आधारभूत विज्ञानको महत्त्व- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधारभूत विज्ञानको महत्त्व

सरसर्ती हेर्दा बुझ्नुभन्दा बदल्नु महत्त्वपूर्ण लागे पनि कुनै कुरालाई बदल्न त्यसलाई बुझ्न जरुरी हुन्छ । त्यसकारण बुझ्नु र बदल्नु अन्तरसम्बन्धित हुन्।
उत्तमबाबु श्रेष्ठ

१९८३ मे महिनाको एक दिन जीव रसायन वैज्ञानिक केरी म्युलिस आफ्नी केटी साथीसँग कार यात्रामा थिए । उनको हात होन्डा सिभिक कारको स्टेयरिङमा र आँखा क्यालिफोर्नियाको मनोरम भूदृश्य चिर्ने सडकमा भए पनि दिमाग भने प्रयोगशालामा थियो । त्यतिखेर उनी क्यालिफोर्नियामा रहेको सिटस कर्पोरेसन नामक जैविक प्रविधि सम्बन्धी अनुसन्धान गर्ने निजी कम्पनीमा काम गर्थे ।

उक्त कम्पनीको प्रयोगशालामा डीएनए (डिअक्सी राइबो न्युक्लिकएसिड) सम्बन्धी अनुसन्धान गर्नु केरीको प्रमुख जिम्मेवारी थियो, यद्यपि आणविक जीवविज्ञानमा उनको खासै पूर्वअनुभव थिएन । पृथ्वीको प्रत्येक जीवको शरीरमा पाइने सूक्ष्म अणु डीएनए त्यति बेला सबैको चासो र जिज्ञासाको विषय थियो । गाडी चलाउँदै सोचिरहँदा उनको दिमागमा डीएनएको सानो अंशबाट असंख्य डीएनएका प्रतिलिपिहरू निकाल्न सकिन्छ भन्ने विचार आयो । मानौं कुनै प्रलयकारी घटना घटेजसरी उनले गुडिरहेको गाडी रोके । र, केही लेख्न हतारिए । गाडीमा लेख्नका लागि खाम र पेन्सिल मात्रै भेटिए, उनले सोही खाममा उक्त नवीन विचारको टिपोट गरे ।

आफूले ‘पत्ता लगाएको’ उक्त विधि पछि प्रयोगशालाका सहकर्मीहरूलाई सुनाउँदा साथीहरूले अविश्वास गरे र उनी त्यसको प्रमाण जुटाउन लागे । आफ्नो विधिले कसरी काम गर्छ भन्ने देखाइएको अनुसन्धान लेख तयार पारे, जुन सुरुमा प्रसिद्घ वैज्ञानिक जर्नल ‘नेचर’ मा पठाइयो, तर रिजेक्ट भयो । त्यसपछि अर्को प्रतिष्ठित जर्नल ‘साइन्स’ मा । त्यसले पनि रिजेक्ट गरिदिएपछि अन्त्यमा सन् १९८७ मा ‘मेथड्स इन इन्जाइमोलोजी’ जर्नलमा प्रकाशित भयो ।

एउटा रासायनिक इन्जाइम (डीएनए पोलिमरेज) मार्फत डीएनएका दुई त्यान्द्रा (डबल हेलिक्स) लाई अलग्याएर त्यसको सानो अंशबाट असंख्य डीएनए बनाउन सकिने केरीको विधिलाई पोलिमरेज चेन रियाक्सन अर्थात् पीसीआर भनिन्छ, जसका लागि उनले सन् १९९३ को नोबेल पुरस्कार पाए । पछिल्लो समयमा पीसीआर विभिन्न वैज्ञानिक विधाका अनुसन्धानहरूमा प्रयोग गरिन्छ । कोभिड–१९ लागे–नलागेको पत्ता लगाउन संसारभर उक्त विधिको सर्वाधिक प्रयोग भयो । र, सर्वसाधारणको मुखमै झुन्डियो— पीसीआर टेस्ट ।

उत्सुकताले डोर्‍याउने अनुसन्धान

आफ्नो आत्मकथा ‘डान्सिङ नेकेड इन द माइन्ड फिल्ड’ मा केरी म्युलिसले डीएनए अनुसन्धानप्रतिको आफ्नो लगावका बारेमा लेखेका छन्, ‘संसारमा कैयौं बच्चाहरू आनुवंशिक त्रुटि बोकेर जन्मेका हुन्छन्, जसका कारण उनीहरू विकलांग हुने मात्रै होइन, मर्ने पनि गरेका छन् । डीएनएलाई पढ्न सकियो भने त्यस्ता आनुवंशिक त्रुटिहरूको अनुमान गर्न र तिनलाई रोक्न सकिन्छ ।’ जीवनको आधारभूत तत्त्व डीएनएनको संरचना बुझ्ने उत्सुकताले डोरिएका केरीले पीसीआर विधि भेटे, जसको प्रयोग हाल अपराध–अनुसन्धानदेखि औषधि निर्माणसम्म, कृषिको विकासदेखि उद्विकास खोजसम्म गरिन्छ ।

