ती हिमालयशमशेर, यी युवा नेता

ती युवा नेताले निकै अनुरोध गरेकाले मैले बल्लबल्ल विदेशी प्रोफेसरसँग भेटको समय मिलाइदिएँ । तर ती जानकारीबिनै सम्पर्कबाहिर भए । पछि प्रोफेसरले मलाई भने, ‘सामान्य पेसागत आचरण पनि नभएको व्यक्ति कसरी तपाईंको देशको ठूलो युवा नेता भयो ?’
सृष्टि राणा

हिमालयशमशेर नेपालको पहिलो गभर्नर मात्र नभएर आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका राष्ट्रप्रेमी व्यक्ति हुनुहुन्थ्यो । उज्यालो अनुहार, दयालु स्वभावका अनि अत्यन्तै आत्मीयता र माया देखाउने भएकाले उहाँलाई भेट्न पाउँदा पनि सुखद अनुभव हुन्थ्यो ।

ती हिमालयशमशेर, यी युवा नेता

फेरि उहाँबाट ठूलो होस् वा सानो, गरिब होस् वा धनी, शक्तिशाली होस् या कमजोर सबैसँग समान व्यवहार हुन्थ्यो । घरमा आएको जुनसुकै व्यक्तिलाई पनि मनैदेखि आदर–सत्कार गर्ने उहाँको बानी थियो । जहिले पनि सत्कर्म गर्नुपर्छ र सकारात्मक सोच राख्नुपर्छ भन्ने उहाँको मान्यता थियो ।

राणा परिवारमा एउटा भनाइ छ— देवशमशेरका सन्तानहरू असल र दानी हुन्छन् । देवशमशेरका सन्तति हिमालयशमशेर पनि थाहा पाए अनुसार एकदमै असल र दयालु हुनुहुन्थ्यो । उहाँमा राम्रो काम गर्‍यो भने मरेपछि त्यसको सही मूल्याङ्कन हुन्छ भन्ने विश्वास थियो । उहाँ जीवनको अन्तिम समयसम्म पनि विभिन्न परोपकारी र सामाजिक कामहरूमा संलग्न हुनुहुन्थ्यो । त्यसैले उहाँप्रति मेरो सम्पूर्ण परिवारको असीम श्रद्धा थियो । साँच्चै भन्ने हो भने, राणा परिवारमा शक्ति र सम्पत्ति कमाएका धेरै छन्, तर श्रद्धा कमाएका व्यक्तिहरू भने कमै छन् । हिमालयशमशेर परिवार र समाजको श्रद्धा कमाउने विशिष्ट राणामध्ये पर्नुहुन्छ ।

वचनको पक्का

उहाँलाई मैले आफ्नो परिवारको एक सदस्यसँगै झन्डै डेढ वर्षअघि भेटेको थिएँ । भेट्दा सानो कामका लागि अनुरोध पनि गरेकी थिएँ । जहिल्यै तेजिलो र आकर्षक देखिने उहाँलाई शारीरिक रूपमा अलि खस्केको पाएँ । त्यस दिन उहाँसँग भेट्दा मलाई जति नै ठूलो हस्ती भए पनि, जति नै बुद्धि र सम्पत्ति कमाए पनि एक दिन उमेरले सबैलाई परास्त गर्ने रहेछ भन्ने बोध भएको थियो । श्रीमतीको मृत्युपछि ९३ वर्षको उमेरमा परिवारको भर नपरी एक्लै बस्न सकेको देखेर भने बूढो भए पनि उहाँको मन भने दह्रो र आँटिलो रहेछ भन्ने लागेको थियो ।

भेट भएको तीन दिनपछि, उहाँलाई कोभिड वा छाती सम्बन्धी केही समस्या भएर अस्पताल भर्ना गर्नुपर्ने भएकाले मैले अनुरोध गरेको काम हुन नसक्ने खबर आयो । उहाँको आफ्नो वचनप्रतिको इमानदारी देखेर म छक्क परें । ९३ वर्षको बूढो मान्छे, सास फेर्न गाह्रो भएर जीवनसँग संघर्ष गरिरहँदा पनि आफ्नो वचनप्रति कति संवेदनशील ? खासमा मैले भनेको काम त्यति महत्त्वपूर्ण पनि थिएन । उहाँले खबर नगर्नुभएको भए पनि केही फरक पर्दैनथ्यो । तर उहाँले वचनप्रति जिम्मेवार हुने आफ्नो स्वभाव सिकिस्त हुँदा पनि छोड्नुभएको थिएन ।

