जग खुस्केको राजनीति- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जग खुस्केको राजनीति

सैद्धान्तिक विचलनका कारण राजनीति पाखण्डी भयो भने समाज पनि त्यस्तै हुन्छ । विचारको आवरणमा शक्तिको प्रतिस्पर्धा पाच्य बन्छ । वैचारिक वस्त्रबिनाको शक्तिको नांगो खिचातानीले समाजमा उच्छृंखलता बढाउँछ । नेताहरू राजनीतिज्ञ होइन, फगत ग्याङमुली हुन पुग्छन् ।
सृष्टि राणा

समकालीन नेपालको राजनीति मूल्यमान्यताविहीन हुँदै गएको हो कि भन्ने चिन्ता प्रायः सर्वत्र देखिन्छ । खास गरी नयाँ सरकारको गठनसँगै राष्ट्रपति चुनाव नजिक आइपुग्दासम्ममा नेपाली राजनीति सिद्धान्तविहीन, विचारविहीन र आदर्शविहीन भएको चिन्ता झन् बढ्न थालेको छ ।

यसले एउटा अनौठो प्रश्न उब्जाएको छ- जुन नेताहरूले आफ्नो जीवनको महत्त्वपूर्ण अंश वैचारिक आदर्शका लागि लगाए, उनीहरूले नै नेतृत्व गरिरहेका पार्टीहरूमा राजनीतिमा विचार किन खस्कँदै छ ?

हुन त सरकार सञ्चालनमा राजनीतिक सिद्धान्त कमजोर भएको प्रमाण विचारवान् नेताहरू धेरै पहिलेदेखि सत्ताबाट पाखा लाग्दै आउनुले पनि देखाउँछ, विगतमा पनि सरकार गठनमा सैद्धान्तिक धरातल कमजोर भएका उदाहरण प्रशस्त थिए, तर यस पटक भने चुनावदेखि नै विचारविहीन प्रतिस्पर्धा भएको विश्लेषण थियो । झन् चुनावपछि नयाँ सरकार बनाउने प्रक्रियामा त सैद्धान्तिक आधार शून्य नै देखियो । त्यसैले आज हाम्रो लोकतन्त्रको मुख्य खतरा नै राजनीतिमा बढ्दो सिद्धान्तविहीन शक्तिको प्रतिस्पर्धा भएको छ ।

सिद्धान्तको अन्तर्राष्ट्रिय बहस

पश्चिमी युरोपेली मुलुकहरू - जहाँ अहिले प्रचलित राजनीतिक सिद्धान्तहरूको उत्पत्ति भएको थियो - मा २१ औं शताब्दीको पहिलो दशकमा थप केही नयाँ बहसहरू सुरु भए । जस्तै, केहीले अब राजनीतिक सिद्धान्तको काम छैन भन्न थाले । २० औं शताब्दीका सिद्धान्तहरूले २१ औं शताब्दीका समस्याहरू समाधान गर्न सक्दैनन् । ती सिद्धान्त पिँजडा भएका छन्, जसले मानिसको सोचलाई बन्धक बनाएका छन् ।

यस विचारसँग सबै सहमत थिएनन् । राजनीतिक सिद्धान्तले नै राज्यलाई डोर्‍याउँछ, राज्यले कुन आर्थिक प्रणालीबाट स्रोत सृजना गर्ने, ती स्रोतहरूलाई कुन प्राथमिकतामा खर्च गर्नेजस्ता विषय राजनीतिक सिद्धान्तले मात्र निर्क्योल गर्न सक्छ भन्ने विचारधारा पनि बलियो थियो । तिनीहरूले राजनीतिक सिद्धान्तलाई अन्त्य गर्ने होइन कि समय सान्दर्भिक बनाउनुपर्ने तर्क राखे । फलस्वरूप युरोपका केही पार्टी आफ्नो सिद्धान्त परिमार्जन गर्नपट्टि लागे, सिद्धान्तको काम छैन भन्ने पार्टीहरूको पनि उदय भयो ।

युरोपेलीहरूलाई पनि परिवर्तन चाहिएको थियो । त्यसैले त्यहाँका केही देशमा सिद्धान्तरहित पार्टीहरू लोकप्रिय हुन थाले, विशेष गरी युवाहरूका बीचमा । उनीहरूले चुनावमा पनि राम्रो नतिजा ल्याए । एउटा लहरै आएजस्तो भयो । अब त सिद्धान्तहीन पार्टीहरूको ट्रेन्ड सुरु हुने हो कि जस्तो भयो । तर २१ औं शताब्दीको तेस्रो दशकमा भने त्यस्ता पार्टी कमजोर भइसकेका छन् । यो किनभने, राजनीतिक सिद्धान्त भनेको गन्तव्यमा पुर्‍याउने नक्साजस्तै हो । नक्सा भएन भने लक्ष्यमा पुग्न सम्भव हुँदैन ।