जीवन र जगत्को रहस्यलाई बुझ्ने उत्सुकताले डोर्‍याउने यस्ता वैज्ञानिक अनुसन्धानहरूलाई आधारभूत अनुसन्धान (बेसिक रिसर्च) भनिन्छ । परिवेश अनुसार, यसलाई उत्सुकता–अभिप्रेरित अनुसन्धान, ब्लुस्काई रिसर्च, विशुद्घ विज्ञान (पियोर साइन्स), आधारभूत विज्ञान आदि भनिन्छ । यसले जीवन र जगत्को जटिलता पहिल्याउने क्रममा नवीन ज्ञानको उत्पादन गर्छ । उपलब्ध ज्ञानमा विद्यमान रिक्तताबाट यस्ता अनुसन्धानहरूको सुरुआत हुने गर्छ । यस्ता अनुसन्धानहरूबाट उत्पादित ज्ञानहरूले समाजका तत्कालीन समस्याहरूलाई हल गर्न सक्ने वस्तु वा सेवाको उत्पादन गर्दैनन् अपितु थप प्रश्न खडा गर्छन् वा विधागत ज्ञानका क्षेत्रमा आमूल परिवर्तन गरिदिन्छन् । जस्तै— जीवको उत्पत्ति सम्बन्धी अनुसन्धान सृष्टिमाथिको ईश्वरीय देनको पुरानो मान्यतालाई भत्काएर नयाँ मान्यता स्थापित गर्न सफल भयो ।

जीवन र जगत्लाई बुझ्नेबाहेक यथास्थितिलाई बदल्ने अभिप्रायले पनि वैज्ञानिक अनुसन्धान गरिन्छ । समाजका समस्या र चुनौतीहरूको हल खोज्ने उद्देश्यले गरिने अनुसन्धानलाई व्यावहारिक अनुसन्धान (एप्लाइड रिसर्च) भनिन्छ । उदाहरणका लागि, कोरोना भाइरसको बनोट कस्तो हुन्छ; भ्याक्सिनले मानव शरीरमा कसरी काम गर्छजस्ता प्रश्नहरूबाट थालिने अनुसन्धान आधारभूत अनुसन्धान हो भने विभिन्न विधिबाट भ्याक्सिनको निर्माण गरिने अनुसन्धान व्यावहारिक अनुसन्धान । सरसर्ती हेर्दा बुझ्नुभन्दा बदल्नु महत्त्वपूर्ण लागे पनि कुनै कुरालाई बदल्न त्यसलाई बुझ्न जरुरी हुन्छ ।

कोरोना भाइरसको बनोट र त्यसले मानव शरीरका कोषसँग गर्ने अन्तरक्रियाका बारेमा थाहा नभएको भए यति छोटो समयमा कोभिडको भ्याक्सिन बनाउन असम्भव थियो । त्यसकारण बुझ्नु र बदल्नु अन्तरसम्बन्धित हुन् ।

छायामा आधारभूत विज्ञान

व्यावहारिक अनुसन्धानले उत्पादन गर्ने वस्तु वा सेवा शून्यबाट पलाउँदैन वा त्यसै आकाशबाट खस्दैन । आधारभूत अनुसन्धानले दशकौंदेखि उत्पादन गरेका ज्ञानको गठजोडबाट मात्रै व्यावहारिक विज्ञानले कुनै वस्तुको सफल उत्पादन गर्न सक्छ । उदाहरणका लागि, औद्योगिक क्रान्तिपछिकै सबैभन्दा सफल उपभोग्य वस्तुमा गनिने आईफोन २००७ जनवरी ९ मा एक समारोहबीच स्टिभ जब्सको खल्तीबाट फुत्त निस्कियो । आईफोनको उत्पादनले संसारभर चर्चा र प्रशंसा मात्रै कमाएन, त्यसले एप्पललाई विश्वकै नम्बर एक कम्पनी बनायो । तर आईफोन बनाउन प्रयोग गरिएका टचस्क्रिन, लिथियम ब्याट्री, इन्टरनेट, जीपीएस, सिरी लगायतका उपकरणहरू दशकौंदेखि विभिन्न विश्वविद्यालय र सरकारी अनुसन्धान संस्थाले गरेका अनुसन्धानका नतिजाहरूमा टेकेर बनेका थिए । टचस्क्रिनको आविष्कारका बारेमा एरिक जोन्सनले सन् १९६५ मा ‘इलेक्ट्रोनिक्स लेटर्स’ जर्नलमा लेख छपाएका थिए । इन्टरनेटको सुरुआत टिम वर्नर लीको नेतृत्वमा भएको थियो, जसका पछाडि सन् १९६० मा प्रतिपादित आधारभूत गणितमा आधारित प्याकेट स्विचिङ सिद्घान्तको हात थियो । त्यसै गरी लिथियम ब्याट्रीको आविष्कारको सुरुआत एक्जोन मोबाइल कम्पनीको प्रयोगशालामा भएको थियो ।

