कहाँ छ सरकार ?- विचार - कान्तिपुर समाचार

कहाँ छ सरकार ?

न्याय माग्ने र न्यायका लागि सरकार खोज्नेजस्तो ठूलो अपराध गर्दै आएका रुबी खानहरूको वर्षौंवर्ष लामो आन्दोलनले देखाएको छ— आम मान्छेहरूका ज्यान, उनीहरूका सम्पत्ति, उनीहरूका स्वास्थ्य, शिक्षा र सपनामाथि पनि राजनीतिक भूमाफियाहरूको प्रभुत्व र वर्चस्व बढ्दो छ ।
राजेन्द्र महर्जन

जहिलेसम्म ऊ भुइँमा थियो
कुर्सी खराब थियो
जबदेखि ऊ कुर्सीमा बस्न पुग्यो 
भुइँ खराब भयो !
– गोरख पाण्डेय/कुर्सीनामा

तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भुइँमा बसेर गएको धेरै समय भएको छैन । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कृपावश संसद् विघटन भएपछि दाहाल ‘फिब्व ख्यः’ (माइतीघर मण्डला) को भुइँमा बस्न पुगेका थिए । ओलीले करिब दुईतिहाइ बहुमतको सरकारको उत्तरार्द्धका प्रमुख बनाउनुको सट्टा कुर्सी नै भाँचिदिएपछि दाहाल सडकमा पुगेका थिए, प्रतिगमनविरुद्ध आन्दोलनका नाममा । त्यही बेला विघटित संसद्का सदस्य र विभाजित नेकपाका नेताहरूसँगै उनले सडकबाटै सबै कुर्सीधारीलाई आफ्नो नाम, थर र पदसमेत छातीमा टाँसेर देखाएका थिए, ‘हामी यहाँ छौं !’

सडकबाट सत्तामा पुगेपछि, सरकारबाट ओलीको बहिर्गमनपछि दाहालका लागि प्रतिगमन सच्चिएको होला, शेरबहादुर देउवाको सरकारमा अंशियारी पाएपछि अग्रगमन नै पनि भएको होला, के भुइँतहका पीडित जनताका लागि प्रतिगमन रोकियो ? भुइँतहका जनताका हातबाट अपहरण भएको लोकतन्त्रको हकमा अग्रगमन भयो ? देउवादेखि दाहालसम्म पालैपालो सत्तासीन हुनासाथ उत्पीडित जनगणका लागि न्यायको प्रत्याभूति हुने हो ? न्याय, समृद्धि र खुसी भनेको खासखास वा विशेष खालका वा सत्ताका आसेपासेले मात्रै पाउने हो कि आम वा साधारण वा सडकछाप मान्छेहरूले पनि ? देउवा, देउवाको पार्टी र दाहालसहितको देउवा सरकार तथा वाम–लोकतान्त्रिक गठबन्धनले नेपालगन्जकी विधवा/एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धकी र हत्या–बेपत्ताका अभियुक्त पूर्वसभासद् बादशाह कुर्मीलाई दिएको लुम्बिनी प्रदेशको सांसद पद नै अन्यायको सबैभन्दा ठूलो कोसेली होइन र ?

आज ओली र ओलीजस्ता नेताहरूकै काँध चढेर दाहाल सिंहदरबारभित्र प्रधानमन्त्री पदमा फेरि चढेका छन्, उनले एक दिन बसेपछि छाडेर आएको सडकमा रुबी खानहरू छन् अनि नेपाली कांग्रेसका नेता बादशाह कुर्मीजस्ता सत्ताका आसेपासेलाई पोस्ने दलीय ताल र सरकारी चाल देखेर भन्दै छन्, ‘चालीस दिनदेखि हामी यहीँ छौं, न्याय चाहियो सरकार !’ तेस्रो चरणको न्यायिक आन्दोलनका क्रममा नेपालगन्जदेखि काठमाडौंसम्म आएर फिब्व ख्यःमा उत्रिएका मधेसी मुस्लिम र दलित महिलाहरू दाहाल सरकारलाई गुहार्दै छन्, ‘महिला हिंसा गर्ने होसियार, कब तक हिंसा सही सरकार, अबतौ न्याय दैदेव हमार !’

सरकार र न्याय खोजिरहेका रुबी खानहरू

नेपालगन्जभित्र करोडौं पर्ने पाँच बिघा जमिन भएकै कारण राजनीतिक भूमाफियाको षड्यन्त्रको सिकार भएकी निर्मला कुर्मी आन्दोलतरत रुबी खान र अन्य मधेसी मुस्लिम महिलाकी नातेदार थिइनन् । र पनि उनीहरू निर्मला कुर्मी र एकाध दिनको अन्तरालमा रहस्यमय रूपमा मरेका उनका छोराहरूलाई न्याय अनि अभियुक्त बादशाह कुर्मी र अन्य भूमाफियालाई सजाय दिलाउन आठ–दस वर्षदेखि दिनरात संघर्षरत छन् । उनीहरू तेस्रो चरणमा मात्रै चालीस दिनदेखि सिहंदरबार छेउमा दिउँसै लालटिन बाल्दै, अभियुक्त र अपराधीहरूको मात्रै आवाज सुन्ने दलपति र सत्ताधीशहरूलाई पीडितजनका आवाज सुनाउन सिट्ठी फुक्दै ‘सरकार’ खोज्दै छन् । र, प्रधानमन्त्री र गृहमन्त्रीको घुम्ने मेचलाई अभियुक्त र अपराधीपोषक संयन्त्रमा फेर्ने, सिंगो राज्यलाई उत्पीडक संरक्षक संरचना बनाउने तथा देशलाई नै अन्यायी मुलुकमा रूपान्तरण गर्नेहरूलाई हाँक दिँदै छन्, ‘यदि न्याय माग्नु अपराध हो भने हामी अपराधी हौं !’