लोकतान्त्रिक देशहरूमा राजनीतिक सिद्धान्तले जनताको दैनिक जीवनमा प्रभाव पार्ने गर्छ । जस्तै, आफ्ना बच्चाहरूको पढाइको जिम्मा सरकारलाई दिने कि व्यापारीहरूलाई ? वा, दुवैमध्ये कुनै एकलाई रोज्ने मौका जनतालाई दिने ? यसको निर्क्योल राजनीतिक सिद्धान्तले मात्र गर्छ । उदारवादी मान्यता अनुसार, सरकारले निजी क्षेत्रलाई रोक्ने होइन कि प्रोत्साहन गर्ने वातावरण बनाइन्छ । समाजवादी मान्यता अनुसार, शिक्षाजस्तो विषय सरकारले नै जिम्मा लिन्छ । यदि कुनै सिद्धान्त नै छैन भने, यस्ता संवेदनशील निर्णयहरू के आधारमा गर्ने ? सिद्धान्त चाहिँदैन भन्ने युरोपेली पार्टीहरूले जनतासँग सीधा छलफल गरेर निर्णय गर्ने रणनीति अघि सारेका थिए । तर हरेक विषयमा जनतासँग प्रत्यक्ष छलफल गरेर समाधान गर्नु पनि व्यावहारिक भएन । बिस्तारै ती पार्टीहरूमा समस्या सुरु भयो अनि ती कमजोर हुँदै गए ।

नेपालको सन्दर्भ

नेपालको सन्दर्भ भने फरक छ । यहाँ राजनीतिक सिद्धान्त चाहिँदैन भन्ने होइन कि सिद्धान्तको प्रयोगमा इमानदार नहुने समस्या छ । कम्तीमा सिद्धान्त चाहिँदैन भन्यो भने, त्यो पनि कुनै हदसम्म सिद्धान्तविरोधी सिद्धान्त नै भयो, तर नेपालमा भने पार्टीको सिद्धान्त/विचार एकातिर, नीति/व्यवहार अर्कातिर देखिने समस्या छ । उदाहरणका लागि, सामाजिक सद्भाव खलबल्याएको निहुँमा एउटा कलाकारलाई अपराधीझैं पटकपटक जेलमा राखिन्छ । ऊ विवश भएर सार्वजनिक रूपमै रुने अवस्था आउँछ, तैपनि उदारवादी मान्यता बोकेको भनिएका दलहरूबाट फिटिक्कै अभिव्यक्ति स्वतन्त्रताको आवाज उठ्दैन । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा व्यापारीहरूले व्यापार मात्र होइन, लुट नै मच्चाउँदा पनि समाजवादी भनिने पार्टीहरू चुप बस्छन् ।

कहिलेकाहीँ परिस्थिति अनुसार सिद्धान्तमा सम्झौता गर्नु अनिवार्य हुन सक्छ । जस्तै, शान्तिप्रक्रियामा आउने क्रममा सात दल र माओवादीले आफ्ना केही सिद्धान्तमा सम्झौता गर्नुपरेको थियो । यद्यपि त्यसका पनि केही वैचारिक खोलहरू थिए । सात दलबाट शान्तिका लागि ‘सहमति, सहकार्य र राष्ट्रिय एकता’ को अवधारणा राखियो भने माओवादीबाट ‘लोकतान्त्रिक गणतन्त्र’ को । यी सम्झौताहरू निश्चित लक्ष्यसहित गरिएका थिए, तर पछिल्लो समय भने कुनै उद्देश्यका लागि होइन, शक्ति र स्रोतको भागबन्डाका लागि वा कहिलेकाहीँ त सीमित व्यक्तिगत महत्त्वाकांक्षाका लागि राजनीतिक सम्झौता गरिएको देखिन्छ, जसलाई उचित ठहर्‍याउने कुनै वैचारिक कवच नै हुँदैन ।

पुराना पार्टीहरूमा यस्तो समस्या छ भने, नयाँ पार्टीहरूको राजनीतिक विचार नै प्रस्ट छैन । जस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक दर्शन के हो ? दर्शनै नभई कसरी आदर्श बन्छ ? यसले राज्यको भूमिका सक्रिय चाहन्छ कि सीमित ? मनसाय जत्ति नै राम्रो भए पनि विद्यमान करको सुधारको खाका प्रस्तुत नगरी रास्वपाले कसरी ‘लोककल्याणकारी’ राज्य सम्भव बनाउन सक्छ ? राजनीतिक सिद्धान्तहरू बौद्धिक बहस मात्र होइनन्, जटिल राजनीतिलाई डोर्‍याउने व्यावहारिक साधन पनि हुन् । साधन नै स्पष्ट छैन भने कोही कसरी सफल हुन्छ ? भर्खरै रास्वपा सभापतिको नागरिकता प्रकरणले पनि त्यस संगठनमा विचारभन्दा व्यक्ति महत्त्वपूर्ण भएको देखाउँछ ।

सैद्धान्तिक विचलनको परिणाम

अब राजनीतिमा सैद्धान्तिक विचलनको असर के भएको छ भन्नेबारे चर्चा गरौं । जब कसैको विचार र व्यवहारमा प्रस्ट अन्तर आउन थाल्छ, तब त्यो पाखण्ड (हिप्फोत्रेसी) हुन्छ । राजनीति पाखण्ड भयो भने समाज पनि पाखण्डी हुन्छ । त्यस्तै विचारको आवरणमा शक्तिको प्रतिस्पर्धा पाच्य हुन्छ । तर विचारको वस्त्रबिना शक्तिको खिचातानी नांगो हुन्छ, जसले समाजमा उच्छृंखलता मात्र बढाउँछ । विचारबिनाको शक्ति प्रतिस्पर्धा दुई ग्याङबीच हुने प्रतिस्पर्धाभन्दा केही फरक हुँदैन र त्यसको नेता राजनीतिक नेता होइन, फगत ग्याङको नेता हुन पुग्छ ।

