सुशासनमा नचुकोस् सरकार- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुशासनमा नचुकोस् सरकार

बलराम केसी

स्वार्थी समर्थनको सरकार 
नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री पद आधा–आधा अवधि बाँड्ने सर्तमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल धारा ७६(२) को प्रधानमन्त्री नियुक्त भएको लामो समयपछि मन्त्रीपरिषद्ले पूर्णता पायो । 

सरकार गठन नाटकीय ढंगबाट भयो । दाहाल सत्ता गठबन्धनबाट चुनाव लडेर तेस्रो शक्ति बने । राष्ट्रपतिबाट धारा ७६(२) को सरकार गठनका लागि ७ दिनको समय दिइएको थियो । शेरबहादुर देउवाले पहिलो अवधि आफैं प्रधानमन्त्री बन्ने र राष्ट्रपति पद पनि नछाड्ने ढिपी लिएपछि सत्ता गठबन्धन टुट्यो । दाहाल ‘किङ मेकर’ थिए । ‘किङ मेकर’ लाई अर्को शक्तिकेन्द्र बालकोटले ‘हाइज्याक’ गरेर प्रधानमन्त्री बनाउन सक्छ भन्ने कांग्रेसले चाल पाएन । गठबन्धन जिल्लियो ।

अनेक दाउपेच गरेर, ‘दुस्मन का दुस्मन दोस्त होता है’ शैलीमा सरकार बन्यो । कांग्रेसको समर्थन नभईकन पनि सरकारले विश्वासको मत पाउने सुविधाजनक बहुमत थियो । तर कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएर ‘संसद् विपक्षीविहीन’ हुने हो कि भन्ने अवस्थामा देश पुग्यो ।

दुई ठूला दलले ‘स्थायित्व र राष्ट्रहित’ का लागि सरकारलाई विश्वासको मत दिएका होइनन्, दलीय स्वार्थका लागि हो । केपी ओलीको समर्थन ‘देश गरिब छ, पुनः अर्को आम निर्वाचनमा जान सम्भव हुँदैन, यही संसद्बाट देश चलाउनुपर्छ’ भन्ने स्वच्छ र पुनीत उद्देश्यले आएको होइन । दाहालसँग पहिलो अवधि आफैं प्रधानमन्त्री ‘बन्न र माग्न’ मिलेन । त्यसैले दोस्रो अवधि आफू प्रधानमन्त्री बन्ने सर्तमा ‘स्वार्थी समर्थन’ दिइयो । कांग्रेसको समर्थन पनि राजनीतिक स्थायित्वका लागि होइन, प्रधानमन्त्री पद फुत्के पनि राष्ट्रपति पद पाइन्छ कि भनेर अनावश्यक मत दिएर स्वार्थी गुन लगाएको हो ।

मौखिक वा लिखित समझदारी वा सम्झौता गरेर प्रधानमन्त्री पद ‘एड्भान्स बुकिङ’ गर्ने गलत परम्परा विकास भयो । प्रधानमन्त्री पदको न अवधि तोक्न मिल्छ, न एड्भान्स बुकिङ गर्न । संविधानले ५१ प्रतिशतले विश्वास गरिरहेको बहालवाला प्रधानमन्त्रीलाई मात्र चिन्छ । एड्भान्स बुकिङबाट २ वर्षपछि प्रधानमन्त्री बनुँला भनेर आस गरेको प्रधानमन्त्रीलाई २ वर्षपछि पनि चिन्दैन । संसद्मा ५१ प्रतिशत बहुमतले विश्वास गरुन्जेल बहुमतको, मिलीजुली, एक्लो ठूलो दलको र सानै दलको भए पनि नेतृत्व दिन सक्ने ‘क्यारिस्मेटिक’ प्रधानमन्त्रीलाई चिन्छ । प्रधानमन्त्री पदलाई अवधि भागबन्डा गर्ने मौखिक नै किन नहोस्, त्यस्तो तमसुक संविधानले चिन्दैन । विपक्षी दलका नेता देउवामा चेत आउनुपर्‍यो; वर्तमान सरकारले राम्रो काम गर्दै गएमा र ओलीले असंवैधानिक तमसुकका आधारमा सरकार गिराउने षड्यन्त्र रचेमा सरकारलाई समर्थन गरेर ५ वर्ष टिकाउनुपर्‍यो, तब महान् नेता भइन्छ ।

दाहालको नेतृत्व

आजको दिनमा बलियो गणितीय अंकको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका छन् । ओलीलाई प्रधानमन्त्री हुन हतार नहुन्जेल सरकारलाई समस्या नहोला । प्रधानमन्त्रीले केहीअघि चितवनमा सम्बोधन गर्दा भनेका कुराहरू व्यवहारमा उतारेमा देशलाई सुधार्न सक्छन् । ‘अर्थतन्त्रमा सुधार, भाषण कम, काम धेरै गर्छु, सुशासन र विकास गर्छु र भ्रष्टाचार र बेथितिको अन्त्य गर्छु’ भन्ने भनाइ महावाणीमा परिवर्तन हुनुपर्छ । चाहेकै यही हो । दाहालभन्दा अगाडिका दुई प्रधानमन्त्रीले कहिल्यै यस्तो भनेनन् । भ्रष्टाचारको नाम पनि लिएनन् ।

चितवनमा बोलेका कुरा नपुर्‍याउने छुट प्रधानमन्त्री दाहाललाई हुँदैन । पहिलो कार्यकालमा उनी उत्ताउलो र महत्त्वाकांक्षी भए । अनुशासित सेनालाई चलाए । ८० प्रतिशतभन्दा बढी हिन्दु नेपाली र विश्वकै हिन्दुहरूको आस्थाको केन्द्र भगवान् पशुपतिनाथमा हात हाले । मिडियाको मुख थुन्नेपट्टि लागे । ब्युरोक्रेसी नभए कुनै देश पनि चल्दैन, त्यहाँ पनि हात हाले । न्यायपालिकालाई पनि शत्रु देखे । आजका दिनमा उनले संसदीय अभ्यास राम्रै गरिसकेका छन् । आन्दोलन गर्ने, विरोध गर्ने, प्रणाली भत्काउने भएर सशस्त्र युद्धमा उनी पुल, भवन, बाटो आदि पड्काएर ‘डिमोलिसन एक्सपर्ट’ बने । अब ति बिर्सेर ‘रि–कन्स्ट्रक्सन एक्सपर्ट’ बन्नुपर्‍यो । दुई पटक सत्ता बीचैमा छाड्नुपरेकाले उनलाई शंकाको सुविधा अझै प्राप्त हुन्छ ।

दाहाललाई राम्ररी थाहा छ, माओको चीनमा आर्थिक विकास थिएन, प्रचार मात्र थियो । ‘ग्रेट लिप फरवर्ड’ भनेर झुक्याउने काम भयो । ‘आर्थिक विकासमा लामो फड्को’ भन्ने नारा थियो त्यो । माओ मरेपछि उत्तराधिकारी देङ स्याओपिङले आर्थिक उदारीकरण गरे । देश विकास गर्नु छ भने अमेरिकाको पुँजी, प्रविधि र बजार नभई सम्भव छैन भन्ने उनले बुझे । राजनीतिमा कट्टर कम्युनिस्ट उनले अर्थतन्त्रमा पश्चिमाले जस्तो उदारीकरण अवलम्बन गरे । भ्रष्टाचारीलाई सहेनन् । सरकारी सम्पत्ति दुरुपयोग गर्न दिएनन् । त्यसै गरी प्रधानमन्त्री दाहाल पनि अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि माओवादी केन्द्रको होइन, ‘नेकपा देङ स्याओपिङ केन्द्र’ को नेता बनिदिए भने धेरै सुधार हुन्छ ।

