मध्यम वर्ग : वामपन्थी दललाई चुनौती

आफूलाई स्वतन्त्र ठान्ने मध्यम वर्गले आफ्नो वर्गीय पहिचान खोज्ने कष्ट गर्दैन । यो नै वर्गीय राजनीति (?) गर्ने एमाले र माओवादीजस्ता वामपन्थी दलहरूका लागि चुनौती हो ।
राम गुरुङ

सायद धेरैले नपढेको, तर नेपालको वामपन्थी राजनीति बुझ्न सहयोगी पुस्तक हो— ‘द राइज एन्ड फल अफ द कम्युनिस्ट पार्टीर् अफ इराक’ । युनिभर्सिटी अफ क्यालगरी, क्यानडाका प्राध्यापक तारिक वाई. इस्माएलले सन् २००७ मा लेखेको यस पुस्तकमा इराकी कम्युनिस्ट पार्टीको उदय र पतनको ऐतिहासिक विश्व–स्थानीय कारक मसिनो गरि केलाइएको छ ।

बेलायती साम्राज्यको प्रभावबाट अलग्याउन सफल इराकी इन्टेलिजेन्सियाको पहलमा सन् १९३० मा जन्मेको इराकको कम्युनिस्ट पार्टी चरम वैदेशिक–राजनीतिक हस्तक्षेप र रणनीतिक परनिर्भरताले गर्दा राष्ट्रिय राजनीतिमा मात्र कमजोर भएन, संगठनभित्रको संघर्ष र द्वेषले कारबाहीमा परेका धेरै प्रभावशाली नेताले संगठन छोड्दै जाँदा छिन्नभिन्न र विभाजनसमेत भइरह्यो । जन्मेको २० वर्षमै प्रतिरक्षात्मक बनेको इराकी कम्युनिस्ट पार्टी सन् १९४९ मा भएको अल–रह्हाल लगायतको मृत्युदण्डका कारण थप कमजोर बन्यो । लोकतान्त्रिक राष्ट्रवादीहरूको गठबन्धन बनाएर कम्युनिस्ट पार्टी बचाउन गरिएको प्रयास खेर गयो । सरकारले सन् १९६३ मा लोकतन्त्रवादी नेताहरूको नरसंहार गरेसँगै इराकी कम्युनिस्ट पार्टी इतिहासमा बिलायो ।

निर्वाचन र वामपन्थी दल

नेपालका वामपन्थीको मात्र होइन, स्वाभाविक सामाजिक परिवर्तन र त्यसबारे प्राज्ञिक निचोड नकार्नु विश्वभरिकै वामपन्थीहरूको धर्म हो । व्यक्तिलाई आदर्श मान्ने भएकाले संगठनभित्र व्यक्तिको सर्वोच्चता स्थापित गर्न इतरका नेताहरू दण्डित भइरहन्छन् । शास्त्रीय हिसाबमा लोकतान्त्रिक निर्वाचन नस्विकारे पनि राजनीतिक अस्तित्वका खातिर नेपालका धेरै वामपन्थी दलले भने संसदीय राजनीति अँगालेका छन् । तथापि यो संस्थागत लोकतन्त्रका लागि महत्त्वपूर्ण उपलब्धि हो ।

वामपन्थी दलहरूले लोकतान्त्रिक विधिबाट हुने चुनावमा भाग लिनु राम्रो हो, तर निवार्चनमा सहभागी वामपन्थी दलको संख्या बढे पनि, तिनको चुनावी वजन भने कमजोर हुँदै गएको छ । संगठनको बनोट र चरित्र, नेतृत्वको आचरण र व्यवहार, जनतासँगको सम्बन्ध र निकटता एकांगी र औपचारिक बनेका छन् । कुल मतदाता, मतदानमा सहभागी मतदाताहरू बढेका भए पनि वामपन्थी दलहरूले आफ्नो जनमत बढाउन सकेका छैनन् ।