साथै सिद्धान्तविहीन राजनीतिमा मोलमोलाइ मात्र हुन्छ जसले मूल्यमान्यताविहीन समाज जन्माउँछ । यस्तो समाजमा पैसाका लागि बाबुआमाले छोराछोरीलाई बेच्नु वा पैसाका लागि श्रीमान्ले श्रीमतीलाई देहव्यापारमा लगाउनु सामान्य हुन सक्छ, किनभने मूल्यमान्यताले नै मानिसलाई यी कुकर्म गर्नबाट रोकेका हुन्छन् । सामाजिक मूल्यमान्यता नहुँदा हुन् त मानिसले मानिसलाई नै खाने समाज हुन्थ्यो होला ! यस्तो मूल्यमान्यताविहीन समाजमा लोकतन्त्र हुँदैन, यसको आवरण मात्र हुन्छ । किनभने लोकतन्त्र भनेको संस्था वा व्यवस्था मात्र होइन, सिद्धान्त र विचार हो । मूल्यमान्यता नभए लोकतान्त्रिक संरचनाहरू खोक्रा हुन्छन्, जसको कुनै अर्थ नै रहँदैन ।

व्यावहारिक कुरै गर्ने हो भने, राजनीतिमा सैद्धान्तिक विचलन आएकाले जनताले नीतिगत तहमा केही परिवर्तन नै महसुस गर्न सकेका छैनन् । अहिलेको राजनीतिमा त व्यक्तिव्यक्तिबीच प्रतिस्पर्धा भइरहेको छ । जो प्रधानमन्त्री भए पनि, जति नै फरक सिद्धान्त बोकेको दलको सरकार आए पनि, विकासका आधारभूत सवालहरूको जवाफ उस्तै हुन्छ, किनभने कुनै पनि पार्टी आफ्नो विचार अनुसार चल्दैनÙ सत्ता र स्रोत कायम राख्न जे गर्नुपर्छ त्यही गर्छ । जबकि जनताका समस्या समाधान गर्न विभिन्न पार्टीले आफ्नो फरक सिद्धान्त अनुसार फरक विकल्प दिनुपर्ने हो ।

केही प्रमुख नेताहरू सैद्धान्तिक एकरूपता कायम राख्न नसक्नुको कारण मिलीजुली सरकार भएकाले आफ्नो मात्रै पार्टीको विचार नचल्ने तर्क राख्छन् । तर यो बहानाको कुनै तुक छैन । किनभने युरोपका थुप्रै देशमा समानुपातिक निर्वाचन प्रणाली भएकाले मिलीजुली सरकार हुन्छ, तर त्यस्तो मिलीजुली सरकार मन्त्रालय भागबन्डा होइन, सिद्धान्तका आधारमा गठन हुन्छ । त्यसैले त्यहाँ मिलीजुली सरकार बन्दा प्रायः दुई धारको बन्छ, कि उदारवादी धार कि समाजवादी धार । यी दुवैबीचको मध्यम धारले पनि कहिलेकाहीँ सरकार बनाउँछ, तर नेपालमा जस्तो सैद्धान्तिक रूपमा परस्पर विरोधी धारले भने कहिल्यै सँगै सरकार बनाएको उदाहरण थाहा छैन ।

किन सैद्धान्तिक विचलन ?

नेपालमा भने किन यस्तो भएको होला भन्दा विभिन्न तर्क अगाडि सारिन्छन् । कतिले भन्छन्- नेपालको आफ्नो उत्पादन नभएर, हाम्रो आर्थिक कमजोरी भएर यस्तो भएको हो । जहाँ खान पुग्दैन, त्यहाँ केको मूल्यमन्यता ? यस कुरामा केही सत्यता होला, तर यो पूर्ण जवाफ होइन । नेपाल पहिले पनि धनी थिएन, तर विचार र सिद्धान्तका लागि यही देशमा कतिले त आफ्नो जीवन बलिदान गरेको इतिहास छ । त्यो बेला सम्भव भयो भने अहिले किन सम्भव नहुने ?

त्यस्तै, कसैले उदारवादी पुँजीवादलाई दोष दिन्छन् । बढ्दो उदारवादी पुँजीवादमा बजार र पैसाको मात्र महत्त्व हुन्छ, त्यहाँ राजनीतिक विचार र सिद्धान्त खस्कँदै जान्छ भन्ने तर्क अगाडि सारिन्छ । यो पनि चित्तबुझ्दो उत्तर लाग्दैन । किनभने उदारवादी पुँजीवाद पनि एउटा सिद्धान्त हो । यही सिद्धान्तमा कटिबद्ध भएर पश्चिमी देशहरूले आफ्नो तीव्र भौतिक विकास गरेका उदाहरण छन् । उनीहरू आफ्नो उदारवादको मान्यतामा सम्झौता गर्दैनन् । कसैले अभिव्यक्तिको स्वतन्त्रतामाथि प्रहार गर्‍यो भने उनीहरू संघर्ष गरिहाल्छन् । उदारवादी पुँजीवाद अपनाएको देशले सीमित सरकारको अवधारणालाई इमानदारीपूर्वक पालना गरेको देखिन्छ । त्यसैले पुँजीवादले सिद्धान्तविहीनता जन्माउँछ भन्ने बहाना पनि पत्याउन गाह्रो छ ।

नेपालमा मौलाउँदै गएको सिद्धान्तविहीनताका बहुआयामिक कारणहरू हुन सक्छन्, जुन राजनीतिक अनुसन्धाताहरूले पत्ता लगाउलान् । अहिलेका लागि के प्रस्ट छ भने, नेपालमा सैद्धान्तिक गन्जागोल सुधारेर मात्र काफी छैन । नयाँ सन्दर्भ अनुसार नयाँ विचार प्रस्तुत गर्न पनि आवश्यक छ ।

