बालपुस्तकबिनाको नहोस् बाल्यकाल

मधु राई

यूकेजी पढ्ने इभानी अर्याललार्ई ‘दराजमा जामा’ पढ्न मन पर्छ भने मान्यता नेपाललाई ‘सहयोगी मन’ । अतिरिक्त क्रियाकलाप अन्तर्गत हरेक शुक्रबार कक्षामा उनीहरूले ती पुस्तक ठूलठूलो स्वरमा वाचन गर्छन् ।

बालपुस्तकबिनाको नहोस् बाल्यकाल

कक्षाका अरू साथी पनि बाल चित्रकथाका पुस्तक पढ्न तँछाडमछाड गर्छन् । उनीहरू अरू दिन पनि कक्षाकार्य गरेपछि कुनामा राखिएका पुस्तकहरू पढ्ने गर्छन् । आफ्ना छोराछोरीहरूले अक्षर, मात्रा लगायत शब्द र वाक्य पढ्न सिकून् भन्ने चाहना राख्ने कतिपय अभिभावकले पनि घरमा यस्ता पुस्तक पढाउन थालेका छन् ।

तर नगण्य विद्यार्थीले मात्र पूर्वप्राथमिक तहमा उमेर अनुसारका चित्रकथाका पुस्तक पढ्न पाएका छन् । बहुसंख्यकको बाल्यकाल बालपुस्तकबिनै बितिरहेको छ । बालबालिकाको बाल्यकालप्रति अभिभावक मात्रै हैन, कति शिक्षक पनि संवेदनशील देखिँदैनन् । शिक्षितमध्ये पनि बहुसंख्यक अभिभावक तथा शिक्षक आफैं समेत पढ्दैनन् । कति अभिभावकको फुर्सदको समय सामाजिक सञ्जालमै बित्ने गरेको देखिन्छ । यही कारण, साना बालबालिका पनि मोबाइल र टीभीतिर मात्रै झुम्मिन्छन् । यस्ता अभिभावकले छोराछोरीलाई पनि आफूजस्तै बनाइरहेका छन् । उदेकलाग्दो त, कतिपय साना बालबालिका मोबाइल नहेरुन्जेल खानै नखाने भएका छन् । यसले गर्दा बालबालिकाको सृजनशीलतामा नकारात्मक तथा दूरगामी प्रभाव परिरहेको छ । अभिभावकले यस्ता पक्षमा विचार नपुर्‍याउँदा विद्युतीय उपकरणहरूको दुरुपयोगसमेत बढ्दै छ । बाल्यकाल जोखिमपूर्ण बन्दै गएको छ । विद्युतीय उपकरणको दुरुपयोगबाटै हुने अपराधका घटनामा बालबालिका मुछिने गरेका समाचार आउन थालेका छन् ।

बेलायतले साना विद्यार्थीको ध्यान विद्युतीय उपकरणबाट हटाउन तथा उनीहरूको सृजनशीलता बढाउन उमेर अनुसार बालचित्रका बालपुस्तकहरूमा जोड दिन थालेको धेरै भैसक्यो । यस्ता पुस्तकहरूको आवरण पृष्ठमै उमेर तोकिएको हुन्छ । अभिभावकले पुस्तक पढेर सुनाउने गर्दा बालबालिकामा सुन्ने बानीको विकास हुने अध्ययनले देखाएको छ । यसै पनि रंगीचंगी पुस्तक छुन र हेर्न बालबालिकाले रुचाउँछन् । यही मनोविज्ञान अनुसार उनीहरूलाई रुचि र उमेर अनुसारको बालचित्र कथाका पुस्तकहरू उपलब्ध गराइन्छन् । छिमेकी मुलुक भारतमै पनि साना बालबालिकाका लागि रंगीचंगी बाल चित्रकथाका पुस्तकहरू प्रकाशन हुन थालेको वर्षौं भयो । कतिपय प्रकाशन गृहले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूको सफलताको कथालाई अंग्रेजीसहित आफ्ना राष्ट्रिय भाषामा पनि शृंखलाबद्ध रूपमा प्रकाशन गरेका छन् ।