त्यसैले आईफोनमा प्रयोग गरिने टचस्क्रिन, लिथियम ब्याट्री, इन्टरनेट मात्र होइन; जीपीएसदेखि माइक्रोप्रोसेसर, माइक्रो हार्डड्राइभ र सिरीसम्मको उत्पादनमा आधारभूत विज्ञानको अभिन्न र महत्त्वपूर्ण हात छ । ‘साइन्टिफिक अमेरिकन’ मा प्रकाशित एउटा लेख अनुसार, एप्पलले आईफोनको पहिलो पेटेन्ट दर्ता गर्दा त्यसमा संलग्न फिचरहरूसँग अन्तरसम्बन्धित वैज्ञानिक लेखहरूको सञ्जाल केलाउने हो भने त्यो संख्या ४ लाख कट्छ । तर ती लेख आईफोनको चमकधमकमा कतै देखिएनन्, न त आईफोन चलाउने अधिकांशलाई तिनका बारेमा जानकारी नै छ । आईफोन मात्रै होइन, कोभिडकालमा पनि कोभिड भ्याक्सिन बनाउनेहरूलाई मात्र मानिसले हिरो ठाने; भाइरसको जिनोम सिक्वेन्स गर्नेहरू छायामा परे । त्यसकारण चमकधमक नहुने, चर्चा पनि नपाइने र आर्थिक फाइदा पनि त्यति नहुने आधारभूत अनुसन्धानप्रति विश्वभर रुचि कम हुँदै गएको पाइन्छ । त्यस्ता अनुसन्धानका लागि छुट्याइने बजेट पनि निरन्तर घट्दो छ । अनुसन्धान सहायता गर्ने संस्थाहरूले पनि आधारभूतभन्दा प्रयोगात्मक अनुसन्धानमा नै जोड दिएको पाइन्छ, जसका कारण आधारभूत अनुसन्धानको महत्त्व घट्दै गएको मात्रै होइन, समग्र विज्ञानको विहंगमता पनि साँघुरिएको छ ।

आधारभूत विज्ञानको महत्त्व

मानिस जन्मजात जिज्ञासु स्वभावको प्राणी हो । त्यही स्वभावका कारण मानिसले जन्मेदेखि मृत्युसम्म अनेकौं क्षमता, दक्षता, ज्ञान र सीप हासिल गर्छ । जबकि मानिसजस्तै अन्य स्तनधारी जनावरहरूले जन्मँदा हासिल गरेका दौडने, खाने, भाग्ने, बोल्नेबाहेक अन्य गुण मर्ने बेलासम्म पनि सिकेका हुँदैनन् । जिज्ञासु स्वभावकै कारण मानव प्रजातिले अभिनव (इनोभेसन) गर्न सक्यो र उद्विकासको छोटो समयमै सिंगो पृथ्वीकै सबैभन्दा प्रभावशाली प्रजाति बन्न सफल भयो । त्यसकारण उत्सुकताले डोर्‍याउने अनुसन्धान आविष्कारको जननी हो । नयाँ पुस्ताहरूमा मानवनिहित उत्सुक स्वभावलाई बचाइराख्न, नयाँनयाँ खोज र ज्ञान उत्पादन गर्न आधारभूत अनुसन्धान आवश्यक छ ।

दोस्रो, समाजको समस्या हल गर्न गरिने व्यावहारिक अनुसन्धानको आधारशिला आधारभूत अनुसन्धान भएकाले व्यावहारिक अनुसन्धानलाई सघाउन र अघि बढाउन पनि आधारभूत अनुसन्धानको निरन्तरता चाहिन्छ ।

तेस्रो, हामीले जीवन र जगत्को रहस्यलाई बुझ्न अझै धेरै बाँकी छ । मानिसले अहिलेसम्म उत्पादन गरेका ज्ञानहरू प्रकृति र जीवनको जटिलताको सामु छिपछिपे मात्रै छन् । हामीसँग उपलब्ध कतिपय विधि, उपकरण र पद्घति त्यसका लागि अपर्याप्त छन् । मानव सभ्यतालाई थप उचाइमा पुर्‍याउन चाहिने नवीन ज्ञानको उत्पादनका लागि पनि आधारभूत अनुसन्धान जरुरी छ ।

आधारभूत अनुसन्धानको यही महत्त्वलाई बुझेर नै राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् २०२२ लाई ‘दिगो विकासका लागि आधारभूत विज्ञान वर्ष’ का रूपमा मनाउने घोषणा गरेको थियो, जसलाई राष्ट्रसंघको साधारणसभाले समेत अनुमोदन गरेको थियो । युनेस्कोले २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म संसारभर आधारभूत विज्ञानसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर आधारभूत विज्ञान वर्ष मनाउन विज्ञानसँग सम्बन्धित निजी सार्वजनिक संघसंस्था सबैलाई आह्वान गरेको छ । उक्त घोषणा र अनुमोदनबाट संसारका राष्ट्रहरूले सन् २०३० सम्म पूरा गर्ने भनेर राखेका दिगो विकासका १७ लक्ष्य हासिल गर्नका लागि आधारभूत विज्ञानको महत्त्व झल्कन्छ । नयाँ ज्ञान र प्रविधिको उपयोगबिना चरम गरिबी र भोकमरी उन्मूलन; शिशु मृत्युदरको न्यूनीकरण; रोग नियन्त्रण; खानेपानी, सरसफाइ र ऊर्जाको सुनिश्चितता; वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावको सामनाजस्ता दिगो विकासका लक्ष्यहरू हासिल गर्न सकिन्न । त्यसैले त्यस्ता लक्ष्यप्राप्तिका लागि पनि आधारभूत वैज्ञानिक अनुसन्धानमा जोड दिन जरुरी छ ।

