कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

समृद्धि र सामाजिक न्याय सँगसँगै

नीलम शर्मा

केही वर्षयता नेपालमा सबैभन्दा बढी प्रयोग भएको शब्दमध्ये एउटा ‘समृद्धि’ हुन सक्छ । गएका निर्वाचनहरूमा राजनीतिक पार्टीका घोषणापत्रमा लेखिएका, भाषणहरूमा बोलिएका र वाचा गरिएका कुराहरू पढ्ने–सुन्ने हो भने देश समृद्धितिरै मुखरित हुँदै छ भन्ने भान पक्कै हुन्छ ।

समृद्धि र सामाजिक न्याय सँगसँगै

तर, समृद्धि भनेको के हो ? के भयो भने परिवार, समाज र देश समृद्ध हुन्छन् ? यसका मापदण्डहरू के हुन् ? पछिल्लो स्थानीय निर्वाचनयता यिनै प्रश्नको जवाफ विभिन्न माध्यमबाट खोज्ने उपक्रममा थिएँ म । संयोगवश, केही दिनअगाडि अमेरिकाको मिजौरी राज्यमा आमिस समुदायको इलाका भ्रमण गर्ने अवसर मिल्यो । सोह्रौं शताब्दीदेखिको निरन्तरता बोकेका आमिसहरूको आज पनि छुट्टै पहिचान छ । भाषा, पहिरन मात्र होइन, रहनसहन पनि फरक रहेका उनीहरूको विषेशता भनेको आधुनिकताबाट टाढा र प्रकृतिसँग नजिक रहेर जीवनयापन गर्नु हो । घोडापालन गर्ने र घोडाबाट चल्ने सवारी (टाँगाजस्तो) लाई यातायातको साधन मान्ने यो समुदाय बिजुलीको प्रयोग न्यूनतम गर्ने (सम्भवतः नगर्ने) रहेछ । झन्डै माइनस ५ डिग्री सेल्सियस तापक्रम रहेका बेला हामी त्यस समुदायमा पुग्दा घर तताउनलाई आगो बालिएको थियो । एयर कन्डिसन, फ्रिज, वासिङ मेसिन आदि केही प्रयोग नगर्ने समुदायको आफ्नै सामुदायिक उत्पादन र पसलहरू हुने रहेछन् जहाँ पैसा तिरेको बिल कम्प्युटर हैन कि टाइपराइटरबाट दिने रहेछन् । सामुदायिक पसलमा सामाजिक नक्सा थियो जसमा करिब २०० घरहरूका साथै बाटाघाटा, चर्च, स्कुल आदिबारे उल्लेख थियो । केटाकेटीहरू हातहातमा टिफिन बोकेर स्कुल जाँदै थिए । स्कुलबाहिर पानी खाने नल थियो । यो सबै देख्दा एक मनमा त यो समुदाय पनि हाम्रो देशका केही समुदायजस्तै बहिष्करणमा परेको हो कि भन्ने लाग्यो । आधुनिकताको चरमोत्कर्षमा पुगेको अमेरिकामा संसारबाट डाइभर्सिटी भिसा दिएर भित्र्याइएका वा अन्य तवरबाट आएका आप्रवासीहरूलाई त कुनै पनि सेवासुविधा प्रयोगबाट वञ्चित हुनुपर्दैन भने आमिस समुदाय किन वञ्चितीकरणमा छ ? तर त्यस्तो होइन रहेछ । यस्तो जीवनशैली त उनीहरूकै छनोट रहेछ, आफैंले रोजेको बाटो रहेछ । हामीले भेटेका मानिसहरू हँसिला र आत्मसम्मानले भरिपूर्ण देखिन्थे, कसैको अनुहारमा पनि आफ्नो पहिचानप्रति ग्लानि वा पीडाजस्तो देखिँदैनथ्यो ।

