त्यो सडक अनि तीन घर- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्यो सडक अनि तीन घर

मल्ल के. सुन्दर

काठमाडौं सहरको भित्री भाग इन्द्रचोकबाट भेडासिं भई उत्तरतिर लाग्ने एउटा सीधा बाटो छ, जुन माथितिर बांगेमुढा हुँदै ठँहिटि पुग्छ । त्यसो त उपत्यकाको नगरीय संरचना अन्तर्गत यस्ता बाटा, चोक, दोबाटा, बहाः, बहिहरू थुप्रै भेटिन्छन् ।

भेडासिंदेखि बांगेमुढासम्मको त्यो बाटोको लम्बाइ पुग–नपुग तीन–चार सय मिटर होला, तर त्यही बाटोछेउको एउटा तीनतले घरको पहिलो तलाको झ्यालबाहिर अलि ठूलो आकारको साइनबोर्ड टाँगिएको हुन्थ्यो— आर्य समाज । त्यतिखेर त्यस खाले साइनबोर्ड नेपालमा बन्दैनथ्यो र त्यो कलकत्तादेखि ल्याइएको थियो रे !

भारतमा इस्ट इन्डिया कम्पनी सरकारविरुद्ध सुरु गरिएको जनजागरण अभियानको अगुवाइ गर्दै आएको एउटा मजबुत मोर्चा थियो— आर्य समाज । सन् १८२५ मा बम्बईमा यसको गठन गरिएको थियो । नेतृत्वमा थिए दयानन्द सरस्वती । तत्कालीन भारतीय समाजलाई परम्परा, कर्मकाण्ड, पूजा–विधिका नाउँमा नराम्रोसंग जकडिएको रूढता, सामन्ती संस्कार संस्कृतिबाट उन्मुक्ति दिलाउन आफ्नै शैलीमा हौसिएको अग्रणी संस्था थियो— आर्य समाज । त्यही अभियानबाट एक नेपाली बौद्धिक व्यक्तित्व माधवराज जोशी प्रभावित थिए र उनैद्वारा आफ्नै घरमा खोलिएको थियो आर्य समाजको नेपाल शाखा ।

‘एक ब्रह्म सत्य’ अनि चार वेद मात्र धर्मग्रन्थ हुन् भन्ने आर्य समाजी मूल मान्यता अनुसार माधवराज पनि महाभारत, रामायण आदि ग्रन्थलाई केवल मिथक र आख्यान भन्ने गर्थे । मूर्तिपूजामा आस्था नराख्ने उनको तर्क थियो— पशुपतिनाथको मूर्ति केवल पत्थर हो... । चन्द्रशमशेरजस्ता क्रूर, दमनकारी शासकलाई तत्कालीन समाजमा प्रचलित परम्परा र चलिआएको आस्था–विश्वासभन्दा फरक यस्तो कुरा अलिकति पनि पचेन । उनले १९६२ साउन १२ का दिन दरबारको बैठककोठामा राजा पृथ्वीवीरविक्रमकै सामुन्ने बडागुरुज्यूलाई लगाएर आर्य समाजी माधवराजलाई रक्ताम्मे नहुन्जेल लौरोले चुट्न लगाए र अन्ततः कैद सजाय ठेकिदिए ।

माधवराज अनेक जुक्ति लगाएर थुनाबाटै फरार भई रातारात वीरगन्ज पुगे । त्यहाँबाट निर्वासनका लागि बनारस पुगे । एक छोरी र चार छोरालाई उतै पढाए, हुर्काए । शुक्रराज जोशी उनैका माइला छोरा थिए, जसले देहरादूनको अच्युतानन्द गुरुकुलबाट दीक्षित भइसकेपछि आफ्नो नाउँको पुछारमा ‘शास्त्री’ झुन्ड्याए । महात्मा गान्धी अनि नेताजी सुभाषचन्द्र बोससँग साक्षात्कार गरेका शुक्रराज भारतीय भूमिमा त्यतिखेर चर्कंदै गरेको स्वतन्त्रता आन्दोलनबाट निकै प्रभावित थिए । काठमाडौं फर्केपछि उनी आर्य समाजको साइनबोर्ड झुन्ड्याइएको बुबा माधवराजको त्यही घरमा बसे । माधवराजले बीजारोपण गरेको सामाजिक जागरण तथा अग्रगामी चेतनाको उक्त थलोले शुक्रराजलाई पनि परिवर्तनको संवाहक बन्न प्रेरित गर्‍यो । राणाकालको गुम्सिँदो वातावरणबाट आफ्ना स्वजनहरूलाई कसरी उन्मुक्ति दिन सकिएला भन्ने चेष्टामा लाग्न अन्ततः उनी जुरमुराए ।