थुप्रै सामाजिक समस्या एवं सीमित स्रोत र साधन भएको हाम्रो जस्तो देशमा तत्कालै फाइदा हुने खालको नतिजा नदेखिने आधारभूत अनुसन्धानमा लगानी गर्नु भनेको महँगो र जोखिमयुक्त काम हो । तर पनि व्यावहारिक विज्ञानको उपलब्धि हासिल गर्न, नयाँ पुस्तामा विज्ञानप्रति उत्सुकता जगाइराख्न, भविष्यका लागि चाहिने ज्ञानको उत्पादन गर्न पनि आधारभूत विज्ञानमा सकेको लगानी गर्न जरुरी छ, जुन कुरा यहाँका राजनीतिक नेतृत्व, नीतिनिर्माता र वैज्ञानिक संस्थाका नेतृत्वहरूले बुझेको देखिँदैन । उनीहरू सबैको ध्येय आफ्नै पालामा सबैको ध्यान खिच्ने आकर्षक कामहरू गर्नमै छ । त्यसकारण केही हजार रुपैयाँका वैज्ञानिक अनुसन्धानहरूको प्रस्ताव माग्दा पनि ‘समाजलाई फाइदा हुने,’ ‘नीतिनिर्माणमा उपयोगी हुने’ जस्ता अनेक पदावली झुन्ड्याइएका पाइन्छन् ।

संसारभरका वैज्ञानिक एकेडेमीहरू आधारभूत विज्ञानको अनुसन्धान र प्रवर्द्धनमा विश्वविद्यालय लगायतका अनुसन्धान संस्थाहरूसँग मिलेर काम गरिरहेका हुन्छन् तर नेपालको विज्ञान तथा प्रविधि एकेडेमी नास्ट एकल रोबोट उत्पादन, इ–स्कुटरको प्रदर्शनी, विज्ञान सहरको परिकल्पना, जडीबुटी खेतीजस्ता पपुलिस्ट कुराहरू गरिरहेको हुन्छ । विज्ञान नबुझेका वा गैरवैज्ञानिक क्षेत्रका व्यक्ति वा संस्थाहरूबाट हुने–गरिने यस्ता कुराहरू स्वाभाविक लागे पनि विज्ञानको विकासका लागि जन्मिएका र राज्यको ठूलो स्रोत खर्च गरिरहेका संस्थाहरूबाट आधारभूत विज्ञानप्रतिको यो बेवास्ता उदेकलाग्दो छ । विश्वभर आधारभूत विज्ञान वर्ष मनाइरहँदा नेपालमा पनि यसको महत्त्वका बारेमा सबैले सोचून् ।

प्रकाशित : माघ २६, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय अर्थतन्त्र र बजेटको बाछिटा

भारतीय मन्दीको असरबाट कसरी जोगिने, हामीले आफ्नै उत्पादन कसरी बढाउने र मुलुकविशेषसँग मात्र निर्भर नहुन व्यापारको विविधीकरण कसरी गर्ने भनेर मनन गर्न जरुरी छ । के नेपाली शासक मण्डली मोदी अर्थतन्त्रको असफलताबाट केही पाठ सिक्न तयार छ ?
हरि रोका

हामी भारतका छिमेकी मात्र होइनौं, सँधियार पनि हौं । त्यहाँको प्रगति मात्र होइन, कठिनाइबाट पनि हामी प्रताडित हुन्छौं । नेपालले १४१ देशसँग व्यापार गर्छ र ११३ मुलुकसँग व्यापारघाटा बेहोर्छ । भारत हाम्रो सबैभन्दा ठूलो व्यापार साझेदार हो ।

ताजा तथ्यांक अनुसार, आर्थिक वर्ष सन् २०२२–२३ का पहिला ६ महिना (मध्यजुलाईदेखि मध्यजनवरीसम्म) मा नेपालले वस्तु तथा सेवा ५७.८४ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ भने ४८६.३३ अर्बको भारतबाट आयात गरेको छ र ४२८.३३ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, रासायनिक मल, चिनी, औषधि, स्पेयर्स पार्ट, गाडी, स्टिल तथा फलाम, लत्ता–कपडा मुख्य आयातित वस्तु हुन् । अर्को छिमेकी चीनसँग हामीले औसत १५–१६ प्रतिशत हाराहारी मात्र व्यापार साझेदारी गर्छौं । निर्यात नगण्य छ र व्यापारघाटा ठूलो छ ।

भारतसँग अत्यावश्यक ठानिएका वस्तुमध्ये पेट्रोलियम पदार्थ, खाद्यान्न, रासायनिक मल तथा औषधिमा बढी नै निर्भर हुँदै आएका छौं । त्यसैले भारतीय अर्थतन्त्रमा आउने उतार–चढावले हाम्रो राष्ट्रिय जीवनमा असाध्य ठूलो प्रभाव पार्छ । भारतीय बजेटमा करका दरहरू, लगानी प्रबन्धन, मौद्रिक नीतिमा हुने साना–ठूला फेरबदलबाट नेपाली दैनिकी तथा आर्थिक प्रर्णालीमै असर पर्छर् । यस अर्थमा भारतीय अर्थतन्त्रमा प्रस्तुत गरिने नीतिगत उतार–चढाव र बजेटलाई हेर्न र केलाउन आवश्यक हुन्छ । मार्चमा सुरु हुने नयाँ आर्थिक वर्षका लागि भारतमा फेब्रुअरी १ मा संघीय बजेट प्रस्तुत गर्ने गरिन्छ । यस पटक अर्थमन्त्री निर्मला सीतारमणले मोदी कार्यकालको नवौं बजेट प्रस्तुत गरेकी छन् । दोस्रो कार्यकालको शृङ्खलाबद्ध बजेट प्रस्तुतिको यही अन्तिम पूर्ण बजेट भएकाले तेस्रो कार्यकालका लागि भाजपा सरकार आर्थिक नीतिगत हिसाबले कसरी अघि बढ्छ, खास गरी बदलिँदो विश्वपरिस्थितिमा, भनेर हेरिएको थियो । नेपाली सन्दर्भमा भारतले अपनाउने आर्थिक नीति तथा बजेटले गहिरो प्रभाव पार्ने हुनाले यो आलेखमा भारतीय अर्थतन्त्रले पक्रेको मूल दिशा र खास क्षेत्रमा गरिएको बजेट विनियोजनबारे विश्लेषणको प्रयत्न गरिएको छ ।

