यसरी घट्छ हात्ती आतंक

ददि सापकोटा

गत असार ३१ गते एकाबिहानै चितवन राष्ट्रिय निकुन्जबाट गाउँ पसेको ‘रोनाल्डो’ हात्तीले चितवनको बाघमारा सामुदायिक वननजिकैबाट ६२ वर्षीय कान्छा दराईलाई घिसार्दै लग्यो र राप्ती नदीको किनारमा लगेर उनको ज्यान लियो । त्यसअघि हात्तीहरूले स्थानीय घरहरू भत्काउने, बालीनाली सोत्तर पार्ने गर्दै आएका थिए । 

यसरी घट्छ हात्ती आतंक

संरक्षित क्षेत्रनजिकको बस्तीमा हात्तीको आक्रमणबाट डेढ दशकयता झन्डै दुई सय मानिसको मृत्यु भइसकेको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकले देखाउँछ । हालसम्म झापामा मात्रै तीन दर्जनभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सर्लाही, रौतहट, सिन्धुली, धनुषा, बारा, पर्सा, मकवानपुर, बर्दिया र कञ्चनपुर पनि हात्ती प्रभावित क्षेत्र हुन् ।

तर, यो मानवमाथि हात्तीको आतंक हो या हात्तीमाथि मानव आतंक ? हात्तीको व्यवहारले भन्छ- मानिसहरूले हात्तीमाथि अत्याचार गरे । मानिस भन्छन्- हात्तीले मान्छेमाथि आतंक मच्चायो । वास्तविकता के हो ? कसरी गर्न सकिन्छ यसको न्यूनीकरण ? यसका लागि पहिले हात्ती कस्तो जीव हो भन्ने बुझ्नु जरुरी छ ।

हात्ती मान्छेजस्तै सामाजिक प्राणी हो । हात्तीहरू समूहमा बस्छन् । सामूहिक नीतिनियम, आचरण मान्नुपर्छ । नेतृत्वकर्ता बथानकी पाकी, अनुभवी पोथी हुन्छे र उसको निर्देशन सबैले पालना गर्नुपर्छ । जुन हात्तीले मान्दैन, उसलाई बथानबाट खेदिन्छ । त्यसरि एक्लिनेमा प्रायः भालेहरू हुन्छन् । आफ्नो बथानबाट एक्लिएका भालेहरू रिसाएका हुन्छन् । बथानबाट लखेटिएको पीडा र समूहबाट एक्लिनुको व्यथाले तिनलाई रिसालु, झगडालु बनाउँछ । ती बढी आक्रामक बन्छन् । त्यसो त ती फेरि सुध्रिएर बथानको नियम स्विकार्दै बथानमै फर्किने पनि गर्छन् ।

एक्लै छुट्टिएर जाँदा दानापानी, खानपिन अलि धेरै पाइन्छ । बथान छोड्नुपरेपछि वैंशले मैमत्ता बन्दा पोथी पाएका हुँदैनन् । यस्ता भालेलाई यौनभोकले झन् मैमत्त बनाउँछ । त्यो बेला यौन हर्मोन बढेको हुन्छ । कन्चटको धमनीबाट पीपजस्तो तरल पदार्थ झरेको हुन्छ जसलाई मात लागेको भनिन्छ । मातमा आएका भालेहरू यौनचाहनाले पागलजस्तै बन्छन् । त्यसैको खोजीमा भौंतारिन्छन् । सारा धरतीकै हर्ताकर्ता, बलवान् मै हुँ भनेर जंगलका रूखसुख ढाल्छन् । स्वाँफ्वाँ गर्दै हिँड्छन् ।

रात परेपछि भोक लाग्न थाल्छ । जंगलमा सजिलै खान पाइन्न । गाउँबस्तीमा छिर्‍यो भने त एकैचोटि गर्‍यामगुरुम पार्न पाइयो । त्यही कारण पनि हात्तीहरू बस्ती पस्ने गर्छन् ।