प्रधानमन्त्री दहालमा अर्को पनि जवाफदेही छ । उनलाई नपच्ला, तर बिनाकुनै अध्ययन संघीयता लागू गरियो । धर्मनिरपेक्ष बनाइयो, राजतन्त्र हटाइयो, जबकि राजतन्त्र लोकप्रिय थियो । अहिले भ्रष्टाचार संस्थाकरण भयो । पहिले एउटा राजा थिए; अहिले श्रीपेच नलागाउने, राज्याभिषेक नगर्ने, सरकारी ढुकुटी र सुविधा लुट्ने धेरै राजा भए । यी विकृतिहरूको अन्त्यका लागि प्रधानमन्त्री आफ्नो बोलीमा पक्का हुनुपर्‍यो ।

न्यूनतम साझा कार्यक्रम कुनै नयाँ होइन । प्रत्येक वर्ष संसद्सँग बजेट माग्न राष्ट्रपतिले सम्बोधन गर्ने कुराहरू न्युनतम साझा कार्यक्रममा दोहोर्‍याइएका छन् । सुझाव भनिएका कार्यहरू ‘आइडल ब्रेन इज अ डेभिल्स वर्कसप’ हुन् । सुझाव ‘जनता नबुझ्ने छन् वा राष्ट्रपतिको सम्बोधन जनताले बिर्सिए, जनतालाई मूर्ख बनाउन सकिन्छ’ भन्ने शैलीमा तयार भएको छ । सुझाव दिइएका कुराहरू ओलि दुई पटक प्रधानमन्त्री हुँदा लागू भैसक्नुपर्ने थियो । आज दिइएका सुझाव हिजो ओलीलाई लागू गर्न केले छेक्यो ? सुझावमा न्यायपालिका सुधारका लागि आयोग गठन गर्ने कुरा छ । प्रशासनलाई सक्षम बनाउन उच्चस्तरीय आयाग बनाउने कुरा छ । प्रधानमन्त्री भैसकेका व्यक्तिले धारा १३६ अनुसार अदालतमा सुधार गर्न प्रधान न्यायाधीशबाहेक सरकारले सक्दैन भन्ने बुझेनछन् । प्रशासन सुधारतर्फ, कार्य विभाजन नियम र सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन नियम र अन्य कानुन लागू गरिदिएमा सुझावका कुरा सबै समेटिन्छन् । सरकारले अदालतका लागि आयोग गठन गरिदिने हो भने न्यायमूर्ति हरिकृष्ण कार्कीको पछिल्लो प्रतिवेदन र त्यसभन्दा अगाडिका सबै प्रतिवेदन थन्किन्छन् । सुझाव कस्तो केटौले छ भने, पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिनुलाई पनि न्यूनतम साझा कार्यक्रम भनिएको छ । प्रधानमन्त्री दाहालले साझा कार्यक्रमलाई जानकारीमा नलिएर आफ्नै घोषणापत्र लागू गर्नुपर्‍यो । यसरी काम गर्नुपर्‍यो कि, ओलीले ‘अब मेरो पालो, कुर्सि छोड्नुपर्‍यो, होइन भने समर्थन झिक्छु’ भन्ने आँट गर्न नसकून् ।

दाहालको चितवन प्रतिज्ञा

समस्या बेरोजगारी हो, उपचार औद्योगिक/आर्थिक विकास हो । उद्योग स्थापना र सञ्चालनका समस्याहरू हटाउनुपर्‍यो । कानुनहरूको कमी होइन, प्रयोग र कार्यान्वयनमा समस्या हो । निजी क्षेत्रको लगानीबाट मात्र औद्योगिक विकास सम्भव हुन्छ, सरकारले उद्योग सञ्चालन गर्न हुँदैन भन्ने बुझेरै २०१८ सालमा उद्योगीलाई चाहिने आवश्यक सबै सुविधा दिने गरी औद्योगिक व्यवसाय ऐन बन्यो । त्यसलाई परिमार्जन गरेर हाल औद्योगिक व्यवसाय ऐन–२०७३ लागू छ । ऐनले उद्योगीलाई दिनुपर्ने सुविधा सबै दिन्छ, तर सरकार राजस्वमुखी भयो । उद्योगहरू स्थापना भएमा रोजगारी बढ्छ, निर्यात बढ्छ, विदेशी मुद्रा आर्जन हुन्छ भन्ने उद्देश्यले ऐन बन्यो, तर ‘रेड टेपिजम’, ‘बस्सिजम’, ‘अख्तियार’ र कर्मचारीमा जागिर जाला भन्नेजस्ता डरले उद्योगीले ऐनले दिएका सुविधाहरू पाउन पनि सर्वोच्च अदालत धाउनुपर्ने अवस्था उत्पन्न भयो । यी व्यवधान हटाउने हो भने विकास हुन्छ ।

भारतमा उदारीकरणअगाडि उद्योग स्थापना र सञ्चालन गर्न उद्योगीले ४८ वटाभन्दा बढी टेबल धाउनुपर्थ्यो । पीभी नरसिंह राव र डा. मनमोहन सिंहको टिमले त्यसलाई करिब १२ वटामा झार्‍यो । अनि भारतमा आर्थिक विकासले फड्को मार्दै गयो । नेपालमा पनि उद्योग वाणिज्य संघजस्ता उद्योगका विज्ञ संस्थाहरूको परामर्शमा ऐन लागू गर्ने दिशामा सरकारले सहजीकरण गर्नुपर्‍यो ।

सुशासन

पासपोर्ट, नागरिकता पाउनु आदि राज्यको बक्सिस, दान, निगाह वा मर्जी होइन; यी कागजात बिनाझन्झट पाउनु नेपालीको जन्मसिद्ध अधिकार हो । यी कागजात नेपाली नागरिकले सहजै पाउनुपर्छ । त्यस्तै, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका तल्लो दर्जाका जवानहरूलाई ठूलाहरूले दुरुपयोग गरेर भान्से, नोकर, चालकका रूपमा दास बनाइरहेका छन् । नेताहरूको हस्तक्षेपले प्रहरीको मनोबल गिर्न थालेको, प्रहरीलाई ठूला भनिएका कथित नेता लगायत अवकाशवालाहरूले घरेलु काममा लगाएर दास बनाएर अपमान र शोषण गर्दै आएको २०४७ यतादेखि नै हो । यस्तो कार्य अपराधीकरण हुने कानुन बनाउनुपर्‍यो । त्यस्तो कानुनको नाम ‘राष्ट्र्रसेवकलाई घरायसी काममा लगाउने निषेध गर्ने ऐन–२०७९’ राखौं । घरायसी काममा लगाउनुलाई अपराध र सजायको व्यवस्था गरौं । अमेरिका, बेलायत, फ्रान्सजस्ता देशहरूमा कोही पनि सीमा सुरक्षा गर्न र आफू संसारकै ‘बेस्ट फाइटिङ फोर्स’ बन्न सैन्य सेवामा प्रवेश गर्छ । प्रहरीको जिम्मेवारी देशमा अपराध नियन्त्रण र शान्ति–सुरक्षा कायम गर्नु हो । त्यसैले सैनिक र प्रहरीलाई घरायसी काममा लगाउनु मानव अधिकारको उल्लंघन र शोषण हो । अमेरिकामा ट्रम्प सरकारका विदेशमन्त्री माइक पाम्पिओले एक पटक सडकमा गाडी रोकेर आफ्नो सुरक्षाकर्मीलाई रेस्टुराँमा खाना किन्न पठाए । मिडियाले देख्यो, तहल्का मच्चियो । पद जोगाउन उनलाई मुस्किल पर्‍यो । हाम्रा ज–जसले प्रहरी र सैनिकलाई सरकारी कामबाट वञ्चित गरेर निजी ड्राइभर, भान्से, नोकरचाकर, सुसारे, बगैंचे काममा लगाएर दास बनाए, ती सबको नाम पनि सार्वजनिक गर्नुपर्‍यो, ताकि अरूले यस्तो दुस्साहस नगरून् ।