अमेरिकामा आमिस समुदायको रहनसहनबारे बुझिरहँदा मेरा आँखामा भने नेपालका सुदूरपश्चिमका पहाडहरूमा र पूर्वी तराईमा गाँसबासकै ठेगान नभएर कष्टकर जीवन बिताइरहेका हलिया र हरवा–चरवा समुदायहरू एवं बहिष्करणमा परेका जाति, लिंग, र अल्पसंख्यकहरूका दृश्य आइरहे । र मनमा प्रश्नहरू दौडिरहे— समृद्धि के हो ? मानव जीवनका आधारभूत आवश्यकताहरू के के हुन् ? समृद्ध हुनु भनेको आफ्ना समान र फरक आवश्यकता, पहिचान र अस्तित्वको छनोट र उपयोगको स्वनिर्णय गर्न सक्नु हो वा राज्य वा व्यक्तिद्वारा बोकाइने भार हो ? यो केवल भौतिक विकास, आर्थिक सम्पन्नता मात्र हो कि व्यक्ति वा समुदायले महसुस गर्ने भावना, विशिष्ट पहिचान, आत्मसम्मान र अस्तित्वसँग पनि जोडिएको विषय हो ?

समृद्ध समाजभित्र के के पर्छन् होला ? सायद ठूला र फराकिला बाटाहरू, अपांग र लैंगिकमैत्री संरचनाहरू, बर्खामा पानी नचुहिने घरहरू, बालीनाली झुलेका फाँटहरू, पुलपुलेसाले भरिएका नदीनालाहरू, आर्थिक रूपमा सम्पन्न परिवारहरू, रोजगार नागरिकहरू, स्कुल गइरहेका बालबालिकाहरू, अनुहारमा उज्यालो चमक बोकेका युवाहरू, कुनै ठूलो रूखमुनिको चौतारीमा बसेर आफ्ना जवानीका कथाहरू सुनाइरहेका हँसिला बाआमाहरू, पुस्तकालयमा रमाइरहेका साना नानीहरू, सार्वजनिक स्थानहरूमा एकअर्काको उपस्थितिलाई सम्मान गर्दै मुसुक्क हाँस्दै हिँडेका असंख्य मानिसहरू । बिरामी पर्दा सजिलै उपचार पाउन सकिने सुलभ रूपमा मानसिक र शारीरिक स्वास्थ्य सेवा दिने स्वास्थ्य केन्द्रहरू, बिनाभेदभाव व्यावहारिक र जीवनोपयोगी शिक्षा दिने विद्यालयहरू, सजिलैसँग पहुँच र लाभ लिन सकिने न्यायप्रणाली र तिनका विवेकशील अभ्यासीहरू । अनि फुर्सदमा खेल्न र रमाउन मिल्ने ठूला मैदानहरू, पार्कहरू, हरिया चौरहरू, भरिला जंगलहरू, हिउँले भरिएका सेता हिमालहरू । ओहो, सोच्दा मात्र पनि मन आनन्दित हुने ! अनि त्यतिले मात्र पुग्ला त ? सायद पुग्दैन । गर्वका साथ आफ्नो नामका पछाडि कामी, सार्की, सतार, सदा, मण्डल आदि राखेर आफ्नो जन्म र पेसाप्रति कहिल्यै अपमानबोध नगरी सम्मानपूर्वक बाँचेका समुदायहरू;आफ्नो यौनिकता र लैंगिकताकै कारण जीवनभर परिचय लुकाउने बाध्यताबाट मुक्त भई आत्मविश्वासपूर्वक हिँडेका असंख्य लैंगिक र यौनिक अल्पसंख्यकहरू; आफ्नो जातकै कारण, शारीरिक अपांगताकै कारण, भौगोलिकता र बोलिएका भाषाकै कारण, मानिआएको धर्मकै कारण अपहेलित नभई आफू यही देशको नागरिक हुनुमा गर्व गरिरहेका तराई, हिमाल र सुदूरका मानिसहरू । अनि शरीरमा स्तन र योनि भएकै कारण दोस्रो दर्जामा राखिनुको विपरीत समान मानवका रूपमा राज्य, समाज र परिवारबाट स्विकारिएका; श्रमको पहिचान र मूल्यांकन गरिएका; समान नागरिक भनेर पहिचान भएका; परिवार, समाज र राज्यको हरेक हिंसाबाट सुरक्षित रहन सक्ने बलिया आधारहरू रहेका, पितृसत्ताबाट थोपरिएका असंख्य लाञ्छना र बोझहरूबाट मुक्त आत्मविश्वासी महिलाहरू । के तपाईं यस्तो समाजको सपना देख्नुहुन्छ ? म भने अक्सर देख्ने गर्छु र यही सपनाले घचघच्याउनाले जीवनको सम्पूर्ण ऊर्जा खर्च गरिरहेकी छु ।