२०४८ सालको संसदीय निर्वाचनमा सहभागीे ७० लाख मतदातामध्ये करिब २६ लाख (३६ प्रतिशत) ले वामपन्थी दलहरूलाई रोजेका थिए । तर जनमतको त्यो अनुपात अहिले पनि करिब उस्तै छ । २०७९ सालको संघीय निर्वाचनमा भाग लिने मतदाता ३७ प्रतिशतले बढे पनि ३२ वर्षअघि वामपन्थी दलहरूका पक्षमा उभिएका मतदाताको दर फेरिएको छैन । वामपन्थी भोटमा यसबीचमा केही उतारचढाव भए पनि पछिल्लो समय यस्ता दलहरूबाट ‘डेभिएट’ मतदाताले बढाएको ‘स्विङ भोट’ बारे खासै चर्चा भएको देखिन्न ।

बढ्दो मध्यम वर्ग

औद्योगिक उत्पादनमा प्रत्यक्ष नजोडिएका, सेवाजन्य उद्यम वा नोकरी गर्ने सबै मध्यम वर्ग हुन् । नेपालका मध्यम वर्ग स्वदेश–विदेशमा बौद्धिक वा शारीरिक श्रम गर्छन् । मार्क्सवादी बुझाइमा यो वर्ग समाज बदल्ने कुरामा चिन्तनशील हुँदैन । तर राम्रो उद्योगधन्दा नभएका, नेपालजस्तो परनिर्भर र उपभोगवादी अर्थतन्त्र भएको समाजमा भने कार्ल मार्क्स र म्याक्स वेबरले भनेजस्तो ह्वाइट कलर मध्यम वर्ग प्रभावशाली भए पनि प्रभुत्ववशाली छैन । यद्यपि, वल बरिस (सन् १९८६) ले यो वर्गलाई नयाँ आधारभूत राजनीतिक गठबन्धन बनाउने आधारभूत वर्ग मानेका छन् । देशको राजनीतिक परिस्थिति कस्तो बन्छ भन्ने कुरा मध्यम वर्गको हुटहुटीमा भर पर्छ ।

सन् १९९० अघि, उत्तर–शितयुद्धका बेला (गैर)मार्क्सवादी शास्त्रले व्याख्या गरेको मध्यम वर्ग दुनियाँमा छैन । यसको बनोट र चरित्र अकल्पनीय हिसाबले बदलिएको छ । वर्गको बनोट र चरित्रमा आर्थिकसँगै संस्कृति, पर्यावरण र प्रविधि पनि मिसिएका छन् । यसैको असर भनौं, गत ५० वर्षमा वर्गको अवधारणा र वस्तुगत धरातल मात्रै होइन, जनसंख्याको वर्गीय अनुपात र उपस्थिति पनि बदलिएको छ । विश्वका झन्डै एकचौथाइ देशमा मध्यम वर्गको हिस्सा १७ देखि ३६ प्रतिशतसम्म बढेको छ । श्रम र वस्तुको विश्वव्यापीकरण, पुँजी र प्रविधिको अन्तरदेशीय विकेन्द्रीकरण, मार्क्सवादजस्ता भूमण्डलीकृत राजनीतिक विचारधाराको सामाजिक क्षयीकरण र राज्य–नागरिक–राजनीतिक दलबीच बदलिँदो सम्बन्ध र अपेक्षाका कारण मध्यम वर्गको उदय र विस्तार फराकिलो र प्रभावशाली भएको छ । होमी खारस (सन् २०१०) ले उल्लेख गरे अनुसार, एसियाका चीनजस्ता औद्योगिक मुलुकमा भइरहेको वस्तु उत्पादनको केन्द्रीकरणले गर्दा नागरिकको प्रतिव्यक्ति आय मात्र होइन, व्यक्ति तथा परिवारको क्रयशक्ति पनि बढेको छ । अहिले विश्वको कुल मध्यमवर्गीय जनसंख्याको ४८ प्रतिशत हिस्सा एसियाको ओगटेको छ । नेपालमा पनि सन् १९९५ मा ७ प्रतिशत हाराहारी रहेको मध्यमवर्गीय जनसंख्या अहिले ३२ प्रतिशतभन्दा माथि पुगेको छ ।