भारतीय अर्थतन्त्रका चुनौती

प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकाल सुरु भएपछि आर्थिक वर्ष सन् २०१९–२० मै भारतीय अर्थतन्त्रलाई सन् २०२४ सम्ममा ५ खर्ब अमेरिकी डलरको बनाउने घोषणा गरेका थिए । केही समयपछि लन्डनमा आधारित सेन्टर फर इकोनोमिक एन्ड बिजिनेस रिसर्चले भारत सन् २०३७ मा १० खर्ब अमेरिकी डलर बराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सहित तेस्रो आर्थिक शक्ति बन्ने भविष्यवाणी गरिदियो । तर सन् २०१९–२० कै अन्तिम त्रैमासमा भारतीय आर्थिक वृद्धि, खास गरी म्यानुफ्याक्चरिङ सेक्टरको उत्पादनमा भारी गिरावट आयो, जुन अझै पुरानो हैसियतमा फर्किन सकेको छैन ।

बजेट प्रस्तुत गर्नु अघिल्लो दिन संघीय सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने गर्छ । यस पटक पनि प्रस्तुत गरियो । तर अर्थशास्त्री अरविन्द सुब्रमण्यनले सल्लाहकारका हैसियतमा प्रचलनमा ल्याएको आर्थिक सर्वेक्षण, जो यथार्थमै मुलुकको वार्षिक मूल्यांकन हुने गर्थ्यो, यस पटक फेरिएको गुनासो सुनियो । आर्थिक परिदृश्यहरू कसरी फेरिए, गत आर्थिक वर्षमा घोषणा गरिए अनुसार आर्थिक वृद्धि अवरुद्ध हुनुका कारणहरू के हुन्, भएकै रोजगारी किन गुमाउनुपर्‍यो, आर्थिक वृद्धिको अनुपातमा रोजगारीमा वृद्धि किन हुन सकेन भन्नेजस्ता तथ्यहरूको व्याख्या यस पटक उल्लेख गरिएन (‘थ्री रिजन ह्वाई दिस इयर्स इकोनोमिक सर्भे इज अ पोलिटिकल डकुमेन्ट,’ द वायर, ३१ जनवरी २०२३) । प्रस्तुत सर्वेक्षणले कोभिडअघिको संरचनात्मक कमजोरीलाई लुकाउँदै एकैचोटि कोभिड विस्तारका कारण लकडाउन गर्नुपरेको; तत्कालै मुद्रास्फीति उच्च हुन पुगेको; विश्वव्यापी रूपमा उपभोग्य सामग्रीको दाम बढेकाले वित्तीय व्यवस्थापनमा कडाइ गर्नुपरेको अनि बैंकिङ, गैरबैंकिङ, गैरवित्तीय कर्पोरेट सेक्टरको उत्पादन सन्तुलनसमेत प्रभावित भएको जनाएर सैद्धान्तिक तथा कार्यक्रमिक कमजोरीको भित्री यथार्थचाहिँ लुकाएको आरोप लागेको छ (टेलिग्राफ इन्डिया एडिटोरिएल, १ जनवरी २०२३) ।

मोदी कार्यकालमा गरिएको नोटबन्दीको असर अर्थतन्त्रमा के पर्‍यो; आत्मनिर्भर अर्थतन्त्रका नाममा जारी गरिएको ‘मेक इन इन्डिया’ नीतिलाई सकारात्मक दिशा दिन वस्तु तथा सेवा कर (जीएसटी), सरकारी निगमहरूमाथिको अलगानी (डाइभेस्टमेन्ट), संस्थानहरूको निजीकरण, कर प्रणालीका नाममा धनाढ्यहरूलाई कर छुटको व्यवस्था आदि संरचनागत फेरबदलले अर्थतन्त्रको समष्टिमा के सकारात्मक वा नकारात्मक प्रभाव छोडे भन्ने व्याख्या सर्वेक्षणमा छैन । गत वर्ष बजेट भाषणका क्रममा अर्थमन्त्री निर्मला सीतारमणले चालु आर्थिक वर्षमा वृद्धिदर ९.२ प्रतिशतले हुने एवं धनाढ्य र ठूला अर्थतन्त्र भएका मुलुकहरूमध्ये सबैभन्दा उच्च हुने घोषणा गरेकी थिइन्, तर रिजर्भ बैंक अफ इन्डियाले डिसेम्बर २०२२ मा जनाए अनुसार त्यो ६.८ प्रतिशत रह्यो । यसको दोषचाहिँ उही कोभिड महामारी र रुस–युक्रेन युद्धमाथि थोपरियो ।

