संसदीय पुनर्जागरण कि प्रणाली परिवर्तनकै मनोविनोद ?- विचार - कान्तिपुर समाचार

संसदीय पुनर्जागरण कि प्रणाली परिवर्तनकै मनोविनोद ?

अरूलाई जवाफदेह बनाउने जनप्रतिनिधिमूलक संस्था आफैं कानुनी शासनको मातहत चल्ने सन्दर्भमा खरो उत्रन नसक्नु नितान्त दुःखदायी अवस्था हो ।
राजुप्रसाद चापागाईं

समस्याको कारक : चालक कि प्रणाली ?
हामीले अपनाएको संसदीय व्यवस्था आफैंमा खराब होइन । सफल हुन यसका चालक/सञ्चालकमा प्रणालीले मागे अनुरूपको ज्ञान, विवेक, संस्कार र आचरण चाहिन्छ ।

यो पूर्वसर्त पूरा नहुँदा प्रणालीले राम्रो डेलिभर गर्न नसक्नु स्वाभाविक हो । यसलाई प्रणालीको असफलता मानिँदैन । उद्दण्ड चालकका हातमा जुनसुकै ब्रान्डको गाडी थमाए पनि दुर्घटना अवश्यम्भावी भएजस्तै नियति व्यवस्थाले पनि भोग्छ नै ।

सतहमा देखिएका समस्याहरू प्रणालीका खराबीसँग जोडिएका छन् वा यसका चालकहरूसँग ? आग्रह–पूर्वाग्रह नराखी निर्मम समीक्षा जरुरी छ । एक पटक विचार गरौं त, प्रणालीले दलहरू सत्ताका लागि नै सधैं सिँगौरी खेल भन्छ र ? संवैधानिक प्रयोजनविहीन विश्वासको मत प्रधानमन्त्रीलाई सुम्पेर भए पनि सत्तामा पुग्न च्याँखे थाप्नु र प्रमुख प्रतिपक्षको दाबी गर्न पनि लाज नमान्नु त प्रणालीले पक्कै भन्दैन नि ! सुशासनको प्रतिबद्धतालाई कागजमै थन्काऊ, रोजीरोजी स्वार्थबझान हुने गरी मन्त्रालयको जिम्मा लगाऊ पनि प्रणालीले भनेको थिएन होला !

त्यसै गरी, संसद् विघटनलाई एक पटक न्यायालयले अस्वीकार गरे पनि विघटन दोहोर्‍याएर बहादुरी प्रदर्शन गर भनेको थियो र प्रणालीले ? संसद्प्रतिको जवाफदेहीलाई छलेर चोर बाटोबाट अध्यादेश ल्याऊ, अभीष्ट पूरा गर र अध्यादेश राज चलाऊ पनि प्रणालीले भनेको होइन होला ! महाभियोगको प्रस्तावलाई गैरजिम्मेवारीपूर्वक मजाकको विषय बनाएर पचाइदेऊ त भन्दैन होला

प्रणालीले ! भाग पाइने भए संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नत्र गणपूरक संख्या नपुगेर नियुक्ति हुन नसके पनि बात लाग्दैन भन्छ र प्रणालीले ? अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकण गर्नु नेताको धर्म हो त पक्कै भन्दैन नि प्रणालीले ! नियन्त्रण र सन्तुलनको गहन अभिभारा बोकेका अंग र निकायमा जुनसुकै तिकडम गरेर भए पनि निकटस्थलाई पुर्‍याऊ, त्यो नै तिम्रो राजनीतिक सुरक्षाको आधार हो भन्छ र व्यवस्थाले ? राष्ट्रपति र सभामुखजस्तो गरिमामय पदमा बसे पनि निष्पक्ष बन्नुपर्दैन, दलीय पक्षधरता त कायमै राखे हुन्छ भन्दैन होला नि प्रणालीले !

दुर्भाग्य, प्रणालीले जे माग्दैन, हामी त्यहि गरिरहेका छौंÙ जे माग्छ, त्यो गरेका छैनौं । पछिल्लो घटनाक्रमले हामी सुध्रिने छनक देखाएको छैन । नयाँप्रतिको आशामाथि पनि उनीहरूबाटै तुषारपातको सुरुआत भएको छ । भनाइ र गराइबीच तादात्म्य छैन । आत्मसमीक्षा गर्ने र सुध्रिने गुण नेपाली राजनीतिज्ञहरूको डीएनएमै छैन कि जस्तो देखिएको छ । अर्थात्, डीएनएमा त्यो गुण भएकाहरूले राजनीतिमा यथोचित ठाउँ नपाएका पनि हुन सक्छन् ।

संसदीय प्रणाली त हाम्रोजस्तो विविधता र बहुलतायुक्त समाजका लागि विश्वव्यापी रूपमा रुचाइएकै प्रणाली हो । अनुभवका आधारमा संविधानसभाले परिमार्जनसहित अंगीकार गरेको हो । प्रणालीलाई दोष दिन अब छाड्नैपर्छ । चालक, सञ्चालक र परिचालकको अक्षमताÙ अविवेकीपन र कुसंस्कारका कारण सृजित समस्याको उपचार खोजिनुपर्छ । प्रणाली अनुरूपको संस्कार धारण नगर्ने तर प्रणाली मात्रै परिवर्तन गर्दै जाने जस्तो मूर्खता दोहोर्‍याउनु हुँदैन ।