हुन त आफूले दिएको वचनप्रति जिम्मेवार हुनु ठूलै महानता त होइन, तापनि दुर्भाग्यवश, नेपाली समाजमा आजकल यस्ता इमानदार व्यक्ति पाउन मुस्किल हुन थालेको छ । त्यसैले उहाँको यो व्यवहारले मेरो मन छोयो । उहाँलाई विद्वत्ता वा सम्पत्तिले होइन, आफ्नो असल व्यवहारले सबैको प्रिय र श्रद्धेय बनाएको रहेछ ।

पुराना नेताको बोली

यही पृष्ठभूमिमा गिरिजाप्रसाद कोइरालासँग सम्बन्धित एउटा घटना पनि सान्दर्भिक हुन सक्छ । सन् २०१० मा उहाँको निधनभन्दा केही समयअगाडि मात्र किताबका लागि अन्तर्वार्ताका क्रममा म र मेरा सहलेखक उहाँकहाँ गएका थियौं । शान्ति प्रक्रियाबारे विस्तारमा बुझाउँदै जाँदा एक पटक उहाँले दिक्क मान्दै केही नयाँ नेताका नामै लिएर भन्नुभयो, ‘के गर्नु, फलाना–फलानाले मसँग झुट्टा कुरा गर्छन् ! एउटा कुरा गर्छु भनेर अर्को कुरा गर्छन् !’ मैले सुने अनुसार, गिरिजाप्रसाद पनि आफूले दिएको वचन जसरी पनि पूरा गर्ने स्वभावको हुनुहुन्थ्यो । त्यसैले साना–ठूला राजनीतिक विषयहरूमा अरू नयाँ नेताले झुक्याउन खोजेपछि जीवनको अन्तिम समयमा उहाँ दुःखी हुनुहुन्थ्यो ।

मैले उहाँभन्दा पहिलाका अरू दलका नेताहरूलाई भेट्ने मौका त पाइनँ, तर मनमोहन अधिकारी पनि वचनमा इमानदार भएको सजिलै अनुमान गर्न सकिन्छ । उहाँ मात्र होइन, प्रायः पुराना नेताहरू, कम्तीमा व्यक्तिगत सम्बन्धमा अहिलेजस्तो सजिलै ढाँट्ने खालका थिएनन् । त्यसैले नेपाली समाजको चरित्र पनि ढाँट्ने वा छल्ने किसिमको थिएन । केही नाम चलेका युवा नेताहरूलाई हेर्दा, अहिले त्यसमा परिवर्तन आएजस्तो देखिन्छ ।

युवा नेताहरूको बोली

मैले केही युवा नेतासँग काम गर्दा उनीहरू पुराना नेताहरूभन्दा मतलबी, अलि बढी अहम् भएका र आफ्नो बोलीलाई हल्का रूपमा लिने किसिमको पाएँ । जनताले अत्यन्तै आस गरेका एक लोकप्रिय युवा नेतासँग कामविशेषले सम्पर्क गर्दा उनी सोचेभन्दा फरक लागे । उनी आफ्नो बोलीमा गैरजिम्मेवार लाग्यो । काम पर्‍यो भने जे पनि गर्न तयार तर आफू ठूलो युवा नेता भएपछि त अरूसँग जस्तो व्यवहार गरे पनि भयो भनेझैं गर्ने । आफैं आउँछु भनेको कार्यक्रममा खबरै नगरी नआउने, गर्छु भनेको काम नगर्ने, कुनै संवेदनशीलता नै नभएको । सुरुमा लाग्यो यो व्यक्तिविशेषको मात्र समस्या हो ।