न्याय माग्ने र न्यायका लागि सरकार खोज्ने जस्तो ठूलो अपराध गर्दै आएका रुबी खानहरूको वर्षौंवर्ष लामो आन्दोलनले देखाएको छ— आम मान्छेहरूका ज्यान, उनीहरूका सम्पत्ति, उनीहरूका स्वास्थ्य, शिक्षा र सपनामाथि पनि राजनीतिक भूमाफियाहरूको प्रभुत्व र वर्चस्व बढ्दो छ । पार्टीका नेतालाई कठपुतलीजस्तै नचाएर; प्रहरी, प्रशासन, अदालतलाई समेत प्रभावमा पारेर चलाइने राजनीतिक भूमाफियातन्त्रको सिकार हुनेमा निर्मला कुर्मी एक ज्वलन्त मात्रै हुन्; अरू कति मासिए, अनुमान गर्न नै कठिन छ । उनीहरूले न्याय पाउने त कता हो कता, उनीहरूका लागि जायज न्यायको आवाज उठाउनेहरूको साहस मात्रै होइन, सास र आससमेत जोखिममा रहेको टिठलाग्दो अवस्था रुबी खानहरूका अनुहारमा पढ्न सकिन्छ । अनेक लाञ्छना, डर–धम्की, मुद्दामामिला र गिरफ्तारी बेहोरेका मधेसी मुस्लिम र दलित महिलाहरूको नदबिएको आवाजले सरकारलाई मात्रै होइन, राज्यलाई नै न्यायिक कठघरामा उभ्याएको छ- सरकार र राज्य सधैंजसो न्यायको विपक्षमा हुन्छन्, किन ?

देशमा राज्य न्यायका पक्षमा भएको भए त एक जना महिलाको जीवन, उनका सन्तान र सम्पत्ति सबै स्वाहा पारिएको घटनामा बाँकेका महिलाहरूले आठ–दस वर्ष लामो संघर्ष गर्नु नै जरुरी हुने थिएन । सरकार अन्यायका विपक्षमा भएको भए केही दिनको फरकमा ती महिलाका दुवै छोरा मर्दा शव परीक्षणसम्म गर्न नदिने; उनका लालपुर्जा, तमसुक र अन्य सबै कागजात कब्जामा लिने; उनलाई सडकमै मारपिट गर्ने; शरीर बन्धकमा पार्ने तथा भारतमा लगेर बेपत्ता पार्ने कांग्रेसी नेता प्रदेशसभामा होइन, भूमाफिया मित्रहरूसँगै जेलको कोठरीमा हुन्थे । बाँके प्रशासनसामु वर्षौंको संघर्षपछि राजधानीसम्म न बीसौं दिन लामो पैदल मार्च गर्नु आवश्यक हुन्थ्यो, न त तीन/तीन पटकसम्म सिंहदरबारसामु धर्ना, जुलुस र आमरण अनशन नै बस्नु जरुरी हुन्थ्यो ।

उनीहरूले बादशाह कुर्मीलाई टिकट र संरक्षण दिने देउवाको प्रधानमन्त्री र सभापति पदबाट राजीनामा मागेका थिएनन्, न त देउवासँग घाँटी जोडेर अभियुक्तलाई जिताउन सघाउने दाहाललाई प्रधानमन्त्री हुन रोकेकै थिए । अभियुक्तले प्रदेश सांसदको शपथ लिनुअघि नै संघको राजधानीमा धर्नामा बसेका ती जुझारु मानवअधिकारवादीहरूले सडकमा राखेका माग थिए— निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्छ, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्छ, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्छ र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्छ । यी माग सडकमा घन्काउनु अपराध हो ?

न्यायिक आकांक्षाको वधशाला

निर्मला कुर्मीका लागि जारी न्यायिक आन्दोलनले फेरि पनि प्रस्ट्याएको छ- चाहे ती सत्ताधीश ओली होऊन् या देउवा वा दाहाल, सत्ता–शक्तिमा विराजमान भएपछि जोकसैलाई पनि न्याय–अन्याय क्षेत्र छुट्याउन कठिन हुँदो रहेछ; अन्याय, उत्पीडन र हिंसामा लिप्त हुने व्यक्ति र संस्थाले नै राज्य र सरकारजस्ता संरचनालाई चलाउने हुँदा सत्ताधीशहरूको नजर, विवेक र साहस कुर्सीमुनि हराउने रहेछ । अन्ततः उनीहरूमा महाभ्रम फल्दो–फुल्दो रहेछ- सरकार भनेकै न्याय–अन्याय क्षेत्रभन्दा माथिको राज्य–संयन्त्र हो । कवि गोरख पाण्डेयकै भाषामा- सरकार भनेको माग र गुनासोको संसारबाट अविचल सत्ता हो, उच्छ्वास र आँसुको विश्वमा पनि स्थिर रहने कुर्सी हो, जसको खुट्टामा आगो नलागेसम्म चल्दै चल्दैन । यस्तो कुर्सीमा बसेपछि शासकहरूका सबै ज्ञानेन्द्रियहरू जनगणका माग, गुनासो, विरोधबाट मुक्त हुने हुनाले नै सदनमा बलियो विपक्ष चाहिने हो; सदनमा सबै सत्तापक्षमा फेरिएमा सडकमा भए पनि प्रतिपक्ष आवश्यक हुने हो; सडकमा आउन गाह्रो हुने भए सामाजिक सञ्जालमा भए पनि न्यायिक मनहरू उभिनु जरुरी हुने हो ।