सरकारी ढुकुटीबाट रकम बाँड्नु अपराध

पछिल्लो महिना कान्तिपुर दैनिकले देउवाले सरकारी ढुकुटीबाट रकम बाँडेको बारेमा जनतालाई सुसूचित गर्‍यो । आज सरकारी ढुकुटीको रकम नेताहरू र तिनका आसेपासेका लागि ‘लुटको धन फुपूको श्राद्ध’ भैरहेको छ । रकम बाँड्नमा देउवा कहलिएका छन् । पूर्वराष्ट्र्रपति रामवरण यादव र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारी ढुकुटीबाट रकम लिएको सार्वजनिक भयो । झलनाथले त सर्प पाल्न पनि सरकारी ढुकुटीबाट लाखौं लिएका छन्, उपचारका नाममा त्यति नै रकम पाएका छन् । एउटा गरिबले जीविका चलाउन कुखुरा पाल्नुपर्‍यो भने बैंकमा घरै धितो राखेर, समयमा कर्जा नतिरेमा घर लिलाम गर्ने कडा सर्तको तमसुक गरेर चर्को ब्याजमा ऋण लिनुपर्छ, तर झलनाथका नाममा सर्प पाल्न सरकारी ढुकुटीबाट रकम पाउने ? यही हो न्याय ? ठूला भनिएकाले प्रधानमन्त्रीलाई फोन गरेको भरमा मागेजति रकम पाउँछन् । सापटी होइन, पचाउने गरी दिइन्छ । रकम स्वीकृति दिने प्रधानमन्त्रीलाई सरकारी ढुकुटीबाट रकम बाँड्ने अधिकार आफूमा छैन, त्यस्तो कार्य भ्रष्टाचार हो, दशा बिग्रियो भने जेल जानुपर्छ भन्ने पनि मतलब हुँदैन ।

ओलीले पनि उपचारका लागि लाखौं लिएका छन् । अरू सिटामोल नपाएर मर्छन्, उनी सरकारी खर्चमा मृगौला प्रत्यारोपण गरेर नयाँ जीवन पाउँछन् । उनले देशलाई के दिए, थाहा छैन । योगदान हेर्ने हो भने सायद शून्य होला । केही अगाडि ओली ‘मैले सबै सम्पत्ति सरकारलाई दिएँ, तपाईं पनि दिनुस्’ भन्दै थिए । यदि त्यसरी दिने हो भने सरकारी ढुकुटीबाट लिएको १ करोड ५८ लाख कटाएर बाँकी दान गरिदिए हुन्थ्यो नि !

सरकारी ढुकुटी नेताहरूबाट कसरी दुरुपयोग भैरहेको छ भने छोराछोरीले क्यासिनोमा गएर लाखौं हारे वा रक्सी खाएर लाखौं पर्ने मोटर ध्वस्त पारे भने, देउवाजस्ता दयालु प्रधानमन्त्री हुने हो भने, मागेको भरमा सबै नोक्सान सरकारी ढुकुटीबाट असुल गरे हुने भयो । कतिले त्यस्तो गरे पनि होलान् ।

प्रधानमन्त्रीज्यू, सरकारी ढुकुटीबाट रकम बाँड्नु कुशासन र भ्रष्टाचार दुवै हो । अति मनपरि भयो यसलाई रोक्न एउटा कानुन बनाऔं, जसको नाम ‘सरकारी ढुकुटीबाट रकम बाँड्ने काम अपराधीकरण गर्ने ऐन–२०७९’ रहोस् । यस अनुसार सरकारी ढुकुटीबाट रकम दिने देउवाजस्ता प्रधानमन्त्री र लिने दुवैलाई ६ महिनाभित्र रकम फिर्ता गर्ने समय दिने प्रावधान राखौं । ६ महिनामा फिर्ता नगरे १ वर्षभित्र सरकारी बाँकीसरह असुल गर्ने व्यवस्था पनि राखौं । त्यत्ति अवधिभित्र पनि असुल नभए दिने प्रधानमन्त्री र लिने व्यक्तिलाई भ्रष्टाचारमा मुद्दा चलाउने कानुन बनाउनुपर्‍यो । विलम्ब नगरी यही संसद्मा विधेयक पेस गरौं ।

त्यस्तै, नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था तत्काल खारेज गरौं । अहिले नीतिगत निर्णयमा मन्त्रिपरिषद्लाई घूस खान खुला छ । साथै, २०४९ यता अवकाश भएका र हालसम्म बहाल भएका कम्तीमा राजपत्रांकित ओहोदासम्मका राज्यका तीनै अंग (न्यायाधीशहरूसहित) का पदधारीहरूको सम्पत्ति छानबिन र स्रोत खुलाउने आयोग बनाऔं ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : माघ २२, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

अपांगताका सवालमा संसद् र सरकार

गजेन्द्र बुढाथोकी

नेपालमा अपांगताका सवालमा निकै कम मात्रै सार्वजनिक छलफल र बहसहरू हुने गरेका छन् । अझ खास गरी संसद् र सरकारका गतिविधिहरूमा यस्तो बहसले निकै कम ठाउँ पाउँछ ।

राजनीतिक दलहरू, चाहे सत्ताका सहभागी होऊन् वा बाहिर बसेका, अपांगताको मुद्दा तिनीहरूका लागि गौण रहेको कुरा २०७९ सालका स्थानीय, संघ र प्रदेशका निर्वाचनहरूमा देखियो । पहिलो त, अस्तित्वमा रहेको कुनै पनि राजनीतिक दलले संघीय संसद्का लागि कोही पनि अपांगता भएका व्यक्तिलाई आफ्नो समानुपातिक सूचीमा राखेन । प्रदेश सदस्यका लागि समानुपातिकमा राखिएकाहरूलाई पनि सांसद पदमा छान्ने बेलामा पन्छाइयो (अपवादमा राप्रपाले वाग्मती प्रदेशमा एक जनालाई सांसद बनायो) । निर्वाचन आयोगले त सकेसम्म अपांगता भएका मतदातालाई मताधिकारबाट समेत वञ्चित गराउने यत्न गरेको थियो । निर्वाचन आयोग देशभरि कति अपांगता भएका उम्मेदवार छन् भन्ने पक्षलाई अलग्गै राखेर कति अपांगता भएका मतदाता छन् भन्ने वास्तविकता आफ्नो जानकारीमै नभएको भन्दै पन्छियो । यो दायित्व कसको हो ? मतदाता नामावली कसले संकलन गर्छ ? वास्तवमा २०७४ सालको निर्वाचनमै आयोगले राजनीतिक दलहरूको सहमतिमा प्रदेशसभा निर्वाचनको अन्तिम घडीमा अपांगता भएका व्यक्तिको अनिवार्य २ प्रतिशत नाम हुनुपर्ने व्यवस्थालाई रातो रङ/टिपेक्स लगाएर मेटाइदिने काम गरेको थियो र त्यसका सट्टा अपांगता वा अल्पसंख्यक भन्ने क्लस्टर राखेर अपांगता भएका व्यक्तिको राजनीतिक प्रतिनिधित्व नै शून्य हुने अवस्था सृजना गरियो, जुन पूर्णत: असंवैधानिक कदम थियो । तर, यस विषयमा सबै राजनीतिक दलको सहमति देखिनुले अपांगता भएका समुदायप्रति तिनीहरूको गलत दृष्टिकोण उजागर भएको छ । यस्तो उपेक्षा भाव आखिर किन त ?