संयोगको कुरा, शुक्रराजले भेट्टाए वीरगन्जका राजाराम कलवार, काठमाडौंका केदारमान व्यथित अनि गंगालाल श्रेष्ठ लगायतलाई । अनि संगठित पाइला चाल्ने दृढतासहित १९९४ सालमा शुक्रराजको अगुवाइमा मूर्तता पायो नागरिक अधिकार समितिले । त्यही समितिको संयोजनमा १९९५ मंसिर १३ का दिन काठमाडौंको इन्द्रचोकमा भिन्न खाले जनभेला भयो । जनभेलामा उभिएर शुक्रराजले गीताका उक्तिहरू उद्धृत गर्दै निर्भयका साथ राणा शासकहरूविरुद्ध बुलन्द खबरदारी गरे । उनीसँगै उभिएका थिए युवा विद्यार्थी गंगालाल । उनी अझ जोशिला र क्रान्तिकारी देखिए ।

त्यही जनभेला लगायतको आरोपमा दुवै जना पक्राउ परे । १९९७ माघ ७ गते बसेको जुद्धशमशेरको इजलासले उनीहरूमाथि राजद्रोहको आरोप लगायो, सर्वस्वहरण गर्‍यो । ज्यान सजाय दिइयो । दुवैले शहादत प्राप्त गरे ।

०००

आर्य समाजको कार्यालय रहेकै सडकको पल्लो किनारमा अर्को घर थियो । रैथानेहरूमाझ घरानिया कहलिएको, कुनै समय मल्लराजाहरूका दरबारमा काजी भइसकेको परिवार बस्थ्यो त्यहाँ । माझमा आफ्नै खुला चोक भएको लामो पक्की घर सामान्य घर मात्र थिएन । त्यहाँ धर्मभक्त माथेमा पुग्थे अनि गंगालाल पनि । सिद्धिचरण श्रेष्ठ, पूर्णबहादुर एमए, खड्गमान मल्ल, गोरक्षबहादुर न्हूछेँ प्रधान, टंकविलास वज्राचार्य, चन्द्रमान सिंह मास्के आदि त्यस घरको चोकमा पुग्ने युवाहरू थिए । टंकप्रसाद आचार्यदेखि रामहरि शर्मा र चूडाप्रसादसम्म पुग्ने गर्थे त्यहाँ । त्यस जमातको दायित्व थियो— भरखरका नानीहरूलाई कखरा पढाउनु, ज्ञानगुनका कुरा सिकाउनु । लामालामा सुकुलहरूमा नानीहरू लहरै बसेका हुन्थे । पढ्नका लागि पलेंटी कसेर बसेका नानीहरूका लाइनमा देखिने अनुहार थिए— पुष्पलाल श्रेष्ठ, चित्तरञ्जन नेपाली, जीवनलाल सत्याल, प्रभुनरसिंह राणा, ईश्वरीलाल श्रेष्ठ आदि । महावीर इन्स्टिच्युट नाममा एउटा पाठशाला शिक्षाका माध्यमबाट समाजमा जागरण ल्याउन सकिएला कि भन्ने अभीष्टका साथ आरम्भ गरिएको थियो, त्यस घरको चोकमा । शिवरात्रिको शुभमुहूर्त छानेर विक्रम संवत् १९९३ मा एउटा विशेष कार्यक्रममाझ सञ्चालनमा ल्याइएको त्यस इन्स्टिच्युटको सिकाइ र व्यवस्थापन बेग्लै थियो । प्रत्येक छ महिनामा कक्षा बढोत्तरी गरिने उक्त पाठशालामा विद्यार्थीहरूलाई शारीरिक व्यायाम पनि गराइन्थ्यो अनि शुक्रराजद्वारा तयार गरिएको पाठ्यपुस्तक पढाइन्थ्यो । उनैद्वारा रचित वन्दनापछि पढाइ सुरु गरिन्थ्यो ।

ती सब थोकका मूल योजनाकार थिए— त्यसै घरका सुपुत्र चिनियालाल सिंह । कलकत्तामा भइरहेको अंग्रेजविरोधी गतिविधि उनका लागि प्रेरक प्रसंग थियो । भारतबाट नेपाल फर्केलगत्तै उनले आफ्ना दौंतरीहरूसँग रायसल्लाह गरे । सबैले हौस्याएपछि महावीर इन्स्टिच्युट चलाउने आँट गरे । काठमाडौंमा सञ्चालनमा आएका सार्वजनिक पाठशालाहरूमध्ये त्यो पहिलो थियो ।