२१ औं शताब्दीको सान्दर्भिक विचार

२१ औं शताब्दीको दोस्रो दशकमा बनेको नेपालको संविधानले उदारवादी लोकतान्त्रिक मान्यताहरूसहितको समाजवादको परिकल्पना गरेको छ । तर अहिलेको सन्दर्भ अनुसार यसको स्पष्ट सैद्धान्तिक व्याख्या कुनै पनि राजनीतिक दलले गरेको छैन । विश्व र नेपालमै क्रान्तिकारी परिवर्तनहरू आउँदा पनि दलहरूको राजनीतिक सिद्धान्तमा भने नयाँ सन्दर्भ अनुसार खासै रूपान्तरण भएको छैन ।

२१ औं शताब्दीका केही नवीन विकासले २० औं शताब्दीका उदारवाद र समाजवादको राजनीतिक सिद्धान्तलाई चुनौती दिएका छन् । जस्तै, तीव्र विश्वव्यापीकरण र सूचना प्रविधिको विकासले युरोपबाट सुरु भएको ‘राज्य’ को अवधारणा नै असान्दर्भिक हो कि भन्ने बहस सृजना गरेको छ । यसले नागरिकताको सवालमा पनि नयाँ दृष्टिकोणको माग गर्छ । आप्रवासीको मुद्दाले अहिले उदारवादलाई ठूलो झट्का दिएको छ । त्यस्तै, बढ्दै गएको विकराल आर्थिक तथा डिजिटल असमानतालाई व्यवहारमा प्रतिकार गर्न समाजवादमा पनि नयाँ खाका चाहिएको छ । नेपालको हकमा पनि थुप्रै नयाँ प्रश्नहरू छन् । अहिलेको अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा धनी देशहरूले त आफ्नो सार्वभौमसत्ता जोगाउन सकेका छैनन् भने नेपालजस्तो अन्तर्राष्ट्रिय सहयोगमा निर्भर देशले कसरी आफ्नो सार्वभौमसत्ता कायम राख्ने ? आफ्नो निर्णय आफैं गर्न नसकेपछि कसरी लोकतन्त्रलाई सार्थक बनाउने ?

जलवायु संकटले पनि दुवै उदारवादी र समाजवादी चिन्तनलाई धक्का दिएको छ किनभने दुवै सिद्धान्तले यो समस्या समाधान गर्न सकेको देखिँदैन । उदारवादी पुँजीवादको सिद्धान्त - जसले उपभोक्तावादमा आधारित द्रुत आर्थिक वृद्धिलाई प्राथमिकता दिन्छ - ले त यो समस्यालाई झन् बढाएको देखिन्छ । समाजवादमा पनि वातावरणीय दृष्टिकोणले प्रमुखता पाएको छैन । नेपालका लागि यसले थुप्रै जटिल प्रश्न खडा गरेको छ । जलवायु परिवर्तनको समस्या - जसका लागि नेपालको कुनै दोष छैन तर जसले नेपाललाई असाध्यै असर गर्नेछ - मा कस्तो दृष्टिकोण राख्ने ? वातावरण संरक्षणको मूल्य नेपालले आफूलार्ई अत्यन्तै चाहिएको आर्थिक विकासको गति रोकेर चुक्ता गर्नुपर्‍यो भने के गर्ने ?

यी नयाँ प्रश्नहरूलाई सम्बोधन गर्न नेपालका राजनीतिक दलहरूले कि भएका सिद्धान्तहरूमा परिमार्जन गर्नुपर्नेछ कि त नयाँ सिद्धान्त र विचार अगाडि सार्नुपर्छ । सिद्धान्त व्यावहारिक, प्रस्ट र सान्दर्भिक नभएसम्म हामी अहिलेझैं गोलो घुमिरहेका हुनेछौं, अगाडि लम्कन सक्नेछैनौं । जग खुस्किएपछि घर गतिलो रहिरहँदैन भनेर त देशको बेथितिले नै देखाइसकेको छ ।

प्रकाशित : माघ २०, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्

संसदीय पुनर्जागरण कि प्रणाली परिवर्तनकै मनोविनोद ?

अरूलाई जवाफदेह बनाउने जनप्रतिनिधिमूलक संस्था आफैं कानुनी शासनको मातहत चल्ने सन्दर्भमा खरो उत्रन नसक्नु नितान्त दुःखदायी अवस्था हो ।
राजुप्रसाद चापागाईं

समस्याको कारक : चालक कि प्रणाली ?हामीले अपनाएको संसदीय व्यवस्था आफैंमा खराब होइन । सफल हुन यसका चालक/सञ्चालकमा प्रणालीले मागे अनुरूपको ज्ञान, विवेक, संस्कार र आचरण चाहिन्छ ।

यो पूर्वसर्त पूरा नहुँदा प्रणालीले राम्रो डेलिभर गर्न नसक्नु स्वाभाविक हो । यसलाई प्रणालीको असफलता मानिँदैन । उद्दण्ड चालकका हातमा जुनसुकै ब्रान्डको गाडी थमाए पनि दुर्घटना अवश्यम्भावी भएजस्तै नियति व्यवस्थाले पनि भोग्छ नै ।

सतहमा देखिएका समस्याहरू प्रणालीका खराबीसँग जोडिएका छन् वा यसका चालकहरूसँग ? आग्रह–पूर्वाग्रह नराखी निर्मम समीक्षा जरुरी छ । एक पटक विचार गरौं त, प्रणालीले दलहरू सत्ताका लागि नै सधैं सिँगौरी खेल भन्छ र ? संवैधानिक प्रयोजनविहीन विश्वासको मत प्रधानमन्त्रीलाई सुम्पेर भए पनि सत्तामा पुग्न च्याँखे थाप्नु र प्रमुख प्रतिपक्षको दाबी गर्न पनि लाज नमान्नु त प्रणालीले पक्कै भन्दैन नि ! सुशासनको प्रतिबद्धतालाई कागजमै थन्काऊ, रोजीरोजी स्वार्थबझान हुने गरी मन्त्रालयको जिम्मा लगाऊ पनि प्रणालीले भनेको थिएन होला !