तर विडम्बना, कहिलेकाहीँ यस्तो सपना देख्नु नै अपराध हो कि जस्तो लाग्छ । केही समयअगाडि हुम्लाको विकट बस्तीमा दुई छाक टार्न र ओत लाग्न संघर्ष गरिरहेको मुक्त हलिया माइला कामीलाई हामीले सोध्यौं, ‘तपाईं जीवनमा के चाहनुहुन्छ ?’ उनले घर भनेनन्; पैसा भनेनन्; बाटो, बिजुली वा स्कुल केही भनेनन्; सरकारको पुनःस्थापना प्याकेज पनि मागेनन् । माइला कामीले सुस्केरा काढ्दै एउटै इच्छा देखाए- यो ठाउँ नै छाडेर टाढा कतै जाने जहाँ उनको पहिचान, जात, पेसालाई परिचय बनाइँदैन; जहाँ उनि र उनको परिवारलाई मानवका रूपमा स्वतन्त्र र आत्मसम्मानपूर्ण जीवन बिताउन सक्ने सहजता हुन्छ । उनको एउटै जवाफले हाम्रा धेरै प्रश्नको अन्त्य गरिदियो । उनी र हामी दुवै मौन भयौं । मलाई भने यस्तो बेला यस समाजको, परिपाटीको, प्रणालीको एउटा अभिन्न अंग हुनुपरेकामा अपराधबोध हुन्छ ।

देशमा धेरै राजनीतिक परिवर्तन भए । सत्ता फेरिए, शासक फेरिए, समृद्धिका योजनाहरू बुनिए तर यसका कारण सीमित मानिसहरूको बाहेक जीवन फेरिएन । राजनीतिक पार्टीहरूका घोषणापत्रमा लेखिएका सुन्दर शब्दहरू, माइला कामीहरूले पढ्न र बुझ्न सकेनन् अनि कसैले उनीहरूलाई बुझाउने झन्झट पनि गरेन । दुई छाक पेटभरि खाने, आङ राम्रोसँग ढाक्ने, आफ्नै एक टुक्रा जमिन र एउटा ओत लाग्ने घर बनाउने जीवनभरको सपना बनिरह्यो तर त्यही सपना काँडाजस्तै बिझाई पनि रह्यो ।

साहूको जमिनमा बसेपछि, उनले बनाइदिएको घर, उनकै जमिनमा बाली, आफ्नो शरीर र बालबच्चा पनि उनकै हुने भए । देखिने गरीको दासत्व त कहाँ छ र ? कागजमा सबै हलिया, हरवा–चरवामुक्त भइसके, तर साहूका जुठा भाँडा नमाझी, उनको परसो नफाली, उनका गाईवस्तु चरनमा नलगी, उनले भनेका बेला रातसाँझ वा बिरामी वा भोकै नभनी उपस्थित नहुने हो भने भोलिपल्ट कता ओत लाग्ने ? जीवन यसरी नै चलिरहेको छ र अझै कहिलेसम्म यसरी नै चल्नुपर्ने हो, कसैले भन्न सक्दैन ।