२०६८ सालको जनगणना अनुसार, जनसंख्याको लगभग २ प्रतिशत नेपाली कुनै न कुनै प्रकारको अपांगता भएको अवस्थामा छन् । यद्यपि, यो संख्या कम देखाइएको भन्दै अपांगता सम्बन्धी संस्था तथा सरोकारवालाहरूले आपत्ति जनाउँदै आएका छन् । किनकि, नेपालमा अपांगतालाई अस्वीकार गर्ने वा लुकाउने प्रवृत्तिका कारण धेरै अपांगता भएका व्यक्तिहरूको विवरण जनगणनामा सामेल नभएको तर्क गरिँदै आइएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार ६ दशमलव ३ प्रतिशत नेपालीले गम्भीर प्रकृतिको अपांगता बेहोरिरहेका छन् । यो सर्भेमा सहभागीमध्ये २२ दशमलव ५ प्रतिशतले अपांगता सम्बन्धी समस्या झेलिरहेको बताएका छन् ।

यसै गरी सेयरकास्ट इनिसियटिभ नेपालले युनिसेफका लागि गरेको अर्को सर्भेले ६ दशमलव ७ प्रतिशत नेपाली अपांगताको अवस्थामा रहेको देखाएको छ । यो सर्भे अनुसार सबैभन्दा धेरै अपांगता भएका व्यक्तिहरू कर्णाली प्रदेशमा १६ दशमलव ३ प्रतिशत छन् भने सबैभन्दा कम वाग्मती प्रदेशमा ३ दशमलव ९ प्रतिशत । प्रदेश १ मा ६ दशमलव ३ प्रतिशत, मधेश प्रदेशमा ५ दशमलव ७ प्रतिशत, गण्डकीमा ६ दशमलव ३ प्रतिशत, लुम्बिनीमा ६ दशमलव ७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १० दशमलव ७ प्रतिशत अपांगता भएका व्यक्ति छन् ।

जनगणनामा अपांगता लुकाउने, सही विवरण दर्ता नगर्ने–नदेखाउने प्रवृत्तिकै कारण कम संख्या देखिएको र यी दुई फरकफरक सर्भेले निकालेको लगभग एकै अनुपातले कम्तीमा ६ प्रतिशत नेपाली अपांगताको अवस्थामा भएको देखाउँछ । सेयरकास्ट इनिसियटिभ नेपालको सर्भेले गरिबी र अपांगताबीच नजिकको सम्बन्ध पनि देखाएको छ । यस अनुसार मासिक १० हजार रुपैयाँभन्दा कम आर्जन गर्ने परिवारमा ११ दशमलव २ प्रतिशत, मासिक १० देखि २० हजार रुपैयाँसम्म आर्जन गर्नेमा ८ दशमलव ४ प्रतिशत, मासिक २० देखि ३० हजार रुपैयाँ आर्जन गर्नेमा ७ प्रतिशत, ३० देखि ४० हजार रुपैयाँ आर्जन गर्नेमा ६ प्रतिशत र मासिक ४० हजार रुपैयाँभन्दा बढी आर्जन गर्नेमा ५ दशमलव १ प्रतिशत अपांगता देखिएको छ ।

नेपालमा अपांगता भएका व्यक्तिहरूले सामना गर्ने मुख्य चुनौतीहरूमध्ये एउटा पहुँचको अभाव हो । धेरै सार्वजनिक भवनहरू, यातायात र पूर्वाधारहरू अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य हुने गरी डिजाइन गरिएका छैनन् । यसले उनीहरूलाई दैनिक जीवनका क्रियाकलापमा मानवोचित ढंगले सहभागी हुन; शिक्षा, स्वास्थ्य लगायतका सेवा र रोजगारीजस्ता आवश्यक सेवाहरूमा पहुँच पाउन कठिनाइ उत्पन्न गर्दै आएको छ ।

अपांगता भएका व्यक्तिहरूले भोग्नुपरेको अर्को ठूलो चुनौती सामाजिक भेदभाव हो । नेपालमा अझै पनि अपांगता भएका व्यक्तिहरूलाई परिवार र समुदायको बोझका रूपमा हेर्ने प्रवृत्तिमा सुधार भएकै छैन । उनीहरूलाई उनीहरूका गैरअपांगता भएका साथीहरूलाई जस्तै शिक्षा, स्वास्थ्य, रोजगारीका अवसरहरू दिइँदैन । यसले पृथकीकरण र बहिष्करणलाई निम्त्याइरहेको छ, जसले उनीहरूका चुनौतीहरूलाई अझ बढाइरहेको छ ।

यी चुनौतीहरूका बावजुद नेपालमा अपांगता भएका व्यक्तिहरूको अवस्था सुधार गर्न केही प्रयास भएका छन् । सरकारले अपांगता भएका व्यक्तिको अधिकारको संरक्षण गर्ने उद्देश्यले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन–२०७४ लगायतका केही नीति तथा कानुन बनाएको छ । तर, नेपालमा अपांगता भएका व्यक्तिहरूले सांग व्यक्तिसरह मानव अधिकारको पूर्ण रूपमा उपभोग गर्न सकून् भन्ने सुनिश्चितताका लागि अझै धेरै काम गर्न बाँकी छ । यसमा कानुन र नीतिहरू लागू गर्ने, साथै अपांगता भएका व्यक्तिहरूप्रतिको सामाजिक दृष्टिकोण र विश्वासहरू परिवर्तन गर्नुपर्ने लगायतका विषय पर्छन् । यसबाट जीवनका सबै पक्षमा पहुँच र समावेशीकरण सुनिश्चित एवं आवश्यक सहयोग र सेवा उपलब्ध हुने हुन्छ ।

नेपाल अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघको महासन्धि (यूएनसीआरपीडी) को हस्ताक्षरकर्ता मुलुक भएका नाताले यो महासन्धिको कार्यान्वयनका लागि घरेलु कानुनहरूमा सुधार गर्नका लागि २०७४ सालमा अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन बनाइएको हो । यसअघि संविधानमा सामाजिक सुरक्षाको हक अन्तर्गत अपांगता भएका व्यक्तिहरूको अधिकारलाई सुरक्षित गरिएको थियो ।

यी कानुनी प्रावधानहरू र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूका बावजुद नेपालमा अपांगता भएका व्यक्तिको अवस्था नाजुक हुनुका धेरै कारण छन् ।

चेतना अभाव : अपांगता भएका व्यक्तिहरूलाई संविधान र कानुन अन्तर्गत प्रदान गरिएका अधिकार र सुविधाहरूका बारेमा समुदाय त कुरै छाडौं, सरकारी अधिकारीहरूमा पनि चेतनाको कमी छ । उदाहरणका लागि, अपांगता भएका व्यक्तिहरूको राजनीतिक प्रतिनिधित्वको व्यवस्थाबारे संविधानमै व्यवस्था भए पनि निर्वाचन आयोग र राजनीतिक दलहरू मिलेर त्यो प्रावधानलाई लत्याइदिएका छन् ।