त्यसै गरी, संसद् विघटनलाई एक पटक न्यायालयले अस्वीकार गरे पनि विघटन दोहोर्‍याएर बहादुरी प्रदर्शन गर भनेको थियो र प्रणालीले ? संसद्प्रतिको जवाफदेहीलाई छलेर चोर बाटोबाट अध्यादेश ल्याऊ, अभीष्ट पूरा गर र अध्यादेश राज चलाऊ पनि प्रणालीले भनेको होइन होला ! महाभियोगको प्रस्तावलाई गैरजिम्मेवारीपूर्वक मजाकको विषय बनाएर पचाइदेऊ त भन्दैन होला

प्रणालीले ! भाग पाइने भए संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नत्र गणपूरक संख्या नपुगेर नियुक्ति हुन नसके पनि बात लाग्दैन भन्छ र प्रणालीले ? अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकण गर्नु नेताको धर्म हो त पक्कै भन्दैन नि प्रणालीले ! नियन्त्रण र सन्तुलनको गहन अभिभारा बोकेका अंग र निकायमा जुनसुकै तिकडम गरेर भए पनि निकटस्थलाई पुर्‍याऊ, त्यो नै तिम्रो राजनीतिक सुरक्षाको आधार हो भन्छ र व्यवस्थाले ? राष्ट्रपति र सभामुखजस्तो गरिमामय पदमा बसे पनि निष्पक्ष बन्नुपर्दैन, दलीय पक्षधरता त कायमै राखे हुन्छ भन्दैन होला नि प्रणालीले !

दुर्भाग्य, प्रणालीले जे माग्दैन, हामी त्यहि गरिरहेका छौंÙ जे माग्छ, त्यो गरेका छैनौं । पछिल्लो घटनाक्रमले हामी सुध्रिने छनक देखाएको छैन । नयाँप्रतिको आशामाथि पनि उनीहरूबाटै तुषारपातको सुरुआत भएको छ । भनाइ र गराइबीच तादात्म्य छैन । आत्मसमीक्षा गर्ने र सुध्रिने गुण नेपाली राजनीतिज्ञहरूको डीएनएमै छैन कि जस्तो देखिएको छ । अर्थात्, डीएनएमा त्यो गुण भएकाहरूले राजनीतिमा यथोचित ठाउँ नपाएका पनि हुन सक्छन् ।

संसदीय प्रणाली त हाम्रोजस्तो विविधता र बहुलतायुक्त समाजका लागि विश्वव्यापी रूपमा रुचाइएकै प्रणाली हो । अनुभवका आधारमा संविधानसभाले परिमार्जनसहित अंगीकार गरेको हो । प्रणालीलाई दोष दिन अब छाड्नैपर्छ । चालक, सञ्चालक र परिचालकको अक्षमताÙ अविवेकीपन र कुसंस्कारका कारण सृजित समस्याको उपचार खोजिनुपर्छ । प्रणाली अनुरूपको संस्कार धारण नगर्ने तर प्रणाली मात्रै परिवर्तन गर्दै जाने जस्तो मूर्खता दोहोर्‍याउनु हुँदैन ।

सत्य कुरा के हो भने, जनप्रतिनिधिमूलक संस्थाको प्रभावकारी भूमिकाबिना कुनै प्रणाली सफल हुँदैन । व्यवस्था जुनसुकै नाम र स्वरूपको किन नहोस्, त्यसको आत्मा वा जीवन शक्ति भनेकै ‘जनप्रतिनिधित्व’ हो । जनप्रतिनिधिको धर्म र सत्कर्मको जगमै राज्यका बाँकी सबै अवयव सही मार्गमा अगाडि बढ्ने हुन् । जनताको वारेस नै जनप्रतिनिधिको धर्मबाट निर्देशित नहुने हो भने बाँकी अरूले लत्तो छाड्नु कुनै अनौठो मानिँदैन ।

विगतकै गति र मति कायम रहने हो भने अधोगतिको क्रम रोकिँदैन । उपलब्धिविहीनता जनाउन प्रयोग हुने कर्णाली क्षेत्रमा प्रचलित लोकोक्ति - केही दिन गया रिंग्दैफिर्दै केही दिन घट्ट पिस्दै - चरितार्थ पार्ने काम अब नहोस् ! यो आम मतदाताको कामना हो ! जननिवार्चित माननीयहरू शपथ अर्थात् सत्य–पथमा हिँडून् भन्ने आम अपेक्षा हो ! यो नै अग्रगतिको पूवसर्त हो ।

तसर्थ मुलुकलाई राजनीतिक प्रयोगशाला बनाउने सोच अब त्याग्नुपर्छ । एकपछि अर्को प्रणाली परिवर्तनको निरर्थक मनोविनोद होइन, देशलाई संसदीय प्रणालीको पुनर्जागरण चाहिएको छ । यसका मुख्य दुई पाटा छन्- प्रणालीले खोजेजस्तो संसदीय प्रतिपक्षीको संस्थागत विकास र संसद्को प्रभावकारी भूमिका तथा कार्यसम्पादनको सुनिश्चितता ।

व्यवस्थाले मागेको प्रतिपक्ष ?