सामाजिक प्राणी हुनाले तिनमा पनि आक्रोश, वेदना, बदलाको भावना, सहयोग, सामूहिकता, दुःख, पीर, एकता, पीडा, माया, विछोडको छटपटी सबै हुन्छ । एकअर्कालाई सहयोग गर्ने, मिलेर बस्ने मानिसहरू कसरी बदला लिने र युद्धमा होमिने गर्छन् ! यो हात्तीका लागि पनि मानव समुदायको ऐना हुन सक्छ । त्यसैले आफूमाथि आइलाग्ने र दुःख दिनेमाथि हात्ती पनि जाइलाग्छ, प्रतिशोध लिन्छ ।

हात्तीको स्मरणशक्ति असाध्यै तेजिलो हुन्छ । खास गरी वर्षायाममा भारतको असमदेखि हिँडेर नेपालका कोसीटप्पु, चितवन, बर्दिया र शुक्लाफाँटासम्म पुग्ने हात्तीहरू यसको गतिलो उदाहरण हुन् । जब भारतको ब्रह्मपुत्र नदीमा बाढी आएर त्यहाँको जमिन पानीले ढाक्छ तब चरनको अभाव हुन्छ । त्यसपछि ती हात्ती मेची नदी तरेर बिस्तारै नेपाल छिर्छन् । बाहुनडाँगी भारत हुँदै नेपाल पस्ने हात्तीहरूको प्रमुख नाका हो । नेपालमा सबैभन्दा बढी क्षति र द्वन्द्व झापाको बाहुनडाँगीमै हुनुको कारण पनि यही हो ।

असमबाट नेपालसम्म करिब ३० दिनदेखि ४५ दिनसम्म लगाएर आउने हात्तीहरूले बाटो कहिल्यै भुल्दैनन् । एक पटक आफ्नी हजुरआमासित आएको बच्चो हुर्किएपछि एक्लै पनि त्यो बाटो पत्तो लगाउन समर्थ हुन्छ । हात्तीहरू पुर्खाले पानी खाएकै तालमा तिर्खा मेट्छन् । त्यही नदीमा नुहाउँछन् । उही रूखको सियाँलमा बस्छन् । आफ्ना पुर्खाले पुर्खौंपुर्खादेखि हिँडेको बाटो, कुल्चेको जमिन, चरेको वन मासेर बस्ती बसालेकैले हात्तीहरू मानिससँग रिसाउने गरेका हुन् ।

हात्तीहरूले हजारौं वर्षदेखि हिँड्दै आएको बाटो पछिल्ला ४०–५० वर्षयता मासेर बस्ती बसाइएकाले हात्ती–मानव द्वन्द्व बढेको हो । हात्तीहरू हजारौं वर्षदेखि आफ्नै बाटो हिँडिरहेका छन् र त्यसमा भाँजो हाल्ने काम मानिसले गरेकाले खासमा यसलाई हात्तीमाथिको मानवीय आतंक भनेर बुझ्नु उचित हुन्छ ।

मानिसले हात्तीलाई छक्याउने, कतै झाडी वा रूखतिर लुक्ने, छाप्रा हालेर तर्साउने गर्नु अत्यन्त घातक हुन्छ । किनभने जीवन जिउने कला र सञ्चारको पहुँचमा हात्ती मानिसभन्दा धेरै गुणा तीक्ष्ण हुन्छ । हात्तीले मानिसका तुलनामा बीस गुणा कम आवृत्ति (फ्रिक्वेन्सी) को आवाज सुन्न सक्छ । जस्तो- लामखुट्टेको आवाजमा करिब १४ हर्जको आवृत्ति हुन्छ । सबै लामखुट्टेको आवाज मानिसका कानले सुन्दैनन्, तर हात्तीले लामखुट्टेभन्दा पनि साना कीराको अझ मसिनो आवाज परैबाट सुन्छ । साढे चार किलोमिटरभन्दा परैबाट को हिँडिरहेको छ भन्ने कुरा हात्तीले त्यो व्यक्ति वा जनावर हिँड्दाको कम्पनबाटै थाहा पाउँछ ।

हात्तीले १४ देखि १६ हर्जसम्म कम आवृत्ति भएका आवाजहरू पत्ता लगाउन सक्छ । हात्ती यस्तो जीव हो जसले आउँदै गरेको आँधी २४१ किलोमिटर टाढैबाट महसुस गर्न सक्छ भन्ने तथ्य नामिबियामा गरिएको अध्ययनले पत्ता लागेको छ । हात्तीले दैनिक सञ्चारका लागि ७० भन्दा बढी स्वर प्रयोग गर्छ । दृश्य र स्पर्शका १६० संकेतहरू प्रयोग गर्न सक्ने हात्ती मानिसको हरेक क्रियाकलापको एकएक हिसाब राख्न सक्षम हुन्छ ।