सत्य कुरा के हो भने, जनप्रतिनिधिमूलक संस्थाको प्रभावकारी भूमिकाबिना कुनै प्रणाली सफल हुँदैन । व्यवस्था जुनसुकै नाम र स्वरूपको किन नहोस्, त्यसको आत्मा वा जीवन शक्ति भनेकै ‘जनप्रतिनिधित्व’ हो । जनप्रतिनिधिको धर्म र सत्कर्मको जगमै राज्यका बाँकी सबै अवयव सही मार्गमा अगाडि बढ्ने हुन् । जनताको वारेस नै जनप्रतिनिधिको धर्मबाट निर्देशित नहुने हो भने बाँकी अरूले लत्तो छाड्नु कुनै अनौठो मानिँदैन ।

विगतकै गति र मति कायम रहने हो भने अधोगतिको क्रम रोकिँदैन । उपलब्धिविहीनता जनाउन प्रयोग हुने कर्णाली क्षेत्रमा प्रचलित लोकोक्ति - केही दिन गया रिंग्दैफिर्दै केही दिन घट्ट पिस्दै - चरितार्थ पार्ने काम अब नहोस् ! यो आम मतदाताको कामना हो ! जननिवार्चित माननीयहरू शपथ अर्थात् सत्य–पथमा हिँडून् भन्ने आम अपेक्षा हो ! यो नै अग्रगतिको पूवसर्त हो ।

तसर्थ मुलुकलाई राजनीतिक प्रयोगशाला बनाउने सोच अब त्याग्नुपर्छ । एकपछि अर्को प्रणाली परिवर्तनको निरर्थक मनोविनोद होइन, देशलाई संसदीय प्रणालीको पुनर्जागरण चाहिएको छ । यसका मुख्य दुई पाटा छन्- प्रणालीले खोजेजस्तो संसदीय प्रतिपक्षीको संस्थागत विकास र संसद्को प्रभावकारी भूमिका तथा कार्यसम्पादनको सुनिश्चितता ।

व्यवस्थाले मागेको प्रतिपक्ष ?

अपवाद (जस्तै स्विट्जरल्यान्ड) बाहेक सबै संसदीय प्रणाली भएका देशमा विपक्षी दलको मान्यतालाई अंगीकार गरिएको छ । यो अत्यावश्यक ठानिनुको खास कारण छ । त्यो के भने, संसद्मा बहुमत कमान्ड गर्नेले नै सरकार पनि चलाउँछ । कार्यकारी र विधायिकि शक्तिबीच एक खालको फ्युजन हुन्छ । यस्तो स्थितिमा रचनात्मक प्रतिपक्ष सरकारको स्वेच्छाचारिता रोक्न कामयाबी हुन्छ । संसद्लाई यान्त्रिक र आलंकारिक बन्न दिँदैन । डेलिवेरेटिभ थलो बनाउँछ । बहुमतको आडमा तानाशाही लाद्ने स्थिति आउन दिँदैन भन्ने बुझाइ हो ।

राष्ट्रपतीय प्रणाली अपनाएका कतिपय देश (जस्तै- सेनेगल, मडागास्कर, नाइजर, श्रीलंका, युगान्डा, जाम्बिया र जिम्बावे) मा समेत विपक्षी दलको मान्यतालाई संस्थागत गर्ने प्रचलन बढ्दो छ । फरक यति मात्रै हो कि कहिलेकाहीँ राष्ट्रपतिकै दल पनि संसद्मा अल्पमतमा पर्न सक्छ । संसद्मा विपक्षीको बहुमत हुन सक्छ ।

सच्चा विपक्षी दल शक्ति दुरुपयोगको साझेदार बन्दैन, शक्ति दुरुपयोग रोक्छ । सरकारले कहिले गल्ती गर्ला र विरोध गरौंला भनेर पर्खेर बस्दैन । बरु गल्ती गर्नबाट सरकारलाई रोकेर जनहितको प्रवर्द्धन गर्न हरसम्भव प्रयत्न गर्छ । संवैधानिक नियन्त्रण र सन्तुलनलाई निरर्थक बनाउने वा भत्काउने होइन कि सार्थक बनाउँछ । यी सबै प्रक्रियामा विपक्षी दलको नेताले आफूलाई सरकारको प्रमुख निगरानीकर्ता र आलोचकका रूपमा उभ्याउँछ । डेलिवेरेटिभ प्रक्रियालाई मलजल गर्छ । भित्रभित्रै सरकारसँग गठजोड गरेर डेलिवेरेटिभ प्रक्रियाको जरा काट्दैन ।

लोकतन्त्र बहस, छलफल र वादविवादले चलायमान हुने हो । चलायमान लोकतन्त्रले नै जनताका आशा, निराशा, आकांक्षा, विरोध, समर्थन अभिव्यक्त गर्ने अवसर दिन्छ । त्यो प्रक्रियाको अगुवाइ विपक्षी दलले गर्छ । त्यसैले त विपक्षी दल र त्यसको नेता सदनभित्र र बाहिरका बहस र संवादको केन्द्रमा हुन्छन् ।

संसद्बाहिर पनि राजनीतिक दल र शक्तिहरू हुन्छन् । विपक्षी दल र त्यसको नेताले सदनबाहिरका शक्तिहरूलाई सदनसँग जोड्ने काम गर्छन् । वैध सरोकारलाई संसद्‌मा प्रवेश गराएर गैरसंसदीय विरोध अराजक र हिंसात्मक हुनबाट रोक्छन् । काउन्सिल अफ युरोपका सदस्य राष्ट्रहरूमा लोकतन्त्रको प्रवर्द्धनका