अपवाद (जस्तै स्विट्जरल्यान्ड) बाहेक सबै संसदीय प्रणाली भएका देशमा विपक्षी दलको मान्यतालाई अंगीकार गरिएको छ । यो अत्यावश्यक ठानिनुको खास कारण छ । त्यो के भने, संसद्मा बहुमत कमान्ड गर्नेले नै सरकार पनि चलाउँछ । कार्यकारी र विधायिकि शक्तिबीच एक खालको फ्युजन हुन्छ । यस्तो स्थितिमा रचनात्मक प्रतिपक्ष सरकारको स्वेच्छाचारिता रोक्न कामयाबी हुन्छ । संसद्लाई यान्त्रिक र आलंकारिक बन्न दिँदैन । डेलिवेरेटिभ थलो बनाउँछ । बहुमतको आडमा तानाशाही लाद्ने स्थिति आउन दिँदैन भन्ने बुझाइ हो ।

राष्ट्रपतीय प्रणाली अपनाएका कतिपय देश (जस्तै- सेनेगल, मडागास्कर, नाइजर, श्रीलंका, युगान्डा, जाम्बिया र जिम्बावे) मा समेत विपक्षी दलको मान्यतालाई संस्थागत गर्ने प्रचलन बढ्दो छ । फरक यति मात्रै हो कि कहिलेकाहीँ राष्ट्रपतिकै दल पनि संसद्मा अल्पमतमा पर्न सक्छ । संसद्मा विपक्षीको बहुमत हुन सक्छ ।

सच्चा विपक्षी दल शक्ति दुरुपयोगको साझेदार बन्दैन, शक्ति दुरुपयोग रोक्छ । सरकारले कहिले गल्ती गर्ला र विरोध गरौंला भनेर पर्खेर बस्दैन । बरु गल्ती गर्नबाट सरकारलाई रोकेर जनहितको प्रवर्द्धन गर्न हरसम्भव प्रयत्न गर्छ । संवैधानिक नियन्त्रण र सन्तुलनलाई निरर्थक बनाउने वा भत्काउने होइन कि सार्थक बनाउँछ । यी सबै प्रक्रियामा विपक्षी दलको नेताले आफूलाई सरकारको प्रमुख निगरानीकर्ता र आलोचकका रूपमा उभ्याउँछ । डेलिवेरेटिभ प्रक्रियालाई मलजल गर्छ । भित्रभित्रै सरकारसँग गठजोड गरेर डेलिवेरेटिभ प्रक्रियाको जरा काट्दैन ।

लोकतन्त्र बहस, छलफल र वादविवादले चलायमान हुने हो । चलायमान लोकतन्त्रले नै जनताका आशा, निराशा, आकांक्षा, विरोध, समर्थन अभिव्यक्त गर्ने अवसर दिन्छ । त्यो प्रक्रियाको अगुवाइ विपक्षी दलले गर्छ । त्यसैले त विपक्षी दल र त्यसको नेता सदनभित्र र बाहिरका बहस र संवादको केन्द्रमा हुन्छन् ।

संसद्बाहिर पनि राजनीतिक दल र शक्तिहरू हुन्छन् । विपक्षी दल र त्यसको नेताले सदनबाहिरका शक्तिहरूलाई सदनसँग जोड्ने काम गर्छन् । वैध सरोकारलाई संसद्‌मा प्रवेश गराएर गैरसंसदीय विरोध अराजक र हिंसात्मक हुनबाट रोक्छन् । काउन्सिल अफ युरोपका सदस्य राष्ट्रहरूमा लोकतन्त्रको प्रवर्द्धनका

लागि रायसल्लाह दिँदै आएको भेनिस कमिसन (कमिसन फर डेमोक्रेसी थ्रु ल) ले संसद्मा सशक्त प्रतिपक्षको अभावमा ‘एक्स्ट्रा पार्लियामेन्टरी अपोजिसन’ सृजित हुने र त्यसको विरोधले सडकमा हिंसात्मक स्वरूप लिन सक्नेतर्फ सचेत गराएको छ । साथै सशक्त प्रतिपक्षीको उपस्थितिले संसदीय छलफलको सान्दर्भिकता र गुणस्तर बढाएर व्यवस्थापिकीय निर्णय प्रक्रियाको वैधता सुनिश्चित हुने जनाएको छ ।

सच्चा विपक्षी दल परनिर्भर हुँदैन । उसले सरकारले सृजना गरेको संसदीय कारबाहीमा मात्रै सहभागी हुने होइन कि आवश्यक परे स्वयंले बिजनेस सृजना गर्छ । सदनलाई त्यसमा इंगेज गराउँछ । विपक्षीको सोही भूमिकालाई मान्यता दिएर बेलायतमा हाउस अफ कमन्सको कार्यविधिमै विपक्षी दलको प्रस्तावउपर छलफल गर्न भनेरै अधिवेशनपिच्छे बीस दिन छुट्याउने व्यवस्था छ । तीमध्ये सत्र दिन प्रमुख प्रतिपक्षी र तीन दिन अन्य विपक्षी दलका प्रस्तावहरूमा छलफलका लागि उपयोग हुन्छन् । त्यसरी नै क्यानडामा बाइस दिन छुट्याइएको पाइन्छ । सन् २००९ मा विपक्षी लिबरल डेमोक्रेट्सको प्रस्तावमा छलफलपश्चात् सत्तारूढ लेबर पार्टीका सत्ताइस सांसदसमेतको समर्थनमा भूपू गोर्खा सैनिकलाई बेलायतीसरह अधिकार दिनुपर्ने प्रस्ताव पारित भएको दृष्टान्त छ । यस्ता तुलनात्मक अनुभवबाट पाठ सिकेर विपक्षी दलको भूमिका प्रवर्द्धन गर्न नसकिने होइन ।