न्यायमा सीमित पहुँच : अपांगता भएका व्यक्तिहरूले न्यायमा पहुँचका लागि प्राय: अवरोध सामना गर्दै आएका छन् । अदालतमा अपांगता भएका व्यक्तिलाई सकारात्मक विभेदका साथ हेर्ने संरचना छैन भने कानुनी सहायतामा पहुँचको कमी पनि छ । विशेषत: पछिल्ला दिनहरूमा विभिन्न किसिमका यौन दुर्व्यवहार, बलात्कारसम्मको सिकार हुँदै आएका अपांगता भएका किशोरी र महिलाहरूले न्यायसम्मको पहुँचमा समस्या भोग्दै आएका छन् ।

सीमित सरकारी स्रोत : सरकारी स्रोतहरू सीमित छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई तालुकवाला मन्त्रालय तोकिएको छ, जसको बजेट आफैंमा कम छ; त्यसमाथि त्यो मन्त्रालयले अपांगता मामिलामा छुट्याउने बजेट झनै कमजोर हुने गरेको छ । संघीयतापछि अपांगता भएका व्यक्तिहरूको कल्याण, हेरचाह र व्यवस्थापनको कार्य स्थानीय तहलाई सुम्पिइएको छ तर पालिकाहरू यसबारे कम जानकार छन् । पालिकाको बजेट बनाउँदा अपांगता कल्याण प्राथमिकतामा कहिल्यै पर्दैन । यसबाट अपांगता भएका व्यक्तिहरूलाई संरक्षण र सशक्तीकरण गर्ने उद्देश्यका कानुन र नीतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न कठिन हुँदै आएको छ ।

सामाजिक विभेद र अन्धविश्वासयुक्त परम्परा : नेपालमा अपांगतालाई पूर्वजन्मको पाप भन्ने वा यस्तै अरू कुनै नाममा कायम अन्धविश्वासयुक्त सामाजिक परम्पराहरूले त्यस्ता व्यक्तिको सामाजिक सामेलीकरणमा अवरोध पुर्‍याउँदै आएका छन् । अपांगता भएका व्यक्तिहरूले रोजगारी, शिक्षा र अन्य अवसरमा पहुँचमा प्राय: भेदभाव महसुस गर्दै आएका छन् । सामाजिक गतिविधिहरूमा सहभागी हुनबाट प्राय: विभेद बेहोर्दै आएका छन्, चाहे राजनीतिक सहभागितामा होस् वा अन्य प्रतिनिधित्वका सवालमै किन नहोस् ।

समन्वयको अभाव : प्राय: सरकारी निकायहरूबीच समन्वयको अभाव छ, अझ भनौं अपांगताको विषय र मुद्दा आउनेबित्तिकै जिम्मेवारी पन्छाउने प्रवृत्ति छ । यो ‘हाम्रो मन्त्रालय, विभाग, कार्यालय, आयोगको जिम्मेवारी होइन’ भनी अन्यत्र देखाउने, निर्णयहरूको स्वामित्व लिन नचाहने प्रवृत्तिका कारण अपांगता भएका व्यक्तिहरूको मानवोचित जीवन यापन गर्न पाउने अधिकार संकुचित तथा सेवा र सुविधाहरूसम्मको पहुँचमा अवरोध सृजना भइरहेको छ ।

यी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालले अपांगता भएका व्यक्तिहरूको अधिकारका बारेमा चेतना र शिक्षा बढाउन, अपांगता भएका व्यक्तिहरूका लागि थप स्रोतहरू उपलब्ध गराउन र सरकारी निकायहरूबीचको समन्वय सुधार गर्न आवश्यक छ । यस्तै, अपांगता भएका व्यक्तिहरूले सामना गर्ने भेदभाव र कलंकलाई रोक्न कदम चाल्नुपर्छ । समाजमा शिक्षा र चेतना बढाएर तथा निजी क्षेत्रहरूलाई अपांगता भएका व्यक्तिहरूको समावेशीकरण र रोजगारी प्रवर्द्धनमा प्रोत्साहित गरेर यस्तो उपलब्धि हासिल गर्न सकिन्छ ।

नेपालले अपांगता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा सुधार गर्न विकसित देशहरूका अनुभवलाई नमुना र प्रेरणाका रूपमा लिएर काम गर्न सक्छ । धेरै विकसित देशहरूमा अपांगता भएका व्यक्तिहरूलाई सहयोगका लागि सुदृढ सामाजिक सुरक्षा प्रणालीहरू बनाइएका छन् । यसमा प्राय: आर्थिक सहायता - जस्तै : अपांगता लाभ (डिस्याबिलिटी बेनिफिट्स) र पेन्सनसहित अन्य सहायता — का योजना हुन्छन्, जसमा पुन:स्थापना, शिक्षा र रोजगार कार्यक्रमहरू समावेश छन् । सरल रूपमा भन्नुपर्दा, अपांगता भएका व्यक्तिहरूको अधिकारको रक्षा गर्न र समाजका सबै पक्षमा उनीहरूको समावेशिता सुनिश्चित गर्नका लागि नीतिगत, कानुनीसँगै व्यवस्थापकीय प्रबन्ध गरिएको छ । उदाहरणका लागि, संयुक्त राज्य अमेरिकामा अमेरिकी अपांगता ऐन (एडीए) ले कार्यस्थलमा अक्षमता भएका व्यक्तिहरूविरुद्ध भेदभाव गर्न निषेध गर्छ । थप, सामाजिक सुरक्षा प्रशासनले सामाजिक सुरक्षा अपांगता बीमा (एसएसडीआई) र पूरक सुरक्षा आय (एसएसआई) जस्ता कार्यक्रमहरूमार्फत अपांगता भएका व्यक्तिहरूलाई आर्थिक सहायता प्रदान गर्छ । क्यानाडामा सरकारले अपांगता कर क्रेडिट र दर्ता गरिएको अपांगता बचत योजना (आरडीएसपी) जस्ता कार्यक्रमहरूमार्फत अपांगता भएका व्यक्तिहरूलाई आर्थिक सहयोग दिने गर्छ । अस्ट्रेलियामा सरकारले अक्षमता समर्थन पेन्सन र हेरचाह भुक्तानीजस्ता कार्यक्रमहरूमार्फत अपांगता भएका व्यक्तिहरूलाई आर्थिक सहायता प्रदान गर्छ ।

त्यस्तै, धेरै युरोपेली देशहरूमा अपांगता भएका व्यक्तिहरूका लागि व्यापक सामाजिक सुरक्षा प्रणालीहरू बनाइएका छन् । उदाहरणका लागि, बेलायतमा अपांगता भएकाहरूलाई आर्थिक सहायता प्रदान गर्ने अपांगता जीवन भत्ता (डीएलए) र व्यक्तिगत स्वतन्त्रता भुक्तानी (पीआईपी) छ । सन् २०१० को समानता ऐनले रोजगारी, शिक्षा, र सामान र सेवाहरूमा पहुँचजस्ता क्षेत्रमा अपांगता भएका व्यक्तिहरूविरुद्ध भेदभावलाई निषेध गर्छ ।