बादशाह कुर्मी होऊन् या जोकोही नेता–कार्यकर्ता, सत्तापक्ष वा प्रतिपक्षका आसेपासे हुनासाथ सबै आरोपबाट छुटकारा पाइने सुविधा, सबै अपराधको सजायबाट उन्मुक्ति पाइने सहुलियतले लोकतान्त्रिक गणतन्त्रलाई पनि राजतन्त्रलाई जस्तै लोक वा गणको न्यायिक आकांक्षाको वधशालामा मात्रै सीमित गर्न सक्छ; यसबाट देउवा, दाहाल र ओलीहरू बेखबर छैनन् । आम मानिसले न्यायका लागि पटकपटक सडकमै उत्रिनुपर्ने; राजधानीकै ठन्डी र गर्मी झेल्नुपर्ने; दमन र गिरफ्तारी, बेवास्ता र हेपाइ खानुपर्ने दुरवस्थाले अन्याय, अत्याचार र अव्यवस्थाकै निरन्तरता र सघनतालाई प्रस्ट्याउने हो; यसबाट कुनै पनि दल र सरकार अनभिज्ञ छैनन् । चाहे नेपालगन्जका मधेसी मुस्लिम र दलित महिलाहरू होऊन् या बोझेनीका तामाङहरू, चाहे चितवनका किसान या वाग्मती किनारका सुकुम्बासी होऊन् वा स्वनिगः (काठमाडौं उपत्यका) का रैथाने स्ववासी, अन्याय, अत्याचार र अव्यवस्थाबाट त्राहित्राहि भएर आत्मदाह गर्न पुगेका प्रेमप्रसाद आचार्य र आत्महत्या गरेका रामदेव मरिक डोमजस्ता अन्य आम मान्छे सडकमा निस्केर कराउँदै छन्, ‘न्याय खै सरकार ?’

रविले देखाएको सरकारको स्वाङ

फिब्व ख्यःबाट सिंहदरबारतिर हेर्दा, रुबी खानहरूको नजरियाबाट नियाल्दा देखिन्छ- दाहाल सरकार त सरकारको स्वाङ गर्नमै व्यस्त रहेछ, न्याय दिने भाषणमा अभ्यस्त रहेछ । निर्मला कुर्मीका लागि जारी न्यायिक संघर्षप्रति ऐक्यबद्धता जनाउन बृहत् नागरिक आन्दोलन गरेको प्रदर्शनका क्रममा माइतीघरमा खगेन्द्र संग्रौलासँगै उभिएर डा. सञ्जीव उप्रेतीलाई सुन्दा थाहा हुन्छ- सरकार त लोकतन्त्रको अभ्यास होइन, क्रूर अभिनयमा मग्न रहेछ । त्रिविको अप्राज्ञिक अवस्थाबाट दिक्क भएर सडकमा निस्केका बौद्धिक अभियन्ता उप्रेतीका अनुसार तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा सरकार उपस्थित भएको ‘दिेखावा’ राम्रैसँग गरे, सायद विद्रूप मजाकको हदसम्म !

दोहोरो नागरिकताको मुद्दामा स्वार्थको टकराव हुने गरी गृहमन्त्री पड्काएका रवि लामिछानेको एकदिने सरकारी प्रदर्शनपछि कुर्मी प्रकरणमा न प्रहरीबाट छानबिन भयो, न शक्तिशाली छानबिन आयोग बनाइयो, न त न्याय प्राप्त हुने गरी अभियन्ताहरूलाई आश्वस्त पारियो । अन्ततः दोहोरो नागरिकताको अभियोग सिद्ध भएपछि रवि आफैंले उपप्रधान तथा गृहमन्त्री मात्रै होइन, सांसदको पदसमेत गुमाउनुपर्‍यो; गृहमन्त्री फेरि नपाएको झोंकमा सरकारबाटै बाहिरिने अतार्किक र अराजनीतिक निर्णय गर्नुपर्‍यो । रुबी खानहरूलाई सडक प्रदर्शन रोक्न अनुरोध गर्ने रवि लामिछाने स्वयं पनि सडकमै आएर चटक देखाउन तम्सिए । न्यायको प्रहसनका क्रममा उनले मायावी कपडाले सबैका आँखा छोपेर चटक देखाए— ‘सरकार र अदालतसँगै राज्यका सबै अंग, चौथो अंग भनिने मिडिया पनि मिथ्या हो; रवि मात्रै सत्य हो !’