लागि रायसल्लाह दिँदै आएको भेनिस कमिसन (कमिसन फर डेमोक्रेसी थ्रु ल) ले संसद्मा सशक्त प्रतिपक्षको अभावमा ‘एक्स्ट्रा पार्लियामेन्टरी अपोजिसन’ सृजित हुने र त्यसको विरोधले सडकमा हिंसात्मक स्वरूप लिन सक्नेतर्फ सचेत गराएको छ । साथै सशक्त प्रतिपक्षीको उपस्थितिले संसदीय छलफलको सान्दर्भिकता र गुणस्तर बढाएर व्यवस्थापिकीय निर्णय प्रक्रियाको वैधता सुनिश्चित हुने जनाएको छ ।

सच्चा विपक्षी दल परनिर्भर हुँदैन । उसले सरकारले सृजना गरेको संसदीय कारबाहीमा मात्रै सहभागी हुने होइन कि आवश्यक परे स्वयंले बिजनेस सृजना गर्छ । सदनलाई त्यसमा इंगेज गराउँछ । विपक्षीको सोही भूमिकालाई मान्यता दिएर बेलायतमा हाउस अफ कमन्सको कार्यविधिमै विपक्षी दलको प्रस्तावउपर छलफल गर्न भनेरै अधिवेशनपिच्छे बीस दिन छुट्याउने व्यवस्था छ । तीमध्ये सत्र दिन प्रमुख प्रतिपक्षी र तीन दिन अन्य विपक्षी दलका प्रस्तावहरूमा छलफलका लागि उपयोग हुन्छन् । त्यसरी नै क्यानडामा बाइस दिन छुट्याइएको पाइन्छ । सन् २००९ मा विपक्षी लिबरल डेमोक्रेट्सको प्रस्तावमा छलफलपश्चात् सत्तारूढ लेबर पार्टीका सत्ताइस सांसदसमेतको समर्थनमा भूपू गोर्खा सैनिकलाई बेलायतीसरह अधिकार दिनुपर्ने प्रस्ताव पारित भएको दृष्टान्त छ । यस्ता तुलनात्मक अनुभवबाट पाठ सिकेर विपक्षी दलको भूमिका प्रवर्द्धन गर्न नसकिने होइन ।

चुनाव जनमतको बलमा दलहरूले एकअर्कालाई हराउन र आफू सत्तामा पुग्न हरसम्भव वैध प्रयत्न गर्न लोकतन्त्रले दिएको अवसर हो । त्यसपछि एकअर्काको अस्तित्वलाई आदर गर्ने राजनीतिक संस्कार अपेक्षित हुन्छ । जनहितका लागि नीति तथा कानुन निर्माणमा स्वस्थ प्रतिस्पर्धा गरेरै जनतामाझ आफूलाई स्थापित गर्न सकिने हो । सहिष्णु बन्ने र अवसरका लागि धैर्य गर्ने संस्कारबाटै प्रणालीको स्थायित्व र वैधता सुनिश्चित हुने हो । हाम्रोमा खड्केको कुरा यही हो । दलहरू मनग्य सुध्रन जरुरी छ ।

कस्तो संसद्, कस्ता सांसद : आलंकारिक कि हस्तक्षेपकारी ?

समाजवाद, सामाजिक न्याय, समतामूलक समृद्धि र दिगो विकास संविधानले निर्दिष्ट गरेका राष्ट्रिय अभीष्ट हुन् । तिनको व्यावहारिक प्राप्तितर्फ तहगत सरकारलाई हिँडाउने गहन जिम्मेवारी संघीय संसद्कै हो । सो अभिभारा पूरा गर्ने सन्दर्भमा खरो उत्रन सक्ने चलायमान र हस्तक्षेपकारी संसद् अहिलेको आवश्यकता हो । कार्यकारीको इच्छालाई यान्त्रिक वैधता दिने कठपुतली संस्थाले संवैधानिक अभीष्ट पूरा गर्दैन । तसर्थ सांसदहरू जाग्न जरुरी छ । संसद्लाई जगाउन जरुरी छ ।

लोकतन्त्रमा शासन सञ्चालन कानुनी राजको मातहत हुनुपर्छ । कानुनी राज भनेको ‘असल कानुन’ को राज हो । असल कानुन निर्माणले समय, बुद्धि, विचार, तर्क, विवेक र ऊर्जाको लगानी खोज्छ । सरकारले संसद्मा लग्ने मसौदा कानुन (विधेयक) व्यवस्थापिकीय प्रयोजनका लागि कच्चा पदार्थ मात्रै हो । त्यो अनेक आग्रह–पूर्वाग्रह, निहित स्वार्थ बोकेर संसद् छिरेको हुन सक्छ । गुणस्तरको चेकजाँच नगरी जस्तो कच्चा पदार्थ ल्याएको छ, त्यस्तै मेसिनमा हालेर उत्पादन निकाल्ने होइन । तथ्यपरक, तर्कसंगत विधायिकी परीक्षण र मूल्यांकन जरुरी हुन्छ । त्यसो गर्ने ल्याकत कानुननिर्माताहरूले राख्नुपर्छ । त्यो छैन भने आर्जन गर्नुपर्छ । कर्मचारीतन्त्रप्रतिको अत्यधिक निर्भरता राम्रो होइन । नागरिकस्तरमा रहेको विज्ञताको उपयोग पनि गर्न सक्नुपर्छ ।

विगतमा मौलिक हक कार्यान्वयन र अन्य प्रयोजनका लागि केही कानुन संसद्ले बनायो । तर ती संविधान कार्यान्वयनका लागि पर्याप्त नभएको, कानुन निर्माण प्रक्रिया डेलिवेरेटिभ हुन नसकेको, सरकारले हतपतमा ल्याएका विधेयकलाई प्रक्रियागत औपचारिकता दिने काम संसद्ले गरेको भन्ने आम गुनासो छ । कानुननिर्माताको भूमिका आलंकारिक बन्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ ।