पछिल्लो समय हामीकहाँ पनि विभिन्न प्रकाशन गृहहरूले बालबालिकालक्षित चित्रकथाका रंगीचंगी पुस्तकहरू प्रकाशन गर्न थालेका छन् । यिनमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूका कथा भने समावेश गरिएको त्यति देखिँदैन । अधिकांश आख्यान विधाका चित्रकथा छापिएका छन् । जेजति छापिएका छन्, ती पनि सबै बालबालिकाले पढ्न पाइरेहका छैनन् । तसर्थ, यस्ता पुस्तकहरू कसरी धेरैभन्दा धेरै बालबालिकासम्म पुर्‍याउने भनेर रणनीतिक योजना बनाउनु जरुरी छ ।

के हुनेखाने–के हुँदा खाने, बहुसंख्यक अभिभावकले आफ्ना छोराछोरीलाई कस्तो लुगा लगाइदिने र के खुवाउने भनेर समय र अर्थ खर्च गरे पनि उनीहरूको बौद्धिक विकासका लागि न समय खर्चेका छन्, न अर्थ नै । सहरी क्षेत्रकै कतिपय अभिभावकले पनि छोराछोरीका लागि महँगा खेल सामग्री र पत्रुखानामा समय र अर्थ खर्चने गरेका छन् । यस्ता अभिभावकको प्राथमिकतामा बालपुस्तक पर्दैनन् । आफू विद्यार्थी छँदा पाठ्यपुस्तकबाहेकका पुस्तक पढ्ने अवसरबाट वञ्चित यस्ता अभिभावक तथा शिक्षकहरू स्वयं पनि अतिरिक्त पुस्तक पढ्नु भनेको समय र पैसाको नाश गर्नु हो भन्ने मनोवृत्तिबाट ग्रस्त छन । कति अभिभावक र शिक्षकहरू विद्यार्थीले अतिरिक्त पुस्तक पढ्दा प्राप्त हुने प्रत्यक्ष–परोक्ष फाइदाबारे अनभिज्ञजस्तै छन् । यसको नकारात्मक प्रभाव बालबालिकामा परेको छ ।

वास्तवमा औपचारिक शिक्षाको पहिलो खुड्किलो अर्थात् पूर्वप्राथमिक तहका विद्यार्थीलाई पाठ्यपुस्तक पढ्न रुचि जगाउने सजिलो माध्यम नै बालचित्रकथाका पुस्तक हुन् । बालचित्रका रमाइला कथाहरूले बालबालिकालाई कल्पनाशील र सृजनशील मात्र बनाउँदैनन्, स्वप्नदर्शी पनि बनाउन मद्दत गर्छन् । यसरी समग्र पढाइप्रति रुचि जगाउनका साथै जीवन र जगत्सँग नजिक्याउन पनि यस्ता पुस्तकहरू सहज रूपले बालबालिकासम्म पुर्‍याउनुपर्छ । सामुदायिक विद्यालय होऊन् कि निजी, सबैले आफ्ना विद्यार्थीलाई यस्ता पुस्तकहरू उपलब्ध गराउनुपर्छ । यसका निम्ति बालपुस्तकका फाइदाबारे शिक्षक– अभिभावकलाई बेलाबेला अभिमुखीकरण गर्नुपर्छ । बालपुस्तक प्रकाशन गृहहरूले पनि बालपाठक जन्माउन अतिरिक्त रणनीतिक योजना तथा कार्यक्रमहरू ल्याउनुपर्छ । विशेष गरी विद्यालयले दिने लामो–छोटो बिदालाई सदुपयोग गर्न पनि यस्ता पुस्तकहरूतिर विद्यार्थीहरूलाई प्रोत्साहन गर्न जरुरी छ, जसका लागि विद्यालय अन्तर्गत सञ्चालित पुस्तकालय कार्यक्रमलाई प्रभावकारी बनाउन सकिन्छ ।

प्रकाशित : चैत्र १, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?