तर सशंकित राणा शासकहरूका लागि त्यस खाले सक्रियता र गतिविधि स्वीकार्य थिएन । त्यसमा पनि सुराकीहरूले निरन्तर उस्तै खाले गोप्य सूचनाहरू पुर्‍याइरहेकै हुन्थे । शासकहरूका नजरमा त्यस्ता जागरण, चेतना र शिक्षा प्रसारका कुरा वर्जित थिए । १९९४ कातिक २ गते आठपहरियाहरू त्यहाँ पुगे । चिनियालाल पक्राउमा परे । इन्स्टिच्युटमा पठनपाठन रोकियो । जनतामाझ शिक्षाका माध्यमबाट जागरण ल्याउने चेष्टा गरेको अपराधमा चिनियालालमाथि राजकाज मुद्दा लगाइयो । सर्वस्व खोसियो ।

अन्ततः बन्दी अवस्थामा मधुमेह ग्रस्त भई २००१ असार २६ का दिन चिनियालालले शहादत प्राप्त गरे ।

०००

महावीर इन्स्टिच्युटको सामुन्ने सडकपारि मास्के परिवारहरूकै घरआँगन । मास्केहरू मात्र बसोबास गर्ने त्यस आँगनको पहिचान नै मास्केचोक रह्यो । त्यही चोकको पूर्व, सडकतिर मोहडा गरेको पुरानो शैलीको एउटा घर थियो । हातमा सदैव सिसाकलम बोकिहिँड्ने एक युवा मौका पाउनासाथ कुनै वस्तु, जनावर वा चराचुरुंगीको आकृति कोर्ने गर्थे । विलक्षण प्रवृत्तिका ती युवालाई आफ्ना पुर्खाले जस्तै शासकहरूको खातिरदारी गर्दै नोकरी गर्ने वा काजी भनाउने सोख थिएन । चित्रकारिता उनको एक मात्र रोजाइ थियो । तर अभिभावकहरूको बुझाइमा चित्रकारिता निम्नस्तरीय पेसा थियो, तत्कालीन समाजले त्यस्तालाई इज्जत दिँदैनथ्यो । परिवारजनको लाख निषेधका बावजुद चित्रकला विधामा औपचारिक शिक्षाका उनी बिदेसिन सफल भए । कलकत्तामा पाँच वर्षसम्म बसेर उनी आधुनिक शैली र तैल चित्र कोर्ने कलामा पारंगत बने । उनी थिए— नेपालमा पाश्चात्य शैलीका चित्रकला र तैल रंगको पोट्रेट कोर्ने पहिलो कलाकार चन्द्रमानसिंह मास्के ।

स्वदेश फर्किंदा चन्द्रमान उताको शैक्षिक योग्यता र शिल्प मात्र बोकेर आएनन्, बंगाली समाजमा जागृत स्वाधीनताको तीव्र आकांक्षाबाट उत्प्रेरणासमेत सँगालेर आए । चन्द्रमानले आफू र सडकपारिको घरका बालसखा चिनियाँलाल अनि उनीभित्रको परिवर्तनको चाहना र चेतनाबीच सामञ्जस्य रहेको पाए । ती दुई छिमेकी युवा विचार र भावनाको आदानप्रदानमा मात्र सीमित रहेनन् । अन्ततः आफ्नै घरभित्र चन्द्रमानले एउटा बैठकको चाँजोपाँजो मिलाए, बैठकको अध्यक्षता आफैंले गरे । निर्णय थियो— महावीर इन्स्टिच्युटको स्थापना गरी मुलुकमा शिक्षाका माध्यमबाट चेतना अभिवृद्धि गर्ने ।

राणा शासकको नजरमा चन्द्रमानसिंह मास्के पनि राजसिंहासन ताक्ने दोषी करार भए । उनी सर्वस्वहरणसहित अठार वर्षको कारावासको भागी बने ।