चुनाव जनमतको बलमा दलहरूले एकअर्कालाई हराउन र आफू सत्तामा पुग्न हरसम्भव वैध प्रयत्न गर्न लोकतन्त्रले दिएको अवसर हो । त्यसपछि एकअर्काको अस्तित्वलाई आदर गर्ने राजनीतिक संस्कार अपेक्षित हुन्छ । जनहितका लागि नीति तथा कानुन निर्माणमा स्वस्थ प्रतिस्पर्धा गरेरै जनतामाझ आफूलाई स्थापित गर्न सकिने हो । सहिष्णु बन्ने र अवसरका लागि धैर्य गर्ने संस्कारबाटै प्रणालीको स्थायित्व र वैधता सुनिश्चित हुने हो । हाम्रोमा खड्केको कुरा यही हो । दलहरू मनग्य सुध्रन जरुरी छ ।

कस्तो संसद्, कस्ता सांसद : आलंकारिक कि हस्तक्षेपकारी ?

समाजवाद, सामाजिक न्याय, समतामूलक समृद्धि र दिगो विकास संविधानले निर्दिष्ट गरेका राष्ट्रिय अभीष्ट हुन् । तिनको व्यावहारिक प्राप्तितर्फ तहगत सरकारलाई हिँडाउने गहन जिम्मेवारी संघीय संसद्कै हो । सो अभिभारा पूरा गर्ने सन्दर्भमा खरो उत्रन सक्ने चलायमान र हस्तक्षेपकारी संसद् अहिलेको आवश्यकता हो । कार्यकारीको इच्छालाई यान्त्रिक वैधता दिने कठपुतली संस्थाले संवैधानिक अभीष्ट पूरा गर्दैन । तसर्थ सांसदहरू जाग्न जरुरी छ । संसद्लाई जगाउन जरुरी छ ।

लोकतन्त्रमा शासन सञ्चालन कानुनी राजको मातहत हुनुपर्छ । कानुनी राज भनेको ‘असल कानुन’ को राज हो । असल कानुन निर्माणले समय, बुद्धि, विचार, तर्क, विवेक र ऊर्जाको लगानी खोज्छ । सरकारले संसद्मा लग्ने मसौदा कानुन (विधेयक) व्यवस्थापिकीय प्रयोजनका लागि कच्चा पदार्थ मात्रै हो । त्यो अनेक आग्रह–पूर्वाग्रह, निहित स्वार्थ बोकेर संसद् छिरेको हुन सक्छ । गुणस्तरको चेकजाँच नगरी जस्तो कच्चा पदार्थ ल्याएको छ, त्यस्तै मेसिनमा हालेर उत्पादन निकाल्ने होइन । तथ्यपरक, तर्कसंगत विधायिकी परीक्षण र मूल्यांकन जरुरी हुन्छ । त्यसो गर्ने ल्याकत कानुननिर्माताहरूले राख्नुपर्छ । त्यो छैन भने आर्जन गर्नुपर्छ । कर्मचारीतन्त्रप्रतिको अत्यधिक निर्भरता राम्रो होइन । नागरिकस्तरमा रहेको विज्ञताको उपयोग पनि गर्न सक्नुपर्छ ।

विगतमा मौलिक हक कार्यान्वयन र अन्य प्रयोजनका लागि केही कानुन संसद्ले बनायो । तर ती संविधान कार्यान्वयनका लागि पर्याप्त नभएको, कानुन निर्माण प्रक्रिया डेलिवेरेटिभ हुन नसकेको, सरकारले हतपतमा ल्याएका विधेयकलाई प्रक्रियागत औपचारिकता दिने काम संसद्ले गरेको भन्ने आम गुनासो छ । कानुननिर्माताको भूमिका आलंकारिक बन्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ ।

अर्कातर्फ अध्यादेशको महामारी फैलिँदै गएको छ । संसद्लाई छलेर दलगत, गुटगत स्वार्थका लागि एकपछि अर्को अध्यादेश जारी गर्ने र निहित अभीष्ट पूरा गर्ने प्रवृत्ति हावी भएको छ । कानुनी राजको स्थान अध्यादेश राजले लिन थालेको छ । यसतर्फ माननीयहरू गम्भीर हुन जरुरी छ । जनसरोकारका विधेयकमा जनताको प्रतिक्रिया बुझ्ने प्रबन्ध नियमावलीमा छ । त्यसलाई कागजमै सीमित राख्ने गरिएको छ, कानुन तर्जुमा तथा निर्माणलाई सहभागितामूलक बनाउनेतर्फ ध्यान गएको देखिँदैन । सरकारले बिजनेस नदिएको भनेर टकटकिने प्रवृत्ति पनि हावी देखियो । गैरसरकारी विधेयक लाने शक्तिको अभ्यास दुरूह बन्यो । संघीयता कार्यान्वयन, संक्रमणकालीन न्याय, नागरिकता, राष्ट्रिय मानव अधिकार आयोग, सामाजिक न्याय लगायतका विषयमा कानुन निर्माण तथा सुधारले उच्च प्राथमिकता पाउनुपर्ने हो तर ती काम थाती नै छन् ।