अर्कातर्फ अध्यादेशको महामारी फैलिँदै गएको छ । संसद्लाई छलेर दलगत, गुटगत स्वार्थका लागि एकपछि अर्को अध्यादेश जारी गर्ने र निहित अभीष्ट पूरा गर्ने प्रवृत्ति हावी भएको छ । कानुनी राजको स्थान अध्यादेश राजले लिन थालेको छ । यसतर्फ माननीयहरू गम्भीर हुन जरुरी छ । जनसरोकारका विधेयकमा जनताको प्रतिक्रिया बुझ्ने प्रबन्ध नियमावलीमा छ । त्यसलाई कागजमै सीमित राख्ने गरिएको छ, कानुन तर्जुमा तथा निर्माणलाई सहभागितामूलक बनाउनेतर्फ ध्यान गएको देखिँदैन । सरकारले बिजनेस नदिएको भनेर टकटकिने प्रवृत्ति पनि हावी देखियो । गैरसरकारी विधेयक लाने शक्तिको अभ्यास दुरूह बन्यो । संघीयता कार्यान्वयन, संक्रमणकालीन न्याय, नागरिकता, राष्ट्रिय मानव अधिकार आयोग, सामाजिक न्याय लगायतका विषयमा कानुन निर्माण तथा सुधारले उच्च प्राथमिकता पाउनुपर्ने हो तर ती काम थाती नै छन् ।

कानुन बनाएर मात्रै पनि संसद्को भूमिका पूरा हुँदैन । संवैधानिक प्रयोजन अनुरूप कानुन कार्यान्वयन भयो कि भएन भनी निगरानी गर्ने प्रमुख अभिभारा पनि संसद्को हो । त्यसका लागि समिति प्रणाली अस्तित्वमा भए पनि प्रभावकारी हुन सकेको छैन । प्रभावकारी हुन सकेको भए २०७५ मा बनेका जनमुखी ऐनहरू (जस्तै- खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन–२०७५ तथा आवासको हक सम्बन्धी ऐन–२०७५) कार्यान्वयन गर्न बनाउनैपर्ने नियमावली अहिलेसम्म नबनाई सरकार हाइसन्चोमा बस्ने थिएन । सरकारलाई जवाफदेह बनाउन संसद् सफल हुन नसकेको यो प्रतिनिधिमूलक उदाहरण मात्रै हो । बेलायत लगायतका देशले कानुनको विधायनोत्तर अध्ययन (पोस्ट–लेजिस्लेटिभ स्क्रुटिनी) को प्रणाली नै संस्थागत गर्दै लगेका छन् । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले अभ्यासको थालनी गरेको भए पनि यो संस्थागत हुन सकेको छैन ।

राष्ट्रको जीवनमा दूरगामी महत्त्व राख्ने विषयहरूमा सार्थक नितिगत छलफल गरेर देशको दिशा र दशा बदल्ने थलो पनि संसद् नै हो । सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी छलफल औपचारिकतामा सीमित रहने गरेको छ । संक्रमणकालीन न्याय, सामाजिक न्याय, समाजवाद, आर्थिक तथा सामाजिक अधिकार, धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता, जातीय तथा लैंगिक भेदभाव, जलवायु परिवर्तन, कृत्रिम वौद्धिकता, बदलिँदो अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिवेशमा विदेशनीति, सीमा संरक्षणजस्ता विषयहरूले जनप्रतिनिधिहरूबीच घनीभूत छलफल माग गर्छन् । तर नीतिगत बहस छलफल गरेर स्पष्ट दिशानिर्देश गर्ने कुरामा खडेरी नै छ । कतिपय विषयमा बहस भैहाले पनि ती अध्ययन–अनुसन्धानमा आधारितभन्दा आग्रह–पूर्वाग्रहयुक्त बेतुकका हुने गरेका छन् ।

उल्लिखित पक्षका अतिरिक्त अरू धेरै पाटामा व्यापक सुधारको खाँचो छ । अरूलाई जवाफदेह बनाउने जनप्रतिनिधिमूलक संस्था आफैं कानुनी शासनको मातहत चल्ने सन्दर्भमा खरो उत्रन नसक्नु नितान्त दुःखदायी अवस्था हो । सांसदहरू नै हाजिर जनाएर टाप कस्ने गरेका, गणपूरक संख्या नपुगेर पटकपटक बैठक स्थगित गर्नुपरेका, सभामुखले नै दलीय स्वार्थको सेवा गर्न कतिपय प्रस्ताव/विधेयक उपरको छलफललाई अगाडि बढाउनबाट रोकेका जस्ता समस्याहरू यो वा त्यो रूपमा बाहिरिए । संसदीय कारबाहीमा स्वार्थको द्वन्द्वको समस्या पछिल्लो समय झाँगिँदै गएको छ । प्रभावकारी नियमन नगरिए यसले संसद्को वैधतामा दखल पुर्‍याउने नै छ ।