अपांगता भएका व्यक्तिहरूको समावेशीकरणका लागि निजी क्षेत्रले पनि भूमिका खेल्न सक्छ । धेरै विकसित देशहरूमा विशिष्ट प्रकारका कानुन र नियमहरू छन् जसले निजी कम्पनीहरूलाई कार्यस्थलमा अपांगता भएका व्यक्तिहरूलाई उचित आवासको व्यवस्था गर्न बाध्य तुल्याउँछन् । त्यहाँ धेरै निजी कम्पनीहरूले अपांगता भएका व्यक्तिहरूको समावेशीकरण र रोजगारीलाई प्रवर्द्धन गर्न आफ्नै पहल र कार्यक्रमहरू लागू गरेका छन् ।

दक्षिण एसियाली देशहरूका सन्दर्भमा, भारतमा अपांगता भएका व्यक्तिहरूको समावेशीकरण र सशक्तीकरणलाई समर्थन गर्न विभिन्न नीति र कानुनहरू छन् । उदाहरणका लागि, भारतमा अपांगता भएका व्यक्तिहरूको अधिकार ऐन–२०१६ छ, जसले शिक्षा, रोजगारी एवं वस्तु र सेवाहरूमा पहुँचका साथै अपांगता भएका व्यक्तिहरूविरुद्ध भेदभावलाई निषेध गर्छ । यसै गरी, भारत सरकारले अपांगता भएका व्यक्तिहरूलाई राष्ट्रिय पेन्सन योजनाजस्ता कार्यक्रमहरूमार्फत आर्थिक सहायताको व्यवस्था मिलाएको छ । तर, नेपालसहित अन्य दक्षिण एसियाली देशहरूमा पनि अपांगता भएका व्यक्तिहरूको समावेशीकरण, रोजगारी र सामाजिक सुरक्षाका लागि सरकारले गरेका प्रयासहरू विकसित देशहरूमा जत्तिकै बलिया छैनन् । फलस्वरूप यो समुदायको उत्थानका लागि चालिएका प्रयासहरूले झिनो उपलब्धि मात्रै हासिल गरेको देखिन्छ ।

नेपालमा सरकारले अपांगता भएका व्यक्तिहरूको समावेशीकरण, रोजगारी र सामाजिक सुरक्षालाई समर्थन गर्न नीति तथा कार्यक्रमहरू लागू गर्दै आएको छ । अपांगता सम्बन्धी राष्ट्रिय नीति र कानुनमार्फत अधिकार र सशक्तीकरणको व्यवस्था गरिएको छ । निजामती कर्मचारीको आरक्षित सिटमा अपांगता भएका व्यक्तिका लागि पनि ५ प्रतिशत कोटा छुट्याइएको छ । तर त्यस्ता कानुन र नीतिको कार्यान्वयन पक्ष कमजोर छ । त्यसैले नेपालका अपांगता भएका व्यक्तिहरूले सम्मानपूर्वक बाँच्न र सांग व्यक्तिसरह समान अवसरहरू उपभोग गर्न सकून् भन्ने सुनिश्चित गर्न सरकार, गैरसरकारी संस्थाहरू र समग्र समाजले मिलेर काम गर्न आवश्यक छ ।

अपांगता भएका व्यक्तिहरूको अवस्था सुधार्न सरकारले उनीहरूको अधिकारको संरक्षण गर्ने कानुन र नीतिहरूको कार्यान्वयन सुनिश्चित गर्नुपर्छ । हाल अपांगता भएका व्यक्तिलाई दिइँदै आइएको सामाजिक सुरक्षा भत्ता राम्रो थालनी भए पनि पर्याप्त छैन । विशेषत: पूर्ण र अति अशक्त अपांगता भएका व्यक्तिलाई दिइँदै आइएको सामाजिक सुरक्षा भत्ताबीच नै विभेद छ । अपांगताका सवालमा वैज्ञानिक वर्गीकरण नहुँदा स्पाइनल कर्ड इन्जुरीजस्तो गम्भीर प्रकृतिको अपांगतालाई ‘ख’ वर्गमा राखिएको हुँदा त्यस्ता व्यक्तिहरू राज्यबाट पाउनुपर्ने लाभ र सुविधाहरूबाट वञ्चित छन् । आवश्यकता र औचित्यका आधारमा अपांगता भएका, विशेषत: पूर्ण र अति अशक्त अपांगता भएका व्यक्तिका लागि मानवोचित जीवनयापन गर्न पुग्ने सामाजिक सुरक्षा भत्ता वा विकसित मुलुकहरूकै जस्तो ‘अपांगता लाभ’ को व्यवस्था गर्नुपर्छ । सामुदायिक पुन:स्थापना, शिक्षा र रोजगार कार्यक्रमहरूमा सहभागिता, पूर्ण करमुक्ति, स्वरोजगारको प्रवर्द्धनका लागि उचित नीतिगत व्यवस्थासँगै सरकारमार्फत अनुदानहरूको व्यवस्था गर्नुपर्छ । यसका साथै जीवनका सबै पक्षमा बाधारहित पहुँच र समावेशीकरणमा थप ध्यान दिनुपर्छ ।

संसद् र सरकारको भूमिका

अपांगता भएका व्यक्तिहरूको समावेशीकरण, सामाजिक सुरक्षा र रोजगारी प्रवर्द्धन गर्नका साथै उनीहरूविरुद्ध हुने भेदभावलाई सम्बोधन गर्न संसद् र तीनै तहका सरकारहरूको भूमिका महत्त्वपूर्ण छ । अपांगता भएका व्यक्तिहरूका लागि समावेशिता, उचित सामाजिक सुरक्षाको व्यवस्था, रोजगारी प्रवर्द्धन र भेदभावविरुद्धको संरक्षणका लागि कानुनी प्रावधानहरूको कार्यान्वयन सम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्न संसद्को भूमिका महत्त्वपूर्ण हुने गर्छ । सांसदहरूले अपांगता सम्बन्धी सरकारी नीति र कार्यक्रमहरूको नियमित समीक्षा र अनुगमन गरेर यी प्रावधानहरू कार्यान्वयनका लागि सरकारलाई जवाफदेह तुल्याउन सक्छन् । अझ संसद्ले अपांगता भएका व्यक्तिहरूको अधिकारको झनै प्रभावकारी ढंगले संरक्षणका लागि विद्यमान कानुनहरूमा सुधार गर्न, भएका नीतिहरूलाई बलियो बनाउन नयाँ कानुनहरूको तर्जुमा गर्न सक्छ । यसबाहेक, संसद्ले अपांगता भएका व्यक्तिहरूका लागि समावेशिता अभिवृद्धि र सामाजिक सुरक्षा योजनाहरूमा पर्याप्त बजेट विनियोजनका लागि दबाब सृजना गर्न सक्छ, र विनियोजन गरिएको बजेटको सही उपयोग भइरहेको छ कि छैन भनी यसरी निगरानी गर्न सक्छ-

- देशमा अपांगता भएका व्यक्तिहरूको जनसंख्याको सही तथ्यांक संकलन र रिपोर्टिङ सुनिश्चित गर्नुपर्छ । यो नियमित रूपमा बृहत् सर्वेक्षणहरू सञ्चालन गरेर गर्न सकिन्छ ।