कानुन बनाएर मात्रै पनि संसद्को भूमिका पूरा हुँदैन । संवैधानिक प्रयोजन अनुरूप कानुन कार्यान्वयन भयो कि भएन भनी निगरानी गर्ने प्रमुख अभिभारा पनि संसद्को हो । त्यसका लागि समिति प्रणाली अस्तित्वमा भए पनि प्रभावकारी हुन सकेको छैन । प्रभावकारी हुन सकेको भए २०७५ मा बनेका जनमुखी ऐनहरू (जस्तै- खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन–२०७५ तथा आवासको हक सम्बन्धी ऐन–२०७५) कार्यान्वयन गर्न बनाउनैपर्ने नियमावली अहिलेसम्म नबनाई सरकार हाइसन्चोमा बस्ने थिएन । सरकारलाई जवाफदेह बनाउन संसद् सफल हुन नसकेको यो प्रतिनिधिमूलक उदाहरण मात्रै हो । बेलायत लगायतका देशले कानुनको विधायनोत्तर अध्ययन (पोस्ट–लेजिस्लेटिभ स्क्रुटिनी) को प्रणाली नै संस्थागत गर्दै लगेका छन् । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले अभ्यासको थालनी गरेको भए पनि यो संस्थागत हुन सकेको छैन ।

राष्ट्रको जीवनमा दूरगामी महत्त्व राख्ने विषयहरूमा सार्थक नितिगत छलफल गरेर देशको दिशा र दशा बदल्ने थलो पनि संसद् नै हो । सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी छलफल औपचारिकतामा सीमित रहने गरेको छ । संक्रमणकालीन न्याय, सामाजिक न्याय, समाजवाद, आर्थिक तथा सामाजिक अधिकार, धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता, जातीय तथा लैंगिक भेदभाव, जलवायु परिवर्तन, कृत्रिम वौद्धिकता, बदलिँदो अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिवेशमा विदेशनीति, सीमा संरक्षणजस्ता विषयहरूले जनप्रतिनिधिहरूबीच घनीभूत छलफल माग गर्छन् । तर नीतिगत बहस छलफल गरेर स्पष्ट दिशानिर्देश गर्ने कुरामा खडेरी नै छ । कतिपय विषयमा बहस भैहाले पनि ती अध्ययन–अनुसन्धानमा आधारितभन्दा आग्रह–पूर्वाग्रहयुक्त बेतुकका हुने गरेका छन् ।

उल्लिखित पक्षका अतिरिक्त अरू धेरै पाटामा व्यापक सुधारको खाँचो छ । अरूलाई जवाफदेह बनाउने जनप्रतिनिधिमूलक संस्था आफैं कानुनी शासनको मातहत चल्ने सन्दर्भमा खरो उत्रन नसक्नु नितान्त दुःखदायी अवस्था हो । सांसदहरू नै हाजिर जनाएर टाप कस्ने गरेका, गणपूरक संख्या नपुगेर पटकपटक बैठक स्थगित गर्नुपरेका, सभामुखले नै दलीय स्वार्थको सेवा गर्न कतिपय प्रस्ताव/विधेयक उपरको छलफललाई अगाडि बढाउनबाट रोकेका जस्ता समस्याहरू यो वा त्यो रूपमा बाहिरिए । संसदीय कारबाहीमा स्वार्थको द्वन्द्वको समस्या पछिल्लो समय झाँगिँदै गएको छ । प्रभावकारी नियमन नगरिए यसले संसद्को वैधतामा दखल पुर्‍याउने नै छ ।

संवैधानिक परिषद्मा सदन र विपक्षी दलको प्रतिनिधित्व संवैधानिक नियुक्तिको स्वतन्त्रता र निष्पक्षताका लागि होÙ जनताका तर्फबाट नियन्त्रण र सन्तुलनको भूमिका खेल्न हो, दल वा गुटका तर्फबाट नियुक्तिमा भाग खोज्न होइन । तर त्यही भैरहँदा राज्यका महत्त्वपूर्ण संस्थाहरूले विश्वसनीयताको संकट भोग्दै आएका छन् । संसदीय सुनुवाइ र महाभियोगका सन्दर्भमा संसदीय कार्यसम्पादनको बेहाल जगजाहेर नै छ । न्यायालय र संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदन संसद्मा प्रस्तुत गर्ने प्रबन्धको गहन संवैधानिक प्रयोजन छ । तर औपचारिकताको निर्वाहबाहेक प्रतिवेदनउपर छलफल गरी सम्बन्धित निकायलाई जवाफदेह बनाएको उदाहरण देखिँदैन ।

अन्त्यमा, सांसदहरूले कानुननिर्माताको स्वमानमा स्थित भएर आफ्नो मन–बुद्धि सदनभित्रका कारबाहीहरूलाई तथ्यपरक, वस्तुगत, अनुसन्धानमा आधारित बनाउन लगाऊन् ! प्रदेश र स्थानीय व्यवस्थापिकीय कार्यका लागि संघीय संसद् प्रेरणादायी र अनुकरणीय बनोस् ! संघीय संसद्को विश्वसनीयता, वैधता र गरिमा पुनरुत्थान होस् । यसका लागि यथोचित कानुनी, संरचनागत, अभ्यासगत, आचरणगत र प्रविधिगत सुधारका उपायहरूको खोजी गरी कार्यान्वयनमा ल्याइयोस् ।

प्रकाशित : माघ २०, २०७९ ०६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×