सूचना प्रविधिको विकास र पहुँचमा भएको तीव्र विस्तार, बढ्दो ऊर्जा उत्पादन र उपभोग, नयाँ रोजगारको प्रयोग र अभ्यास तथा सूचना पहुँचको तीव्र विकेन्द्रीकरणले मध्यम वर्गको आकारलाई ठूलो बनाएको हो । दक्षिण अमेरिकी देश ब्राजिल र नेपालजस्ता दक्षिण एसियाली मुलुकको गरिबीमा आएको ह्रास मध्यमवर्गीय जनसंख्या विस्तारको दृष्टान्त हो । तथापि यसका अन्य थुप्रै सूचक छन् ।

प्रतिव्यक्ति आय र उपभोग वृद्धि : लोकतान्त्रिक व्यवस्थाले राजनीतिक स्वतन्त्रता मात्रै दिएको छैन, व्यक्ति र परिवारले आर्थिक उन्नति गर्ने मौका पनि पाएका छन् । आम्दानी गर्ने नयाँ स्रोतहरू खुलेका छन् । नेपालको हकमा, घरेलु श्रमशक्ति अन्तर्राष्ट्रिय बजारमा जोडिएसँगै आम्दानीका स्रोत विविध भएका हुन् । श्रम आप्रवासन र विप्रेषणमा भर पर्ने परिवारको संख्या बढे पनि शिक्षा र स्वास्थ्यको अवस्था मजबुत भएको छ । सन् १९९० मा प्रतिव्यक्ति क्रयशक्ति ८६० डलरभन्दा कम थियो, अहिले पाँच गुणा बढेर ४,२८० डलर पुगेको छ । यसबाट उपभोगको दायरा र दर मात्रै फराकिलो भएको होइन, व्यक्तिगत आर्थिक तथा राजनीतिक स्वतन्त्रता पनि बलियो भएको छ । दल–नियन्त्रित राजनीतिको लगाम व्यक्ति र परिवारको पहुँचमा पुगेको छ ।

बढ्दो औसत आयु र जीवनस्तर : राजनीतिक परिवर्तनले गर्दा आर्थिक उन्नति त भएको छ नै, मानिसको उमेर र जीवनस्तर पनि उकासिएको छ । शिक्षामा पहुँच बढेकाले स्वास्थ्यचेतनामा नाटकीय परिवर्तन भएको छ । घरमूली लगायतको असामयिक मृत्युले हुने आर्थिक क्षति घटेको छ । सन् १९६० सम्म औसत मानिस ४० वर्षभन्दा कम बाँच्थे, अहिले सरदर ७० वर्षभन्दा बढी बाँच्छन् । यसले आय आर्जनमा सक्रिय व्यक्तिको संख्या ह्वात्तै बढाएको छ, परिणामस्वरूप २० वर्षअघिको ४२ प्रतिशतको गरिबी अहिले २५ प्रतिशतमा झरेको छ । गरिबी घटेसँगै राजनीतिक स्वतन्त्रता एवं सामाजिक समानतासहित उन्नत जीवनस्तर बाँच्ने व्यक्ति र परिवारहरू पनि बढेका छन् ।

जवाफदेहीको बढ्दो माग : मध्यम वर्गको मुख्य स्वार्थ राजनीतिक दल र नेताहरूलाई नागरिकप्रति जवाफदेह बनाउनु हो । आर्थिक हिसाबमा आत्मनिर्भर यो वर्ग राजनीतिमा पनि आफू स्वतन्त्र भएको दाबी गर्छ । सामाजिक विकास र न्यायका लागि टोल विकास समिति वा अन्य पेसागत संगठनमार्फत मध्यम वर्ग छुट्टै संगठित पनि हुन्छ, तर उठबस धनाढ्यसित गर्ने र राजनीतिलाई गरिबीसँग जोड्ने अपारदर्शी कामले वामपन्थी दलसित यो वर्ग चिढिनु स्वाभाविक हो । केही वर्षअघि वामपन्थी नेताहरूमाथि लागेको भ्रष्टाचारको आरोपबारे सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रिया नियाल्दा, झन्डै ६७ प्रतिशत ट्वीटर प्रयोगकर्ता नेपालीले वामपन्थी दलको भनाइ र गराइ एउटै नभएको भन्दै आलोचना गरेका दिए । यसको अर्थ हो— धेरै मध्यमवर्गीय नेपालीको रोजाइमा वामपन्थी दलहरू पर्दैनन् ।