राज्य र सरकारको चटकेपना

कुनै आधारबिना जथाभावी आरोप लगाउने र तर्क–तथ्यबिनाका गालीगलौजलाई नै राजनीति ठान्ने चटकेहरूका नयाँ भेरिएन्टले दाहाल सरकारको अस्तित्वलाई नै भ्रामक बनाउन सफलता हासिल गरेका छन् । रविले सबैभन्दा ठूलो चटक हो- कायम नै नरहेको नागरिकता पेस गर्दै पार्टीको सभापति, प्रतिनिधिसभाको उम्मेदवार, ठूलो मतसंख्याका साथ सांसद, दाहाल सरकारको उपप्रधानमन्त्री र गृहमन्त्री ३२ दिनसम्म पड्काउन सफल हुनु ! यो चटक एउटा टेलिभिजनमा लगातार ६२ घण्टाभन्दा बढी टक शो होस्ट गरेर विश्वकीर्तिमान कायम गरेको र गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ज गरेकोभन्दा कता हो कता चतुर्‍याइँपूर्ण छ ।

यस्तो चतुर्‍याइँले भरिएको चटकले सबैभन्दा घातक असर कसैलाई गरेको छ भने त्यो नागरिकता मुद्दाबारे छानबिन नै नगरीकन अदालतमा समेत पक्षपोषण गर्ने सिंगो राज्यलाई गरेको छ; फर्जी नागरिकलाई उपप्रधान तथा गृहमन्त्री टक््रयाउने दाहाल सरकारलाई गरेको छ र उनको गालीगलौज, लोकरिझ्याइँ (पपुलिज्म), राष्ट्रवादी पराक्रमवाद (नेसनालिस्टिक हिरोइज्म) र पीडितपनाको भाष्य (भिक्टिमहुड न्यारेटिभ) को व्यापारप्रति आशावादी भएका मतदातालाई गरेको छ । फर्जी नागरिकको मन्त्रीय चटक सकिएपछि दाहाल सरकारको अस्तित्व र आधारमाथि नै प्रश्न उठेको छ, जबकि नेपाली कांग्रेसको राष्ट्रपतीय स्वार्थको टेकोमा बुँख्याःचाका रूपमा सरकार अस्तित्ववान् रहनेमा भने शंका छैन ।

यसबीच गृहमन्त्री पदभार ग्रहण गरेका प्रधानमन्त्री दाहाललाई सरकारको अस्तित्व देखाउनसम्म कठिन छ भने न्याय दिए–दिलाएको अभिनय गर्न झनै गाह्रो छ । त्यसैले सडकमा न्यायको मागसहित सरकारकै अस्तित्वको खोजी हुँदै छ- यो देशमा कहाँ छ सरकार ? रविको समूहले सरकारबाट बहिर्गमन गरेपछि स्वार्थको टक्कर हुने सर्तमा पनि केही ठेकेदार, केही साहू–महाजन, केही मानव तस्कर, केही अभियुक्त र अपराधीलाई मन्त्री पद दिएर न्याय दिलाउने र सरकारको अस्तित्व देखाइनेमा शंका छैन । तर, बाँकेकी निर्मला कुर्मी, इलामका प्रेमप्रसाद आचार्य र सप्तरीका रामदेव मरिक डोमहरूको हत्या–आत्मदाह–आत्महत्याको प्रकरणमा साहू–महाजनको राज्य र ठेकेदारहरूको सरकारले न्याय दिने–दिलाउनेमा भरोसा गर्ने सन्देहहीन आधार भने पटक्कै देखिएको छैन । त्यसैले रुबी खानजस्ता आम मान्छे लोकतान्त्रिक गणतन्त्रमा फनि न्याय मरेको देखेर सडकमा संघर्षरत छन् ।

प्रकाशित : माघ २४, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्

चीन छोड्दै जापानी कम्पनीहरू

चीन छोड्ने अमेरिकी कम्पनीहरूलाई अमेरिकाकै एमसीसी कार्यक्रमअन्तर्गत नेपालमा भित्र्याउन सकिन्छ होला ? गाह्रो तर हुन सक्ने कुरो । यसरी नै जापानी र युरोपेली एक/दुई कम्पनीहरू भक्तपुर र विराटनरसम्म पुगिदिए नेपालको आर्थिक व्यवस्थामै रूपान्तरण आउन सुरु हुने थियो । 
महेन्द्र पी‍. लामा

जापानको प्रसिद्ध हितोतसुवासी विश्वविद्यालयका विद्यार्थीहरूसँग दुई दशकअघि मेरो निकै घतलाग्दो चर्चा–परिचर्चा हुन्थ्यो । जापानी विद्यार्थीहरूमा ठूलो कौतूहल थियो, आगामी दशकहरूमा चीन र जापानको सम्बन्ध केकस्तो होला भनेर ।

हामी विदेशबाट गएका शिक्षकहरू पनि जिज्ञासापूर्वक यसै विषयका इतिहास र भविष्यलाई केलाउँथ्यौं । चीन धेरै कारणले जापानलाई मनै पराउँदैनथ्यो । उता जापानले चीनलाई आफूभन्दा तल्लो दर्जाको राष्ट्र भन्ने गर्थ्यो । जापानले सैन्य शक्ति प्रदर्शन गर्दै सन् १८९४–९५ र १९३७–४५ मा चीनका विभिन्न इलाकामा हमला गरेर अड्डै जमाएको थियो । जापानको क्रूरता र अमानवीयताको उचाइ सन् १९३७ मा चीनको राजधानी नानजिङमा गरिएका ध्वंस, हत्या, बलात्कार एवं नरसंहारले छर्लंग पार्छन् । चीनका उत्तरपूर्वी मन्चुरिया क्षेत्रहरूमा जापानी साम्राज्यवादी शक्तिको घिनैलाग्दो प्रदर्शन सुरु भएपछि दोस्रो विश्वयुद्धको शृंखला सुरु गर्दै दक्षिण–पश्चिमतिरका युनान–चोङचिङ आदि हुँदै जापानी सैनिकहरू बर्मा र भारतका उत्तरपूर्वी क्षेत्रहरू मणिपुर र नागाल्यान्डसम्म पुगे । जापानी सैनिकहरूले यति अनैतिक कार्यहरू गरे कि आजसम्म पनि चिनियाँ र कोरियाली आमाहरूले जापानीको घोर निन्दा र भर्त्सना गर्ने गर्छन् । जापानी सैनिकहरूले भेटेका सबै महिलालाई कब्जामा लिई शारीरिक यातना दिए । हामीलाई ‘कम्फर्ट विमेन’ बनाए भनी विश्वमै अहिलेसम्म पनि जापानीहरूको खेदो गरिन्छ । हिरोसिमा र नागासाकी एटम बमले ध्वस्त भएपछि मात्रै जापानीहरूले युद्धबाट हात धोएका हुन् ।

