३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

होलबडी चेकअपको हौवा

काठमाडौँ — ‘सुन साइँली सुन साइँली, चालीस कटे’ सि रमाऔंला...’ गीतले भनेझैं चालीस वर्ष कटेपछि रमाउने त छँदै छ, तर उमेरको त्यो मोड पार गरेपछि नियमित स्वास्थ्य जाँच भने पक्कै गर्न थाल्नुपर्छ । चालीस कटेपछि विभिन्न खालका मेडिकल समस्या देखिन थाल्ने हुनाले नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । यसै मेलोमा होलबडी चेकअपको गुलियो विज्ञापनले राम्रै स्थान पाउन थालेको छ । 

होलबडी चेकअपको हौवा

मानव जीवनमा गणितमा जस्तै सबै प्रश्नको ठ्याक्कै एउटै उत्तर हुँदैन । संसारका जुनसुकै कुनाका मानिसहरू पनि फरकफरक जीव हुन् । त्यसैले सीमित संख्याका मानिसहरूमा गरिएका परीक्षण वा अनुसन्धानबाट निकालिएका निष्कर्ष एवं औसत मानिसलाई सामान्य भनेर मानिएका ल्याब परीक्षणका परिणामहरू सबै उमेर समूहका, सबै जातजातिका, सबै भूगोलका मानिसहरूलाई ठ्याक्कै मिल्छन् भनी मान्न सकिँदैन ।

मानव शरीरमा मस्तिष्क (गिदी), मुटु, मिर्गौला, कलेजो र फोक्सोलाई निकै महत्त्वपूर्ण अंग मानिन्छ । यी अंगमध्ये कुनैमा पनि विकार आए व्यक्तिविशेषको दैनिक जीवनमा निकै उथलपुथल आउन बेर लाग्दैन । यद्यपि दाँत दुख्दा, किला बिझ्दा, नङ उक्किँदा, आँखामा आनो आउँदा पनि थोरै पीडा हुँदैन । निश्चित उमेर भएपछि (चालीसलाई मानक बनाऔं) ती प्रधान अंगहरूको कामगराइ कस्तो छ भनी नियमित रूपमा थाहा पाइराख्नु बुद्धिमानी हुन्छ । हामी मानिस अचम्मको प्राणी हौं, मोटरसाइकल वा कार वा कुनै महत्त्वको सामानचाहिँ हामी नियमित सर्भिसिङ गराउँछौं तर आफ्नै स्वास्थ्यबारे भने हेलचेक्य्राइँ गर्छौं । जिन्दगी दौडिरहेसम्म डाक्टरछेउ किन पर्नु भन्ने हुन्छ । त्यसमाथि स्वास्थ्य संस्थामा दिनभरि यता लाइन, उता लाइन गरी ठीकठाकै चलिरहेको ज्यानलाई किन धपेडी दिनु, बिरामी भइहालियो भने त छँदै छ नि भन्ने पनि लाग्छ ।

थरीथरीका अस्पताल वा नर्सिङहरूले जति चिल्लो घसेर विज्ञापन गरे पनि प्याकेजमै होलबडी चेकअप गराउनुपर्छ भन्ने छैन । मस्तिष्क, मुटु, मिर्गौला, कलेजो, थाइरोइड ग्रन्थि अनि फोक्सोको स्वास्थ्य थाहा पाउन न्यूनतम चेकजाँच गराए पुग्नेछ । उदाहरणका लागि, मिर्गौलाको स्वास्थ्य थाहा पाउन पिसाबमा एल्बुमिन, रक्तकणिका अनि रगतमा क्रियटिनिनको मात्रा जाँच गराए पुग्छ । मिर्गौला सम्बन्धी रिपोर्टमा कुनै कैफियत देखियो भने मात्र पिसाबको कल्चर, मिर्गौलाको भिडियो एक्सरे, रगतमा इलेक्ट्रोलाइट्सको जाँच गराउनुपर्छ ।