वामपन्थी दल र अर्थ–सामाजिक नीति

वामपन्थी दलहरूले २०६४ सालयता चुनावी घोषणापत्रहरूमा मध्यम वर्गको निर्माण र विस्तारमा अमूर्त रूपमा जोड दिएका छन् । घोषणापत्रका बुँदाहरूको अर्थ र व्याख्या परिस्थितिअनुकूल होला, तर सहरकेन्द्रित वा सहरोन्मुख भौतिक पूर्वाधार विकास र व्यावसायिक शिक्षा तथा तालिमप्रतिको लगाव आफैंमा आत्मनिर्भर र स्वतन्त्र राजनीतिक व्यक्ति जन्माउने प्रतिबद्धता हो, जसले वामपन्थी दलको जस्तो संगठित राजनीतिक आबद्धतालाई नकार्छ । यति मात्र होईन, आफूलाई स्वतन्त्र ठान्ने मध्यम वर्गले आफ्नो वर्गीय पहिचान खोज्ने कष्ट गर्दैन । यो नै वर्गीय राजनीति (?) गर्ने एमाले र माओवादीजस्ता वामपन्थी दलहरूका लागि चुनौती हो ।

कल्याणकारी समाज एमालेको राजनीतिक आदर्श भए पनि माओवादीले श्रमजीवी वर्गको वर्चस्वलाई राजनीतिक आधार बनाएको छ । तर दुवै दलको सामाजिक र आर्थिक ध्यान सहरी समाज र अर्थतन्त्रको निर्माणमा छ, जुन विश्व–स्थानीय परिवेश र परिस्थिति अनुसार स्वाभाविक पनि हो । एमालेले २०७४ सालपछि आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै कुल गार्हस्थ्य उत्पादनको वृद्धिमा जोड दिएको छ, जसमा औद्योगिक उत्पादन र बजारिया उपभोक्ता बढाउने र गरिबी घटाउने अभीष्ट छ । यो मध्यमवर्गीय जनसंख्याको बढोत्तरीबिना सम्भव छैन । यस अर्थमा, मध्यम वर्गसितको वामपन्थी दलीय सम्बन्ध उस्तै छैन ।

एउटा उदाहरण लिऔं । एमालेले गत संसदीय निर्वाचनको घोषणापत्रमा नेपाली सिनेमा क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने भनेको छ । सातै प्रदेशमा सिने नगरी बनाउने घोषणा पनि उल्लेख छ । वर्गीय दृष्टिमा, अहिलेकै परिवेशलाई आधार मान्दा, मनोरञ्जनलाई जीवनयापनको हिस्सा बनाउने मध्यम वर्ग सिनेमाका मुख्य उपभोक्ता हो, जसलाई वामपन्थी दलको राजनीतिक सिद्धान्त, यसले लिएको आर्थिक नीति र परिकल्पना गरेको सामाजिक व्यवस्थासित कुनै सरोकार छैन ।

बारम्बार सत्तामा पुगेर कार्यान्वयन गर्न चुके पनि वामपन्थी दलहरूले सार्वजनिक विद्यालयको गुणस्तर सुधारलाई प्राथमिकता दिन छाडेका छैनन् । यो खासमा सक्षम, आत्मनिर्भर, दक्ष एवं स्वतन्त्र नागरिक तयार गर्ने राजनीतिक सोच हो, जसले व्यक्ति र परिवारको जीवनशैली, पेसा र वासस्थानका साथै उनीहरूको सोच, विचार र आबद्धता पनि बदल्छ । यो आफैंमा, कालान्तरमा मध्यमवर्गीय जनसंख्या जन्माउने राजनीतिक महत्वाकांक्षा हो, जसले राजनीतिक प्रतिबद्धताभन्दा तत्काल हुने सानातिना पारदर्शी सार्वजनिक कामका आधारमा दल र दलीय नेताहरूको मूल्यांकन गर्छ ।

प्रकाशित : माघ २३, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

छिटो न्याय कहिले ?

