, ‘अन्य उत्पादनको पनि सोही अनुपातमा मूल्यवृद्धि भएको छ ।’

प्रकाशित : चैत्र ३, २०७९ ०६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×