मुटुको स्वास्थ्य थाहा पाउन ईसीजी नामक प्रारम्भिक जाँच गराए पुग्छ । ईसीजीको रिपोर्ट हेरीकन मात्र इकोकार्डियोग्राफी भनिने मुटुको भिडियो एक्सरे गराउन आवश्यक हुन्छ । रक्तनलीमा बोसो अर्थात् कोलेस्टेरोल जम्यो भने हृदयाघात हुने, मस्तिष्काघात हुने, उच्च रक्तचापको समस्या देखिन सक्ने हुनाले सुरुमै लिपिड प्रोफाइल भनेर जाँच नगराई रगतमा कोलेस्टेरोल एवं ट्राइग्लाइसेराइडको प्रारम्भिक परीक्षण गराए पुग्छ । यसमा असामान्य नतिजा आए मात्र लिपिड प्रोफाइल गराउँदा हुन्छ । कलेजोको अवस्था जान्न रगतमा बिलिरुबिन, एएसटी र एएलटी भनिने प्रारम्भिक जाँच गराए पुग्छ ।

नेपालमा फोक्सोको रोगी हुन धूमपान गर्नैपर्छ भन्ने छैनÙ निरन्तरजसो धूमपान गर्ने मानिसछेउको बसउठ, घरभित्रैका धूवाँधूलो एवं सहरबजारको वायु प्रदूषणले पनि फोक्सोको समस्या निम्त्याउँछ । फोक्सोको अवस्था थाहा पाउन छातीको एक्सरेको प्रारम्भिक जाँच गराए पुग्छ । स्वाँस्वाँ, हल्का दमजस्तो पनि छ भने सास तानेर, फुकेर गरिने पल्मोनरी फंक्सन टेस्ट गराउँदामा हुन्छ । थाइरोइड ग्रन्थिको स्वास्थ्य थाहा पाउन टीएसएच भन्ने प्रारम्भिक जाँच मात्र गराए पुग्छ । साथै भोको पेटमा रगतमा सुगरको मात्रा एवं दिसाको साधारण जाँच गराउनु राम्रो हुन्छ । सजिलो होस् भन्ने चाहनुहन्छ र आर्थिक हिसाबले पनि सक्षम हुनुहुन्छ भने तपाईंले आफूखुसी टेस्ट गराउन सक्नुहुन्छ ।

पछिल्लो समय मध्यमवर्गीय परिवार पनि आफ्नो स्वास्थ्यप्रति सजग हुन थालेको छ । यसमा धेरथोर स्वास्थ्य बिमाको पनि हात छ । कतिपय बिमक ओपीडी छिर्नेबित्तिकै ‘म त भिडियो एक्सरे गर्न आएको, कोलेस्टेरोल गर्न आएको, मेरो बिमाको अवधि (वा पैसा) सकिन लाग्यो, होलबडी गर्न आएको, सीटी स्क्यान र एमआरआई गर्न आएको’ भन्ने गर्छन् । यो गलत हो । चिकित्सकहरूले प्रारम्भिक सोधपुछ, शारीरिक जाँच गरेपछि मात्रै आवश्यकता अनुसारको जाँच गर्न भन्ने हो । त्यसो भन्दै गर्दा चिकित्सकले व्यक्तिविशेषको उमेर एवं तत्क्षणको स्वास्थ्यस्थितिलाई विचार गरेर आवश्यकता अनुसारको ल्याब परीक्षणका लागि भन्छन् नै ।

नेपालीहरूको आयु लम्बिन थालेसँगै बुढ्यौलीमा देखा पर्ने स्वास्थ्य समस्या एवं क्यान्सरको जोखिमलाई विचार गरेर थप जाँच गराउनुपर्ने हुन्छ । जस्तै, महिलामा चालीस कटेपछि स्तनको क्यान्सरका लागि म्यामोग्राफी तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको लागि प्याप स्मियर (वा यस्तै कुनै परीक्षण) गराउन सकिन्छ । पित्तथैली, मिर्गौला, पाठेघर (महिलामा), प्रोस्टेटको आकारप्रकार (पुरुषमा) का लागि भिडियो एक्सरे गराउनु राम्रो हुन्छ ।