अशोका विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर पुलाप्रे बालकृष्णन लेख्छन्, ‘अहिलेको साढे ३ खर्ब डलरको जीडीपीलाई तीन गुणाभन्दा माथि पुर्‍याउन सबैभन्दा पहिले त बढ्दो युवा जमातलाई रोजगारीको मौका उपलब्ध गराउनुपर्छ । त्यसै गरी सहज जीवनयापनका लागि सामाजिक र भौतिक पूर्वाधारहरूको उपलब्धता आवश्यक पर्छ । चुलिँदो आर्थिक असमानता हटाउनुपर्ने र वातावरणीय असुरक्षालाई सम्बोधन गर्नुपर्ने हुन्छ । श्रमशक्तिको ठूलो हिस्सालाई कृषिमा शारीरिक श्रममा जोत्दा न उत्पादन बढ्छ न त वस्तु तथा सेवाको माग । अदक्ष र अर्धदक्ष कामदार उत्पादन गर्ने शिक्षाले न निर्यात बढ्छ न घरेलु उपभोग, न राष्ट्रिय ढुकुटी । तर जहाँ लगानी बढाउँदा आर्थिक वृद्धि हुने हो, त्यहाँ खर्च नगरिएपछि कसरी उद्देश्य पूरा हुन्छ ?’ (‘एभर्टिङ अ टेन–ट्रिलियन डलर डाएस्टोपिया’, द वायर, ३१ जनवरी २०२३)

बजेटको विश्वसनीयता

कुनै पनि सरकारले वार्षिक बजेट तय गरिरहँदा विगतको बजेट र त्यसका उद्देश्यहरू पूरा भए कि भएनन् भनेर लेखाजोखा गर्ने गर्छ । त्यसका लागि कसैले त्रैमासिक, कसैले चौमासिक त कसैले अर्धवार्षिक समीक्षा गर्छन् । अन्तमा सम्पूर्ण लेखाजोखाको फेहरिस्तका रूपमा वार्षिक सर्वेक्षण प्रकाशित गरिन्छ । त्यही तथ्यांकमा टेकेर आगामी वर्षका लागि आर्थिक वृद्धिदर तथा राजस्व उठ्ने अनुमान गरिन्छ । मोदीको दोस्रो कार्यकालको सुरुआत सन् २०१९–२० मा अर्थमन्त्रीले आर्थिक वृद्धिदर १२ प्रतिशत हुने तर मुद्रास्फीति ४ प्रतिशत रहने हुँदा त्यो ८ प्रतिशतमा सीमित हुने भने पनि अन्तमा ३.७ प्रतिशतमा आएर थिग्रियो । सन् २०२०–२१ मा ‘माइनस ग्रोथ’ मा जानु अस्वाभाविक थिएन । आर्थिक वर्ष २०२१–२२ मा ९.५ प्रतिशतको वृद्धि अनुमान गरिएकामा ७.५ प्रतिशत, २०२२–२३ मा त झन् जम्मा ६.८ प्रतिशत रह्यो । यद्यपि यही तथ्यांक पनि यथार्थपरक नरहेको बताउँछन् भारतीय अर्थशास्त्रीहरू (उदित मिश्र, ‘हाउ टु इभ्यालुएट युनियन बजेट’, इन्डियन एक्सप्रेस, ३० जनवरी २०२३) ।

भारतीय अर्थतन्त्रको अर्को समस्या भनेको वित्तीय घाटासँगै राजस्व घाटा बढ्नु हो । वित्तीय घाटाको अर्थ हो— सरकारले बजारबाट पैसा उठाएर खर्च गर्नु । बढी पैसा उठाउने हो भने बजार सरकारसँग रिसाउन थाल्छ । यो उपाय केही महिनाअघि बेलायतमा लिज ट्रसका अर्थमन्त्री कवासी क्वार्तेङले मिनी बजेट बनाउँदा अनुसरण गर्न खोजेका थिए । यस्तो कामले वित्तीय संकट निम्त्याउँछ भनिन्छ । तर भारतमा वित्तीय घाटासँगै राजस्व घाटा पनि बढ्दो छ । यसको अर्थ त्यहाँ सरकारको प्रत्येक दिनको खर्च (तलब, भत्ता, पेन्सन आदि) र हरेक दिनको आय आर्जन (कर, गैरकर राजस्व) बीचको खाडल बढ्दो छ । भारतको फिस्कल रेस्पोन्सिबिलिटी एन्ड बजेट म्यानेजमेन्ट (एफआरबीएम) ले राजस्व घाटा शून्य प्रतिशत हुनुपर्छ भनेकामा गएको आर्थिक वर्षमा जीडीपीको ३ प्रतिशत पुगेको छ भने वित्तीय घाटा ५.९ प्रतिशत ।