संवैधानिक परिषद्मा सदन र विपक्षी दलको प्रतिनिधित्व संवैधानिक नियुक्तिको स्वतन्त्रता र निष्पक्षताका लागि होÙ जनताका तर्फबाट नियन्त्रण र सन्तुलनको भूमिका खेल्न हो, दल वा गुटका तर्फबाट नियुक्तिमा भाग खोज्न होइन । तर त्यही भैरहँदा राज्यका महत्त्वपूर्ण संस्थाहरूले विश्वसनीयताको संकट भोग्दै आएका छन् । संसदीय सुनुवाइ र महाभियोगका सन्दर्भमा संसदीय कार्यसम्पादनको बेहाल जगजाहेर नै छ । न्यायालय र संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदन संसद्मा प्रस्तुत गर्ने प्रबन्धको गहन संवैधानिक प्रयोजन छ । तर औपचारिकताको निर्वाहबाहेक प्रतिवेदनउपर छलफल गरी सम्बन्धित निकायलाई जवाफदेह बनाएको उदाहरण देखिँदैन ।

अन्त्यमा, सांसदहरूले कानुननिर्माताको स्वमानमा स्थित भएर आफ्नो मन–बुद्धि सदनभित्रका कारबाहीहरूलाई तथ्यपरक, वस्तुगत, अनुसन्धानमा आधारित बनाउन लगाऊन् ! प्रदेश र स्थानीय व्यवस्थापिकीय कार्यका लागि संघीय संसद् प्रेरणादायी र अनुकरणीय बनोस् ! संघीय संसद्को विश्वसनीयता, वैधता र गरिमा पुनरुत्थान होस् । यसका लागि यथोचित कानुनी, संरचनागत, अभ्यासगत, आचरणगत र प्रविधिगत सुधारका उपायहरूको खोजी गरी कार्यान्वयनमा ल्याइयोस् ।

प्रकाशित : माघ २०, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्

मानव अधिकार आयोगको पुनरुत्थान

नेपालले वाचा गर्छ, वाचा दोहोर्‍याउँछ तर पूरा गर्दैन भन्ने छाप अन्तर्राष्ट्रिय जगत्मा पनि अमिट बन्दै गएको छ । गानरीले घटुवाका लागि सिफारिस गर्दा औंल्याएका कारणहरूको सम्बोधनबिना राष्ट्रिय मानव अधिकार आयोगको वैधता र विश्वसनीयता पुनःस्थापित हुँदैन ।
राजुप्रसाद चापागाईं

हामीले हालै मताधिकारको सामूहिक अभ्यास गर्‍यौं, जसका कारण संघीय र प्रादेशिक तहमा आगामी पाँच वर्षका लागि संसद् र सरकार बन्दै छन् । लोकतान्त्रिक यात्रामा यो अर्को फड्को सबै नेपालीका लागि खुसीको कुरा हो । 

‘मानिसले विद्रोहको सहारा नलिऊन् भन्ने हो भने उनीहरूका अधिकार कानुनी शासन अन्तर्गत संरक्षित हुनुपर्छ’ भन्ने इतिहासको पाठ बोध गर्दै सन् १९४८ मा जारी मानव अधिकारको विश्वव्यापी घोषणापत्रले १० डिसेम्बरमा ७५ वर्षमा प्रवेश गर्दैगर्दा यसपालिको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भने चुनौतीपूर्ण नै छ । जनसंख्याको ठूलो हिस्सा मानव अधिकारका बग्रेल्ती चुनौती भोग्न बाध्य छ । विगतदेखिका कति चुनौती झाँगिँदै गएका छन् ।

आम अपेक्षाचाहिँ नवनिर्वाचित संसद् र सरकार पूर्वाधारमुखी विकासको महत्त्वाकांक्षी सपनातिर अनावश्यक रूपमा नबरालिऊन् भन्ने छ । ती आम नेपालीका गम्भीर मानव अधिकार समस्या (जस्तै— बहुआयामिक भेदभाव, बहिष्करण, आर्थिक–सामाजिक अधिकारबाट वञ्चिति, सशस्त्र द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरणबाट वञ्चिति) सम्बोधन गर्नपट्टि केन्द्रित होऊन् ! मानव अधिकारको रखवारी गर्ने संवैधानिक कार्यादेश पाएको राष्ट्रिय मानव अधिकार आयोगको शीघ्र पुनरुत्थान त्यतातर्फको प्रस्थानविन्दु बन्नुपर्छ ।


बढ्दो सान्दर्भिकता, गिर्दो साख

राष्ट्रिय मानव अधिकार आयोगको सान्दर्भिकता अखण्डित छ । संविधानसभाभित्र र बाहिर व्यापक छलफल भएरै आयोगको संवैधानिक हैसियत यथावत् राखिएको हो । गठनपश्चात्का वर्षहरूमा गतिलो कार्यसम्पादनका कारण आयोग आफ्नो औचित्य स्थापित गर्न सफल भएको थियो । सशस्त्र द्वन्द्वकालीन कठिन समयमा पनि स्वतन्त्र र प्रभावकारी उपस्थिति जनाएको थियो, जसका कारण आयोगको स्थायित्वका लागि व्यापक सहमति बन्न बल पुगेको हो । तदनुरूप यसले अन्तरिम संविधानमार्फत संवैधानिक हैसियत पाएको थियो । सशस्त्र द्वन्द्वका दुवै पक्षको विश्वास जितेका कारण नै विस्तृत शान्ति सम्झौता कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी आयोगले पाएको थियो (सम्झौताको दफा ९.४) । त्यति बेला आयोगको वैधताको स्थिति दर्साउने यो महत्त्वपूर्ण सूचक हो ।