सन् २००७ मा स्कटल्यान्डको सेन्ट आन्ड्रियु विश्वविद्यालयका रिचार्ड ब्रायनले अफ्रिकाको आम्बोसेली राष्ट्रिय निकुन्जमा गरेको अध्ययन अनुसार, एउटा हात्तीले आफ्ना ३० साथी हिँडेको बाटो पहिचान गर्न सक्छ । एक दर्जन हात्तीको बथान रहेछ भने प्रत्येक हात्तीले ३० जनाको दरले ३६० व्यक्तिको आवाज र पदचिह्न चिन्न सक्दो रहेछ । मान्छेको सासफेराइ, गन्ध, पदचिह्नसमेत थाहा पाउने हात्तीलाई कसरी ढाँट्न, छक्याउन सकिन्छ !

हात्तीले चार किलोमिटर टाढाबाट अन्य हात्तीको पुकाराको पनि प्रतिक्रिया दिन सक्छ । यसको अर्थ एक हात्तीले अर्को हात्तीको वेदना, सूचना सुन्न सक्छ र ५० वर्गकिलोमिटरको दायराभित्र राम्रोसँग सञ्चार गर्न सक्छ । त्यसैले हात्तीहरू बथानमा कुनैलाई आपत्बिपत् परे तत्कालै एकत्रित हुने गर्छन् ।

हात्तीहरू किन पनि बढी सक्रिय देखिन्छन् भने तिनले दिनहुँ १२–१८ घण्टा आहाराको खोजीमै हिँड्नुपर्छ । दैनिक करिब ४५० किलो आहारा खान र १९० लिटर पानी पिउन आवश्यक छ । वन्यजन्तुको बासस्थान घट्दै गएको र खडेरी बढ्दै गएकाले हात्तीले खानेकुरा र पानीको अभावमा मानिसहरूसँग प्रतिस्पर्धा बढाउँदै लैजानुपरेको छ । हात्तीले चर्ने जंगल खुम्चिँदै जानु, हात्तीले खाने घाँस र वनस्पति जंगलमा मासिँदै जानुले पनि यो द्वन्द्व बढ्दै गएको हो ।

हात्ती कसरी नियन्त्रण गर्ने त ?

हात्ती नियन्त्रणका लागि सबैभन्दा उत्तम उपाय मानिसले द्वन्द्वै नगर्नु हो । अर्थात्, हात्ती आवतजावत गर्ने मार्गमा व्यवधान नगर्नु र उसलाई दखल नपुर्‍याउनु । त्यसका लागि हात्ती मार्गमा रहेका बस्तीहरूको स्थानान्तरण उत्तम विकल्प हो ।

त्यसबाहेक हामीलाई हात्ती बसाइँसराइको मार्ग, समय र आहाराका बारेमा पनि ज्ञान हुनुपर्छ । हात्ती हिँड्ने याममा नपाक्ने र हात्तीले नरुचाउने खेती पहिचान गर्नुपर्छ । हात्तीहरूले नरुचाउने चिया, हलेदो, अदुवा, सर्स्युं, बदाम (पिनट्स), खुर्सानी र सुर्ती खेती लगाउन सकिन्छ ।

खुर्सानी र सुर्तीबाट हात्तीहरू टाढै बस्छन् । हात्तीको गोबरको गुइँठा बनाई खुर्सानी मोलेर हात्ती आउने समयमा बालिदिने हो भने त्यो धूवाँ टाढाटाढा फैलिएर ती तर्किन सक्छन् । गुइँठामा सुर्ती मोलेर बाल्ने, आउने बाटामा राखिदिने गरेर हात्तीहरूलाई तर्काउन सकिन्छ ।

भारत र चीनमा हात्तीहरूले राति घर फोरेर रक्सी खाएका घटनाहरूबाट ती हिँड्ने बाटामा रक्सी बनाउने र भण्डार गर्ने गर्नु हुन्न भन्ने पाठ सिक्न सकिन्छ ।