सन् २०२२ को एउटा तथ्यांक अनुसार, त्यो वर्ष बेरोजगारी दर अघिल्लो सालका तुलनामा ८.३ प्रतिशतले बढ्यो । कुल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) र जीडीपीको अनुपात सन् २०१३–१४ मा भन्दा झन्डै २ प्रतिशतले घटेर ३१.३ प्रतिशतमा झरेको छ । आम रूपमा एक सय दिन रोजगारी दिन भनेर थालिएको महात्मा गान्धी रोजगार योजना आर्थिक वर्ष २०२२–२३ मा ८९ खर्ब भारुबाट ६० खर्बमा झारिएको छ । नेसनल फुड सेक्युरिटी एक्ट अनुसार खाद्य सुरक्षामा दिइँदै आएको राहत सुविधा २१५ खर्बबाट १३५ खर्ब भारुमा झारिएको छ, जबकि ग्लोबल हंगर इन्डेक्समा १२१ देशहरूमध्ये भारतको स्थान १०७ औं छ । अघिल्लो वर्षका तुलनामा शिक्षामा १० खर्ब, आवास निर्माणमा २० खर्ब भारु यो वर्ष कटौतीमा परेको छ । बाह्य तथा आन्तरिक ऋण बढेकाले अघिल्लो वर्षका तुलनामा तिर्नुपर्ने ऋणको ब्याज पनि १५ प्रतिशतले बढेको छ । रासायनिक मलमा दिइँदै गरेको सहुलियतमा यो वर्ष ५० खर्ब भारु कटौती गरिएको छ । त्यति मात्र होइन, १४ औं वित्त आयोगले कर राजस्वको ४२ प्रतिशत हिस्सा राज्यलाई दिनुपर्ने भन्दाभन्दै संघीय सरकारले कटौती गरेको छ । जस्तो— त्यो हिस्सा सन् २०१९–२० मा ३६.६ प्रतिशत र २०२१–२२ मा ३३.२ प्रतिशत थियो भने चालु वर्षमा ३१.२ प्रतिशत र आगामी वर्षका लागि ३०.४ प्रतिशत छ (जयती घोष, ‘टाइटनिङ द स्क्र्यु,’ द टेलिग्राफ, २ फेब्रुअरी २०२३) ।

गिरोह पुँजीवादले निम्त्याएको असमानता र अस्थिरता

राहत र सहुलियतहरूमा कटौती (एक प्रकारको अस्टेरिटी प्याकेज), रोजगारी कटौतीले गर्दा आम भारतीयलाई जीवन धान्न चर्को पर्ने निश्चित छ । बढ्दो राजस्व घाटा, उच्चस्तरको वित्तीय घाटा तथा सार्वभौम ऋणको उच्च वृद्धि हेर्दा भारतले निकै लामो समयदेखि मन्दी बेहोर्दै आएको र आर्थिक वर्ष सन् २०२३–२४ मा अझ ठूलो झट्का झेल्नुपर्ने देखिन्छ । त्यसो त १२ अक्टोबर २०२२ मा सम्राट् शर्माले इन्डिया टुडेमा सन् २०२३ मा ७.८ प्रतिशतले उत्पादन कम हुने भविष्यवाणी नै गरेका थिए ।

संघमा भाजपा सरकार बनेयता मोदीको निर्देशनमा अख्तियार गरिएको आर्थिक नीतिलाई अक्सर ‘गुजरात मोडल’ भन्ने गरिएको छ । ‘ठूला व्यापारिक घरानाहरूसँग राजनीतिज्ञको लगनगाँठो कसेर दीर्घकालीन नाफा आर्जन गर्ने गुरुत्तर योजना’ नै यो मोडलको खास कडी थियो र हो । अर्थात्, राज्य र पुँजीपतिहरूबीचको गठजोडमा व्यापारिक पुँजीगत खर्च बढाउने र सानो क्षेत्रलाई लाभ पुर्‍याउनु । थोरै व्यापारिक घरानियाले आफ्नो व्यापार वा कारोबारमा राज्य सञ्चालक वर्गसँग मिलेमतो गर्ने गर्छन् । अर्थात्, यो मिलेमतो प्रधानमन्त्रीबाटै सुरु हुन्छ र ‘क्रोनिज’ हुँदै तलसम्मै जोडिन्छ (जयरस बानाजी, ‘इन्डियन बिग बिजिनेस ः द इभोल्युसन अफ इन्डियाज कर्पोरेट सेक्टर फ्रम २००० टु २०२०,’ फेनोमेनल वर्ल्ड, २० डिसेम्बर २०२२) । यो मोडलको विचारधारात्मक अर्थशास्त्र अमेरिकी अर्थशास्त्री आर्थर लाफरको ‘धनाढ्यहरूको आर्जनमाथि कम कर लगाउने’ विचारबाट प्रेरित र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको रेगनोमिक्समा प्रस्ताव गरिएको ‘ट्रिकल डाउन इकोनोमिक पोलिसी’ को आडमा विस्तार भएको हो ।