जापानीहरूले चिनियाँलाई तलको मान्छे भनेर अन्याय गरेको कुरो पनि सबैलाई थाहै छ । यसको नांगो उदाहरण जापानी पुलिसले विदेशी अपराधीहरूबाट कसरी सतर्क रहनुपर्छ भनी आफ्ना नागरिकलाई सिकाएका सावधानीका तरिकाहरूमा देख्न पाइन्छ । हामीले एउटा यस्तै तस्बिर शृंखला देखेका थियौं, जसको पहिलो दृश्यमा एउटी जापानी आमा र नानी बेन्चीमा बसिरहेका छन् । दोस्रो दृश्यमा आमा र नानी पैसा निकाल्न एटीएम जान्छन् । एटीएममा पैसा झिक्न जाँदा आमाले आफ्नो झोला अघि बसेको बेन्चीमै भुलिपठाएकी हुन्छे । तेस्रो दृश्यमा एउटा मान्छे त्यो झोला टिप्न लम्किरहेको देखिन्छ, त्यस मान्छेको शिरको माथिपट्टि चाहिँ लेखिएको छ— चिनियाँ–चिनियाँ । अर्थात्, जापानमा चोरी–अपराध गर्नेहरूमा चिनियाँ नै प्रमुख छन् ! यसरी पुलिसले आफ्ना नागरिकलाई सावधान मात्रै नगराएर चिनियाँलाई बदनाम गर्ने गरी ढोल पनि पिटेको छ । चिनियाँको छवि त चोरकै बनाइदिएको छ ।

चीन अघि बढ्दै गयो, गत दुई दशकमा । निकै माथि नै पुग्यो । चीन–जापानबीच अझै गजबकै मुद्दाहरू अघि आउन थाले । चीनले साउथ चाइना सीमा अड्डा जमाएपछि जापान अतालियो । चीनले सघाएको, सैन्य गतिविधिका निम्ति हातहतियार दिएको अति नै नजिकको छिमेकी उत्तर कोरियाले जापानको माथिबाटै समुद्रतर्फ मिसाइल परीक्षण गर्न थालेपछि चीन–जापान सम्बन्ध अझै द्रुत गतिमा बिग्रियो । अहिलेसम्म आफ्नो छत्रछायामा रहेको सेन्काकु महाद्वीपमा पनि चीनले अड्डा जमाउन लागेपछि जापान अझ अतालियो । दोस्रो विश्वयुद्धपछि शान्तिको संविधान लागू गर्दै, युद्ध गर्ने हातहतियार कहिल्यै बनाउँदैनौं भन्दै अमेरिकाको अनुसरण गर्ने जापान शान्तिको मार्ग छोड्नसम्म तयार हुने भयो । र नै चीनका सबै सामुद्रिक मार्गहरूमा नियन्त्रण गर्न, हिन्द र प्रशान्त महासागरबीच समन्वय र सहकार्य गर्न जापानले अमेरिका–भारत–अस्ट्रेलियाको समूहमा आफूलाई होम्यो ।

सन् १९६०–७० को दशकमा चीन धराशायी नै बनेको थियो । अनिकाल व्याप्त त्यस राष्ट्रको माओ त्सेतुङले अघि ल्याएको एक दशक (सन् १९६६–७६) को सांस्कृतिक क्रान्तिले अधोगति पार्‍यो । चारैतिर हिंसा, भोकमरी, ध्वंस–विध्वंसले गर्दा चीनमा यति अस्थिरता र अन्योल आयो कि सबैले अब चीन टुक्राटुक्रा हुन्छ भन्न थाले । सन् १९७६ मा माओ त्सेतुङको मृत्यु भएपछि भने चीनले नयाँ श्वास–प्रश्वास पायो । देङ स्याओपिङ र साथीहरूले सन् १९७९ मा सत्ता सम्हालेपछि चीनले अद्भुत मार्ग अपनायो । चीन यति भयानक ढंगले चीन भत्किएको थियो कि विश्वका सबै राष्ट्रले सघाउन थाले । चीनलाई पुनर्निर्माणमा सघाउने राष्ट्रहरूमा फेरि जापान नै अग्रिम पंक्तिमा देखा पर्‍यो । चीनलाई पनि विकासका निम्ति जापानलाई अँगालो हाल्न करै लाग्यो । सन् १९७८ मै चीन–जापानले मैत्री सन्धिमा हस्ताक्षर गरेपछि आगामी दुई दशक (सन् १९७९–२०००) सम्म जापानले चीनको पुनर्निर्माणमा अति नै महत्त्वपूर्ण भूमिका निभायो । सन् १९९८ सम्ममा चीनले प्राप्त गरेको मोठ द्विपक्षीय आर्थिक सहायतामा जापानी अनुदान ६० प्रतिशत भयो । चीनले आर्थिक सुधारमा अझै द्रुत गति प्राप्त गरोस् भनी जापानले सन् १९९४–९९ मा १४.४८ अर्ब डलरको अनुदान, ऋण र तकनिकी सहायता दियो । गरिबीले खर्लप्पै खाएका चीनका गाउँघरसम्म जापानले आर्थिक सहयोग पुर्‍यायो । चीनलाई किन यति व्यापक सहायता दिइँदै छ भन्ने विषयमा जापानभित्रै पनि तीखो चर्चा छेडियो । यो आर्थिक सहायतालाई चीनले सैन्य क्षेत्रमा लगाएको खण्डमा पछि गएर जापानलाई नै खतरा हुने आशंका पनि जाहेर गरियो ।