- अपांगता भएका व्यक्तिहरूको अधिकारको रक्षा गर्ने र समाजका सबै पक्षमा उनीहरूको समावेशीकरणलाई प्रवर्द्धन गर्ने कानुन र नीतिहरूको कार्यान्वयनमा ध्यान केन्द्रित हुनुपर्छ । यसमा यी कानुन र नीतिहरूको अनुपालनका लागि सरकारी र निजी क्षेत्रका संस्थाहरूलाई जवाफदेह बनाउनुपर्छ र अपांगता भएका व्यक्तिहरूका लागि संविधान तथा कानुनप्रदत्त उनीहरूको अधिकार उल्लंघन भएमा कानुनी उपचारहरूमा पहुँचको सुनिश्चितता गर्नुपर्छ ।

- अपांगता भएका व्यक्तिहरूको अधिकारको रक्षा गर्ने र समाजमा उनीहरूको समावेशीकरणलाई प्रवर्द्धन गर्ने नीति र कानुनहरूको निर्माण र तिनको प्रभावकारी कार्यान्वयनमा संसद्ले विशेष ध्यान केन्द्रित गर्नु आवश्यक भइसकेको छ । अपांगता भएका व्यक्तिहरूका लागि पहुँच, शिक्षा, रोजगारी र स्वास्थ्य सेवा सम्बन्धी विशिष्टीकृत नीतिहरू बनाई तिनको कार्यान्वयनमा दबाब सृजनामा सांसदहरूको भूमिका रहन्छ ।

- अपांगता भएका व्यक्तिहरूको संविधानप्रदत्त राजनीतिक प्रतिनिधित्वका सवालमा सांसदहरूले नियमित रूपमा संसद्का बैठकहरू तथा संसदीय समितिका निर्णयमार्फत सरकार तथा निर्वाचन आयोगसहित अन्य जिम्मेवार आयोग र संयन्त्रहरूलाई निर्देशन दिनुपर्छ । सरकारी पदहरूमा नियुक्ति र संसद्मा सिट आरक्षणमार्फत सरकारी निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ ।

- अपांगता भएका व्यक्तिहरूलाई वित्तीय र अन्य रूपमा आवश्यकता र औचित्यका आधारमा विकसित मुलुकहरूमा सरह विशिष्ट प्रकृतिको अपांगता सम्बन्धी आर्थिक सहयोग (डिस्याबिलिटी बेनिफिट्स) तथा सामाजिक सुरक्षा बिमा सुविधा प्रदान गर्नका लागि नीति, नियम तथा कानुन तर्जुमा गर्नुपर्छ ।

- अपांगता भएका व्यक्तिहरूको समावेशीकरण र रोजगारी प्रवर्द्धनका लागि निजी क्षेत्रका कम्पनी र संस्थाहरूसँग सहकार्य गर्नुपर्छ ।

- अपांगता भएका व्यक्तिहरूलाई ह्वीलचेयर, सेतो छडीजस्ता सहयोगी सामग्रीहरू नि:शुल्क रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशित गर्नुपर्छ । त्यसका लागि पर्याप्त बजेट विनियोजन भए–नभएको सुनिश्चित गर्नुपर्छ र कार्यान्वयन तहमा समेत विशेष संसदीय संयन्त्र बनाई निगरानी गर्नुपर्छ ।

- अपांगता भएका महिलाहरूले लैंगिक हिसाबले सामना गर्न सक्ने विशिष्ट अवरोध र भेदभावहरूलाई सम्बोधन गर्नका लागि विशेष सुरक्षा प्रदान गर्न संसद्ले सरकारलाई निर्देशित गर्नुर्पर्छ । तीनै तहका सरकारहरूले यसको प्रबन्ध गर्नुपर्छ ।

- अपांगता भएका महिलाहरूमा विशेष ध्यान केन्द्रित गरी अपांगता भएका व्यक्तिहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्न स्पष्ट राष्ट्रिय नीति र रणनीति हुनुपर्छ । यो नीति अन्तर्राष्ट्रिय मापदण्ड र उत्कृष्ट अभ्यासहरूद्वारा निर्देशित हुनुपर्छ, जसमा सबैको पहुँच, सामाजिक सुरक्षा, शिक्षा, रोजगारी र स्वास्थ्य सेवाका प्रावधानहरू समावेश हुनुपर्छ ।

- अपांगता भएका व्यक्तिहरू सम्बन्धी नीति र कार्यक्रमहरूको प्रभावकारिताको नियमित रूपमा अनुगमन र मूल्यांकन गर्नुपर्छ । सुधारका लागि क्षेत्रहरू पहिचान गर्न उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्छ ।

- सार्वजनिक शिक्षा अभियानहरूमार्फत अपांगता सम्बन्धी मुद्दाहरूका बारेमा चेतना जगाउनुपर्छ ।

- समाजमा अपांगता भएका व्यक्तिहरूको सहभागितालाई प्रोत्साहन गर्नुपर्छ । जीवनका सबै पक्षमा उनीहरूको पूर्ण समावेशीकरणलाई बढावा दिनुपर्छ ।

- अपांगता भएका व्यक्तिका लागि समावेशिता अभिवृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका बारेमा अन्य देश र संस्थाहरूसँग साझेदारी गर्नुपर्छ ।

- नेपालमा अपांगता भएका व्यक्ति सम्बन्धी कानुनी प्रावधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यार्न्वयन सुनिश्चित गर्न, नेपाल सरकारले कानुन र नीतिहरूको पालना जाँच गर्न र उल्लंघन गर्नेहरूलाई कारबाही गर्न अनुगमन प्रणाली स्थापना गर्नुपर्छ । अपांगता भएका व्यक्तिहरूलाई सम्बद्ध अधिकार र संरक्षण गर्ने कानुनहरूबारे सचेत गराउनु पनि आवश्यक छ ।

- अपांगता भएका व्यक्तिविरुद्धको भेदभाव अन्त्य एवं संविधान तथा कानुनसम्मत अधिकारहरूको प्रयोग सुनिश्चित गर्न, सहायक सामग्रीहरूको उपलब्धता सुनिश्चित तुल्याउन स्रोत, साधन र अधिकारसम्पन्न अपांगता मामिला सम्बन्धी आयोग वा प्राधिकरण गठन गर्नु अत्यावश्यक भइसकेको छ ।

प्रदेश र स्थानीय सरकारको भूमिका

स्थानीय र प्रदेश सरकारहरूले पनि अपांगता भएका व्यक्तिहरूको समावेशीकरण र सामाजिक सुरक्षा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । तिनीहरूले सार्वजनिक भवनहरू, यातायात र अन्य पूर्वाधार पहुँचयोग्य बनाउने दिशामा एवं अपांगता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणका लागि पनि आफूसँग भएका स्रोत परिचालन गरेर अवसरहरू सृजना गर्न सक्छन् । जस्तो—

पहुँचयोग्य पूर्वाधार र सेवा : स्थानीय र प्रदेश सरकारहरूले आफ्नो अधिकार क्षेत्रभित्रका सार्वजनिक भवनहरू, यातायात र अन्य पूर्वाधार अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य हुने गरी डिजाइन गरिएको सुनिश्चित गर्नुपर्छ । सार्वजनिक भवनहरूमा र्‍याम्प, लिफ्टको व्यवस्थासहित अन्य सुविधाहरू उपलब्ध गराउनुपर्छ । सार्वजनिक यातायातलाई अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य बनाउनुपर्छ ।