होलबडी चेकअपका क्रममा वा माथि उल्लिखित प्रधान अंगहरूको स्वास्थ्य थाहा पाउन गरिने न्यूनतम जाँचहरूको मद्दतले ती अंगहरूमा लागिसकेको वा लाग्नै लागेको स्वास्थ्य समस्या समयमै पहिचान हुन्छ । ‘रोग लाग्न दिनुभन्दा अगावै रोकथाम गर्न’ तिर धेरै मद्दत पुग्छ ।

तपाईंले चिनेको स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाहमा माथि उल्लिखित प्रारम्भिक जाँचहरू गराएको खण्डमा पछि रिपोर्ट देखाएर सल्लाह लिन भने सजिलो हुन्छ । तर कुनै पनि चिकित्सकले फरक खालको वा महँगो खालको थप टेस्ट गराउन लागेको छ भने किन, केका लागि भनी प्रश्न गर्नैपर्छ । थप परीक्षणले तपाईंको स्वास्थ्य समस्या पत्ता लगाउन के मद्दत पुग्छ भन्ने प्रश्न गर्न थालेको दिनदेखि चिकित्सकहरूलाई पनि इथिकल प्राक्टिस गर्न एवं ती टेस्टको उपादेयताबारे अद्यावधिक भइरहन कर लाग्छ ।

सबै कुरा ल्याब परीक्षणबाट मात्रै थाहा पाइने होइन । बढ्दो सहरीकरण, व्यस्त जीवनशैली, एकल परिवार एवं चुनौतीपूर्ण आय आर्जनसँगै अहिलेका मानिसहरूमा मानसिक समस्याको थुप्रो लागेको छ । अहिलेका मानिसहरू डिप्रेसन, चिन्ता, तनाव, दुर्व्यसन, आत्महत्याको सोचबाट गुज्रिरहेका हुन सक्छन् । २०७२ सालको भूकम्प अनि कोभिड महामारीपछि मानसिक समस्याबाट प्रताडितहरूको संख्या निकै बढेको छ । यस्तो पृष्ठभूमिमा होलबडी चेकअपभित्र मुटु, मिर्गौला वा फोक्सामा मात्रै ध्यान दिएर पुग्दैन ।

होलबडी चेकअप अन्तर्गतका कतिपय टेस्टका लागि खाली पेटमै नमुना दिनुपर्ने (कोलेस्टेरोल वा लिपिड प्रोफाइल वा सुगर) वा गराउनुपर्ने (भिडियो एक्सरे) हुन्छ । यी ससाना पक्षमा ध्यान नदिँदा वा रगत (वा अन्य नमुना) समयमै नपुर्‍याउँदा वा ल्याबका परीक्षणका क्रममा पालना गर्नुपर्ने नियमहरू उल्लंघन गरे फरक नतिजा आउन सक्छ ।

माथि उल्लिखित टेस्टहरू होलबडी चेकअपका नाममा विशेषतः चालीस कटेपछि गर्नुपर्छ । त्यो पनि एक पटक होइन, निश्चित अन्तरालमा गरिरहनुपर्छ । उमेर अनुसार यी नियमित जाँचहरू गर्नु त छँदै छ, त्यसबाहेक शरीरले कहिलेकाहीँ ज्वरो, तौल घट्ने वा तौल ह्वात्तै बढ्ने, गाँठागुँठी आउनेजस्ता खतराका संकेत दिँदा पनि चनाखो हुनुपर्छ । त्यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा थप आवश्यक जाँचहरू भने गराउनैपर्छ ।

ताम्राकार चिकित्सक हुन् ।

प्रकाशित : माघ १९, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?