तर, निकै सम्मानित र नाम चलेका अर्का युवा नेताको व्यवहार पनि उस्तै पाएँ । विदेशबाट एक प्रोफेसर आएका थिए, जोसँग भेट गराइदिन ती युवा नेताले विशेष अनुरोध गर्दै भने, ‘समय कन्फर्म गर्न बेलुका फोन गर्छु ।’ प्रोफेसरका पूर्वनिर्धारित भेटहरू भएकाले समय मिलाउन निकै गाह्रो थियो । बल्लबल्ल समय मिलाएँ । तर, ती युवा नेताले न बेलुका फोन गरे, न त मैले गरेकै फोन उठाए । नेपालका सन्दर्भमा यो सामान्य होला तर विदेशी प्रोफेसरलाई असामान्य लाग्यो । उनले मलाई भने, ‘सामान्य पेसागत आचरण पनि नभएको व्यक्ति कसरी तपाईंको देशको ठूलो युवा नेता भयो ?’ यी दुइटा घटनाबाहेक, अरू केही युवा नेता पनि पुराना नेताहरू जस्तो आफ्नो बोलीप्रति पक्का नभएको पाएँ । वचनको पालना नगर्नु नेपाली समाजको प्रवृत्ति भइसकेको छ ।

इमानदार र लोकतान्त्रिक चरित्र

जहाँ राजनीतिकर्मीले जनतालाई लुट्छन् र भ्रष्टाचार गर्छन्, तिनलाई विभिन्न किसिमका अपराधमा उन्मुक्ति मिल्छ र तिनको अनैतिक आचरण सामान्य हुन्छ, त्यहाँ आफ्नो बोलीप्रति इमानदार नहुने विषय गौण लाग्न सक्छ । तर यो व्यक्तिको लोकतान्त्रिक चरित्रको आधारभूत गुण हो । लोकतन्त्र जनता र जनप्रतिनिधिबीचको विश्वासमा चलेको हुन्छ । विश्वास कायम राख्न इमानदारी चाहिन्छ । जो व्यक्ति आफ्नो बोलीप्रति नै इमानदार छैन, ऊ कसरी देश र जनताप्रति इमानदार हुन सक्छ ?

आफूले बोलेको कुरा पुर्‍याउनु, सबैलाई सम्मान गर्नु लोकतान्त्रिक मूल्यसँग पनि जोडिएको छ । लोकतान्त्रिक चरित्र भएको व्यक्तिले कुचीकार र प्रधानमन्त्रीलाई समान मानवीय व्यवहार गर्छ । कुचीकार भयो भन्दैमा ऊसँग बोलेको कुरालाई हल्का रूपमा लिने वा ऊसँग पेसागत आचरण नदेखाउने गरिँदैन । किनभने कुचीकारसँग गर्ने व्यवहारले कुचीकारको हैन, व्यवहार गर्ने व्यक्तिको स्तर देखाउँछ । त्यसैले कसैले कसैलाई भनेको वचन पूरा गरेको छैन वा ढाँटिरहेको छ भने त्यो सम्मान होइन, म ठूलो नेता भएपछि जे गरे पनि हुन्छ भन्ने अहमत्याइँ हो । जनताले आस गरेका युवा नेताहरूमा यस्तो र अरू अलोकतान्त्रिक चरित्र र प्रवृत्ति देखिनु नेपाली राजनीतिका लागि निकै चिन्ताको विषय हो ।

तर नेपाली राजनीतिमा यस्ता व्यक्तिगत मूल्यमान्यताबारे बहसै हुन छाड्यो भन्दा पनि हुन्छ । पहिला नेपाली राजनीति र समाजमा केही त्यस्ता मूल्यमान्यता थिए जसले गर्दा हिमालयशमशेरजस्ता इमानदार व्यक्तिहरू प्रायः भेटिने गर्थे । तर अहिले हाम्रो समाज र राजनीतिमा यस्तो प्रवृत्तिको विकास भएको छ जसले गर्दा इमानदार र असल नेता पाखा लागेको छ, लगाइएको छ । यसले गर्दा नै समाज र राजनीतिमा यति विधि विकृति फैलिएको हो । हाम्रो समाजमा असल व्यक्तिको होइन, शक्ति र स्रोतका लागि जुनै हदसम्म पनि जाने चरित्रहरूको दबदबा भएको हो । नेपालमा लोकतन्त्रलाई खोक्रो बनाउने यस विषयबारे राजनीतिक दलहरूभित्र बहस आवश्यक छ ।