वर्षा झा

न्यायपालिकाले राजनीति र अन्य क्षेत्रबीच सीमा छुट्याउन नसक्दा संवैधानिक मर्यादा र व्यावसायिक मान्यता कमजोर भइरहेका छन् । परिणामतः न्यायिक सुशासनको चाहना झन् पर धकेलिँदै छ । यो जटिल समस्याका रूपमा पनि देखा परिरहेको छ । न्यायिक कुशासनका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक कारण हुन सक्छन्, जसका बारे खुलेर विमर्श हुनु जरुरी छ ।

संयुक्त राष्ट्र संघको एक अध्ययनले न्यून तलब, न्यायाधीशको प्रशासनिक प्रकृतिको मनोवृत्ति, अनियन्त्रित स्वविवेकीय अधिकार, कमजोर अनुगमन, न्यायिक अधिकारको दुरुपयोग, अपारदर्शिता, कम्प्युटर प्रविष्ट प्रणालीको अभाव लगायतलाई न्यायिक विकृतिको कारक भनेको छ । नेपालको सन्दर्भमा भने न्यायिक सुशासनका समस्या थोरै फरक छन् । उपभोक्ताले न्यायको अनुभूति गर्न नसक्नु, न्यायालयप्रति जनआस्था कम हुनु, ढिलो न्याय दिइनु, दण्ड–सजायमा अस्वाभाविक फरक हुनु, स्वविवेकीय अधिकारको बेमुनासिब प्रयोग हुनु, जनताको न्यायिक कारबाहीमा पहुँच नहुनु, धरौटी न्यायोचित नहुनु, निहित स्वार्थ द्वन्द्वको अवस्था रहनु, पक्ष वा कानुन व्यवसायीप्रति आग्रह र पूर्वाग्रह रहनु, कार्यपालिकाको पक्षमा अस्वाभाविक निर्णय हुनु, राजनीतिक आधारमा नियुक्ति गरिनुजस्ता सन्दर्भ मुख्य चुनौती हुन् ।

केही वर्षअघिको अन्तर्राष्ट्रिय बार एसोसिएसनको प्रतिवेदन अनुसार न्याय प्रणालीमा घूस र अनुचित राजनीतिक प्रभाव बढ्दै गएको छ । यसलाई भ्रष्टाचारजन्य व्यवहार पनि भनिएको छ । नेपालमा न्यायिक सुशासन र न्यायिक जनशक्ति व्यवस्थापन सम्बन्धमा उच्चस्तरीय न्यायिक सुधार आयोगको प्रतिवेदन–२०२८ देखि न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायहरूका सम्बन्धमा पेस गरेको प्रतिवेदन–२०७८ सम्मका अध्ययनहरूले न्यायालयभित्रको गुटबन्दी, बिचौलियाको बिगबिगी, आर्थिक लेनदेन, भनसुन, कोसेलीपात, गैरसरकारी संस्थाहरूसँगको अनपेक्षित संलग्नता, कानुनले निर्धारण गरको संख्यामा न्यायाधीशको पूर्ति हुन नसकेको, मुद्दा फर्छ्योटमा अत्यन्त ढिलाइ भएको, सेवाग्राहीमैत्री कार्यविधिको अभाव भएको लगायतका कमजोरी पहिचान गरेका छन् ।

यस्तोमा न्यायपालिकामा बढ्दै गइरहेको कार्यबोझलाई समेत सीमित स्रोतसाधनको समुचित प्रयोग गरी न्याय सेवा छिटो, छरितो, स्तरीय, जनोन्मुख र भरपर्दो बनाउनु आवश्यक छ । त्यस्तै न्यायमा जनताको सहज पहुँच बढाउनसमेत न्यायिक सुशासनका सम्पूर्ण अवयव अदालत र न्यायाधीशका अतिरिक्त न्याय सम्पादन सम्बन्धी अन्य मुद्दा हेर्ने निकाय, अधिकारी, कर्मचारी, सरकारी वकिल, निजी कानुन व्यवसायी, न्यायसँग सम्बद्ध सरोकारवालाको भूमिका प्रभावकारी हुनु जरुरी छ । न्यायिक सुशासन हुन न्याय दिने विधि पनि तार्किक र विवेकसम्मत हुनुपर्छ ।