जुन घरमा महावीर इन्स्टिच्युट सञ्चालित भएको थियो, त्यसमा राणा शासकहरूले १९९४ सालमै ताला लगाइसकेको थियो, तर रमाइलो कुरो, चिनियालालका दाजु फत्तेबहादुरसिंह त्यसै घरको अर्कै कुनामा जागरण तथा चेतना जगाउने बेग्लै उपायको तयारीमा लागे । आफैंले सम्पादन गरेर मातृभाषामा एउटा संग्रह प्रकाशनमा ल्याए । मूलतः कविता संकलन थियो त्यो । श्रीनिवास मल्लदेखि महाकवि सिद्धिदाससम्मका रचनाहरू थिए, कतिपय बुद्ध धर्म र नेपालभाषा पत्रिकामा प्रकाशित भइसकेका कविताहरूलाई पुनर्प्रकाशन गरिएको थियो । ‘नेपाली विहार’ त्यस संकलनको नाम राखियो । उक्त पुस्तकको प्रकाशनभन्दा पनि त्यसभित्र फत्तेबहादुरद्वारा लेखिएको भूमिका थियो । यातना र अन्यायमा पनि प्रतिक्रियाविहीन बनेका, कुम्भकर्ण जस्ता जनसमुदाय तथा अविवेकि राणा शासकहरूतर्फ लक्षित कटु वाक्यहरूको लामो भूमिका समसामयिक परिवेशमा बेग्लै अर्थ राख्ने लिखत ठहरियो । राणा शासकलाई पाच्य भएन । त्यसमा पनि सोही संकलनभित्र समावेश गरिएको सिद्धिचरणले मातृभाषामा लेखेको ‘वर्षा’ शीर्षक कविता झनै आपत्तिजनक ठानियो । त्यस कविताको ‘क्रान्ति विना थन दइ मखु सुख शान्ति...’ भन्ने पंक्ति त अझ बढी संवेदनशील थियो । तसर्थ उक्त संकलनका सम्पादक फत्तेबहादुर सिंह दण्डित बने, जन्मकैद अनि सर्वस्वहरणको सजाय पाए । सिद्धिचरण पनि सोहीसरहको सजायको भागीदार बने । २००७ सालमा राणा शासन ढलेपछि ती दुवैले आममाफी पाई जेलमुक्त भए ।

राणा शासनविरुद्ध प्रतिरोधको झिल्को सल्काइएको काठमाडौंको त्यो एउटा परम्परागत बस्तीको त्यस मूल बाटोलाई स्थानीय बासिन्दाहरू खिँउलँ अर्थात् अँध्यारो बाटाको नाउँले चिन्छन् । तर त्यही अँध्यारो बाटो यथार्थमा चेतनाका प्रकाशपुञ्जहरू उदाउने थलो पो ठहरियो !

प्रकाशित : माघ १७, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

रैथाने हिति वृत्तान्त

मल्ल के. सुन्दर

पेसाले विशुद्ध प्राविधिक पद्मसुन्दर जोशीको किताब ‘हिति प्रणाली’ को मूल विषय हो– हिति अर्थात् ढुंगेधारा । सचित्र अनि आकर्षक कलेवरमा छापिएको यो किताबमा इतिहास, वर्तमान र भविष्य गरी तीन कालखण्ड लेखिएको छ । यसमा सात मूल शीर्षक छन् ।

हिति सम्बन्धमा प्रणालीगत कोणबाट नियाल्ने र त्यससँग गाँसिएका अनेकन प्राविधिक सवालका अतिरिक्त अन्य महत्त्वपूर्ण पक्षबारे खोतलखातल गर्ने बौद्धिकस्तरको किताब सम्भवतः यो नै पहिलो हो । लेखकले हिति प्रणालीका समग्र पक्षलाई खोजको मूल विषय बनाएका छन् । तीनै समग्र खोजको अभिलेखीकरण हो, यो किताब ।

स्वाभाविक रूपमा किताबभित्र हितिसँग गाँसिएका प्राचीन कालक्रम, प्रथा, प्रचलन, गुठी, जात्रा, पर्वजस्ता सामाजिक पक्ष यथेष्ट समावेश गरिएको छ । लिच्छविकालअगावै किरात कालबाटै हिति निर्माण सुरु भएको हुन सक्ने अनुमान गरिन्छ, तर तिथिमिति प्रमाणिकताका आधारमा यस प्रणालीको ऐतिहासिक सम्बन्ध मानदेवसम्मै रहेको चर्चा यसमा छ । साथै हिति प्रणालीका कतिपय लोककथन अनि किंवदन्तीका प्रसंगसमेत किताबको पहिलो अंशमा भेटिन्छ ।