चीनमा जापानी अनुदान र लगानी पुर्‍याउनुका कारणहरू स्पष्ट नै थिए । पहिलो त, चीन अस्थिर र हिंसक भएको खण्डमा छिमेकी राष्ट्र जापानलाई नै जोखिम पुग्ने भयो । दोस्रो, त्यसताक १ सय करोड जनसंख्या भएको चीनको बजार अति नै विशाल थियो, जसलाई जापानी वस्तुहरूले ढाक्न सक्ने थिए । तेस्रो, चीनमा कोरा माल प्रशस्तै थियो भने श्रममाथिको खर्च अति नै कम । छिटो काम सिक्न खोज्ने र इलम भएका श्रमिकहरू पनि कम ज्यालामा प्रशस्त पाइने भए । चौथो, जापान चीनमा आफूले गरेका प्रहार–हत्या–अत्याचारको इतिहास मेटाउन चाहन्थ्यो । र नै सन् १९७९–९८ मा चीनमा बाहिरका राष्ट्रहरूले गरेको मोठ पुँजी निवेश–लगानी (२६७.३ अर्ब डलर) मा जापानको योगदान ८ प्रतिशत भयो । हङकङको ५२ प्रतिशत पुँजी निवेश थियो र जापान दोस्रो दर्जामा रह्यो ।

जापानले छिमेकी र अन्य राष्ट्रमा हमला गर्दा वा आफूभित्रै हमलामा पर्दा ज्यान गुमाएका आवाल–वृद्ध–वनितालाई श्रद्धाञ्जली दिन त्यहाँका सम्राट् मेजीले सन् १८६९ मै टोकियोमा यासुकुनी मन्दिर बनाएका थिए र त्यहाँ जापानी सैनिकहरूको पूजा गर्ने चलन चल्दै गयो, जुन अझै छ । उता चीन र कोरियाले यी जापानी अपराधीहरूलाई पूजा–श्रद्धा गर्न यासुकुनी मन्दिरमा जाने जापानी प्रधानमन्त्री र नेताहरूको खोइरो खन्न थाले । जापानी नेताहरू त्यस मन्दिरमा जानासाथ चीनमा रहेका जापानी व्यक्ति–संस्था–उद्योग आदिमा चिनियाँहरूले आक्रमणसम्म गर्न थाले । जापानले दोस्रो विश्वयुद्धमा जापानी सैनिकहरूको ज्यादतीको सिकार भएका चीनको उत्तरतिरको लियाओनिङ राज्यको डालियनमै धेरै कलकारखाना बनाउन थाल्यो । नभन्दै सन् १९८० देखि १९९९ सम्ममा जापान–चीन व्यापार ९.४५ अर्ब डलरबाट बढेर ६६.५२ अर्ब डलर पुग्यो । अचम्मैलाग्दो, आफ्ना निम्ति प्रायः व्यापार घाटा हुँदाहुँदै जापानले चीनसँगको व्यापार–वाणिज्य अघि बढायो ।