अन्य सरकारी संयन्त्रहरूसँग समन्वय : अपांगता भएका व्यक्तिहरूलाई व्यापक सहयोग र पहुँचयुक्त सेवा प्रदान गर्नका लागि स्थानीय सरकारहरूले संघ तथा प्रदेश सरकार र समाज कल्याण परिषद् लगायतका एजेन्सीहरूसँग मिलेर काम गर्न सक्छन् । पालिकाहरूले आवश्यकता र औचित्यका आधारमा अतिरिक्त नगद वितरणमा आधारित सामाजिक सुरक्षा कार्यक्रम चलाउने; नि:शुल्क र पहुँचयुक्त स्वास्थ्य सेवा, शिक्षा र रोजगारी कार्यक्रमहरूमा पहुँच प्रदान गर्ने; पालिकाको सेवा सहज बनाउने लगायतका काम गर्नुपर्ने हुन्छ ।

सहायता र सेवाहरू सीधै उपलब्ध : स्थानीय र प्रदेश सरकारहरूले सामुदायिक केन्द्रहरू स्थापनाका साथै सीधै परामर्श र अन्य सहायता प्रदान गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ ।

चेतना वृद्धि/पैरवी : स्थानीय र प्रदेश सरकारहरूले स्थानीय समुदायभित्र अपांगता भएका व्यक्तिहरूले सामना गर्ने अधिकारजन्य मुद्दा र अन्य समस्याको समाधानका लागि सचेतना अभिवृद्धि गर्न र पैरवीका लागि प्रमुख भूमिका खेल्न सक्छन् । तिनीहरूले अपांगता भएका व्यक्तिहरूको मानवोचित अधिकार सुरक्षित गर्नका लागि समुदायस्तरमा जागरुकता बढाउन विभिन्न खालका अभियानहरू कार्यक्रम अघि सार्न सक्छन् ।

निजी क्षेत्रको भूमिका

नेपालले अपांगता भएका व्यक्तिको समावेशीकरण, रोजगारी र सामाजिक संरक्षणमा सुधार गर्न सक्ने मुख्य तरिकाहरूमध्ये निजी क्षेत्र तथा सामुदायिक संस्थाहरूसँग सहकार्य पनि एक हो । सरकारले अपांगता भएका व्यक्तिको समावेशीकरण र रोजगारी प्रवर्द्धन गर्न र तिनीहरूका कार्यस्थलहरू पहुँचयोग्य र समावेशी छन् कि छैनन् भन्ने सुनिश्चितताका लागि निजी कम्पनीहरू र संस्थाहरूसँग काम गर्न सक्छ । सरकारले अपांगता भएका व्यक्तिहरूलाई आफ्नो कार्यबलमा समावेश गर्न प्रयास गर्ने निजी कम्पनीहरूलाई कर सुविधा र अन्य प्रोत्साहन दिन सक्छ ।

विकसित देशहरूमा धेरै निजी क्षेत्रका कम्पनीहरूले अपांगता भएका व्यक्तिहरूको समावेशीकरण प्रवर्द्धन गर्न उत्कृष्ट अभ्यासहरू लागू गरेको पाइन्छ । निजी क्षेत्रले कार्यस्थल, बजार र समाजमा समावेशीकरणलाई समर्थन र प्रवर्द्धन गर्ने नीति, अभ्यास र कार्यक्रमहरू लागू गरेर अपांगता भएका व्यक्तिहरूको समावेशीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । जस्तो- पहुँच र आवास : निजी क्षेत्रका कम्पनीहरूले आफ्ना भवन, उत्पादन र सेवाहरू अपांगता भएका व्यक्तिका लागि पहुँचयोग्य होऊन् भनी सुनिश्चित गर्न सक्छन् ।

रोजगारीमा सहभागिता : निजी क्षेत्रका कम्पनीहरूले सक्रिय रूपमा अपांगता भएका व्यक्तिहरूलाई काममा लिन सक्छन् र रोजगारीमा नियुक्ति अभ्यासहरूले अपांगता भएका व्यक्तिविरुद्ध भेदभाव नहोस् भनी सुनिश्चित गर्न सक्छन् ।

कर्मचारीलाई सहयोग : निजी क्षेत्रका कम्पनीहरूले कार्यस्थलमा अपांगता भएका व्यक्तिहरूका लागि लचिलो कार्यव्यवस्था, सहायक प्रविधिहरू र अपांगता भएका कर्मचारीहरूका लागि आवासजस्ता सहायता र सेवा उपलब्ध गराउन सक्छन् ।

सामुदायिक र बजार संलग्नता : निजी क्षेत्रका कम्पनीहरूले अपांगता भएका व्यक्तिहरू र स्थानीय समुदायहरूसँग साझेदारी गरेर आफ्ना उत्पादन र सेवाहरू पहुँचयोग्य र समावेशी रहेको सुनिश्चित गर्न सक्छन् ।

नागरिक समाजको भूमिका

अपांगता भएका व्यक्तिहरूको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न नागरिक समाजको भूमिका महत्त्वपूर्ण छ । नागरिक समाज संगठनहरूले अपांगता भएका व्यक्तिहरूको अधिकारलाई सहयोग गर्ने कानुन र नीतिहरूको पैरवी गर्न सक्छन्, अपांगता भएका व्यक्तिहरूले सामना गर्ने समस्याहरूका बारेमा चेतना जगाउन सक्छन् । अपांगता भएका व्यक्तिहरू र उनीहरूका परिवारहरूलाई सेवा र सहयोग प्रदान गर्न सक्छन् । तिनीहरूले विकास कार्यक्रमहरूमा अपांगता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्न सरकार र निजी क्षेत्रसँग मिलेर काम गर्न सक्छन् । यस्तै, नागरिक समाज संगठनहरूले पनि अपांगता भएका व्यक्तिहरूलाई थप आत्मनिर्भर बन्न मद्दत गर्न सहयोग र स्रोतहरू उपलब्ध गराउन सक्छन् । समग्रमा, अपांगता भएका व्यक्तिहरूका अधिकार र आवश्यकताहरू पूरा गर्न तथा उनीहरूलाई समाजका सबै पक्षमा समावेश र एकीकृत गर्न नागरिक समाजको सक्रिय सहभागिता आवश्यक छ ।

यस्ता संस्थाहरूले सार्वजनिक स्थान र भवनहरूलाई अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य बनाउन सक्छन् भने अपांगता भएका व्यक्तिहरूलाई कार्यबलमा समावेश गर्न, उनीहरूको स्वरोजगारीका लागि तालिम र स्रोतहरू उपलब्ध गराउन सक्छन् । स्वास्थ्य सेवा र शिक्षाजस्ता सरकारले प्रदान गर्ने सामाजिक सेवाहरूमा अपांगता भएका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्न सामाजिक संस्थाहरूले भूमिका खेल्न सक्छन् ।

अन्त्यमा, अपांगता भएका व्यक्तिहरूको समावेशिता, अधिकार संरक्षण, सामाजिक सुरक्षा र रोजगारी एउटा महत्त्वपूर्ण मुद्दा हो जसलाई सरकार, निजी क्षेत्र र नागरिक समाज लगायत समाजका सबै क्षेत्रले सम्बोधन गर्न आवश्यक छ । सरकार, विशेष गरी संसद्का सदस्यहरूले अपांगता भएका व्यक्तिहरूको संरक्षण र कल्याणका लागि बनाइएका कानुनी प्रावधान र नीतिहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्नुपर्छ । साथै, पहुँचयोग्य पूर्वाधार निर्माणका साथै ह्वीलचेयर र सेतो छडीजस्ता सहायक सामग्रीहरू नि:शुल्क वा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन सबै पक्षले ध्यान दिनु जरुरी छ ।

बुढाथोकी अपांगता अधिकार पैरवीकर्ता हुन् ।

प्रकाशित : माघ २२, २०७९ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×