बाह्य रूपमा हिति एउटा मकर आकृतिको ढुङ्गाको डुँडबाट निरन्तर पानी झर्ने भौतिक संरचना मात्रै हो । तर, मूलस्रोत जलभण्डारदेखि उपभोक्तासम्म पानीको बहाव व्यवस्थित गर्न अन्तरंगमा गरिनुपर्ने जुन प्रविधि तथा सीपको कुरा छ त्यो नै सबैभन्दा महत्त्वपूर्ण र जटिल पक्ष हो, जसअन्तर्गत पोखरी, राजकुलो, भूमिगत जलभण्डार, नाभिमण्डल, हितिदुं (अथल), निर्मलीकरण (फिल्टर), हितिगाः, हितिमंगः, हितिध्वं, मंगाः आदि छन् । हजारौं वर्षपूर्व प्रारम्भ भएको हिति निर्माणका क्रममा निर्वाह गरिनुपर्ने यी विविध चरणका प्रविधिजन्य ज्ञान तथा सीप अहिले झन्डै विस्मृतिमा पुगिसके । तर, लेखक विषद् खोजबाट प्रत्येक पक्षको विधि र विवरण मिहिन रूपमा संकलन गर्ने तथा तिनको सार्वजनिक गर्ने काममा सक्षम भएका छन् ।

अध्ययनबाट सिद्ध भएको छ, हिति प्रणाली काठमाडौं उपत्यकाभित्रको एक महत्त्वपूर्ण सांस्कृतिक/प्राविधिक सम्पदा मात्रै नभई हाम्रा पुर्खाले आर्जेको परम्परागत ज्ञानको एउटा उत्कृष्ट दृष्टान्तसमेत हो । पानीको मूलस्रोत पोखरी निर्माण गरिने नगरको उच्च भाग अनि त्यस पानी वितरण प्रयोजनका लागि बनाइने राजकुलो, नाभिमण्डल आदि संरचना तथा तिनका लागि छनोट गरिएका स्थानलाई आजको गणितीय तथा प्राविधिक दृष्टिकोणबाट नियाल्दा ती अत्यन्त वैज्ञानिक तथा उन्नत स्तरका पाउँछौं । त्यसमा पनि पानीको निर्मलीकरण र स्वच्छताका लागि अपनाइएका रैथाने उपाय आश्चर्यलाग्दा छन् । त्यस्तै मंगालका माध्यमबाट सहज निकास तथा सिँचाइ आदिमा पुनर्प्रयोजन गरिने विधि अपत्यारिलो छ ।

मनसुनी प्रणाली भएको उपत्यकाभित्र वर्षायाममा जम्मा हुने अतिरिक्त पानीलाई कसरी सञ्चय गर्ने भन्ने पक्षमा मात्रै होइन, त्यस्ता खेर जाने पानी भूमिमा पुनर्भरण कसरी गर्ने भने प्रविधि पनि हिति प्रणालीअन्तर्गत विकसित भएको पाइन्छ । समग्रमा हिति प्रणाली प्रकृति र वातावरणलाई सन्तुलनमा राखिराख्ने एउटा अब्बल अभ्यास थियो । संसारमा अन्यत्र हाल आएर मात्रै मान्छेहरूले पर्यावरणिय सन्तुलनको चासो जाहेर गरिरहेका सन्दर्भमा हाम्रा पूर्वजले हिति प्रणालीजस्ता माध्यमबाट त्यतिखेरै पर्यावरणिय सन्तुलन व्यवहारमै अपनाइसकेका थिए ।

पानी व्यवस्थापनका सन्दर्भमा पर्सियालगायत भूमध्य क्षेत्र र खाडी मुलुकतिर कन्नात प्रणाली पनि प्रचलनमा थियो । चीनको मध्यएसियाली भूभागमा करजाई र भारततिर वर्षातको पानी तहगत रूपमा संकलन गर्ने बावली प्रणाली नभएको होइन । तर, उपत्यकाभित्रको हिति प्रणाली मौलिक अनि विशिष्ट हो ।

हाम्रा पुर्खाहरूले हिति प्रणालीअन्तर्गत युगौंदेखि अपनाउँदै आइरहेको वर्षातको पानीबाट पुनर्भरण गर्ने अभ्यास सापटी लिएर अहिले चीनले स्पञ्ज प्रणालीको नाउँमा अभियान नै चलाएको छ । लेखक भन्छन्– पानी पुनर्भरणको यस प्रणाली त नेपालको मौलिक ज्ञान हो, हामीले यस रैथाने ज्ञानका सम्बन्धमा आफ्नो प्राधिकारको अन्तर्राष्ट्रियस्तरमै दाबी गर्नुपर्थ्यो ।