जापानका धेरै विश्वप्रसिद्ध कम्पनी चीनलाई आफ्नो उत्पादन केन्द्र बनाउँदै विभिन्न क्षेत्रमा छरिए । अमेरिकी र युरोपेली कम्पनीहरू पनि चीनमै थुप्रिए । अमेरिकाको एप्पलÙ जापानका क्यानोन, तोसिबा, प्यानासोनिक, सोनी सबै कम्पनीले चीनमा कलकारखाना खोलेर, चीनमा बनाएको ठप्पा लगाएर विश्वबजारमा बेच्न लागे । अर्थात्, धेरै जापानी कम्पनीहरूले चिनियाँ श्रमिक र मानव शक्तिलाई प्रशिक्षण दिए, दक्ष बनाए र टेक्नोलजीसम्म दिए । जापानी कम्पनीहरूलाई ठूलो फाइदा भयो, चीनमा जापानी सामान त्यति सस्तो र होडबाजी गर्ने मूल्यमा बनाएर विश्वबजार पिट्न सके । तिनै सरसामान जापानमा बनाइएका भए, महँगो मात्रै नभएर विश्वबजारमा होडबाजी नै गर्न नसक्ने हुने थिए । जापान आफैंले पनि चीनमा बनाइएका आफ्नै सरसामान आयात गर्न थाल्यो । सन् १९९५ मा गरिएको एउटा सर्वेक्षणअनुसार, चीनमा बनेका मोठ जापानी सरसामानमध्ये २९ प्रतिशत जापानले आफ्नै बजारमा ल्याएर बेच्यो । यसरी जापानले चीनलाई ‘विश्वको कारखाना’ भनी सबैसामु चिनायो । अमेरिका र अन्य विकसित राष्ट्रले पनि आफ्ना उत्पादन केन्द्रहरू चीनमा सारे र विशाल रूपमा विभिन्न सरसामान–वस्तुहरू बनाई विश्वबजार नै छिचोले । एप्पलको आइफोनको सबैभन्दा ठूलो उत्पादन केन्द्र चीनको हुनान राज्यको झेनझेनमा बसालियो । प्रायः २ लाख मानिसले दैनिक रूपमा यस कारखानामा उत्पादन गरेको आइफोन यहीँबाट विश्वबजारमा पठाइन्छ, जुन एप्पल कम्पनीको मोठ उत्पादनको ५०–६० प्रतिशत हो । यसरी चीनले जापानी तोसिबा र अमेरिकी एप्पल आदिका सरसामान बनाएर विश्वबजारका कुनाकुनामा पठायो । यी सबबाट चीनले सबैभन्दा ठूलो फाइदाचाहिँ विदेशी कम्पनीहरूका टेक्नोलजी हासिल गर्न र चिनियाँहरूलाई दक्ष–विशेषज्ञ मानवशक्तिका रूपमा अघि ल्याउनमा पायो । अर्थात्, जापान र अमेरिकाले छोडेर गए पनि कसरी, कस्ता सरसामान उत्पादन गर्नुपर्छ भन्ने ज्ञान–अनुभव–प्रशिक्षण–दक्षता चीन र चिनियाँले व्यापक रूपमा हासिल गरे ।

चीनले विश्वकै बजार व्यवस्था कब्जा गरेपछि अमेरिका सरकार, युरोपका कम्पनीहरू र जापानका बहुराष्ट्रिय कारखानाहरू अतालिए । विश्व अर्थ व्यवस्थामा दशकौंदेखि रहेको आ–आफ्नो अंश–भाग–नियन्त्रण हातबाट गएको महसुस गर्न थाले । अब के गर्ने भन्ने सोचमा डुब्न थाले । र नै अमेरिकाले पहिलो पटक चीनविरुद्ध व्यापार युद्ध (ट्रेड वार) छेड्यो । राष्ट्रपति ट्रम्पले ‘अमेरिका पहिला’ (अमेरिका फस्ट) भन्दै जुलाई २०१८ देखि उसो कैयौं पटक चीनले निर्यात गर्ने वस्तुहरूमाथि भन्सार (कस्टम्स) व्यापक रूपमा बढाए, ताकि चिनियाँ सरसामान अमेरिकामा यति महँगा होऊन् कि अमेरिकीहरूले चिनियाँ वस्तुलाई ताक्न त के, हेर्नै पनि छोडून् । ट्रम्पले पहिलो खेपमै ६,८४० वस्तुहरूमा भन्सार बढाइदिए । अर्कोतिर, चीनभित्रै गत दशकमा श्रमिकहरूको ज्याला यति बढेर गयो कि चिनियाँ सरसामानको उत्पादनमूल्य अग्घोरै हुँदै गयो । त्यसमाथि चीनले आफ्नो विकसित स्थानको फाइदालाई सामरिक–सैन्य क्षमता निर्माण गर्नमा भव्य रूपमा लगाउँदा, ऊ पनि अमेरिकाजस्तै विश्वस्तरमा खेल्ने महाशक्तिकै रूपमा अघि बढ्न थाल्यो । सबैलाई धम्की दिने भयो चीन । आफ्नै राष्ट्रभित्र तिब्बत र सिनसियाङ क्षेत्रहरूमा दमन–अतिक्रमण बढायो, हङकङ र ताइवानमा तनावपूर्ण स्थितिहरू अघि ल्यायो, उत्तर कोरियासँग मिली दक्षिण कोरिया र जापानलाई आतंकित तुल्याउन थाल्यो अनि अफ्रिका र मध्यएसिया समेतमा सामरिक प्रभाव बढायो । बेल्ट एन्ड रोड इनिसियटिभका माध्यमले विश्वलाई नै हल्लाउने बाटाघाटा, बन्दरगाह, रेल, पानीजहाज आदि कुनाकुनामा निर्माण गर्न थालेपछि हाम्रै छिमेकी राष्ट्रहरू पनि चीनसँग काँधमा काँध मिलाउन थाले । भारतसँगको सिमाना अतिक्रमण–विवाद, भोटाङसँगको डोक्लाममा बाटो–गाउँ निर्माण अनि पाकिस्तान र बर्मामा आर्थिक करिडोर बनाउन थालेपछि, सामरिक ढंगमा आघात पुगेका राष्ट्रहरूबीच चीनविरुद्ध अद्भूत गठबन्धन सुरु भयो । यसरी इन्डो–प्यासिफिक सोचको जन्म भयो ।