भारतमा सन् १९९७ मा पहिलो पटक तत्कालीन अर्थमन्त्री पी. चिदम्बरमले धनीहरूमाथिको कर कम गरेका थिए । सन् २०१८ मा प्रकाशित वर्ल्ड इनइक्वलिटी रिपोर्ट अनुसार, भारतीय जनसंख्याको तल्लो वर्गमा पर्ने ५० प्रतिशतले सन् १९९१ मा राष्ट्रिय आयको सरदर २१ प्रतिशत हिस्सा ओगट्थ्यो भने २०१५ मा त्यो १५ प्रतिशतमा झरेको थियो । यो हिसाब अर्थशास्त्री लुकास च्यान्सल र थोमस पिकेटीले विकास गरेको व्याख्याका आधारमा गरिएको हो । सन् २०२२ मा प्रकाशित अर्को वर्ल्ड इनइक्वलिटी रिपोर्ट अनुसार तल्लो वर्गमा रहेको ५० प्रतिशत जनसंख्याको त्यस्तो हिस्सा कुल आय आर्जनको १३.१ प्रतिशतमा झरेको छ (सत्य नारायण मिश्र, ‘अहेड अफ द बजेट...,’ स्क्रोल डट इन, १ फेब्रुअरी २०२३) । अक्सफाम इन्डियाको ‘सर्भाइभल अफ द रिचेस्ट ः द इन्डियन स्टोरी’ शीर्षक रिपोर्ट (१६ जनवरी २०२३) अनुसार सय भारतीय धनाढ्यसँग ६६० अर्ब अमेरिकी डलर (५४.१२ लाख करोड भारु) थुप्रिएको छ, जसले भारतीय अर्थतन्त्रलाई १८ महिना धान्न सक्छ । सन् २०२० देखि २०२२ कै दुई वर्षमा भारतीय अर्बपतिको संख्या १०२ बाट १६८ पुगेको छ । उनीहरूले सरदर ३,६०८ भारु करोड प्रतिदिन कमाएका छन् ।

हाल विश्वका तेस्रो धनीबाट ओरालो लागेका गौतम अडानीबारे उपसला विश्वविद्यालयका प्रोफेसर अशोक शैन एसिया टाइम्स (२ फेब्रुअरी २०२३) मा भन्छन्, ‘२०१३ को सेप्टेम्बरमा मोदी प्रधानमन्त्रीको उम्मेदवार हुनुभन्दा पहिले गौतम अडानीको सम्पत्ति जम्मा १.९ अर्ब डलर थियो । अगस्ट २०२२ मा आइपुग्दा अडानी २३० अर्ब डलरको मालिक हुन पुगे । कोभिडका दुई वर्षमा करोडौं भारतीय दरिद्रताको रेखामुनि पुग्दै गर्दा अडानीले भने १३७ अर्ब डलर कमाएका थिए ।’ भारतीय अर्थशास्त्री रूपा सुब्रमण्यको भनाइ सापट लिने हो भने, मोदीले नवउदारवादी पुँजीवादमा आधारित गुजरात मोडलभित्र राष्ट्रव्यापी रूपमा ‘ग्याङस्टर पुँजीवादीहरू’ लाई पालनपोषण गरे र हुर्काए (‘मोदी रिस्क्स टर्निङ इन्डिया इनटु अ नेसन अफ ग्याङस्टर क्यापिटालिस्ट्स,’ निक्की एसिया, ५ फेब्रुअरी २०२१) र तिनको पतन हाल सालै सुरु भएको छ । यही वर्षको जनवरी १४ मा हाइडेनबर्ग रिसर्चको प्रतिवेदन सार्वजनिक भएपछि अडानीको ग्रुपको पतन सुरु भएको छ । ४ फेब्रुअरी २०२३ को इन्डिया टुडेको रिपोर्ट अनुसार, अडानी ग्रुप अफ कम्पनिजले ३० प्रतिशत मूल्य फेब्रुअरी ४ मा मात्रै गुमायो र कुल नोक्सानी ११५ अर्ब डलर हुन पुग्यो । यसले सरकारी स्वामित्वका स्टेट बैंक अफ इन्डिया (एसबीआई) तथा लाइफ इन्सुरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) लाई पनि ७८ हजार करोड भारु नोक्सान पुर्‍याएको छ (टाइम्स अफ इन्डिया, २८ जनवरी २०२३) । अडानी कम्पनी आफैं मात्र डुबिरहेको छैन, यस्ले धेरैलाई डुबाउने र समग्र भारतीय अर्थतन्त्रलाई थप मन्दीतर्फ धकेल्न सघाउने निश्चितजस्तै देखिएको छ ।

भारत डरलाग्दो मन्दीबाट गुज्रिनुको अर्थ नेपाली अर्थतन्त्र स्वतः प्रभावित हुनु हो । तत्कालका लागि त्यहाँ महँगी बढ्नु वा त्यहाँको जीवनपद्धतिमा कठिनाइ हुनुको पीडा हामीले पनि बेहोर्नुपर्ने हुन्छ । खास गरी खनिज तेल, रासायनिक मल र खाद्यान्नमा हुने जुनसुकै अनुपातको वृद्धिलाई हामीले झेल्नुपर्ने हुन्छ । किनकि हामी यी तीन पक्षमा भारतसँग पूर्णतः निर्भर भइरहेका छौं । यी तीन कुराको भारी अरू आयातित वस्तुहरूभन्दा खर्बौं रुपैयाँले बढी छ । ती अत्यावश्यक सामग्री पनि हुन् । त्यसैले भारतीय बजेटमा नेपालका लागि २–४ अर्ब भारु नगद छुट्याइयो कि छुट्याइएन भनेर पिरोलिनुको तुक देखिन्न । भारतीय मन्दीको असरबाट कसरी जोगिने, हामीले आफ्नै उत्पादन कसरी बढाउने र मुलुकविशेषसँग मात्र निर्भर नहुन व्यापारको विविधीकरण कसरी गर्ने भनेर मनन गर्न जरुरी छ । के नेपाली शासक मण्डली मोदी अर्थतन्त्रको असफलताबाट केही पाठ सिक्न तयार छ ?

प्रकाशित : माघ २६, २०७९ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×