विडम्बना, विगतमा यति वैज्ञानिक तरिकाबाट पानी वितरणको प्रणाली विद्यमान रहेको काठमाडौं उपत्यकाभित्र हाल पिउने पानीको चर्को अभाव छ । खानेपानी व्यवस्थापनका हाम्रै यति उन्नत ज्ञान, सीप र प्रणाली विद्यमान छँदाछँदै वैदेशिक सहयोग र प्रविधिका लागि शासकहरू किन भौंतारिँदै होलान् ? लेखकको आरोप छ– राजनीति सत्ता परिवर्तन हुँदै गर्दा शासनमा बस्नेहरूले काठमाडौं उपत्यकाभित्रको हिति प्रणालीजस्तो उत्कृष्ट रैथाने प्रथालाई अवमूल्यन गरेसाथै तिनको संरक्षण गर्न कति पनि ध्यान पुर्‍याएनन् । विकासको नाउँमा गरिएका अव्यवस्थित भौतिक संरचना निर्माण, हिति अन्तर्गतका जलभण्डार, राजकुलो, भूमिगत जलमार्ग, पोखरीमाथिको अतिक्रमणका साथसाथै तीनको संरक्षण, सम्भारमा राज्यको बेवास्ताको पनि लेखकले चर्चा गरेका छन् । त्यस्तै हिति–प्रणाली व्यवस्थापनका लागि भनेर गठित स्थानीय गुथि प्रणालीमाथिको राज्यसत्ताको प्रहारलाई लिएर पनि पुस्तकमा निन्दा गरिएको छ । पुस्तकमा विभिन्न समय सन्दर्भमा स्थानीय तहमा गरिएका पानी आन्दोलनबारे पनि विस्तृत उल्लेख छ ।

पुस्तक मूलतः ललितपुर सहरकेन्द्रित देखिन्छ, यद्यपि यसमा उपत्यकाका तीनै सहरका अन्य हितिहरूका सम्बन्धमा धेरथोर चर्चा पनि गरिएको छ । पानी सम्बन्धित स्थानीय जात्रा, पर्व र सांस्कृतिक पर्वका कुरासमेत पुस्तकभित्र छन् । महत्त्वपूर्ण पक्ष भनेको यो किताब हिति प्रणालीसँग सम्बन्धित संरचनाको पुराना तथा आधुनिक प्रविधिबाट कोरिएका रेखाचित्रको संकलन पनि हो । त्यस्तै यसमा हवाईचित्रहरू पनि समावेश छन् । परिशिष्टका रूपमा ललितपुरका हितिहरूको वर्तमान अवस्थाको सूची पनि छ, जुन अध्येयताका लागि अपयोगी छन् ।

पुस्तकको जोड छ– हिति मूलतः समग्रमा एउटा प्रणाली हो, त्यसलाई मूर्त सम्पदाका रूपमा मात्रै बुझ्दा अपूर्ण हुन्छ । फेरि पनि यस प्रणाली विकासको क्रममा हाम्रा पुर्खाहरूले हितिको भौतिक संरचनासँगै आफ्नो सांस्कृतिक चेत, धर्म अनि दार्शनिक आस्थालाई पनि गाँस्दै लगे । कालान्तरमा हितिको भौतिक संरचना हाम्रा पुर्खाका कला सौन्दर्यका मूर्त अभिव्यक्तिको माध्यमसमेत बने । ललितपुरको मंगः हिति, सुन्धारा अनि पाटन दरबारभित्रको तुसाःहिति यथार्थतः नेपाली कलाकृतिका परिकृष्ट नमुनाहरू हुन । तसर्थ, हितिसँग वास्तुकलाको हाम्रो मौलिक प्रारूप पनि उजागर हुन्छन् । नेपाली मौलिक कलाकृतिका रूपमा पनि यी अद्वितीय सम्पदा हुन् । लेखकले यस पक्षमा पनि कलम चलाउन सक्थे, तर त्यसो भएन । त्यसो त लेखकले किताब–लेखनमा धेरै परिश्रम गरेका छन् । र, नेपालय प्रकाशनगृहबाट प्रकाशित यो ‘हिति प्रणाली’ पठनीय र संकलनयोग्य पुस्तक ठहरिएको छ ।

प्रकाशित : कार्तिक १९, २०७९ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×