देश अहिले संघीय प्रणाली अन्तर्गत चलेको छ । मौलिक हकको संवैधानिक प्रत्याभूतिमा बढोत्तरी भएको छ । आर्थिक–सामाजिक अधिकारलाई महत्त्वपूर्ण स्थान दिइएको छ । हिंसात्मक द्वन्द्वको इतिहास नदोहोर्‍याई समाजवाद र सामाजिक न्यायका आधारमा दिगो शान्ति र समतामूलक समृद्धि हासिल गर्ने अभीष्ट संविधानमा अंकित छ । यसले अझै आयोगको औचित्य र आवश्यकता बढाएको छ । तीनै तहका सरकारलाई संवैधानिक वाचाप्रति जवाफदेह बनाउन सशक्त आयोगको विकेन्द्रित उपस्थिति सार्थक हुन्छ । यही अग्रपंक्तिमा रहेर जनताका हकअधिकारका कुरा उठाउने वैध संस्था हो ।

मानव अधिकारका सन्दर्भमा न्यायालयको भूमिका पनि अहं रहन्छ नै, तर न्यायालयका आफ्ना सीमा र बन्देज छन् । अदालत आयोगजस्तो गरी जनसाधारणको सहज पहुँचमा रहन्छ भन्ने छैन । हकअधिकारको संरक्षण र प्रवर्द्धनमा अग्रसक्रिय भूमिका खेल्न न्यायालयको अन्तर्निहित स्वभाव र प्रकृतिले पनि दिँदैन । आयोगले भने मानव अधिकार संरक्षणमा न्यायपालिकाको भूमिका बढाउनसमेत काम गर्न सक्छ । न्यायिक कामकारबाही मानव अधिकारमैत्री भए–नभएको विषयलाई अनुगमनको दायरामा ल्याउन सक्छ । आयोगको सिफारिसका आधारमा न्यायिक सुधार र न्यायमा पहुँच अभिवृद्धिका प्रयास अगाडि बढ्न सक्छन् । अन्य मुलुकका अनुभवहरूले पनि यही भन्छन् ।

सान्दर्भिकता बढेसँगै आयोग प्रभावकारी हुँदै गएको छ त ? विडम्बना, त्यसो हुन सकेको छैन । बरु उल्टो प्रगति भएको छ । आयोगको साख गिर्दो छ । राष्ट्रसंघले मान्यता दिएको ‘राष्ट्रिय मानव अधिकार संस्था सम्बन्धी सिद्धान्त’ (पेरिस सिद्धान्त, सन् १९९३) ले राष्ट्रिय मानव अधिकार संस्थाहरूको स्वतन्त्रता र विश्वसनीयताको मापदण्ड तोकेको छ । उक्त मापदण्डको पालना भए–नभएको मूल्यांकन गरेर मानव अधिकार संस्थाहरूको ग्रेडिङ गरिँदै आएको छ । सन् १९९३ मा राष्ट्रिय मानव अधिकार संस्थाहरूको सम्मेलनले सृजना गरेको ‘राष्ट्रिय मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय समन्वय समिति’ ले ग्रेडिङको काम गर्थ्यो । सन् २०१६ मा समन्वय समितिलाई ‘ग्लोबल एलाइन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसन्स’ (गानरी) का रूपमा नामकरण गरिएको हो ।

सुरुआती समयदेखि निरन्तर ‘क’ श्रेणीको हैसियत आर्जन गरेको आयोगलाई गानरीको मान्यता (अक्रेडिटेसन) उपसमितिले गत अक्टोबरमा ‘ख’ श्रेणीमा घटुवाका लागि निर्णय गरी कारणसहित सिफारिस गरेको छ । कारणहरू सम्बोधन नभए गानरीको विधान बमोजिम आगामी अक्टोबरदेखि श्रेणी घटुवा लागू हुनेछ ।

प्रतिवेदनमा श्रेणी घटुवाका कारणहरू स्पष्ट उल्लेख छन् । पदाधिकारीहरूको पछिल्लो नियुक्ति (२०७७ मंसिर ३० को सिफारिस बमोजिम) गर्दा पेरिस सिद्धान्तका मान्यता लत्याइएकोलाई नै मूल आधार बनाइएको छ । अपारदर्शी र स्वेच्छाचारी नियुक्तिले आयोगको स्वतन्त्रतामा नकारात्मक असर पारेको, स्थायित्व र विश्वसनीयतामै खतरा सृजना गरेको प्रतिवेदनमा औंल्याइएको छ ।

कानुन संशोधन गरेर स्पष्ट, पारदर्शी र सहभागितामूलक छनोट तथा नियुक्ति प्रक्रियालाई स्थापित गर्न भनेको छ । छनोटका लागि सार्वजनिक विज्ञापन गरेर आवेदन माग्नुपर्ने तथा पूर्वनिर्धारित मानकका आधारमा आवेदकको मूल्यांकन गर्ने प्रक्रिया सुनिश्चित गर्नुपर्ने त्यसमा उल्लेख छ । मानव अधिकारका समस्याहरूलाई सम्बोधन गर्नेतर्फ पनि आयोग अक्षम देखिएको औंल्याइएको छ ।

गानरीले उठाउने प्रश्नलाई लोकतान्त्रिक मुलुकहरूले गम्भीर रूपमा लिने गरेका छन् । उदाहरणका लागि, गानरीले प्रश्न उठाएपछि नै अस्ट्रेलियाले मानव अधिकार आयोग कानुन संशोधन (छनोट र नियुक्ति) विधेयक–२०२२ अगाडि बढाएको छ । दुवै सदनबाट हालै पारित विधेयकमा सार्वजनिक, पारदर्शी र स्वतन्त्र नियुक्ति प्रक्रियाको अवलम्बनलाई अनिवार्य बनाउने व्यवस्था छ । साथै सात वर्षभन्दा बढी एकै व्यक्ति आयुक्त हुन नसक्ने प्रबन्ध छ । पछिल्लो विकासक्रम त्यहाँ आयोगको ‘क’ श्रेणीलाई नवीकरण गर्ने बलियो आधार भएको छ ।