न्यायपालिकाले निर्धारण गरेको लक्ष्य हासिल गर्न न्यायिक जनशक्तिको मनोबल उच्च राखी स्वतन्त्र र सक्षम न्यायपालिकाको अवधारणालाई प्रवर्द्धन गर्नुपर्छ । त्यसका लागि यसप्रति प्रतिबद्ध र दक्ष न्यायिक जनशक्तिको व्यवस्था गर्नु आवश्यक छ । न्यायिक प्रक्रियामा नैतिकता, सदाचार, निष्ठा, उत्तरदायित्व, पारदर्शिता र इमानदारीलाई प्रवर्द्धन गर्न तथा अनियमितता र ढिलासुस्तीको अन्त्य गरी कानुनप्रतिको भरोसालाई बलियो बनाउन सबै पक्ष लाग्नुपर्छ । न्यायमा सर्वसाधारणको पहुँचलाई प्रवर्द्धन गर्नु अहिलेको मुख्य चुनौती बनिरहेको छ । त्यस्तै न्यायिक जनशक्तिको मनोबल उच्च रहनुपर्छ । न्यायिक जनशक्तिमा जवाफदेही वहन गर्न सक्ने वातावरण बनाई शीघ्र र निष्पक्ष न्याय दिने आधारभूत दायित्व पनि पूरा भएको छैन ।

न्यायिक सुशासन कायम गर्नमा न्यायिक जनशक्तिको भूमिका प्रभावकारी हुन्छ । तिनको प्रोत्साहनको पाटोमा बढी लगानी गर्नुपर्छ । अदालतले काम गर्ने वातावरणमा पनि यसले सुधार ल्याउँछ । बढ्दो न्यायिक कार्यबोझलाई कम गर्दै लैजान्छ । कार्यसम्पादनको स्तरमा पनि वृद्धि हुन्छ । न्यायमा जनताको पहुँच बढाउन सक्नुले न्यायिक प्रणालीमाथि नै स्वाभाविक प्रश्न उठ्छ । न्यायिक कार्य छिटोछरितो सम्पन्न गर्नुलाई अनुत्पादक ठान्नु हुँदैन । न्यायिक वातावरण धमिलियो वा न्यायिक जनशक्तिबाट न्यूनतम क्षमता पनि प्रदर्शन भएन भने न्यायिक सुशासनमा क्षति पुग्ने नभई समग्र शासन व्यवस्थामै असर पर्न सक्छ ।

न्याय प्रशासन स्वयम् न्यायिक सुशासन सुनिश्चित गर्ने संयन्त्र हो । तसर्थ यसले न्यायिक जनशक्तिको मनोबल उच्च राखी विद्यमान निराशालाई चिर्नुपर्छ । काम गरे अनुरूप पुरस्कार वा दण्डको व्यवस्था गर्नुपर्छ । यसका लागि पर्याप्त बजेट विनियोजन गर्नु आवश्यक छ । अर्को भाषामा, न्यायपालिकालाई वित्तीय स्वायत्तता दिनुपर्छ । त्यत्तिकै महत्त्वपूर्ण विषय हो न्याय सम्पादनमा प्रविधिको प्रयोग । यसले मुद्दाको चापलाई पनि कम गर्न मद्दत गर्छ । अनुगमन तथा निरीक्षण प्रणालीलाई वैज्ञानिक बनाउनुका साथै न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका सर्त संघीय ऐन बमोजिम हुने संवैधानिक व्यवस्था अनुसार कानुन बनाउने गरी सेवाको विशिष्टीकरण गर्नु जरुरी छ । सेवा सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्नेतर्फ न्यायिक नेतृत्व गम्भीर हुने बेला आएको छ ।

प्रकाशित : माघ २३, २०७९ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×