युरोपका केही सफल लोकतन्त्रको उदाहरण लिने हो भने, त्यहाँका अधिकांश नेता र जनता दुवै इमानदार हुन्छन् । उनीहरूको लोकतन्त्र आपसी विश्वासमै चलेको हुन्छ । नेताहरू भ्रष्टाचार गर्दैनन्, त्यसैले जनताहरू कर छल्न खोज्दैनन् । यसै वर्ष एउटा स्क्यान्डिनेभिएन देशमा चुनाव नेपालमा भएकै बेला भएको थियो । त्यहाँका एक एकदमै लोकप्रिय नेता (जसलाई भावी प्रधानमन्त्रीका रूपमा हेरिएको थियो) ले व्यक्तिगत जीवनका सन्दर्भमा सञ्चारमाध्यमसँग सही तथ्य बोलेनछन् । यो कुरा बाहिर आउनासाथ ती नेता र उनको दलको लोकप्रियता स्वाट्टै घट्यो । स्थानीय तह चुनावमा तेस्रो भएको त्यो दल संसदीय चुनावमा सातौं स्थानमा झर्‍यो । किनभने त्यहाँका सजग जनताले बुझेका थिए, व्यक्तिगत जीवनमा इमानदार नहुने नेता जनताप्रति पनि इमानदार हुन सक्दैन । त्यसैले ती मुलुकहरूमा भन्ने गरिन्छ— सक्षम नेता हुनका लागि पहिले असल मान्छे हुन सक्नुपर्छ ।

हिमालयशमशेरको अवसानले गराएको बोध

जीवन मृत्युको तयारी रहेछ, किनभने हरेक जीवनको अन्त्य मृत्युबाटै हुन्छ । हरेक सासफेराइले मानिसलाई मृत्युनजिक पुर्‍याइरहेको हुन्छ । हिमालयशमशेरको मृत्युले पनि हामीलाई के बुझाएको छ भने, जति नै सम्पत्ति आर्जन गरे पनि, समाजमा जति नै प्रतिष्ठा भए पनि एक दिन सब छोडेर जानुपर्छ । बाँकी रहने त आफूले गरेका असल कामहरूबारे अरूहरूका मनमा रहने सम्झना मात्र हुन् ।

त्यसैले सायद मृत्युको अवश्यम्भाविता राजनीति र समाजमा नैतिकताका पक्षमा वकालत गर्ने सबैभन्दा बहुमूल्य आधार हुन सक्छ । यदि सबै कुरा छोडेर जानैपर्छ भने, शक्ति वा सम्पत्तिका लागि नैतिकता लिलाम गरेर के फाइदा ? फेरि, अन्तिम घडीमा कसैले पनि आफूसँग यति पैसा छ वा आफू यति शक्तिशाली छु भन्ने सोचेर प्राण त्यागेको भन्ने सुनिँदैन । सबैजसोले आफूले जीवनमा गरेका असल कामहरू नै सम्झने हुन् । त्यसैले भनिन्छ, असल काम गर्नेहरूले शान्तिपूर्वक मृत्युवरण गर्छन् भने कुकर्म गर्नेहरू मर्ने बेला आत्मग्लानिले बेचैन हुन्छन्, उनीहरूमा निकै छटपटी हुन्छ । यसतर्फ धर्मले मात्र नभएर मनोविज्ञानले पनि संकेत गरेको छ ।

अहिले भएका प्रमुख दलका सबै प्रमुख नेता मृत्युको मुखमा छन् । उनीहरूसँग थोरै जीवन बाँकी छ । मृत्युको यही सत्यतालाई अहिले नै आत्मसात् गरेर उनीहरूले आफ्नो मृत्यु शान्तिपूर्ण बनाउन सम्झनलायक केही काम गरे सायद हाम्रो राजनीति सही दिशामा मोडिन सक्थ्यो । कसैको मरणले सिकाएको योभन्दा महत्त्वपूर्ण पाठ अर्को के हुन सक्ला र ?

प्रकाशित : फाल्गुन ५, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?