हाम्रो सन्दर्भमा अहिलेको परिस्थितिमा मौलिक परिवर्तन नल्याउने हो भने त्यो सिफारिस बमोजिम आयोगको ओरालो यात्रा निश्चित छ । समयसँगै आयोगको छवि गिरेको मात्रै होइन, देशकै मानव अधिकार स्थिति ओरालो लाग्ने क्रम रोकिएको छैन । राष्ट्रसंघीय मानव अधिकार परिषद्मा दुई पटक (सन् २०१७ र २०२०) निर्वाचित नेपालले घरेलु स्थितिमा सुधार ल्याउन सकेको छैन । कागजी प्रतिबद्धताको चाङ देखाएर अब कोही झुक्किँदैन । यथार्थमा बदलिएको वस्तुगत आधार देखाउन सक्नुपर्छ । संक्रमणकालीन न्याय सुनिश्चित गर्ने दायित्व लत्याइएको छ । पीडितको सत्य, न्याय र परिपूरणको वैध आकांक्षामाथि निरन्तर खेलवाड भएको छ । लैंगिक, जातीय लगायतका आधारमा हुने हिंसा र भेदभावको उन्मूलन नारामा सीमित छ ।

भोको पेट र उठीबासको त्रास भोग्दै आएका जनताको पीडामा मल्हमपट्टी गर्न ठोस आधार सृजना गर्ने खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन–२०७५ र आवासको हक सम्बन्धी ऐन–२०७५ जस्ता जनमुखी कानुनलाई बेकामे बनाइएको छ । ऐन कार्यान्वयनका लागि चाहिने नियमावली बनाउने आधारभूत कामसम्म ओली र देउवा सरकारले गरेनन् । भुइँतहका जनताको हकअधिकार प्रवर्द्धन गर्नतर्फ प्रदेश र पालिका सरकारहरूको खासै रुचि रहेन । कतिपय पालिका सरकारले त कानुन कार्यान्वयनका नाममा विपन्न जनतामाथि शत्रुतापूर्ण व्यवहार गरेको देखिएको छ । प्रतिबद्धता र यथार्थताबीचको खाडल गहिरिँदै जाँदा विपन्न, सीमान्तीकृत वा विभेदित समुदायमा ठूलो निराशा छाएको छ ।

नेपालले वाचा गर्छ, वाचा दोहोर्‍याउँछ तर पूरा गर्दैन भन्ने छाप अन्तर्राष्ट्रिय जगत्मा पनि अमिट बन्दै गएको छ । यस स्थितिमा अर्थपूर्ण भूमिका खेल्नुपर्ने आयोग भने पदाधिकारी नियुक्ति विवादका कारण सृजित वैधता संकटको भुमरीमा परेको छ ।


निर्विकल्प पुनरुत्थान

हाम्रो खाँचो कार्यकारीको तप्केनीमा ठिम्रिँदै गएको आलंकारिक संस्थाको होइन; संवैधानिक कार्यादेश अनुरूप मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा खरो उत्रन सक्ने स्वतन्त्र, स्वायत्त र चलायमान आयोगको हो । तसर्थ आयोगको शीघ्र पुनरुत्थानको विकल्प छैन । यो राष्ट्रिय आवश्यकता हो ।

गानरीले औंल्याएजस्तै कपटपूर्ण रूपमा (संवैधानिक परिषद्को बैठकको गणपूरक संख्या घटाएर २०७७ मंसिर ३० मै अध्यादेश जारी गर्ने र ४८ घण्टाअगाडि बैठकको सूचना दिनुपर्ने कार्यविधि उल्लंघन गरेर त्यसै दिन नियुक्तिका लागि सिफारिस गर्ने) आयोगका पदाधिकारी नियुक्त गरिएदेखि आयोगको विश्वसनीयता र वैधतामा खग्रास ग्रहण लागेको छ । आयोगको पुनरुत्थानाका लागि शीघ्रातिशीघ्र उक्त ग्रहण उतार्न जरुरी छ ।

ग्रहण उतार्ने उपायस्वरूप सरोकारवालाहरूबाट आयोगका पदाधिकारीहरूको राजीनामाको माग चौतर्फी उठेको छ, जुन तार्किक, व्यावहारिक र औचित्यपूर्ण छ । आयोगका पूर्वपदाधिकारीहरूको एउटा समूहले गत कात्तिक ३० गते प्रेस विज्ञप्ति जारी गरेरै राजीनामा गर्न सुझायो । कतिपय राष्ट्रिय मिडियाले समेत आयोगको साख जोगाउन पदाधिकारीको बहिर्गमन अपरिहार्य भएको सम्पादकीय धारणा प्रकाशन गरे । नागरिक समाज र मानव अधिकार समुदायले नियुक्तिका लागि सिफारिस गरेदेखि नै यस किसिमको माग दोहोर्‍याउँदै आएका छन् । आयोगका कर्मचारीहरूले समेत राजीनामाका लागि पदाधिकारीहरूमाथि दबाब बढाएका समाचारहरू बाहिर आएका छन् ।