सन् २०२०–२१ को विश्वव्यापी महामारीले विश्वको उत्पादन शृंखला चीनमाथि नै निर्भर भएको कुरोलाई अझै प्रमाणित गर्‍यो । औषधिदेखि गाडी–वाहनसम्म, ल्यापटपदेखि बिजुली बल्बसम्म र मेसिनदेखि मोबाइल फोनसम्मका निम्ति सम्पूर्ण विश्व चीनमाथि नै निर्भर भएका तथ्यहरू अघि आए । यस्तै अनेकन् कारणले गर्दा, चीनमा बसालिएका अमेरिकी–जापानी–युरोपेली कम्पनीहरू अब बिस्तारै चीन छोड्ने तरखरमा लागेका छन् । अमेरिकाको एप्पल–आइफोन भारतमा आउने भयोÙ धेरै जापानी कम्पनी भियतनाम, थाइल्यान्ड र फिलिपिन्सतिर गइसके । चीनमा सरसामान उत्पादन गरेर अमेरिकामा बेच्ने एप्पल, एचपी, डेल, माइक्रोसफ्ट, गुगल, अमेजन, सोनी, निनतेन्डो, लेनोभो, एसर आदि सबै चीन छोड्ने तरखरमा छन्Ù कतिले त छोडी पनि सके । तिनीहरूका निम्ति कारखाना बसाउन सबैभन्दा आकर्षक राष्ट्र भियतनाम नै हुँदै छ । नोमुराले गरेको एउटा विश्लेषणअनुसार, अप्रिल २०१८ देखि अगस्ट २०१९ सम्म चीन छोड्ने ५६ वटा जापानी कम्पनीमध्ये २६ वटा भियतनाम, ११ वटा ताइवान, ८ वटा थाइल्यान्ड र मात्रै ३ वटा भारततिर लागे । यसरी नै विश्वको पुँजी निवेश–लगानी (फोरेन डाइरेक्ट इन्भेस्टमेन्ट) पनि भियतनाम, मलेसिया र थाइल्यान्डतिरै लाग्दै छ । चीन यसरी विदेशी कारखानाविहीन हुँदै छ ।

भियतनाम किन ? दुई–दुई दशकसम्म अमेरिकाले विध्वंस मच्चाएको यो राष्ट्रमा जापानी–युरोपेली–अमेरिकी कम्पनीहरूले किन व्यापक रूपमा कारखाना खोल्दै छन् ? भियतनाममा श्रमिक खर्च सबैभन्दा कम पाइएको छ । एउटा कारखानामा काम गर्ने श्रमिकलाई चीनमा २७.५० डलर र इन्डोनेसियामा ८.६० डलर दैनिक वेतन दिनुपर्छ भने आजको भियतनाममा केवल ६.७० डलर । भियतनामीहरू तकनिकी क्षमता–दक्षताले परिपूर्ण हुन्छन् अनि उनीहरूमा लगनशीलता पनि पर्याप्त पाइन्छ । अर्कातिर, जापान सरकारले जापानी कम्पनीहरूलाई ‘आफ्नै देश फर्केर आऊ, यहीँ फेरि कारखाना बसाऊ र उत्पादन सुरु गर’ भन्ने आह्वान मात्रै नगरेर विभिन्न प्रलोभनसमेत दिएको छ । फेरि जापानमै फर्केर त्यहीँ उत्पादन कारखाना बनाउने जापानी कम्पनीहरूका निम्ति सरकारले प्रलोभनस्वरूप २ अर्ब डलर छुट्याएको छ र चीनबाट निस्केर अरू राष्ट्रमा जाने जापानी कम्पनीहरूका निम्ति ०.२२ अर्ब डलर अलग्गै राखेको छ । टेकोकु डेटाब्यांकले गरेको एउटा अध्ययन मुताबिक, जुन २०२२ मा १२,७०६ जापानी कम्पनीहरूले अझै पनि चीनमै उत्पादन गरिरहेका छन् । गत दुई वर्षमा लगभग ७४० जापानी कम्पनीहरूले चीन छोडिसकेका छन् ।

जतिजति विदेशी कम्पनीहरू चीनबाट निस्कन्छन्, उतिउति विश्व आर्थिक व्यवस्था रोचक मात्रै नभएर अन्योलको ढोकामा पनि पुग्ने नै छ । चीन छोडेका कम्पनीहरूलाई दक्षिण एसियाका राष्ट्रहरू नेपाल–भारतलगायत कतिले प्रभावित–आकर्षित पार्न सक्छन् भन्नेमा बहस छेडिएकै छैन । एप्पलले आइफोन भारतमा बनाउने घोषणा गरेपछि भारतले चीनबाट एप्पलसँग सम्बन्धित केही पनि नल्याउने अडान त राख्यो तर आइफोनमा लाग्ने कतिपय यन्त्रहरू केवल चीनमा मात्रै बन्ने हुनाले सामरिक दृष्टिले चीनसँग जति नै गहिरो विवाद–शत्रुता भए पनि यो अडानलाई वापस लिनैपर्‍यो । नत्र आइफोन भारतमा बन्नै नसक्ने भयो । नेपालमा कसले के ल्याउने भन्ने कुरामा, चीन छोड्ने यी अमेरिकी कम्पनीहरूलाई अमेरिकाकै एमसीसी कार्यक्रमअन्तर्गत भित्र्याउन सकिन्छ होला ? गाह्रो तर हुन सक्ने कुरो । यसरी नै जापानी र युरोपेली एक/दुई कम्पनीहरू भक्तपुर र विराटनरसम्म पुगिदिए नेपालको आर्थिक व्यवस्थामै रूपान्तरण आउन सुरु हुने थियो । के नेपालका राजनीतिक नेता, उद्योगधन्दाका फ्रणेता एवं नीतिनिर्धारकहरू तयार छन् ?

प्रकाशित : माघ २४, २०७९ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×