समाज परिवर्तनशील छ । समयसँगै केही न केही परिवर्तन त भएकै छ । सबै कुरा निराशाजनक मात्र त पक्कै छैनन् । बहुसंख्यक मानिसहरूका हातमा स्मार्टफोन छ । बाटाघाटामा केटाकेटीहरू टाई लगाएर स्कुलतिर गएका देखिएकै छन् । सहरहरूमा हाइराइज बिल्डिङ बनिरहेकै छन्, पिच बाटाहरू पनि त छन्, गाउँगाँउमा भ्यु टावर छन्, बजार छिर्ने बेला सिमेन्टका भव्य गेटहरू ठडिएका छन्, ठूला मानिसहरू उपचार गराउन विदेश गएकै छन्, गाउँको निरीक्षण गर्न बेलाबेला गाडी चढेर मानिसहरू पनि आएकै छन् । कतिले खाडीतिर गएर पैसा कमाई बजारमा घर जोडेकै छन्, ठेकेदारहरूले धमाधम गाउँसहर सबैतिर बाटा खनेका खन्यै छन् । चोकमा टोलभरिका केटाहरू बिहानभरि क्यारेमबोर्ड खेलेकै छन्, अधवैंसेहरू चौतारीमा दिनभरि कौडा हानेकै छन् । केही भएकै छैन, सबैतिर निराशा छ त कसरी भन्न सकिन्छ र ? तर प्रश्न हो- यी दृश्यहरूमा माइला कामीका सपनाहरू कहाँनिर पूरा भएका छन् ? उनीहरूले देखेको र देख्न चाहेको परिवर्तन यही र यति नै हो त ? हिजोका क्रान्ति र युद्ध, सत्ता र वर्गसंघर्ष; परिवर्तनका मुद्दाहरू; यो देशमा सबैभन्दा पीँधमा रहेका दलित, महिला, अल्पसंख्यकले गरेका योगदानहरू केवल सत्ताप्राप्तिका भर्‍याङ मात्र थिए वा साँच्चिकै माइला कामीहरूको जीवन परिवर्तनका निम्ति पनि थिए ? जवाफ कसले दिने ? यो देशका समृद्धिका ठेकेदारहरूले यसको उत्तरदायित्व लिने कि नलिने ? आफ्ना वाचा पूरा गर्ने कि नगर्ने ? कि ‘समृद्धि’ शब्दलाई चुनावका बेला जनताका भोट बटुल्ने औजार मात्र बनाउने ? अब पनि प्रश्न गरेनौं भने यस अपराधको भागीदार हामी सबै हुनेछौं । र यो प्रश्न पुराना दलहरू र तिनका नेताहरूलाई मात्र होइन, परिवर्तन हामीबाट भन्ने उद्घोष गर्दै उदाएका नव राजनीतिक खेलाडीहरूलाई पनि हो । साँच्चिकै एउटा समृद्ध समाजको कुरा गर्दै हुनुहुन्छ भने कृपया पहिले निर्क्योल गर्नुहोला, तपाईंको विधानभित्र, घोषणापत्रभित्र, भाषण वाचा व्यवहारहरूमा समृद्धिको परिभाषामा के के कुरा पर्छन् ? र यी पाउने आधार के हुन् ? त्यसभित्र यस देशको संरचनाको पीँधमा रहेका व्यक्ति, समुदाय, जाति, लिंगका प्राथमिकताहरू कहाँनिर पर्छन् ? अनि त्यो समृद्धि प्राप्त गर्ने मार्गहरू के के हुन् ? मार्गविहीन गन्तव्यको अर्थ हुन्न । कृपया, नागरिकको आँसुको, संवेदनाको, आशा र सपनाको राजनीतिक व्यापार गर्न बन्द गर्नुहोला ।

प्रकाशित : फाल्गुन १०, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?