आयोगका लागि यो असामान्य अवस्था हो । वैधताको प्रश्न यस रूपबाट उठेको अवस्थामा आयोगले आफ्नो संवैधानिक कार्यभार वहन गर्न सक्ने अनुमान पनि गर्न सकिँदैन । आयोग नै दिनानुदिन गहिरो संकटमा धकेलिँदै जाने छनक देखिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगलाई संवैधानिक आयोगहरूमध्ये एक ठानेर यसको वैधता र विश्वसनीयताको प्रश्नलाई सामान्यीकरण गर्नु गलत हुन्छ । यसको अन्तर्राष्ट्रिय मानव अधिकार प्रणाली अन्तर्गत अलग मान्यता र पहिचान छ । यसको साख बढ्दा राष्ट्रको साख बढ्छ, यसको साख घट्दा राष्ट्रको साख घट्छ । गानरीले घटुवाका लागि सिफारिस गर्दा औंल्याएका कारणहरूको सम्बोधनबिना गरिने अन्य प्रयत्नले आयोगको वैधता र विश्वसनीयता पुनःस्थापित हुँदैन । किनकि संस्थाको विश्वसनीयता र वैधता मूलतः संस्थाका नेतृत्वदायी पदाधिकारीहरूको वैधतामा धेरै हदसम्म निर्भर गर्छ ।

नियुक्तिको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । विवादको शीघ्र निरूपण अपेक्षित थियो । अनुचित विलम्ब भइरहेको छ । तर यही यान्त्रिक कारण देखाएर जिम्मेवार पदाधिकारीहरूको तहबाट बहिर्गमनको वैध माग अनदेखा गर्नु उपयुक्त हुँदैन । संस्थाको जीवनमा गम्भीर संकट आएको कुरा राम्रोसँग पर्गेल्न सक्ने व्यक्तिहरू नै अहिले पदाधिकारी छन् । आयोगलाई यथोचित सहयोग गर्ने नैतिक जिम्मेवारीबाट उनीहरू चुक्नु हुँदैन । मानव अधिकार आयुक्तको पद निजामती सेवाको जागिरजस्तो होइन । यसलाई व्यक्तिगत लाभहानिको विषय बनाउनु हुँदैन ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई अवसरका रूपमा लिएर बृहत् संस्थागत हितका लागि बहिर्गमनको बाटो रोज्दा संस्थाको पुनरुत्थानका लागि ठूलो सहयोग पुग्नेछ । अदालतले नियुक्तिलाई असंवैधानिक भनिनसकेको भन्ने तर्कमा अडिएर बस्नु व्यक्तिगत रूपमा पदाधिकारीका लागि राम्रो हुन्न । यथास्थिति लम्बिँदा नागरिक संघसंस्था तथा मानव अधिकार समुदायमा असन्तुष्टि झाँगिँदै गई त्यो संगठित विरोधमा परिणत नहोला भन्न सकिँदैन । यतातर्फ पनि हेक्का राख्न जरुरी छ ।

पुनर्नियुक्ति हुनुपर्छ भन्नुको अर्थ खाली ठाउँमा अरू एक थान आयुक्तहरू नियुक्त हुनुपर्छ भन्ने होइन; पेरिस सिद्धान्तको पूर्ण परिपालना हुने गरी खुला र पारदर्शी प्रक्रियाबाट आयोगको संवैधानिक कार्यादेश र जिम्मेवारीले मागे अनुरूपका व्यक्तिहरूमध्येबाट योग्यतम व्यक्तिको नियुक्ति होस् भनेको हो; विगतमा जस्तो आयोगमाथिको राजनीतिक दाउपेच नदोहोरियोस् भनेको हो । अहिलेकै पदाधिकारीहरूमध्ये पनि खुला र पारदर्शी प्रक्रियाबाट आउन नसक्ने भन्ने पनि हुँदैन ।

आयोगको प्रभावकारिताका लागि पुनर्नियुक्ति मात्रै सब थोक भने होइन । सरकार र आयोगले गर्नुपर्ने थुप्रै काम छन् । अयोगका सिफारिसको कार्यान्वयन लत्याउँदै जाने ठूलो समस्या छ । गठन भएदेखि २० वर्षसम्मको अवस्था मूल्यांकन गर्दा कार्यान्वयनको दर १४ प्रतिशत हाराहारी मात्रै छ ।

हामीले सातौं संविधान दिवस मनाइसक्यौं, तर नयाँ संविधानिक परिपाटी अनुरूप आयोगको ऐन (२०६८) संशोधनको काम थाती नै छ । संशोधनका लागि विगतमा विधेयक अगाडि बढाए पनि संशोधनमार्फत आयोगलाई सशक्तीकरण गर्ने होइन, उल्टै कमजोर तुल्याउने सरकारी रवैया देखियो ।

आयोग बेलाबखत रोइलो गर्नेबाहेक नागरिक समाजलाई विश्वासमा लिएर ऐन संशोधनका लागि सरकारलाई जवाफदेह बनाउन असफल रहँदै आएको छ । साधनस्रोतको अभाव तथा वित्तीय स्वायत्तताको समस्या पनि ज्यूँका त्यूँ छ । ऐन संशोधनमार्फत यो समस्याको हल खोज्नु जरुरी छ ।

आयोगको काम गर्ने तौरतरिकामा व्यापक परिवर्तनको खाँचो छ । आर्थिक–सामाजिक हकहरूले आयोगको अग्रसक्रिय भूमिका खोज्छन् । आयोग भने उजुरीको औपचारिकतामा रुमलिएको छ । राज्य मात्रै नभएर व्यवसाय तथा निजी क्षेत्रलाई पनि मानव अधिकार फ्रेमवर्कभित्र हिँडाउनुपर्ने चुनौती पनि थपिएको छ ।

अन्त्यमा, आयोग आमजनताका लागि बढ्ता आवश्यक संस्था हो । यसलाई राजनीतीकरणबाट मुक्त राखौं । यसको प्रभावकारिता बढाउनमा सबको इमानदार प्रयास होस् !

प्रकाशित : मंसिर २५, २०७९ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×