हात्तीहरू सिंह, बाघ, मौरी, भालुसित डराउँछन् । त्यसैले ती जनावरहरूका आवाज रेकर्ड गरेर सेन्सर वा कम्पनको सहायताले हात्ती मार्गमा सुनाइदिने गर्दा पनि फाइदा हुन सक्छ ।

वैज्ञानिकहरूले मौरीबाट हात्ती लखेट्ने गज्जबको जुक्तिसमेत निकालेका छन् । हात्ती आउने बाटामा खेतीभन्दा करिब १० मिटर परै मसिना डोरीहरूमा मौरीका घारहरू राखिदिने । हात्ती खेतीमा नपुग्दै त्यो तार वा डोरीमा ठोक्किएर डोरी हल्लिन थाल्छ । डोरी मौरीको घारमा ठोक्किन थालेपछि मौरीहरूलाई दखल पर्छ र मौरीहरू रिसले हात्तीमाथि खनिन्छन् । मौरीहरूले कलिलो छालामा टोक्छन् र खील त्यहीँ छोड्छन् । गढेको खीलले हात्तीहरूलाई निकै पछिसम्म पीडा दिइरहन्छ । त्यसको दुखाइले हात्तीलाई ज्वरोसमेत आउन सक्छ । त्यो देख्नासाथ हात्तीहरू डरले थर्कमान हुँदै मसिनो स्वर निकालेर भाग्न थाल्छन् । मौरीको आवाज सुन्दा पनि वैज्ञानिकहरूले हात्ती भागेको पत्ता लगाएका छन् ।

अक्सफोर्ड युनिभर्सिटीको प्राणीशास्त्र विभागका अनुसन्धान सहयोगी र सेभ द एलिफेन्ट्सका लागि मानव–हात्ती सहअस्तित्व कार्यक्रम प्रमुख डा. लुसी किङको नेतृत्वमा श्रीलंकाको उडावलावे राष्ट्रिय निकुन्जमा गरिएको अध्ययनले एसियाली हात्तीहरूले मौरीको भुनभुनाइलाई अलार्मका रूपमा प्रतिक्रिया दिएको देखाएको छ । मौरीको आवाज आएपछि तिनीहरू धेरै टाढा गए र डरले कराए । मौरीको घारले हात्तीलाई पूर्ण रूपमा रोक्न नसके पनि केही कम भने गर्छ । यस प्रयोजनका लागि मौरीपालन गरे मह र मैन उत्पादनबाट दिगो आम्दानीसमेत हुन सक्छ । मौरीबाट हात्ती लखेट्ने र मह बेचेर आम्दानी पनि गर्ने परियोजना हाल भारतका कोडागु र दक्षिण कर्नाटकमा बेलायती केभिक संस्थाले केही वर्षदेखि सञ्चालन गरिरहेको छ ।

भारतमा डल्ले, अकबरे खुर्सानीको बम बनाएर अश्रु ग्यासको सट्टा प्रयोग गर्न थालिएको केही वर्ष भयो । खुर्सानीको धूलोलाई अश्रुग्यासका रूपमा हानेर पनि हात्ती भगाउन सकिन्छ भनी अहिले अनुसन्धान भैरहेको छ । यो हाम्रा लागि पनि उपयोगि हुन सक्छ ।

खुर्सानीको धूलोलाई तेलमा चोबेर डोरीमा घस्ने र खेतवरिपरि टाँग्ने गरे पनि त्यसको गन्धले अफ्रिकामा हात्तीहरू भाग्ने गरेका छन् । त्यस्तै, हात्तीहरू आहारा खोज्न आउने बेला फ्ल्यास लाइटहरूको प्रयोग गर्न सकिन्छ ।

हात्तीहरूले रूखका बोक्रामा अरू जीवको पिसाब, गन्ध सुँघ्ने गर्छन्, वरिपरि कस्तो जीव छ भनी थाहा पाउन । कुनै हात्तीकै बास्ना आए पनि ती सकभर तर्किन्छन् । त्यसैले चिडियाखानाका हात्ती वा बाघको पिसाब हात्ती मार्गमा छर्कने गरे यो समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रकाशित : माघ १७, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?